यहोवाले करुणामय शासन गर्नुहुन्छ
इतिहास केलाएर हेर्दा थुप्रै मानव शासकहरूले आफ्ना प्रजाहरूको दुःखकष्टप्रति पटक्कै वास्ता नराखी शक्ति जमाएको देखिन्छ। तथापि, यहोवाले त्यसो नगरी आफ्नो निम्ति इस्राएल राष्ट्र छान्नुभयो र करुणामय शासन गर्नुभयो।
इस्राएलीहरू पुरातन मिश्रमा दास छँदै यहोवाले तिनीहरूको पुकारा सुन्नुभयो। “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो, . . . उहाँको प्रेम र करुणामा उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो।” (यशैया ६३:९) यहोवाले चमत्कारपूर्ण ढंगमा भोजनको प्रबन्ध गर्नुभएर इस्राएललाई बचाउनुभयो र तिनीहरूको आफ्नै भूमिमा ल्याउनुभयो।
यहोवाले यस राष्ट्रलाई दिनुभएका व्यवस्थामा पनि यहोवाको करुणामय गुण झल्कियो। उहाँले इस्राएलीहरूलाई टुहुराटुहुरी, विधवा तथा विदेशीहरूप्रति करुणामय ढंगमा व्यवहार गर्ने आदेश दिनुभयो। तिनीहरूले अशक्तहरूको नाजायज फाइदा उठाउनु हुँदैनथ्यो।
खाँचोमा परेकाहरूलाई करुणा देखाउनुपर्छ भनेर व्यवस्थामा भनिएको थियो। गरिबहरूले कटनीपछि सिलोबालो खोज्नसक्थे। विश्राम (सातौं) वर्षमा ऋणहरू माफी गरिन्थ्यो। बेचबिखन गरेका सबै पैतृक जग्गाजमीन विशेष-उत्सवमा (५० औं वर्ष) फिर्ता गर्नुपर्थ्यो। पुरातन इस्राएल—यहाँको जीवन तथा संस्थाहरू (अंग्रेजी) यसो भन्छ: “अहिलेको अर्थमा भन्ने हो भने इस्राएलमा सामाजिक विभाजन थिएन।” “भर्खर भर्खर बसोबास गर्न थाल्दा सबैजसो इस्राएलीहरूको जीवनस्तर एकैनासे थियो।”—लेवी २५:१०; व्यवस्था १५:१२-१४; २४:१७-२२; २७:१८.
यहोवाको करुणा अनुकरण गर्ने
परमेश्वरका सेवकहरू उहाँको करुणाले उत्प्रेरित हुन्छन्। उदाहरणका लागि, इतिहास केलाउने हो भने भूतपूर्व शाही राजकुलका सदस्यहरूलाई केही नवनियुक्त राजाहरूले मारेका छन्। तर यहोवाका सेवक दाऊदले त्यसो गरेनन्। राजा शाऊलको मृत्युपछि दाऊदले शाऊलको नाति तथा उत्तराधिकारी मपीबोशेतलाई बचाए। “दाऊदले . . . शाऊलको नाति जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।”—२ शमूएल २१:७.
यहोवाको करुणालाई येशूले जत्ति अरू कुनै मानवले अनुकरण गर्न सकेको छैन। ईश्वरीय करुणाले प्रेरित हुनुभएर उहाँले कतिपय चमत्कारहरू गर्नुभयो। एकचोटि एक जना कोरीले यस्तो बिन्ती गरे: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।’ तब उहाँले टिठाएर आफ्नो हात बढ़ाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ ” (मर्कूस १:४०-४२) अर्को पटक एउटा ठूलो भीड येशूको पछि लाग्यो। त्यस्तो कोलाहलमा येशूले दुइ जना अन्धोको यस्तो बिन्ती सुन्नुभयो: “ ‘हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया रहोस्।’ . . . येशूले टिठाएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले देख्नलागे।”—मत्ती २०:२९-३४.
अरूप्रतिको येशूको भावनालाई ठूलो भीडले दबाउन सकेन। भोकै परेको भीडलाई एक चोटि उहाँले यसो भन्नुभयो, “म यस भीड़माथि टिठाउँछु।” अतः उहाँले चमत्कारपूर्ण ढंगमा तिनीहरूलाई खुवाउनुभयो। (मर्कूस ८:१-८) येशूले यात्रा गर्नुहुँदा उहाँले ती भीडहरूलाई सिकाउनु मात्र भएन तर तिनीहरूका आवश्यकताहरूको पनि हेरचाह गर्नुभयो। (मत्ती ९:३५, ३६) त्यस्तै एउटा यात्रापछि येशू र उहाँका चेलाहरूलाई खाने समेत फुर्सत भएन। बाइबल यसरी वर्णन गर्छ: “उहाँहरू डुंगामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। अब मानिसहरूले उहाँ गइरहनुभएको देखे, र धेरैले चिने, र सबै शहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँलाई उछिने। औ उहाँ निस्कँदा एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।”—मर्कूस ६:३१-३४.
येशू, तिनीहरूको बिमारी तथा गरिबीमा होइन तर आध्यात्मिक अवस्थाप्रति टिठाउनुभयो। अगुवाइ गर्नेहरूले तिनीहरूको नाजायज फाइदा उठाइरहेका हुँदा येशू “तिनीहरूमाथि टिठाउनुभयो।” “तिनीहरूमाथि टिठाउनुभयो” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ हो, “पेट निमोठिनु।” निस्सन्देह, येशू करुणामय हुनुहुन्थ्यो!
क्रूर संसारमा करुणा
अहिले येशू ख्रीष्ट यहोवाको स्वर्गीय राज्यको राजा हुनुहुन्छ। पुरातन इस्राएलमा गर्नुभएझैं अहिले पनि यहोवाले करुणामय शासन गर्नुहुन्छ। “जुन दिन म तिनीहरूलाई मेरो निज धन बनाउनेछु तिनीहरू मेरा हुनेछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ। [‘अनि म तिनीहरूलाई करुणा देखाउनेछु,’ NW]”—मलाकी ३:१७.
यहोवाको करुणा चाहनेहरूले उहाँको मार्ग पछ्याउनैपर्छ। हो, अहिले हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ मानिसहरू खाँचोमा परेकाहरूलाई सहयोग गर्नुभन्दा आफ्नो जीवनस्तर कायम राख्न बढी चिन्तित छन्। अख्तियारवालाहरू कामदार तथा उपभोक्ताहरूको सुरक्षाको वास्ता नराखी आफ्नै नाफा खोज्छन्। बाइबलले २ तिमोथी ३:१-४ मा हाम्रो समयबारे एकदमै सही वर्णन गरेको छ किनभने अहिलेको नैतिक अवस्थाले थुप्रै मानिसहरूको मनमा करुणालाई निसासी दिएको छ।
तैपनि, हामीले अरूलाई करुणा देखाउनसक्ने अवसरहरू पाउनै गाह्रो चाहिं होइन। के हामी आफ्ना छिमेकीहरूलाई केही सहयोग गर्नसक्छौं? कोही बिरामी परेको छ भने भेट्न जानसक्छौं कि? अथवा निराश भएको कसैलाई सान्त्वना दिन यो सल्लाह पालन गर्नसक्छौं कि: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर”?—१ थिस्सलोनिकी ५:१४.
कसैले गल्ती गर्दा उसप्रति कठोर व्यवहार नगर्न पनि करुणाले मदत गर्नेछ। हामीलाई यसो भनिएको छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्। औ जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३१, ३२.
करुणाले हामीलाई अख्तियार दुरुपयोग गर्ने झुकाउ राख्नबाट जोगाउँछ। बाइबल यसो भन्छ: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) विनयले हामीलाई आफ्नो अधीनमा भएका मानिसहरूको भावना बुझ्न मदत गर्छ। करुणामय हुनु भनेको रिझाउन गाह्रो नभई नम्र तथा व्यवहारिक हुनु हो। कार्यकुशल हुनुपर्छ भन्दैमा मानिसहरूलाई मेशिनका पुर्जाजस्तो सम्झनु हुँदैन। साथै, करुणामय पतिहरूले आफ्ना पत्नीहरू निर्बल पात्र हुन् भनी बिर्संदैनन्। (१ पत्रुस ३:७) येशूको करुणामय उदाहरण विचार गर्दा हामीले यी सबै पक्षमा मदत पाउनसक्छौं।
येशूले आफ्नो पार्थिव सेवकाईको दौडान मानिसहरूप्रति करुणा देखाउनुभएको हुँदा उहाँ अहिले पनि त्यस्तै हुनुहुन्छ र भविष्यमा पनि करुणामय शासक हुनुहुनेछ भनेर विश्वस्त हुनसक्छौं। भजन ७२ ले उहाँबारे भविष्यसूचक ढंगमा यसो भन्छ: “प्रजाहरूका दुःखी-दाखीलाई उसले इन्साफ गर्नेछ, उसले दरिद्रहरूको सन्तानलाई बचाउनेछ। र अत्याचारीहरूलाई टुक्रा टुक्रा पार्नेछ एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।”—भजन ७२:४, ८, १३.
परमेश्वरको वचनले यस्तो अगमवाणी गर्छ: “गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ, र पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनुहुनेछ, र . . . दुष्टलाई नाश गर्नुहुनेछ।” पशुसरह व्यवहार गर्ने मानिसहरूले पनि आफ्नो तौरतरिका बदल्नेछन् भनी भविष्यवाणी गर्दै अझ यसो भनिएको छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:४-९) यस भविष्यवाणीले यहोवालाई चिन्ने तथा उहाँको करुणामय मार्ग पछ्याउने मानिसहरूको विश्वव्यापी समाजको प्रतिज्ञा गर्छ।