प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ५/१ pp. १८-२२
  • एकअर्कालाई सुदृढ पार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कालाई सुदृढ पार्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “सुदृढ पार्ने”
  • पावललाई किन “सुदृढ पार्ने” मानिसहरू चाहियो
  • “सुदृढ पार्ने” मानिस कसरी हुने
  • मण्डलीले कसरी मदत गर्न सक्छ
  • यहोवा —सुदृढ पार्ने सर्वोत्तम स्रोत
  • अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मसीही मण्डली बलको स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ५/१ pp. १८-२२

एकअर्कालाई सुदृढ पार्नुहोस्‌

“मलाई सान्त्वना दिने [“सुदृढ पार्ने,” Nw] मानिसहरू, यिनीहरू मात्र हुन्‌।”—कलस्सी ४:११.

१, २. खतराको बावजुद पावलका मित्रहरू किन तिनलाई झ्यालखानामा भेट्‌न गए?

झ्यालखानामा शासना भोगिरहेका व्यक्‍तिको मित्र हुनु खतरनाक हुन सक्छ—चाहे तपाईंको मित्र विनाकसुर झ्यालखानामा परिरहेको नै किन नहोस्‌। झ्यालखानाका अधिकारीहरूले तपाईंलाई शङ्‌कालु दृष्टिकोणले हेर्न सक्छन्‌, तपाईंले कुनै अपराध नगरोस्‌ भनेर तपाईंको हरेक कदममाथि निगरानी राख्न सक्छन्‌। त्यसैले तपाईंको मित्रसित नियमित सम्पर्क राख्न र तिनलाई झ्यालखानामा भेट्‌न साहस चाहिन्छ।

२  लगभग १,९०० वर्षअघि प्रेरित पावलका केही मित्रहरूले ठीक त्यस्तै गरे। तिनीहरू झ्यालखानामा थुनिएका पावललाई भेटेर तिनलाई चाहिएको सान्त्वना र प्रोत्साहन दिन तथा आध्यात्मिक तवरमा सुदृढ पार्न हिचकिचाएनन्‌। ती वफादार मित्रहरू को थिए? अनि हामी तिनीहरूको साहस, वफादारी र मित्रताबाट के सिक्न सक्छौं?—हितोपदेश १७:१७.

“सुदृढ पार्ने”

३, ४. (क) पावलका पाँच जना मित्र को-को हुन्‌ र तिनीहरू पावलका लागि के भए? (ख) “सुदृढ पार्ने” भनेको के हो?

३ आउनुहोस्‌, हामी सा.यु. ६० तिरको समयमा फर्कौं। राजद्रोहको झूटो अभियोगमा प्रेरित पावल रोमको झ्यालखानामा छन्‌। (प्रेरित २४:५; २५:११, १२) तिनलाई साथ दिने पाँच जना मसीहीको नाउँ पावल यसरी तोकेरै उल्लेख गर्छन्‌: एसियाबाट आएका तिनको व्यक्‍तिगत दूत र “प्रभुमा सँगीदास” टाइकिकस; कलस्सीबाट आएका “विश्‍वासी र प्रिय भाइ” ओनेसिमस; थिस्सलोनिकाबाट आएका म्यासिडोनियाली र कुनै समय पावलसित रहेका “सँगी-कैदी” अरिस्तार्खस; पावलको मिसनरी सहयात्री बर्णाबासको भाइ पर्ने र आफ्नै नाउँमा सुसमाचारको एउटा पुस्तकका लेखक मर्कूस; अनि “परमेश्‍वरको राज्यको निम्ति” प्रेरित पावलका सहकर्मी जस्तस। यी पाँच जनाबारे पावल यसो भन्छन्‌: “मलाई सान्त्वना दिने [“सुदृढ पार्ने,” NW] मानिसहरू, यिनीहरू मात्र हुन्‌।”—कलस्सी ४:७-११.

४ आफ्ना वफादार मित्रहरूले पुऱ्‍याएको मदतबारे पावलले जोडदार वर्णन गरे। तिनले “सुदृढ पार्ने” भनेर अनुवाद गरिएको युनानी शब्द ( पारेगोरिया) चलाए र यो युनानी शब्द बाइबलको यही पदमा मात्र प्रयोग गरिएको छ। यस शब्दका थुप्रै अर्थहरू छन्‌ र प्रायजसो औषधीको सन्दर्भमा यसको प्रयोग गरिन्थ्यो।a यसलाई ‘दुःखमा शान्ति दिने, मुक्‍ति, सान्त्वना वा छुटकारा’ भनेर अनुवाद गर्न सकिन्छ। पावल यसरी नै सुदृढ हुनुपरेको थियो र ती पाँच जना पुरुषले त्यस्तै मदत दिए।

पावललाई किन “सुदृढ पार्ने” मानिसहरू चाहियो

५. प्रेरित भए तापनि पावललाई के चाहियो अनि हामी सबैलाई समय-समयमा के चाहिन्छ?

५ पावल, जो एक जना प्रेरित थिए, तिनलाई सुदृढ पार्नुपरेको थियो भनेर थाह पाउँदा कसै-कसैलाई छक्क लाग्न सक्छ। तर तिनलाई सुदृढ पार्नुपरेको थियो। हुन त हो, पावलसित बलियो विश्‍वास थियो अनि तिनले निकै शारीरिक दुर्व्यवहार, ‘अनगिन्ती कोर्राबाजी,’ ‘बारम्बार मृत्युको’ मुखमा परेर र अन्य किसिमका पीडाहरू भोगिसकेका थिए। (२ कोरिन्थी ११:२३-२७) तैपनि, तिनी मानिस नै थिए अनि सबै मानिसलाई कुनै न कुनै बेला सान्त्वना चाहिन्छ र अरूको मदतले आफ्नो विश्‍वास बलियो बनाउनुपर्ने हुन्छ। येशूको सन्दर्भमा पनि यस्तै भयो। उहाँको अन्तिम रात, गेतसमनीमा स्वर्गबाट एउटा दूत देखापरे र “उहाँलाई सामर्थ्य” दिए अर्थात्‌ सुदृढ पारे।—लूका २२:४३.

६, ७. (क) रोममा पावललाई कसले निराश तुल्यायो अनि तिनलाई कसले प्रोत्साहन दिए? (ख) पावलका मसीही भाइहरूले तिनलाई रोममा कस्तो सेवा पुऱ्‍याए र “सुदृढ पार्ने” मानिसहरू साबित भए?

६ पावललाई पनि सुदृढ पार्ने बल चाहियो। तिनी रोममा कैदीको रूपमा आउँदा तिनलाई आफ्नै जातिले न्यानो स्वागत गरेनन्‌। यी यहूदीहरूमध्ये अधिकांशले राज्यसन्देश ग्रहण गरेनन्‌। यहूदीहरूका प्रमुख मानिसहरूले पावल थुनिएको ठाउँमा भेट्‌न आएपछिको घटनाबारे प्रेरितको पुस्तकमा यस्तो विवरण दिइएको छ: “कतिले सो बोलेका कुरा विश्‍वास गरे, औ कतिले गरेनन्‌। उनीहरूका बीचमा कुराकानी नमिलेका हुनाले, . . . उनीहरू बिदा भए।” (प्रेरित २८:१७, २४, २५) यहोवाको अनुग्रहप्रति मूल्याङ्‌कनको कमी देख्दा पावल कत्ति विचलित भए होलान्‌! यस सन्दर्भमा तिनका तीव्र भावनाहरू तिनले रोमको मण्डलीलाई केही वर्ष अघि लेखेको पत्रमा प्रस्ट थियो: “मलाई ठूलो अफसोस छ, र मेरो हृदयमा असह्‍य पीड़ा छ। किनभने मेरा भाइहरू [यहूदीहरू], अर्थात्‌ शरीरअनुसारका कुटुम्बहरूका खातिर ख्रीष्टबाट म आफै श्रापित थोक भएको भए पनि हुनेथियो!” (रोमी ९:२, ३) तैपनि, रोममा तिनले वफादार र साँचो मित्रहरू भेट्टाए जसको साहस र स्नेहले तिनको हृदय शान्त पाऱ्‍यो। उनीहरू तिनका साँचो आध्यात्मिक भाइहरू थिए।

७ ती पाँच जना भाइ कसरी सुदृढ पार्ने मानिसहरू साबित भए? झ्यालखानामा थुनिदैमा तिनीहरू पावलदेखि टाढिन खोजेनन्‌। बरु, तिनीहरूले इच्छुकतासाथ र मायालुपूर्वक पावललाई व्यक्‍तिगत सेवाहरू पुऱ्‍याए अनि थुनामा परेको हुँदा पावल आफैले गर्न नसक्ने कामहरू समेत गरिदिए। उदाहरणका लागि, तिनीहरूले सन्देशवाहकको रूपमा काम गरे अनि पावलका पत्र तथा मौखिक निर्देशनहरू विभिन्‍न मण्डलीहरूसम्म पुऱ्‍याइदिए; तिनीहरूले रोम र अरू ठाउँमा भएका भाइहरूको गतिविधिबारे प्रोत्साहनजनक रिपोर्टहरू ल्याए। तिनीहरूले सम्भवतः हिउँदको लुगा, चर्मपत्र र लेख्ने सामानहरू ल्याइदिए। (एफिसी ६:२१, २२; २ तिमोथी ४:११-१३) यी सबै मदतकारी कार्यहरूले थुनामा परेका प्रेरितलाई सुदृढ पाऱ्‍यो र प्रोत्साहन दियो जसको फलस्वरूप पावल, अरूहरू लगायत सम्पूर्ण मण्डलीलाई “सुदृढ पार्ने” मानिस भए।—रोमी १:११, १२.

“सुदृढ पार्ने” मानिस कसरी हुने

८. पावलले आफूलाई “सुदृढ” पार्नुपरेको कुरा नम्र भई स्वीकारेको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

८ पावल र तिनका पाँच जना सहकर्मीबारे यो विवरणबाट हामी के सिक्न सक्छौं? हामी विशेष गरी एउटा पाठलाई हेरौं: अरूहरूले कठिनाइ भोगिहेको बेला तिनीहरूलाई सहयोग गर्न साहस र आत्मत्याग चाहिन्छ। साथै, हामी आफै सङ्‌कटमा पर्दा मदतको खाँचो पर्न सक्छ भनी स्वीकार्न विनम्रता चाहिन्छ। पावलले आफूलाई मदत चाहियो भनेर मानिलिएका मात्र होइनन्‌ तर दयालु ढङ्‌गमा त्यो मदत स्वीकारे अनि त्यस्तो मदत दिनेहरूको सराहना गरे। तिनले अरूबाट मदत स्वीकार्नु भनेको कमजोरी वा अपमानको चिह्न ठानेनन्‌ अनि हामीले पनि त्यस्तो ठान्‍नु हुँदैन। हामीलाई कहिल्यै अरूले सुदृढ पार्नु पर्दैन भन्ठान्‍नु त हामी असाधारण मानिस हौं भनिरहेको बराबर हुनेछ। नबिर्सनुहोस्‌, सिद्ध मानिसले पनि कहिलेकाहीं मदतको लागि पुकार्नुपर्ने हुन सक्छ भनी येशूको उदाहरणले देखाउँछ।—हिब्रू ५:७.

९, १०. कुनै व्यक्‍तिले आफूलाई मदत चाहिएको कुरा मानिलिंदा कस्तो राम्रो परिणाम हुन सक्छ अनि यसले परिवार तथा मण्डलीका अन्य सदस्यहरूमा कस्तो असर पार्न सक्छ?

९ जिम्मेवार ओहदामा भएका व्यक्‍तिहरूले आफ्ना सीमितताहरू छन्‌ अनि आफूलाई पनि अरूको सहयोग चाहिन्छ भनेर मानिलिंदा राम्रो परिणाम आउन सक्छ। (याकूब ३:२) त्यसरी मानिलिंदा अख्तियारवाला र अख्तियारको अधीनमा बस्नेहरूबीचको बन्धन बलियो हुन्छ अनि यसले न्यानो तथा खुलस्त कुराकानीलाई बढाउँछ। मदत स्वीकार्न इच्छुक व्यक्‍तिहरूको नम्रताले त्यस्तै अवस्थामा परेका अरू व्यक्‍तिहरूको लागि व्यावहारिक उदाहरण प्रदान गर्छ। यसले नेतृत्व लिने व्यक्‍तिहरू पनि मानिसै हुन्‌ र तिनीहरूसित कुरा गर्न सजिलो छ भनेर देखाउँछ।—उपदेशक ७:२०.

१० उदाहरणका लागि, आमाबाबुले आफू केटाकेटी छँदा अहिले छोराछोरीले सामना गर्ने जस्तै समस्याहरू भोगेका थिए भनेर तिनीहरूले थाह पाएको खण्डमा समस्या वा प्रलोभनहरू आइपर्दा छोराछोरीलाई आमाबाबुको मदत स्वीकार्न सजिलो हुन सक्छ। (कलस्सी ३:२१) यसरी आमाबाबु र बच्चाबीचको सञ्चार खुला गर्न सकिन्छ। धर्मशास्त्रीय समाधानहरू अझ प्रभावकारी ढङ्‌गमा बताउन सकिन्छ अनि ती स्वीकार्न सजिलो हुन्छ। (एफिसी ६:४) त्यसरी नै, प्राचीनहरूले पनि समस्या, डर र अन्योल सामना गरिरहेका छन्‌ भनेर थाह हुँदा मण्डलीका सदस्यहरू प्राचीनहरूको सल्लाह स्वीकार्न अझ तयार हुन्छन्‌। (रोमी १२:३; १ पत्रुस ५:३) अनि राम्रो कुराकानी हुन्छ, धर्मशास्त्रीय सल्लाह दिन सजिलो हुन्छ र यसले गर्दा विश्‍वास सुदृढ हुन सक्छ। नबिर्सनुहोस्‌, हाम्रा भाइहरूलाई सुदृढ पार्नुपर्ने खाँचो अहिले जति पहिला कहिल्यै भएको थिएन।—२ तिमोथी ३:१.

११. आज किन थुप्रैलाई “सुदृढ” पार्नुपरेको छ?

११ हामी जहाँसुकै बसौं, जोसुकै वा जुनसुकै उमेरका होऔं, हामी सबैले कहिलेकाहीं जीवनमा तनाव महसुस गर्नेछौं। यो आजको संसारको एउटा भाग हो। (प्रकाश १२:१२) त्यस्तो शारीरिक वा भावनात्मक तवरमा कठिन परिस्थितिले हाम्रो विश्‍वासको गुणस्तरको जाँच गर्न सक्छ। काम गर्ने ठाउँमा, स्कूलमा, परिवारमा वा मण्डलीमा चुनौतीपूर्ण परिस्थिति उत्पन्‍न हुन सक्छ। यसको कारण गम्भीर बिरामी वा विगतको पीडा हुन सक्छ। विवाहित जोडी, प्राचीन वा साथीले मायालुपुर्वक मीठो शब्द र मदतकारी काम गरेर प्रोत्साहन दिंदा कत्ति सञ्चो महसुस हुन सक्छ! यो त छालामा जलन हुँदा मलम लगाएजस्तै हुनेछ! यसर्थ, आफ्नो एक जना भाइ त्यस्तो अवस्थामा देख्नुभयो भने तिनलाई सुदृढ पार्ने व्यक्‍ति बन्‍नुहोस्‌। अथवा कुनै एउटा खास समस्याले तपाईंलाई पिरोलिरहेको छ भने आध्यात्मिक तवरमा परिपक्व व्यक्‍तिहरूसित मदत माग्नुहोस्‌।—याकूब ५:१४, १५.

मण्डलीले कसरी मदत गर्न सक्छ

१२. मण्डलीका प्रत्येक सदस्यले आफ्ना भाइहरूलाई सुदृढ पार्न के गर्न सक्छन्‌?

१२ मण्डलीका ससाना सदस्यहरू लगायत सबैले एकअर्कालाई सुदृढ पार्न केही गर्न सक्छन्‌। एउटा कुरा, सभा तथा क्षेत्र सेवकाईमा नियमित हुँदा अरूको विश्‍वास सुदृढ पार्न निकै मदत पुग्छ। (हिब्रू १०:२४, २५) तपाईं पवित्र सेवामा लागिरहनु भनेको यहोवाप्रति तपाईंको वफादारीको प्रमाण हो र आफूले सामना गर्नुपर्ने कठिनाइहरूको बावजुद तपाईं आध्यात्मिक तवरमा जागा हुनुहुन्छ भनेर यसले देखाउँछ। (एफिसी ६:१८) त्यस्तो निरन्तरताले अरूलाई सुदृढ पार्न सक्छ।—याकूब २:१८.

१३. कोही-कोही निष्क्रिय हुनुको कारण के हुन सक्छ अनि तिनीहरूलाई मदत दिन के गर्न सकिन्छ?

१३ कहिलेकाहीं, जीवनको दबाब वा अन्य कठिनाइहरूले गर्दा कोही-कोही सुस्त वा क्षेत्र सेवकाईमा निष्क्रिय हुन सक्छन्‌। (मर्कूस ४:१८, १९) हामीले मण्डलीका सभाहरूमा निष्क्रिय व्यक्‍तिहरूलाई त नदेखौंला। तर तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरप्रतिको प्रेम अझै छोडेका छैनन्‌ होला। तिनीहरूको विश्‍वासलाई सुदृढ पार्न के गर्न सकिन्छ? प्राचीनहरूले तिनीहरूलाई भेट्‌न गएर मायालु सहयोग दिन सक्छन्‌। (प्रेरित २०:३५) सहयोग दिनको लागि मण्डलीका अरू सदस्यहरूलाई पनि भन्‍न सकिन्छ। त्यस्तो मायालु भेटघाट विश्‍वासमा कमजोर भएकाहरूलाई पुनः जागृत गर्न चाहिएकै औषधी हुन सक्छ।

१४, १५. अरूलाई सुदृढ पार्ने सन्दर्भमा पावल कस्तो सल्लाह दिन्छन्‌? यो सल्लाह लागू गरेको एउटा मण्डलीको उदाहरण दिनुहोस्‌।

१४ बाइबलले हामीलाई ‘हरेस खानेलाई दिलाशा दिन, कमजोरहरूलाई मदत गर्न’ आग्रह गर्छ। (१ थिस्सलोनिकी ५:१४) सायद ती “हरेश खाने” व्यक्‍तिहरूलाई तिनीहरूको साहस घट्‌दै गएको अनि अरू कसैको सहाराविना अवरोधहरू पार लाउन नसक्ने जस्तो लागिरहेको हुन सक्छ। के तपाईं त्यस्ताहरूलाई सहारा दिन सक्नुहुन्छ? “कमजोरीहरूलाई मदत गर” भन्‍ने अभिव्यक्‍ति कमजोरीहरूलाई “दह्रो गरी पक्रिराख” वा तिनीहरूसित “टाँसिराख” भनेर अनुवाद गरिएको छ। यहोवाले आफ्ना सबै भेडाको कदर र प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरूलाई कम महत्त्वको ठान्‍नुहुन्‍न अनि कोही पनि तर्किएको चाहनुहुन्‍न। के तपाईं आध्यात्मिक तवरमा कमजोरहरू फेरि बलियो नहोउन्जेल “दह्रो गरी पक्री” राखेर मण्डलीलाई मदत गर्न सक्नुहुन्छ?—हिब्रू २:१.

१५ निष्क्रिय भएको छ वर्ष भइसकेको विवाहित दम्पतीलाई एक जना प्राचीन भेट्‌न गए। ती प्राचीन लेख्छन्‌: “तिनीहरूप्रति सम्पूर्ण मण्डलीले देखाएको दया र मायालु चासोले यत्ति ठूलो असर पाऱ्‍यो कि तिनीहरू बगालमा पुनः फर्कन उत्प्रेरित भए।” कुनै समय निष्क्रिय भएकी बहिनीले मण्डलीका सदस्यहरू भेट्‌न आउँदा कस्तो महसुस गरिन्‌? तिनी अहिले यसो भन्छिन्‌: “हामीलाई पुनः सक्रिय हुन मदत गरेको कुरा के हो भने, हामीलाई भेट्‌न आउने भाइ तथा तिनीहरूसँगै आउने बहिनीहरूले हामीलाई दोषी ठहराउने वा आलोचनात्मक मनोवृत्ति कहिल्यै देखाएनन्‌। बरु, तिनीहरूले हाम्रो कुरा बुझे अनि धर्मशास्त्रीय प्रोत्साहन दिए।”

१६. सुदृढ पार्नुपरेकाहरूलाई मदत गर्न सधैं को तयार छ?

१६ हो, निष्कपट मसीहीहरू अरूलाई सुदृढ पार्ने मानिस बन्‍न पाउँदा रमाउँछन्‌। अनि हाम्रो जीवनमा परिस्थितिहरू परिवर्तन हुँदा हामीलाई पनि हाम्रा भाइहरूले सुदृढ पार्नुपर्ने हुन सक्छ। तर व्यावहारिक भएर हेर्ने हो भने हामीलाई मदत चाहिएको बेला एउटै पनि मानव सहयोग उपलब्ध नहुन पनि सक्छ। तैपनि, बलको एउटा स्रोत भने सधैं उपलब्ध छ जो हामीलाई मदत गर्न सधैं इच्छुक हुनुहुन्छ र उहाँ हुनुहुन्छ—यहोवा परमेश्‍वर।—भजन २७:१०.

यहोवा —सुदृढ पार्ने सर्वोत्तम स्रोत

१७, १८. यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टलाई कुन-कुन तरिकामा सुदृढ पार्नुभयो?

१७ शासनाको खम्बामा झुण्ड्याइएको बेला येशू यसरी चिच्याउनुभयो: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।” (लूका २३:४६) त्यसपछि उहाँ मर्नुभयो। त्यसको केही घण्टाअघि मात्र उहाँ गिरफ्तार हुनुभएको थियो र उहाँका घनिष्ठ मित्रहरू डराएर उहाँलाई छोडेर भागेका थिए। (मत्ती २६:५६) येशू एक्लै हुनुहुन्थ्यो र उहाँलाई सुदृढ पार्ने बलको एउटै मात्र स्रोत हुनुहुन्थ्यो—स्वर्गमा हुनुहुने उहाँको पिता। तैपनि, यहोवामाथि उहाँको भरोसा बेकार गएन। आफ्नो पिताप्रतिको वफादारीलाई यहोवा स्वयम्‌ले वफादार सहयोग दिएर इनाम दिनुभयो।—भजन १८:२५; हिब्रू ७:२६.

१८ पृथ्वीमा येशूको सेवकाईको दौडान यहोवाले आफ्नो पुत्रलाई तिनले अन्तिम सास लिउन्जेल निष्ठा कायम गर्न जे चाहिन्थ्यो, त्यो दिनुभयो। उदाहरणका लागि, येशूले बप्तिस्मा लिने बित्तिकै आफ्नो सेवकाईको सुरुमै पिताको अनुमोदन अनि येशूप्रति उहाँको प्रेमको पुष्टि गरिएको आवाज सुन्‍नुभयो। येशूलाई सहयोगको खाँचो पर्दा यहोवाले येशूलाई सुदृढ पार्न स्वर्गदूतहरू पठाउनुभयो। येशूले पार्थिव सेवकाईको अन्तमा सबैभन्दा भीषण परीक्षाको सामना गर्नुपर्दा यहोवाले येशूको बिन्ती र पुकारा सुन्‍नुभयो। पक्कै पनि यी सबै कुराले येशूलाई सुदृढ पाऱ्‍यो।—मर्कूस १:११, १३; लूका २२:४३.

१९, २०. खाँचोमा पर्दा यहोवाले हामीलाई सुदृढ पार्नुहुनेछ भनेर हामी कसरी पक्का हुन सक्छौं?

१९ यहोवा हामीलाई सुदृढ पार्ने प्रमुख स्रोत हुन चाहनुहुन्छ। (२ इतिहास १६:९) जोडदार शक्‍ति अनि पराक्रमी बलको साँचो स्रोतले हामीलाई खाँचोको घडीमा सुदृढ पार्न सक्नुहुन्छ। (यशैया ४०:२६) युद्ध, गरिबी, बिरामी, मृत्यु र हाम्रो आफ्नै असिद्धताले हामीलाई अचाक्ली दबाबमा पार्न सक्छ। जीवनका परीक्षाहरू “बलवान शत्रु” जस्तो भयावह रूपमा देखापर्दा यहोवा हाम्रो शक्‍ति र पराक्रम हुन सक्नुहुन्छ। (भजन १८:१७; प्रस्थान १५:२) हामीलाई मदत दिन उहाँसित एउटा बलियो साधन छ—उहाँको पवित्र आत्मा। यहोवाले आफ्नो पवित्र आत्मामार्फत “दुर्बलहरूलाई बल दिनुहुन्छ” ताकि तिनीहरू “चीलझैं उँभो उभो उड़नेछन्‌।”—यशैया ४०:२९, ३१.

२० यस ब्रह्‍माण्डको सबैभन्दा शक्‍तिशाली बल परमेश्‍वरको आत्मा हो। पावलले यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” हो, स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले हामीलाई “असामान्य शक्‍ति” दिन सक्नुहुन्छ जसले गर्दा उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आउनै लागेको प्रमोदवनमा “सब कुरा नयाँ” नबनुन्जेल सबै पीडादायी समस्याहरू सहन सक्नेछौं।—फिलिप्पी ४:१३; २ कोरिन्थी ४:७, NW; प्रकाश २१:४, ५.

[फुटनोट]

a डब्ल्यु. ई. भाइनद्वारा लिखित भाइन्स कम्प्लीट एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एन्ड न्यु टेस्टामेन्ट वड्‌र्स यस्तो उल्लेख गर्छ: “यो शब्दको [ पारेगोरिया] मौखिक रूपले जलन कम गर्ने औषधी भन्‍ने बुझाउँछ। [अंग्रेजी, ‘पारेगोरिक’)।”

के तपाईं सम्झनुहुन्छ?

• रोममा भएका भाइहरू कसरी पावलको लागि “सुदृढ पार्ने” मानिसहरू साबित भए?

• हामी कुन तरिकामा मण्डलीको लागि “सुदृढ पार्ने” मानिसहरू हुन सक्छौं?

• यहोवा हामीलाई सुदृढ पार्ने सर्वोत्तम स्रोत कसरी हुनुहुन्छ?

[पृष्ठ १९-मा भएको चित्र]

भाइहरूले वफादार सहयोग, प्रोत्साहन र व्यक्‍तिगत सेवाहरू पुऱ्‍याए अनि फलतः पावलको निम्ति “सुदृढ पार्ने” मानिसहरू भए

[पृष्ठ २१-मा भएको चित्र]

बगाललाई सुदृढ पार्न प्राचीनहरूले नेतृत्व लिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने