प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१ pp. १८-२३
  • असल कार्यको लागि स्वच्छ पारिएको जन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल कार्यको लागि स्वच्छ पारिएको जन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो उपासनाको निम्ति स्वच्छ
  • शारीरिक स्वच्छताले हाम्रो चिनारी दिन्छ
  • भ्रष्ट नभएको शुद्ध हृदय
  • सुकर्मको लागि स्वच्छ पारिएका
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मन र शरीरमा शुद्ध हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • ८. यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१ pp. १८-२३

असल कार्यको लागि स्वच्छ पारिएको जन

“आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१.

१. यहोवा, उहाँलाई उपासना गर्नेहरूबाट के चाहनुहुन्छ?

“परमप्रभुको डाँड़ामा को उक्लनपाउला? र उहाँको पवित्र स्थानमा को उभिनपाउला?” पुरातन इस्राएलका राजा दाऊदले यहोवालाई स्वीकार्य उपासनाको सन्दर्भमा उक्‍त विचारणीय प्रश्‍न उठाए। त्यसपछि तिनी आफैले यस्तो उत्तर दिए: “त्यहीनै, जसको हात निष्कलंक, र जसको हृदय शुद्ध छ। जसले आफ्नो मनलाई व्यर्थका कुरातिर लगाएको छैन, र छल-छामसँग किरिया हालेको छैन।” (भजन २४:३, ४) पवित्रताको मूर्तरूप यहोवालाई स्वीकार्य हुन मानिस स्वच्छ र पवित्र हुनुपर्छ। यहोवाले इस्राएलको मण्डलीलाई यसरी सम्झाउनुभएको थियो: “तिमीहरू आफूलाई चोख्याएर पवित्र होओ, किनकि म पवित्र छु।”—लेवी ११:४४, ४५; १९:२.

२. पावल र याकूबले साँचो उपासनामा स्वच्छताको महत्त्वलाई कसरी जोड दिए?

२ शताब्दीऔंपछि प्रेरित पावलले भ्रष्ट शहर कोरिन्थका सँगी मसीहीहरूलाई यस्तो लेखे: “यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) यसबाट पनि पुनः स्पष्ट हुन्छ कि परमेश्‍वरसँग सम्बन्ध गाँस्न र उहाँले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू प्राप्त गर्न शारीरिक र आध्यात्मिक अशुद्धपना र विकृतिबाट स्वच्छ तथा स्वतन्त्र हुनुपर्छ। त्यस्तै गरी, परमेश्‍वरलाई स्वीकार्य उपासनाबारे लेख्दै चेला याकूबले यस्तो उल्लेख गरे: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलंक राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.

३. हाम्रो उपासना परमेश्‍वरको निम्ति स्वीकार्य हुन हामीले कुन कुरालाई गम्भीरतापूर्वक सोच्नुपर्छ?

३ स्वच्छता, पवित्रता र शुद्धता साँचो उपासनाको अभिन्‍न भाग भएको कारण परमेश्‍वरको अनुमोदन प्राप्त गर्न इच्छा गर्ने सबैले यो आवश्‍यकता पूरा गर्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्छ। आज मानिसहरूको स्वच्छताको सन्दर्भमा भिन्‍नाभिन्‍नै स्तर तथा विचारहरू भए तापनि यहोवाले के स्वच्छ र स्वीकार्य ठान्‍नुहुन्छ भनी बुझेर त्यसलाई पालन गर्नुपर्छ। यस सन्दर्भमा यहोवा आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ र उहाँले तिनीहरूलाई स्वच्छ तथा उहाँको लागि स्वीकार्य हुन कस्तो मदत गर्नुभएको छ भनी थाह पाउनुपर्छ।—भजन ११९:९; दानियल १२:१०.

साँचो उपासनाको निम्ति स्वच्छ

४. स्वच्छतासम्बन्धी बाइबलीय दृष्टिकोण व्याख्या गर्नुहोस्‌।

४ प्रायजसो मानिसहरूको निम्ति स्वच्छ हुनुको अर्थ केवल फोहर वा संक्रमणबाट टाढा बस्नु हो। तथापि, बाइबलमा स्वच्छताको भाव बुझाउन विभिन्‍न हिब्रू तथा युनानी शब्दहरू प्रयोग गरिएका छन्‌ र ती शब्दहरूले शारीरिक रूपमा स्वच्छ हुने मात्र होइन तर प्रायजसो नैतिक तथा आध्यात्मिक अर्थमा पनि स्वच्छ हुनुपर्ने अर्थ बुझाउँछ। तसर्थ, एउटा बाइबल इनसाइक्लोपीडिया यस्तो उल्लेख गर्छ: “ ‘स्वच्छ’ र ‘अशुद्ध’ भन्‍ने शब्द सरसफाइसित सम्बन्धित कुरामा कमै मात्र प्रयोग गरिन्छ तर यो साधारणतया धार्मिक धारणाहरूसँग सम्बन्धित छ। यस परिभाषाअनुसार ‘स्वच्छताको’ सिद्धान्तले जीवनको प्रायः सबै पक्षलाई समेट्‌छ।”

५. मोशालाई दिइएको व्यवस्थाले इस्राएलीहरूको जीवनमा स्वच्छतासम्बन्धी नियमले कुन हदसम्म प्रभाव पार्थ्यो?

५ साँच्चै, मोशालाई दिइएको व्यवस्थामा इस्राएलीको जीवनको सबै भागमा प्रभाव पार्ने नियमकानूनहरू थिए र यसले कुन कुरा स्वच्छ र स्वीकार्य छ अनि कुन छैन भनी औंल्याएको थियो। उदाहरणका लागि, लेवी अध्याय ११ देखि १५ मा हामी स्वच्छता र अशुद्धतासम्बन्धी विस्तृत निर्देशनहरू पाउँछौं। कुनै-कुनै पशुहरू अशुद्ध थिए र इस्राएलीहरूले त्यो खान हुँदैनथ्यो। बच्चा जन्माएकी सुत्केरी महिला केही समयावधिको निम्ति अशुद्ध हुन्थिन्‌। कुष्ठ रोगजस्ता छालासम्बन्धी विकार र पुरुष तथा स्त्रीहरूको जननेन्द्रियबाट स्राव हुँदा पनि अशुद्ध हुन्थे। अशुद्धतासित सम्बन्धित परिस्थितिहरूमा के गर्नुपर्छ भनेर पनि व्यवस्थामा भनिएको थियो। उदाहरणका लागि, गन्ती ५:२ मा हामी यस्तो लेखिएको पाउँछौं: “इस्राएलीहरूलाई आज्ञा दे, कि तिनीहरूले हरेक कोरी, प्रमेह रोगी र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राखून्‌।”

६. स्वच्छतासम्बन्धी नियमहरू दिनुको उद्देश्‍य के थियो?

६ निस्सन्देह, यहोवाले दिनुभएका यी तथा अन्य नियमहरूले वैज्ञानिक तथा शारीरिक सुस्वास्थ्यसम्बन्धी धारणा झल्काउँथ्यो जुन कुरा चिकित्सकहरूले धेरै पछि मात्र पत्ता लगाए र ती पालन गरेको खण्डमा मानिसहरूको नै भलाइ हुनेथियो। यद्यपि, ती नियमहरू मानिसहरूको स्वास्थ्यको सुरक्षा गर्न मात्र दिइएको थिएन। ती साँचो उपासनाको भाग थिए। त्यस व्यवस्थाले भोजन, बच्चा जन्माउने, वैवाहिक सम्बन्ध जस्ता मानिसको जीवनको सबै पक्षलाई समेट्‌ने हुँदा यहोवालाई पूर्णतया समर्पित जनहरूको जीवनको सबै पक्षमा के उचित हुन्छ र हुँदैन भनी निर्णय गर्ने अधिकार तिनीहरूका परमेश्‍वरको हैसितयमा यहोवासँग थियो भनी यस बुँदाले प्रस्ट पार्छ।—व्यवस्था ७:६; भजन १३५:४.

७. व्यवस्था पालन गर्दा इस्राएल राष्ट्रले कस्ता आशिष्‌हरू पाउने थियो?

७ व्यवस्थाले इस्राएलीहरूलाई आफू वरपरका राष्ट्रको भ्रष्ट कुराहरूदेखि पनि सुरक्षित राख्थ्यो। यहोवाको नजरमा स्वच्छ रहनुपर्ने आवश्‍यकताहरूलगायत लगनशील भई व्यवस्था पालन गर्दा इस्राएलीहरू आफ्नो परमेश्‍वरको उपासना गर्न र उहाँको आशिष्‌हरू प्राप्त गर्न योग्य हुन्थे। यस सन्दर्भमा यहोवाले इस्राएल राष्ट्रलाई यस्तो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।”—प्रस्थान १९:५, ६; व्यवस्था २६:१९.

८. स्वच्छताबारे व्यवस्थामा भनिएको कुरामा आज मसीहीहरूले किन ध्यान दिनुपर्छ?

८ यहोवाले इस्राएलीहरूलाई स्वच्छ, पवित्र र उहाँसामु ग्रहणयोग्य हुन व्यवस्थामा विस्तृत तवरमा निर्देशन दिनुभएको हुँदा के आज पनि मसीहीहरू आफूले त्यस स्तर पालन गरिरहेको छ कि छैन भनी जाँच्न उत्प्रेरित हुँदैनन्‌ र? मसीहीहरू व्यवस्थाको बन्देजमा नभए तापनि पावलले भनेझैं व्यवस्थामा बताइएको सबै कुरा “आउने कुराका छाया हुन्‌, तर मूल कुरो चाहिं ख्रीष्टको हो” भनी सम्झनुपर्छ। (कलस्सी २:१७; हिब्रू १०:१) “म . . . कहिल्यै परिवर्त्तन हुँदिनँ” भन्‍नुहुने यहोवा परमेश्‍वरले स्वच्छता र शुद्धतालाई साँचो उपासनाको अभिन्‍न भाग ठान्‍नुहुन्छ भने आज पनि हामीले उहाँको अनुमोदन र आशिष्‌ पाउन शारीरिक, नैतिक र आध्यात्मिक तवरमा स्वच्छ रहने कुरालाई गम्भीरतासाथ लिनुपर्छ।—मलाकी ३:६; रोमी १५:४; १ कोरिन्थी १०:११, ३१.

शारीरिक स्वच्छताले हाम्रो चिनारी दिन्छ

९, १०. (क) मसीहीको निम्ति शारीरिक स्वच्छता किन महत्त्वपूर्ण छ? (ख) यहोवाका साक्षीहरूको अधिवेशनहरूबारे अक्सर कस्तो टिप्पणी गरिन्छ?

९ के शारीरिक स्वच्छता आज पनि साँचो उपासनाको महत्त्वपूर्ण भाग हो? परमेश्‍वरको साँचो उपासक हुन शारीरिक स्वच्छता मात्र पर्याप्त नभए तापनि साँचो उपासकहरू परिस्थितिले दिएसम्म शारीरिक रूपमा स्वच्छ हुनु उचित हो। विशेष गरी आज आफ्नो पहिरन वा आफ्नो वरपर स्वच्छ राख्न त्यति ध्यान नदिने समयमा स्वच्छ रहनेहरूलाई मानिसहरूले याद गर्छन्‌। पावलले कोरिन्थका मसीहीहरूलाई भनेझैं यसले गर्दा असल नतिजा हुन सक्छ: “हाम्रो सेवामा कलङ्‌क नलागोस्‌ भनेर हामी कुनै कुरामा केही बाधा दिन्‍नौं, तर हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं।”—२ कोरिन्थी ६:३, ४.

१० निजामती सेवाका हाकिमहरूले विशेष गरी ठूलठूला अधिवेशनहरूमा यहोवाका साक्षीहरूको स्वच्छ, व्यवस्थित तथा आदरणीय आचरण र बानीबेहोराको पटक पटक तारिफ गरेका छन्‌। उदाहरणका लागि, साभोना, इटालीमा आयोजित अधिवेशनबारे ला स्टाम्पा नामक अखबारले यस्तो टिप्पणी गऱ्‍यो: “उनीहरूको अधिवेशन थलोमा जाँदा तपाईंले सबैभन्दा पहिला त्यहाँ मानिसहरूको स्वच्छता र सुव्यवस्था याद गरिहाल्नुहुनेछ।” साउ पाउलो, ब्राजिलमा आयोजित साक्षीहरूको अधिवेशनपछि त्यस रंगशालाका अधिकारीले आफ्नो सरसफाई टोली प्रमुखलाई यसो भने: “अबदेखि यस रंगशालाको सफाई यहोवाका साक्षीहरूले जस्तै गर्नू।” सोही रंगशालाका अर्का एक जना हाकिमले यसो भने: “यहोवाका साक्षीहरूले रंगशाला भाडामा लिन चाहँदा हामीले मितिबाहेक अरू कुनै कुराको पीरै लिनु पर्दैन।”

११, १२. (क) व्यक्‍तिगत स्वच्छताको सन्दर्भमा हामीले कुन बाइबल सिद्धान्त मनमा राख्नुपर्छ? (ख) हाम्रो व्यक्‍तिगत आनीबानी र जीवन शैलीबारे कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ?

११ हाम्रो उपासना स्थलमा हाम्रो स्वच्छता र सुसंगठन हामीले उपासना गर्ने परमेश्‍वरको निम्ति प्रशंसाको स्रोत हुन्छ भने यी गुणहरू हामीले आफ्नो व्यक्‍तिगत जीवनमा प्रकट गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। तथापि, घरमा आफूलाई जे मन लाग्छ त्यही गरे हुन्छ जस्तो लाग्न सक्छ। पहिरन र सिंगारपटारको सन्दर्भमा आफूलाई सजिलो र राम्रो लाग्ने छान्‍न सक्ने स्वतन्त्रता छ! तर धेरै हदसम्म यस्तो स्वतन्त्रता सापेक्षिक हुन्छ। केही खास खाना खाने सन्दर्भमा पावलले सँगी मसीहीहरूले के भने सम्झनुहोस्‌: “होशियार तिमीहरूको यस स्वतन्त्रताले कमजोरीहरूलाई बाधा नपारोस्‌।” त्यसपछि तिनले एउटा महत्त्वपूर्ण सिद्धान्त उल्लेख गरे: “सबै कुरा न्यायसंगत छन्‌, तर सबै कुरा फायदाका छैनन्‌। सबै कुरा उचित छन्‌, तर सबै कुराले सुधार गर्दैनन्‌।” (१ कोरिन्थी ८:९; १०:२३) पावलको सल्लाह स्वच्छताको सन्दर्भमा कसरी लागू हुन्छ?

१२ परमेश्‍वरको सेवक आफ्नो जीवन शैलीमा पनि स्वच्छ र व्यवस्थित भएको आशा गर्नु व्यावहारिक कुरा हो। अतः हाम्रो घर र वरपरको अवस्थाले हामीले आफूलाई परमेश्‍वरको वचनको सेवक भनी चिनाउँदा ध्यान विकर्षण नहोस्‌ भनी पक्का गर्नुपर्छ। हाम्रो घरले आफू र आफ्नो विश्‍वासबारे कस्तो साक्षी दिन्छ? हामीले आफ्नो चिनारी दिंदै स्वच्छ तथा व्यवस्थित नयाँ संसारको साँच्चै बाटो हेर्छौं भनेर के हामी देखाउँछौं? (२ पत्रुस ३:१३) त्यस्तै गरी हाम्रो बाहिरी रूप फुर्सतको समयमा होस्‌ वा सेवकाईमा, यसले या त हाम्रो सन्देशको महत्त्व बढाउँछ वा हल्का बनाउँछ। उदाहरणका लागि, मेक्सिकोको एउटा अखबार संवाददाताको यस टिप्पणीलाई विचार गर्नुहोस्‌: “यहोवाका साक्षीहरूको समूहमा थुप्रै जवानहरू छन्‌ र तिनीहरूको कपाल, स्वच्छता र चिटिक्क पहिरन एकदमै उल्लेखनीय छ।” हाम्रो माझमा त्यस्ता जवान व्यक्‍तिहरू हुनु कस्तो आनन्दको कुरा हो!

१३. हाम्रो जीवनको सबै पक्ष स्वच्छ र व्यवस्थित राख्न हामीले के गर्न सक्छौं?

१३ निस्सन्देह, आफू, आफ्नो सरसामान र घरलाई स्वच्छ र व्यवस्थित राख्नुपर्छ भन्‍ने कुरा भन्‍नु जत्तिको गर्नु सजिलो छैन। यसको निम्ति आवश्‍यक कुरा जटिल तथा महँगा सामान र मेसिनहरू होइन तर राम्रो योजना र निरन्तर प्रयास हो। आफ्नो शरीर, लुगाफाटा, घर, गाडी इत्यादि सामान सफा राख्न समय छुट्याउनुपर्छ। सेवकाई, सभामा उपस्थिति र व्यक्‍तिगत अध्ययनका साथै अरू जिम्मेवारीहरू पूरा गर्नमा व्यस्त छौं भनेर सफा नगर्न र परमेश्‍वर तथा मानिसको नजरमा स्वीकार योग्य नहुन बहाना बनाउन पाउँदैनौं। “सबै कुराको लागि समय छ” भन्‍ने चिरपरिचित सिद्धान्त हाम्रो जीवनको यस भागमा पनि उत्तिकै लागू हुन्छ।—उपदेशक ३:१.

भ्रष्ट नभएको शुद्ध हृदय

१४. शारीरिक स्वच्छताभन्दा हाम्रो नैतिक र आध्यात्मिक स्वच्छता अझ महत्त्वपूर्ण छ भनी किन भन्‍न सकिन्छ?

१४ शारीरिक स्वच्छतामा ध्यान दिनु जत्ति महत्त्वपूर्ण छ, हाम्रो नैतिक र आध्यात्मिक स्वच्छतामा ध्यान दिनु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यहोवाले इस्राएल राष्ट्रलाई त्याग्नुको कारण तिनीहरू शारीरिक तवरमा अशुद्ध भएकाले नभई तिनीहरू नैतिक र आध्यात्मिक तवरमा भ्रष्ट भएकाले हुन्‌ भन्‍ने कुरालाई सम्झँदा हामी यस्तो निष्कर्षमा पुग्न सक्छौं। यशैया अगमवक्‍तामार्फत यहोवाले भन्‍नुभयो, तिनीहरू “पापिष्ट जाति, अधर्मले लादिएका मानिसहरू,” भएकोले तिनीहरूको बलिदान, औंसी र विश्रामको दिन र तिनीहरूको प्रार्थनासमेत उहाँको निम्ति बोझ भएको थियो। फेरि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न तिनीहरूले के गर्नुपर्ने थियो? यहोवाले यस्तो भन्‍नुभयो: “आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूका दुष्ट्याइँ फालिदेऊ, खराबी गर्न छोड़।”—यशैया १:४, ११-१६.

१५, १६. मानिसलाई केले भ्रष्ट पार्छ भनी येशूले भन्‍नुभयो र हामीले येशूका शब्दहरूबाट कसरी लाभ उठाउन सक्छौं?

१५ नैतिक र आध्यात्मिक स्वच्छताको महत्त्वलाई बुझ्न, शास्त्री र फरिसीहरूले उहाँको चेलाहरूले खाना खानुअघि हात नधोएकोले तिनीहरू अशुद्ध छन्‌ भन्‍ने दोष लगाउँदा येशूले के भन्‍नुभयो विचार गर्नुहोस्‌। येशूले तिनीहरूलाई यसरी सच्याउनुभयो: “जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध गराउँदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसले मानिसलाई अशुद्ध तुल्याउँछ।” त्यसपछि येशूले अझ यसो भन्‍नुभयो: “जुन कुराहरू मुखबाट बाहिर निस्कन्छन्‌, ती हृदयबाट निस्केर आउँछन्‌, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्‌। किनकि हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्‌। मानिसलाई अशुद्ध पार्ने कुराहरू यिनै हुन्‌। तर हात नधोई खानाले मानिसलाई अशुद्ध तुल्याउँदैन।”—मत्ती १५:११, १८-२०.

१६ हामीले येशूका शब्दहरूबाट के सिक्न सक्छौं? येशूले दुष्ट, अनैतिक र अशुद्ध कार्यहरू हृदयको दुष्ट, अनैतिक र अशुद्ध कुराहरूबाट आउँछ भनी औंल्याउनुभयो। चेला याकूबले भनेझैं “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ।” (याकूब १:१४, १५) अतः हामी येशूले व्याख्या गर्नुभएको गम्भीर पापहरूमा फस्न चाहँदैनौं भने त्यस्ता कुराहरूप्रति सानो से सानो झुकाउ पनि हृदयबाट पूरै निकाल्नुपर्छ। त्यसको अर्थ हामीले पढ्‌ने, हेर्ने र सुन्‍ने कुरामा होसियार हुनुपर्छ। आज वाक्‌ र कलात्मक स्वतन्त्रताको नाउँमा मनोरञ्जन र विज्ञापन जगत्‌मा पतित शरीरका इच्छाहरू पूरा गर्ने चित्र र आवाजको ओइरो नै पाउँछौं। त्यस्ता विचारहरूले हाम्रो हृदयमा जरा गाड्‌न नदिन हामी कटिबद्ध हुनुपर्छ। महत्त्वपूर्ण कुरा के हो भने, परमेश्‍वरलाई प्रसन्‍न र स्वीकार्य काम गर्न हाम्रो हृदयलाई स्वच्छ र शुद्ध राख्न हामी सधैं सजग हुनुपर्छ।—हितोपदेश ४:२३.

सुकर्मको लागि स्वच्छ पारिएका

१७. यहोवाले आफ्ना जनहरूलाई किन स्वच्छ पार्नुभएको छ?

१७ परमेश्‍वरको मदत पाएर उहाँको अनुमोदन प्राप्त गर्नु निश्‍चय पनि आशिष्‌ र सुरक्षा हो। (२ कोरिन्थी ६:१४-१८) यद्यपि, यहोवाले आफ्ना जनहरूलाई विशेष उद्देश्‍यको लागि स्वच्छ पार्नुभएको हो भनेर पनि बुझेका छौं। ख्रीष्ट येशूले “हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नालाई र उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनालाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो” भनी पावलले तीतसलाई बताए। (तीतस २:१४) स्वच्छ मानिसहरूको हैसियतमा हामी कुन कामको लागि जोसिलो हुनुपर्छ?

१८. हामी सुकर्ममा जोसिलो छौं भनेर कसरी देखाउन सक्छौं?

१८ सबैभन्दा पहिला तथा मुख्य कुरा, हामीले परमेश्‍वरको राज्यको सुसमाचार जनसमक्ष घोषणा गर्न यत्न गर्नुपर्छ। (मत्ती २४:१४) त्यसरी हामीले सबैतिरका मानिसहरूलाई कुनै पनि प्रकारको प्रदूषणरहित पृथ्वीमा सधैंभरि बाँच्ने आशा बाँडिरहेका हुनेछौं। (२ पत्रुस ३:१३) हाम्रो सुकर्ममा आफ्नो दैनिक जीवनमा आत्माका फल खेती गरेर हाम्रो स्वर्गमा हुनुहुने पिताको महिमा गर्नु पनि समावेश छ। (गलाती ५:२२, २३; १ पत्रुस २:१२) अनि हामी प्राकृतिक प्रकोप वा अन्य दुःखको चपेटामा परेका बेग्लै विश्‍वास भएका मानिसहरू पनि बिर्सन चाहँदैनौं। हामी पावलको यो सल्लाहलाई मनमा राख्छौं: “मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) स्वच्छ हृदय र असल मनसायले गरिएका त्यस्ता सबै कार्यहरू देखेर परमेश्‍वर आनन्दित हुनुहुन्छ।—१ तिमोथी १:५.

१९. हामीले शारीरिक, नैतिक र आध्यात्मिक स्वच्छताको उच्च स्तर कायम राख्न प्रयास गरिरहेको खण्डमा कस्तो आशिष्‌को आशा गर्न सक्छौं?

१९ सर्वोच्च परमेश्‍वरका सेवकहरूको हैसियतमा हामी पावलका शब्दहरू हृदयंगम गर्छौं: “ए भाइ हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) यहोवाद्वारा स्वच्छ पारिने सुअवसरको मूल्यांकन गर्दै शारीरिक, नैतिक र आध्यात्मिक स्वच्छताको उच्च स्तर कायम गर्न यथासक्दो प्रयास गर्न नछोडौं। त्यसो गर्दा हामीले आत्मसम्मान र सन्तुष्टि मात्र होइन तर “पहिलेका कुराहरू” अथवा वर्तमान दुष्ट र भ्रष्ट रीतिरिवाजको बदलामा परमेश्‍वरले ‘सब कुरा नयाँ तुल्याउनुभएको’ देख्नेछौं।—प्रकाश २१:४, ५.

के तपाईंलाई सम्झना छ?

• इस्राएलीहरूलाई स्वच्छतासम्बन्धी किन थुप्रै नियमहरू दिइयो?

• शारीरिक स्वच्छताले कसरी हामीले प्रचार गर्ने सन्देशको महत्त्वलाई बढाउँछ?

• शारीरिक स्वच्छताभन्दा नैतिक र आध्यात्मिक स्वच्छता किन झन्‌ महत्त्वपूर्ण छ?

• हामी “सुकर्ममा जोशिलो” मानिसहरू हौं भनेर कसरी देखाउन सक्छौं?

[पृष्ठ २१-मा भएका चित्रहरू]

शारीरिक स्वच्छताले हामीले प्रचार गर्ने सन्देशको महत्त्व अझ बढाउँछ

[पृष्ठ २२-मा भएको चित्र]

गलत विचारहरूले गलत कार्यहरूतर्फ डोऱ्‍याउँछ भनी येशूले चेताउनी दिनुभयो

[पृष्ठ २३-मा भएका चित्रहरू]

स्वच्छ जनहरूको हैसियतमा यहोवाका साक्षीहरू सुकर्ममा जोसिला छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने