उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
यो जानकारी, आवश्यक पर्नासाथ भेट्टाइहाल्ने ठाउँमा राख्नुहोस्
१ आज या भोलि कुन दिन अस्पताल पुगिने हो, कसैले पनि सोचेका हुँदैनन्। तैपनि, “समय र अवसरले . . . सबैलाई अधीन गरेको हुन्छ।” (उप. ९:११) आफूलाई स्वस्थ राख्न तपाईं औषधोपचार बाहेक अन्य तरिका अपनाउनुहुन्छ होला। तर दुर्घटनामा परेर अचेत अवस्थामा तपाईंलाई अस्पताल कुदाउनुपऱ्यो भने रगत लिनबाट कसरी जोगिन सक्नुहुन्छ? हो, दुर्घटनामा पर्दा वा अचानक स्वास्थ्य स्थिति बिग्रँदा तपाईंलाई आफ्नो धार्मिक अडानमा दृढ रहन गाह्रो बनाउने परिस्थितिहरू आइपर्न सक्छ।
२ आँखा खोल्दा आफूलाई अस्पतालको शय्यामा पाउनुभयो अनि ‘रगत नलिए ज्यान जान्छ’ भनेर कसैले भन्यो भने आफ्नो निष्ठा कायम राख्न के गर्न सक्नुहुन्छ? के तपाईं त्यो कुरा तुरुन्तै पत्याउनुहुन्छ? रगत लिन नहुने कारण के तपाईंले राम्ररी बुझ्नुभएको छ? धार्मिक अडानमा दृढ रहँदा आइपर्ने यस्तो चुनौतीको सामना गर्न र ‘रगतबाट अलग रहन’ के तपाईं तयार हुनुहुन्छ?”—प्रेषि. १५:२८, २९.
३ रगत लिनु/दिनु परमेश्वरको नजरमा दूषित कुरा हो भनी बाइबल बताउँछ। त्यसैले हामी पनि रगत लिन वा दिन चाहँदैनौं। तर रगत लिने/दिने कुरालाई इन्कार गर्न दृढ विश्वास चाहिन्छ। अनि यस्तो विश्वास खेती गर्न हामीले बाइबलमा रगतबारे दिइएको जानकारी एकदमै राम्ररी बुझेको हुनुपर्छ। नत्र कसैले ‘यस्तो अवस्थामा के गर्नुपर्छ, तपाईंलाई भन्दा मलाई राम्ररी थाह छ’ भन्यो भने तपाईं तुरुन्तै भावनात्मक रूपमा कमजोर हुनुहुनेछ। रगतबारे परमेश्वरलाई भन्दा डाक्टरहरूलाई बढी थाह छ भनेर बहकिनुहुन्छ कि? यस्तो अवस्थामा मानिसहरूले जेसुकै भने पनि सर्वोच्च परमेश्वर यहोवाको दृष्टिमा “जे ठीक छ” त्यो गर्न एकदमै कटिबद्ध हुनु आवश्यक छ। (व्यव. १२:२३-२५) तर के यस्तो चुनौती आइपर्दा तपाईं एक्लैले त्यसको सामना गर्नुपर्ने हुन्छ?—उप. ४:९-१२.
अस्पताल सूचना सेवा र अस्पताल सम्पर्क समिति (एच एल सी)
४ उपचारको दौडान रगत लिने दबाबको सामना गर्नेहरूलाई मदत दिन यहोवाको सङ्गठनले अमेरिकामा अस्पताल सूचना सेवा अनि शाखाहरूमा अस्पताल जानकारी एकाइ स्थापना गरेको छ। यसले मुख्य-मुख्य सहरहरूमा अस्पताल सम्पर्क समिति पनि स्थापना गरेको छ। यसै कामसित सम्बन्धित तालिम पाएका एल्डरहरू मिलेर यी समितिहरू बनेका छन्।
५ रगत नदिई गरिने के कस्ता शल्यक्रिया र उपचारपद्घति उपलब्ध छन्, त्यो पत्ता लगाउन अनि त्यसको प्रभावकारिता बुझ्न अस्पताल सूचना सेवाले संसारभरिका ३,६०० भन्दा धेरै चिकित्सासम्बन्धी पत्र-पत्रिकामा अनुसन्धान गर्छ। अनि उपचार क्षेत्रमा भएको नयाँ उपलब्धिबारे अस्पताल सम्पर्क समिति, स्वास्थ्य केन्द्र र डाक्टरहरूलाई जानकारी दिन्छ। (कहिलेकाहीं अस्पताल सूचना सेवाले विनारगत गरिने उपचारसम्बन्धी लेखहरू पठाएर अस्पतालमा चलिरहेको विवादलाई साम्य पारेको छ।) अस्पताल सूचना सेवाले अस्पताल सम्पर्क समितिलाई रगतसम्बन्धी हाम्रो पक्षमा अदालतमा गरिएका निर्णयहरूबारे ताजा जानकारी दिने गर्छ। यसले गर्दा न्यायाधीशहरूले पनि हाम्रो मामिलालाई अझ गहिरिएर हेर्न मदत पाउँछन्। रगतसम्बन्धी समस्या आइपर्दा अस्पताल सम्पर्क समितिसित ताजा जानकारी होस् भनेर अस्पताल सूचना सेवाले थुप्रै सहयोगी डाक्टरहरूको रेकर्ड पनि राख्ने गरेको छ।
६ अस्पताल सम्पर्क समितिले के-कस्तो काम गर्दैछ, त्यसका सदस्यहरूलाई कस्तो प्रशिक्षण दिइँदैछ, त्यसको निरीक्षण अस्पताल सूचना सेवाले गर्छ। जुन-जुन ठाउँमा अस्पताल सम्पर्क समिति छ त्यहाँ त्यो समितिले अस्पतालका कर्मचारीहरूसित राम्रो सम्बन्ध बनाउन नियमित रूपमा सूचनामूलक जानकारीहरू प्रस्तुत गर्छ। साथै रगत नदिई हाम्रो उपचार गर्ने थप डाक्टरहरू कोही छन् कि भनी पत्ता लगाउन कर्मचारीहरूसित सर्वेक्षण पनि लिन्छ। अस्पताल सम्पर्क समितिमा सेवा गर्ने यी भाइहरू तपाईंलाई मदत गर्न सदैव तयार रहन्छन्। तर तिनीहरूले तपाईंलाई सबैभन्दा प्रभावकारी ढंगमा मदत गरेको चाहनुहुन्छ भने तपाईंले पहिले नै केही महत्त्वपूर्ण कदम चालेको हुनुपर्छ।
के तपाईंले महत्त्वपूर्ण कदमहरू चालिसक्नुभयो?
७ प्रथमतः तपाईंको परिवारका सबै सदस्यले आ-आफ्नो चिकित्सा निर्देश-पत्र राम्ररी भरेका छन् कि छैनन्—मतलब मिति, तिनको हस्ताक्षर र साक्षीहरूको हस्ताक्षर छ कि छैन, पक्का गर्नुहोस्। कोही-कोही भाइबहिनी मिति नलेखेको वा साक्षीहरूको हस्ताक्षर नभएको चिकित्सा निर्देश-पत्र लिएर अस्पताल पुगेका छन् र त्यस्तो निर्देश-पत्रको वैधानिकतामाथि प्रश्न उठेको छ। अनि बप्तिस्मा नगरेका सबै छोराछोरीसित राम्ररी भरेको परिचय-पत्र छ? छैन भने, आपत्कालीन अवस्थामा अस्पतालका कर्मचारीहरूले रगतबारे तपाईंको अडान कसरी थाह पाउने अनि कसलाई बोलाउने भनेर कसरी पत्तो पाउने?
८ अनि परिवारका सबै सदस्यले यी कागजपत्र सधैं आफूसित बोकेका छन् कि छैनन्, याद गर्नुहोस्। आफ्ना छोराछोरी स्कूल जानुअघि, यहाँसम्म कि खेल्न जानुअघि पनि तिनीहरूसित त्यो पत्र छ कि छैन, हरेक दिन पक्का गर्नुहोस्। काम गर्ने ठाउँमा, बिदा लिएर कतै जाँदा वा ख्रीष्टियन अधिवेशनमा उपस्थित हुँदा आफूसित यी पत्र छ कि छैन, हामी सबैले पक्का गर्नुपर्छ। यो जहिले पनि हाम्रो साथमा हुनुपर्छ।
९ कल्पना गर्नुहोस्, तपाईंलाई गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा लगियो; तपाईं अचेत हुनुहुन्छ वा केही बोल्न सक्नुहुन्न। तपाईंसित चिकित्सा निर्देश-पत्र छैन र त्यहाँ तपाईंको निम्ति बोलिदिने आफन्त वा एल्डर पनि छैनन् अनि अस्पतालका कर्मचारीहरू तपाईंलाई ‘रगत नदिई हुन्न’ भन्ने निष्कर्षमा पुगे भने के हुन सक्छ? तपाईंलाई रगत दिइन सक्छ। दुःखको कुरा, कसै-कसैलाई यस्तो भएको छ। तर हामीसित चिकित्सा निर्देश-पत्र छ भने यसले हाम्रो तर्फबाट बोल्छ र हाम्रो इच्छा के हो, बताउँछ।
१० एक जना ख्रीष्टियन बहिनीको चिकित्सा निर्देश-पत्रबारे क्यानाडाको एउटा अदालतले यस्तो निर्णय सुनाएको थियो: “[यी बिरामीले] आफू अचेत भएमा वा आफ्नो इच्छाबारे बताउन नसकेमा रगत नदिइयोस् भनी डाक्टर र अरू स्वास्थ्यकर्मीहरूलाई जानकारी दिन एकमात्र सम्भव तरिका अपनाएकी छिन्।” हो, त्यसैले यो चिकित्सा निर्देश-पत्र सधैं आफूसित राखौं!
११ हाम्रो चिकित्सा निर्देश-पत्र मुख्यतः आपत्कालीन परिस्थितिको लागि बनाइएको हो। तर शल्यक्रिया गर्नुपर्ने कुरा पहिल्यै थाह पाउनुभएको छ भने त्यसको लागि पहिल्यै, अझ विस्तृत विवरण समावेश गरेर व्यक्तिगत चिकित्सा निर्देश-पत्र तयार पार्न सक्नुहुन्छ। तर त्यो विस्तृत निर्देशन-पत्र हाम्रो चिकित्सा निर्देश-पत्रमा आधारित हुनुपर्छ। विस्तृत चिकित्सा निर्देश-पत्रमा तपाईंले शल्यक्रियाको किसिम, डाक्टर र अस्पतालको नाउँ जस्ता कुराहरू तोकेरै लेख्न सक्नुहुन्छ। यसो गर्नु तपाईंको अधिकार हो। त्यसैले कस्तो उपचार छनौट गर्ने, पक्का गर्नुहोस्। डाक्टर अनि तपाईंलाई उपचारको दौडान कुनै गम्भीर समस्या आइपर्ला जस्तो नलाग्ला; तैपनि नचिताएको समस्या आइपर्दा निर्देश-पत्रअनुसारै गरिदिनुहोस् भनेर डाक्टरलाई बताउनुहोस्।—हितो. २२:३.
१२ तपाईंले चाल्नुपर्ने अर्को महत्त्वपूर्ण कदम पनि छ। त्यो हो, उपचार तुरुन्तै गर्नुपर्ने खालको हो वा केही समय पछि गरे पनि हुने हो भनी चिकित्सकहरूसित सोध्नु। तपाईंले विशेषगरि कोसित कुरा गर्नुपर्छ?
चिकित्सकहरूसित कुरा गर्नुहोस्
१३ चिकित्सा टोली: मानिसको डरले पटक्कै जित्न नहुने समय यही हो। (हितो. २९:२५) तपाईं आफै पक्का हुनुहुन्न भने अरूले तपाईंको कुरालाई हल्कासित लिन सक्छन्। तुरुन्तै शल्यक्रिया गर्नुपर्ने होस् वा केही समय पछि, तपाईंले वा तपाईंको सबैभन्दा नजिकको परिवारको सदस्यले शल्यक्रिया गर्ने टोलीको प्रमुखलाई दृढ भई तोकेरै केही प्रश्न सोध्नुपर्छ। सोध्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न हो: के तपाईंको टोलीले बिरामीको इच्छाको कदर गर्नेछ? अनि कुनै पनि परिस्थितिमा रगत नदिई उपचार गर्नेछ? तिनीहरूबाट यस्तो आश्वासन नपाउन्जेल तपाईं ढुक्क हुन सक्नुहुन्न।
१४ निर्धक्क हुँदै आफ्नो कुरा स्पष्ट अनि मर्यादित ढङ्गमा बताउनुहोस्। आफ्नो उपचारको लागि तपाईं रगतको प्रयोगविना गरिने वैकल्पिक उपचार स्वीकार्नुहुन्छ भनेर स्पष्ट पार्नुहोस्। तपाईंको अग्रिम चिकित्सा निर्देश-पत्र र अस्पतालले भर्न लगाउने मञ्जुरीनामाबारे शान्त र निर्धक्क भई कुरा गर्नुहोस्। यदि शल्यचिकित्सक तपाईंको इच्छाअनुसार गर्न चाहँदैनन् भने समय बरबाद नगरी अर्को चिकित्सक खोजिदिन अस्पतालको प्रशासकसित कुरा गर्नुहोस्। यस कुरामा तपाईंलाई मदत गर्नु तिनको कर्तव्य हो।
१५ एनेस्थेसियोलोजिस्ट (बिरामी बेहोस बनाउने डाक्टर): शल्यक्रियाअघि उपचार टोलीका यी चिकित्सकसित कुरा गर्न नबिर्सनुहोस्। शल्यचिकित्सकले शल्यक्रिया गर्दैगर्दा तपाईंलाई जीवित राख्न के गर्ने, जस्तै रगत दिने कि नदिने, आदि कुरा एनेस्थेसियोलोजिस्टले निर्णय गर्छन्। त्यसैले, शल्यचिकित्सकसित मात्र कुरा गरेर ढुक्क नहुनुहोस्। रगतसम्बन्धी आफ्नो अडान एनेस्थेसियोलोजिस्टलाई चित्तबुझ्नेगरि बताउनुपर्छ र तपाईंको अडानलाई तिनले कदर गर्छन् कि गर्दैनन्, पक्का गर्नुपर्छ।—लूका १८:३-५ तुलना गर्नुहोस्।
१६ साधारणतया, एनेस्थेसियोलोजिस्टहरू शल्यक्रिया गर्नुअघिको रात बिरामीलाई झुलुक्क भेट्न आउँछन्। तिनले रगत नलिने तपाईंको अडान स्वीकारेका छैनन् भने त यतिबेला कुरा गर्न एकदमै ढिलो भइसकेको हुनेछ। त्यसैले शल्यक्रिया गर्नुपर्ने कुरा पहिल्यै थाह पाइसक्नुभएको छ भने एनेस्थेसियोलोजिस्टसित भेटेर कुराकानी गर्ने प्रबन्ध मिलाइदिनुहोस् भनेर शल्यचिकित्सकलाई पहिल्यै आग्रह गर्नुहोस्। यसो गर्दा, कुनै एक जना एनेस्थेसियोलोजिस्ट तपाईंको इच्छाअनुसार गर्न चाहँदैनन् भने अर्को एनेस्थेसियोलोजिस्ट खोज्न समय पाउनुहुनेछ। सहयोगी एनेस्थेसियोलोजिस्ट छान्न पाउनु तपाईंको अधिकार हो; यो अधिकार कसैलाई पनि खोस्न नदिनुहोस्।
१७ सबैभन्दा महत्त्वपूर्ण कुरा, रगत लिनै नमिल्ने आफ्नो अडानबारे तपाईंले यी सबै व्यक्तिलाई स्पष्टसित बुझाउनै पर्छ। रगतको प्रयोगविना गरिने वैकल्पिक उपचारको लागि अनुरोध गर्नुहोस्। आफ्नो उपचारको लागि अन्य वैकल्पिक तरिका थाह छ भने बताउनुहोस्। चिकित्सक टोलीलाई तपाईंको लागि ती विकल्प उपयोगी हुँदैन भन्ने लागेमा उपचारसम्बन्धी प्रकाशनहरूमा अरू सम्भाव्य विकल्पहरू खोज्न तिनीहरूलाई अनुरोध गर्नुहोस्। तपाईंको मण्डलीका एल्डरहरूले नजिकको एच एल सीसित सम्पर्क गरेर यस विषयमा थप जानकारी उपलब्ध गराउन सक्नुहुन्छ। चिकित्सकहरूले चाहेमा एल्डरसित सोधेर ती जानकारी उपलब्ध गराउँछु भन्नुहोस्।
आफ्नो अधिकार प्रयोग गर्नुहोस्
१८ तपाईं अस्पतालमा भर्ना हुँदा त्यहाँ हस्ताक्षर गर्नुपर्ने मञ्जुरीनामा होसियारीसाथ जाँच्नुहोस्। कहिलेकाहीं, त्यस्तो फाराममा तपाईंको इच्छाको कदर गरिन्छ भनी बताइए पनि त्यसको ठीक मुनि अर्को अनुच्छेदमा चाहिं समस्या खडा भएमा अस्पतालले “जीवन बचाउने” उपाय अपनाए पनि हुन्छ भनेर बिरामीले सहमति जनाएका छन् भन्ने कुरा उल्लेख गरिएको हुन्छ। त्यस्तो उपायमा रगत दिनु पनि समावेश हुन सक्छ। त्यसैले त्यस्ता वाक्य संशोधन गर्न वा चित्त नबुझेको वाक्यजति च्वाट्टै काटिदिन सक्नुहुन्छ। नर्सहरूले, “तपाईंले त्यसो गर्न मिल्दैन!” भन्लान्। तर यो तपाईंको अधिकार हो। त्यस्तो फाराम तिनीहरू र तपाईंबीचको सम्झौता हो र आफू सहमत नभएको कुरामा “सहमत छु” भनी हस्ताक्षर गर्न सक्दिनँ भनेर बताउनुहोस्। कसैले तपाईंको इच्छा विपरीत हस्ताक्षर गर्न कर गरेमा त्यहाँको प्रशासक वा त्यस स्वास्थ्य केन्द्रमा तपाईंको हेरविचार गरिरहेका मुख्य डाक्टरसित कुरा गर्नुहोस्।
१९ के तपाईं यसो गर्न सक्नुहुन्छ? अवश्य सक्नुहुन्छ। त्यसैले, बिरामीको हैसियतमा तपाईंको अधिकार के हो, त्यसबारे सजग हुनुहोस्। अस्पतालभित्र पनि मानव अधिकारका कुरा उत्तिकै लागू हुन्छन्, जति बाहिर हुन्छ। उपचार पाउन तपाईं ती अधिकारहरूबाट वञ्चित हुनुपर्छ भन्ने छैन। यसबारे तपाईंलाई कसैले बहकाउन नपाओस्।
२० बिरामीले पाउने यस्तो एउटा अधिकार हो: सूचित सम्मतिको अधिकार। यसको मतलब, कुनै पनि प्रकारको उपचार तपाईंको अनुमतिविना तपाईंलाई गर्न पाइँदैन। तपाईंले चाहनुभयो भने सबै किसिमको उपचार अस्वीकार गर्न सक्नुहुन्छ। उपचारमा सम्मति दिनुअघि चिकित्सक टोलीले के-के गर्नेछन् र त्यसमा के-कस्ता खतराहरू समावेश छन्, ती सबै तपाईंले प्रस्ट बुझेको हुनुपर्छ। अर्को कुरा, चिकित्सक टोलीले उपलब्ध कुनै विकल्पबारे पनि तपाईंलाई बताएको हुनै पर्छ। यी सबै जानकारी पाइसकेपछि मात्र कुनचाहिं उपचार चाहनुहुन्छ, छनौट गर्नुहोस्।
२१ कुन उपचारको लागि सम्मति दिने हो, त्यो पक्का गर्न आफूले नबुझको कुरा सोध्नै पर्छ। विशेषगरि डाक्टरी भाषाहरू नबुझ्दा तपाईं प्रश्न सोध्न सक्नुहुन्छ। उदाहरणको लागि, डाक्टरले “प्लाज्मा” प्रयोग गर्ने कुरा गर्दा तपाईंले “प्लाज्मा भोलुम एक्सपान्डर” (शरीरमा प्लाज्माको मात्रा बढाउने तरल पदार्थ) दिइने रहेछ भन्ठान्नुहोला। तर डाक्टरको मतलब त्यो नहुन सक्छ। डाक्टरको कुरामा सहमति जनाइहाल्नुअघि यस्तो प्रश्न सोध्नुहोस्: “के त्यो रगतको तत्त्व हो?” तिनले अपनाउने कुनै पनि प्रक्रियाबारे यस्तो प्रश्न सोध्नुहोस्: “के यस उपचारमा रगतबाट बनेका पदार्थहरू प्रयोग गरिन्छ?” यदि तिनी केही उपकरणहरू प्रयोग गर्न चाहन्छन् भने यस्तो प्रश्न सोध्नुहोस्: “यस उपकरणको प्रयोग गर्दा के मेरो रगत सङ्कलन गरेर राखिन्छ?”
२२ तपाईंले माथि बताइएका सबै कुरा गर्नुभयो, रपनि चिकित्सकहरूबाट सहयोग पाउनुभएन वा तपाईंको अडानको विरोधसमेत भयो भने के गर्नुपर्छ? मदत माग्न नहिचकिचाउनुहोस्। कोही-कोहीले मदत माग्न एकदमै ढिलो गरेर आफ्नो जीवनै खतरामा पारेका छन्।
आपत् परेको बेला आवश्यक मदत
२३ आवश्यक मदत लिनुपर्ने यी अवस्था याद गर्नुहोस्: (१) तपाईं वा तपाईंको कुनै प्रियजनको तुरुन्तै वा केही समयपछि शल्यक्रिया गर्नुपर्ने भयो र अस्पतालले रगत लिने दबाब दिएकोले विवाद खडा भयो भने; (२) तपाईंको वा तपाईंको प्रियजनको स्वास्थ्यस्थिति गम्भीर भयो भने; (३) बच्चाको (वा वयस्कको) मामिलामा चिकित्सक, नर्स वा प्रशासकले अदालतबाट आदेश लिएर रगत दिने कुरा गरे भने:
२४ स्थानीय एल्डरहरूलाई यतिखेरसम्म पनि बोलाउनुभएको छैन भने, अब बोलाउनुहोस्। (वास्तवमा, रगतबारे हाम्रो अडान बेग्लै भएकोले उपचारको लागि अस्पताल जानुपर्दा जहिले पनि एल्डरहरूलाई खबर गर्नु बुद्धिमानी हो।) त्यसपछि, आवश्यक परेमा एल्डरहरूले नजिकको अस्पताल सम्पर्क समितिका भाइहरूलाई बोलाउनुहुनेछ। तपाईंले चाहनुभयो भने यस्तोबेला अस्पताल सम्पर्क समितिका भाइहरू तपाईंलाई मदत गर्न अस्पतालमै आउन सक्छन्।—यशै. ३२:१, २.
२५ अस्पताल सम्पर्क समितिका एल्डरहरूलाई तपाईंको इलाकामा कुन-कुन डाक्टरले तपाईंको अडान स्वीकार्छन् भनेर थाह हुन्छ र तपाईंलाई तिनीहरूसित सम्पर्क गराइदिन सक्छन्। यसरी ती डाक्टरहरूमार्फत अन्य सहयोगी डाक्टर तथा स्वास्थ्य केन्द्रहरूको सूची पाउन सकिन्छ। यदि ती एल्डरहरूले तपाईंको इलाकामा कोही पनि सहयोगी डाक्टर वा अस्पताल भेट्टाएनन् भने नजिकको अर्को अस्पताल सम्पर्क समितिसित सोधपुछ गर्नेछन्। अनि त्यस समितिमार्फत पनि सहयोगी डाक्टर वा अस्पताल भेट्टाइएन भने तिनीहरूले आफ्नो शाखाअन्तर्गत रहेको अस्पताल जानकारी एकाइसित सम्पर्क गर्नेछन्। साथै ती एल्डरहरूले तपाईंको उपचारमा संलग्न चिकित्सक टोलीलाई कुनै सहयोगी डाक्टरसित सम्पर्क गराउने प्रबन्ध मिलाउन पनि सक्छन्। ती सहयोगी डाक्टरले रगत दिनुको सट्टा के गर्न सकिन्छ भनेर तपाईंको चिकित्सक टोलीलाई बताउन सक्छन्। अस्पताल सम्पर्क समितिमा सेवा गर्ने भाइहरूले यस्तै परिस्थिति सम्हाल्ने प्रशिक्षण पाएका हुन्छन्।
२६ अस्पताल सम्पर्क समितिका भाइहरू डाक्टर वा प्रशासकसित कुरा गर्नको लागि तपाईंलाई मदत दिन पनि इच्छुक छन्। तर यसको लागि तपाईं आफैले मदत माग्नुपर्ने हुन्छ। हो, यी भाइहरूले तपाईंको लागि निर्णय गरिदिन सक्दैनन्। तर तिनीहरूले तपाईंलाई यस मामिलामा सङ्गठनको दृष्टिकोण विचार गर्न मदत दिन सक्छन् अनि उपचार सम्बन्धी र कानुन सम्बन्धी तपाईंले गर्न सक्ने छनौटबारे जानकारी दिन सक्छन्।
२७ यदि चिकित्सक टोलीले अझै पनि तपाईंलाई सहयोग गर्न चाहँदैन भने तपाईंको इच्छाको कदर गर्ने अर्को टोलीको प्रबन्ध गरिदिनुहोस् भनी अस्पतालको प्रशासकलाई भन्नुहोस्। यदि प्रशासक त्यसो गर्न हिचकिचाउँछन् भने तपाईंले ती डाक्टरहरूद्वारा आफ्नो उपचारै नगराउने निर्णय पनि गर्न सक्नुहुन्छ। आफ्नो निर्णय अनि आफूलाई सहयोग नगर्ने डाक्टरहरूको नाम लेखेर मिति र हस्ताक्षरसहितको एउटा पत्र उक्त प्रशासकलाई दिन सक्नुहुन्छ। तर तपाईंलाई सहयोग गर्ने अर्को शल्यचिकित्सक भेट्टाउनुभएको छ र तपाईंलाई त्यहाँ सार्न सकिन्छ भने मात्र त्यसो गर्नुहोस्।
२८ के तपाईं त्यसो गर्न सक्नुहुन्छ? हो, तपाईंसित त्यसो गर्ने अधिकार छ। अनि यदि त्यो मामिला पछि अदालतसम्म पुगेमा तपाईंको इच्छा बुझ्न त्यस पत्रले न्यायाधीशलाई निकै मदत गर्न सक्छ। साथै, अरू शल्यचिकित्सकले पनि तपाईंको अवस्थाबारे थाह पाउन सक्छन् र तपाईंको उपचार गर्न अघि सर्न सक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले तपाईंको स्वास्थ्य स्थिति चिन्ताजनक अवस्थामा पुग्नुअघि नै आवश्यक उपचार पाउन मदत गर्न सक्छ। त्यसैले धेरै ढिलो नगर्नुहोस्!
२९ स्वास्थ्य बिमा गर्नुहोस् भनेर हामी विज्ञापन त गर्न चाहँदैनौं, तैपनि हामीले तपाईंहरूलाई कुन कुरा बताउनै पर्छ भने स्वास्थ्य बिमा अपुग भएका वा हुँदै नभएकाहरूलाई साधारणतया सहयोग गर्ने डाक्टरहरूले पनि उपचार गर्न हिचकिचाउने गरेका छन्।
ध्यान दिनुपर्ने गहन प्रश्नहरू
३० डाक्टर र अरूले सोध्ने केही प्रश्नहरू तपाईंलाई थाह हुनुपर्छ। ती प्रश्नहरू अक्सर राम्रो मनसायले सोधिंदैन। डाक्टरहरूले (र केही न्यायाधीशहरूले) प्रायः सोध्ने एउटा प्रश्न हो:
• “के तपाईं ‘रगत लिएर आफ्नो (आफ्नो बच्चाको) जीवन बचाउनुको साटो’ मर्न (तिनलाई मर्न दिन) चाहनुहुन्छ?”
३१ तपाईंले ‘चाहन्छु’ भन्नुभयो भने धार्मिक अडानअनुसार ठीकै सुनिएला। तर यस्तो जवाफको अक्सर गलत अर्थ लगाइन्छ र कहिलेकाहीं यसले गर्दा अदालतले हाम्रो विपक्षमा समेत निर्णय सुनाउँछ। के कुरा नबिर्सनुस् भने तपाईं यतिबेला प्रचारकार्यमा हुनुहुन्न। तर तपाईं यतिबेला आवश्यक उपचारबारे कुरा गर्दै हुनुहुन्छ। त्यसैले आफ्नो श्रोता अर्थात् चिकित्सा वा कानुनी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई चित्त बुझ्ने तरिकामा जवाफ दिनुपर्छ।—भज. ३९:१; कल. ४:५, ६.
३२ तपाईंले ‘चाहन्छु’ भन्नुहुँदा डाक्टर, न्यायाधीश वा अस्पताल प्रशासकले तपाईं आफ्नो धर्मको लागि सहिद हुन वा आफ्नो बच्चालाई बलिदान दिन चाहनुहुन्छ भनेर सोच्न सक्छन्। यस्तो अवस्थामा तपाईंले पुनर्जीवनमा आफ्नो गहिरो विश्वास छ भनेर बताएपनि साधारणतया यसले तिनीहरूलाई केही फरक पार्दैन। तिनीहरूले तपाईंलाई धार्मिक कट्टरपन्थी र जीवन खतरामा पर्दासमेत बुद्धिमानी निर्णय गर्न नसक्ने व्यक्ति ठान्नेछन्। तिनीहरूले सोचेको “जीवन बचाउने” तरिका नअपनाएकोले तपाईंलाई बच्चाको जीवनमाथि खेलबाड गर्ने आमाबाबुको संज्ञा दिनेछन्।
३३ तर तपाईंले सम्पूर्ण उपचारपद्घति अस्वीकार गर्नुभएको होइन। तपाईं र डाक्टरबीच कुन प्रकारको उपचार स्वीकार्ने भन्ने सन्दर्भमा मात्र कुरा नमिलेको हो। तपाईंले लिनुभएको यस्तो अडानले गर्दा दुवै पक्षले एकअर्कालाई हेर्ने दृष्टिकोण फरक पर्न जान्छ। त्यसबाहेक, रगत लिनु सुरक्षित छ र यो “जीवन बचाउने” एक मात्र उपाय हो भनेर तिनीहरूले भ्रममा पार्न खोज्नु सही कुरा होइन। [रगतले तपाईंको जीवन कसरी बचाउनसक्छ? (अङ्ग्रेजी), पृष्ठ ७-२२ हेर्नुहोस्।] त्यसैले तपाईंले सम्पूर्ण उपचारपद्घति अस्वीकार गर्नुभएको होइन भनेर स्पष्ट पार्नुपर्छ। तपाईं कसरी त्यसो गर्न सक्नुहुन्छ? सायद यस्तो जवाफ दिन सक्नुहुन्छ:
• “म मर्न (आफ्नो बच्चालाई मर्न दिन) चाहन्नँ। यदि मलाई आफ्नो (मेरो बच्चाको) ज्यानको माया नभएको भए त घरमै बस्थें नि! तर म उपचार गरेर बाँच्नको लागि (मेरो बच्चालाई बचाउनको लागि) नै यहाँ आएको हुँ। यत्ति हो कि म मेरो (मेरो बच्चाको) उपचारमा रगतको प्रयोगविना गरिने वैकल्पिक तरिका प्रयोग गरियोस्, भन्ने चाहन्छु। अनि रगतविनाको वैकल्पिक उपचार उपलब्ध नभएको पनि हैन!”
३४ डाक्टर वा न्यायाधीशहरूले सोध्न सक्ने अरू प्रश्नहरू:
• “यदि तपाईंलाई अदालतको आदेश लिएर जबरजस्ती रगत दिइएमा के गर्नुहुन्छ? के यसको लागि तपाईंलाई जिम्मेवार ठहराइनेछ?”
• “तपाईंले रगत लिन स्वीकार गर्नुभयो भने वा जबरजस्ती रगत दिइयो भने के तपाईंलाई त्यो धर्मबाट निकालिन्छ अथवा तपाईंले अनन्त जीवन गुमाउनुहुनेछ? यस्तो अवस्थामा तपाईंको धर्म मान्नेहरूले तपाईंलाई कुन दृष्टिले हेर्नेछन्?”
३५ न्यायाधीशको निर्णयअनुसार जबरजस्ती रगत दिइयो भने त्यसको लागि आफू जिम्मेवार हुँदिनँ भनेर एउटी बहिनीले जवाफ दिइन्। तिनको जवाफ ठीकै जस्तो सुनिए पनि न्यायाधीशले त्यसलाई अर्कै तरिकाले बुझे। रगत दिंदा, ती बहिनीलाई जिम्मेवार ठहराइँदैन भने त्यसको जिम्मेवारी आफूले लिन तयार भएको कुरा ती न्यायाधीशले बताए अनि रगत दिने आदेश दिए।
३६ तपाईंले के कुरा बुझ्नै पर्छ भने तपाईंले रगत लिन अस्वीकार गरे पनि तपाईंलाई प्रश्न सोध्नेहरूले साधारणतया त्यसैलाई माध्यम बनाएर तपाईंलाई रगत दिने बहाना खोजिरहेका हुन्छन्। अनजानमा तिनीहरूलाई यस्तो मौका नदिनुहोस्। तिनीहरूलाई गलत भान नपार्न हामी के गर्न सक्छौं? सायद यस्तो जवाफ दिन सक्छौं:
• “यदि मलाई जबरजस्ती रगत दिइयो भने त्यो मेरो निम्ति बलात्कार सरह हुनेछ। मेरो इच्छाविरुद्ध गरिएको त्यस्तो आक्रमणले गर्दा म जीवनभर भावानात्मक र आध्यात्मिक तवरमा पिरोलिनेछु। मेरो सहमतिविना मेरो शरीरमाथि गरिने त्यस्तो आक्रमणको प्रतिकार गर्न म भएभरको बल लगाउनेछु। मलाई बलात्कार गर्नेलाई सजाय दिलाउन म जसरी लागिपर्छु, त्यसरी नै ममाथि यस्तो आक्रमण गर्नेहरूलाई सजाय दिलाउन म हर प्रयास गर्नेछु।”
३७ जबरजस्ती रगत दिनु भनेको हाम्रो शरीरमाथि गरिने घिनलाग्दो आक्रमण हो भन्ने कुरा हामीले दिएको जवाफबाट उनीहरूले राम्ररी महसुस गर्नुपर्छ। यो मामुली कुरा होइन। त्यसैले आफ्नो अडानमा दृढ रहनुहोस्। तपाईं रगतको प्रयोगविना गरिने वैकल्पिक उपचार चाहनुहुन्छ भनेर स्पष्ट पार्नुहोस्।
तयार रहन तपाईं के गर्नुहुन्छ?
३८ आफ्नो इच्छा विपरीत रगत लिनबाट तपाईं र तपाईंको परिवारलाई बचाउन चाहिने केही कुरा हामीले छलफल गऱ्यौं। (नवजात शिशु र केटाकेटीलाई रगत दिने धम्की आउँदा त्यस्तो समस्या कसरी समाधान गर्ने भनेर हामी विस्तृत जानकारी पछि दिनेछौं।) आवश्यक परेको बेला यहोवाको सङ्गठनले कसरी मायालुपूर्वक हामीलाई मदत दिने प्रबन्ध गरेको छ भनेर पनि हामीले बुझ्यौं। उपचार गराउँदा आफ्नो धार्मिक अडानमा दृढ रहन तपाईं कसरी यो जानकारीको सदुपयोग गर्न सक्नुहुन्छ?
सर्वप्रथम: यो जानकारी परिवारसित छलफल गरेर विशेषगरि आपत्कालीन अवस्थामा के भन्ने र के गर्ने भनेर अभ्यास गर्नुहोस्।
त्यसपछि: रगतबारे तपाईंको अडान स्पष्ट पार्ने सबै कागजात छन् कि छैनन्, पक्का गर्नुहोस्।
अनि: ‘रगतबाट अलग रहने’ तपाईंको दृढ सङ्कल्पलाई कायम राख्न मदत माग्दै गम्भीरतापूर्वक यहोवालाई प्रार्थना गर्नुहोस्। रगतबारे उहाँको आज्ञा पालन गर्दा भविष्यमा उहाँले दिनुहुने अनन्त जीवन पाउने कुरामा ढुक्क हुन सक्छौं।—प्रेषि. १५:२९; हितो. २७:११, १२.
[पृष्ठ ५-मा भएको पेटी]
उपचारको दौडान स्वास्थ्य स्थिति गम्भीर भएमा र डाक्टरहरूले रगत दिने दबाब दिएमा के गर्ने भनेर पक्का गर्न यो पेटी हेर्नुहोस्:
१. मदतको लागि आफ्नो मण्डलीका एल्डरहरूलाई बोलाउनुहोस्।
२. आवश्यक परेमा, नजिकको अस्पताल सम्पर्क समितिसित कुरा गर्न एल्डरहरूलाई भन्नुहोस्।
३. अस्पताल सम्पर्क समितिले तपाईंलाई डाक्टरहरू र अरूसित कुरा गर्न मदत दिन सक्छ।
४. अस्पताल सम्पर्क समितिले अहिले तपाईंको उपचार गरिरहेका शल्यचिकित्सकहरूलाई रगतको विकल्पबारे जानकारी दिन अरू डाक्टरहरूसित सम्पर्क गराइदिन सक्छ।
५. अस्पताल सम्पर्क समितिले आवश्यक उपचारको लागि तपाईंको अडानको कदर गर्ने अर्को अस्पतालमा सर्न पनि मदत दिन सक्छ।