प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ११/१५ pp. ९-१४
  • मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले आवश्‍यक मदत गरे
  • भौतिक सहायता दिने
  • तिनीहरू “सान्त्वना दिने मानिसहरू” थिए
  • अरूको हेरचाह गर्ने स्त्रीहरू
  • हामीलाई तपाईं केटाकेटीहरूको पनि साथ चाहिन्छ
  • विपत्ति आइपर्दा
  • चेला बनाउन प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मण्डलीको उत्थान गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अक्वीला र प्रिस्किला उदाहरणीय दम्पती
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “एकअर्काको उत्थान गरिरहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ११/१५ pp. ९-१४

मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ

“हामी एक दोस्रोका अंग हौं।”—एफिसी ४:२५.

१. मानव शरीरबारे एउटा इन्साइक्लोपीडिया के भन्छ?

मानव शरीर उदेकलाग्दो सृष्टि हो! द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “कहिलेकाहीं मानिसहरू मानव शरीरलाई आजसम्म बनेका मेसिनहरूमध्ये सबैभन्दा आश्‍चर्यजनक मेसिन भन्छन्‌। निस्सन्देह, मानव शरीर मेसिन त होइन। तर यसलाई थुप्रै तरिकामा मेसिनसित तुलना गर्न सकिन्छ। मेसिनजस्तै शरीर पनि विभिन्‍न भागहरू मिलेर बनेको हुन्छ। मेसिनको जस्तै शरीरको हरेक भागको पनि आ-आफ्नै काम हुन्छ। तर सबै भागहरू एकसाथ मिलेर काम गर्छन्‌ र शरीर वा मेसिन सुचारुरूपमा चल्छ।”

२. मानव शरीर र मसीही मण्डली कसरी समान छ?

२ हो, मानव शरीरमा थुप्रै भाग अर्थात्‌ अंगहरू हुन्छन्‌ र हरेकले आवश्‍यक तत्त्वहरूको आपूर्ति गर्छन्‌। कुनै पनि नसा, मांसपेशी वा शरीरको अरू सानोभन्दा सानो अंगसमेत बेकामको छैन। त्यसै गरी, मसीही मण्डलीका हरेक सदस्यले मण्डलीको आध्यात्मिक स्वास्थ्य र सुन्दरतामा योगदान पुऱ्‍याउन सक्छन्‌। (१ कोरिन्थी १२:१४-२६) मण्डलीका सदस्यले आफूलाई न त अरूभन्दा श्रेष्ठ न महत्त्वहीन नै ठान्‍नुहुन्छ।—रोमी १२:३.

३. मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ भनी एफिसी ४:२५ ले कसरी संकेत गर्छ?

३ मानव शरीरका अंगहरू एक-अर्कामा निर्भर भएजस्तै, मसीहीहरूलाई पनि एक-अर्काको साथ चाहिन्छ। प्रेरित पावलले आत्म-अभिषिक्‍त सँगी विश्‍वासीहरूलाई यसो भने: “झूट त्यागेर हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल, किनकि हामी एक दोस्रोका अंग हौं।” (एफिसी ४:२५) तिनीहरू “एक दोस्रोका अंग” भएकाले “ख्रीष्टको शरीर” अर्थात्‌ आध्यात्मिक इस्राएलका सदस्यहरू एक-अर्कासित सत्य बोल्छन्‌ र पूर्ण सहयोग गर्छन्‌। हो, तिनीहरू हरेक नै एक-अर्कामा निर्भर छन्‌। (एफिसी ४:११-१३) पार्थिव आशा भएका इमानदार तथा सहयोगी मसीहीहरू पनि आनन्दपूर्वक तिनीहरूसँग एकताबद्ध छन्‌।

४. नयाँ व्यक्‍तिहरूलाई कुन-कुन तरिकामा मदत गर्न सकिन्छ?

४ हरेक वर्ष, पार्थिव प्रमोदवनमा बाँच्ने आशा भएका हजारौं व्यक्‍तिहरूले बप्तिस्मा लिन्छन्‌। मण्डलीका अरू सदस्यहरूले तिनीहरूलाई ‘सिद्धतातर्फ बढ्‌दै जान’ खुसीसाथ मदत गर्छन्‌। (हिब्रू ६:१-३) यसमा धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ दिनु वा सेवकाईमा व्यावहारिक मदत गर्नु समावेश हुन सक्छ। मसीही सभाहरूमा नियमित तवरमा भाग लिने सन्दर्भमा राम्रो उदाहरण बसालेर हामी नयाँ व्यक्‍तिहरूलाई मदत गर्न सक्छौं। विपत्तिको समयमा हामी प्रोत्साहन वा सान्त्वना दिन पनि सक्छौं। (१ थिस्सलोनिकी ५:१४, १५) हामीले अरूलाई ‘सत्यमा चलिरहन’ मदत गर्ने तरिकाहरूको खोजी गर्नुपर्छ। (३ यूहन्‍ना ४) हामी चाहे जवान होऔं वा वृद्ध, सच्चाइको मार्गमा भर्खरै हिंड्‌न थालेका होऔं वा वर्षौंदेखि, हामीले सँगी विश्‍वासीहरूको आध्यात्मिक भलाइमा योगदान पुऱ्‍याउन सक्छौं र तिनीहरूलाई हाम्रो साथ चाहिन्छ।

तिनीहरूले आवश्‍यक मदत गरे

५. अक्वीला र प्रिस्किला कसरी पावलको लागि मदतकारी साबित भए?

५ विवाहित मसीही दम्पतीहरूले पनि सँगी विश्‍वासीहरूलाई मदत गर्दा सन्तुष्टी महसुस गर्छन्‌। उदाहरणका लागि, अक्वीला र तिनकी पत्नी, प्रिस्किलाले (प्रिस्का) पावललाई मदत गरे। तिनीहरूले पावललाई आफ्नो घरमा राखे, तिनीसँगै पाल बनाउने काम गरे र कोरिन्थमा नयाँ मण्डली स्थापना गर्न मदत गरे। (प्रेरित १८:१-४) तिनीहरूले पावलको लागि हामीलाई थाह नभएको कुनै तरिकामा आफ्नो ज्यानसमेत जोखिममा पारे। रोमका मसीहीहरूलाई पावलले यी कुराहरू भन्दा तिनीहरू त्यहीं थिए: “प्रिस्का र अक्वीला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई सलाम भनिदेओ, जसले मेरो प्राणको निम्ति तिनीहरूका आफ्ना गर्दन दिए। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्‌।” (रोमी १६:३, ४) अक्वीला र प्रिस्किलाले जस्तै, आजका केही मसीहीहरूले पनि मण्डलीहरू स्थापना गर्नुका साथै सँगी उपासकहरूलाई विभिन्‍न ढंगमा मदत गर्छन्‌। कहिलेकाहीं त परमेश्‍वरका अरू सेवकहरूलाई, सताउने मानिसहरूको क्रूरता र मृत्युको सिकार हुनबाट जोगाउन, तिनीहरू आफ्नो ज्यानसमेत जोखिममा पार्छन्‌।

६. अपोल्लसले कस्तो मदत पाए?

६ अक्वीला र प्रिस्किलाले एफिससका बासिन्दाहरूलाई येशू ख्रीष्टबारे सिकाउँदै गरेका पोख्त मसीही वक्‍ता, अपोल्लसलाई पनि मदत गरे। त्यस बेला अपोल्लसलाई व्यवस्थाको करार विरुद्धमा गरेका पापहरूका लागि पश्‍चात्ताप गर्न यूहन्‍नाले दिने बप्तिस्माबारे मात्र थाह थियो। अपोल्लसलाई थप मदत चाहिएको छ भन्‍ने कुरा बुझेर अक्वीला र प्रिस्किलाले तिनलाई “परमेश्‍वरको मार्गको अर्थ झन प्रष्टसँग बुझाइदिए।” तिनीहरूले मसीही बप्तिस्मामा पानीमा निमज्जन गर्नु र पवित्र आत्मा पाउनु समावेश छ भनेर बताएको हुनुपर्छ। अपोल्लसले सिकेअनुसारै गरे। पछि अखैयामा, तिनले “अनुग्रहद्वारा विश्‍वास गर्नेहरू जतिलाई खूबै मदत गरे। किनकि तिनले धर्मशास्त्रका वचनद्वारा ‘येशूनै ख्रीष्ट हुनहुन्छ’ भन्‍ने कुरा खुल्लमखुल्ला देखाईकन यहूदीहरूलाई एकदमै निरुत्तर तुल्याए।” (प्रेरित १८:२४-२८) अक्सर, सँगी विश्‍वासीहरूले गरेका टिप्पणीहरूले परमेश्‍वरको वचनसम्बन्धी हाम्रो समझलाई अझ बढाउन मदत गर्न सक्छ। यस सन्दर्भमा पनि हामीलाई एक-अर्काको साथ चाहिन्छ।

भौतिक सहायता दिने

७. सँगी मसीहीहरू खाँचोमा पर्दा फिलिप्पीका मसीहीहरूले कस्तो प्रतिक्रिया देखाए?

७ फिलिप्पीको मसीही मण्डलीका सदस्यहरूले पावललाई असाध्यै माया गर्थे र तिनी थिस्सलोनिकामा हुँदा, तिनलाई आवश्‍यक भौतिक सामग्रीहरू पठाए। (फिलिप्पी ४:१५, १६) यरूशलेमका भाइहरू खाँचोमा पर्दा फिलिप्पीका मसीहीहरूले आफ्नो औकातभन्दा पनि बढ्‌ता दिने तत्परता देखाए। पावलले फिलिप्पीका मसीही भाइबहिनीहरूको यत्ति धेरै मूल्यांकन गरे कि तिनले अरू विश्‍वासीहरूसामु तिनीहरूलाई उदाहरणको रूपमा पेस गरे।—२ कोरिन्थी ८:१-६.

८. इपाफ्रोडाइटसले कस्तो मनोभाव देखाए?

८ पावल कैदमा हुँदा, फिलिप्पीका मसीहीहरूले भौतिक उपहारहरूमात्र होइन, तर तिनीहरूको दूत इपाफ्रोडाइटसलाई पनि पठाए। पावलले यसो भने: “मतर्फको तिमीहरूको सेवामा घटी भएको पूरा गर्नालाई आफ्ना प्राणलाई जोखिममा पारेर ख्रीष्टको कामको निम्ति [इपाफ्रोडाइटस] मृत्युको मुखसम्मै पुगे।” (फिलिप्पी २:२५-३०; ४:१८) हुन त, इपाफ्रोडाइटस प्राचीन वा सेवकाई सेवक के थिए भनेर हामीलाई बताइएको छैन। तर जे होस्‌, तिनी आत्म-त्यागी तथा मदतकारी मसीही थिए अनि पावललाई साँच्चै तिनको आवश्‍यकता थियो। तपाईंको मण्डलीमा इपाफ्रोडाइटसजस्तो कोही छ कि?

तिनीहरू “सान्त्वना दिने मानिसहरू” थिए

९. हामीसँग अरिस्तार्खसको कस्तो उदाहरण छ?

९ अक्वीला, प्रिस्किला र इपाफ्रोडाइटसजस्ता मायालु भाइबहिनीहरूको हरेक मण्डलीमा ठूलो मूल्यांकन गरिन्छ। हाम्रा कोही-कोही सँगी उपासकहरू प्रथम शताब्दीको मसीही अरिस्तार्खसजस्ता होलान्‌। आधारभूत तथा व्यावहारिक कुराहरूमा ढाडस वा सहाराको स्रोत बनेर, तिनीलगायत अरू “सान्त्वना दिने मानिसहरू” भए। (कलस्सी ४:१०, ११) खाँचोमा परेको बेला पावललाई मदत गरेर अरिस्तार्खसले आफूलाई साँचो मित्र साबित गरे। तिनी हितोपदेश १७:१७ [ NW] मा बताइएको जस्ता मानिस थिए: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइसरह हुन्छ।” के हामी सबैले सँगी मसीहीहरूको लागि “सान्त्वना दिने मानिसहरू” हुने कोसिस गर्नु पर्दैन र? विशेष गरी दुःखकष्ट भोगिरहेकाहरूप्रति हामीले सहयोगको हात बढाउनुपर्छ।

१०. पत्रुसले मसीही प्राचीनहरूको लागि कस्तो उदाहरण बसाले?

१० विशेष गरी प्राचीनहरू आफ्ना आध्यात्मिक भाइबहिनीका लागि सान्त्वना दिने मानिसहरू हुनुपर्छ। ख्रीष्टले प्रेरित पत्रुसलाई यसो भन्‍नुभयो: “तिम्रा भाइहरूलाई स्थिर गराऊ।” (लूका २२:३२) मुख्यतया येशूको पुनरुत्थानपछि पत्रुसले पत्थररूपी मजबुत गुणहरू प्रकट गरेको कारण तिनले यसो गर्न सके। प्राचीनहरू हो, इच्छुकता र कोमलतापूर्वक यसै गर्ने यथासक्दो प्रयास गर्नुहोस्‌ किनभने तपाईंका सँगी विश्‍वासीहरूलाई तपाईंको साथ चाहिन्छ।—प्रेरित २०:२८-३०; १ पत्रुस ५:२, ३.

११. तिमोथीको मनोभावबारे विचार गर्दा हामी कसरी लाभ उठाउन सक्छौं?

११ पावलका सहयात्री तिमोथी अरू मसीहीहरूबारे गहिरो चासो राख्ने प्राचीन थिए। तिनका केही खास स्वास्थ्य समस्याहरू भए तापनि तिमोथीले अटल विश्‍वास प्रदर्शन गर्नुका साथै ‘पावलसित सुसमाचार फैलाउने काममा सेवा गरे।’ त्यसकारण यी प्रेरितले फिलिप्पीका मसीहीहरूलाई यसो भन्‍न सके: “तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन।” (फिलिप्पी २:२०, २२, नयाँ संशोधित संस्करण; १ तिमोथी ५:२३; २ तिमोथी १:५) तिमोथीको जस्तो मनोभाव प्रकट गरेर हामी पनि यहोवाका सँगी उपासकहरूका लागि वरदान हुन सक्छौं। हो, हामीले आफ्ना मानव कमजोरीहरू तथा विभिन्‍न परीक्षाहरूसँग संघर्ष गर्नुपर्छ तर पनि हामी बलियो विश्‍वास र हाम्रा आध्यात्मिक भाइबहिनीहरूप्रति मायालु चासो प्रदर्शन गर्न सक्छौं अनि यसो गर्नु अपरिहार्य पनि छ। तिनीहरूलाई हाम्रो साथ चाहिन्छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन।

अरूको हेरचाह गर्ने स्त्रीहरू

१२. तबीताको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१२ अरूको हेरचाह गर्ने ईश्‍वरभीरु स्त्रीहरूमध्ये एक जना तबीता पनि हुन्‌। तिनी मर्दा चेलाहरूले पत्रुसलाई बोलाएर माथिल्लो तलाको कोठामा लगे। त्यहाँ, “विधवाहरू सबै तिनका नजीक उभिएर रूँदै, र तबीता तिनीहरूसित हुँदाखेरि तिनले बनाइराखेका कोटहरू र लुगाहरू देखाए।” तबीतालाई पुनरुत्थान गरियो र निस्सन्देह तिनी फेरि ‘असल काम र दान-पुण्यमा’ लागिन्‌। आजको मसीही मण्डलीमा पनि खाँचोमा परेकाहरूको लागि लुगा बनाइदिने वा अरू मायालु कार्यहरू गरिदिने तबीताजस्तै स्त्रीहरू छन्‌। पक्कै पनि तिनीहरूको असल काम विशेष गरी राज्यसम्बन्धी गतिविधि तथा चेला बनाउने कामलाई बढवा दिने हुनुपर्छ।—प्रेरित ९:३६-४२; मत्ती ६:३३; २८:१९, २०.

१३. लिडियाले कसरी सँगी मसीहीहरूप्रति चासो देखाइन्‌?

१३ परमेश्‍वरको भय राख्ने, लिडिया नाउँ गरेकी एक जना स्त्रीले अरूको हेरचाह गरिन्‌। तिनी थाइआटीराकी भए तापनि सा.यु. ५० तिर पावलले फिलिप्पीमा प्रचार गर्दा तिनी त्यहीं बसोबास गर्थिन्‌। सम्भवतः लिडियाले धर्म परिवर्तन गरेर यहूदी मत अँगालेकी थिइन्‌, तर फिलिप्पीमा यहूदीहरू थोरै थिए र एउटा पनि सभाघर थिएन। तिनी र अरू भक्‍त स्त्रीहरू उपासनाको लागि नदी किनारमा भेला भएको बेला प्रेरितले तिनीहरूलाई सुसमाचार सुनाएका थिए। विवरण यसो भन्छ: “पावलले बोलेका कुरा ध्यानसित सुनून्‌ भनेर प्रभुले [लिडियाको] हृदय खोलिदिनुभयो। औ जब तिनी र तिनका परिवार सबै बप्तिस्मा भए, तब तिनले यसो भनेर हामीलाई बिन्ती गरिन्‌, ‘यदि तपाईंहरूले मलाई प्रभु-भक्‍त हो भनी ठान्‍नुहुन्छ भने मेरो घरमा आउनुहोस्‌, र त्यहीं बस्नुहोस्‌।’ औ तिनले हामीलाई कर लगाइन्‌।” (प्रेरित १६:१२-१५) लिडिया अरूप्रति भलाइ गर्न इच्छुक भएकोले पावल र तिनका साथीहरूलाई तिनको घरमा बस्नको लागि मनाउन सफल भइन्‌। मायालु मसीहीहरूले आज पनि यस्तै अतिथि-सत्कार देखाउँदा हामी यसको कत्ति मूल्यांकन गर्छौं!—रोमी १२:१३; १ पत्रुस ४:९.

हामीलाई तपाईं केटाकेटीहरूको पनि साथ चाहिन्छ

१४. येशू ख्रीष्टले केटाकेटीहरूप्रति कस्तो व्यवहार गर्नुभयो?

१४ मसीही मण्डलीको सुरु परमेश्‍वरको पुत्र, येशू ख्रीष्टद्वारा भएको थियो र उहाँ दयालु, न्यानो हृदयको हुनुहुन्थ्यो। उहाँ मयालु र अनुकम्पापूर्ण हुनुभएकोले मानिसहरू उहाँको छेउमा आउन अप्ठ्यारो महसुस गर्दैनथे। एक पटक मानिसहरूले आफ्ना स-साना केटाकेटीहरू येशूकहाँ ल्याउँदा, उहाँका चेलाहरूले तिनीहरूलाई फिर्ता पठाउन खोजे। तर येशूले यसो भन्‍नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई साना बालकले जस्तै ग्रहण नगर्ला त्यो कदापि त्यसभित्र पस्नेछैन।” (मर्कूस १०:१३-१५) परमेश्‍वरको राज्यका आशिष्‌हरू प्राप्त गर्ने हो भने, हामी पनि साना बालकहरूजस्तै नम्र र सिकाउन सकिने हुनुपर्छ। येशूले केटाकेटीहरूलाई आफ्नो काखमा लिएर अनि तिनीहरूलाई आशिष्‌ दिएर तिनीहरूप्रति प्रेम देखाउनुभयो। (मर्कूस १०:१६) आज नि? मण्डलीमा तपाईं केटाकेटीहरूलाई माया गरिन्छ र तपाईंहरूको आवश्‍यकता छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

१५. लूका २:४०-५२ मा येशूको जीवनबारे कस्ता तथ्यहरू लिपिबद्ध छन्‌ र उहाँले केटाकेटीहरूका लागि कस्तो उदाहरण बसाल्नुभयो?

१५ येशूले सानै उमेरदेखि परमेश्‍वर र धर्मशास्त्रप्रति प्रेम देखाउनुभयो। उहाँ १२ वर्षको हुँदा, उहाँ र उहाँका आमाबाबु, यूसुफ र मरियमले निस्तार चाड मनाउन आफ्नो गृहनगर नासरतबाट यरूशलेमसम्मको यात्रा गरे। फर्कने बेला बाटोमा, येशूका आमाबाबुले येशू यात्रा गरिरहेको समूहमा नभएको कुरा चाल पाए। अन्तमा तिनीहरूले उहाँलाई मन्दिरको एउटा कोठामा बसेर यहूदी शिक्षकहरूले भनेका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्‍न सोध्दै गरेको भेट्टाए। उहाँलाई कहाँ भेट्टाउन सकिन्छ भन्‍ने कुरा यूसुफ र मरियमलाई थाह नभएकोमा छक्क पर्दै येशूले यसरी सोध्नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाह थिएन?” उहाँ आफ्ना आमाबाबुसँग घर फर्कनुभयो, तिनीहरूको अधीनतामा बस्नुभयो र बौद्धिक तथा शारीरिक दुवै तवरमा बढ्‌दै जानुभयो। (लूका २:४०-४२) येशूले हाम्रा केटाकेटीहरूका लागि कत्ति राम्रो उदाहरण बसाल्नुभयो! निस्सन्देह, तिनीहरूले आफ्ना आमाबाबुको आज्ञा पालन गर्नुपर्छ र आध्यात्मिक कुराहरू सिक्न इच्छुक हुनुपर्छ।—व्यवस्था ५:१६; एफिसी ६:१-३.

१६. (क) येशूले मन्दिरमा शिक्षा दिनुहुँदा केही केटाकेटीहरू के भनेर कराए? (ख) आज मसीही केटाकेटीहरूको लागि कस्तो सुअवसर छ?

१६ तपाईं केटाकेटीहरूले स्कूलमा अनि आफ्ना आमाबाबुसँग घर-घरमा यहोवाबारे साक्षी दिइरहनुभएको होला। (यशैया ४३:१०-१२; प्रेरित २०:२०, २१) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले मन्दिरमा साक्षी दिनुहुँदा र मानिसहरूलाई निको पार्नुहुँदा, केही केटाकेटीहरू यसो भन्दै कराए: “होसन्‍ना दाऊदका पुत्रलाई!” यो सुनेर मुख्य पूजाहारीहरू र शास्त्रीहरूले रिसाउँदै यसरी विरोध जनाए: “के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्‌?” येशूले यस्तो जवाफ दिनुभयो: “हो, म सुन्दैछु। के तिमीहरूले पढेका छैनौ? दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।” (मत्ती २१:१५-१७) ती केटाकेटीहरूजस्तै, मण्डलीका तपाईं केटाकेटीहरूसँग पनि परमेश्‍वर र उहाँको पुत्रको प्रशंसा गर्ने ठूलो सुअवसर छ। हामी तपाईंहरूले राज्य उद्‌घोषकको हैसियतमा हामीसँगै काम गरेको चाहन्छौं अनि हामीलाई तपाईंहरूको साथ चाहिन्छ।

विपत्ति आइपर्दा

१७, १८. (क) पावलले किन यहूदियाका मसीहीहरूको लागि चन्दा उठाउने प्रबन्ध मिलाए? (ख) यहूदियाका विश्‍वासीहरूको लागि दिइएको स्वैच्छिक चन्दाले यहूदी तथा अन्यजातिका मसीहीहरूलाई कस्तो असर पाऱ्‍यो?

१७ हाम्रो परिस्थिति जस्तोसुकै होस्‌, प्रेमले हामीलाई खाँचोमा परेका सँगी मसीहीहरूलाई मदत गर्न उत्प्रेरित गर्छ। (यूहन्‍ना १३:३४, ३५; याकूब २:१४-१७) यहूदियामा भएका आफ्ना भाइबहिनीहरूको प्रेमले गर्दा नै पावल अखैया, गलातिया, म्यासिडोनिया र एसियाको प्रान्तका मण्डलीहरूबाट तिनीहरूको लागि चन्दा संकलन गर्ने प्रबन्ध मिलाउन उत्प्रेरित भए। यरूशलेमका चेलाहरूले भोगेका सतावट, गृहयुद्ध र अनिकाललाई नै पावलले “कठोर संघर्ष,” “कष्टहरू” र “धनसम्पत्ति लुटिंदा हर्षसाथ सह्‍यौ” भनेका हुन सक्छन्‌। (हिब्रू १०:३२-३४, नयाँ संशोधित संस्करण; प्रेरित ११:२७–१२:१) त्यसकारण, पावलले यहूदियाका गरिब मसीहीहरूका लागि रकम संकलन गर्ने प्रबन्ध मिलाए।—१ कोरिन्थी १६:१-३; २ कोरिन्थी ८:१-४, १३-१५; ९:१, २, ७.

१८ यहूदियाका पवित्र जनहरूलाई पठाएको स्वैच्छिक चन्दाले यहूदी र अन्यजातिका यहोवाका उपासकहरूबीच भ्रातृत्वको बन्धन थियो भनेर प्रमाणित गऱ्‍यो। चन्दा दिंदा अन्यजातिका मसीहीहरूले यहूदियाका सँगी उपासकहरूबाट प्राप्त गरेको आध्यात्मिक सम्पदाको लागि तिनीहरूप्रति मूल्यांकन देखाउन पनि सके। यसरी तिनीहरूले एक आपसमा भौतिक तथा आध्यात्मिक कुराहरू दुवै बाँडे। (रोमी १५:२६, २७) आज पनि खाँचोमा परेका सँगी विश्‍वासीहरूलाई दिइने चन्दा स्वैच्छिक र प्रेमद्वारा उत्प्रेरित हुन्छ। (मर्कूस १२:२८-३१) यस सन्दर्भमा पनि हामीलाई एक-अर्काको साथ चाहिन्छ। यसो भएमा समानता हुन्छ ‘र कम हुनेहरूलाई अभाव हुँदैन।’—२ कोरिन्थी ८:१५.

१९, २०. विपत्तिहरू आइपर्दा यहोवाका जनहरूले कसरी मदत दिन्छन्‌ भन्‍ने कुरा बुझाउने एउटा उदाहरण दिनुहोस्‌।

१९ मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ भन्‍ने कुराबारे सजग हुँदै, हामी विश्‍वासमा भएका हाम्रा भाइबहिनीहरूलाई मदत गर्न तुरुन्तै अग्रसर हुन्छौं। उदाहरणका लागि, सन्‌ २००१ को सुरुतिर एल साल्भाडोरमा भूकम्प र पहिरोको विनाशकारी प्रभाव भोग्नुपर्दा के भयो विचार गर्नुहोस्‌। एउटा रिपोर्टले यसो भन्यो: “एल साल्भाडोरको सबै भागमा भाइहरू उद्धार कार्यका लागि जुटे। हामीलाई साथ दिन ग्वाटेमाला, संयुक्‍त राज्य अमेरिका र क्यानाडाबाट पनि भाइहरू आए। . . . छोटो समयमा नै ५०० भन्दा बढी घर र ३ वटा राम्रा राज्यभवनहरू खडा गरिए। यी आत्म-त्यागी भाइहरूको कडा परिश्रम र सहयोगले बृहत्‌ साक्षी दिएको छ।”

२० दक्षिण अफ्रिकाबाट प्राप्त एउटा रिपोर्टले यसो भन्यो: “मोजाम्बिकको ठूलो भू-भागलाई तहसनहस पारेको उग्र बाढीबाट हाम्रा थुप्रै मसीही भाइहरू पनि प्रभावित भए। मोजाम्बिक शाखाले तिनीहरूका अधिकांश आवश्‍यकताहरू पूरा गर्ने प्रबन्ध मिलायो। तर त्यहाँका भाइहरूले हामीलाई खाँचोमा परेका भाइहरूका लागि पुराना कपडाहरू पठाइदिन आग्रह गरे। हामीले मोजाम्बिकका भाइहरूका लागि १२ मिटर लामो ट्रकभरि कपडाहरू जम्मा गरेर पठायौं।” हो, यी तरिकाहरूमा पनि हामीलाई एक-अर्काको साथ चाहिन्छ।

२१. अर्को लेखमा कुन कुरा विचार गरिनेछ?

२१ सुरुमा बताइएझैं, मानव शरीरका सम्पूर्ण भागहरू महत्त्वपूर्ण छन्‌। निस्सन्देह, मसीही मण्डलीको सन्दर्भमा पनि यो कुरा साँचो छ। यसका सबै सदस्यहरूलाई एक-अर्काको साथ चाहिन्छ। तिनीहरूले एकताबद्ध भएर सेवा गरिरहनुपर्छ। यसो गर्न सम्भव तुल्याउने केही पक्षहरूबारे अर्को लेखमा विचार गरिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मानव शरीर र मसीही मण्डलीबीच कस्तो समानता छ?

• आफ्ना सँगी विश्‍वासीहरू खाँचोमा पर्दा प्रारम्भिक मसीहीहरूले कस्तो प्रतिक्रिया देखाए?

• मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ र तिनीहरूले एक-अर्कालाई मदत गर्छन्‌ भनेर देखाउने केही धर्मशास्त्रीय उदाहरणहरू के-के हुन्‌?

[पृष्ठ १०-मा भएको चित्र]

अक्वीला र प्रिस्किलाले अरूको हेरचाह गरे

[पृष्ठ १२-मा भएको चित्र]

विपत्तिहरू आइपर्दा यहोवाका जनहरूले एक-अर्कालाई र अरूलाई मदत गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने