धीरज—हाम्रो सेवाको एउटा चिनारी
१. यहोवाले मानिसजातिप्रति कसरी धीरज देखाउनुभएको छ?
१ परमेश्वरले मानिसजातिसितको व्यवहारमा एकदमै धीरज देखाउनुभएको छ। (प्रस्थ. ३४:६; भज. १०६:४१-४५; २ पत्रु. ३:९) परमेश्वरको धीरजको एउटा उत्कृष्ट उदाहरण विश्वव्यापी राज्य प्रचारकार्यसित सम्बन्धित गतिविधिहरूमा देख्न सकिन्छ। यहोवाले मानिसजातिप्रति धीरज देखाउनुभएको लगभग २,००० वर्ष भइसकेको छ। तैपनि उहाँले अझै इमानदार हृदय भएका मानिसहरूलाई आफूतर्फ खिच्दै हुनुहुन्छ। (यूह. ६:४४) हाम्रो सेवामा हामी कसरी यहोवाको धीरजको अनुकरण गर्न सक्छौं?
२. प्रचारकार्यमा भाग लिंदा हामी कसरी धीरज देखाउन सक्छौं?
२ घरघरको प्रचारकार्य: चासो नदेखाउने मानिसहरू भएका इलाकाहरूमा पनि प्रचार गर्न “बन्द” नगरेर हामी यहोवाको धीरजको अनुकरण गर्छौं। (प्रेषि. ५:४२) हाम्रो प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाए तापनि अनि उनीहरूले गिल्ला र विरोध गरे तापनि हामी धीरजी भई सहन्छौं। (मर्कू. १३:१२, १३) चासो देखाउने मानिसहरूलाई घरमा भेट्टाउन गाह्रो भए तापनि सत्यको बीउमा पानी हाल्न लगनशील भई लागिरहेर पनि हामी धीरज देखाउँछौं।
३. पुनःभेट गर्दा र बाइबल अध्ययन सञ्चालन गर्दा किन धीरजी हुनुपर्छ?
३ बाइबल अध्ययन: बोटबिरुवा हुर्काउन धैर्य चाहिन्छ। हामी बिरुवालाई मलजल गर्न त सक्छौं तर आजको भोलि नै बढाउन भने सक्दैनौं। (याकू. ५:७) ठीक त्यसैगरि, आध्यात्मिक वृद्धि पनि बिस्तारै क्रमिक रूपमा हुन्छ। (मर्कू. ४:२८) हाम्रा बाइबल विद्यार्थीहरूलाई झूटो धार्मिक विश्वास वा त्यससित सम्बन्धित प्रचलनहरू त्याग्न गाह्रो भइरहेको हुन सक्छ। आफ्नो बाइबल विद्यार्थीलाई छिट-छिटो उन्नति गराउने धुनमा परिवर्तन गर्न दबाब दिने गर्नु हुँदैन। बाइबल विद्यार्थीको मनमा पवित्र शक्तिले काम गरेको प्रमाण देख्न समय लाग्ने हुँदा धीरजी हुनुपर्छ, हतार गर्नु हुँदैन।—१ कोरि. ३:६, ७.
४. धीरजी हुँदा विश्वासमा नभएका आफन्तहरूलाई प्रभावकारी तरिकामा साक्षी दिन कसरी मदत मिल्छ?
४ विश्वासमा नभएका आफन्तहरू: विश्वासमा नभएका हाम्रा आफन्तहरूले सत्य सिकून् भन्ने हामी तीव्र इच्छा गर्छौं। तर जतिखेर पनि बाइबलको कुरा सुनाएको सुनाएकै गर्नदेखि होसियार हुनुपर्छ। हाम्रो विश्वासबारे बताउने उपयुक्त समय पर्खेर हामी धैर्य धारण गर्छौं। (उप. ३:१, ७) त्यतिन्जेल सच्चाइको कारण हामीमा आएका परिवर्तनहरू आफ्नो आनीबानीद्वारा देखाउँछौं अनि कोमल भाव र गहिरो आदरसहित हाम्रो विश्वास व्यक्त गर्न तयार भई बस्छौं। (१ पत्रु. ३:१, १५) धीरज देखायौं भने हाम्रो प्रचारकार्य अझ प्रभावकारी हुनेछ र त्यसले स्वर्गमा हुनुहुने हाम्रा बुबालाई पनि खुसी तुल्याउनेछ।