वफादार हुनै पर्छ र?
किरणले आफ्नो साथी अनिललाई भने: “तिमीले अर्कै कम्पनीमा जागिर खानुपर्छ।a तिम्रो कम्पनीले तिमीलाई थोरै पैसा दिइरहेको छ। अर्को जागिर खायौ भने तिमीले टन्नै कमाउनेछौ।”
अनिलले भने, “तिम्रो कुरा ठीकै होला तर मैले यो कम्पनीमा काम गरेको वर्षौं भइसक्यो। परेको बेला उनीहरूले मलाई मदत गरेका छन् र म कम्पनी फेर्न चाहन्नँ।”
किरणले भने: “वफादार रहनु गलत त होइन तर तिमीलाई नोक्सान भइरहेको छ।”
किरण ठीक भन्दैथिए। अक्सर वफादार हुँदा महँगो पर्छ। अनि यसले समय, शक्ति र प्रतिबद्धताको माग गर्छ। वफादार हुनु के बेकार हो?
गुणगान गरिएको तर व्यवहारमा शून्य
एलेन्स्बाक नाउँ गरेको अनुसन्धान केन्द्रले जर्मनीमा गरेको एउटा सर्वेक्षणमा ९६ प्रतिशतले वफादारिता एउटा मनमोहक गुण भनी स्वीकारे। उक्त अनुसन्धान केन्द्रले १८ देखि २४ वर्षका युवाहरूबीच गरेको दोस्रो सर्वेक्षणमा पनि ३ जनामा २ जनाले वफादारितालाई रुचाए।
वफादारिताको गुणगान गरिए पनि वास्तवमा व्यवहारमा उतार्नु पर्दा भने सजिलो छैन। कुनै-कुनै युरोपेली मुलुकहरूमा विवाहित जोडीहरू र परिवारहरू एकआपसमा अक्सर प्रतिबद्ध हुँदैनन्। साथीहरू पनि एकअर्कालाई धोका दिन्छन्। अनि विगतमा हाकिम र कर्मचारी अनि व्यापारी र ग्राहकबीच जुन वफादारिता हुन्थ्यो त्यो अहिले हराइसक्यो। किन?
कहिलेकाहीं जीवनको भागदौडले वफादारी रहनको लागि चाहिने भावनात्मक बल नै शोषण गरिदिन्छ। अनि जीवनमा एक पटक धोका खाएको मानिस अक्सर अरूलाई विश्वास गर्न डराउन सक्छ। अरू कतिपय चाहिं ‘भोलि कसले देखेको छ र’ भनी वफादारिताको पर्बाहै नगरी जीवन बिताउँछन्।
जे होस्, वफादारिता एउटा यस्तो सद्गुण हो जसको गुणगान गरिए पनि व्यवहारमा भने शून्य छ। त्यसैले प्रश्न उठ्छ: वफादार हुँदा केही गुमाउनुपर्छ कि? यदि पर्दैन भने कसप्रति वफादार हुने अनि कसरी? वफादार हुनुमा के फाइदा छ?
[फुटनोट]
a यो र अर्को लेखमा केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
वफादारिता एउटा यस्तो सद्गुण हो जसको गुणगान गरिए पनि व्यवहारमा भने शून्य छ