प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १२/१५ pp. २५-२७
  • सेवा गर्न उत्प्रेरित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा गर्न उत्प्रेरित
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रोत्साहनका अन्तिम दुई शब्द
  • अनुभवीहरू बोल्छन्‌
  • गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • गिलियड स्कूल मिसनरी प्रशिक्षणको ६० वर्ष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • सफल विद्यार्थीहरूबाट सफल मिसनरीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवामा आनन्दित होओ र हर्ष मनाओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १२/१५ pp. २५-२७

सेवा गर्न उत्प्रेरित

कुन कुराले २४ विवाहित दम्पतीलाई आफ्नो युवावस्थामा परिवार, साथीभाइ तथा आफ्नो ठाउँ छोडेर विदेशी भूमिमा मिसनरी कार्य थाल्न उत्प्रेरित गऱ्‍यो? पापुआ न्यु गिनी, ताइवान, अफ्रिका र ल्याटिन अमेरिका जस्ता ठाउँहरूमा सेवा गर्न पाउँदा तिनीहरू किन आनन्दित हुन्छन्‌? के यो साहसिक कार्यहरूप्रतिको मोह हो? होइन। बरु, तिनीहरू परमेश्‍वर अनि आफ्ना छिमेकिप्रतिको साँचो प्रेमले गर्दा उत्प्रेरित हुन्छन्‌।—मत्ती २२:३७-३९.

को हुन्‌ यी मानिसहरू? तिनीहरू वाचटावर बाइबल स्कूल अफ गिलियडका १०९ औं कक्षाका स्नातकहरू हुन्‌। सेप्टेम्बर ९, २००० शनिबारका दिन स्नातक प्राप्त गर्नेहरूलाई सफल मिसनरी हुन दिइएको मायालु सल्लाह सुन्‍न न्यु योर्क, प्याटर्सनस्थित वाचटावर शैक्षिक केन्द्र र स्याटलाइटद्वारा जोडिएका ठाउँहरू गरेर जम्मा ५,१९८ जना भेला भएका थिए।

कार्यक्रमका अध्यक्ष यहोवाका साक्षीहरूको परिचालक निकायको शिक्षण समितिका सदस्य स्टीभन लेट थिए। तिनको प्रारम्भिक टिप्पणी मत्ती ५:१३ मा आधारित थियो, “तिमीहरू पृथ्वीका नून हौ।” भाइ लेटले येशूका शब्दहरू अवश्‍य पनि स्नातक प्राप्त गर्ने विद्यार्थीहरूलाई लागू हुन्छ भनेर बताए। उदाहरणका लागि, कुनै पनि पकवानलाई स्वादिलो बनाउने गुण नुनसँग छ। त्यस्तै गरी, मिसनरीहरू पनि लाक्षणिक अर्थमा तिनीहरूको प्रभावकारी प्रचारकार्यले गर्दा नुनजस्तै हुन्‌।

प्रोत्साहनका अन्तिम दुई शब्द

त्यसपछि भाइ लेटले लामो समयदेखि यहोवाको सेवामा लागिरहेकाहरूको परिचय दिए र तिनीहरूले छोटो तर प्रभावकारी धर्मशास्त्रीय भाषणहरू दिए। पहिलो लेखन विभागमा सेवारत जोन विश्‍चुक थिए। “सबैभन्दा छोटो भजनले मिसनरी मनोभावलाई जोड दिन्छ” भन्‍ने शीर्षक भएको तिनको भाषण भजन ११७ मा आधारित थियो। आज विश्‍वभरि यहोवा अनि उहाँको राज्यबारे “सबै जातिका मानिस” र “जन[लाई]” साक्षी दिनु आवश्‍यक छ। “परमप्रभुको प्रशंसा” गर्न अरूलाई आग्रह गरेर भजन ११७ मा भनिएको कुरा पूरा गर्न विद्यार्थीहरूलाई प्रोत्साहन दिइयो।

अनि अध्यक्षले परिचालक निकायका गाइ पियर्सलाई मञ्चमा बोलाए। तिनले “दृढ तर लचकदार हुनुहोस्‌” भन्‍ने विषयमा भाषण दिए। परमेश्‍वरको वचन बलियो छ। व्यवस्था ३२:४ मा यहोवा परमेश्‍वरलाई चट्टानको संज्ञा दिइएको भए तापनि उहाँको वचनले लचकदार पनि हुने ठाउँ दिन्छ किनभने यो सबै भाषा तथा संस्कृति अर्थात्‌ सम्पूर्ण मानिसजातिको निम्ति लेखिएको थियो। विद्यार्थीहरूलाई परमेश्‍वरको वचनको सन्देश मानिसहरूको हृदय अनि अन्तस्करणमा छुने गरी प्रचार गर्न सल्लाह दिइयो। (२ कोरिन्थी ४:२) भाइ पियर्सले यस्तो सल्लाह दिए: “सही सिद्धान्तहरूको निम्ति दृढ हुनुका साथै लचकदार पनि हुनुहोस्‌। तपाईंको क्षेत्रका मानिसहरू अर्कै संस्कृतिको भए भन्दैमा तिनीहरूलाई तुच्छ नठान्‍नुहोस्‌।”

गिलियडका प्रशिक्षकहरूमध्ये एक र मुख्यालयमा सेवा गरेको झन्डै ५३ वर्ष भइसकेको कार्ल आडम्सले “तपाईंहरू यहाँबाट कहाँ जानुहुन्छ?” भन्‍ने विचारोद्दीपक शीर्षकमा भाषण दिए। हो, २४ दम्पतीले विश्‍वका विभिन्‍न २० वटा देशमा मिसनरी सेवा गर्ने कार्यभार पाए तर यस्तो प्रश्‍न उठाइएको थियो, तपाईं त्यो देश पुगेर त्यहाँको अवस्था देखेपछि के गर्नुहुन्छ? हामी अधीर मनोभाव भएको संसारमा बाँचिरहेका छौं। मानिसहरू आफूलाई खुसी पार्न नयाँ ठाउँ गएर नयाँ नयाँ कामकुरा गर्न चाहन्छन्‌। अर्कोतर्फ, विद्यार्थीहरूले यहोवाबाट त्यस ठाउँमा जाने कार्यभार पाएका छन्‌ जहाँ तिनीहरूले उहाँको “भेड़ा[को]” निःस्वार्थ हेरचाह गरेको उहाँ चाहनुहुन्छ। तिनीहरू पुरातन इस्राएलका मानिसहरू जस्तो हुनु हुँदैन। तिनीहरूको स्वार्थी मनोभावले गर्दा यहोवाद्वारा सबै मानिसजातिलाई आशिष्‌ दिन प्रयोग हुने सुअवसरबाट वञ्चित हुनुपऱ्‍यो। बरु, तिनीहरूले येशू ख्रीष्टको अनुकरण गर्नुपर्छ। किनकि उहाँले सधैं निःस्वार्थसाथ आफ्नो पिताको इच्छाअनुसार गर्नुभयो र जस्तै परिस्थितिमा पनि उहाँप्रति आज्ञाकारी हुनुभयो।—यूहन्‍ना ८:२९; १०:१६.

गिलियड स्कूलका रजिस्ट्रार, वालेस लिभरन्सको भाषणको विषय थियो, “परमेश्‍वरका गहिरा कुराहरूको कदर गर्नुहोस्‌।” धर्मशास्त्रमा परमेश्‍वरको वचनलाई बारम्बार धन, बहुमूल्य रत्न, अनमोल धातु, अत्यन्तै बहुमूल्य अनि खोजिएको र धेरै माग भएको कुरा भनेर बताइएको छ। “परमेश्‍वरको ज्ञान” प्राप्त गर्न “गाड़-धनझैं” खोज्नुपर्छ भनेर हितोपदेश २:१-५ मा बताइएको छ। वक्‍ताले विद्यार्थीहरूलाई आफ्नो नयाँ कार्यभार सम्हाल्दै परमेश्‍वरका गहिरा गहिरा कुराहरू खोजिरहन प्रोत्साहन दिए। भाइ लिभरन्सले यस्तो तर्क गरे: “यो व्यावहारिक छ किनभने यसले यहोवामाथिको विश्‍वास र भरोसा बढाउँछ अनि तपाईंहरूले आफ्नो कार्यभार सम्हालिरहन बल पाउनुहुनेछ। यसले तपाईंहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे अरूसित विश्‍वस्त भई बोल्न र झन्‌ प्रभावकारी शिक्षक हुन मदत गर्नेछ।”

कक्षा कोठाकै परिवेशलाई चलाउँदै गिलियड स्कूलका अर्का प्रशिक्षकले विगत पाँच महिनामा विद्यार्थीहरूलाई क्षेत्र सेवकाईमा यहोवाले कसरी आशिष्‌ दिनुभयो भनेर पुनरावृत्ति गरे। प्रेरित २०:२० मा लिपिबद्ध पावलका शब्दहरू औंल्याउँदै प्रेरित पावलले एफिससमा आफ्नो जन सेवकाईको दौडान सबै अवसरमा साक्षी दिने मौकाको फाइदा उठाए भनी लरेन्स बोवेनले प्रकाश पारे। विद्यार्थीहरूको अनुभवले के कुरा प्रमाणित गऱ्‍यो भने, प्रेरित पावलजस्तै आज हाम्रो समयमा पनि परमेश्‍वर अनि आफ्नो छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भएकाहरूले सत्यबारे बोल्न र परमेश्‍वरको वचनको शक्‍ति अरूमा काम गर्न दिनदेखि कहिल्यै पछि पर्दैनन्‌। फलस्वरूप, यहोवाबाट प्रचुर मात्रामा आशिष्‌ पाउँछौं।

अनुभवीहरू बोल्छन्‌

स्कूलको दौडान विशेष गरी गिलियड विद्यार्थीहरूले विभिन्‍न २३ वटा देशबाट आएका शाखा कार्यालयका सदस्यहरूसित संगत गर्न पाए। तिनीहरू पनि प्याटर्सन शैक्षिक केन्द्रमा विशेष प्रशिक्षणको निम्ति आएका थिए। सेवा विभागका लियन विभर र मर्टन क्याम्बेलले विभिन्‍न शाखा कार्यलयका सदस्यहरूको अन्तरवार्ता लिए र तिनीहरूमध्ये कतिपय आफै गिलियडका स्नातक थिए। यी अनुभवी मिसनरीहरूको अनुभव सुन्‍न पाउनु विद्यार्थी, परिवार तथा मित्रहरूको निम्ति आश्‍वासनदायी थियो।

स्नातक प्राप्त गर्न लागेका विद्यार्थीहरूलाई आफूलाई खटाइएको नयाँ ठाउँमा काँटछाँट गर्न मदत मिलोस्‌ भन्‍ने हेतुले यस्ता टिप्पणीहरू गरिएको थियो: “सकारात्मक हुनुहोस्‌। अनौठो वा बुझ्नै नसक्ने केही कुरा अनुभव गर्नुभयो भने हरेस नखानुहोस्‌। यहोवामा भर पर्नुहोस्‌”; “आफूसँग भएका कुरामा खुसी हुन सिक्नुहोस्‌ र जीवनका आधारभूत आवश्‍यकताहरू यहोवाले पुऱ्‍याइदिनुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌।” अन्य टिप्पणीहरू विद्यार्थीहरूलाई आफ्नो कार्यभारबाट आनन्द उठाइरहन मदत दिनको निम्ति थियो। तीमध्ये केही अभिव्यक्‍तिहरू यसप्रकार थिए: “आफ्नो ठाउँसँग अहिलेको ठाउँ तुलना नगर्नुहोस्‌”; “स्थानीय भाषा सिक्नुहोस्‌ र मानिसहरूसँग कुरा गर्नसक्ने गरी राम्ररी बोल्नुहोस्‌”; “त्यहाँका मानिसहरूको चलन तथा परम्पराहरू सिक्नुहोस्‌ किनभने यसले तपाईंलाई आफ्नो कार्यभारमा लागिरहन मदत गर्नेछ।” यी शब्दहरू नयाँ मिसनरीहरूको निम्ति ठूलो प्रोत्साहनको स्रोत थियो।

अन्तरवार्तापछि भूतपूर्व मिसनरी, गिलियडको ४२ औं कक्षाको स्नातक र यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य डेविड स्प्लेनले “विद्यार्थी कि स्नातक?” भन्‍ने विचारणीय विषयमा मुख्य भाषण दिए। तिनले स्नातक प्राप्त गर्न लागेका कक्षालाई यस्तो प्रश्‍न गरे: “आफ्नो मिसनरी कार्यमा जानुहुँदा आफूबारे कस्तो दृष्टिकोण राख्नुहुन्छ? मिसनरी कार्यबारे सबै थाह भएका स्नातकहरू वा अझ धेरै सिक्न बाँकी विद्यार्थीहरूको रूपमा?” भाइ स्प्लेनले बुद्धिमान्‌ विद्यार्थीले आफूलाई विद्यार्थीको रूपमा लिनेछ भनी औंल्याए। मिसनरीहरूले, आफ्नो मिसनरी कार्य क्षेत्रमा भेटेका सबैले तिनीहरूलाई केही न केही सिकाउन सक्षम छन्‌ भन्‍ने मनोभाव राख्नुपर्छ। (फिलिप्पी २:३) विद्यार्थीहरूलाई सँगी मिसनरी, शाखा कार्यालय र स्थानीय मण्डलीसँगसँगै काम गर्न प्रोत्साहन दिइयो। “तपाईंहरू अन्तिम परीक्षामा उतीर्ण हुनुभएको छ तर विद्यार्थी हुन नछोड्‌नुहोस्‌। तपाईं त्यहाँ सिक्न आउनुभएको हो भनेर सबैलाई प्रस्ट पार्नुहोस्‌” भनी भाइ स्प्लेनले आग्रह गर्नुभयो।

भाषणपछि विद्यार्थीहरूलाई प्रमाणपत्र दिइयो र श्रोतागणलाई तिनीहरू खटाइएका देशहरूको नाउँ घोषणा गरियो। कक्षाको प्रतिनिधिले परमेश्‍वरको वचनबाट सिकेका कुराहरूबाट उत्प्रेरित भई पवित्र सेवामा अझ बढी भाग लिने स्नातक प्राप्त गर्ने विद्यार्थीहरूको संकल्प पढेर सुनाइएको थियो, यो विशेष क्षण थियो।

निस्सन्देह, स्नातक प्राप्त विद्यार्थीहरूलाई परमेश्‍वर अनि आफ्ना छिमेकीलाई प्रेम देखाउन अझ सुदृढ पारियो भनी उपस्थित सबै सहमत हुनेछन्‌। तिनीहरूलाई आफ्नो मिसनरी कार्यमा मानिसहरूलाई आध्यात्मिक तवरमा मदत गर्न झनै कटिबद्ध बनाएको छ।

[पृष्ठ २५-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १०

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: २०

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३३.७

सच्चाइमा बिताएको औसत वर्ष: १६.२

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२.५

[पृष्ठ २६-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको १०९ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमश: अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ हो।

(१) कोलिन्स, ई.; माइल्स, एल.; आल्भार्डो, ए.; लेक, जे. (२) भान ड्युसेन, एल.; बिहारी, ए.; हाक्कनेन, एच.; कोस, एस.; स्मिथ, एच.; (३) आसफोर्ड, जे.; आसफोर्ड, सि.; बोर, सि.; रिचर्ड, एल.; विलबर्न, डि.; लेक जे. (४) चिचिइ, के.; चिचिइ, एच.; रमिरेज, एम.; बाउमान, डि.; बेकर, जि.; बिहारी, एस.; रमिरेज, ए. (५) भान ड्युसेन, डब्ल्यु.; लेमाँट्रे, एच.; पिस्को, जे.; कट्‌स, एल.; रसल, एच.; जोन्सन, आर. (६) बेकर, एफ.; बाउमान, डि.; जोन्सन, के.; पाइफर, ए.; म्याडसेन, सि.; लेमाँट्रे, जे.; हाक्कनेन, पि. (७) स्मिथ, आर.; रसल, जे.; कोलिन्स, ए.; पिस्को डि.; विलबर्न, आर.; कोस, जि. (८) कट्‌स, बि.; बोर, जे.; म्याडसेन, एन.; पाइफर, एस.; रिचर्ड, ए.; माइल्स, बि.; आल्भार्डो, आर.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने