प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर pp. ८-१२
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—दयाको सर्वोत्कृष्ट उदाहरण
  • हामी कसरी दया देखाउन सक्छौं?
  • दया देखाउँदा हामी आफैलाई फाइदा हुन्छ!
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाले करुणामय शासन गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर pp. ८-१२
हात सुकेको एक जना मानिसलाई येशू दया देखाउँदै

यहोवाको दयाको देखासिकी गर्नुहोस्‌

“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु . . . हुनुहुन्छ।”—प्रस्थ. ३४:६.

गीत: १४२, १२

हामीले के सिक्यौं?

  • दयालु हुन कहिलेकाहीं किन गाह्रो हुन सक्छ?

  • यहोवा आफ्ना जनहरूलाई दयालु हुन कसरी सिकाउनुहुन्छ?

  • कस्ता परिस्थितिमा तपाईं यहोवाजस्तै दयालु हुन सक्नुहुन्छ?

१. यहोवाले मोशालाई आफूबारे के बताउनुभयो? यो कुरा तपाईंलाई किन उल्लेखनीय लाग्छ?

यहोवाले एक पटक मोशालाई आफ्नो नाम अनि आफ्ना केही गुणबारे बताउनुभयो। आफू टिठाउनमा भरिपूर्ण अनि दयालु भएको कुरा उहाँले सुरुमै बताउनुभयो। (प्रस्थान ३४:५-७ पढ्‌नुहोस्‌) हुन त उहाँले सुरुमा आफ्नो शक्‍ति वा बुद्धिबारे बताउन सक्नुहुन्थ्यो। तर त्यतिबेला मोशालाई यहोवाको आश्‍वासन चाहिएको थियो। त्यसैले आफ्ना सेवकहरूलाई मदत गर्न साँच्चै इच्छुक छु भनेर देखाउन उहाँले आफू टिठाउनमा भरिपूर्ण अनि दयालु भएको कुरामा जोड दिनुभयो। (प्रस्थ. ३३:१३) यहोवा हामीलाई यत्ति धेरै माया गर्नुहुँदो रहेछ भनेर विचार गर्दा के तपाईंको मन छुँदैन र? हामी यस लेखमा दयाबारे चर्चा गर्नेछौं।a यस गुणले हामीलाई अरूको दुःख महसुस गर्न अनि तिनीहरूलाई मदत गर्न उत्प्रेरित गर्छ।

२, ३. (क) हामीसित दया देखाउने क्षमता छ भनेर किन भन्‍न सक्छौं? (ख) दयाबारे किन अझ धेरै सिक्नुपर्छ?

२ हामी यहोवा परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएका छौं। उहाँ दयालु हुनुभएकोले हामीले पनि अरूलाई दया देखाउनु स्वाभाविक कुरा हो। साँचो परमेश्‍वरलाई चिन्दै नचिनेका मानिसहरूसमेत अक्सर दया देखाउँछन्‌। (उत्प. १:२७) दयालु व्यवहार देखाएका थुप्रै मानिसको विवरण बाइबलमा पाइन्छ। उदाहरणको लागि, सुलेमानको समयमा दुई जना वेश्‍याबीच भएको झगडालाई विचार गर्नुहोस्‌। उनीहरू दुवैले जिउँदो बच्चा आफ्नो भएको दाबी गरिरहेका थिए। त्यो बच्चा कसको हो भनेर पत्ता लगाउन सुलेमानले त्यस बच्चालाई दुई टुक्रा गरी काट्‌ने आदेश दिए। त्यतिबेला त्यस बच्चाकी आमा दयाले भरिइन्‌। उनी आफ्नो बच्चालाई मर्न दिनुको साटो अर्की आइमाईलाई दिन समेत तयार भइन्‌। (१ राजा ३:२३-२७) साथै फिरऊनकी छोरीलाई पनि विचार गर्नुहोस्‌, जसले बालक मोशाको ज्यान जोगाएकी थिइन्‌। तिनलाई त्यो बालक हिब्रूहरूको छोरा हो अनि उसलाई जीवित राख्नु हुँदैन भनेर थाह थियो। तर मोशालाई देखेपछि तिनी ‘दयाले भरिइन्‌’ र उसलाई आफ्नै छोराको रूपमा हुर्काउने निधो गरिन्‌।—प्रस्थ. २:५, ६.

