प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१ pp. ४-७
  • वफादार हुनुका फाइदाहरू छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार हुनुका फाइदाहरू छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहमा वफादारिता—एउटा आधारभूत आवश्‍यकता
  • वफादारिताले विवाहलाई दिगो राख्छ
  • आमाबाबु र छोराछोरीबीच वफादारिता
  • मित्रतामा वफादारिता नभई हुँदैन
  • वफादारिता सिक्न सकिन्छ
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • तपाईं कोप्रति वफादार हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१ pp. ४-७

वफादार हुनुका फाइदाहरू छन्‌

कुनै-कुनै देशका केटाकेटीहरू आफ्नो साथीको लुगामा कुरो टाँसिदिएर खेल्न मन पराउँछन्‌। कुरो ऊनी लुगाहरूमा मजाले टाँसिन्छ र बच्चाले जे गर्दा पनि जस्तै, हिंड्‌दा, दौड्‌दा वा उफ्रिंदा कुरो टाँसिरहन्छ। कुरो निकाल्ने एउटै मात्र तरिका एउटा-एउटा गरी झिक्ने हो। स-साना केटाकेटीलाई यसो गर्दा साह्रै मजा लाग्छ।

हुन त हो, कुरो लुगामा टाँसिएको सबैलाई मन पर्दैन तर त्यसको टाँसिने क्षमता देखेर भने सबै छक्क पर्छन्‌। कुरोको टाँसिने क्षमता भएझैं वफादार व्यक्‍ति पनि टाँसिरहन्छ वा मिलिरहन्छ। वफादार व्यक्‍ति लामो समयसम्म कसैसितको सम्बन्धमा टिकिरहन्छ। परिस्थिति जस्तोसुकै गाह्रो भए तापनि तिनले वफादारितासाथ आफ्नो जिम्मेवारी तथा दायित्वहरू पूरा गर्छन्‌। “वफादारिता” भन्‍ने शब्द सुन्‍नेबित्तिकै सत्यता, निष्ठा र भक्‍ति जस्ता सद्‌गुणहरू मनमा आउँछ। तथापि, अरू मानिसहरू तपाईंप्रति वफादार भएको तपाईंलाई मन पर्छ तर के तपाईं पनि अरूप्रति वफादार हुन कटिबद्ध हुनुहुन्छ? हुनुहुन्छ भने तपाईं कसप्रति वफादार हुनुपर्छ?

विवाहमा वफादारिता—एउटा आधारभूत आवश्‍यकता

विवाहमा वफादारिता नभई हुँदैन तर दुःखको कुरा विवाहमै यसको झन्‌ कमी भइरहेको छ। आफ्नो विवाह वाचाप्रति प्रतिबद्ध रहने अर्थात्‌ एकअर्काको हितमा चासो राखी सँगै मिलिरहने पतिपत्नी आनन्द र सुरक्षा प्राप्तिको बाटोतिर लम्कन्छन्‌। किन? किनभने मानिसहरू एकअर्काप्रति वफादार हुने आवश्‍यकतासहित सृष्टि गरिएका थिए। अदनको बगैंचामा आदम र हव्वाको विवाह गरिदिंदा परमेश्‍वरले यसो भन्‍नुभयो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ।” यो कुरा पत्नीलाई पनि लागू हुनेथियो, उनी पनि पतिसित मिलेर बस्नुपर्ने थियो। पतिपत्नी एकअर्काप्रति वफादार र सहयोगी हुनुपर्ने थियो।—उत्पत्ति २:२४; मत्ती १९:३-९.

हुन त, यो हजारौं वर्ष अघिको कुरा हो। तर आज विवाहमा वफादारिता के अव्यावहारिक छ? ‘छैन’ भनी थुप्रैले भन्छन्‌। जर्मनीमा ८० प्रतिशतले विवाहमा वफादारिता एकदमै महत्त्वपूर्ण ठानेको अनुसन्धानकर्ताहरूले पत्ता लगाए। दोस्रो सर्वेक्षण चाहिं पुरुष तथा स्त्रीहरूमा सबैभन्दा मन पर्ने गुण पत्ता लगाउन गरियो। पुरुषहरूको एउटा समूहलाई केटीहरूमा र स्त्रीहरूको एउटा समूहलाई चाहिं केटाहरूमा सबैभन्दा मनपर्ने पाँचवटा गुणहरू लेख्न भनियो। पुरुष र स्त्रीहरूको समूह दुवैले वफादारितालाई नै सबैभन्दा मूल्यवान्‌ गुण ठाने।

हो, सफल विवाहको बलियो जग वफादारिता पनि हो। यद्यपि, हामीले अघिल्लो लेखमा छलफल गरेझैं वफादारिताको गुणगान गरिए पनि यो व्यवहारमा शून्य छ। उदाहरणका लागि, सम्बन्धविच्छेदको बढ्‌दो घटनाले अवफादारिता कत्तिको व्याप्त छ भन्‍ने प्रमाण दिन्छ। विवाहित व्यक्‍तिहरू यस लहरको प्रतिरोध गर्दै कसरी एकअर्काप्रति प्रतिबद्ध रहन सक्छन्‌?

वफादारिताले विवाहलाई दिगो राख्छ

जब दम्पतीले एकअर्काप्रतिको प्रतिबद्धता देखाउने मौका खोज्छ तब वफादारिता झल्किन्छ। उदाहरणका लागि, “मेरो” भन्‍न छोडेर “हाम्रो” भन्‍नु बेस हो—जस्तै, “हाम्रा साथीहरू,” “हाम्रा बच्चाहरू,” “हाम्रो घर,” “हाम्रा अनुभवहरू।” कुनै योजना बनाउँदा र निर्णयहरू गर्दा चाहे त्यो घर, जागिर, बच्चाहरूको लालनपालन, मनोरञ्जन, बिदा वा धार्मिक गतिविधिहरूसम्बन्धी नै किन नहोस्‌, पति र पत्नीले एकअर्काको भावना र विचारहरूको ख्याल राख्नुपर्छ।—हितोपदेश ११:१४; १५:२२.

पतिपत्नी दुवैले एकलाई अर्कोको आवश्‍यकता छ र चाह छ भनेर महसुस गर्दा वफादारिता देखिन्छ। पतिले अर्कै केटीसित बढ्‌तै हिमचिम बढाउन थाल्यो भने पत्नीले असुरक्षित महसुस गर्छिन्‌। बाइबलले पुरुषहरूलाई आफ्नो “युवावस्थाकी पत्नी[सितै]” मिलेर बस्न सल्लाह दिन्छ। पतिले आफ्नी पत्नीबाहेक अरू स्त्रीको माया खोज्ने गर्नुहुँदैन। अरू स्त्रीसित शारीरिक सम्बन्ध राख्नु त परै जाओस्‌। बाइबलले यस्तो चेताउनी दिन्छ: “व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो, त्यसले . . . आफूमाथि बर्बादी ल्याउँछ।” पत्नीबाट पनि त्यस्तै वफादारिताको आशा राखिन्छ।—हितोपदेश ५:१८; ६:३२.

के विवाहमा वफादार रहन प्रयास गर्दा फाइदा छ? निश्‍चय पनि। यसले वैवाहिक बन्धनलाई अझ बलियो र स्थायी बनाउँछ। अनि पति र पत्नी दुवैले लाभ उठाउँछन्‌। जस्तै, पतिले आफ्नी पत्नीको हितको साँच्चै ख्याल राख्दा उनले सुरक्षित महसुस गर्छिन्‌ र यसले गर्दा पत्नीले आफूमा भएका राम्रा गुणहरू प्रकट गर्न सक्छिन्‌। पतिबारे पनि यस्तै भन्‍न सकिन्छ। आफ्नी पत्नीप्रति वफादार रहने तिनको संकल्पले तिनलाई जीवनका अन्य सबै क्षेत्रमा नैतिक सिद्धान्तहरूप्रति प्रतिबद्ध रहन मदत गर्नेछ।

पतिपत्नी कठिनाइको घडीबाट गुज्रँदा समेत वफादारिताले तिनीहरू दुवैलाई सुरक्षित महसुस गराउँछ। अर्कोतर्फ, वफादारिताको कमी भएको विवाहमा अक्सर छुट्टिने वा सम्बन्धविच्छेद गर्ने झुकाव हुन्छ। यसो गर्नु पुरानो समस्याको ठाउँमा नयाँ समस्याहरू निम्त्याउनु मात्र हो। सन्‌ १९८० को दशकमा एक जना चिरपरिचित फेसनसम्बन्धी सल्लाहकार आफ्नी पत्नी र छोरीहरूबाट छुट्टिए। यसरी छुट्टिंदा, के तिनी खुसी भए त? छुट्टिएर बसेको २० वर्ष पछि तिनले यसरी स्वीकारे, “मैले एक्लो महसुस गरें र सुत्नुअघि छोरीहरूको अनुहार हेर्न म छट्‌पटिन्थें।”

आमाबाबु र छोराछोरीबीच वफादारिता

आमाबाबु एकअर्काप्रति वफादार छन्‌ भने छोराछोरी पनि वफादार हुने सम्भावना धेरै हुन्छ। वफादार र मायालु परिवारमा हुर्केका बच्चाहरूलाई ठूलो भइसकेपछि आफ्नो पति वा पत्नीप्रति र आफ्ना आमाबाबुमा बूढ्यौलीका असरहरू देखिन थाल्दा जिम्मेवारीपूर्ण ढङ्‌गमा व्यवहार गर्न सजिलो हुनेछ।—१ तिमोथी ५:४, ८.

निस्सन्देह, आमाबाबु नै सधैं पहिला असक्‍त हुन्छन्‌ भन्‍ने छैन। कहिलेकाहीं बच्चालाई विशेष हेरचाहको आवश्‍यकता पर्छ। हर्बट र गेट्रुड जो दुवै यहोवाका साक्षी हुन्‌, तिनीहरूको परिस्थिति पनि ४० भन्दा धेरै वर्षसम्म त्यस्तै थियो। तिनीहरूको छोरा डिट्‌मारलाई बिस्तारै-बिस्तारै शरीरका सम्पूर्ण मांसपेशीहरूले काम गर्न छोड्‌ने मस्कुलर डिस्ट्रोफि भन्‍ने रोग लागेको थियो। नोभेम्बर २००२ मा तिनको मृत्यु हुनुभन्दाअघि सात वर्षसम्म डिट्‌मारलाई चौबीसै घण्टा हेरचाहको खाँचो परेको थियो। तिनको आमाबाबुले मायालुपूर्वक तिनको हेरचाह गरे। तिनीहरूले घरमै तिनको उपचारमा चाहिने मेशिनहरू राख्नुका साथै तिनको उपचारसम्बन्धी प्रशिक्षण पनि लिए। पारिवारिक वफादारिताको कस्तो राम्रो उदाहरण!

मित्रतामा वफादारिता नभई हुँदैन

बिर्जिट यसो भन्छिन्‌: “विवाह नगरे पनि मानिस खुसी हुन सक्छ तर साथीविनाको जीवन निरस हुन्छ।” सायद यस कुरासित तपाईं पनि सहमत हुनुहुन्छ होला। तपाईं विवाहित होस्‌ वा अविवाहित, असल साथीको वफादारिताले तपाईंको हृदयलाई न्यानो पार्नेछ र तपाईंको जीवनलाई अझ अर्थपूर्ण बनाउनेछ। तपाईं विवाहित हुनुहुन्छ भने निश्‍चय पनि तपाईंको सबैभन्दा घनिष्ठ मित्र आफ्नो विवाहित जोडी नै हुनुपर्छ।

कुनै व्यक्‍तिसित चिनजान छ भन्दै तिनलाई आफ्नो साथी भन्‍न सकिंदैन। चिनजान भएका व्यक्‍तिहरू थुप्रै हुन सक्छ। जस्तै, छिमेकी, सहकर्मी वा तपाईंले समय-समयमा भेटिरहने मानिसहरू। साँचो मित्रताको लागि समय, प्रयास र भावनात्मक प्रतिबद्धता चाहिन्छ। कोही व्यक्‍तिको मित्र हुनु सम्मानको कुरा हो। कसैको मित्र हुनु सुअवसरको कुरा हो तर सँगसँगै जिम्मेवारीहरू पनि आउँछ।

आफ्नो साथीहरूसित खुलस्त कुराकानी हुनु जरुरी छ। त्यस्तो खुलस्त कुराकानी कहिलेकाहीं नगरी नहुने हुन सक्छ। “हामी दुईमध्ये कसैलाई केही समस्या पऱ्‍यो भने हामी हप्तामा एक दुई चोटि फोनमा कुरा गर्छौं। आफ्नो कुरा सुन्‍ने कोही त छ भनी थाह पाउँदा ढुक्क लाग्छ” भनी बिर्जिट बताउँछिन्‌। मित्रताको लागि दूरी बाधक हुनु पर्दैन। गर्डा र हेल्गाको घर एकअर्काको ठाउँबाट एकदमै टाढा छ तर तिनीहरूको मित्रता ३५ वर्ष पुरानो हो। गर्डा भन्छिन्‌, “हामी आफ्ना सुखदुःखहरू चिठीमार्फत एकअर्कालाई लेख्छौं। हेल्गाको चिठी पाउँदा म दंग पर्छु। हाम्रो मन असाध्यै मिल्छ।”

मित्रता गाँस्न वफादारिता नभई हुँदैन। धोखेबाजीले पुरानो सम्बन्धहरूलाई पनि खतम गरिदिन्छ। गोप्य कुराहरूमा पनि सल्लाह माग्नु साथीहरूबीच सामान्य हो। आफूलाई होच्याइएला वा धोखा देला भन्‍ने डरविना साथीहरूले खुलेर कुरा गर्छन्‌। बाइबल यसो भन्छ: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।”—हितोपदेश १७:१७, NW.

मित्रताले हाम्रो सोचाइ, भावना र व्यवहारमा प्रभाव पार्ने भएकोले आफ्नो जीवनशैलीसित मिल्ने व्यक्‍तिहरूसित मित्रता गाँस्नु महत्त्वपूर्ण छ। उदाहरणका लागि, एउटै विश्‍वास, नैतिकतासम्बन्धी एउटै दृष्टिकोण र सही अनि गलतसम्बन्धी एउटै स्तर भएका व्यक्‍तिहरूसित मात्र मित्रता गाँस्नुहोस्‌। त्यस्ता साथीहरूले तपाईंलाई आफ्नो लक्ष्य हासिल गर्न मदत गर्नेछ। अनि आफ्नो भन्दा फरक स्तर र नैतिकता भएको व्यक्‍तिसित किन मित्रता गाँस्नुपऱ्‍यो र? असल मित्र छान्‍ने महत्त्वबारे बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

वफादारिता सिक्न सकिन्छ

जब साना केटाकेटीले अरूको लुगामा कुरो टाँस्न सिक्छन्‌ सायद उसलाई फेरि-फेरि त्यसो गर्न मन लाग्छ। वफादारिता पनि त्यस्तै हो। किन? किनभने हामी वफादार हुन जत्ति धेरै प्रयास गर्छौं यो व्यवहारमा उतार्न त्यति नै सजिलो हुन्छ। कोही व्यक्‍तिले सानैदेखि वफादार हुन सिकेको छ भने उसलाई वफादारितामा आधारित मित्रता गाँस्न सजिलो हुनेछ। अनि समयको अन्तरालमा त्यस्तो बलियो र दिगो मित्रताले तिनलाई विवाहमा वफादार हुन पनि तयार बनाउनेछ। यसले जीवनमा गाँसिने सबैभन्दा महत्त्वपूर्ण मित्रतामा पनि वफादार रहन मदत गर्छ।

यहोवा परमेश्‍वरलाई आफ्नो सारा मन, प्राण, बुद्धि र शक्‍तिले प्रेम गर्नु नै सबैभन्दा ठूलो आज्ञा हो भनी येशूले भन्‍नुभयो। (मर्कूस १२:३०) यसको अर्थ हामी यहोवाप्रति पूर्णतः वफादार हुनुपर्छ। यहोवा परमेश्‍वरप्रति वफादार हुँदा हामीले प्रचुर मात्रामा इनामहरू पाउनेछौं। उहाँले हामीलाई कहिल्यै निराश तुल्याउनुहुन्‍न किनभने उहाँ स्वयम्‌ यसो भन्‍नुहुन्छ: “म कृपालु [“वफादार,” NW] छु।” (यर्मिया ३:१२) निश्‍चय पनि, परमेश्‍वरप्रतिको वफादारिताले अनन्त आशिष्‌हरू ल्याउनेछ।—१ यूहन्‍ना २:१७.

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

असल मित्रको वफादारिताले तपाईंको हृदयलाई न्यानो बनाउनेछ

[पृष्ठ ५-मा भएको चित्र]

वफादार परिवारहरूले एकअर्काका आवश्‍यकताहरूको ख्याल राख्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने