प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ pp. ३०-३१
  • आफ्नो हात बलियो बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो हात बलियो बनाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हात कसरी बलियो बनाइन्छ
  • यहोवाले हाम्रो हात बलियो बनाउनुहुनेछ
  • “तेरा हातहरू ढिला हुन नपाऊन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • हात धोएपछि पुछ्‌न नबिर्सनुहोस्‌!
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ pp. ३०-३१

आफ्नो हात बलियो बनाउनुहोस्‌

बाइबलमा हात शब्द १,८०० पटकभन्दा बढी उल्लेख गरिएको छ। हातसित सम्बन्धित तुक्काहरू विभिन्‍न तरिकामा प्रयोग गरिएका छन्‌। उदाहरणका लागि, शुद्ध हातले निर्दोषतालाई बुझाउँछ। (२ शमूएल २२:२१; भजन २४:३, ४) मुठी खोल्नुको अर्थ अरूप्रति उदारता देखाउनु हो। (व्यवस्था १५:११; भजन १४५:१६) आफ्नो ज्यान दाउमा हाल्नेलाई हत्केलामा ज्यान राख्ने व्यक्‍ति भनिन्छ। (१ शमूएल १९:५) हात-खुट्टा छाड्‌नु भनेको निरुत्साहित हुनु हो। (२ शमूएल १५:७) अनि हात बलियो बनाउनु भनेको कुनै कार्यको लागि सुदृढ तथा बलवान्‌ हुनु हो।—१ शमूएल २३:१६.

आज हाम्रो हात बलियो बनाउनु एकदमै जरुरी छ। हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) निरुत्साहित हुँदा हरेस खाने, लत्तो छोड्‌ने मानव झुकाव हुन्छ। किशोरकिशोरीहरूले स्कूल छोडेको, पतिहरूले आफ्नो परिवार छोडेको र आमाहरूले आफ्ना छोराछोरीहरूलाई त्यागेको देख्नु सामान्य कुरा भइसक्यो। मसीहीहरूको हैसियतमा, परमेश्‍वरको सेवा गर्दा हामीले सामना गर्ने परीक्षाहरू सहन हामीले आफ्नो हात बलियो बनाउनु आवश्‍यक छ। (मत्ती २४:१३) यसो गर्दा हामी यहोवाको हृदयलाई आनन्दित तुल्याउँछौं।—हितोपदेश २७:११.

हात कसरी बलियो बनाइन्छ

एज्राको समयका यहूदीहरूले यरूशलेममा यहोवाको मन्दिर पुनर्निर्माण गर्न आ-आफ्नो हात बलियो बनाउनु परेको थियो। तिनीहरूका हात कसरी बलियो बनाइयो? विवरण यसो भन्छ: “तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमीरे रोटीको चाड़ धूमधामसित मनाए। किनभने अश्‍शूरका राजाको मन बद्‌लिगरिदिएर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। परमेश्‍वर इस्राएलका परमेश्‍वरको भवनको काममा तिनीहरूलाई अश्‍शूरका राजाले प्रोत्साहन दिए।” (एज्रा ६:२२) परमेश्‍वरका जनहरूलाई फर्काउन यहोवाले “अश्‍शूरका राजा[लाई]” आफ्नो सक्रिय शक्‍तिद्वारा उत्प्रेरित गर्नुका साथै सुरु गरिसकेको कार्यलाई पूरा गर्न उहाँले मानिसहरूलाई जोसिलो बनाउनुभयो।

पछि, यरूशलेमको पर्खाल मर्मत गर्नुपर्दा नहेम्याहले आफ्ना भाइहरूको हात बलियो बनाए। हामी यस्तो लेखिएको पाउँछौं: “परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्‍नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ। तिनीहरूले जवाफ दिए, ‘हामी पुनर्निर्माणको काम शुरू गरौं।’ यसैले तिनीहरूले उत्साहपूर्वक यो राम्रो काम शुरू गर्नलागे।” उत्साहित भएर नहेम्याह तथा तिनका सँगी यहूदीहरूले ५२ दिनमै यरूशलेमको पर्खाल पुनर्निर्माण गर्न सिध्याए!—नहेम्याह २:१८; ६:९, १५.

त्यस्तै गरी, राज्यको सुसमाचार प्रचार गर्न यहोवाले हाम्रो हात बलियो बनाउनुहुन्छ। (मत्ती २४:१४) ‘उहाँको इच्छा पूरा गर्न असल कुराले हामीलाई सुसज्जित पार्नुभएर’ उहाँले हाम्रो हात बलियो बनाउनुहुन्छ। (हिब्रू १३:२१) उहाँले हामीलाई उच्च कोटीको औजार दिनुभएको छ। संसारभरिका मानिसहरूकहाँ गएर कुरा गर्न हामीसित बाइबल तथा बाइबल आधारित पुस्तक, पत्रिका, पुस्तिका, पर्चा अनि श्रव्य तथा दृश्‍य सामग्रीहरू छन्‌। साँच्चै भन्‍ने हो भने, हाम्रा प्रकाशनहरू लगभग ३८० भाषामा उपलब्ध छन्‌। यसको अतिरिक्‍त, हाम्रो सेवकाई पूरा गर्न यो उत्कृष्ट औजार कसरी प्रयोग गर्ने भन्‍ने सन्दर्भमा यहोवाले मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूमार्फत ईश्‍वरतान्त्रिक शिक्षा र प्रशिक्षण दिनुहुन्छ।

विभिन्‍न तरिकामा यहोवाले हाम्रो हात बलियो बनाउनुभए तापनि उहाँ हामीले पनि उत्कट प्रयत्न गरेको चाहनुहुन्छ। अरामका आक्रमणकारीहरू विरुद्ध युद्ध गर्न अगमवक्‍ता एलीशाकहाँ मदतको लागि आएका राजा योआशलाई एलीशाले के भने सम्झनुहोस्‌। एलीशाले राजालाई केही काँडहरू लिन लगाए र भुइँमा हान्‍न लगाए। बाइबल विवरण यसो भन्छ: “तिनले तीन खेप हानेर थामे। परमेश्‍वरका जनले क्रोधित भएर तिनलाई भने, “तपाईंले ता पाँच, छपल्ट हान्‍नुपर्ने थियो, तब तपाईंले अरामलाई सम्पूर्ण रूपले परास्त गर्नुहुने थियो। तर तपाईंले अरामलाई तीन खेप मात्र परास्त गर्नुहुनेछ। त्यहाँभन्दा बढ़ी होइन।” (२ राजा १३:१८, १९) जोसिलो भई उत्कट प्रयत्न नगरेको कारण योआशले अरामीहरूसितको युद्धमा धेरै सफलता हासिल गर्न सकेनन्‌।

यहोवाले हामीलाई अह्राउनुभएको काम पूरा गर्न चाहन्छौं भने, हामीलाई पनि यही सिद्धान्त लागू हुन्छ। यो काम गर्दा कस्ता अप्ठ्याराहरू आइपर्ने होलान्‌ वा असाइनमेन्ट निकै गाह्रो हुन्छ होला भनेर चिन्ता गर्नुको साटो यस कामलाई हामीले जोसका साथ तनमनले गर्नुपर्छ। हामीले हाम्रो हात बलियो बनाउनुपर्छ र मदतको लागि यहोवामा भर पर्नुपर्छ।—यशैया ३५:३, ४.

यहोवाले हाम्रो हात बलियो बनाउनुहुनेछ

यहोवाले उहाँको उद्देश्‍य पूरा गर्न हामीलाई अवश्‍य मदत गर्नुका साथै हाम्रो हात बलियो बनाउनुहुनेछ। हुन त हो, परमेश्‍वरले चमत्कार गरेर हाम्रोलागि सबै कुरा चुट्‌की भरमै गर्नुहुनेछैन। उहाँ हामीले पनि आफ्नोतर्फबाट केही गरेको चाहनुहुन्छ—दिनहुँ बाइबल पढेको, तयारी गरेर नियमित रूपमा सभाहरूमा उपस्थित भएको, सेवकाईमा यथाशक्य भाग लिएको अनि उहाँलाई निरन्तर प्रार्थना गरेको आशा गर्नुहुन्छ। मौका छँदै विश्‍वासी तथा लगनशील भई आफ्नोतर्फबाट गर्नुपर्ने कुरा गऱ्‍यौं भने, यहोवाले हामीबाट जे चाहनुहुन्छ, त्यो पूरा गर्ने बल पनि दिनुहुनेछ।—फिलिप्पी ४:१३.

एकै वर्षभित्र आफ्नी पत्नी र आमाको मृत्युको पीडा सहनुपरेका एक जना मसीहीको अवस्थालाई विचार गर्नुहोस्‌। बुहारीले छोरालाई छोडेर जानुका साथै मसीही मार्ग त्याग्दा यसले तिनको पीडामाथि पीडा थप्यो। “हामीमाथि कस्तो परीक्षा, कहिले र कति चोटि आइपरोस्‌ भनेर हामी छनौट गर्न सक्दा रहेनछौं भनेर मैले बुझें” भनी ती भाइ बताउँछन्‌। हरेस नखान तिनलाई केले बल दिन्छ? “यस्तो कठिन परिस्थितिबाट गुज्रँदा प्रार्थना र व्यक्‍तिगत अध्ययनले मलाई सम्हाल्यो। अनि मेरा आध्यात्मिक भाइबहिनीहरूको सहयोगले गर्दा पनि मैले ठूलो सान्त्वना पाएको छु। सबैभन्दा महत्त्वपूर्ण कुरा त, गाह्रो अवस्था आउनुअघि नै यहोवासित राम्रो व्यक्‍तिगत सम्बन्ध कायम गर्नुपर्ने महत्त्व मैले बुझेको छु।”

जीवनमा तपाईंले जस्तोसुकै अनुभव गर्नुपरे तापनि यहोवामाथि पूर्ण भरोसा राख्ने अनि तपाईंको हात बलियो बनाउन उहाँले गर्नुहुने सबै प्रबन्धहरूको पूरापूर सदुपयोग गर्ने दृढ संकल्प गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंले यहोवालाई उच्च कोटीको सेवा चढाउन सक्नुका साथै उहाँको बहुमूल्य नाउँको प्रशंसा तथा महिमा गर्न सक्नुहुनेछ।—हिब्रू १३:१५.

[पृष्ठ ३१-मा भएको चित्र]

जोसिलो भई उत्कट प्रयत्न नगरेकोले अरामीहरूसितको युद्धमा योआशले धेरै सफलता हासिल गर्न सकेनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने