के तपाईंको जीवन तपाईंको परिस्थितिको वशमा परेको छ?
यी “आखिरी दिनमा” दुःखदायी परिस्थिति तथा समस्याहरू सामान्य भइसकेका छन्। (२ तिमोथी ३:१) कुनै-कुनै समस्याहरू केही क्षणको लागि रहन्छन् र केही समयपछि हराउँछन्। अन्य कतिपय भने महिनौं वा वर्षौंसम्म पनि रहिरहन सक्छन्। त्यसैकारण थुप्रैले भजनहार दाऊदले जस्तै महसुस गर्छन् जसले यहोवालाई यसो भन्दै पुकारे: “मेरो हृदयका दुःखहरू बढ़ेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईंलेनै छुटाउनुहोस्।”—भजन २५:१७.
के तपाईं अन्योलमा पार्ने खालका समस्याहरूसित सङ्घर्ष गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने, तपाईंले बाइबलमा मदत र प्रोत्साहन पाउन सक्नुहुन्छ। यहोवाका दुई जना विश्वासी सेवक, यूसुफ र दाऊदको जीवनबारे विचार गरौं जो कठिनाइहरू सामना गर्न सफल भए। तिनीहरूले दुःखकष्टको बेला देखाएको प्रतिक्रियालाई केलाएर हेर्दा हामी व्यावहारिक पाठहरू सिक्न सक्छौं जसले हामीलाई त्यस्तै परिस्थितिको सामना गर्नुपर्दा मदत गर्नेछ।
गम्भीर चुनौतीहरूको सामना गर्नुपर्दा
यूसुफ १७ वर्ष पुग्दा तिनको परिवारभित्र एउटा गम्भीर समस्या देखापऱ्यो। तिनका दाइहरूले तिनीहरूका पिता याकूबले “तिनलाई [यूसुफलाई] बढ़ी माया गरेको” देखे। त्यसैकारण “तिनका दाज्यूहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैन थिए।” (उत्पत्ति ३७:४) यस अवस्थाको कारण यूसुफ कति चिन्तित र तनावग्रस्त भए होलान् हामी कल्पना गर्न सक्छौं। अन्ततः यूसुफका दाइहरूले तिनलाई यति घृणा गर्न थाले कि तिनीहरूले तिनलाई दासत्वमा बेचिदिए।—उत्पत्ति ३७:२६-३३.
मिश्रमा दास छँदा यूसुफले अनुचित सम्बन्ध राख्ने आफ्नो मालिककी पत्नीको प्रस्तावको प्रतिकार गर्नुपऱ्यो। इन्कार गरेकोमा रिसाउँदै मालिक्नीले आफूलाई बलात्कार गर्न खोजेको झूटो आरोप यूसुफमाथि लगाई। तब तिनलाई “कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए” जहाँ “तिनका खुट्टामा तिनीहरूले नेल ठोकेर दुःख दिए, तिनी फलामका जञ्जीरमा राखिए।” (उत्पत्ति ३९:७-२०; भजन १०५:१७, १८) यो सबै सहन कत्ति गाह्रो भएको हुनुपर्छ! आफ्नै परिवारका सदस्यहरू लगायत अरूले तिनीमाथि गरेको अन्यायको कारण यूसुफ झन्डै १३ वर्षसम्म दास वा कैदी अवस्थामा रहे।—उत्पत्ति ३७:२; ४१:४६.
पुरातन इस्राएलका दाऊदले पनि युवावस्थामै परीक्षाहरूको सामना गर्नुपऱ्यो। राजा शाऊलले तिनलाई पशुलाई जस्तै खेदेको कारण तिनले निकै वर्षसम्म भगुवा जीवन बिताउनुपऱ्यो। दाऊदको जीवन निरन्तर खतरामा थियो। एक चोटि तिनी, पूजाहारी अहीमेलेककहाँ खाना माग्न गए। (१ शमूएल २१:१-७) अहीमेलेकले दाऊदलाई मदत गरेको कुरा थाह पाएपछि शाऊलले अहीमेलेक मात्र होइन तर सबै पूजाहारी तथा तिनीहरूका परिवारहरूलाई मार्ने हुकुम दिए। (१ शमूएल २२:१२-१९) आफू अप्रत्यक्ष रूपमा यस विपत्तिको कारण भएको महसुस गर्दा दाऊदले कस्तो वेदना महसुस गरे होलान् के तपाईं कल्पना गर्न सक्नुहुन्छ?
यूसुफ र दाऊदले कति लामो समयसम्म हन्डर र दुर्व्यवहार सहे, विचार गर्नुहोस्। गाह्रो परिस्थितिमा तिनीहरूले कस्तो व्यवहार गरे भनी जाँचेर हेर्दा हामी अमूल्य पाठ सिक्न सक्छौं। यी पुरुषहरू अनुकरणीय हुनुका तीन कारणहरू हामी विचार गरौं।
क्रोध र द्वेषको भावना नराख्नुहोस्
प्रथमतः यी विश्वासी पुरुषहरू द्वेष र क्रोधको सञ्जालमा परेनन्। झ्यालखानामा हुँदा यूसुफले आफ्ना दाइहरूले दिएको धोकाबारे सजिलै नकारात्मक विचारहरू मनमा खेलाउन सक्थे र सायद तिनीहरूलाई फेरि भेट्दा बदला लिने योजना बनाउन सक्थे। यूसुफले त्यस्तो विनाशकारी सोचाइको प्रतिरोध गरे भनी हामी कसरी थाह पाउन सक्छौं? अन्न किन्न मिश्रमा आएका आफ्ना दाइहरूसित बदला लिने मौका पाउँदा तिनले कस्तो प्रतिक्रिया देखाए विचार गर्नुहोस्। विवरण यसो भन्छ: “यूसुफ तिनीहरूबाट एकातर्फ फर्केर रोए। . . . त्यसपछि यूसुफले [दाइहरूका] धोक्राहरूमा अनाज भरिदिनू र तिनीहरूका आफ्ना आफ्ना रूपियाँपैसा धोक्रामै हालिदिनू र तिनीहरूको बाटोको निम्ति तिनीहरूलाई सामल-तुमल दिनू भनी [नोकरहरूलाई] हुकूम गरे।” पछि, आफ्नो बुबालाई ल्याउन दाइहरूलाई पठाउँदा यूसुफले यसो भन्दै प्रोत्साहन दिए: “बाटोमा झगड़ा नगर।” यूसुफले आफ्नो वचन र काम दुवैबाट आफ्नो जीवनलाई क्रोध र द्वेषको भावले विषाक्त हुन नदिएको प्रमाण दिए।—उत्पत्ति ४२:२४, २५; ४५:२४.
त्यसरी नै, दाऊदले राजा शाऊलप्रति क्रोधका भावनाहरू राखिरहेनन्। दाऊदले शाऊललाई दुई चोटि मार्ने मौका पाएका थिए। तिनका मानिसहरूले मार्न उस्काए तापनि दाऊदले यसो भने: “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्। उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।” दाऊदले यस मामिला यहोवाकै हातमा सुम्पे र आफ्ना मानिसहरूलाई यसो भने: “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि परमप्रभुले त्यसलाई मार्नुहुनेछ। किता त्यसको काल आएर त्यो मर्नेछ अथवा लड़ाइँमा गएर त्यो खतम हुनेछ।” पछि, शाऊल र तिनका छोरा जोनाथनको मृत्युको शोकमा दाऊदले विलाप गीतसमेत रचे। यूसुफ जस्तै दाऊद क्रोधको वशमा परेनन्।—१ शमूएल २४:३-६; २६:७-१३; २ शमूएल १:१७-२७.
कुनै अन्यायको कारण पीडा हुँदा के हामी क्रोध र द्वेषका भावनाहरू राखिरहन्छौं? यस्ता भावनाहरू सजिलै आउन सक्छन्। आफूलाई आफ्ना भावनाहरूको वशमा पर्न दियौं भने हामीमाथि भएको अन्यायभन्दा यसको परिणाम विपत्तिजनक हुन सक्छ। (एफिसी ४:२६, २७) अरूले गर्ने कुराहरूमा हाम्रो कुनै नियन्त्रण नभए तापनि हामीले आफ्ना प्रतिक्रियाहरूलाई नियन्त्रणमा राख्न सक्छौं। यहोवाले नै आफ्नो तोकिएको समयमा मामिलालाई सुल्झाउनुहुनेछ भनी विश्वास राख्दा क्रोध र द्वेषका भावनाहरू हटाउन सजिलो हुन्छ।—रोमी १२:१७-१९.
आफ्नो परिस्थितिको सदुपयोग गर्नुहोस्
हामीले सिक्न सक्ने दोस्रो पाठ हो, हाम्रो परिस्थितिले हाम्रो जीवनलाई ठप्प हुन नदिने। आफूले गर्न नसक्ने कुराहरूमा मात्र यति धुन लाग्न सक्छ कि आफूले गर्न सक्ने कुराहरू भने ओझेलमा पर्न सक्छन्। अन्ततः हाम्रो परिस्थितिले हामीलाई वशमा पार्न थाल्छ। यूसुफको सन्दर्भमा यस्तो हुन सक्थ्यो। तर तिनले आफ्नो अवस्थाको सदुपयोग गर्ने छनौट गरे। दासको रूपमा सेवा गर्दा यूसुफमाथि “[आफ्नो मालिकको] निगाह . . . रह्यो। यूसुफले तिनको सेवा-शुश्रुसा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याए।” झ्यालखानामा हुँदा पनि यूसुफले त्यसै गरे। यहोवाको आशिष् र यूसुफको लगनशीलताको कारण “झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू यूसुफको जिम्मामा राखिदिए। त्यहाँ जे जे काम हुन्थ्यो ती सबै यूसुफकै खटनमा हुन्थ्यो।”—उत्पत्ति ३९:४, २१-२३.
भगुवा जीवन बिताइरहेका वर्षहरूमा दाऊदले पनि आफ्नो परिस्थितिको सदुपयोग गरे। पारानको वनमा हुँदा तिनी र तिनका मानिसहरूले नाबालको गाईवस्तुलाई लुटाहाहरूको समूहबाट सुरक्षित राखे। “तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए” भनी नाबालको एक जना गोठालोले बताए। (१ शमूएल २५:१६) पछि, सिकलगमा रहँदा दाऊदले इस्राएलका शत्रुहरूले दक्षिणमा आफ्नो अधीनमा राखेका सहरहरूमाथि आक्रमण गरेर कब्जा जमाए र यसरी यहूदाका सीमाहरू हात पारे।—१ शमूएल २७:८; १ इतिहास १२:२०-२२.
आफ्नो परिस्थितिको सदुपयोग गर्न के हामीले अझ बढी प्रयास गर्नु जरुरी छ? यसो गर्नु चुनौतीपूर्ण भए तापनि हामी सफलता हासिल गर्न सक्छौं। आफ्नो जीवनलाई सम्झँदै प्रेरित पावलले यस्तो लेखे: “खाँचो परेर ता मैले भनेको होइन, किनभने जुनसुकै परिस्थितिमा म भएँ पनि त्यसैमा सन्तुष्ट रहन मैले सिकेको छु। . . . हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु।” पावलले जीवनमा यस्तो तरिका कसरी अपनाउन सिके? यहोवामा निरन्तर भर परेर। तिनले यसरी मानिलिए: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:११-१३.
यहोवामा पर्खनुहोस्
तेस्रो पाठ हो, आफ्नो परिस्थिति परिवर्तन गर्न गैरधर्मशास्त्रीय तरिका अपनाउनुको सट्टा हामीले यहोवामा पर्खनुपर्छ। चेला याकूबले यस्तो लेखे: “धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।” (याकूब १:४) आफ्नो परिस्थितिको चाँडो अन्त गर्न गैरधर्मशास्त्रीय तरिका अपनाउनुको सट्टा अन्तसम्मै परीक्षा सहेर “धीरजलाई त्यसको पूरा काम गर्न” दिनुपर्छ। त्यसपछि हाम्रो विश्वास जाँचिएर निखारिएको हुनेछ अनि यसको सँभाल्न सक्ने शक्ति प्रकट हुन्छ। यूसुफ र दाऊदसित यस्तै प्रकारको धीरज थियो। आफ्नो समस्याको हल गर्न तिनीहरूले यहोवालाई अप्रसन्न तुल्याउन सक्ने खालका तरिकाहरू अपनाएनन्। बरु, तिनीहरूले आफ्नो परिस्थितिको सदुपयोग गर्न सक्दो प्रयास गरे। तिनीहरूले यहोवामा पर्खे अनि त्यसो गर्दा कत्ति आशिष्हरू पाए! यहोवाले तिनीहरू दुवैलाई आफ्ना जनहरूको छुटकाराको लागि साथै तिनीहरूलाई डोऱ्याउन पनि चलाउनुभयो।—उत्पत्ति ४१:३९-४१; ४५:५; २ शमूएल ५:४, ५.
हामीले पनि कहिलेकाहीं यस्तै परिस्थितिको सामना गर्नुपर्ला जहाँ गैरधर्मशास्त्रीय समाधान खोज्न प्रलोभित हुन सक्छौं। उदाहरणका लागि, अहिलेसम्म सुहाउँदो जोडी नभेट्टाएकोले के तपाईं निरुत्साहित हुनुहुन्छ? त्यसो हो भने, “प्रभुमा मात्र” विवाह गर भन्ने यहोवाको आज्ञा उल्लङ्घन हुन सक्ने कुनै पनि प्रलोभनबाट अलग रहनुहोस्। (१ कोरिन्थी ७:३९) के तपाईंको वैवाहिक जीवनमा समस्याहरू भइरहेका छन्? अलग रहने र सम्बन्ध विच्छेदलाई प्रोत्साहन दिने संसारको आत्माको पछि लाग्नुको सट्टा सँगै मिलेर आफ्नो समस्या सुल्झाउने प्रयास गर्नुहोस्। (मलाकी २:१६; एफिसी ५:२१-३३) तपाईंको आर्थिक अवस्थाको कारण के तपाईंलाई परिवार पाल्न धौ-धौ परिरहेको छ? यहोवामा पर्खनुको अर्थ पैसा आर्जन गर्न शङ्कास्पद वा गैरकानुनी गतिविधिबाट अलग रहनु पनि हो। (भजन ३७:२५; हिब्रू १३:१८) हो, हामी सबैले आफ्नो परिस्थितिको सदुपयोग गर्न र यहोवाबाट इनाम पाउन प्रयास गर्नु जरुरी छ। यसो गर्दै हामी सबैभन्दा उचित समाधानको लागि यहोवामा पर्खन कटिबद्ध होऔं।—मीका ७:७.
यहोवाले तपाईंलाई सँभाल्नुहुनेछ
यूसुफ र दाऊद जस्ता बाइबल पात्रहरूले निराशाजनक तथा कठिन परिस्थितिहरूको कसरी सफलतापूर्वक सामना गरे भनी मनन गर्दा हामीमा सकारात्मक प्रभाव पर्न सक्छ। तिनीहरूको जीवनी बाइबलमा केही पृष्ठमै वर्णन गरिएको भए तापनि तिनीहरूका परीक्षाहरू वर्षौंसम्म रहे। आफैलाई सोध्नुहोस्: ‘यहोवाका त्यस्ता सेवकहरूले कसरी आफ्नो परिस्थितिलाई स्वीकार्न सके? तिनीहरूले आफ्नो आनन्द कसरी कायम राखे? तिनीहरूले कस्ता गुणहरू विकास गर्नुपऱ्यो?’
यहोवाका आधुनिक समयका सेवकहरूको धीरजलाई विचार गर्नु पनि लाभकारी हुन्छ। (१ पत्रुस ५:९) प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकामा प्रत्येक वर्ष थुप्रै जीवनीहरू छापिन्छन्। के तपाईं ती विश्वासी मसीहीहरूको उदाहरण पढेर मनन गर्नुहुन्छ? साथै, हाम्रो आफ्नै मण्डलीमा विश्वासीपूर्वक कठिन परिस्थितिको सामना गरिरहेकाहरू छन्। के तपाईं तिनीहरूसित नियमित तवरमा संगत गरेर मण्डलीका सभाहरूमा तिनीहरूबाट सिक्नुहुन्छ?—हिब्रू १०:२४, २५.
चुनौतीपूर्ण परिस्थितिहरूको मारमा पर्नुहुँदा यहोवाले तपाईंको ख्याल राख्नुहुन्छ र तपाईंलाई सँभाल्नुहुनेछ भनी विश्वस्त हुनुहोस्। (१ पत्रुस ५:६-१०) तपाईंको परिस्थितिले तपाईंको जीवनलाई वशमा पार्न नदिन मेहनत गर्नुहोस्। यूसुफ, दाऊद र अरूका उदाहरणहरू पछ्याउँदै क्रोध नराख्नुहोस्, आफ्नो परिस्थितिको सदुपयोग गर्नुहोस् र सबैभन्दा उचित समाधानको लागि यहोवामा पर्खनुहोस्। प्रार्थना र आध्यात्मिक गतिविधिद्वारा उहाँसँग नजिक हुनुहोस्। यसरी कठिन समयमा समेत तपाईंले आनन्द र सुख महसुस गर्न सक्नुहुनेछ।—भजन ३४:८.
[पृष्ठ २०, २१-मा भएको चित्र]
यूसुफले आफ्नो परिस्थितिको सक्दो सदुपयोग गर्ने प्रयास गरे
[पृष्ठ २३-मा भएको चित्र]
दाऊदले आफ्नो समस्याको समाधानको लागि यहोवामा पर्खे