प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv chap. ८ pp. ९८-१०९
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन सफा रहनै पर्छ?
  • परमेश्‍वरको नजरमा सफा रहनुमा के-के समावेश छ?
  • हामी कसरी शारीरिक तवरमा स्वच्छ रहन सक्छौं?
  • अशुद्ध बानी-बेहोराबाट शुद्ध रहनुहोस्‌
  • ८. यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मन र शरीरमा शुद्ध हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • असल कार्यको लागि स्वच्छ पारिएको जन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv chap. ८ pp. ९८-१०९
A mother buttoning her young son’s shirt

अध्याय ८

सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ

“शुद्धसँग तपाईं शुद्धै देखा पर्नुहुनेछ।”—भजन १८:२६.

१-३. (क) आफ्नो छोरा चिटिक्क छ कि छैन भनेर एउटी आमाले किन पक्का गर्छिन्‌? (ख) यहोवा आफ्ना उपासकहरू किन सफा भएको चाहनुहुन्छ? सफा रहन हामीलाई केले उत्प्रेरित गर्छ?

एउटी आमा कतै जानको लागि आफ्नो सानो छोरालाई तयार पार्दैछिन्‌। छोराले नुहाएको छ कि छैन, लुगा चिटिक्क छ कि छैन, सबै हेर्छिन्‌। सरसफाइ गऱ्‍यो भने नै छोरा स्वस्थ हुन सक्छ भन्‍ने कुरा तिनले बुझेकी छिन्‌। साथै छोराको सरसफाइले तिनका आमाबाबु कस्ता छन्‌ भनेर देखाउँछ भन्‍ने कुरा पनि तिनलाई थाह छ।

२ स्वर्गमा बस्ने हाम्रो बुबा यहोवा पनि आफ्ना सेवकहरू शुद्ध अर्थात्‌ सफा भएको चाहनुहुन्छ। उहाँको वचन भन्छ: “शुद्धसँग तपाईं शुद्धै देखा पर्नुहुनेछ।”a (भजन १८:२६) यहोवा हामीलाई माया गर्नुहुन्छ; सफा रहनु हाम्रो लागि एकदमै फाइदाजनक छ भनेर उहाँलाई थाह छ। यहोवाको साक्षीको हैसियतमा हामीले अरूमा उहाँबारे राम्रो प्रभाव पारेको उहाँ आशा गर्नुहुन्छ। वास्तवमा हाम्रो सफा रूपरङ्‌ग अनि असल आचरणले यहोवा अनि उहाँको पवित्र नाउँको महिमा गर्छ, निन्दा होइन।—इजकिएल ३६:२२; १ पत्रुस २:१२.

३ परमेश्‍वर सफा मानिसलाई प्रेम गर्नुहुन्छ भनेर बुझेपछि हामी सफा रहन उत्प्रेरित हुन्छौं। हाम्रो जिउने तरिकाले उहाँको आदर होस्‌ भन्‍ने हामी चाहन्छौं किनभने हामी उहाँलाई प्रेम गर्छौं। साथै हामी उहाँको प्रेम पाउन लायक भइरहन चाहन्छौं। त्यसो भए आउनुहोस्‌ हामी किन सफा रहनै पर्छ, सफा रहनुमा के-कस्ता कुरा समावेश छन्‌ अनि हामी आफूलाई कसरी सफा राख्न सक्छौं भन्‍ने विषय केलाऔं। यसरी केलाउँदा आफूमा उन्‍नति गर्नुपर्ने ठाउँहरू देख्न सक्छौं।

हामी किन सफा रहनै पर्छ?

४, ५. (क) हामी सफा रहनै पर्ने प्रमुख कारण के हो? (ख) यहोवा सरसफाइ मनपराउनुहुन्छ भनेर उहाँको सृष्टिबाट कसरी देखिन्छ?

४ यहोवाले हामीलाई डोऱ्‍याउने एउटा तरिका हो: उहाँको आफ्नै उदाहरणद्वारा। त्यसैले त उहाँको वचन हामीलाई “परमेश्‍वरको देखासिकी गर्नेहरू होओ” भनेर आग्रह गर्छ। (एफिसी ५:१) हामी सफा रहनै पर्ने प्रमुख कारण हो: हामीले उपासना गर्ने परमेश्‍वर यहोवा हरतरहबाट सफा, शुद्ध अनि पवित्र हुनुहुन्छ।—लेवी ११:४४, ४५.

५ यहोवाका थुप्रै गुण अनि तौरतरिका उहाँको सृष्टिमा छर्लङ्‌गै देखिन्छ। त्यसैगरि उहाँको शुद्धता अर्थात्‌ सरसफाइ पनि सृष्टिबाट प्रस्ट हुन्छ। (रोमी १:२०) मानिसका लागि यो पृथ्वी सफा घरजस्तै होस्‌ भन्‍ने हेतुले बनाइएको थियो। हावा र पानी स्वच्छ राख्न यहोवाले पर्यावरणीय चक्रको प्रबन्ध गर्नुभयो। आफैलाई सफा गर्ने अचम्मको शक्‍ति पृथ्वीसित छ। पक्कै पनि ‘पृथ्वी सृजनेले’ सरसफाइलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ। (यर्मिया १०:१२) हामीले पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ।

६, ७. यहोवालाई उपासना गर्नेहरू स्वच्छ हुनुपर्छ भनेर मोशाको व्यवस्थाले कसरी जोड दियो?

६ हामी सफा रहनै पर्ने अर्को कारण हो: हाम्रा सार्वभौम शासक यहोवा आफ्ना उपासकहरू सफा-सुग्घर भएको चाहनुहुन्छ। यहोवाले इस्राएलीहरूलाई दिएको व्यवस्थामा सरसफाइ र उपासना ‘एकै सिक्काका दुई पाटाजस्तै’ थिए। व्यवस्थामा तोकेरै बताइएअनुसार प्रायश्‍चितको दिनमा प्रधान पुजारीले एकचोटि होइन दुईचोटि नुहाउनुपर्थ्यो। (लेवी १६:४, २३, २४) अरू पुजारीले चाहिं यहोवालाई बलिदान चढाउनुअघि आफ्नो हातगोडा धुनुपर्थ्यो। (प्रस्थान ३०:१७-२१; २ इतिहास ४:६) शरीर अशुद्ध पार्ने अनि औपचारिक तरिकामा गरिने उपासनाको लागि अपवित्र तुल्याउने लगभग ७० वटा कारण व्यवस्थामा उल्लेख गरिएको थियो। अशुद्ध भएको बेलामा कुनै पनि इस्राएलीले उपासनामा भाग लिन पाउँदैन थिए। यदि भाग लिएको खण्डमा मृत्यु भोग्नुपर्ने पनि हुन सक्थ्यो। (लेवी १५:३१) यदि कसैले शुद्धिकरण गर्ने विधि अपनाउन मानेन, जस्तो कि नुहाउन वा लुगा धुन मानेन भने तिनलाई “समुदायबाट बहिष्कार” गरिन्थ्यो, जसको मतलब तिनलाई मृत्युदण्ड हुन सक्थ्यो।—गन्ती १९:१७-२०.

७ हामी मोशाको व्यवस्थाको अधीनमा त छैनौं तैपनि यसले हामीलाई यहोवाको विचार बुझ्न भने मदत गर्छ। स्पष्ट छ, परमेश्‍वरका उपासकहरू स्वच्छ हुनुपर्छ भनेर व्यवस्थाले जोड दिएको थियो। यहोवा परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) हामीले गरेको उपासना “शुद्ध र निष्खोट” छैन भने उहाँ त्यो स्वीकार्नुहुन्‍न। (याकूब १:२७) त्यसैले सफाइको सन्दर्भमा यहोवा हामीबाट के आशा गर्नुहुन्छ, त्यो हामीले बुझ्नै पर्छ।

परमेश्‍वरको नजरमा सफा रहनुमा के-के समावेश छ?

८. हामी कुन-कुन पक्षमा सफा रहेको यहोवा चाहनुहुन्छ?

८ बाइबलमा सफा हुनुपर्छ भनेर बताइएको कुराले शारीरिक स्वच्छतालाई मात्र बुझाउँदैन। परमेश्‍वरको नजरमा सफा हुँदा त्यसले हाम्रो जीवनको हरेक पक्षलाई असर गर्छ। मुख्यगरि चार पक्षमा हामी स्वच्छ रहेको यहोवा चाहनुहुन्छ: हामीले गर्ने उपासनामा, हाम्रो नैतिक, मानसिक र शारीरिक पक्षमा। यसमा के-के समावेश छ, आउनुहोस्‌ छलफल गरौं।

९, १०. उपासनालाई शुद्ध राखिराख्नु भनेको के हो? साँचो ख्रीष्टियनहरू कुन कुराबाट अलग रहन्छन्‌?

९ शुद्ध उपासना। प्रस्टै भन्‍ने हो भने साँचो उपासनालाई झूटो उपासनासित नमिसाउनु नै शुद्ध उपासना हो। इस्राएलीहरूले बेबिलोन छोडेर यरूशलेम फर्कंदा यो प्रेरित सल्लाह पालन गर्नुपर्थ्यो: “त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! . . . तिमीहरू आफैलाई शुद्ध पार।” (यशैया ५२:११) इस्राएलीहरू घर फर्कनुको प्रमुख कारण यहोवाको उपासना पुनर्स्थापना गर्नुथियो। यो उपासना शुद्ध हुनुपर्थ्यो—परमेश्‍वरलाई अनादर गर्ने बेबिलोनीहरूको धार्मिक शिक्षा, प्रचलन अनि रीतिथिति केही पनि त्यसमा मिसिएको हुनुहुँदैन थियो।

१० आज साँचो ख्रीष्टियनको हैसियतमा हामी झूटो उपासनाबाट बिटुलिनदेखि होसियार हुनै पर्छ। (१ कोरिन्थी १०:२१) यस विषयमा चनाखो हुनु एकदमै महत्त्वपूर्ण छ किनभने झूटो धर्मको प्रभाव व्यापक छ। थुप्रै मुलुकमा विभिन्‍न परम्परा, गतिविधि र संस्कार झूटो धर्मको शिक्षासित सम्बन्धित हुन्छ। जस्तै: हामीभित्रको केही भाग मृत्युपछि पनि जीवितै रहन्छ भन्‍ने धारणा। (उपदेशक ९:५, ६, १०) झूटो धर्मको विश्‍वास मुछिएको रीतिथितिबाट साँचो ख्रीष्टियनहरू अलग्गै बस्छन्‌। b शुद्ध उपासनाका बाइबल स्तरहरूसित सम्झौता गर्न कसैले दबाब दिन्छ भने हामी शिर झुकाउनेछैनौं।—प्रेषित ५:२९.

११. नैतिक तवरमा स्वच्छ हुनुमा के समावेश छ? हामी नैतिक तवरमा स्वच्छ रहनु किन महत्त्वपूर्ण छ?

११ नैतिक स्वच्छता। नैतिक तवरमा स्वच्छ रहनुमा कुनै पनि किसिमको यौन अनैतिकताबाट अलग रहनु समावेश छ। (एफिसी ५:५) हामी नैतिक तवरमा स्वच्छ हुनु महत्त्वपूर्ण छ। परमेश्‍वरको प्रेम पाउन लायक भइरहन ‘अवैध यौनसम्बन्धदेखि भाग्नै पर्छ’ भन्‍ने विषयमा हामी यसपछिको अध्यायमा छलफल गर्नेछौं। अवैध यौनसम्बन्ध राखेर पश्‍चात्ताप नगर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (१ कोरिन्थी ६:९, १०, १८) परमेश्‍वरको नजरमा यस्ता मानिसहरू “अशुद्ध र घिनलाग्दा काम गर्नेहरू”-मध्येका हुन्‌। यदि तिनीहरू नैतिक तवरमा स्वच्छ रहेनन्‌ भने तिनीहरूले “दोस्रो मृत्यु” भोग्नेछन्‌।—प्रकाश २१:८.

१२, १३. सोचाइ र कामबीच कस्तो सम्बन्ध छ? हामी मानसिक तवरमा कसरी स्वच्छ रहन सक्छौं?

१२ मानसिक स्वच्छता। पहिला सोचिन्छ त्यसपछि काम गरिन्छ। हामीले आफ्नो मन-मस्तिष्कमा गलत विचारहरू राख्यौं भने कुनै न कुनै समय हामी अशुद्ध काम गर्न पुग्नेछौं। (मत्ती ५:२८; १५:१८-२०) तर यदि हामीले आफ्नो दिमागमा पवित्र अनि शुद्ध विचारहरू भरेका छौं भने सफा आचरण कायम राख्न हामी उत्प्रेरित हुन सक्छौं। (फिलिप्पी ४:८) हामी मानसिक तवरमा कसरी स्वच्छ रहन सक्छौं? विचार गर्नुपर्ने कुरा, हामी आफ्नो सोचाइलाई भ्रष्ट बनाउने कुनै पनि मनोरञ्जनबाट अलग रहनै पर्छ।c साथै नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गरेर पनि हामी आफ्नो दिमागमा शुद्ध विचारहरू भर्न सक्छौ।—भजन १९:८, ९.

१३ परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामी आफूले गर्ने उपासनामा, नैतिक तवरमा र मानसिक तवरमा स्वच्छ रहनु एकदमै महत्त्वपूर्ण छ। स्वच्छताका यी पक्षबारे यस किताबको अरू अध्यायमा विस्तृत तवरमा छलफल गरिएको छ। आउनुहोस्‌, अहिलेचाहिं हामी चौथो पक्ष अर्थात्‌ शारीरिक स्वच्छताबारे विचार गरौं।

हामी कसरी शारीरिक तवरमा स्वच्छ रहन सक्छौं?

१४. शारीरिक स्वच्छता किन व्यक्‍तिगत मामिला मात्र होइन?

१४ शारीरिक स्वच्छतामा आफ्नो शरीर अनि घर वरपर सफा राख्नु समावेश छ। यो व्यक्‍तिगत मामिला हो भन्दैमा अरूले यसमा सरोकार राख्नुहुँदैन त? पक्कै पनि यहोवाका उपासकहरू यस्तो ठान्दैनन्‌। पहिला पनि उल्लेख गरिएझैं हामीलाई लाभ पुग्ने भएकोले मात्र होइन तर अरूमा यहोवाबारे राम्रो प्रभाव पर्ने भएकोले पनि उहाँ हाम्रो शारीरिक स्वच्छतालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ। सुरुमा बताइएको उदाहरण विचार गर्नुहोस्‌। यदि तपाईंले सिँगाने, फोहोरी बच्चा देख्नुभयो भने ‘यसका बा-आमा कस्ता होलान्‌’ भनेर सोच्नुहुन्छ नि, होइन र? स्वर्गमा बस्ने पिताको निन्दा हुने वा हामीले सुनाउने सन्देशबाट ध्यान मोडिने खालको रूपरङ्‌ग बनाउन वा जीवन बिताउन हामी चाहँदैनौं। परमेश्‍वरको वचन भन्छ: “हाम्रो सेवामा कुनै खोट नभेटिओस्‌ भनेर ठेस लाग्ने कुनै कारण हामी दिंदैनौं, बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौं।” (२ कोरिन्थी ६:३, ४) त्यसो भए हामी कसरी शारीरिक तवरमा स्वच्छ रहन सक्छौं?

१५, १६. सरसफाइ गर्ने राम्रो बानीमा के समावेश छ? हाम्रो लुगाफाटा कस्तो हुनुपर्छ?

१५ हाम्रो व्यक्‍तिगत सरसफाइ अनि रूपरङ्‌ग। देशअनुसार भेष भनेझैं मानिसको संस्कृति अनि जिउने तरिका ठाउँअनुसार फरक हुन्छ। तैपनि नियमित रूपमा नुहाउन अनि आफूलगायत छोराछोरीको सरसफाइ गर्न पुग्दो मात्रामा साबुन-पानी पाउनु गाह्रो कुरा होइन। सरसफाइ गर्ने राम्रो बानीमा खाना खानुअघि वा खानेकुरा छुनुअघि, चर्पी प्रयोग गरिसकेपछि, बच्चालाई सफा गरिसकेपछि वा बच्चाको टालो फेरिसकेपछि साबुन-पानीले हात धुनु समावेश छ। साबुन-पानीले हात धोएमा रोग-बिमारबाट बच्न सकिन्छ, अझ भन्‍नुपर्दा ज्यानै जोगिन्छ। यसो गर्नाले हानिकारक कीटाणु फैलिंदैन जसले गर्दा झाडा-पखाला जस्ता रोगहरू लाग्न पाउँदैन। कुनै-कुनै ठाउँका घरहरूमा ढल-निकासको व्यवस्था छैन भने प्राचीन इस्राएलमा जस्तै फोहोर-मैलालाई जमिनमुनि पुर्न सकिन्छ।—व्यवस्था २३:१२, १३.

१६ हेर्दा राम्रो अनि सुकिलो देखिन नियमित रूपमा लुगा धुनुपर्छ। ख्रीष्टियनहरूको लुगा एकदमै महँगो वा भर्खर चलेको फेसनअनुसारको हुनुपर्छ भन्‍ने छैन। जे होस्‌, सफा, सुग्घर अनि भद्र हुनुपर्छ। (१ तिमोथी २:९, १०) जुनसुकै ठाउँमा बसे पनि हामी आफ्नो बाहिरी रूपरङ्‌गद्वारा ‘हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा बढाउन’ चाहन्छौं।—तीतस २:१०.

१७. हाम्रो घर-आँगन किन सफा अनि चिटिक्क हुनुपर्छ?

१७ हाम्रो घर-आँगन। हाम्रो घर एकदमै आकर्षक वा विलासी नहोला तर परिस्थितिले दिएसम्म हाम्रो घर-आँगन सफा अनि चिटिक्क हुनुपर्छ। त्यसैगरि यदि हामी सभा वा प्रचार जान आफ्नो सवारी-साधन प्रयोग गर्छौं भने त्यसको सबैतिर सफा गर्न सक्दो गर्न सक्छौं। नबिर्सनुहोस्‌, सफा घर अनि आँगनले अरूलाई साक्षी दिइरहेको हुन्छ। हुन पनि हामी अरूलाई यस्तो कुरा सिकाउँछौं: यहोवा शुद्ध परमेश्‍वर हुनुहुन्छ, उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ अनि उहाँको राज्यले पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्नेछ। (प्रकाश ११:१८; लूका २३:४३) हामी आफ्नो घर र आफूसित भएको सर-सामानलाई सफा राख्न चाहन्छौं ताकि नयाँ संसारमा सुहाउने सफा बानीहरू हामी अहिल्यै विकास गर्दैछौं भनेर अरूले बुझून्‌।

1. A father and his son washing their hands with soap; 2. A woman cleaning a cooking pot with soap

शारीरिक स्वच्छतामा आफ्नो शरीर अनि घर वरपर सफा राख्नु समावेश छ

१८. हामी राज्यभवनप्रति कसरी आदर देखाउन सक्छौं?

१८ उपासनास्थल। यहोवाप्रतिको प्रेमले हामीलाई आफ्नो इलाकामा भएको साँचो उपासनाको केन्द्र राज्यभवनप्रति आदर देखाउन उत्प्रेरित गर्छ। राज्यभवनमा नयाँ व्यक्‍तिहरू आउँदा त्यहाँको सरसफाइबाट उपासना गर्ने ठाउँप्रति तिनीहरूमा हामी राम्रो छाप पार्न चाहन्छौं। राज्यभवन सधैं चिटिक्क अनि आकर्षक होस्‌ भन्‍नको लागि हामीले नियमित रूपमा सफा गर्नुपर्छ अनि मर्मत-सम्भार गर्नुपर्छ। यसलाई राम्रो अवस्थामा राखिराख्न आफ्नो तर्फबाट सक्दो गरेर हामी राज्यभवनप्रति आदर देखाउँछौं। हाम्रो उपासनास्थल सफा राख्न अनि त्यसलाई ‘मर्मत र सुदृढ गर्न’ समय दिनु हाम्रो लागि ठूलो सुअवसर हो। (२ इतिहास ३४:१०) सम्मेलनभवन वा सम्मेलनको लागि अरू ठाउँमा भेला हुँदा पनि यही सिद्धान्त लागू हुन्छ।

अशुद्ध बानी-बेहोराबाट शुद्ध रहनुहोस्‌

१९. शारीरिक तवरमा स्वच्छ रहन हामी केबाट अलग रहनै पर्छ? यस सन्दर्भमा बाइबलले हामीलाई कसरी मदत गर्छ?

१९ शारीरिक तवरमा स्वच्छ रहन हामीले आफूलाई अशुद्ध बानी-बेहोराबाट अलग राख्नै पर्छ। जस्तै: चुरोट खाने, रक्सीको दुरुपयोग गर्ने अनि उपचार गर्ने सिलसिलामा बाहेक अरू तरिकामा नशालु पदार्थको प्रयोग गर्ने वा दिमागलाई असर गर्ने कुनै पदार्थको प्रयोग गर्ने। अहिले व्याप्त सबै अशुद्ध तथा घिनलाग्दा बानी-बेहोराबारे बाइबलमा तोकेरै त बताइएको छैन तैपनि त्यस्ता कुराहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्ने सिद्धान्तहरू भने यसमा पाइन्छ। हामीलाई यहोवाको विचार थाह छ, त्यसैले उहाँप्रतिको प्रेमको कारण हामी उहाँले स्वीकार्ने तरिकामा कदम चाल्न उत्प्रेरित हुन्छौं। आउनुहोस्‌, बाइबलमा दिइएका पाँच सिद्धान्त विचार गरौं।

२०, २१. हामी कस्ता बानी-बेहोराबाट अलग रहेको यहोवा चाहनुहुन्छ? यसरी अलग रहनुपर्ने सशक्‍त कारण के हो?

२० “ए प्रियहरू हो, हामीलाई यी प्रतिज्ञाहरू गरिएको हुनाले तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔं।” (२ कोरिन्थी ७:१) आफ्नो शरीरलाई दूषित तुल्याउने बानी-बेहोरा अनि मन अर्थात्‌ सोच्ने तरिकामा नकारात्मक असर पुऱ्‍याउने बानी-बेहोराबाट हामीहरू अलग रहेको यहोवा चाहनुहुन्छ। त्यसकारण हामी शारीरिक अनि मानसिक स्वास्थ्यमा हानि पुऱ्‍याउने कुलतबाट पर बस्नै पर्छ।

२१ बाइबलले हामीलाई “अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध” राख्नुपर्ने सशक्‍त कारण दिएको छ। याद गर्नुहोस्‌, २ कोरिन्थी ७:१ को सुरुमा यसो भनिएको छ: “हामीलाई यी प्रतिज्ञाहरू गरिएको हुनाले।” कस्ता प्रतिज्ञाहरू? यसभन्दा अघिका पदहरूमा यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तिमीहरूलाई ग्रहण गर्नेछु। . . . म तिमीहरूको बुबा हुनेछु।” (२ कोरिन्थी ६:१७, १८) एकछिन सोच्नुहोस्‌ त, यहोवाले तपाईंको ख्याल राख्ने अनि छोराछोरीलाई बुबाले माया गरेजस्तै माया गर्ने प्रतिज्ञा गर्नुभएको छ। तर तपाईंले “तन र मनलाई” अशुद्ध तुल्याउने कुराबाट आफूलाई अलग राख्नुभयो भने मात्र यहोवाले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुहुनेछ। कुनै घिनलाग्दो बानी-बेहोराले गर्दा यहोवासितको यस्तो अमूल्य अनि घनिष्ठ सम्बन्ध टुटाउनु कत्ति ठूलो मूर्खता हो!

२२-२५. बाइबलमा दिइएका कस्ता सिद्धान्तहरूले गर्दा हामी अशुद्ध बानी-बेहोराबाट अलग्गै रहन सक्छौं?

२२ “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७) यो आज्ञालाई येशूले सबैभन्दा ठूलो आज्ञाको रूपमा रोज्नुभयो। (मत्ती २२:३८) यहोवा हामीबाट यस्तो प्रेम पाउन योग्यको हुनुहुन्छ। उहाँलाई सारा मनले, सारा ज्यानले र सारा दिमागले प्रेम गर्न हामीले जीवनलाई छोट्याउने वा उहाँले दिएको सोच्ने क्षमतालाई लाटो बनाउन सक्ने बानी-बेहोराहरू त्याग्नै पर्छ।

२३ “[यहोवाले] नै सबै मानिसहरूलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ।” (प्रेषित १७:२४, २५) जीवन परमेश्‍वरको वरदान हो। आफ्नो जीवनदातालाई हामी प्रेम गर्छौं, त्यसैले यो वरदानप्रति आदर देखाउन चाहन्छौं। हाम्रो स्वास्थ्यलाई हानि पुऱ्‍याउने कुनै पनि बानी-बेहोरा हामी अपनाउँदैनौं किनभने यस्तो बानी-बेहोराले जीवनको वरदानप्रति घोर अनादर देखाउँछ भनेर हामीले बुझेका छौं।—भजन ३६:९.

२४ “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) अशुद्ध बानी-बेहोरा अपनाउने व्यक्‍तिले त दुःख पाउँछ-पाउँछ, यसले अरूलाई पनि असर गर्छ। जस्तै: चुरोट खाइरहेको मान्छेको धुवाँले नजिकैको मान्छेलाई असर गर्छ। आफू वरपरकाहरूलाई नराम्रो असर पुऱ्‍याउने व्यक्‍तिले छिमेकीलाई प्रेम गर्नू भन्‍ने परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरिरहेको हुन्छ। साथै उक्‍त व्यक्‍तिले परमेश्‍वरलाई प्रेम गर्छु भनेर झूटो दाबी गरिरहेको हुन्छ।—१ यूहन्‍ना ४:२०, २१.

२५ “तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि तिनीहरूप्रति आज्ञाकारी होऊन्‌।” (तीतस ३:१) थुप्रै मुलुकमा कुनै-कुनै औषधी राख्न वा प्रयोग गर्न कानुनले निषेध गरेको हुन्छ। साँचो ख्रीष्टियन भएकोले हामी अवैध औषधीहरू राख्दैनौं वा प्रयोग गर्दैनौं।—रोमी १३:१.

२६. (क) परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले के गर्नै पर्छ? (ख) परमेश्‍वरको नजरमा शुद्ध रहनु किन जीवनको सर्वोत्तम मार्ग हो?

२६ परमेश्‍वरको प्रेम पाउन लायक भइरहन एउटा-दुइटा पक्षमा मात्र होइन तर सम्पूर्ण पक्षमा हामी सफा हुनै पर्छ। अशुद्ध बानी-बेहोराबाट छुटकारा पाउन त्यति सजिलो छैन तर यो असम्भव पनि होइन।d वास्तवमा यो भन्दा उत्तम जीवन हामी अन्त कतै पाउन सक्दैनौं किनभने यहोवा सधैं हाम्रै भलाइको लागि सिकाउनुहुन्छ। (यशैया ४८:१७) सबैभन्दा महत्त्वपूर्ण कुरा, सफा रहँदा हामी सन्तुष्टि पाउन सक्छौं। यस्तो सन्तुष्टि हामीले अरूमा यहोवाबारे राम्रो प्रभाव पारेका छौं भन्‍ने कुरा बुझ्दा पाइन्छ। यसरी हामी परमेश्‍वरको प्रेम पाउन लायक भइरहन सक्छौं।

a “शुद्ध” भनेर अनुवाद गरिएको हिब्रू शब्दले शारीरिक सरसफाइलाई मात्र होइन, नैतिक स्वच्छता अनि उपासनासम्बन्धी शुद्धतालाई पनि बुझाउँछ।

b साँचो ख्रीष्टियनहरू अलग्गै रहनुपर्ने खास उत्सव तथा पर्व र रीतिथितिबारे छलफल गर्नको लागि यस किताबको अध्याय १३ हेर्नुहोस्‌।

c स्वस्थकर मनोरञ्जन छान्‍ने सन्दर्भमा यस किताबको अध्याय ६ मा छलफल गरिएको छ।

d पृष्ठ १०६ मा भएको “जे सही छ त्यो गर्न के म सङ्‌घर्ष गर्दैछु?” अनि “परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ” शीर्षकको पेटी हेर्नुहोस्‌।

जे सही छ त्यो गर्न के म सङ्‌घर्ष गर्दैछु?

A man praying to resist the urge to smoke while others around him are smoking

सिद्धान्त: “म आफ्नो शरीरलाई कुट्‌छु अनि पिट्‌छु र त्यसलाई दास बनाएर राख्छु, ताकि अरूलाई प्रचार गरिसकेपछि म आफैचाहिं कसै गरी अयोग्य नठहरिऊँ।”—१ कोरिन्थी ९:२७.

आफैलाई सोध्नुहोस्‌

  • अशुद्ध बानी-बेहोरामा संलग्न हुने सकसक लाग्दा त्यस्तो तीव्र इच्छाको प्रतिरोध गर्न मदत दिनुहोस्‌ भनेर परमेश्‍वरसँग के म उहाँको शक्‍ति माग्ने गर्छु?—मत्ती ६:१३.

  • मैले सङ्‌गत गर्ने व्यक्‍ति, मैले हेर्ने फिल्म अनि मैले सुन्‍ने सङ्‌गीतले खराब बानी-बेहोराबाट अलग रहिरहने मेरो सङ्‌कल्पलाई कसरी असर गर्छ?—१ पत्रुस ४:३, ४.

  • ‘असल काम गरेको छु’ भन्दैमा पापी आचरणमा संलग्न भए पनि हुन्छ भन्‍न मिल्दैन, किन?—मत्ती २३:२५-२८.

  • परमेश्‍वरको इच्छा गर्दा येशूले जसरी दुःख भोग्नुभयो म पनि त्यसरी नै दुःख भोग्न किन तयार छु?—१ पत्रुस २:२१; ४:१.

  • मैले चुरोट नखानुको कारण म अरूलाई कसरी बताउँछु?—रोमी १२:१, २.

  • कुनै अशुद्ध कामकुरा फेरि गरिहालें भने पनि पूरै हार मान्‍नुहुँदैन भनेर के मैले बुझेको छु?—रोमी ७:२१-२५.

“परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ”

आशाe भन्छिन्‌: “पन्ध्र वर्षकी हुँदा म दिनहुँ चुरोट खान्थें अनि सप्ताहन्तमा साथीभाइहरूसित बसेर मज्जाले रक्सी पिउँथें। विवाह नगरीकनै मेरा तीन छोराछोरी भए। त्यतिबेलासम्म म कोकिनको लतमा फसिसकेकी थिएँ। मेरो जीवनमा सुख भन्‍ने छँदै थिएन। तर पछि मैले बाइबल अध्ययन सुरु गरें। यहोवाको मदतले मैले नैतिक तवरमा शुद्ध जीवन बिताउन थालें अनि कुलतलाई पनि त्यागें। यसको लागि मैले निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो, अझ कोकिन छोड्‌न कति गाह्रो भयो त्यो त कुरै नगरौं। मेरो आफ्नै बल-बर्कतले यो सबै गर्नु सम्भव नै थिएन। तर मैले आफ्नो जीवनमा येशूका यी शब्दहरू साँच्चै पूरा भएको पाएकी छु: ‘परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ।’”—मत्ती १९:२६.

e नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने