प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 १०/१ pp. २२-२७
  • आज परमेश्‍वरको उद्देश्‍यको पछि लाग्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आज परमेश्‍वरको उद्देश्‍यको पछि लाग्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • क्रमिक रूपमा व्यावहारिक पाइला चाल्ने
  • सन्तुलित हुन सिक्नुहोस्‌
  • परमेश्‍वरको उद्देश्‍यलाई पेशा बनाउँदै त्यसको पछि लाग्ने
  • साँच्चै सार्थक जीवन
  • जीवनमा अर्थपूर्ण उद्देश्‍यको पछि लाग्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
    युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 १०/१ pp. २२-२७

आज परमेश्‍वरको उद्देश्‍यको पछि लाग्ने

“[ख्रीष्ट] सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन।”—२ कोरिन्थी ५:१५, NRV.

१. एक जना मिसनरीले आफूलाई खटाइएको ठाउँमा कस्तो अनुभव बटुले, बताउनुहोस्‌।

एरनa नाउँ गरेका मिसनरी आफ्नो अनुभव यसरी बताउँछन्‌: “अफ्रिकाको गृहयुद्ध अन्त भएपछि त्यहाँको एउटा विकट गाउँमा पुग्ने पहिलो गैर-सैनिक गाडी हाम्रै थियो। त्यहाँको सानो मण्डलीसित हाम्रो सम्पर्क हुन सकेको थिएन र त्यहाँका भाइहरूको आवश्‍यकतालाई ख्याल गर्नुपरेको थियो। खानेकुरा, लत्ताकपडा र बाइबल साहित्यबाहेक जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेसन बिहाइन्ड द नेमb (यहोवाका साक्षीहरू—नाउँपछाडिको संगठन) भिडियोको एक प्रति पनि साथमा लगेका थियौं। यो भिडियो हेर्न त्यहाँको ‘भिडियो हलमा’ थुप्रै इच्छुक मानिस ओइरिए। त्यो ‘भिडियो हल’ अलिक ठूलो खाले झुप्रो थियो जहाँ भिसीआर र टिभी राखिएको थियो। हामीले यो भिडियो दुई चोटि देखाउनुपऱ्‍यो। परिणामस्वरूप, थुप्रैले बाइबल अध्ययन गर्न थाले। स्पष्ट छ, हाम्रो मेहेनत खेर गएन।”

२. (क) मसीहीहरू किन आफ्नो जीवन परमेश्‍वरको सेवामा प्रयोग गर्ने संकल्प गर्छन्‌? (ख) अब हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

२ एरन र उनका साथीहरू किन यस्तो कठिन काम गर्न अघि सरेका? किनभने तिनीहरूले येशूको छुटकाराको बलिदानप्रति कृतज्ञ भई परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेका छन्‌ र तिनीहरू आफ्नो जीवन परमेश्‍वरको उद्देश्‍यअनुरूप प्रयोग गर्न चाहन्छन्‌। तिनीहरूले जस्तै सबै समर्पित मसीहीहरूले “आफ्नै निम्ति बाँच्ने होइन” तर “सुसमाचारको खातिर” सब थोक गर्ने संकल्प गरेका छन्‌। (२ कोरिन्थी ५:१५, NRV; १ कोरिन्थी ९:२३) तिनीहरूलाई थाह छ, यस रीतिरिवाजको अन्त हुँदा यस संसारमा कमाएको नाम र दामको कुनै मूल्य रहने छैन। तसर्थ, तिनीहरू आफ्नो जीवन र स्वस्थ शरीरलाई परमेश्‍वरको उद्देश्‍यअनुरूप प्रयोग गर्न चाहन्छन्‌। (उपदेशक १२:१) हामी यो कसरी गर्न सक्छौं? यसको लागि चाहिने साहस र बल कहाँबाट पाउन सक्छौं? अनि सेवाका कस्ता सुअवसरहरू हाम्रो निम्ति उपलब्ध छन्‌?

क्रमिक रूपमा व्यावहारिक पाइला चाल्ने

३. परमेश्‍वरको इच्छा गर्नुमा कस्ता आधारभूत कदमहरू मुछिएका छन्‌?

३ साँचो मसीहीहरूका लागि परमेश्‍वरको इच्छा गर्नु भनेको जीवनभरिको काम हो। यो काम साधारणतया आधारभूत कदमहरूबाट सुरु हुन्छ। जस्तै: दिनहुँ बाइबल पढ्‌नु, ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिनु, प्रचार कार्यमा सहभागी हुनु र बप्तिस्मा लिनको लागि उन्‍नति गर्नु। उन्‍नति गर्दै जाँदा हामी प्रेरित पावलका यी शब्दहरू मनमा राख्छौं: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” (१ तिमोथी ४:१५) यस्तो उन्‍नति आफू लोकप्रिय बन्‍न त होइन तर परमेश्‍वरको इच्छा निःस्वार्थ भावले गर्छु भन्‍ने संकल्प देखाउन हो। यस्ता कदमहरू चाल्दा जीवनको हरेक पाइलामा परमेश्‍वरको निर्देशन खोज्छौं भन्‍ने कुरा देखिन्छ र उहाँले हामी मानिसले दिनसक्ने भन्दा कता हो कता उत्तम निर्देशन दिनुहुन्छ।—भजन ३२:८.

४. हामी अनावश्‍यक डर-चिन्तालाई कसरी हटाउन सक्छौं?

४ तथापि, हिचकिचाहट वा आफैबारेको अचाक्ली चिन्ताले परमेश्‍वरको सेवामा उन्‍नति गर्नमा बाधा पुऱ्‍याउन सक्छ। (उपदेशक ११:४) त्यसैले, परमेश्‍वर र अरूको सेवा गरेर साँचो खुसी पाउन सक्नको लागि हामीले पहिला आफ्नै डर-चिन्तालाई जित्नुपर्छ। उदाहरणका लागि, एरिकले विदेशी भाषाको मण्डलीमा सेवा गर्ने विचार गरिरहेका थिए। तर तिनको मनमा यस्ता चिन्ताहरू थिए: ‘के म त्यस मण्डलीमा घुलमिल हुन सकूँला? त्यहाँका भाइबहिनी मलाई मन पर्ला? अनि के तिनीहरूले मलाई मन पराउलान्‌?’ तिनी बताउँछन्‌: “अन्ततः मैले बुझें, म आफूबारे भन्दा पनि भाइहरूबारे बढी चिन्तित हुनु आवश्‍यक छ। मैले आफूबारे चिन्तित नहुने र आफूले सक्ने जति कामकुरा निःस्वार्थ भावले गर्दै जाने संकल्प गरें। प्रार्थनामा मदत मागें र अघि बढें। अहिले म परमेश्‍वरको सेवामा असीम आनन्द पाउँछु।” (रोमी ४:२०) हो, परमेश्‍वरको साथै अरूको सकेसम्म निःस्वार्थ भावले सेवा गर्दा खुसी र सन्तुष्टि पाउँछौं।

५. परमेश्‍वरको उद्देश्‍यको पछि लाग्न किन होसियारीसाथ योजना बनाउनुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

५ सफलतापूर्वक परमेश्‍वरको उद्देश्‍यको पछि लाग्न, आफूले चाल्ने कदमहरूको होसियारीसाथ योजना बनाउनु पनि खाँचो छ। टाउकोमा ऋणको भारी नथुपारेर हामी बुद्धिमानी काम गर्छौं। नत्र त ऋणको भारले हामीलाई यस रीतिरिवाजको दास बनाउन र परमेश्‍वरको सेवामा सीमित पार्न सक्छ। बाइबल हामीलाई यस्तो सम्झना दिलाउँछ: “ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ।” (हितोपदेश २२:७, NRV) यहोवामा भर पर्दै आध्यात्मिक कुरालाई पहिलो स्थानमा राख्दा, महत्त्वपूर्ण कामकुरोमा ध्यानकेन्द्रित गर्न मदत पाउँछौं। उदाहरणका लागि, ग्वोमिङ आफ्ना दिदी, बहिनी र आमासित घर किन्‍न र घर भाडामा लिन असाध्यै महँगो पर्ने इलाकामा बस्छन्‌ र त्यहाँ भरपर्दो जागिर पाउन पनि मुश्‍किलै पर्छ। पैसा जतनसित चलाएर र घर खर्चमा सबैले मदत गरेर तिनीहरूले आफूहरूमध्ये कसै-कसैको काम नहुँदा पनि खर्च टार्न सकेका छन्‌। ग्वोमिङ भन्छन्‌: “कोही बेला हामीमध्ये कसै-कसैको कमाइ हुँदैन। तैपनि, हामीले अग्रगामी सेवालाई निरन्तरता दिन र आमाको राम्रो हेरचाह गर्न सकेका छौं। सुखसयलको साधन जुटाउनको लागि हामीले अग्रगामी सेवा र मण्डलीका अन्य जिम्मेवारी छाडोस्‌ भन्‍ने चाहना हाम्री आमाको छैन र यसमा हामी कृतज्ञ छौं।”—२ कोरिन्थी १२:१४; हिब्रू १३:५.

६. हामी आफ्नो जीवनलाई परमेश्‍वरको उद्देश्‍यअनुरूप बनाउन सक्छौं भनी कुन उदाहरणले देखाउँछ?

६ यदि तपाईं संसारका कुराहरू अर्थात्‌ रूपियाँ-पैसा वा अन्य कुरामा चुर्लुम्मै डुब्नुभएको छ भने परमेश्‍वरको उद्देश्‍यलाई पहिलो स्थानमा राख्न ठूलै छाँटकाँट गर्नुपर्ने हुन्छ। साधारणतया यस्ता परिवर्तन एकै रातमा हुन सक्दैन र छाँटकाँट गर्दा सुरु-सुरुमा गल्ती भयो भने आफू असफल भएको ठान्‍नु हुँदैन। कोइचीलाई विचार गर्नुहोस्‌। तिनी मनोरञ्जनमा अत्यधिक समय खर्च गर्थे। तिनले किशोर छँदै बाइबल अध्ययन गरेका थिए तर धेरै वर्षसम्म तिनको जीवन भिडियो गेममै डुबिरह्‍यो। एक दिन तिनले आफैलाई यसो भने: ‘तँ के गर्दैछस्‌? तेरो उमेर ३० वर्ष काटिसक्यो तर जीवनमा कुनै उद्देश्‍यमूलक काम गरेको छैनस्‌!’ तिनले फेरि बाइबल अध्ययन थाले र मण्डलीबाट पाएको मदत पनि स्वीकारे। परिवर्तन बिस्तारै भए तापनि तिनले लत्तो छाडेनन्‌। खुरन्धार प्रार्थना र अरूबाट पाएको मायालु मदत स्वीकार्दै अन्ततः तिनी त्यो कुलतबाट मुक्‍त भए। (लूका ११:९) तिनी अहिले खुसीसाथ सेवकाई सेवकको हैसियतमा सेवा गरिरहेका छन्‌।

सन्तुलित हुन सिक्नुहोस्‌

७. परमेश्‍वरको काम गर्दा हामी किन सन्तुलित हुनु खाँचो छ?

७ परमेश्‍वरको उद्देश्‍यको पछि लाग्नु हामीले तनमनले प्रयास गर्नु योग्यको छ। त्यसो गर्न हामी आफूले सक्ने जति पनि नगर्ने वा अल्छी कहिल्यै हुनु हुँदैन। (हिब्रू ६:११, १२) तैपनि, यहोवा हामीले शारीरिक, मानसिक वा भावनात्मक तरिकामा धपेडी गरेको चाहनुहुन्‍न। आफ्नै शक्‍तिको भरमा परमेश्‍वरको काम पूरा गर्न सक्दैनौं भन्‍ने कुरा नम्रतापूर्वक स्वीकार्दा उहाँको महिमा हुनुका साथै हामी सन्तुलित छौं भनेर पनि देखाइरहेका हुन्छौं। (१ पत्रुस ४:११) यहोवा हामीलाई उहाँको इच्छा पूरा गर्न आवश्‍यक शक्‍ति दिने प्रतिज्ञा गर्नुहुन्छ तर उहाँले हामीबाट आस नगरेको कुरा गर्ने प्रयास गर्दै आफ्नो क्षमताले नभ्याउने काम गर्न हामीले जोड गर्नु हुँदैन। (२ कोरिन्थी ४:७) धपेडी नगरी परमेश्‍वरको सेवा गरिरहनको लागि, कुन-कुन कुरामा कति शक्‍ति लगाउने भनेर राम्ररी विचार पुऱ्‍याउनुपर्छ।

८. एक जवान मसीहीले परमेश्‍वर र जागिर दुवैको सकेजति राम्रो सेवा गर्ने प्रयास गर्दा के भयो अनि तिनले कस्तो छाँटकाँट गरिन्‌?

८ उदाहरणका लागि, पूर्वी एसियामा बस्ने जि हे नाउँ गरेकी एक बहिनीले अग्रगामी गर्दैगर्दा एकदमै खट्‌नुपर्ने जागिर दुई वर्षसम्म खाइन्‌। तिनी बताउँछिन्‌: “मैले परमेश्‍वर र जागिर दुवैको आफूले सकेजति राम्रो सेवा गर्ने कोसिस गरें। तर त्यसो गर्दा राती पाँच घण्टा मात्र सुत्न पाइरहेकी थिएँ। आखिर, सच्चाइको लागि मानसिक रूपमा शिथिल भएँ र आध्यात्मिक कुरामा आनन्द पाउन छोडें।” यहोवालाई ‘सारा मन, सारा प्राण, सारा बुद्धि र सारा शक्‍तिले’ सेवा गर्न जि हे बहिनीले पहिलाभन्दा कम खट्‌नुपर्ने जागिर खोजिन्‌। (मर्कूस १२:३०) तिनी भन्छिन्‌: “परिवारबाट पैसा कमाउने दबाब आए तापनि परमेश्‍वरको उद्देश्‍यलाई पहिलो स्थानमा राख्ने प्रयत्न गरें। म अझै पनि आधारभूत आवश्‍यकता पूरा गर्न सक्ने पुग्दो पैसा कमाउँछु। जस्तै, एकसरो राम्रो लुगा किन्‍न सक्छु। अनि अहिले राम्ररी सुत्न पाउँदा कत्ति सञ्चो महसुस गर्छु, त्यसको त कुरै नगरौं! सेवकाईमा आनन्द पाइरहेकी छु र आध्यात्मिक तवरमा निकै बलियो भएकी छु। किनभने संसारको आकर्षण र अल्मल्याउने कुरातिर मन डुलाउने मसित समय छैन।”—उपदेशक ४:६; मत्ती ६:२४, २८-३०.

९. हामीले गरेको प्रयासले क्षेत्रका मानिसहरूलाई कसरी प्रभाव पार्न सक्छ?

९ सबैले पूर्ण-समय प्रचारक बनेर परमेश्‍वरको सेवा गर्न सक्दैनन्‌। यदि तपाईं पाको उमेरको, बिरामी वा अन्य सीमितताहरूसित जुझ्दै हुनुहुन्छ भने नबिर्सनुहोस्‌, तपाईंको विश्‍वास र तपाईंले चढाउन सक्ने जतिको तनमनको सेवालाई यहोवा ठूलो मोल गर्नुहुन्छ। (लूका २१:२, ३) तसर्थ, सीमितताको बावजूद पनि हामीले गरेको प्रयासले अरूलाई प्रभाव पार्छ भन्‍ने कुरालाई हामी कसैले पनि हल्कासित लिनु हुँदैन। उदाहरणका लागि, मानिलिनुहोस्‌ प्रचार गर्न हामी केही घरहरूमा गयौं तर हाम्रो सन्देश सुन्‍न चाहने कोही पनि भेट्टाउन सकेनौं। हामी हिंडिसकेपछि घरपतिहरू अवश्‍यै निकै बेर वा निकै दिनसम्म हामी आएकोबारे कुरा गर्न सक्छन्‌, हामीलाई ढोकै नखोल्ने घरपतिहरू समेत हामीबारे त्यसरी कुरा गर्न सक्छन्‌! हामीले सुसमाचार सुनाउनेहरू सबैले सुन्छन्‌ भन्‍ने आस त गर्दैनौं तर केहीले भने अवश्‍यै सुन्‍नेछन्‌। (मत्ती १३:१९-२३) अरू कतिपयले चाहिं संसारको परिस्थिति वा आफ्नो जीवनको अवस्था बद्‌लिएपछि सुन्लान्‌। जे होस्‌, जन सेवकाईमा आफूले सकेजति गर्दा हामीले परमेश्‍वरको काम गरिरहेका हुन्छौं। हामी “परमेश्‍वरका सहकर्मी हौं।”—१ कोरिन्थी ३:९.

१०. मण्डलीमा सबैका लागि कस्ता सुअवसरहरू उपलब्ध छन्‌?

१० यसबाहेक, हामी सबैले आफ्ना परिवारका सदस्य र आध्यात्मिक भाइबहिनीलाई मदत गर्न सक्छौं। (गलाती ६:१०) हामीले अरूमा पार्ने प्रभाव गहिरो र चिरकालीन हुन सक्छ। (उपदेशक ११:१, ६) प्राचीन र सेवकाई सेवकहरूले आफ्नो जिम्मेवारी लगनशीलता साथ पूरा गर्दा मण्डलीलाई आध्यात्मिक तवरमा स्वस्थ र स्थिर बनाउन अनि मसीही कामकुरोलाई बढाउँदै लैजान योगदान पुग्छ। हामी आश्‍वस्त छौं कि ‘प्रभुको काममा प्रशस्त हुँदा’ हाम्रो परिश्रम “व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८.

परमेश्‍वरको उद्देश्‍यलाई पेशा बनाउँदै त्यसको पछि लाग्ने

११. स्थानीय मण्डलीमा सेवा गर्नुबाहेक अन्य कस्ता सुअवसरका ढोका खुलिन सक्छ?

११ हामी मसीहीहरू जीवनलाई माया गर्छौं र आफ्नो हर कामकुरोमा परमेश्‍वरको महिमा गर्न चाहन्छौं। (१ कोरिन्थी १०:३१) विश्‍वासीपूर्वक परमेश्‍वरको राज्य सन्देश सुनाउँदा र अरूलाई येशूले आज्ञा गरेका सबै कुरा गर्न सिकाउँदा हामी आफ्नो लागि सेवाका थुप्रै ढोका खुलिएको पाउँछौं। (मत्ती २४:१४; २८:१९, २०) स्थानीय मण्डलीमा सेवा गर्नुबाहेक आवश्‍यकता बढी भएका ठाउँमा सेवा गर्ने सुअवसर आउन सक्छ अर्थात्‌ अर्कै इलाका, अर्कै भाषा बोलिने ठाउँ वा अर्कै देशमा। अविवाहित योग्य प्राचीन तथा सेवकाई सेवकहरूले मिनिस्टेरियल ट्रेनिङ स्कूलमा जाने र त्यसपछि आफ्नै देश वा अन्य मुलुकमा परिपक्व मसीहीहरूको आवश्‍यकता भएका मण्डलीहरूमा सेवा गर्ने मौका पाउन सक्छन्‌। पूर्ण-समय सेवामा भएका विवाहित जोडीहरूले चाहिं मिसनरी प्रशिक्षणको लागि गिलियडमा जाने र त्यसपछि विदेशी भूमिमा सेवा गर्ने सुअवसर पाउन सक्छन्‌। साथै, बेथेलमा विभिन्‍न कामको लागि अनि त्यस्तै गरी राज्यभवन र शाखा कार्यालयहरू निर्माण तथा मर्मत-सम्भारको लागि स्वयंसेवकहरूको खाँचो परिरहन्छ।

१२, १३. (क) सेवाको कुन पक्षको पछि लाग्ने भनेर तपाईं कसरी निर्णय गर्न सक्नुहुन्छ? (ख) एउटा सेवामा हासिल गरेको अनुभव अर्को सेवामा कसरी उपयोगी हुन सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

१२ तपाईं सेवाको कुन पक्षको पछि लाग्नुपर्छ? यहोवाका समर्पित सेवकको हैसियतमा सधैं उहाँ र उहाँको संगठनबाट निर्देशन खोज्नुहोस्‌। उहाँको “असल आत्मा[ले]” तपाईंलाई सही निर्णय गर्न मदत गर्नेछ। (नहेम्याह ९:२०) एउटा सेवाबाट अक्सर अर्को सेवाको ढोका खोलिन्छ अनि एउटा सेवामा प्राप्त अनुभव र सीप पछि गएर अर्को सेवामा उपयोगी हुन सक्छ।

१३ उदाहरणका लागि, डेनिस र उनकी पत्नी जेनि नियमित तवरले राज्यभवन निर्माण कार्यमा भाग लिन्छन्‌। अमेरिकाको दक्षिणी भागमा कट्रिना नाउँ गरेको आँधीले तहल्का मच्चाउँदा तिनीहरू त्यहाँ राहत जुटाउने काममा सहभागी भए। डेनिस बताउँछन्‌: “राज्यभवन निर्माण कार्यमा हासिल गरेको सीप प्रयोग गर्दै भाइबहिनीलाई मदत गर्न पाउँदा ठूलो आनन्द पाएका छौं। हामीले मदत गरेकाहरूले कृतज्ञता प्रकट गर्दा हाम्रो हृदय साँच्चै छोएको छ। राहत कार्यमा जुटेका अरू धेरैजसो समूहहरू पुनर्निर्माणको काममा त्यति सफल भएका छैनन्‌। तर यहोवाका साक्षीहरूले चाहिं ५,३०० भन्दा बढी घर र धेरै वटा राज्यभवन पुनर्निर्माण वा मर्मत-सम्भार गरिसकेका छन्‌। मानिसहरूले हाम्रो यो काम देख्छन्‌ र हामीले सुनाउने सन्देशप्रति बढी चासो देखाउँछन्‌।”

१४. पूर्ण-समय सेवाको पछि लाग्ने इच्छा छ भने तपाईं के गर्न सक्नुहुन्छ?

१४ पूर्ण-समय सेवालाई पेशा बनाउने छनौट गरेर के तपाईं परमेश्‍वरको उद्देश्‍यको पछि लाग्न सक्नुहुन्छ? सक्नुहुन्छ भने, अवश्‍यै तपाईंले थुप्रै आशिष्‌ पाउनुहुनेछ। त्यस्तो छनौट गर्न अहिले तपाईंको परिस्थिति मिल्दैन भने सायद तपाईंले छाँटकाँट गर्न सक्नुहुन्छ। महत्त्वपूर्ण जिम्मेवारीको लागि तीव्र इच्छा राख्दा नहेम्याहले जसरी प्रार्थना गरे तपाईं पनि त्यसरी नै प्रार्थना गर्नुहोस्‌: “हे परमप्रभु, . . . मलाई सफल तुल्याउनुहोस्‌।” (नहेम्याह १:११) अनि, ‘प्रार्थना सुन्‍नुहुने’ परमेश्‍वरमा भरोसा राख्दै प्रार्थनाअनुरूप काम पनि गर्नुहोस्‌। (भजन ६५:२) यहोवाको सेवामा अझ सक्दो गर्ने तपाईंको प्रयासमा उहाँबाट आशिष्‌ पाउनको लागि पहिला तपाईंले प्रयास गरेको हुनुपर्छ। पूर्ण-समय सेवालाई अँगाल्ने निर्णय गरिसकेपछि त्यसमा अडिग रहनुहोस्‌। समय सँगसँगै तपाईंको अनुभव बढ्‌दै जानेछ र अझ धेरै आनन्द पाउनुहुनेछ।

साँच्चै सार्थक जीवन

१५. (क) धेरै समयदेखि परमेश्‍वरको सेवा गर्दै आएकाहरूसित कुरा गरेर र छापिएका जीवनीहरू पढेर हामी कसरी लाभ उठाउँछौं? (ख) तपाईंलाई एकदमै प्रोत्साहनदायी लागेको एउटा जीवनी बताउनुहोस्‌।

१५ परमेश्‍वरको उद्देश्‍यको पछि लाग्दा कस्तो परिणामको आशा गर्न सक्नुहुन्छ? धेरै लामो समयदेखि यहोवाको सेवा गरिरहेका, अझ विशेषगरि पूर्ण-समय सेवामा धेरै वर्ष बिताइसकेकाहरूसित यसबारे कुरा गर्नुहोस्‌। तिनीहरू कत्ति इनामदायी र उद्देश्‍यपूर्ण जीवन जिउँछन्‌! (हितोपदेश १०:२२) तिनीहरूले तपाईंलाई बताउनेछन्‌, यहोवाले तिनीहरूलाई कठिन परिस्थितिमा समेत आवश्‍यक कुरा र त्योभन्दा पनि बढी जुटाइदिन कहिल्यै छाड्‌नुभएन। (फिलिप्पी ४:११-१३) विगत धेरै वर्षदेखि प्रहरीधरहरा-मा सयौं जीवनीहरू प्रकाशित गरिएका छन्‌। प्रत्येक वृत्तान्तले जोस र आनन्दले भरिएको मनोभावलाई व्यक्‍त गर्छ जसले हामीलाई बाइबलको प्रेरितको पुस्तकमा पाइने मनोभावको सम्झना दिलाउँछ। यस्ता उत्प्रेरणादायी विवरणहरू पढ्‌दा हामी यसो भन्‍न उत्प्रेरित हुन्छौं: ‘मैले खोजेको जीवन यही हो!’

१६. एक मसीहीको जीवनलाई कुन कुराले अर्थपूर्ण र आनन्दित बनाउँछ?

१६ सुरुमा उल्लेख गरिएका एरन भन्छन्‌: “अफ्रिकामा म, जीवनको उद्देश्‍य खोज्दै देशको एक ठाउँदेखि अर्को ठाउँमा भौंतारिरहेका जवानहरूलाई अक्सर भेट्‌थें। धेरैले कहिल्यै जीवनको कुनै उद्देश्‍य भेट्टाएनन्‌। तर हामी भने त्यहाँ परमेश्‍वरको राज्यको सुसमाचारलाई बढावा दिएर परमेश्‍वरको उद्देश्‍यको पछि लागिरहेका थियौं अनि चुनौतीपूर्ण र अर्थपूर्ण जीवनको आनन्द उठाइरहेका थियौं। लिनुमा भन्दा दिनुमा बढी आनन्द हुन्छ भन्‍ने कुरा प्रत्यक्ष अनुभव गरेका छौं।”—प्रेरित २०:३५.

१७. अहिले हामी किन परमेश्‍वरको उद्देश्‍यको पछि लागिरहेको हुनै पर्छ?

१७ तपाईं नि? कस्तो उद्देश्‍यको पछि लागिरहनुभएको छ? यदि तपाईंको कुनै स्पष्ट आध्यात्मिक लक्ष्य छैन भने तुरुन्तै अरू कुराले नै तपाईंको सबै समय र शक्‍ति खाइदिन्छ। शैतानको संसारले साँच्चै महत्त्वपूर्ण भनी बढावा दिने कुराहरूमा आफ्नो अनमोल जीवन किन बर्बाद गर्ने? अब चाँडै “महा संकष्ट” आउँदा धन-सम्पत्ति र सासांरिक मान-पदवी सबै बेकार हुनेछ। त्यतिबेला, यहोवासितको हाम्रो सम्बन्धले मात्र महत्त्व राख्नेछ। परमेश्‍वर र अरूको सेवा गरेको अनि जीवनमा पूर्णरूपले परमेश्‍वरको उद्देश्‍यको पछि लागेकोमा हामी कत्ति आभारी हुनेछौं!—मत्ती २४:२१; प्रकाश ७:१४, १५.

(w 07 10/1)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामीले यहोवामा चढाएको सेवाप्रति उहाँ कस्तो महसुस गर्नुहुन्छ?

• व्यावहारिक र सन्तुलित हुँदा परमेश्‍वर र अरूको सेवा गर्न हामी कसरी मदत पाउँछौं?

• हाम्रो लागि सेवाका कस्ता सुअवसरहरू उपलब्ध छन्‌?

• हामी अहिले कसरी साँच्चैको अर्थपूर्ण जीवन जिउन सक्छौं?

[पृष्ठ २४-मा भएका चित्रहरू]

तनमनले यहोवाको सेवा गरिरहन हामी सन्तुलित हुनु खाँचो छ

[पृष्ठ २४-मा भएका चित्रहरू]

विभिन्‍न तरिकामा पवित्र सेवा चढाउन सक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने