प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१५ pp. २६-२८
  • गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘आफ्नै सेवकहरूमाथि परमेश्‍वर भरोसा गर्नहुन्‍न’
  • “के मानिस परमेश्‍वरको निम्ति केही लाभको हुनसक्छ र?”
  • गलत सोचाइको कसरी प्रतिरोध गर्ने
  • झूटा आरोपी आफै दोषी छ
  • जब गलत सोचाइहरू हुनेछैन
  • एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१५ pp. २६-२८

गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌!

कुलपिता अय्यूबमाथि विपत्तिको बज्रपात हुँदा तिनका तीन जना साथीहरू एलीपज, बिल्दद र सोपर तिनलाई भेट्‌न आए। तिनीहरू अय्यूबलाई सहानुभूति र सान्त्वना दिन आएका थिए। (अय्यूब २:११) तिनीहरूमध्ये सबैभन्दा प्रभावशाली र सायद जेठो पनि एलीपज नै थिए। अनि कुरा सुरु गर्ने र लामो कुरा गर्ने पनि तिनी नै थिए। एलीपजको तीन चोटिको कुराकानीमा कस्ता विचारहरू झल्कियो?

आफूले एकचोटि देखेको असाधारण दर्शन सम्झँदै एलीपजले यसो भने: “एउटा आत्मा मेरो छेउ भएर गयो, र मेरो शरीरको रौं खड़ा भयो। . . . तर त्यो के हो मैले ठम्याउन सकिनँ, एउटा आकार मेरो आँखाअघि खड़ा भयो। यसो भन्‍ने एउटा मधुर सोर मैले सुने।” (अय्यूब ४:१५, १६, NRV) एलीपजलाई कस्तो आत्माले प्रभाव परेको थियो? एलीपजको आलोचनात्मक कुराकानीलाई विचार गर्दा त्यो आत्मा परमेश्‍वरको स्वर्गदूत नभएको स्पष्ट हुन्छ। (अय्यूब ४:१७, १८) त्यो दुष्ट आत्मिक प्राणी थियो। अन्यथा यहोवाले एलीपज र तिनका साथीहरूलाई झूटो बोलेकोमा किन हप्काउनुहुन्थ्यो र? (अय्यूब ४२:७) हो, एलीपज प्रेतहरूको प्रभावमा परेका थिए। तिनले भनेका कुरा परमेश्‍वरको सोचाइसित मिलेको थिएन।

एलीपजको भनाइबाट कुन कुरा बुझ्न सकिन्छ? गलत सोचाइ राख्नदेखि होसियार हुनु किन महत्त्वपूर्ण छ? अनि गलत सोचाइको प्रतिरोध गर्न कस्ता कदमहरू चाल्न सकिन्छ?

‘आफ्नै सेवकहरूमाथि परमेश्‍वर भरोसा गर्नहुन्‍न’

परमेश्‍वरले यति धेरै माग गर्नुहुन्छ कि आफ्ना सेवकहरूले जे गरे पनि उहाँलाई चित्त बुझ्दैन भन्‍ने एलीपजको सोचाइ तिनको तीन चोटिको कुराकानीबाट स्पष्ट हुन्छ। “परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नसक्नुभएन . . . र आफ्नै दूतहरूमा दोष भेट्टाउनुभयो।” (अय्यूब ४:१८) परमेश्‍वरबारे तिनले पछि यसो भने: “परमेश्‍वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्‍न भने र स्वर्गनै उहाँको दृष्टिमा निर्दोष छैन।” (अय्यूब १५:१५) अनि तिनले यस्तो प्रश्‍न गरे: “यदि तपाईं धर्मी हुनेभए पनि सर्वशक्‍तिमानलाई के फाइदा?” (अय्यूब २२:३) बिल्ददको सोचाइ पनि यस्तै थियो किनभने तिनले यसो भने: “उहाँको दृष्टिमा त जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन्‌।”—अय्यूब २५:५.

त्यस्तो गलत सोचाइबाट प्रभावित हुनदेखि हामी होसियार हुनै पर्छ। त्यस्तो सोचाइ राख्यौं भने परमेश्‍वरले हामीबाट धेरै माग गर्नुहुन्छ भनेर हामी सोच्न पुग्छौं। यस्तो सोचाइले यहोवासितको हाम्रो सम्बन्धमा नै असर गर्छ। यसबाहेक, यस्तो तर्क गर्न थाल्यौं भने आवश्‍यक अनुशासन दिइँदा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ? नम्रतापूर्वक अनुशासन स्वीकार्नुको सट्टा हाम्रो हृदयले “परमप्रभुको विरुद्ध रोष प्रकट” गर्न सक्छ अनि उहाँ विरुद्ध द्वेषका भावनाहरू उब्जन सक्छ। (हितोपदेश १९:३, NRV) यहोवासितको सम्बन्धमा यो कत्ति हानिकारक साबित हुन सक्छ!

“के मानिस परमेश्‍वरको निम्ति केही लाभको हुनसक्छ र?”

परमेश्‍वरले हामीसित धेरै माग गर्नुहुन्छ भन्‍ने सोचाइ सँगसँगै आउने एउटा अर्को सोचाइ हो, उहाँले हामीलाई बेकारको ठान्‍नुहुन्छ। एलीपजले तेस्रो चोटि कुरा गर्दा यस्तो प्रश्‍न गरे: “के मानिस परमेश्‍वरको निम्ति केही लाभको हुन्छ र? के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुनसक्छ र?” (अय्यूब २२:२) परमेश्‍वरले मानिसलाई बेकारको ठान्‍नुहुन्छ भनी एलीपज भन्‍न खोज्दैथिए। त्यसैगरी बिल्ददले पनि यस्तो तर्क गरे: “परमेश्‍वरको दृष्टिमा मानिस कसरी धर्मी हुनसक्छ र? अथवा स्त्रीबाट जन्मेको मानिस निर्दोष हुनसक्छ र?” (अय्यूब २५:४) यो तर्कलाई विचार गर्दा, मरणशील व्यक्‍ति अय्यूब कसरी परमेश्‍वरसामु धर्मी ठहरिन सक्छ?

आज कोही-कोही आफूबारे नकारात्मक सोचाइ राख्छन्‌। आफू हुर्केको परिवेश, जीवनका दबाबहरू र जातीय वा सम्प्रदायिक पूर्वाग्रह जस्ता कुराहरू पनि नकारात्मक सोचाइका कारक हुन सक्छन्‌। तर शैतान र त्यसका प्रेतहरू मानिसलाई हताश तुल्याउन पाउँदा रमाउँछन्‌। सर्वशक्‍तिमान्‌ परमेश्‍वरको नजरमा आफूले गरेको कुनै पनि काम असल छैन भन्‍ने भान मानिसहरूमा पार्न सक्यो भने तिनीहरू झन्‌ धेरै निराश हुन सक्छन्‌। त्यस्तो व्यक्‍ति समयको अन्तरालमा जीवित परमेश्‍वरबाट तर्किन र पतित समेत हुन सक्छ।—हिब्रू २:१; ३:१२.

ढल्कँदो उमेर र स्वास्थ्य समस्याहरूको कारण हामी आफूले चाहे जति गर्न सक्दैनौं। जवान, स्वस्थ र बलियो हुँदाको तुलनामा अहिले परमेश्‍वरको राज्य गतिविधिमा धेरै गर्न नसकेको होला। परमेश्‍वरको नजरमा बेकार छौं भनी हामीले सोचेको शैतान र त्यसका प्रेतहरू चाहन्छन्‌ भनेर बुझ्नु कत्ति महत्त्वपूर्ण छ! त्यस्तो सोचाइको हामीले प्रतिरोध गर्नै पर्छ।

गलत सोचाइको कसरी प्रतिरोध गर्ने

शैतान अर्थात्‌ दियाबलको कारण कष्ट भोग्नुपरे पनि अय्यूबले यसो भने: “नमरुञ्जेल म निर्दोष [“निष्ठावान्‌,” NW] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।” (अय्यूब २७:५) परमेश्‍वरप्रतिको प्रेमको कारण अय्यूब जस्तोसुकै परिस्थितिमा पनि आफ्नो निष्ठा कायम राख्न कटिबद्ध थिए र साँच्चै उनी जीवनभर निष्ठावान्‌ रहे पनि। नकारात्मक सोचाइको प्रतिरोध गर्ने महत्त्वपूर्ण पक्ष यहाँ लुकेको छ। हामीले परमेश्‍वरको प्रेमलाई राम्ररी बुझ्नुपर्छ अनि यसप्रति भित्री हृदयदेखि मूल्याङ्‌कन खेती गर्नुपर्छ। हामीले उहाँप्रतिको प्रेमलाई पनि अझ गहिरो बनाउँदै लैजानुपर्छ। यसको लागि परमेश्‍वरको वचनको नियमित अध्ययन गर्नुका साथै सिकेका कुराहरूमा प्रार्थनापूर्वक मनन गर्नुपर्छ।

उदाहरणका लागि, यूहन्‍ना ३:१६ यसो भन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो।” परमेश्‍वरले मानिसजातिलाई धेरै प्रेम गर्नुहुन्छ र त्यो प्रेम उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारमा देखिन्छ। विगतका उदाहरणहरूबारे मनन गरेर यहोवाप्रतिको कृतज्ञ भावलाई बढाउनुका साथै उहाँप्रतिको प्रेमलाई गहिरो बनाउनुपर्छ। यसो गर्दा हामीले नकारात्मक वा गलत सोचाइहरूको प्रतिरोध गर्न मदत पाउँछौं।

आउनै लागेको सदोम र गमोराको विनाशको बेला यहोवा र अब्राहामको वार्तालापलाई सम्झनुहोस्‌ त। यहोवाले ल्याउनुहुने इन्साफबारे अब्राहामले आठ चोटिसम्म प्रश्‍न गरे। त्यतिबेला यहोवा न झर्को मान्‍नुभयो न त रिसाउनु नै भयो। बरु उहाँको जवाफबाट अब्राहामले आश्‍वासन र सान्त्वना पाए। (उत्पत्ति १८:२२-३३) पछि परमेश्‍वरले लूत र तिनको परिवारलाई जोगाउनुहुँदा लूतले पहाडहरूमा नभागी नजिकै सहरमा भाग्न दिनुहोस्‌ भनी बिन्ती गरे। यहोवाले यस्तो जवाफ दिनुभयो: “हेर्‌, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको शहरलाई चाहिं म भस्म गर्नेछैनँ।” (उत्पत्ति १९:१८-२२) के यी विवरणहरूमा हामी यहोवा अचाक्ली माग गर्नुहुने, कठोर र तानशाही शासक हुनुहुन्छ भन्‍ने छनक पाउँछौं? अहँ! यी विवरणहरूले वास्तवमा उहाँ कस्तो हुनुहुन्छ भनेर बताउँछ। उहाँ मायालु, दयालु, कृपालु र कुरा बुझ्ने शासक हुनुहुन्छ।

यहोवाले गल्ती खोज्नुहुन्छ र उहाँको नजरमा कोही असल छैन भन्‍ने सोचाइ गलत हो भनेर पुरातन इस्राएलको हारून, दाऊद र मनश्‍शेको उदाहरणबाट थाह पाउन सक्छौं। हारूनले तीन पटक गम्भीर गल्ती गरे। तिनले सुनको बाछो बनाए, आफ्नी दिदी मरियम सँगसँगै मोशाको विरुद्धमा बोले र मरीबामा परमेश्‍वरलाई पवित्र तुल्याउन र उहाँको आदर गर्नबाट चुके। तैपनि, यहोवाले तिनमा असल गुणहरू देख्नुभयो र तिनको मृत्युसम्मै प्रधान पूजाहारीको रूपमा सेवा गर्न दिनुभयो।—प्रस्थान ३२:३, ४; गन्ती १२:१, २; २०:९-१३.