३ हामीले दयाबारे किन अझ धेरै सिक्नुपर्छ? किनभने बाइबलले हामीलाई यहोवाको देखासिकी गर्न प्रोत्साहन दिएको छ। (एफि. ५:१) हुन त मानिसहरू दया देखाउन सक्ने क्षमतासहित सृष्टि गरिएका थिए। तर आदमको त्रुटिपूर्ण सन्तान भएकोले हामीमा स्वार्थी झुकाव छ। अरूलाई मदत गर्ने कि आफ्नै कुरामा ध्यान दिने भनेर हामी कहिलेकाहीं दोधारमा पर्न सक्छौं। कसै-कसैलाई भने सधैं नै त्यस्तो दोधार हुन्छ। त्यस्तो बेला हामीलाई दयालु हुन र अरूप्रति चासो देखाउन केले मदत गर्छ? पहिला, यहोवाले कसरी दया देखाउनुभएको छ र अरूले पनि कसरी यो गुण देखाएका छन्‌, विचार गरौं। त्यसपछि, हामी कसरी परमेश्‍वरको देखासिकी गर्न सक्छौं र यसो गर्दा कस्ता फाइदा हुन्छन्‌, त्यो पनि विचार गरौं।

यहोवा—दयाको सर्वोत्कृष्ट उदाहरण

४. (क) यहोवाले किन सदोममा स्वर्गदूतहरू पठाउनुभयो? (ख) लूतको परिवारको विवरणबाट कस्तो पाठ सिक्न सक्छौं?

४ यहोवाले दया देखाउनुभएको थुप्रै उदाहरण बाइबलमा पाइन्छ। उहाँले लूतलाई कसरी बचाउनुभयो, विचार गर्नुहोस्‌। सदोम र गमोरा सहरका मानिसहरूको छाडा आचरण देखेर लूत “असाध्यै विचलित” भएका थिए। यहोवाले ती कुकर्मीहरूलाई नाश गर्ने विचार गरिसक्नुभएको थियो। (२ पत्रु. २:७, ८) उहाँले लूतलाई बचाउन स्वर्गदूतहरू पठाउनुभयो। तिनीहरूले लूत र तिनका परिवारलाई त्यहाँबाट भागिहाल्न निर्देशन दिए। तर बाइबल भन्छ: “तिनले आले-टाले गरिरहे। [ती स्वर्गदूतहरूले] तिनका, तिनकी स्वास्नीका र दुवै छोरीहरूका हात समातेर शहर बाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।” (उत्प. १९:१६) लूतले जस्तै यहोवाका वफादार सेवकहरूले पनि कहिलेकाहीं गाह्रो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। त्यस्तो बेला उहाँ तिनीहरूको परिस्थिति राम्ररी बुझ्नुहुन्छ भन्‍ने कुरा लूतको विवरणबाट सिक्न सक्छौं।—यशै. ६३:७-९; याकू. ५:११; २ पत्रु. २:९.

५. दया देखाउने सन्दर्भमा १ यूहन्‍ना ३:१७ जस्ता पदहरूबाट के सिक्न सक्छौं?

५ यहोवा अरूलाई दया देखाउनुहुन्छ। त्यति मात्र होइन, उहाँ आफ्ना जनहरूलाई पनि दयालु हुन सिकाउनुहुन्छ। उहाँले इस्राएलीहरूलाई दिनुभएको एउटा नियम विचार गर्नुहोस्‌। यदि कुनै व्यक्‍तिले कसैबाट ऋण लिएको छ भने ऋण दिने व्यक्‍तिले बन्धकीको रूपमा त्यस ऋणीको ओढ्‌ने लिन सक्थ्यो। (प्रस्थान २२:२६, २७ पढ्‌नुहोस्‌) तर ऋण लिने व्यक्‍तिलाई राती चिसो नहोस्‌ भनेर ऋण दिने व्यक्‍तिले सूर्यास्त हुनुअघि नै ओढ्‌ने फिर्ता गरिदिनुपर्थ्यो। कठोर व्यक्‍तिलाई भने त्यो ओढ्‌ने फिर्ता नगरुँ जस्तो पनि लाग्न सक्थ्यो। त्यस्तो स्वार्थी विचार नराख्न वा त्यस्तो व्यवहार नगर्न यहोवाले आफ्ना जनहरूलाई सिकाउनुभयो। उहाँका जनहरू दयालु हुनुपर्थ्यो। इस्राएलीहरूलाई दिइएको त्यो नियममा लुकेको सिद्धान्तबाट कस्तो पाठ सिक्न सक्छौं? आफ्ना दाजुभाइ दिदीबहिनीको आवश्‍यकतालाई कहिल्यै बेवास्ता नगरौं। उनीहरूलाई मदत गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने के तपाईं त्यसो गर्न अग्रसर हुनुहुन्‍न र?—कल. ३:१२; याकू. २:१५, १६; १ यूहन्‍ना ३:१७ पढ्‌नुहोस्‌।

६. यहोवाले पापी इस्राएलीहरूसित गर्नुभएको दयालु व्यवहारबाट के सिक्न सक्छौं?

६ इस्राएलीहरूले यहोवाविरुद्ध पाप गर्दा समेत उहाँले तिनीहरूलाई दया देखाउन छोड्‌नुभएन। बाइबल भन्छ: “आफ्नो प्रजा र आफ्नो बासस्थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई दूतहरूद्वारा घरिघरि चेताउनी दिनुभएको थियो।” (२ इति. ३६:१५) त्यसैगरि यहोवाबारे थाह नभएकोले खराब जीवनशैली बिताइरहेका मानिसहरूसित हामीले पनि दयालु व्यवहार गर्नुपर्छ। किनभने तिनीहरूले यहोवाबारे सिकेर पश्‍चात्ताप गर्न र आफ्नो खराब जीवनशैली त्याग्न सक्छन्‌। भविष्यमा यहोवाले यस संसारको न्याय गर्नुहुँदा उहाँ कोही पनि नाश भएको चाहनुहुन्‍न। (२ पत्रु. ३:९) त्यसैले उहाँले दुष्ट मानिसहरूलाई नाश गर्न कदम नचालुन्जेल हामी उहाँको न्याय सन्देश सुनाइरहन चाहन्छौं। अनि धेरैभन्दा धेरै मानिसलाई यहोवाको दया महसुस गर्न मदत दिन चाहन्छौं।

७, ८. यहोवाले दया देखाउनुभएको एउटा परिवारले कसरी महसुस गरे?

७ अहिले पनि यहोवाका थुप्रै सेवकले उहाँको दया महसुस गरेका छन्‌। सन्‌ १९९० दशकको सुरुतिर बोस्नियामा जातीय कलह मच्चिरहेको बेलाको एउटा घटना विचार गर्नुहोस्‌। मिलन नाम गरेका एक जना १२ वर्षीय केटो र उसको परिवार केही साक्षीसित अधिवेशनको लागि बोस्नियादेखि सर्बिया जाँदै थिए। त्यस अधिवेशनमा मिलनको आमाबुबाले बप्तिस्मा गर्न लागेका थिए। सीमा क्षेत्रमा पुग्दा सिपाहीहरूले मिलनको परिवारलाई बसबाट ओह्राले किनभने तिनीहरू अर्कै जातिका थिए। तर बसमा भएका अरू यात्रुहरूलाई भने सिपाहीहरूले जान दिए। सिपाहीहरूले तिनीहरूलाई दुई दिनसम्म त्यहीं रोकिराखे। पछि, त्यहाँको अफिसरले त्यो परिवारलाई के गर्ने भनेर आफ्नो हाकिमलाई फोन गरेर सोधे। ती हाकिमले “तिनीहरूलाई लगेर गोली हान्दे!” भनेको त्यहाँ सँगै उभिरहेको मिलनको परिवारले पनि सुन्यो।

८ अफिसर आफ्ना सिपाहीहरूसँग कुरा गरिरहेको बेला दुई जना नचिनेको मान्छे मिलनको परिवारकहाँ आए र आफूहरू पनि यहोवाको साक्षी भएको कुरा सुटुक्क बताए। मिलनको परिवारलाई रोकिराखेको कुरा ती मान्छेहरूले बसका अन्य यात्रुहरूबाट थाह पाएका रहेछन्‌। ती मान्छेहरूले मिलन र तिनको भाइलाई आफूहरूसित कारमा बस्न भने। केटाकेटीको कानुनी कागज-पत्र जाँच नगरिने भएकोले मिलन र तिनको भाइलाई सीमापारि लैजान कुनै समस्या हुने थिएन। त्यसपछि ती मान्छेहरूले मिलनको आमाबुबालाई चाहिं सिपाहीहरूको पोस्ट पछाडीपट्टीबाट हिंड्‌दै आउन र पारिपट्टी भेट्‌न भने। उनीहरूको कुरा सुनेर मिलनलाई रुनु न हाँस्नु भयो। तिनको आमाबुबाले ती साक्षीहरूलाई यसो भने, “ती सिपाहीहरूले हामीलाई यत्तिकै जान देलान्‌ त?” तिनीहरू सीमापारि गए तर किन हो कुन्‍नि, सिपाहीहरूले तिनीहरूलाई केही गरेनन्‌। मिलन र तिनको भाइले आमाबुबालाई सीमापारि भेटे अनि सँगै अधिवेशनमा उपस्थित भए। यहोवाले प्रार्थनाको जवाफ दिनुभएको तिनीहरूले महसुस गरे। हुन त यहोवा सधैं आफ्ना सेवकहरूलाई यसरी प्रत्यक्ष रूपमा सुरक्षा दिनुहुन्‍न भनेर हामीले बाइबलबाट बुझेका छौं। (प्रेषि. ७:५८-६०) तर मिलनलाई भने यस्तो लाग्यो: “मलाई त स्वर्गदूतहरूले ती सिपाहीहरूलाई अन्धो बनाइदिएको र यहोवाले नै हामीलाई छुटाउनुभएको जस्तो लाग्यो।”—भज. ९७:१०.

