प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १०/१ pp. २०-२३
  • वफादार हुनुको अर्थ के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार हुनुको अर्थ के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले वफादारिता प्रदर्शित गर्नुभयो
  • सकारात्मक कार्यद्वारा आफ्नो वफादारी प्रमाणित गर्नुहोस्‌
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • वफादारी यस्को मूल्य के हुने हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १०/१ pp. २०-२३

वफादार हुनुको अर्थ के हो?

सा. यु.पू. दोस्रो शताब्दीका यहूदी हासिदीवादीहरू आफूलाई सच्चा वफादार ठान्थे। तिनीहरूको नाउँ हिब्रू शब्द कासेड-बाट लिइएको हो, जसको मूल अर्थ “वफादार” हुन्छ। यो केसेड भन्‍ने संज्ञाबाट लिइएको हो, जसलाई अक्सर “करुणा,” “वफादार प्रेम,” “दया,” “भलाइ,” “कृपा” भनी अनुवाद गरिन्छ। थियोलोजिकल डिक्सनरी अफ द ओल्ड टेस्टामेन्ट-अनुसार (नयाँ नियमको धर्मविज्ञानसम्बन्धी शब्दकोश) केसेड “सक्रिय, मिलनसार र सहनशील” हुन्छ र यसले मानव मनोभावलाई मात्र होइन तर यस्तो मनोभावबाट उत्प्रेरित कार्यलाई पनि बुझाउँछ। यो यस्तो कार्य हो जसले जीवन बचाउनुका साथै फस्टाउन मदत गर्छ। यो मानिसको पीडा अन्त गरिदिन गरिएको हस्तक्षेप हो। यो मित्रताको प्रदर्शन हो।”

निस्सन्देह, थुप्रै भाषामा एउटै शब्दले बाइबलमा प्रयोग गरिएको यो हिब्रू शब्दको पूरा अर्थ खुलाउन सक्दैन। जे होस्‌, बाइबलमा वफादारीको अर्थ प्रतिबद्ध हुनु मात्र होइन। यसमा कसैसँग जोडिएको मायालु सम्बन्धका साथै अरूको हितको निम्ति सक्रिय कदम चाल्नु पनि समावेश छ। साँचो वफादारी के हो भनी बुझ्न यहोवाले यो गुण अब्राहाम, मोशा, दाऊद, इस्राएल राष्ट्र र सम्पूर्ण मानिसजातिप्रति कसरी प्रदर्शित गर्नुभयो विचार गर्नुहोस्‌।

यहोवाले वफादारिता प्रदर्शित गर्नुभयो

यहोवाले आफ्नो मित्र अब्राहामलाई यसो भन्‍नुभयो: “तेरो ढाल मनै हुँ।” (उत्पत्ति १५:१; यशैया ४१:८) उहाँले भन्‍नु मात्र भएन, गरेर पनि देखाउनुभयो। यहोवाले अब्राहाम र तिनको परिवारलाई बचाउनुका साथै फिरऊन र अबीमेलेकको हातबाट छुटाउनु पनि भयो। लूतलाई चार जना राजाको पन्जाबाट बचाउन उहाँले अब्राहामलाई मदत गर्नुभयो। अब्राहाम र साराकै वंशबाट प्रतिज्ञा गरिएको सन्तान जन्मोस्‌ भनेर यहोवाले १०० वर्षको अब्राहाम र ९० वर्षकी साराको प्रजनन शक्‍ति पुनर्स्थापित गरिदिनुभयो। यहोवाले दर्शन, सपना तथा स्वर्गदूतीय सन्देशवाहकहरूमार्फत नियमित तवरमा कुरा गर्नुहुन्थ्यो। वास्तवमा भन्‍ने हो भने, यहोवाले अब्राहामप्रति, तिनी जीवित छँदा र तिनको मृत्यु भएको धेरै लामो समयपछिसम्म पनि वफादारी देखाउनुभयो। शताब्दीयौंको दौडान अब्राहामको सन्तान अर्थात्‌ इस्राएल राष्ट्र पथभ्रष्ट भए तापनि यहोवाले आफ्नो प्रतिज्ञा तोड्‌नुभएन। अब्राहामसँग यहोवाको सम्बन्ध साँचो वफादारीको प्रमाण थियो अर्थात्‌ कार्यमा परिणत भएको प्रेम थियो।—उत्पत्ति अध्याय १२ देखि २५.

भनिन्छ, “परमप्रभु मोशासित . . . आमने सामने बात गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित बात गर्दछन्‌।” (प्रस्थान ३३:११) हो, मोशा र यहोवाबीचको सम्बन्ध येशू ख्रीष्ट आउनुभन्दा अघिका कुनै पनि अगमवक्‍ताको भन्दा घनिष्ठ थियो। यहोवाले कसरी मोशाप्रति वफादारी प्रदर्शित गर्नुभयो?

शक्‍तिशाली र योग्यता भएको ४० वर्षीय मोशाले अहंकारी हुँदै आफ्ना मानिसहरूलाई छुटाउने जिम्मेवारी आफै लिन खोजे। तर समय अझै भएको थिएन। तिनी आफ्नो ज्यान बचाउन भाग्नुपऱ्‍यो। तिनले ४० वर्षसम्म मिद्यानमा गोठालो काम गरे। (प्रेरित ७:२३-३०) तथापि, यहोवाले तिनलाई त्याग्नु भएन। उचित समयमा इस्राएलीहरूलाई मिश्रबाट छुट्याउन मोशालाई नै पठाइयो।

त्यस्तै गरी, यहोवाले इस्राएलको प्रख्यात दोस्रो राजा, दाऊदप्रति वफादारिता देखाउनुभयो। दाऊद युवकै छँदा यहोवाले अगमवक्‍ता शमूएललाई यसो भन्‍नुभयो: “उठेर त्यसलाई अभिषेक गर्‌। व्यक्‍ति यही हो।” त्यसबेला देखि यहोवाले तिनी इस्राएलको भविष्यको राजाको रूपमा परिपक्व नभएसम्म वफादारीसाथ तिनलाई सुरक्षा दिनुका साथै डोऱ्‍याउनुभयो। यहोवाले तिनलाई “सिंह र भालूदेखि” र भीमकाय पलिश्‍ती गोल्यतको हातबाट बचाउनुभयो। उहाँले दाऊदलाई इस्राएलका शत्रुहरूमाथि एकपछि अर्को गर्दै विजय गराउनुभयो र यहोवाले दाऊदलाई ईर्ष्यालु शाऊलको भालादेखि बचाउनुभयो।—१ शमूएल १६:१२; १७:३७; १८:११; १९:१०.

निस्सन्देह, दाऊद सिद्ध व्यक्‍ति थिएनन्‌। साँच्चै भन्‍ने हो भने, तिनले गम्भीर पाप गरे। तथापि, भित्री हृदयदेखि पश्‍चात्ताप गरेका दाऊदलाई यहोवाले त्याग्नुको सट्टा वफादार भई प्रेम देखाउनुभयो। दाऊदको जीवनकालभरि नै यहोवाले बारम्बार तिनको ज्यान जोगाउनुभयो। दुःखकष्ट भोगिरहेको मानिसको खातिर उहाँले हस्तक्षेप गर्नुभयो। निस्सन्देह, यो करुणामय कार्य हो!—२ शमूएल ११:१-१२:२५; २४:१-१७.

सीनै पर्वतमा मोशालाई दिइएको व्यवस्थाको करार पालन गर्न इस्राएलीहरूले सहमति प्रकट गरेपछि सम्पूर्ण इस्राएल राष्ट्र यहोवासँग विशेष समर्पित सम्बन्धमा बाँधिए। (प्रस्थान १९:३-८) तसर्थ, इस्राएललाई यहोवासँग विवाह बन्धनमा बाँधिएको रूपमा चित्रण गरिन्छ। इस्राएललाई यसो भनियो: “स्वास्नीलाई झैं तेरा परमप्रभुले तँलाई बोलाउनुभएको छ।” अनि यहोवाले तिनलाई यसो भन्‍नुभयो: “अब अनन्त प्रेम देखाएर म तँलाई टिठाउनेछ।” (यशैया ५४:६, ८) यो विशेष सम्बन्धमा यहोवाले कसरी वफादारिता प्रदर्शित गर्नुभयो?

यहोवाले इस्राएलीहरूको आवश्‍यकता पूरा गर्न अनि तिनीहरू र आफूबीचको सम्बन्ध बलियो बनाउन कदम चाल्नुभयो। उहाँले तिनीहरूलाई मिश्रबाट छुटाउनुभयो, राष्ट्रको रूपमा व्यवस्थित गर्नुभयो र तिनीहरूलाई “दूध र मह बहने” देशमा ल्याउनुभयो। (प्रस्थान ३:८) उहाँले लेवी पूजाहारी, विभिन्‍न अगमवक्‍ता र सन्देशवाहकहरूमार्फत नियमित तवरमा आध्यात्मिक निर्देशन दिनुभयो। (२ इतिहास १७:७-९; नहेम्याह ८:७-९; यर्मिया ७:२५) इस्राएल राष्ट्रले अरू देवहरूको उपासना गर्न थाल्दा यहोवाले तिनीहरूलाई सच्याउनुभयो। तिनीहरूले पश्‍चात्ताप गर्दा उहाँले तिनीहरूलाई क्षमा दिनुभयो। निश्‍चय पनि इस्राएल राष्ट्र गुणवती “स्वास्नी” थिएन। यद्यपि, यहोवाले तिनलाई तुरुन्तै त्याग्नु भएन। अब्राहामलाई गर्नुभएका प्रतिज्ञाहरूको कारण आफ्नो उद्देश्‍य पूरा नभएसम्म उहाँ वफादार रहनुभयो। (व्यवस्था ७:७-९) आज विवाहित व्यक्‍तिहरूको निम्ति कस्तो उत्कृष्ट उदाहरण!

धर्मी र अधर्मी सबैको आधारभूत आवश्‍यकताहरू पूरा गर्नुभएर यहोवाले आम मानिसजातिप्रति पनि वफादारिता प्रदर्शित गर्नुहुन्छ। (मत्ती ५:४५; प्रेरित १७:२५) त्योभन्दा पनि ठूलो कुरा त, उहाँले सबै मानिसजाति पाप र मृत्युको दासत्वबाट मुक्‍त होस्‌ र प्रमोदवनमा अनन्त जीवन बिताउने ठूलो प्रत्याशाको आनन्द उठाउने सुअवसर पाओस्‌ भनेर उहाँले आफ्नो पुत्रलाई छुडौतीको बलिदानको रूपमा दिनुभयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) छुडौतीको बलिदान, जीवन बचाउने उत्कृष्ट कार्य थियो। निस्सन्देह, “यो मानिसको पीडा अन्त गर्न गरिएको हस्तक्षेप हो।”

सकारात्मक कार्यद्वारा आफ्नो वफादारी प्रमाणित गर्नुहोस्‌

वफादारी, करुणाको पर्यायवाची शब्द पनि भएकोले यसले आत्मीय सम्बन्धलाई संकेत गर्छ। यदि कसैले तपाईंप्रति करुणा देखायो भने, त्यसको साटो तपाईंले पनि करुणा देखाएको आशा गरिन्छ। वफादारीको साटो पनि वफादारी नै देखाउनुपर्छ। दाऊदले केसेड-सित सम्बन्धित अर्थहरू राम्ररी बुझेका थिए भनेर तिनका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “म तपाईंको पवित्र मन्दिरतिर दण्डवत्‌ गर्नेछु। र तपाईंको . . . नाउँमा धन्यवाद दिनेछु।” किन? “तपाईंको करुणा र सत्यताको निम्ति।” (भजन १३८:२) यहोवाको करुणा पाएको कारण दाऊद पक्कै पनि उहाँको उपासना र प्रशंसा गर्न उत्प्रेरित भए। यहोवाले हामीप्रति देखाउनुभएको करुणाबारे विचार गर्दा के हामी पनि त्यसको साटो फर्काउन उत्प्रेरित हुन्छौं? उदाहरणका लागि, यहोवाको नाउँको बदनाम भयो भने, के तपाईं उहाँको असल नाउँको पक्षमा बोल्न उत्प्रेरित हुनुहुनेछ?

सच्चाइमा भर्खरै आएको एक जना मसीही पुरुष र तिनकी पत्नी, मोटरसाइकल दुर्घटनामा मारिएको एक जना नातेदारको अन्त्येष्टिमा जाँदा ठीक त्यस्तै भयो। अन्त्येष्टि कार्यक्रममा कुनै धार्मिक रीतितिथि गरिने थिएन र उपस्थित कसैले पनि मृत व्यक्‍तिबारे केही शब्द बोल्नसक्थे। एक जना वक्‍ताले त्यस जवान मानिसको अकाल मृत्युको दोष परमेश्‍वरमाथि थोपार्दै यसो भने, ‘परमेश्‍वरले तिनलाई स्वर्गमा चाहनुभएकोले लग्नुभएको हो।’ हाम्रो मसीही भाइ चुप लागेर बस्न सकेनन्‌। तिनीसँग बाइबल, नोट केही नभए तापनि तिनी मञ्चमा गए। “कृपालु, अनुकम्पापूर्ण सर्वोच्च परमेश्‍वरले यस्तो हुन दिनुहुन्छ भनेर के तपाईंहरू सोच्नुहुन्छ?” भनी तिनले प्रश्‍न गरे। त्यसपछि तिनले कुनै तयारीविना नै दस मिनेट धर्मशास्त्र उद्धृत गर्दै हामी किन मर्छौं, मानिसजातिलाई मृत्युबाट उद्धार गर्न परमेश्‍वरले के गर्नुभएको छ र पुनरुत्थानदेखि प्रमोदवनमा अनन्त जीवनको अद्‌भुत आशाबारे तिनले बताए। अनि त्यहाँ उपस्थित १०० जना भन्दा बढी मानिसहरूले लामो समयसम्म ताली बजाइ रहे। त्यस भाइले पछि यसो भने: “मैले कहिल्यै अनुभव नगरेको आन्तरिक आनन्द महसुस गरें। उहाँको बुद्धि अनि शिक्षा दिनुभएकोमा र उहाँको पवित्र नाउँको प्रतिवाद गर्न सुअवसर दिनुभएकोमा मैले यहोवालाई धन्यवाद दिएँ।”

यहोवाप्रतिको वफादारीमा उहाँको वचन बाइबलप्रतिको वफादारी पनि समावेश छ। किन? किनभने बाइबलका पानाहरूद्वारा नै यहोवाले हामीलाई कसरी बाँच्ने भनी सिकाउनुहुन्छ। निस्सन्देह, बाइबलमा भएका नियम तथा सिद्धान्तहरू सबैभन्दा उत्तम र लाभकारी छन्‌। (यशैया ४८:१७) अरूको दबाउ वा तपाईंको आफ्नै कमजोरीलाई यहोवाको नियम पछ्याउनदेखि रोक्ने अवरोध हुन नदिनुहोस्‌। परमेश्‍वरको वचनप्रति वफादार हुनुहोस्‌।

परमेश्‍वरप्रतिको वफादारीमा उहाँको संगठनप्रतिको वफादारी पनि समावेश छ। निश्‍चय, वर्षौंको दौडान केही शास्त्रपदहरूबारे हाम्रो समझ सच्याइनुका साथै खारिएको छ। तथ्य कुरा के हो भने, हामी जस्तो अरू कोही पनि आध्यात्मिक भोजनले तृप्त छैनन्‌। (मत्ती २४:४५-४७) यहोवाले आफ्नो आधुनिक समयको संगठनलाई वफादारीसाथ समर्थन गरिरहनुभएको छ भन्‍ने कुरामा कुनै प्रश्‍नै उठ्‌दैन। के हामी पनि त्यसै गर्न सक्दैनौं र? ए. एच. म्याकमिलनले त गरे। मृत्यु हुनुभन्दा केही समयअघि तिनले यसो भने: “मैले सेप्टेम्बर १९०० मा २३ वर्षको उमेरमा यहोवालाई आफ्नो जीवन समर्पित गर्दा उहाँको संगठन सानो थियो तर मैले आफ्नै आँखाले यी आनन्दित व्यक्‍तिहरूको विश्‍वव्यापी समाज वृद्धि भएको देखेको छु अनि तिनीहरू जोसिलो भई उहाँको सत्य कुरा उद्‌घोषणा गर्छन्‌। . . . पृथ्वीमा यहोवा परमेश्‍वरको सेवामा मेरो जीवनको अन्त जसै नजिकिंदै जाँदै छ उतिनै म पहिलाभन्दा एउटा कुरामा झन्‌ विश्‍वस्त भएको छु। त्यो के हो भने, यहोवाले आफ्ना जनहरूलाई निर्देशन दिनुभएको छ र तिनीहरूको आवश्‍यकताअनुसार ठीक समयमा ठीक कुरा दिनुभएको छ।” अगस्त २६, १९६६ मा मृत्यु नहोउञ्जेल भाइ म्याकमिलनले झन्डै ६६ वर्ष, विश्‍वासी तथा वफादारीसाथ सेवा गरे। परमेश्‍वरको दृश्‍य संगठनप्रति वफादारीको तिनी उत्कृष्ट उदाहरण थिए।

संगठनप्रति वफादार हुनुको अलावा के हामी एकअर्काप्रति पनि वफादार हुन्छौं? क्रूर सतावटको सामना गर्नुपरेमा के हामी आफ्ना भाइबहिनीहरूप्रति वफादार हुनेछौं? दोस्रो विश्‍वयुद्धको दौडान नेदरल्याण्डस्‌का हाम्रा भाइबहिनीहरूले वफादारीको सन्दर्भमा उत्कृष्ट उदाहरण बसाले। ग्रोनिनगेन मण्डलीका एक जना प्राचीन क्लास जे भ्राइसलाई नाजी गेस्टापोले निर्ममतासाथ केरकार गरे र तिनलाई १२ दिनसम्म पाउरोटी र पानी मात्र खान दिएर नजरबन्दमा राखे। बन्दुक तिनीतिर तेर्साएर मार्ने धम्की दिंदै तिनलाई अन्य जिम्मेवार भाइहरूको ठेगाना तथा अन्य महत्त्वपूर्ण जानकारी दिन दुई मिनेट दिइयो। क्लासले एउटै कुरा मात्र भने: “तपाईंहरूले मबाट केही कुरा पनि थाह पाउनसक्नु हुनेछैन। . . . म धोका दिन सक्दिनँ।” तीनतीन चोटि बन्दुक तेर्साएर तिनलाई धम्काइयो। अन्ततः गेस्टापोले हार मान्यो र क्लासलाई अर्कै जेलमा पठाइयो। तिनले कहिल्यै आफ्ना भाइहरूलाई धोका दिएनन्‌।

के हामी आफ्नो सबैभन्दा नजिकको नातेदार अथवा जीवनसाथीप्रति पनि वफादार हुनेछौं? यहोवाले जसरी इस्राएल राष्ट्रसँग गरेको करारको आदर गर्नुभयो त्यसरी नै के हामी पनि आफ्नो विवाहको वाचाप्रति वफादार छौं? आफ्नो पति वा पत्नीप्रति वफादार हुने मात्र होइन तिनीसित घनिष्ठ हुने कोसिस पनि गर्नुपर्छ। आफ्नो विवाहलाई सुरक्षित राख्न कदम चाल्नुहोस्‌। सँगै समय बिताउनुहोस्‌, आपसमा खुलस्त कुराकानी गर्नुहोस्‌, एकअर्कालाई समर्थन तथा प्रोत्साहन दिनुहोस्‌, एकअर्काको कुरा सुन्‍नुहोस्‌, सँगै हाँस्नुहोस्‌, सँगै रुनुहोस्‌, सँगै खेल्नुहोस्‌, तपाईं दुईका लक्ष्यहरू हासिल गर्न सँगै काम गर्नुहोस्‌, एकअर्कालाई खुसी बनाउनुहोस्‌, साथी हुनुहोस्‌। अरूसँग रोमान्टिक भावनाहरू विकास नगर्न विशेष गरी होसियार हुनुहोस्‌। तपाईंका जीवन साथीबाहेक अरूसँग मित्रता र नजिकको सम्बन्ध बढाउनु उचित र सही भए तापनि रोमान्टिक भावनाहरू तपाईंको जोडीमा मात्र सीमित हुनुपर्छ। तपाईं र तपाईंको जोडीबीच कसैलाई पनि आउन नदिनुहोस्‌।—हितोपदेश ५:१५-२०.

विश्‍वासी मित्र तथा परिवारप्रति वफादार रहनुहोस्‌। समय बित्दै जाँदा तिनीहरूलाई नबिर्सनुहोस्‌। सम्पर्क नटुटाउनुहोस्‌, चिठी लेख्नुहोस्‌, फोन गर्नुहोस्‌, भेट्‌न जानुहोस्‌। तपाईंको परिस्थिति जस्तोसुकै भए तापनि उनीहरूलाई निराश नबनाउनुहोस्‌। उनीहरूले तपाईंलाई चिन्छन्‌ वा नाता पर्छ भनेर उनीहरूले खुसीसाथ बताउन सकून्‌। तिनीहरूप्रति वफादार हुँदा तपाईं सही कुरा गर्न कटिबद्ध हुनुहुनेछ र तपाईंको निम्ति त्यो प्रोत्साहनको स्रोत हुनेछ।—एस्तर ४:६-१६.

हो, साँचो वफादारीमा मूल्यावान्‌ सम्बन्धहरू साँचिराख्न सक्रिय कार्य गर्नु समावेश छ। यहोवाको करुणाको सट्टा तपाईं उहाँको निम्ति के गर्न सक्नुहुन्छ, सो गर्नुहोस्‌। मसीही मण्डलीमा, तपाईंको जीवनसाथीसँग, परिवार र मित्रहरूसँग व्यवहार गर्दा यहोवाको वफादारीको अनुकरण गर्नुहोस्‌। यहोवाका सद्‌गुणहरू वफादारीसाथ छिमेकीहरूलाई बताउनुहोस्‌। भजनरचयिताले यसो भनेर ठीकै भनिरहेका थिए: “परमप्रभुको कृपा म सदाको निम्ति गाउनेछु। सबै पुस्तालाई म तपाईंको सत्यता मेरै मुखले जनाउनेछु।” (भजन ८९:१) के हामी त्यस्तो परमेश्‍वरतर्फ आकर्षित हुँदैनौं? निस्सन्देह, “उहाँको सत्यता [“करुणा,” NW ] पुस्तौंसम्म स्थिर रहन्छ।”—भजन १००:५.

[पृष्ठ २३-मा भएको चित्र]

ए. एच. म्याकमिलन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने