जीवनी
यहोवाको मार्गमा हिंड्नेहरूलाई उहाँ प्रचुर मात्रामा इनाम दिनुहुन्छ
रोम्याल्ट स्टाफ्स्कीको वृत्तान्तमा आधारित
सन् १९३९ को सेप्टेम्बर महिनामा दोस्रो विश्वयुद्ध सुरु हुँदा उत्तरी पोल्याण्डमा भीषण युद्ध मच्चिएको थियो। त्यतिखेर म नौ वर्षको थिएँ र जिज्ञासु स्वभाव भएकोले युद्ध हेर्न म नजिकैको युद्धभूमि गएँ। मैले जे देखें, त्यो दृश्य अत्यन्त भयावह थियो—जताततै लास छरिएका थिए अनि युद्धभूमि गोली र बारुदको धूवाँले भरिएकोले सास फेर्नसमेत गाह्रो थियो। सुरक्षितसाथ कसरी घर पुग्ने होला भन्ने कुराको बढी चिन्ता भए पनि मेरो मनमा यस्ता प्रश्नहरू खेलिरहेका थिए: “परमेश्वरले किन यस्तो भयानक स्थिति हुन दिनुभएको होला? परमेश्वर कसको पक्षमा हुनुहुन्छ?”
युद्ध अन्त हुनुभन्दा केही समयअघि जवान केटाहरूलाई जबरजस्ती जर्मन शासनको लागि काम गर्न लगाइयो। काम गर्न नमान्ने हरेकलाई छातीमा “देशद्रोही” अथवा “विध्वंसकारी” भनी लेखेर वा टाँसेर रूख अथवा पुलमा झुन्ड्याएर मारिन्थ्यो। हामी बस्ने सहर गिड्निया दुई प्रतिद्वन्द्वी सैन्यदल अर्थात् जर्मन र सोभियत सेनाको बीचमा पर्थ्यो। सहरबाहिर पानी लिन गएको बेला बन्दुकको गोली र बम हाम्रै टाउको माथिबाट जाँदा मेरो भाइ हेनरिकको ज्यानै गयो। यस्तो अत्यन्त भयावह स्थिति भएको कारण मेरी आमाले हामी चार जना छोराछोरीलाई जमिनमुनिको कोठामा सार्नुभयो। त्यहाँ बस्दा मेरो दुई वर्षको भाइ युगान्युसको भ्यागुते रोगको कारण मृत्यु भयो।
मैले फेरि आफैलाई सोधें: “खोइ! परमेश्वर कहाँ हुनुहुन्छ? उहाँले किन यत्तिबिघ्न दुःखकष्ट हुन दिनुभएको?” म एक जना जोसिलो क्याथोलिक हुनुका साथै नियमित रूपमा चर्च धाउँथें तरैपनि मैले यी प्रश्नहरूको जवाफ पाइनँ।
मैले बाइबल सत्य स्वीकारें
मैले मेरा प्रश्नहरूको जवाफ सोच्दै नसोचेको स्रोतबाट पाएँ। सन् १९४५ मा युद्ध अन्त्य भयो र सन् १९४७ को सुरुतिर एक जना यहोवाको साक्षी गिड्नियास्थित हाम्रो घरमा आए। मेरी आमाले ती साक्षीसित कुरा गर्नुभएको थियो र मैले पनि केही कुरा सुन्न पुगें। कुरा मनासिब लागेको कारण हामीले मसीही सभा आउने निम्तो स्वीकाऱ्यौं। बाइबल सत्य पूर्णतया नबुझे तापनि एक महिनापछि नै मैले स्थानीय साक्षीहरूसित मिलेर युद्ध तथा क्रूरताबाट मुक्त एउटा सुन्दर संसारबारे अरूलाई प्रचार गर्न थालें। त्यसरी प्रचार गरेर मैले धेरै आनन्द उठाएँ।
सन् १९४७ को सेप्टेम्बर महिनामा सोपोटमा आयोजित क्षेत्रीय सम्मेलनमा मैले बप्तिस्मा लिएँ। त्यसपछि मे महिनामा नियमित अग्रगामी सेवा सुरु गरेर मैले आफ्नो अधिकांश समय अरूलाई बाइबलको सन्देश प्रचार गर्न बिताएँ। स्थानीय पादरीले हाम्रो कामको तीव्र विरोध गर्नुका साथै हाम्रो विरुद्धमा हूलदङ्गा मच्चाउन मानिसहरूलाई उक्सायो। एक चोटि त रिसले आगो भएका मानिसहरूको एउटा हूलले हामीलाई आक्रमण गऱ्यो, हामीलाई ढुङ्गामूढा गर्नुका साथै चुट्नुसम्मै चुट्यो। अर्को पटकचाहिं स्थानीय नन तथा पादरीहरूले मानिसहरूको एउटा समूहलाई हामीलाई आक्रमण गर्न उक्साए। हामीले प्रहरी चौकीमा शरण लियौं तर त्यस समूहले प्रहरी चौकीलाई नै रिङ्गै घेरेर हामीलाई कुटपिट गर्ने धम्की दियो। अन्तमा थप प्रहरी बल आइपुगेपछि कडा सुरक्षाबीच हामीलाई त्यहाँबाट अन्तै लगियो।
त्यतिखेर हामीले प्रचार गर्ने इलाकामा एउटै पनि मण्डली थिएन। कहिलेकाहीं हामी खुला आकाशमुनिको जङ्गलमै रात बिताउँथ्यौं। अवस्था जस्तोसुकै भए पनि प्रचारकार्य गरिरहन सकेकोमा हामी खुसी थियौं। आज, त्यस इलाकामा थुप्रै बलिया मण्डलीहरू स्थापना भइसकेका छन्।
बेथेल सेवा र गिरफ्तार
सन् १९४९ मा मलाई वुचस्थित बेथेलघरमा आमन्त्रित गरियो। यस्तो ठाउँमा सेवा गर्न पाउनु एउटा ठूलो सुअवसर थियो! दुःखको कुरा, बेथेलमा म धेरै लामो समयसम्म बस्न पाइनँ। सन् १९५० को जून महिनामा अर्थात् हाम्रो काममाथि आधिकारिक रूपमा प्रतिबन्ध लाग्नुभन्दा एक महिनाअघि बेथेलका अन्य भाइहरू सँगसँगै म पनि गिरफ्तार भएँ। मलाई जेल लगेर क्रूरतापूर्वक केरकार गरियो।
नियमित रूपमा न्यु योर्क जाने एउटा पानीजहाजमा मेरो बुबा काम गर्नुहुने भएकोले मलाई केरकार गर्ने अधिकारीहरूले म संयुक्त राज्य अमेरिकाको एक जना गुप्तचर हुँ भन्ने कुरा स्वीकार्न लगाउने चेष्टा गरे। तिनीहरूले मलाई निर्ममतापूर्वक केरकार गर्न छोडेनन्। त्यति मात्र होइन, चार जना अधिकारीहरूले एकैसाथ मलाई त्यतिखेर पोल्याण्डमा हाम्रो गतिविधिको सुपरिवेक्षण गर्नुहुने भाइ भिल्हेम शाइडरको विरुद्धमा बयान दिन लगाए। तिनीहरूले मलाई मोटो-मोटो लट्ठीले कुर्कुच्चामा हिर्काउनसम्म हिर्काए। रगतपच्छे भएर भुइँमा लडेको बेला अब सहन सक्दिनँ जस्तो लागेपछि मैले चिच्च्याएर भनें, “हे यहोवा, मलाई बचाउनुहोस्!” मलाई पिटिरहेका व्यक्तिहरू एक तमासले हेऱ्याहेऱ्यै भए र मलाई पिट्न छाडे। केही मिनेटमै तिनीहरू भुसुक्क निदाए। मलाई सन्चो महसुस हुनुका साथै पुनः बलियो भएको अनुभूति भयो। आफ्ना समर्पित सेवकहरूले मदतको लागि यहोवालाई गुहार्दा उहाँले मायालुपूर्वक त्यसको जवाफ दिनुहुन्छ भनेर त्यस घटनाबाट म विश्वस्त हुन सकें। यसले मेरो विश्वासलाई सुदृढ पार्नुका साथै परमेश्वरमाथि पूर्ण विश्वस्तता कायम राख्न सिकायो।
छानबिनको अन्तिम रिपोर्टमा मैले नै दिएजस्तो देखिने एउटा झूटो गवाही पनि समावेश थियो। मैले त्यसबारे आपत्ति जनाउँदा एक जना अफिसरले यसो भने, “जे भन्नु छ अदालतमै गएर भन्नू!” जेलका एक जना मिलनसार मित्रले मलाई चिन्ता नगर्न भने किनकि अन्तिम रिपोर्ट सेनाका वकिलले पक्का गर्न बाँकी नै थियो र त्यतिखेर मैले गलत गवाहीको खण्डन गर्ने मौका पाउने थिएँ। नभन्दै त्यस्तै भयो पनि।
क्षेत्रीय कार्य र फेरि जेल सजाय
सन् १९५१ को जनवरी महिनामा म रिहा भएँ। रिहा भएको एक महिनापछि मैले परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्न थालें। प्रतिबन्धको बावजुद मण्डलीहरूलाई सुदृढ पार्न र सुरक्षामा खटिएका प्रहरीहरूको क्रियाकलापको कारण छरपस्ट भएका सँगी साक्षीहरूलाई मदत गर्न मैले अरू भाइहरूसित मिलेर काम गरें। हामीले भाइहरूलाई सेवकाईमा लागिरहन प्रोत्साहित गऱ्यौं। पछिल्ला वर्षहरूमा यी भाइहरूले साहसपूर्वक परिभ्रमण निरीक्षकहरूलाई सहयोग गर्नुका साथै लुकिछिपी बाइबल साहित्यहरू छाप्ने तथा वितरण गर्ने काम गरिरहे।
सन् १९५१ को अप्रिल महिनाको कुरा हो, एक दिन म मसीही सभामा उपस्थित भएर घर फर्किंदै गर्दा मेरो चियो गरिरहेका सुरक्षा अधिकारीहरूले मलाई सडकमा गिरफ्तार गरे। तिनीहरूले सोधेका प्रश्नहरूको जवाफ दिन मैले इन्कार गरेको कारण तिनीहरूले मलाई बाइड्गोसिजको जेलमा लगे र त्यही रात मलाई केरकार गर्न थाले। मलाई छ दिन छ रात खाना अथवा पानी केही नखाईकन भित्तामा उभिरहने आदेश दिइयो, त्यै पनि अफिसरहरूले पिएको चुरोटको धूवै-धूवाँले भरिएको कोठामा। तिनीहरूले मलाई लट्ठीले कुटे र चुरोटले पोले। म बेहोस भएर लडेपछि तिनीहरूले मलाई पानी छर्केर होसमा ल्याए र फेरि केरकार गर्न थाले। सहने बल दिनुहोस् भनेर मैले यहोवालाई बिन्ती गरें र उहाँले मलाई सँभाल्नुभयो।
बाइड्गोसिज जेलमा बस्दा केही राम्रा कुराहरू पनि भए। त्यहाँ छँदा मैले अरू बेला भेट्न नसकिने व्यक्तिहरूलाई बाइबल सत्यबारे बताउन सकें। साँच्चै भन्ने हो भने, त्यहाँ मैले साक्षी दिने धेरै मौका पाएँ। आफ्नो अवस्था दयनीय तथा आशाहीन भएकोले कैदीहरू खुसीसाथ सुसमाचार सुन्थे।
दुईवटा महत्त्वपूर्ण परिवर्तन
सन् १९५२ मा रिहा भएलगत्तै एउटी जोसिलो अग्रगामी बहिनी निलासित मेरो भेट भयो। उनले दक्षिणी पोल्याण्डमा अग्रगामी गरिरहेकी थिइन्। पछि उनले हाम्रो साहित्य छाप्ने एउटा गुप्त ठाउँ “बेकरीमा” काम गरिन्। सतर्क रहनुपर्ने र आत्मत्याग चाहिने त्यस ठाउँमा काम गर्नु निकै गाह्रो थियो। हामीले सन् १९५४ मा विवाह गऱ्यौं र हाम्री छोरी लिडियाको जन्म नहोउन्जेल पूर्ण-समय सेवा गरिरह्यौं। त्यसपछि मैले परिभ्रमण कार्य छोड्न नपरोस् भनेर छोरीको हेरविचार गर्न निलाले पूर्ण-समय सेवा छोडेर घर फर्कने निर्णय गऱ्यौं।
त्यसै वर्ष हामीले फेरि अर्को महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भयो। पोल्याण्डको एक तिहाइ इलाका ढाक्ने क्षेत्रमा जिल्ला निरीक्षकको रूपमा सेवा गर्न मलाई भनियो। हामीले त्यस विषयलाई प्रार्थनापूर्वक विचार गऱ्यौं। प्रतिबन्धमा भएका हाम्रा भाइहरूलाई बलियो बनाउनु कत्ति महत्त्वपूर्ण छ भन्ने कुरा मलाई थाह थियो। धेरै भाइहरूलाई गिरफ्तार गरिंदै गरेको कारण आध्यात्मिक प्रोत्साहनको ठूलो खाँचो थियो। निलाको सहयोग पाएर मैले त्यो जिम्मेवारी स्वीकारें। यहोवाले मलाई जिल्ला निरीक्षकको हैसियतमा ३८ वर्षसम्म सेवा गर्न मदत गर्नुभयो।
“बेकरीहरूको” रेखदेख गर्दै
त्यस समयमा, एकान्त ठाउँहरूमा भएका “बेकरीहरूको” रेखदेख जिल्ला निरीक्षकले नै गर्नुपर्थ्यो। हाम्रो छापाखाना पत्ता लगाएर बन्द गराउने प्रयासमा जहिले पनि प्रहरी हाम्रो पिछा गरिरहन्थ्यो। कहिलेकाहीं त तिनीहरू आफ्नो उद्देश्यमा सफल भए तर हामीलाई आवश्यक आध्यात्मिक भोजनको कहिल्यै अभाव भएन। यहोवाले हाम्रो ख्याल गरिरहनुभएको थियो भन्ने कुराको त्यो एउटा स्पष्ट प्रमाण थियो।
छापाखानाजस्तो जोखिमपूर्ण र कडा परिश्रम गर्नुपर्ने ठाउँमा काम गर्न जान चाहने व्यक्ति वफादार, सतर्क, आत्मत्यागी र आज्ञाकारी हुनुपर्थ्यो। तिनै गुणहरूले गर्दा “बेकरी” निरन्तर सुरक्षितसाथ सुचारु रूपमा सञ्चालन भइरहन सक्यो। लुकिछिपी हाम्रा साहित्यहरू छाप्ने राम्रो ठाउँ खोज्नु निकै गाह्रो पर्थ्यो। कुनै-कुनै ठाउँ उपयुक्त थियो तर त्यहाँका भाइहरू त्यति सावधान थिएनन्। अरू ठाउँहरूमा चाहिं अवस्था ठीक उल्टो थियो। हाम्रा भाइहरू असाधारण त्यागहरू गर्न इच्छुक थिए। जो-जो भाइबहिनीसित काम गर्ने सुअवसर पाएँ उनीहरूलाई म धेरै कदर गर्थें।
सुसमाचारको पक्षमा खडा हुँदै
ती असहज वर्षहरूको दौडान हामीलाई पटक-पटक अवैध, अराजक क्रियाकलापमा संलग्न भएको आरोप लगाएर अदालत लगियो। त्यो एउटा समस्या थियो किनभने हाम्रो पक्षमा वकालत गर्ने वकिलहरू थिएनन्। केही वकिलहरूले हाम्रो कुरा बुझे तापनि प्रायजसो वकिलहरू आफ्नो प्रचारप्रसार होला भनेर डराउनुका साथै अधिकारीहरूलाई रुष्ट पार्ने जोखिम मोल्न चाहँदैनथे। तथापि, यहोवालाई हाम्रा आवश्यकताहरू थाह थियो र समयमा उहाँले परिस्थितिलाई त्यसै अनुरूप मोड्नुभयो।
क्राकाउका परिभ्रमण निरीक्षक अलोइज प्रोस्टाकलाई सोधपुधको दौडन यत्ति क्रूर व्यवहार गरियो कि तिनलाई जेलको अस्पताल लैजानुपर्ने भयो। मानसिक अनि शारीरिक यातना दिइँदासमेत आफ्नो अडानमा दृढ रहेको कारण अस्पतालका अन्य कैदीहरूले तिनको आदर तथा प्रशंसा गरे। त्यस्तो आदर तथा प्रशंसा गर्ने कैदीहरूमध्ये एक भिटोल लेस-ओल्स्जेभ्स्की भन्ने वकिल थिए, जो भाइ प्रोस्टाकको साहस देखेर अत्यन्त प्रभावित भएका थिए। ती वकिलले धेरै चोटि हाम्रा भाइसित कुरा गरे र यस्तो वचन दिए, “जेलबाट छुटेर आफ्नो पेसा पुनः सुरु गर्ने अनुमति पाउनासाथ म यहोवाका साक्षीहरूको पक्षमा वकालत गर्न चाहन्छु।” तिनले जस्तो वचन दिए त्यस्तै गरे पनि।
श्रीमान् ओल्स्जेभस्कीले वकिलहरूको एउटा छुट्टै टोली थियो, जसले देखाएको प्रतिबद्धता साँच्चै सराहनीय थियो। उग्र विरोध भएको बेला उनीहरूले हाम्रा भाइहरूको पक्षमा दिनको एउटा मुद्दा गरेर महिनाको लगभग ३० वटा मुद्दा लडे! श्रीमान् ओल्स्जेभ्स्कीलाई सम्पूर्ण मुद्दाको विस्तृत जानकारी चाहिने भएकोले तिनीसित भेटेर कुरा गर्न मलाई खटाइयो। मैले तिनीसित सन् १९६०/७० को दशकमा सात वर्ष सँगै काम गरें।
ती दिनहरूमा मैले कानुनी कामबारे धेरै कुरा सिकें। म अक्सर मुद्दा लडेको, वकिलहरूले गर्ने सकारात्मक तथा नकारात्मक दुवै खाले टिप्पणीहरू, कानुनी तवरमा वकालत गर्ने तरिका अनि आरोप लागेका सँगी विश्वासीहरूको गवाही सुनेर बस्थें। विशेष गरी अदालतमा हाजिर हुन बोलाइएका भाइहरूलाई अदालतसामु के भन्ने र कहिले चुप लागेर बस्ने भन्ने कुरा थाह पाउन मदत गर्ने सन्दर्भमा ती सबै कुरा निकै उपयोगी साबित भए।
मुद्दा चलिरहेको बेला श्रीमान् ओल्स्जेभ्स्की अक्सर यहोवाका साक्षीहरूकै घरमा रात बिताउँथे। होटलमा बस्न पैसा नभएर होइन तर एक चोटि तिनले यसो भनेका थिए, “मुद्दा लड्नुभन्दा अघि म तपाईंहरूको मानसिक झुकावबारे केही थाह पाउन चाहन्छु।” तिनको मदतले गर्दा हामीले थुप्रै मुद्दाहरू जित्यौं। तिनले धेरै चोटि मेरो पक्षमा मुद्दा लडिदिए र तिनले मबाट कहिल्यै पैसा लिएनन्। अरू बेला पनि तिनले ३० वटा मुद्दाको पैसा लिन इन्कार गरे। किन? तिनले यसो भने, “म तपाईंहरूको काममा सानो योगदान पुऱ्याउन चाहन्छु।” अनि तिनलाई साँच्चै पैसा दिनुपरेको भए निकै मोटो रकम दिनुपर्थ्यो। श्रीमान् ओल्स्जेभ्स्कीको टोलीको गतिविधिलाई अख्तियारवालाहरूले याद गरिरहेका थिए तरैपनि त्यसले गर्दा तिनी हामीलाई मदत गर्न पछि हटेनन्।
ती मुद्दा चलेको अवधिभरि हाम्रा भाइहरूले दिएको असल साक्षीकार्य शब्दमा व्याख्या गरेर साध्य छैन। मुद्दा लडेको हेर्न र आरोप लागेका भाइहरूलाई सुदृढ पार्न धेरै जना अदालतमा आए। सबैभन्दा बढी मुद्दा लडेको बेला, वर्षभरिमा ३०,००० जना सम्म समर्थक आएको मैले गन्ती गरेको छु। त्यो साँच्चै साक्षीहरूको एउटा ठूलो भीड थियो!
नयाँ असाइनमेन्ट
सन् १९८९ सम्ममा हाम्रो काममाथि लागेको प्रतिबन्ध हटिसकेको थियो। त्यसको तीन वर्षपछि त नयाँ शाखा कार्यालय निर्माण भएर पनि समर्पण गरियो। अस्पताल सूचना सेवामा काम गर्न मलाई त्यहाँ आमन्त्रित गरियो र मैले पनि खुसीसाथ त्यो असाइनमेन्ट स्वीकारें। तीन जना व्यक्तिको एउटा टोलीको रूपमा हामीले रगतसम्बन्धी विवादको सामना गरिरहेका हाम्रा भाइहरूलाई सहयोग गर्नुका साथै आफ्नो मसीही अन्तस्करणको आधारमा उनीहरूले लिएको अढानमा दृढ रहन मदत गऱ्यौं।—प्रेरित १५:२९.
जन सेवकाईमा यहोवाको सेवा गर्ने सुअवसर पाएकोमा मेरी पत्नी र म अत्यन्त कृतज्ञ छौं। निलाले मलाई अटुट रूपमा सहयोग तथा प्रोत्साहन दिएकी छिन्। ईश्वरतान्त्रिक जिम्मेवारीहरूको कारण म व्यस्त हुँदा अथवा जेल जानुपरेको बेला म घरमा नहुँदा उनले कहिल्यै पनि गुनासो गरिनन् र त्यसको लागि म सदा कृतज्ञ रहनेछु। अप्ठ्यारो समयमा लत्तो छोड्नुको सट्टा उनले अरूलाई सान्त्वना दिइन्।
उदाहरणका लागि, सन् १९७४ मा अरू परिभ्रमण निरीक्षकहरूसँगै मलाई पनि गिरफ्तार गरियो। यसबारे थाह भएका केही भाइहरू मेरी पत्नीलाई नआत्तिने किसिमले जानकारी दिन चाहन्थे। मेरी पत्नीलाई देखेपछि उनीहरूले यसो भने, “बहिनी निला, के तपाईं नराम्रो समाचार सुन्न तयार हुनुहुन्छ?” सुरुमा त उनी डरले बोल्नै सकिनन् किनभने उनले म मरें भन्ठानिन्। वास्तविक कुरा थाह पाएपछि भने ढुक्क हुँदै उनले यसो भनिन्: “उहाँ जिउँदै हुनुहुन्छ! उहाँ जेलमा पर्नुभएको यो पहिलो पटक होइन।” उनको आशावादी मनोवृत्तिबाट आफूहरू अत्यन्त प्रभावित भएको कुरा पछि ती भाइहरूले मलाई बताए।
विगतमा हामीले केही तीता अनुभवहरू भोग्नुपरे तापनि यहोवाको मार्गमा हिंडिरहँदा उहाँले हामीलाई सधैं प्रचुर मात्रामा इनाम दिनुभएको छ। हाम्री छोरी लिडिया र तिनको पति अल्फ्रेड डिरुसा एक उदाहरणीय मसीही दम्पती हुन सकेकोमा हामी अत्यन्त खुसी छौं। उनीहरूले आफ्ना छोराहरू, क्रिस्टोफर र जोनाथनलाई पनि परमेश्वरका समर्पित सेवकहरू बन्न मदत गरेका छन् र त्यस कुराले हाम्रो आनन्द अझ बढेको छ। मेरो भाइ रिशार्ड र बहिनी उर्सुलाले पनि वर्षौंदेखि विश्वासीपूर्वक यहोवाको सेवा गरिरहेका छन्।
यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएको छैन र हामी तनमनले उहाँको सेवा गरिरहन चाहन्छौं। भजन ३७:३४ का शब्दहरूको सत्यता हामीले व्यक्तिगत रूपमा अनुभव गरेका छौं: “परमप्रभुको बाटो हेर, उहाँकै मार्गमा हिंड, र उहाँले तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ।” उत्सुकतासाथ हामी त्यस समयको प्रतीक्षा गर्दैछौं।
[पृष्ठ १७-मा भएको चित्र]
सन् १९६४ मा क्राकाउस्थित हाम्रा भाइको बगैंचामा आयोजित सम्मेलन
[पृष्ठ १८-मा भएको चित्र]
सन् १९६८ मा मेरी पत्नी निला र हाम्री छोरी लिडियासित
[पृष्ठ २०-मा भएको चित्र]
मुटुको रक्तविहीन शल्यक्रिया गर्नुअघि साक्षी केटोसँग
[पृष्ठ २०-मा भएको चित्र]
सन् २००२ मा निलासित
[पृष्ठ २०-मा भएको चित्र]
बालबालिकाको मुटुको रक्तविहीन शल्यक्रियाका प्रमुख शल्य चिकित्सक डा. वाइट्ससँग काटोविस अस्पतालमा