९. भीडलाई देखेपछि येशूले कस्तो महसुस गर्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

९ येशूबाट पनि हामी राम्रो पाठ सिक्न सक्छौं। उहाँ भीडलाई देखेर टिठाउनुभयो अर्थात्‌ दयाले भरिनुभयो किनभने “तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” यस्तो अवस्था देखेर उहाँले के गर्नुभयो? “उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।” (मत्ती ९:३६; मर्कूस ६:३४ पढ्‌नुहोस्‌) तर फरिसीहरू भने आम मानिसहरूलाई मदत गर्न चाहँदैनथे। येशूको व्यवहार र फरिसीहरूको व्यवहारबीच कत्रो भिन्‍नता! (मत्ती १२:९-१४; २३:४; यूह. ७:४९) आध्यात्मिक रूपमा भोका मानिसहरूलाई देख्दा के तपाईं तिनीहरूलाई मदत गर्न येशूजस्तै उत्सुक हुनुहुन्‍न र?

१०, ११. के दया देखाउनु सधैं उचित हो? व्याख्या गर्नुहोस्‌।

१० यसको मतलब हामीले हरेक परिस्थितिमा दया देखाउनै पर्छ भन्‍ने पनि होइन। अघिल्ला अनुच्छेदहरूमा छलफल गरिएका बाइबल विवरणहरूमा यहोवाले दया देखाउनु उचित थियो। अब राजा शाऊलको उदाहरण विचार गरौं। यहोवाले तिनलाई सबै अमालेकीहरूलाई मार्न अनि उनीहरूका सबै कुरा नाश गर्न आज्ञा दिनुभएको थियो। तर तिनले अमालेकीहरूका राजा अगागलाई मारेनन्‌, जो परमेश्‍वरका शत्रु थिए। शाऊलले अमालेकीहरूका असल-असल जनावरहरूलाई पनि नाश गरेनन्‌। यतिखेर शाऊललाई अगागमाथि दया देखाएको जस्तो लागेको हुनुपर्छ। तर वास्तवमा शाऊलले यहोवाको आज्ञा उल्लङ्‌घन गरिरहेका थिए। त्यसैले यहोवाले तिनलाई राजाको रूपमा त्याग्नुभयो। (१ शमू. १५:३, ९, १५) यहोवा असल न्यायाधीश हुनुहुन्छ र मानिसहरूको मन राम्ररी बुझ्नुहुन्छ। त्यसैले कुन बेला दया देखाउनु उचित हुँदैन भन्‍ने कुरा उहाँलाई थाह छ। (विला. २:१७; इज. ५:११) आफ्नो आज्ञा पालन नगर्ने मानिसहरूविरुद्ध उहाँले न्याय गर्नुहुने समय नजिकै छ। (२ थिस्स. १:६-१०) त्यतिबेला उहाँले दुष्ट मानिसहरूलाई दया देखाउनुहुनेछैन। बरु उहाँले दुष्टहरूलाई नाश गरेर असल मानिसहरूलाई दया देखाउनुहुनेछ र जोगाउनुहुनेछ।

११ कसलाई जोगाउने र कसलाई नाश गर्ने भनेर न्याय गर्ने काम हाम्रो होइन। बरु अहिले मानिसहरूलाई मदत गर्न हामीले सक्दो प्रयास गर्नुपर्छ। त्यसोभए हामी कसरी मानिसहरूलाई उचित तरिकामा दया देखाउन सक्छौं? आउनुहोस्‌, केही सुझाव विचार गरौं।

हामी कसरी दया देखाउन सक्छौं?

१२. तपाईं अरूसित कसरी दयालु व्यवहार गर्न सक्नुहुन्छ?

१२ दैनिक जीवनमा अरूलाई मदत गर्ने मौका खोज्नुहोस्‌। येशूको अनुकरण गर्न चाहनेहरूले आफ्ना छिमेकीलाई र ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई दया देखाउनै पर्छ। (यूह. १३:३४, ३५; १ पत्रु. ३:८) दया देखाउनु भनेको “सँगै दुःख भोग्नु” पनि हो। दयालु व्यक्‍ति कसैले दुःख भोगेको देख्दा उसको दुःख कम गर्न अग्रसर हुन्छ। त्यसैले तपाईं पनि अरूलाई मदत गर्ने मौका खोजिरहनुहोस्‌। जस्तै: घरायसी काम वा अन्य जरुरी काम गरिदिएर अरूलाई मदत गर्न सक्नुहुन्छ कि?—मत्ती ७:१२.

एक जना भाइ पाको उमेरका दाइलाई इलेक्ट्रोनिक डिभाइस चलाउन सिकाउँदै

व्यावहारिक मदत दिएर अरूप्रति दया देखाउनुहोस्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१३. प्राकृतिक प्रकोप हुँदा यहोवाका साक्षीहरूको कस्ता गुणहरू प्रस्टै देखिन्छ?

१३ राहतकार्यमा भाग लिनुहोस्‌। प्राकृतिक प्रकोपको मारमा परेका मानिसहरू देख्दा हामी उनीहरूलाई दया देखाउन उत्प्रेरित हुन्छौं। यहोवाका साक्षीहरू प्रकोपहरू आइपर्दा अरूलाई मदत गर्न अग्रसर हुने मानिसहरू भनेर चिनिएका छन्‌। (१ पत्रु. २:१७) उदाहरणको लागि, सन्‌ २०११ मा भूकम्प र सुनामीको कारण जापानको विभिन्‍न ठाउँमा ठूलो क्षति पुगेको थियो। त्यस्तै इलाकामा हाम्री एक बहिनी बस्थिन्‌। त्यतिबेला जापानको अरू ठाउँबाट अनि अन्य देशबाट थुप्रै स्वयंसेवक ती क्षतिग्रस्त इलाकाहरूमा पुनर्निर्माण गर्न आए। यसरी विभिन्‍न ठाउँबाट भाइबहिनी सहयोग गर्न आएको देख्दा ती बहिनीले “धेरै प्रोत्साहन र सान्त्वना” पाएको कुरा बताइन्‌। उनले यसो पनि भनिन्‌, “यहोवा हाम्रो ख्याल राख्नुहुन्छ र सङ्‌गी भाइबहिनीहरू पनि एक-अर्काको ख्याल राख्छन्‌ भनेर बुझें। साथै संसारभरका भाइबहिनी हाम्रो लागि प्रार्थना गर्दै छन्‌ भनेर महसुस गरें।”

१४. बिरामीहरू र वृद्धहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१४ बिरामीहरू र वृद्धहरूलाई मदत गर्नुहोस्‌। बिरामीहरू र वृद्धहरू देख्दा हाम्रो मनमा स्वतः उनीहरूप्रति दया जाग्छ। हामी यस्ता सबै दुःखकष्टको अन्त भएको चाहन्छौं। त्यसैले परमेश्‍वरको राज्य छिट्टै आओस्‌ भनेर प्रार्थना गर्छौं। तर त्यतिन्जेल हामी यस्ता गाह्रो अवस्था भोगिरहेकाहरूलाई सक्दो मदत गरिरहन्छौं। एक जना लेखकले आफ्नी वृद्ध आमाको विषयमा लेखेको कुरा विचार गर्नुहोस्‌। उनकी आमालाई अल्जाइमर रोग (सुद्धी हराउने रोग) लागेको थियो। एक दिन तिनले आफ्नो लुगामै फोहोर गरेछिन्‌। तिनले आफ्ना लुगा सफा गरिरहेको बेला घरको घण्टी बज्यो। ढोकामा दुई जना यहोवाका साक्षीहरू थिए। ती साक्षीहरू तिनलाई बेला-बेलामा भेट्‌न आइरहन्थे। ती साक्षीहरूले तिनलाई लुगा सफा गर्न मदत गरिदिऊँ कि भनेर सोधे। ती महिलाले भनिन्‌, “कस्तो लाज लागिरा’छ, तर हुन्छ गरिदिनुस्‌।” ती साक्षीहरूले सफा गर्न तिनलाई मदत गरे। त्यसपछि तिनीहरूले चिया बनाइदिए र गफ गर्न बसे। साक्षीहरूको राम्रो व्यवहार देखेर ती लेखकको साह्रै मन छोयो। उनले यस्तो लेखे, “साक्षीहरूलाई त मान्‍नै पर्छ। तिनीहरू आफू जे प्रचार गर्छन्‌, त्यसअनुसार काम पनि गर्छन्‌।” बिरामीहरू र वृद्धहरूलाई मदत दिन तपाईं पनि सक्दो गर्न सक्नुहुन्छ कि?—फिलि. २:३, ४.

१५. हाम्रो प्रचारकार्यले मानिसहरूलाई कसरी मदत गर्छ?

१५ मानिसहरूलाई यहोवाबारे सिकाउनुहोस्‌। अहिले मानिसहरूले विभिन्‍न समस्या भोगिरहेका छन्‌ र अनेकन्‌ चिन्तामा डुबेका छन्‌। यस्ता मानिसहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका भनेको उनीहरूलाई यहोवाबारे अनि उहाँको राज्यले के-के गर्नेछ भनेर बताउनु हो। अर्को तरिका भनेको उनीहरूलाई परमेश्‍वरको स्तरअनुसार जीवन बिताउनु किन बुद्धिमानी हो भनेर बुझ्न मदत गर्नु हो। (यशै. ४८:१७, १८) प्रचारकार्यमा भाग लिंदा तपाईंले यहोवाको आदर गरिरहनुभएको र मानिसहरूलाई दया देखाइरहनुभएको हुनेछ। त्यसैले प्रचारकार्यमा अझ धेरै समय बिताउन सक्नुहुन्छ कि?—१ तिमो. २:३, ४.

दया देखाउँदा हामी आफैलाई फाइदा हुन्छ!

१६. दया देखाउँदा हामी आफैलाई कस्तो फाइदा हुन्छ?

१६ दयालु हुँदा हाम्रो स्वास्थ्यमा र मानिसहरूसितको सम्बन्धमा सकारात्मक असर पर्छ भनेर मानसिक स्वास्थ्य विशेषज्ञहरू बताउँछन्‌। दुःखमा परेकाहरूलाई मदत गर्दा हामी अझ आनन्दित र आशावादी हुन सक्छौं; त्यति एक्लो महसुस गर्नेछैनौं र नकारात्मक सोचाइ राख्नेछैनौं। हो, दया देखाउँदा हामी आफैलाई फाइदा हुन्छ! (एफि. ४:३१, ३२) अरूलाई मदत गर्न इच्छुक हुँदा हामी सफा अन्तस्करण राख्न सक्छौं। किनभने अरूलाई दया देखाउँदा हामी यहोवाले चाहनुभएअनुसार जीवन बिताइरहेका छौं भनेर ढुक्क हुन्छौं। साथै हामी अझ असल आमाबुबा, जीवनसाथी र मित्र बन्‍न सक्नेछौं। अरूलाई दया देखाउन अग्रसर हुने मानिसहरूलाई आवश्‍यक परेको बेलामा अक्सर अरूले पनि मदत गर्छन्‌।—मत्ती ५:७; लूका ६:३८ पढ्‌नुहोस्‌।

१७. तपाईं किन दयालु हुन चाहनुहुन्छ?

१७ हुन त दया देखाउँदा हामी आफैलाई फाइदा हुन्छ। तर त्यो नै हामीले दया देखाउनुको मुख्य कारण हुनु हुँदैन; बरु प्रेम र दयाको स्रोत यहोवाको देखासिकी गर्ने र उहाँको महिमा गर्ने हुनुपर्छ। (हितो. १४:३१) उहाँले हाम्रो लागि सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ। त्यसैले उहाँको देखासिकी गर्न सक्दो कोसिस गरौं। यसो गर्दा हामीले सङ्‌गी दाजुभाइ दिदीबहिनीसित न्यानो सम्बन्ध राख्न र छिमेकीहरूसित पनि सुमधुर सम्बन्ध कायम गर्न सक्नेछौं।—गला. ६:१०; १ यूह. ४:१६.

a यस लेखमा प्रयोग गरिएको “दया” शब्दलाई नयाँ संसार अनुवाद-का कतिपय पदहरूमा “करुणा” र “कोमल करुणा” भनेर अनुवाद गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने