चेस्टर बेट्टीको खजानामा एक नजर
“लोप भइसकेका अनेकन् सभ्यताहरूको खजानामा प्रशस्त, . . . र यसका अत्यन्तै सुन्दर ससाना आकृति तथा चित्रकलाहरू।” सङ्ग्रहालयका पूर्वसंरक्षक आर. जे. हायसले आयरल्याण्डको डब्लिनमा रहेको चेस्टर बेट्टी लाइब्रेरीलाई निचोडमा यसरी व्याख्या गरेका थिए। यहाँ किम्मती पुराना कलाकृतिका सामान, उत्कृष्ट कला र अमूल्य दुर्लभ पुस्तक तथा पाण्डुलिपिहरू पाइन्छ। यी चेस्टर बेट्टी को थिए? तिनले कस्ता खजाना जम्मा गरे?
आल्फ्रेड चेस्टर बेट्टीको जन्म सं.रा.अ.-को न्यु योर्क सहरमा सन् १८७५ मा भएको थियो र तिनी स्कटिस, आइरिस र अङग्रेज मूलका थिए। तिनले ३२ वर्षको उमेरसम्ममा खानी इन्जिनियर र परामर्शदाताको रूपमा मनग्गे पैसा कमाइसकेका थिए। तिनले जिन्दगीभर आफूले कमाएको धेरै अंश सुन्दर र उत्कृष्ट मानिएका सामानहरू किन्न खर्च गरे। सन् १९६८ मा ९२ वर्षको उमेरमा तिनको मृत्यु हुँदा बेट्टीले आफ्नो सारा सङ्कलन आयरल्याण्डका मानिसहरूको नाउँमा छोडिदिए।
तिनले के-के सङ्कलन गरे?
बेट्टीको सङ्कलन विस्तृत र विविध छ। एक चोटिमा तिनको सङ्कलनको जम्मा एक प्रतिशत जति मात्र प्रदर्शन गरिन्छ। तिनले विभिन्न समयावधि र हजारौं वर्षको दौडानका संस्कृतिहरूको दुर्लभ तथा बहुमूल्य थुप्रै चीजबीजहरू जम्मा गरेका छन्। तिनले जम्मा गरेका चीजबीजहरूमा मध्ययुगदेखि रेनसाँस युरोपको र विभिन्न एसियाली तथा अफ्रिकी देशका कुराहरू छन्। उदाहरणका लागि, तिनको सङ्कलनमा रहेका काठको सर्वोत्कृष्ट जापानी ब्लकप्रिन्ट संसारकै सबैभन्दा उत्तम कृति मानिन्छ।
अर्कोतर्फ ललितकलाभन्दा बिलकुलै फरक, सयभन्दा बढी बेबिलोनी तथा सुमेरु माटोका पाटीहरूमा पुरातन कीलाक्षर लेखोटहरूको मनमोहक सङ्कलन छ। चार हजार वर्षभन्दा अघि मेसोपोटामियामा बसोबास गर्ने मानिसहरूले भिजेको माटोका पाटीहरूमा आफ्नो जीवन शैलीबारे विस्तृत विवरण कुँदे अनि त्यो आगोमा पोले। त्यस्ता पाटीहरूमध्ये थुप्रै अहिले हाम्रो समयसम्म पनि संरक्षित छन् र यसले यी लेखोटहरू कत्ति पुराना हुन् भन्ने स्पष्ट प्रमाण दिन्छ।
किताबहरूप्रतिको मोह
उत्कृष्ट खालका किताबहरू बनाउनको लागि चाहिने कलात्मक दक्षताबाट चेस्टर बेट्टी आकर्षित भएजस्तो देखिन्छ। तिनले हजारौं गैरधार्मिक तथा धार्मिक ग्रन्थहरू जम्मा गरे जसमा अत्यन्तै कुटिल ढङ्गमा कुँदिएका कुरानका प्रतिहरू पनि समावेश छन्। एक जना लेखकका अनुसार तिनी “अरबी लिपिको गणितीय अनुपात देखेर मुग्ध भएका थिए . . . र सुन तथा चाँदीको पातलो पत्र र अन्य चहकिलो धातुहरूका मिश्रणमा कुँदिएका सुन्दर लेखोटहरूबाट रङप्रतिको तिनको आकर्षण जाग्यो।”
अङ्ग्रेजी भाषामा जेड भनिने हरियो पत्थर देखेर चेस्टर बेट्टी मोहित भए र चीनका सुरु-सुरुका सम्राट्हरूले पनि यो पत्थर असाध्यै मन पराएका थिए। तिनीहरूले असल खालको जेडलाई सबै किसिमका धातु र सुनभन्दा पनि बहुमूल्य ठान्थे। ती शासकहरूले सिपालु कालिगडहरू चलाएर जेडको ढिस्कोलाई चिप्लो, पातलो पत्र बनाउन लगाए। त्यसपछि विशेष योग्यता भएका कलाकारहरूले ती जेडका पाताहरू कोमल सुन्दर अक्षर तथा चित्रहरूले भर्थे र त्यसमा सुनको जलप लगाउँथे। यसरी ती संसारमा अहिलेसम्म बनाइएका आश्चर्यलाग्दो पुस्तकहरूमध्ये पर्छन्। बेट्टीको सङ्कलनमा रहेका यी पुस्तकहरू विश्व प्रसिद्ध छन्।
अमूल्य बाइबल पाण्डुलिपिहरू
बाइबल प्रेमीहरूको लागि चेस्टर बेट्टीको सबैभन्दा बहुमूल्य सङ्कलन पुरातन तथा मध्ययुगका थुप्रै बाइबल पाण्डुलिपिहरू हुन्। अत्यन्तै सुन्दर ढङ्गमा सिंगारिएका पाण्डुलिपिहरूले प्रतिलिपकहरूको धीरज र कलात्मक सीप झल्काउँछ। मुद्रित पुस्तकमा चाहिं प्राचीन समयका किताब बनाउने र मुद्रकहरूको सीप तथा कारिगरी दक्षता प्रकट हुन्छ। उदाहरणका लागि, सन् १४७९ मा न्युरेमबर्गमा आन्टन कोबर्गरले बिबलिया लाटिना प्रकाशित गरेका थिए जो योहानेस गुटेनबर्गका समकालीन थिए र तिनलाई “प्राचीन समयका सबैभन्दा महत्त्वपूर्ण र सक्रिय मुद्रक” भनी व्याख्या गरिएको छ।
चेस्टर बेट्टी लाइब्रेरीमा एउटा असाधारण प्रदर्शन भनेको चौथो शताब्दीको सुरुतिरको सिरियाली शास्त्रविद् इफ्रायिमको भेलम पाण्डुलिपि हो। इफ्रायिमले डायाटेसारोन भनिने दोस्रो शताब्दीको पुस्तकबाट धेरै चोटि उद्धरण गरेका छन्। यसका लेखेक टाशेनले येशू ख्रीष्टको जीवनीबारे सुसमाचारका चारवटा पुस्तकका विवरणहरू एउटैमा गाभेका थिए। पछि लेखकहरूले डायाटेसारोन उल्लेख गरे तर यसको एउटै पनि प्रति अस्तित्वमा छैन। उन्नाइसौं शताब्दीका केही शास्त्रविद्हरूले यसको अस्तित्वबारे पनि शङ्का गर्न थाले। तथापि, सन् १९५६ मा टाशेनको डायाटेसारोन-मा इफ्रायिमको टिप्पणी बेट्टीले भेट्टाए र यसले बाइबलको प्रमाणिकता तथा सत्यताबारे पनि थप प्रमाण दियो।
पपाइरस पाण्डुलिपिहरूको बहुमूल्य सङ्कलन
बेट्टीले धार्मिक र गैरधार्मिक दुवै प्रकारका पपाइरस पाण्डुलिपिहरू पनि थुप्रै जम्मा गरे। पचासभन्दा बढी पपाइरस कोडेक्सहरू सा.यु. चौथो शताब्दीभन्दा अघिका छन्। यीमध्ये थुप्रै मिश्री मरुभूमिमा नचाहिने कुरा जत्तिकै शताब्दीयौंसम्म फालिरहेको पपाइरसको चाङमा भेट्टिएका थिए। यी थुप्रैजसो पापइरसहरू बिक्रीको लागि राँखिदा टुक्रा-टुक्रा भएको अवस्थामा थिए। यसका बिक्रेताहरू पपाइरसका टुक्राहरू भएका कागत बाकसहरू लिएर आउँथे। “यो किन्न इच्छुकहरूले बाकसभित्र आफ्नो हात हालेर धेरै लेखोट भएको पपाइरसको सबैभन्दा ठूलो टुक्रा छान्थे” भनी चेस्टर बेट्टी लाइब्रेरीको वेस्टर्न कलेक्सनका संरक्षक चार्ल्स हर्टन बताउँछन्।
हर्टनका अनुसार बेट्टीको “सबैभन्दा उल्लेखनीय सङ्कलनमा” बाइबलका बहुमूल्य कोडेक्सहरू पनि थिए जसमा “मसीही पुरानो र नयाँ नियमका अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा पुराना प्रतिहरू समावेश थिए।” ती कोडेक्सको मोल थाह भएका व्यापारीहरूले विभिन्न व्यक्तिहरूलाई बेच्न ती टुक्रा पारेका पनि हुन सक्छन्। तथापि, बेट्टी कोडेक्सको प्रायजसो अंश किन्न सफल भए। ती कोडेक्सहरू कत्तिको उल्लेखनीय छन्? सन् १८४४ मा टिशेनडोर्फले भेट्टाएको कोडेक्स साइनाइटिकसपछि भेटिएको यो “सबैभन्दा महत्त्वपूर्ण” पपाइरस हो भनी सर फेड्रीक केन्यन बताउँछन्।
यी कोडेक्सहरू सा.यु. दोस्रो र चौथो शताब्दीबीचका छन्। ग्रीक सेप्टुआजिन्टमा हिब्रू धर्मशास्त्रका पुस्तकहरूमध्ये उत्पत्तिको दुइटा प्रति छन्। यसको विशेष महत्त्व छ भनी केन्यन बताउँछन् “किनभने भानिकनस र साइनाइटिकसमा [उत्पत्तिको] पुस्तक” नै छैन र ती चौथो शताब्दीको भेलम पाण्डुलिपि हुन्। तीनवटा कोडेक्समा मसीही युनानी धर्मशास्त्रका पुस्तकहरू छन्। एउटामा सुसमाचारका चारवटा पुस्तकको अधिकांश भाग र प्रेरितको पुस्तकको प्रायजसो अंश छ। बेट्टीले पछि प्राप्त गरेको दोस्रो कोडेक्सका थप पानाहरूमा प्रेरित पावलको प्रायः सबै पत्रहरू र हिब्रूहरूलाई लेखेको तिनको पत्र समावेश छ। तेस्रोमा प्रकाशको पुस्तकको झन्डै एक तिहाइ भाग छ। केन्यनका अनुसार ती पपाइरसहरूले “नयाँ नियममा हाम्रो बलियो भरोसालाई झनै सुदृढ बनाएको छ।”
चेस्टर बेट्टी बिब्लिकल पपाइरसले देखाएअनुसार मसीहीहरूले सुरु-सुरुमा प्रयोग गरिने सँभाल्न गाह्रो बेरुवाको सट्टा सा.यु. प्रथम शताब्दीको अन्त हुनुअगावै कोडेक्स चलाउन थाले। लेख्ने सामग्रीको कमी हुँदा प्रतिलिपकहरूले पपाइरसका पानाहरू पुनः प्रयोग गरे भनेर पनि लेखोटहरूबाट स्पष्ट हुन्छ। उदाहरणका लागि, यूहन्नाको सुसमाचारको पुस्तकको केही अंश लेखिएको एउटा कोप्टिक पाण्डुलिपि “युनानी हिसाबहरू गरिएको स्कूलको खाता जस्तो देखिन्छ।”
ती पपाइरस हेर्नमा सुन्दर छैनन् तर ती अमूल्य छन्। ती मसीहीधर्मको सुरुवातसम्म पुऱ्याउने दृश्य, ठोस प्रमाण हुन्। “तपाईंले आफ्नै आँखाले प्रारम्भिक मसीही समुदायहरूले चलाएका किताबहरू देख्न सक्नुहुन्छ र तिनीहरूले यी किताबहरूको असाध्यै मोल गर्थे।” (हितोपदेश २:४, ५) तपाईंले यी अनमोल सङ्कलन चेस्टर बेट्टी लाइब्रेरीमा हेर्ने मौका पाउनुभयो भने तपाईंलाई व्यर्थै लाग्नेछैन।
[पृष्ठ ३१-मा भएको चित्र]
काट्सुशिका होकुसाइले गरेका काठको जापानी ब्लकप्रिन्ट
[पृष्ठ ३१-मा भएको चित्र]
“बिबलिया लाटिना” सुरु-सुरुतिर मुद्रण गरिएको बाइबलको प्रति थियो
[पृष्ठ ३१-मा भएको चित्र]
टाशेनको “डायाटेसारोन”-बारे इफ्रायिमको टिप्पणीले बाइबलको प्रमाणिकताबारे थप प्रमाण दिन्छ
[पृष्ठ ३१-मा भएको चित्र]
संसारको सबैभन्दा पुरानो कोडेक्स, चेस्टर बेट्टी P45 मा सुसमाचारका चारवटा पुस्तकको अधिकांश भाग र प्रेरितको पुस्तकको प्रायजसो अंश एउटै खण्डमा छन्
[पृष्ठ २९-मा भएको चित्रको स्रोत]
Reproduced by kind permission of The Trustees of the Chester Beatty Library, Dublin
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
All images: Reproduced by kind permission of The Trustees of the Chester Beatty Library, Dublin