राजा दाऊदले आफ्नो शासन कालमा गम्भीर गल्तीहरू गरे। जस्तै, व्यभिचार, निर्दोष व्यक्‍तिको हत्या र अवैध जनगणना लिनु। तथापि, दाऊदले साँचो पश्‍चाताप गरेको यहोवाले देख्नुभयो र तिनको जीवनको अन्तसम्मै राजाको रूपमा शासन गर्न दिनुभएर तिनीसँग बाँधेको राज्य करार तोड्‌नुभएन।—२ शमूएल १२:९; १ इतिहास २१:१-७.

यहूदाका राजा मनश्‍शेले बाल देवता खडा गरे, आफ्ना छोराहरूको होमबलि चढाए, मन्त्रतन्त्र गर्न उक्साए र परमेश्‍वरको मन्दिरभित्र मूर्तिहरू बनाए। तर पछि तिनले भित्री हृदयदेखि पश्‍चाताप गर्दा यहोवाले तिनलाई माफी दिनुभयो, कैदबाट मुक्‍त गर्नुभयो र तिनको राजगद्दी फिर्ता दिनुभयो। (२ इतिहास ३३:१-१३) परमेश्‍वरको नजरमा कोही असल नभएको भए के उहाँले यसो गर्नुहुने थियो र? अहँ!

झूटा आरोपी आफै दोषी छ

शैतानले यहोवालाई जे-जति आरोपहरू लगाएका छन्‌, वास्तवमा ती आरोपहरूको मुख्य दोषी शैतान नै हो। शैतान कठोर र क्रूर छ। विगतमा छोराछोरीलाई आगोमा बलि चढाउने चलनबाट यो कुरा स्पष्ट हुन्छ। धर्मत्यागी इस्राएलीहरूले आफ्ना छोराछोरीहरू आगोमा बलि चढाए जुन कुरा यहोवाको मनमा कहिल्यै उब्जेको थिएन।—यर्मिया ७:३१.

शैतानले गल्ती भेट्टाउन खोज्छ तर यहोवाले त्यसो गर्नुहुन्‍न। प्रकाश १२:१० मा शैतानबारे यसो भनिएको छ, “हाम्रा भक्‍तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ।” अर्कोतर्फ भजनहारले यहोवाबारे यस्तो भजन गाए: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र? तर तपाईंको डर मान्‍न तपाईंसित क्षमा पनि छ।”—भजन १३०:३, ४.

जब गलत सोचाइहरू हुनेछैन

शैतान अर्थात्‌ दियाबल र त्यसका प्रेतहरूलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिंदा स्वर्गदूतहरू कति रमाए होलान्‌! (प्रकाश १२:७-९) त्यसपछि शैतान र त्यसका प्रेतहरूले स्वर्गमा रहेको यहोवाको परिवारको गतिविधिमा कुनै असर पार्न सकेनन्‌।—दानियल १०:१३.

पृथ्वीका बासिन्दाहरूले पनि चाँडै यस्तै परिस्थितिको आनन्द उठाउन सक्छन्‌। चाँडै स्वर्गबाट एउटा दूत हातमा ठूलो साङ्‌ला लिएर ओर्लनेछ र तिनले शैतान र त्यसका प्रेतहरूलाई बाँधेर अगाध खाँदमा फ्याँकिदिनेछन्‌। (प्रकाश २०:१-३) त्यतिबेला हामीले कस्तो सञ्चो महसुस गर्नेछौं!

तर त्यतिन्जेल हामी गलत सोचाइ राख्नदेखि जोगिनुपर्छ। हाम्रो मनमा गलत सोचाइहरू आउनुअघि नै यहोवाको प्रेममा ध्यानकेन्द्रित गरेर त्यसको प्रतिरोघ गर्नुपर्छ। यसो गर्दा ‘परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, त्यसले हाम्रो हृदय र विचारलाई रक्षा गर्नेछ।’—फिलिप्पी ४:६, ७.

[पृष्ठ २६-मा भएको चित्र]

अय्यूबले गलत सोचाइको प्रतिरोध गरे

[पृष्ठ २८-मा भएको चित्र]

यहोवा कुरा बुझ्ने शासक हुनुहुन्छ भनी लूतले थाह पाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने