प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 सेप्टेम्बर pp. ८-१३
  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका भरोसायोग्य सेवकहरूबाट सिक्नुहोस्‌
  • गोपनीयता कायम राखेर भरोसायोग्य हुनुहोस्‌
  • भरोसायोग्य हुन मदत गर्ने गुणहरू विकास गर्नुहोस्‌
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईं अरूमाथि भरोसा राख्न डराउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तपाईँ अरूलाई “निकै सान्त्वना” दिन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 सेप्टेम्बर pp. ८-१३

अध्ययन लेख ३८

आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌

“विश्‍वासिलो मानिसले अरूको गोप्य कुरा प्रकट गर्दैन।” —हितो. ११:१३.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचयa

१. भरोसायोग्य व्यक्‍ति कस्तो हुन्छ?

भरोसायोग्य व्यक्‍तिले आफ्नो वचन पूरा गर्छ र सत्य बोल्छ। (भज. १५:४) अरूले पनि ऊमाथि ढुक्क भएर भरोसा गर्न सक्छ। भाइबहिनीले पनि हामीलाई त्यसरी नै भरोसा गरेको हामी चाहन्छौँ। हामी कसरी अरूको भरोसा कमाउन सक्छौँ?

२. हामी कसरी आफूलाई भरोसायोग्य साबित गर्न सक्छौँ?

२ हामीमाथि भरोसा गर्न हामी अरूलाई जबरजस्ती गर्न सक्दैनौँ। बरु हामीले भरोसा कमाउनुपर्छ। भरोसा पैसाजस्तै हो। यो कमाउन गाह्रो हुन्छ तर गुमाउन कतिबेर पनि लाग्दैन। यहोवाले हाम्रो भरोसा जित्नुभएको छ। हामी उहाँमाथि आँखा चिम्लेर भरोसा गर्न सक्छौँ किनकि “उहाँ जे गर्नुहुन्छ, ती सबै भरोसायोग्य छन्‌।” (भज. ३३:४) हामीले उहाँको देखासिकी गरेको उहाँ चाहनुहुन्छ। (एफि. ५:१) यहोवाको देखासिकी गरेका र आफूलाई भरोसायोग्य साबित गरेका उहाँका केही सेवकको उदाहरण विचार गरौँ। भरोसायोग्य हुन मदत गर्ने पाँच वटा गुणबारे पनि हामी छलफल गर्नेछौँ।

यहोवाका भरोसायोग्य सेवकहरूबाट सिक्नुहोस्‌

३-४. भविष्यवक्‍ता दानिएलले आफूलाई कसरी भरोसायोग्य साबित गरे र हामीले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

३ भविष्यवक्‍ता दानिएलले भरोसायोग्य हुने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाले। हुनत तिनलाई बेबिलोनमा बन्दी बनाएर लगिएको थियो तर केही समयमै तिनी भरोसायोग्य व्यक्‍ति भनेर चिनिए। यहोवाको मदत पाएर बेबिलोनी राजा नबुकद्‌नेजरको सपनाको अर्थ खोलिदिँदा तिनले अझै भरोसा कमाए। एकचोटि दानिएलले राजालाई यहोवा उनीदेखि अप्रसन्‍न हुनुहुन्छ भन्‍ने सन्देश सुनाउनुपरेको थियो। त्यो सन्देश सुनाउन तिनलाई निकै साहस चाहिएको थियो। किनभने नबुकद्‌नेजर रिसाहा स्वभावका थिए र त्यो सन्देश सुनेर उनी क्रोधित हुन सक्थे। (दानि. २:१२; ४:२०-२२, २५) धेरै वर्षपछि दानिएलले बेबिलोनको दरबारको भित्तामा देखा परेको रहस्यमय सन्देशको अर्थ खोलिदिँदा तिनले आफू भरोसायोग्य भएको फेरि प्रमाणित गरे। (दानि. ५:५, २५-२९) पछि मादी दारा र उनका उच्च अधिकारीहरूले पनि दानिएलसित “विशेष क्षमता” छ भन्‍ने कुरा याद गरे। तिनीहरूले दानिएल ‘भरोसायोग्य मानिस हुन्‌ र तिनी आफ्नो काममा लापर्बाही गर्दैनन्‌ न त छलकपट गर्छन्‌’ भन्‍ने कुरा स्विकारे। (दानि. ६:३, ४) हो, यहोवाको उपासना नगर्ने शासकहरूले समेत उहाँका यी सेवक भरोसायोग्य छन्‌ भनेर मानिलिए।

४ दानिएलको उदाहरण मनमा राख्दै हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘मैले मण्डलीबाहिर कस्तो नाम कमाएको छु? के म जिम्मेवारीहरू राम्ररी पूरा गर्ने र भरोसा गर्न सक्ने व्यक्‍तिको रूपमा चिनिन्छु?’ हामीले यी प्रश्‍नहरू विचार गर्नु किन महत्त्वपूर्ण छ? किनभने हामीले आफूलाई भरोसायोग्य साबित गर्दा परमेश्‍वरको प्रशंसा हुन्छ।

नहेम्याह यरुसलेम सहरको प्रवेशद्वारबाहिर दुई जना पुरुषलाई निर्देशन दिँदै।

नहेम्याहले महत्त्वपूर्ण कामहरूको लागि भरपर्दा मानिसहरू रोजे (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. हानन्याह किन भरोसायोग्य व्यक्‍ति भनेर चिनिन्थे?

५ ईसापूर्व ४५५ मा राज्यपाल नहेम्याहले यरुसलेमको पर्खाल पुनर्निर्माण गर्न सकाए। त्यसपछि तिनले सहरको रेखदेख गर्न सक्ने भरपर्दा मानिसहरूको खोजी गर्न थाले। नहेम्याहले अरू मानिससँगै किल्लाका नाइके हानन्याहलाई पनि रोजे। बाइबलमा “हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्‍ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्‍वरको भय धेरै मान्थे” भनेर बताइएको छ। (नहे. ७:२) यहोवाप्रतिको प्रेम र भयले गर्दा हानन्याह आफूले पाएको जुनसुकै काम गम्भीरतासाथ पूरा गर्थे। यस्ता गुणहरूले हामीलाई पनि परमेश्‍वरको सेवामा भरोसायोग्य हुन मदत गर्नेछ।

६. टाइकिकस प्रेषित पावलका भरोसायोग्य साथी थिए भनेर किन भन्‍न सक्छौँ?

६ प्रेषित पावलका एक जना भरोसायोग्य साथी टाइकिकसको उदाहरण विचार गरौँ। पावलले टाइकिकसलाई “वफादार सेवक” भने र आफू नजरबन्दमा छँदा उनलाई केही जिम्मेवारी सुम्पे। (एफि. ६:२१, २२) पावलले टाइकिकसलाई भरोसा गरेकोले उनलाई एफिसस र कलस्सीका भाइहरूकहाँ चिठी पुऱ्‍याउने मात्र होइन, तिनीहरूलाई प्रोत्साहन र सान्त्वना दिने जिम्मेवारी पनि सुम्पे। टाइकिकसले जस्तै आज पनि वफादार र भरोसायोग्य भाइहरूले हाम्रो आध्यात्मिक आवश्‍यकताको ख्याल राखिरहेका छन्‌।—कल. ४:७-९.

७. भरोसायोग्य हुने सन्दर्भमा एल्डरहरू र सहायक सेवकहरूबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

७ हामी भरोसायोग्य एल्डरहरू र सहायक सेवकहरूप्रति मनैदेखि कृतज्ञ छौँ। दानिएल, हानन्याह र टाइकिकसजस्तै तिनीहरू आफ्नो जिम्मेवारीलाई गम्भीरतासाथ लिन्छन्‌। उदाहरणको लागि, मध्यहप्ताको सभामा कुन भाग कसलाई दिने भनेर पहिल्यै खटाइएको हुन्छ; त्यसैले कुनै भाग खटाउन छुट्यो कि भनेर हामीले चिन्ता गर्नुपर्दैन। अनि भाइबहिनीले आफ्नो भाग राम्ररी तयारी गरेर प्रस्तुत गर्दा एल्डरहरू कृतज्ञ हुन्छन्‌। साथै सप्ताहन्तको सभामा जनभाषणको वक्‍ताले तयारी गर्न बिर्सने हुन्‌ कि भनेर हामी चिन्ता गर्दैनौँ। हामी ढुक्क भएर बाइबल विद्यार्थीहरूलाई सभाको निम्तो दिन्छौँ। अनि साक्षीकार्यको लागि चाहिने प्रकाशनहरू उपलब्ध होला कि नहोला भनेर हामी चिन्ता गर्दैनौँ। यी विश्‍वासिला भाइहरूले हाम्रो राम्ररी ख्याल राख्दै छन्‌। यस्ता भाइहरू दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ। त्यसोभए हामी आफूलाई कुन-कुन तरिकामा भरोसायोग्य साबित गर्न सक्छौँ?

गोपनीयता कायम राखेर भरोसायोग्य हुनुहोस्‌

८. अरूमा चासो राख्ने सन्दर्भमा हामी किन सन्तुलित हुनुपर्छ? (हितोपदेश ११:१३)

८ हामी भाइबहिनीलाई प्रेम गर्छौँ र तिनीहरूमा गहिरो चासो राख्छौँ। तर हामी सन्तुलित हुनुपर्छ र तिनीहरू कुनै कुरा गोप्य राख्न चाहन्छन्‌ भने त्यसको कदर गर्नुपर्छ। प्रथम शताब्दीका केही ख्रिष्टियन “कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने र बोल्न नहुने कुरा बोल्ने” गर्थे। (१ तिमो. ५:१३) हामी पक्कै पनि तिनीहरूजस्तो हुन चाहँदैनौँ। कसैले हामीलाई आफ्नो व्यक्‍तिगत कुरा बताउँछन्‌ र त्यो कुरा गोप्य राख्न आग्रह गर्न सक्छन्‌। जस्तै, कुनै बहिनीले तपाईँलाई आफ्नो स्वास्थ्य समस्या वा आफूले सामना गरिरहेको परीक्षाबारे बताउन सक्छिन्‌ र त्यो कुरा अरूलाई नबताउन आग्रह गर्न सक्छिन्‌। हामीले तिनको इच्छाको कदर गर्नुपर्छ।b (हितोपदेश ११:१३ पढ्‌नुहोस्‌।) हामीले गोपनीयता कायम राख्नुपर्ने अरू केही क्षेत्रबारे विचार गरौँ।

९. परिवारका सदस्यहरूले आफू भरोसायोग्य भएको कसरी देखाउन सक्छन्‌?

९ परिवारमा। परिवारको संवेदनशील कुरा गोप्य राख्ने जिम्मेवारी परिवारको प्रत्येक सदस्यको हो। उदाहरणको लागि, पतिलाई आफ्नो पत्नीको कुनै बानी हाँसउठ्‌दो लाग्छ होला। के तिनले यसबारे अरूलाई बताएर उनलाई लाजमा पार्नु हुन्छ? पक्कै हुँदैन। तिनी आफ्नी पत्नीलाई माया गर्छन्‌ र तिनी कहिल्यै पनि आफ्नो पत्नीको चित्त दुखाउन चाहँदैनन्‌। (एफि. ५:३३) छोराछोरी हुर्कँदै गएपछि आफूलाई आदर गरिएको चाहन्छन्‌ र आमाबुबाले यो कुरा बुझ्नुपर्छ। आमाबुबाले तिनीहरूको गल्तीबारे अरूलाई बताएर तिनीहरूलाई अप्ठ्यारोमा पार्नु हुँदैन। (कल. ३:२१) छोराछोरीले पनि विवेकी हुन सिक्नुपर्छ र परिवारको सदस्यलाई लाजमा पार्ने किसिमको कुरा अरूलाई बताउनु हुँदैन। (व्यव. ५:१६) प्रत्येक सदस्यले आफ्नो परिवारको संवेदनशील कुराहरू अरूलाई नबताउँदा पारिवारिक सम्बन्ध अझ बलियो हुन्छ।

१०. साँचो मित्र कस्तो हुन्छ? (हितोपदेश १७:१७)

१० मित्रतामा। कहिलेकाहीँ हामीलाई आफ्नो मनको कुरा मिल्ने साथीलाई बताऊँ जस्तो लाग्न सक्छ। तर आफ्नो भावना मनमै गुम्साएर राख्ने बानी छ भने हामीलाई त्यसो गर्न गाह्रो लाग्न सक्छ। अनि आफूले भरोसा गरेको साथीले त्यो कुरा अरूलाई बताइदिएको थाह पायौँ भने हाम्रो असाध्यै चित्त दुख्न सक्छ। अर्कोतर्फ हाम्रो कुरा गोप्य राख्न सक्ने साथी पाउनु साँच्चै ठूलो आशिष्‌को कुरा हो। वास्तवमा यस्तो साथी नै “साँचो मित्र” हो।—हितोपदेश १७:१७ पढ्‌नुहोस्‌।

तस्बिरहरूको सँगालो: १. दुई जना एल्डर एक बहिनीसित तिनको घरमा कुरा गर्दै छन्‌। २. पछि ती दुई एल्डरमध्ये एक जना आफ्नो सानी छोरीलाई बाइबलको कथा पढेर सुनाउँदै छन्‌ र तिनकी श्रीमती तिनीहरूको लागि खाजा ल्याउँदै छिन्‌।

एल्डरहरू आफ्नो परिवारका सदस्यहरूलाई गोप्य कुरा बताउँदैनन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)c

११. (क) एल्डरहरू र तिनका पत्नीहरूले आफू भरोसायोग्य भएको कसरी देखाउँछन्‌? (ख) मण्डलीको गोप्य मामिला परिवारलाई नबताएका एल्डरबाट कस्तो पाठ सिक्न सक्छौँ? (तस्बिर हेर्नुहोस्‌।)

११ मण्डलीमा। अरूको कुरा गोप्य राख्ने एल्डरहरू “हुरीबतास चल्दा लुक्ने ठाउँ अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ”-जस्तै हुन्‌। (यसै. ३२:२) हामी ती एल्डरहरूसित खुलेर कुरा गर्न सक्छौँ किनभने तिनीहरूले हाम्रो कुरा गोप्य राख्नेछन्‌ भन्‍ने कुरामा हामी ढुक्क छौँ। अर्कोतर्फ हामी तिनीहरूलाई गोप्य राख्नुपर्ने कुरा बताउन कर पनि गर्दैनौँ। साथै हामी एल्डरहरूका पत्नीहरूप्रति पनि आभारी छौँ। किनभने तिनीहरू आफ्नो पतिको मुखबाट गोप्य कुरा फुत्काउन खोज्दैनन्‌। एल्डरहरूले आफ्नी पत्नीलाई गोप्य कुरा नबताउनु किन राम्रो हो? एक एल्डरकी पत्नी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ले गोठालो भेट गरेको वा आध्यात्मिक मदत चाहिएको भाइबहिनीबारे मलाई केही पनि बताउनुहुन्‍न, तिनीहरूको नामसमेत बताउनुहुन्‍न। यसको लागि म उहाँप्रति आभारी छु। किनभने म अनावश्‍यक बोझ बोक्नदेखि जोगिएकी छु र मण्डलीका सबैसित अप्ठ्यारो नमानी कुरा गर्न सक्छु। अनि मैले आफ्नो भावना वा चिन्ता लागेको कुरा श्रीमान्‌लाई बताएँ भने उहाँले त्यसलाई गोप्य राख्नुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु।” हो, हामी सबै जना भरोसायोग्य व्यक्‍तिको रूपमा चिनिन चाहन्छौँ। त्यो लक्ष्य हासिल गर्न हामीलाई कस्ता गुणहरूले मदत गर्छ? आउनुहोस्‌, तीमध्ये पाँच वटा विचार गरौँ।

भरोसायोग्य हुन मदत गर्ने गुणहरू विकास गर्नुहोस्‌

१२. भरोसाको जग प्रेम हो भनेर किन भन्‍न सक्छौँ?

१२ भरोसाको जग प्रेम हो। येसुले दुई वटा सबैभन्दा ठूलो आज्ञा यहोवा र छिमेकीलाई प्रेम गर्नु हो भन्‍नुभयो। (मत्ति २२:३७-३९) यहोवाप्रतिको प्रेमले हामीलाई उहाँको अनुकरण गर्दै भरोसायोग्य हुन उत्प्रेरित गर्छ। जस्तै, भाइबहिनीलाई प्रेम गर्ने भएकोले हामी तिनीहरूको गोप्य कुरा अरूलाई बताउँदैनौँ। हामी तिनीहरूलाई हानि पुऱ्‍याउन सक्ने, अप्ठ्यारोमा पार्न सक्ने वा चोट पुऱ्‍याउन सक्ने कुनै पनि कुरा अरूलाई बताउन चाहँदैनौँ।—युह. १५:१२.

१३. नम्रताले हामीलाई भरोसायोग्य हुन कसरी मदत गर्छ?

१३ नम्रताले भरोसायोग्य हुन मदत गर्छ। नम्र ख्रिष्टियनले कुनै गोप्य कुरा थाह पाउने पहिलो व्यक्‍ति म नै हुँ भनेर धाक लगाउन खोज्दैन। (फिलि. २:३) उसले अरूले थाह पाउन नहुने गोप्य कुरा आफूलाई थाह छ भन्‍ने छनक दिँदै आफ्नो महत्त्व बढाउन पनि खोज्दैन। साथै ऊ बाइबल वा बाइबलआधारित प्रकाशनहरूमा छलफल नगरिएका विषयहरूमा आफ्नो व्यक्‍तिगत धारणा बताउँदै हिँड्‌दैन।

१४. समझशक्‍तिले हामीलाई भरोसायोग्य हुन कसरी मदत गर्छ?

१४ समझशक्‍तिले कुनै ख्रिष्टियनलाई “चुप लाग्ने एउटा समय छ” र “बोल्ने एउटा समय” छ भनेर बुझ्न मदत गर्छ। (उप. ३:७) कुनै-कुनै संस्कृतिमा यस्तो भनाइ छ: “बोली चाँदी हो तर मौनता सुन हो।” भनाइको मतलब कहिलेकाहीँ बोल्नुभन्दा चुप लाग्नु नै बेस हुन्छ। हितोपदेश ११:१२ ले पनि यस्तो सल्लाह दिन्छ: “मूर्ख मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ तर समझदार मानिस चुप लागेर बस्छ।” एउटा अनुभव विचार गरौँ। एक जना अनुभवी एल्डरलाई कहिलेकाहीँ अरू मण्डलीको गाह्रो मामिलाहरूमा मदत गर्न आग्रह गरिन्छ। तिनीबारे अर्को एल्डरले यसो भने: “उहाँ अन्य मण्डलीको संवेदनशील जानकारी अरूलाई बताउनदेखि सधैँ होसियार हुनुहुन्छ।” ती एल्डर समझदार भएकोले तिनले आफ्नो मण्डलीका एल्डरहरूबाट आदर कमाएका छन्‌। ती एल्डरले तिनीहरूको गोप्य कुरा अरूलाई बताउनेछैनन्‌ भन्‍ने कुरामा तिनीहरू ढुक्क छन्‌।

१५. इमानदार हुँदा अरूको भरोसा जित्न सकिन्छ भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्‌।

१५ भरोसायोग्य हुन मदत गर्ने अर्को गुण इमानदारी हो। हामी इमानदार व्यक्‍तिलाई भरोसा गर्छौँ किनकि तिनी सधैँ साँचो बोल्छन्‌ भनेर हामीलाई थाह छ। (एफि. ४:२५; हिब्रू १३:१८) मानौँ, तपाईँ शिक्षणकला तिखार्न चाहनुहुन्छ। त्यसैले तपाईँ कसैलाई आफ्नो भाषण सुनिदिन र उन्‍नतिको लागि मदतकारी सुझाव दिन आग्रह गर्नुहुन्छ। तपाईँ कस्तो व्यक्‍तिलाई त्यस्तो आग्रह गर्नुहुन्छ? तपाईँले सुन्‍न चाहेको कुरा मात्र बताउने व्यक्‍तिलाई कि इमानदार भएर जे हो त्यही बताउने व्यक्‍तिलाई? जवाफ स्पष्टै छ। बाइबल भन्छ: “मनमा लुकाएर राखेको मायाभन्दा सबैले देख्नेगरि पाएको सुधार बेस। साथीबाट पाएका चोटहरू विश्‍वासयोग्य हुन्छन्‌ तर शत्रुका चुम्बनहरू धेरै हुन्छन्‌।” (हितो. २७:५, ६) साथीले इमानदार भएर कुनै सल्लाह दिँदा सुरुमा त तपाईँलाई त्यो कुरा स्विकार्न गाह्रो लाग्छ होला। तर पछि गएर त्यसले तपाईँलाई नै लाभ पुऱ्‍याउँछ।

१६. हितोपदेश १०:१९ ले आत्मसंयम कायम राख्नुको महत्त्वलाई कसरी जोड दिएको छ?

१६ अरूको भरोसा जित्न नभई नहुने अर्को गुण आत्मसंयम हो। यस गुणले हामीलाई गोप्य कुरा अरूलाई बताउन सकसक लाग्दा आफ्नो जिब्रोमा लगाम लगाउन मदत गर्छ। (हितोपदेश १०:१९ पढ्‌नुहोस्‌।) सामाजिक सञ्जाल प्रयोग गर्दा हामीलाई आत्मसंयम कायम राख्न गाह्रो हुन सक्छ। होसियार भएनौँ भने हामीले अनजानमै गोप्य कुरा धेरै मानिससामु प्रकट गरिरहेका हुन्छौँ। एकचोटि त्यस्तो कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यस जानकारीलाई कुन तरिकामा प्रयोग गरिन्छ र त्यसले कुन हदसम्म हानि पुऱ्‍याउँछ भन्‍ने कुरामा हाम्रो कुनै नियन्त्रण हुँदैन। विरोधीहरूले हाम्रो मुखबाट भाइबहिनीको ज्यान खतरामा पार्ने गोप्य कुरा निकाल्न खोज्दा आत्मसंयमले चुप रहन मदत गर्छ। विशेषगरि, हाम्रो काममा प्रतिबन्ध लगाइएका वा कडिकडाउ गरिएका देशहरूमा प्रहरीले केरकार गर्दा आत्मसंयम भन्‍ने गुण अझै खाँचो पर्छ। यी तथा अन्य अवस्थाहरूमा हामी ‘आफ्नो मुखमा मोहोलो लगाऊ’ भन्‍ने बाइबलको सिद्धान्त लागू गर्न सक्छौँ। (भज. ३९:१) परिवार, साथी, भाइबहिनी वा अरू जोसुकैसित व्यवहार गर्दा हामी भरोसायोग्य हुनुपर्छ। अनि भरोसायोग्य हुन आत्मसंयम चाहिन्छ।

१७. हामी कसरी भाइबहिनीबीचको भरोसा कायम राख्न सक्छौँ?

१७ यहोवाले मायालु अनि भरोसायोग्य भाइबहिनी दिनुभएकोमा हामी उहाँप्रति धेरै आभारी छौँ। हामी सबैले भाइबहिनीको भरोसा जित्ने प्रयास गर्नुपर्छ। हामी प्रत्येकले प्रेम, नम्रता, समझशक्‍ति, इमानदारी र आत्मसंयम देखाउन कोसिस गऱ्‍यौँ भने भाइबहिनीबीचको भरोसा कायम रहनेछ। हामीले आफू भरोसायोग्य हुन कोसिस गरिरहनुपर्छ। यहोवा परमेश्‍वरको अनुकरण गर्दै आफूलाई भरोसायोग्य साबित गरिरहौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • आफूलाई भरोसायोग्य साबित गरेका बाइबल पात्रहरूबाट हामी के सिक्न सक्छौँ?

  • आफू भरोसायोग्य भएको कुरा कस्ता अवस्थाहरूमा देखाउन सक्छौँ?

  • भरोसायोग्य हुन हामीलाई कस्ता गुणहरूले मदत गर्छ?

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

a अरूले हामीलाई भरोसा गरेको चाहन्छौँ भने हामीले आफूलाई भरोसायोग्य साबित गर्नुपर्छ। यस लेखमा एकअर्कालाई भरोसा गर्नु किन महत्त्वपूर्ण छ र अरूको भरोसा जित्न कस्ता गुणहरूले मदत गर्छ भन्‍ने विषयमा छलफल गर्नेछौँ।

b मण्डलीको कसैले गम्भीर गल्ती गरेको थाह पायौँ भने हामीले तिनलाई एल्डरहरूको मदत माग्न प्रोत्साहन दिनुपर्छ। तिनले त्यसो गरेनन्‌ भने हामीले नै त्यो कुरा एल्डरहरूलाई बताउनुपर्छ किनभने हामी यहोवा र मण्डलीप्रति वफादार हुन चाहन्छौँ।

c तस्बिरको व्याख्या: मण्डलीको गोप्य मामिला सम्हालेका एल्डरले त्यसबारे आफ्नो परिवारलाई केही कुरा बताउँदैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने