प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१ pp. २०-२३
  • विवाहित जोडीबीच मतभेद खडा हुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाहित जोडीबीच मतभेद खडा हुँदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अवस्थालाई केलाउने
  • “होशियार रहो, तिमीहरू कसरी सुन्छौ”
  • सुन्‍नु र अन्तरदृष्टिको महत्त्व
  • झगडा जित्ने होइन, सुल्झाउने अठोट गर्नुहोस्‌
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
  • राम्ररी कुरा सुन्‍नुको अर्थ
    ब्यूँझनुहोस्‌!—२०१४
  • झगडा कसरी रोक्ने?
    ब्यूँझनुहोस्‌!—२०१३
  • बिहे गरेर पछुताउनुभएको छ?
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१ pp. २०-२३

विवाहित जोडीबीच मतभेद खडा हुँदा

सद्दे दिमाग भएको कुनै पनि पति वा पत्नीलाई दुई जनाबीच विवाद खडा हुँदा रमाइलो लाग्दैन तर यस्तो विवाद सामान्य कुरा हो। साधारणतया पति वा पत्नीमध्ये एउटाले भनेको कुराले अर्कोलाई झोक चल्छ। त्यसपछि दुवै जना ठूल्ठूलो स्वरले कराउन थाल्छन्‌, कन्चट तात्न थाल्छ अनि रिसको झोकमा घोच्ने टिकाटिप्पणी बर्सन थाल्छ। अनि छाउँछ सन्‍नाटा, पतिपत्नी दुवै जिराहा भएर एकअर्कासित कुरा गर्नै मान्दैनन्‌। समय बितेपछि रिस सेलाउँछ अनि दुवैले एकअर्कासित माफी माग्छन्‌। कमसेकम अर्को चोटि मतभेद नहोउन्जेलसम्म फेरि शान्ति हुन्छ।

विवाहित जोडीबीचको भनाभन टेलिभिजन कार्यक्रममा कहिल्यै नसिद्धिने ठट्टा र कथावस्तुको स्रोत भएको छ तर वास्तविकता भने पर्दामा देखाइने जस्तो हाँसउठ्‌दो छैन। निस्सन्देह, एउटा बाइबल हितोपदेश यसो भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” (हितोपदेश १२:१८) हो, कडा बोलीले गर्दा भावनात्मक चोट पुग्न सक्छ र यस्तो चोट विवाद साम्य भएको धेरै पछिसम्म रहिरहन्छ। भनाभनले गर्दा हिंसासमेत हुन सक्छ।—प्रस्थान २१:१८.

निस्सन्देह, मानव असिद्धताले गर्दा विवाहमा कहिलेकाहीं त समस्याहरू भइहाल्छन्‌। (उत्पत्ति ३:१६; १ कोरिन्थी ७:२८) तैपनि, पटक-पटक हुने अनि चर्को विवादहरूलाई सामान्य ठानेर त्यत्तिकै बेवास्ता गर्नु भने हुँदैन। पटक-पटक झगडा गर्ने बानी नै परिसकेको छ भने यस्तो दम्पतीको सम्बन्ध विच्छेद हुने सम्भावना पनि बढी हुन्छ भनी विशेषज्ञहरू बताउँछन्‌। यसर्थ, मतभेद हुँदा तपाईं र तपाईंको जोडीले शान्तिपूर्ण ढङ्‌गमा सुल्झाउन सिक्नु अत्यावश्‍यक छ।

अवस्थालाई केलाउने

तपाईंको विवाहमा भनाभन भइरहन्छ भने झगडा सुरु हुने र त्यो सामना गर्ने तरिका एकै किसिमको छ कि, सो पत्ता लगाउने कोसिस गर्नुहोस्‌। साधारणतया, तपाईं र तपाईंको जोडीबीच कुरा नमिल्दा के हुन्छ? के तपाईंहरूको कुराकानी तुरुन्तै नियन्त्रणबाहिर गएर एकअर्काको अपमान र आरोप प्रत्यारोप हुन जान्छ? त्यसो हो भने तपाईं के गर्न सक्नुहुन्छ?

सर्वप्रथम, एक जना व्यक्‍तिको हिसाबमा तपाईंले समस्यालाई कसरी बढाइरहनुभएको हुन सक्छ, त्यसबारे इमानदार भएर केलाउनुहोस्‌। के तपाईंलाई तुरुन्तै रिस उठिहाल्छ? के तपाईं झगडालु स्वभावको हुनुहुन्छ? यस सन्दर्भमा तपाईंको पति वा पत्नीको विचार के छ? यो अन्तिम प्रश्‍नलाई ध्यान दिनु महत्त्वपूर्ण छ किनभने कस्तो स्वभावलाई झगडालु स्वभाव भन्‍न मिल्छ भन्‍ने सन्दर्भमा तपाईं र तपाईंको पति वा पत्नीको धारणा फरक हुन सक्छ।

उदाहरणका लागि, मानिलिनुहोस्‌ तपाईंको जोडी आफ्ना भावनाहरू खुलस्त व्यक्‍त नगर्ने अनि त्यति धेरै नबोल्ने स्वभावका छन्‌ तर तपाईं भने आफ्ना विचारहरू खुलस्त बताउनुहुन्छ अनि आफ्ना भावनाहरू नलुकाईकन व्यक्‍त गर्नुहुन्छ। तपाईं भन्‍नुहोला: “म हुर्कंदै गर्दा हाम्रो परिवारमा सबैले त्यसरी नै कुरा गर्थे। झगडा गरेको त होइन नि!” अनि सायद तपाईं त्यसलाई झगडा गरेको ठान्‍नुहुन्‍न होला। सायद तपाईंलाई खुलस्त कुराकानी जस्तो लागेको कुरा तपाईंको जोडीलाई भने अरूको चित्त दुखाउने अनि झगडालु किसिमको लाग्न सक्छ। कुराकानी गर्ने सन्दर्भमा तपाईं र तपाईंको जोडीको बेग्लाबेग्लै स्टाइल छ भनेर सजग हुँदा मात्र पनि एकअर्काप्रतिको असमझदारी धेरै हदसम्म कम गर्न सकिन्छ।

ठूल्ठूलो स्वरले चिच्याउनु मात्र झगडा गर्नु होइन भनेर नबिर्सनुहोस्‌। पावलले मसीहीहरूलाई यस्तो लेखे: “हो-हल्ला, . . . वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) यसको मतलब स्वर उचालेर ठूल्ठूलो स्वरले बोल्नु मात्र होइन तर झगडालु शब्दहरू प्रहार गर्नु पनि हो। यसलाई विचार गर्दा रिस उठाउने र अपमानजनक छ भने सानो स्वरले बोलिएका शब्दहरू पनि झगडालु किसिमको हुन सक्छ।

यी कुराहरूलाई विचार गर्दै, आफ्नो पति वा पत्नीसित मतभेद हुँदा तपाईं के गर्नुहुन्छ, विचार गर्नुहोस्‌। के तपाईं झगडालु हुनुहुन्छ? हामीले माथि विचार गरेझैं उक्‍त प्रश्‍नको वास्तविक जवाफ तपाईंको पति वा पत्नीको दृष्टिकोण कस्तो छ, त्यसमा धेरै हदसम्म निर्भर हुन्छ। आफ्नो पति वा पत्नी अति नै संवेदनशील अर्थात्‌ भावुक भएको ठानेर तिनको दृष्टिकोणलाई बेवास्ता गर्नुको साटो तपाईंको जोडीले तपाईंलाई जुन दृष्टिकोणले हेर्छन्‌, तपाईंले पनि आफूलाई त्यही दृष्टिकोणबाट हेर्ने कोसिस गर्नुहोस्‌ अनि आवश्‍यक छाँटकाँटहरू गर्नुहोस्‌। पावलले यस्तो लेखे: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।”—१ कोरिन्थी १०:२४.

“होशियार रहो, तिमीहरू कसरी सुन्छौ”

मतभेदहरू सुल्झाउने अर्को पक्ष येशूका यी शब्दहरूमा पाइन्छ: “होशियार रहो, तिमीहरू कसरी सुन्छौ।” (लूका ८:१८) हो, येशूले यहाँ विवाहित जोडीबीच हुने कुराकानीबारे कुरा गरिरहनुभएको थिएन। तैपनि यो सिद्धान्त विवाहमा पनि लागू हुन्छ। तपाईं आफ्नो पति वा पत्नीको कुरा कत्तिको राम्ररी सुन्‍नुहुन्छ? के तपाईं सुन्‍नु त हुन्छ? अथवा समस्याबारे राम्ररी नबुझीकनै एउटा अति-सजिलो समाधान बताएर बीचैमा कुरा काट्‌नुहुन्छ? बाइबल यसो भन्छ: “राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” (हितोपदेश १८:१३) मतभेद हुँदा तपाईं र तपाईंको पति वा पत्नी बसेर त्यसबारे कुरा गर्नुपर्छ अनि एकअर्काको कुरा साँच्चै सुन्‍नुपर्छ।

आफ्नो जोडीको धारणालाई हल्कासित लिनुको साटो “सहानुभूति” अर्थात्‌ सँगीभाव देखाउने प्रयास गर्नुहोस्‌। (१ पत्रुस ३:८) मौलिक युनानीमा यस अभिव्यक्‍तिले खास गरी अर्को व्यक्‍तिसँगै दुःख भोग्नु भन्‍ने अर्थ बुझाउँछ। तपाईंको जोडी कुनै कारणले गर्दा चिन्तित छन्‌ भने तिनको भावना बुझ्न खोज्नुहोस्‌। त्यस कुरालाई आफ्नो पति वा पत्नीको दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्‌।

स्पष्टतः ईश्‍वरभीरु पुरुष इसहाकले त्यसै गर्थे। बाइबलले बताएअनुसार तिनकी पत्नी रिबेका आफ्नो छोरा याकूबसित सम्बन्धित परिवारको एउटा कुराले गर्दा असाध्यै विचलित भएकी थिइन्‌। उनले इसहाकलाई यसो भनिन्‌, “हेत वंशी स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले पनि यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गऱ्‍यो भने मैले बाँचेर के फायदा हुन्छ?”—उत्पत्ति २७:४६.

हुन त हो, चिन्तित भएकी हुँदा रिबेकाले उक्‍त कुरालाई बढ्‌तै ठूलो ठानिन्‌। वास्तवमा, के उनी साँच्चै आफ्नो जीवनदेखि हैरान भएकी थिइन्‌? उनको छोराले हेत वंशी स्त्रीहरूसित विवाह गरेको खण्डमा के उनी साँच्चै मर्न चाहने थिइन्‌? सायद त्यसो होइन होला। तैपनि, इसहाकले रिबेकाका भावनाहरूलाई हल्कासित लिएनन्‌। बरु, रिबेकाले यस्तो चिन्ता व्यक्‍त गर्नुको जायज कारण थियो भनेर इसहाकले बुझे अनि यसै अनुरूप कदम चाले। (उत्पत्ति २८:१) अर्को चोटि तपाईंको पति वा पत्नीले कुनै विषयमा चिन्ता व्यक्‍त गर्दा तपाईं पनि यस्तै गर्नुहोस्‌। यसलाई एकदमै फासफुसे कुरा ठानेर बेवास्ता गर्नुको साटो तपाईंको जोडीको कुरा सुन्‍नुहोस्‌, तिनको दृष्टिकोणको आदर गर्नुहोस्‌ अनि अनुकम्पापूर्ण ढङ्‌गमा प्रतिक्रिया देखाउनुहोस्‌।

सुन्‍नु र अन्तरदृष्टिको महत्त्व

एउटा बाइबल हितोपदेश यसो भन्छ: “मानिसको अन्तरदृष्टिले उसको रिस कम गर्छ।” (हितोपदेश १९:११, NW) चर्को भनाभन भइरहेको बेला आफ्नो पति वा पत्नीले भनेको हरेक तीखो वचनको बदलामा आफूले पनि सोचविचारै नगरी प्याच्च बोलिहाल्नु कुनै गाह्रो कुरा होइन। तर यसो गर्दा अक्सर झगडा झनै चर्कन्छ। यसकारण आफ्नो जोडीको कुरा सुन्दा तिनले व्यक्‍त गर्ने शब्दहरू मात्र नभई ती शब्दहरूको पछाडि कस्तो भावना लुकेको छ, त्यो पनि सुन्‍न कटिबद्ध हुनुहोस्‌। यस्तो अन्तरदृष्टि देखाउँदा सानोतिनो व्यक्‍तिगत कुराहरूलाई बिर्सेर समस्याको जडसम्म पुग्न मदत पाउनुहुनेछ।

उदाहरणका लागि, तपाईंकी पत्नी तपाईंलाई यसो भन्छिन्‌, “तपाईं मसित पटक्कै समय बिताउनुहुन्‍न!” यस्तो कुरा सुन्‍ने बित्तिकै झोक चलिहाल्ने अनि एकदमै भावशून्य भई यसको खण्डन गरिहाल्ने तपाईंको झुकाव हुन सक्छ। तपाईं यस्तो जवाफ दिनुहोला, “गएको महिना त मैले पूरै एक दिन तिमीसितै बिताएको थिएँ नि!” तर तपाईंले ध्यान दिएर सुन्‍नुभयो भने तपाईंकी श्रीमतीले वास्तवमा अझ बढी मिनेट वा घण्टा मसित बिताउनुस्‌ भनिरहेकी होइनन्‌ भनेर थाह पाउनुहुनेछ। त्यसो नभई तपाईंको प्रेमको आश्‍वासन खोजिरहेकी, आफू बेवास्ता गरिएकी र माया नपाएको महसुस गर्छु भनिरहेकी हुन सक्छिन्‌।

मानौं तपाईं पत्नी हुनुहुन्छ र तपाईंले हालै गर्नुभएको किनमेलप्रति तपाईंको श्रीमान्‌ले चिन्ता व्यक्‍त गर्छन्‌। तिनी तीन छक पर्दै यस्तो प्रश्‍न गर्छन्‌, “यति धेरै पैसा खर्च गऱ्‍यौ?” तपाईंलाई परिवारको खर्चहिसाब सुनाएर वा आफ्नो श्रीमान्‌ले किनेको कुनै सामानसित आफूले किनेको सामानको तुलना गरेर आफ्नो कुरा नै माथि पारूँ जस्तो लाग्न सक्छ। तथापि, अन्तरदृष्टि छ भने तपाईंको श्रीमान्‌ले वास्तवमा पैसाको कुरा गरिरहेका होइनन्‌ भनेर बुझ्न तपाईंले मदत पाउनुहुनेछ। बरु, यत्रो ठूलो किनमेल गर्दा समेत तिनीसित कुनै सरसल्लाह नगरेकोले तिनलाई नमीठो लागेको हुन सक्छ।

हुन त, सँगै कति समय बिताउने अनि किनमेलसम्बन्धी निर्णयहरू कसरी गर्ने भन्‍ने सन्दर्भमा प्रत्येक दम्पतीको आ-आफ्नै तरिका हुन सक्छ। मुख्य कुरा के हो भने, कुनै पनि मामिलामा मतभेद भयो भने अन्तरदृष्टिले रिस कम गर्न अनि वास्तवमा कुरा के हो, सो बुझ्न मदत गर्नेछ। आवेगमा आएर जवाफ दिईहाल्नुको साटो “सुन्‍नलाई छिट्टो, बोल्नलाई ढीलो र रिसाउनलाई धीमा होस्‌” भन्‍ने बाइबल लेखक याकूबको सल्लाह पालन गर्नुहोस्‌।—याकूब १:१९.

बोलिहाल्नुभयो भने पनि तपाईं आफ्नो जोडीसित कसरी बोल्नुहुन्छ, त्यो महत्त्वपूर्ण छ भनेर नबिर्सनुहोस्‌। “बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ” भनेर बाइबलले बताउँछ। (हितोपदेश १२:१८) तपाईं र तपाईंको जोडीबीच मतभेद हुँदा के तपाईंका शब्दहरूले चोट पुऱ्‍याउँछ वा निको पार्छ? के ती शब्दहरूले अवरोध खडा गर्छ वा मिलापको लागि बाटो तयार पार्छ? हामीले यहाँ छलफल गरेझैं रिसको झोकमा वा आवेगमा आएर दिएको जवाफले केवल झगडा मच्चाउँछ।—हितोपदेश २९:२२.

दुई जना बीचको मतभेद पछि गएर चर्को भनाभनमा परिणत हुन थाल्छ भने कुरा नमिल्नुको मुख्य कारण के हो, त्यसैको समाधान गर्न अझ प्रयास गर्नुहोस्‌। मानिसलाई होइन तर समस्याको कारणलाई ध्यान दिनुहोस्‌। कसको कुरा सही हो भन्‍नुभन्दा कुन कुरा सही हो, त्यसमा बढी ध्यान दिनुहोस्‌। तपाईंका शब्दहरूले आगोमा घिउ नथप्न होसियार हुनुहोस्‌। बाइबल यसो भन्छ: “नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) हो, तपाईं के भन्‍नुहुन्छ र कसरी भन्‍नुहुन्छ, त्यसले तपाईंको जोडीको साथ पाउने हो कि होइन, त्यसमा असर गर्न सक्छ।

झगडा जित्ने होइन, सुल्झाउने अठोट गर्नुहोस्‌

मतभेदहरू हुँदा झगडा जित्नु नभई समाधान खोज्नु हाम्रो लक्ष्य हुनुपर्छ। तपाईं कसरी समाधानमा पुग्न सक्नुहुन्छ? यस्तो समाधान भेट्टाउने सबैभन्दा भरपर्दो तरिका बाइबलको सल्लाह खोज्नु अनि त्यो लागू गर्नु हो। अनि यसो गर्न विशेष गरी पतिहरू अग्रसर हुनुपर्छ। कुनै मामिला वा समस्यामा आफ्नो कडा प्रतिक्रिया तुरुन्तै व्यक्‍त गरिहाल्नुअघि त्यस समस्यालाई यहोवाको दृष्टिकोणले हेर्नुभए कसो होला? उहाँलाई प्रार्थना गर्नुहोस्‌ अनि तपाईंको हृदय र विचारलाई रक्षा गर्ने परमेश्‍वरको शान्ति खोज्नुहोस्‌। (एफिसी ६:१८; फिलिप्पी ४:६, ७) तपाईंको आफ्नो मात्र होइन तर तपाईंको जोडीको पनि व्यक्‍तिगत चासोमा ध्यान दिने उत्कट प्रयास गर्नुहोस्‌।—फिलिप्पी २:४,

चोट पुगेका भावना तथा अनियन्त्रित आवेगलाई तपाईंको सोचाइ र कार्यमाथि प्रभुत्व जमाउन दिनुभयो भने अवस्था झनै बिग्रन्छ। अर्कोतर्फ, परमेश्‍वरको वचनले दिने सल्लाहअनुसार छाँटकाँट गर्न तत्पर हुँदा शान्ति, मिलाप र यहोवाको आशिष्‌ प्राप्त गर्न सकिन्छ। (२ कोरिन्थी १३:११) त्यसैले ‘माथिबाट आउने ज्ञानको’ निर्देशनअनुसार चल्नुहोस्‌, ईश्‍वरीय गुणहरू प्रकट गर्नुहोस्‌ अनि “मेल-मिलाप खोज्नेहरू[ले]” प्राप्त गर्ने आशिष्‌ पाउनुहोस्‌।—याकूब ३:१७, १८.

साँच्चै, शान्तिपूर्ण ढङ्‌गमा मतभेदहरू सुल्झाउन सबैले सिक्नै पर्छ, चाहे यसो गर्न आफ्ना व्यक्‍तिगत रुचिहरू त्याग्न नै किन नपरोस्‌। (१ कोरिन्थी ६:७) निस्सन्देह, पावलको यो सल्लाह पालन गर्नुहोस्‌, ‘तिमीहरूले पनि रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग। . . . पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्यागेर नयाँ चोला धारण गर।’—कलस्सी ३:८-१०.

आफूले बोलेका कुराहरूमा कहिलेकाहीं तपाईं अवश्‍य पछुताउनुहुनेछ। (याकूब ३:८) यसो हुँदा आफ्नो जोडीसित माफी माग्नुहोस्‌। यस सन्दर्भमा प्रयास गरिरहनुहोस्‌। समयको दौडान तपाईं र तपाईंको जोडीले मतभेदहरू हुँदा कसरी त्यसको सामना गर्नुहुन्छ, त्यसमा निकै सुधार आएको देख्नुहुनेछ।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

भनाभनलाई चर्किन नदिने तीनवटा कदम

• तपाईंको जोडीको कुरा सुन्‍नुहोस्‌।—हितोपदेश १०:१९

• तिनको दृष्टिकोणको आदर गर्नुहोस्‌।—फिलिप्पी २:४

• मायालु ढङ्‌गमा प्रतिक्रिया देखाउनुहोस्‌।—१ कोरिन्थी १३:४-७

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

अब तपाईं के गर्न सक्नुहुन्छ

तपाईंको जोडीलाई तल दिइएका प्रश्‍नहरू सोध्नुहोस्‌ अनि बीचमा कुरा नकाटीकन तिनको जवाफ सुन्‍नुहोस्‌। अनि तपाईंको जोडीले पनि यसै गर्न सक्छन्‌।

• के ममा झगडालु झुकाव छ?

• तिमीले/तपाईंले आफ्नो कुरा व्यक्‍त गर्दा के म साँच्चै सुन्छु वा तिम्रो/तपाईंको कुरा नै नसिद्धीकन म बीचैमा बोलिहाल्छु?

• के मैले व्यक्‍त गर्ने शब्दहरू तिमीलाई/तपाईंलाई असंवेदनशील वा रिसाएको जस्तो लाग्छ?

• हाम्रो कुराकानी गर्ने शैलीलाई सुधार्न हामी दुवैले के गर्न सक्छौं, विशेष गरी हामी दुई जनाबीच कुरा नमिल्दा?

[पृष्ठ २१-मा भएको चित्र]

के तपाईं सुन्‍नुहुन्छ?

[पृष्ठ २२-मा भएको चित्र]

“आफू बेवास्ता गरिएकी र माया नपाएकी महसुस गर्छु”

[पृष्ठ २२-मा भएको चित्र]

“तपाईं मसित पटक्कै समय बिताउनुहुन्‍न!”

[पृष्ठ २२-मा भएको चित्र]

“गएको महिना त मैले पूरै एक दिन तिमीसितै बिताएको थिएँ नि!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने