प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१५ pp. २८-३२
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रथम शताब्दीका ख्रीष्टियनहरू
  • आजका पूर्ण-समय सेवकहरू
  • अग्रगामीहरूलाई मदत गर्ने तरिकाहरू
  • परिभ्रमण निरीक्षकहरूलाई मदत गर्नुहोस्‌
  • बेथेल परिवारका सदस्यहरूलाई मदत गर्नुहोस्‌
  • विदेशमा पूर्ण-समय सेवा गर्नेहरूलाई मदत गर्नुहोस्‌
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पवित्र सेवाका सुअवसरहरूको उच्च मूल्यांकन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१५ pp. २८-३२
दुई अग्रगामी बहिनीहरू प्रचारकार्यमा

पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌

“तिमीहरूले आफ्नो विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम . . . हामी हरबखत सम्झिरहन्छौं।”—१ थिस्स. १:३.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • प्रथम शताब्दीका ख्रीष्टियनहरूले कुन-कुन तरिकामा परमेश्‍वरको सेवा गरे अनि तिनीहरूको खर्चको प्रबन्ध कसरी मिलाइयो?

  • पूर्ण-समय सेवाको कुनचाहिं पक्ष तपाईंलाई मनपर्छ?

  • पूर्ण-समय सेवकहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१. मनतनले यहोवाको सेवा गर्नेहरूबारे पावलले के भने?

प्रेषित पावलले सुसमाचारको लागि परिश्रम गर्नेहरूलाई सम्झिरहे। उनले लेखे, “तिमीहरूले आफ्नो विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टमा आशा राखेको हुनाले देखाएको सहनशीलता हाम्रा परमेश्‍वर र बुबासामु हामी हरबखत सम्झिरहन्छौं।” (१ थिस्स. १:३) आफ्ना सेवकहरूले गरेको सेवा धेरै होस्‌ वा थोरै, यहोवा त्यसको कदर गर्नुहुन्छ।—हिब्रू ६:१०.

२. यो लेखमा हामी के छलफल गर्नेछौं?

२ पूर्ण-समय सेवा गर्न पहिले-पहिलेका अनि अहिलेका यहोवाका सेवकहरूले धेरै त्याग गरेका छन्‌। यो लेखमा प्रथम शताब्दीका केही सेवकहरूले कसरी यहोवाको सेवा गरे, विचार गर्नेछौं। अहिलेका पूर्ण-समय सेवकहरूले कसरी सेवा गर्दै छन्‌ अनि तिनीहरूको परिश्रम हामी कसरी सम्झिरहन सक्छौं, त्यो पनि विचार गर्नेछौं।

प्रथम शताब्दीका ख्रीष्टियनहरू

३, ४. (क) प्रथम शताब्दीमा केहीले कसरी यहोवाको सेवा गरे? (ख) तिनीहरूले कसरी आफ्नो गर्जो टार्थे?

३ बप्तिस्मा गरेको केही समयपछि नै येशूले राज्यको सुसमाचार प्रचार गर्न थाल्नुभयो। उहाँले चेलाहरूलाई पनि प्रचार गर्न सिकाउनुभयो। (लूका ३:२१-२३; ४:१४, १५, ४३) उहाँको मृत्युपछि चेलाहरूले प्रचारको कामलाई अगाडि बढाए र सुसमाचार फैलँदै गयो। (प्रेषि. ५:४२; ६:७) केही चेलाहरूले घरदेखि टाढा मिसनरी सेवा गरे। जस्तै, फिलिपले प्यालेस्टाइनको विभिन्‍न ठाउँमा गएर त्यहाँ प्रचार गरे। (प्रेषि. ८:५, ४०; २१:८) त्यसैगरि पावलले आफ्नो घरदेखि टाढाको इलाकाहरूमा गएर त्यहाँ प्रचार गरे। (प्रेषि. १३:२-४; १४:२६; २ कोरि. १:१९) अरू चेलाहरूले पनि विभिन्‍न तरिकामा परमेश्‍वरको सेवा गरे। जस्तै, मर्कूस र लूकाले बाइबल लेखे अनि सिल्भानसले पत्रुसको सहयोगीको रूपमा काम गरे। (१ पत्रु. ५:१२) ख्रीष्टियन दिदीबहिनीहरूले चाहिं मिसनरी सेवा गर्नेहरूलाई र बाइबल लेखकहरूलाई सहयोग गरे। (प्रेषि. १८:२६; रोमी १६:१, २) ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा तिनीहरू सबैको मन छुने अनुभवहरू लेखिएका छन्‌। यी अनुभवहरू पढ्‌दा यहोवा आफ्ना सेवकहरूको परिश्रम बिर्सनुहुन्‍न भनेर बुझ्न सक्छौं।

४ प्रथम शताब्दीका पूर्ण-समय सेवकहरूले कसरी आफ्नो गर्जो टार्थे? तिनीहरू ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरूले आफूलाई मदत गरेको आस गर्दैनथे बरु सानोतिनो काम गरेर खर्च जुटाउँथे। (१ कोरि. ९:११-१५) तर तिनीहरूले अरूको मदत पनि स्वीकार्थे। सङ्‌गी ख्रीष्टियनहरूले तिनीहरूलाई खाना खान बोलाउँथे, घरमा बास दिन्थे अथवा अन्य तरिकामा मदत गर्थे। मण्डलीले अनि मण्डलीका केही सदस्यले तिनीहरूलाई खुसीसाथ मदत गर्थे।—प्रेषित १६:१४, १५; फिलिप्पी ४:१५-१८ पढ्‌नुहोस्‌।

आजका पूर्ण-समय सेवकहरू

५. एक दम्पतीले पूर्ण-समय सेवामा बिताएको जीवनबारे के भने?

५ आज पनि थुप्रैले विभिन्‍न तरिकामा पूर्ण-समय सेवा गरेका छन्‌। (“पूर्ण-समय सेवाका विभिन्‍न पक्षहरू” शीर्षकको पेटी हेर्नुहोस्‌) तपाईंले ती सेवकहरूलाई यो प्रश्‍न सोध्नुभयो भने प्रोत्साहन पाउनुहुनेछ, “पूर्ण समय सेवा गर्दा तपाईं कस्तो महसुस गर्नुहुन्छ?” एक जना भाइले नियमित अग्रगामी, विशेष अग्रगामी, मिसनरी र विदेशमा बेथेल परिवारको सदस्यको रूपमा सेवा गरिसकेपछि यसो भने, “अठार वर्षको उमेरमा मैले विश्‍वविद्यालयको शिक्षा लिने कि अग्रगामी सेवा गर्ने भनेर निर्णय गर्नुपरेको थियो। पूर्ण-समय सेवा रोजेर मैले त्यतिबेला एकदमै सही निर्णय गरें। हामीले गरेको त्याग यहोवाले भुल्नुहुन्‍न भनेर मैले अनुभव गरेको छु। यहोवाको आशिष्‌ले गर्दा मैले आफ्नो क्षमतालाई सही ठाउँमा लगाउन सकें। धेरै तलब आउने पेसा रोजेको भए यसो गर्न सक्दिनथें।” तिनकी श्रीमती यसो भन्छिन्‌, “हामीले पाएको हरेक जिम्मेवारीले मलाई उन्‍नति गर्न मदत गरेको छ। हामीले हरबखत यहोवाको सुरक्षा र डोऱ्‍याइ अनुभव गरेका छौं। आफूलाई सजिलो लाग्ने जीवनशैली रोजेको भए यस्तो अनुभव गर्न पाउने थिएनौं। पूर्ण-समय सेवामा बिताएको हरेक दिनको लागि म यहोवालाई धन्यवाद दिन्छु।” के तपाईं पनि त्यस्तै अनुभव गर्न चाहनुहुन्छ?

६. यहोवाले हाम्रो सेवालाई कसरी हेर्नुहुन्छ?

६ पूर्ण-समय सेवा गर्न नसकेकाहरूले पनि सक्दो यहोवाको सेवा गरेका छन्‌। उनीहरूले चढाएको सेवा यहोवाको लागि अमूल्य छ। पावलले पनि कलस्सी मण्डलीका सबैको मेहनतको कदर गरे। फिलेमोन १-३ मा हेर्ने हो भने तिनले त्यस मण्डलीका सबैलाई अभिवादन पठाए; तीमध्ये केहीको त नामै तोके। (पढ्‌नुहोस्‌) यहोवाले पनि ती सेवकहरूको कदर गर्नुभयो। उहाँ तपाईंले गर्नुभएको सेवाको पनि कदर गर्नुहुन्छ। अब हामी पूर्ण-समय सेवकहरूलाई मदत गर्ने केही तरिका विचार गरौं।

अग्रगामीहरूलाई मदत गर्ने तरिकाहरू

७, ८. अग्रगामीहरू प्रचारमा कति समय बिताउँछन्‌? मण्डलीका अरू सदस्यहरूले अग्रगामीहरूलाई कसरी मदत गर्न सक्छन्‌?

७ प्रथम शताब्दीका जोसिला प्रचारकहरूले जस्तै हाम्रो समयका अग्रगामीहरूले पनि मण्डलीलाई प्रोत्साहन दिन्छन्‌। थुप्रैले हरेक महिना ७० घण्टा प्रचार गर्छन्‌। तिनीहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

८ स्यारी नाम गरेकी एउटी अग्रगामीले यसो भनिन्‌, “दिनदिनै प्रचार जाने भएकोले अग्रगामीहरू आध्यात्मिक रूपमा बलिया देखिन्छन्‌ तर तिनीहरूलाई पनि प्रोत्साहन चाहिन्छ।” (रोमी १:११, १२) लामो समय अग्रगामी सेवा गरेकी अर्की बहिनी आफ्ना अग्रगामी साथीहरूबारे यसो भन्छिन्‌, “तिनीहरू धेरै खटिएर प्रचार गर्छन्‌। त्यसकारण कसैले गाडीमा राखेर प्रचारमा लगिदिंदा, खाना खान बोलाउँदा, पेट्रोल वा अरू कुराको लागि खर्च दिंदा तिनीहरू धेरै खुसी हुन्छन्‌। अरूले साँच्चै आफ्नो ख्याल गर्दा रहेछन्‌ भन्‍ने महसुस गर्छन्‌।”

९, १०. मण्डलीका अग्रगामीहरूलाई कसै-कसैले कसरी मदत गरेका छन्‌?

९ अग्रगामीहरूलाई मदत गर्ने अर्को तरिका सँगै प्रचारमा गएर हो। बबी नाम गरेकी अग्रगामी बहिनी भन्छिन्‌, “सप्ताहन्तबाहेक अरू दिन प्रचारमा सँगै काम गर्ने साथी पाउन गाह्रो हुन्छ।” त्यही मण्डलीको अर्की अग्रगामी बहिनी यसो भन्छिन्‌, “दिउँसो प्रचार गर्ने साथी पाउन सजिलो छैन।” अहिले अमेरिकामा बेथेल सेवा गरिरहेकी एक बहिनी यसो भन्छिन्‌, “मैले अग्रगामी सेवा गर्दा आफ्नै गाडी हुने एक जना बहिनीले यसो भन्‍ने गर्थिन्‌, ‘प्रचारमा जान साथी पाएन भने मलाई फोन गर्नुहोस्‌ है, म आइहाल्छु।’ तिनको मदतले गर्दा मैले अग्रगामी सेवा गरिरहन सकें।” त्यसैगरि स्यारी नाम गरेकी बहिनी यसो भन्छिन्‌, “अविवाहित अग्रगामीहरूले प्रचारबाट फर्केपछि एक्लो महसुस गर्छन्‌। त्यसैले बेला-बेलामा पारिवारिक उपासनामा बोलाउँदा तिनीहरूलाई न्यास्रो लाग्दैन। तिनीहरूसित अरू बेला पनि सँगै समय बिताएर प्रोत्साहन दिन सकिन्छ।”

१० झन्डै ५० वर्षदेखि पूर्ण-समय सेवा गरिरहेकी एक बहिनीले आफू र अरू अविवाहित अग्रगामीले पाएको मदतबारे यसो भनिन्‌, “मण्डलीका एल्डरहरू केही महिना बिराएर हामीलाई भेट्‌न आउनुहुन्थ्यो। हाम्रो स्वास्थ्य, काम अनि अरू समस्याबारे सोध्नुहुन्थ्यो। उहाँहरूले साँच्चै हाम्रो चासो लिनुहुन्थ्यो। हामीलाई केही मदत चाहिएको छ कि भनेर जान्‍न उहाँहरू हाम्रो डेरामा आउनुहुन्थ्यो।” यस्ता भाइहरूले ओन्सिफरसको अनुकरण गर्छन्‌। परिवार पाल्ने जिम्मेवारी भए तापनि तिनले पावललाई मदत गरे।—२ तिमो. १:१८.

११. विशेष अग्रगामी सेवाबारे केही बताउनुहोस्‌।

११ कुनै-कुनै मण्डलीमा विशेष अग्रगामीहरू पनि छन्‌। तिनीहरूमध्ये थुप्रैले हरेक महिना प्रचारमा १३० घण्टा बिताउँछन्‌। तिनीहरू मण्डलीका अरू गतिविधिमा पनि व्यस्त हुन्छन्‌। तिनीहरूसित बाहिर काम गर्ने समय थोरै मात्र हुन्छ वा हुँदै हुँदैन। त्यसैले तिनीहरूको घरभाडा, खानपिन अनि यात्रा गर्दा लाग्ने खर्च शाखा कार्यालयले बेहोर्छ। तिनीहरूले हरेक महिना पाउने रकम खासै धेरै त हुँदैन। तैपनि त्यसले तिनीहरूलाई खर्चको चिन्ता नगरी प्रचारको काममा लाग्न मदत गर्छ।

१२. एल्डरहरू र अरूले विशेष अग्रगामीहरूलाई कसरी मदत गर्न सक्छन्‌?

१२ विशेष अग्रगामीहरूलाई हामी कसरी मदत गर्न सक्छौं? थुप्रै विशेष अग्रगामीहरूसित सम्पर्कमा रहिरहने शाखा कार्यालयका एक जना एल्डर यसो भन्छन्‌, “एल्डरहरूले तिनीहरूसित कुराकानी गर्नुपर्छ र तिनीहरूको अवस्था कस्तो छ भनेर पत्ता लगाउनुपर्छ। त्यसपछि कस्तो मदत गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ। तिनीहरूले शाखा कार्यालयबाट केही रकम पाउने भएकोले तिनीहरूलाई मदत गर्नु पर्दैन भन्‍ने कसै-कसैलाई लाग्न सक्छ। तर मण्डलीका दाजुभाइ दिदीबहिनीहरूले उनीहरूलाई थुप्रै तरिकामा मदत गर्न सक्छन्‌।” नियमित अग्रगामीहरूजस्तै विशेष अग्रगामीहरू पनि प्रचारमा सँगै काम गर्ने साथी पाउँदा खुसी हुन्छन्‌। तपाईं पनि तिनीहरूसित प्रचारमा जान सक्नुहुन्छ कि?

परिभ्रमण निरीक्षकहरूलाई मदत गर्नुहोस्‌

१३, १४. (क) क्षेत्रीय निरीक्षक र तिनकी श्रीमतीलाई के कस्तो मदत गर्न सकिन्छ? (ख) परिभ्रमण निरीक्षकहरूलाई तपाईं कसरी मदत गर्न चाहनुहुन्छ?

१३ क्षेत्रीय निरीक्षक र तिनकी श्रीमती अनुभवी र आध्यात्मिक तवरमा परिपक्व हुन्छन्‌। तिनीहरूले हामीलाई प्रोत्साहन दिन्छन्‌। तर तिनीहरूलाई पनि प्रोत्साहन चाहिन्छ भनेर हामीले बुझ्नुपर्छ। तिनीहरूलाई पनि सँगै प्रचारमा जाने साथी चाहिन्छ। सङ्‌गी ख्रीष्टियनहरूले कुनै रमाइलो गतिविधिमा निम्त्याउँदा पनि तिनीहरू खुसी हुन्छन्‌। परिभ्रमण निरीक्षक वा तिनकी श्रीमती बिरामी पर्दा वा अस्पतालमा भर्ना हुँदा तिनीहरूलाई भेट्‌न जान सक्छौं अनि तिनीहरूको हेरचाह गर्न सक्छौं। “प्रिय डाक्टर लूकाले” पावल र तिनीसितै विभिन्‍न मण्डलीको भ्रमण गर्नेहरूको हेरचाह गरे।—कल. ४:१४; प्रेषि. २०:५–२१:१८.

१४ परिभ्रमण निरीक्षक र तिनकी श्रीमतीलाई पनि माया गर्ने र प्रोत्साहन दिने साथीहरू चाहिन्छ। एक जना क्षेत्रीय निरीक्षक लेख्छन्‌, “मेरा साथीहरूले चाहिएकै बेला मलाई प्रोत्साहन दिन्छन्‌। उनीहरू मेरो मनको कुरा बुझ्ने प्रयास गर्छन्‌। त्यसैले मलाई आफ्नो कुरा बताउन सजिलो लाग्छ। मेरो कुरा राम्ररी सुनिदिएकोले मन हल्का हुन्छ।” ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले तिनीहरूको ख्याल राख्दा अनि असल साथी बनिदिंदा तिनीहरूले त्यसको कदर गर्छन्‌।

बेथेल परिवारका सदस्यहरूलाई मदत गर्नुहोस्‌

१५, १६. बेथेल र सम्मेलन भवनमा सेवा गर्नेहरूको काम किन महत्त्वपूर्ण छ? बेथेलमा सेवा गर्नेहरूलाई कसरी मदत गर्न सक्छौं?

१५ बेथेलमा गरिने सेवा अनि सम्मेलन भवनको रेखदेख पनि पूर्ण-समय सेवाकै भाग हो। यस्तो सेवाले राज्य प्रचारलाई टेवा पुऱ्‍याउँछ। तपाईंको मण्डली वा सर्किटका बेथेल सेवकहरूको परिश्रम तपाईंले बिर्सनुभएको छैन भनेर कसरी देखाउन सक्नुहुन्छ?

१६ आफ्नो परिवार र साथीभाइलाई छोडेर बेथेलमा सेवा गर्न आएकाहरूलाई घरको यादले सताउन सक्छ। त्यसैले मण्डलीका वा बेथेलका सङ्‌गी ख्रीष्टियनहरूले चासो दिंदा तिनीहरू खुसी हुन्छन्‌। (मर्कू. १०:२९, ३०) मण्डलीका अरू सदस्यहरूजस्तै तिनीहरू नियमित रूपमा सभामा जान्छन्‌ अनि हरेक हप्ता प्रचारमा भाग लिन्छन्‌। तर कहिलेकाहीं बेथेलको कामले गर्दा तिनीहरूले मण्डलीमा अरूले चाहेजस्तो मदत गर्न सक्दैनन्‌। मण्डलीले यो कुरा बुझ्नु र तिनीहरूले गरेको सेवाको मोल गर्नु राम्रो हो।—१ थिस्सलोनिकी २:९ पढ्‌नुहोस्‌।

विदेशमा पूर्ण-समय सेवा गर्नेहरूलाई मदत गर्नुहोस्‌

१७, १८. विदेशमा पूर्ण-समय सेवा गर्नेहरूले कुन-कुन तरिकाले सेवा गर्छन्‌?

१७ केही पूर्ण-समय सेवकहरूले विदेशमा सेवा गर्छन्‌। विदेशमा सेवा गर्न त्यति सजिलो हुँदैन। किनभने तिनीहरू नयाँ रहनसहनमा घुलमिल हुनुपर्छ; नयाँ भाषा सिक्नुपर्छ र स्थानीय मानिसले जे खान्छन्‌, त्यही खानु पर्नेसमेत हुन सक्छ। विदेशमा पूर्ण-समय सेवा गर्नेहरूले विभिन्‍न तरिकाले सेवा गर्छन्‌।

१८ केहीले मिसनरीको रूपमा सेवा गर्छन्‌। तिनीहरूले धेरैजसो समय प्रचारमा बिताउँछन्‌। यसको लागि तिनीहरूले विशेष तालिम पाएका हुन्छन्‌। तिनीहरू सिपालु प्रचारक र शिक्षकहरू हुन्‌। आफूले सिकेको कुरा तिनीहरू मण्डलीका अरूलाई पनि सिकाउँछन्‌। तिनीहरूको घरभाडा अनि आधारभूत खर्चको प्रबन्ध शाखा कार्यालयले बेहोर्छ। विदेशमा सेवा गर्ने कोही-कोही शाखा कार्यालयमा काम गर्छन्‌। कोहीचाहिं शाखा कार्यालय, स-साना अनुवाद कार्यालय, सम्मेलन भवन र राज्यभवन निर्माणकार्यमा भाग लिन्छन्‌। तिनीहरूलाई शाखा कार्यालयले वा स्थानीय मण्डलीका सदस्यहरूले खाने र बस्ने प्रबन्ध मिलाइदिन्छन्‌। बेथेल परिवारका सदस्यहरूजस्तै निर्माण स्वयंसेवकहरू पनि सभा जान्छन्‌ अनि प्रचारमा भाग लिन्छन्‌। तिनीहरूको अनुभवबाट मण्डलीले पनि सिक्न सक्छ।

१९. विदेशबाट सेवा गर्न आएका पूर्ण-समय सेवकहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१९ विदेशबाट सेवा गर्न आएका पूर्ण-समय सेवकहरूलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ? नयाँ ठाउँमा आएकोले तिनीहरूलाई कुनै-कुनै खाना मन नपर्न सक्छ। त्यसैले घरमा बोलाउँदा तिनीहरूलाई के खान मनपर्छ अथवा स्थानीय परिकार खान चाहन्छन्‌ कि भनेर सोध्नुहोस्‌। तिनीहरूले स्थानीय भाषा र रहनसहन सिक्न कोसिस गरिरहेका हुन्छन्‌। तिनीहरूलाई समय लाग्न सक्छ। त्यसैले धैर्य गर्दै तिनीहरूलाई मदत गर्नुहोस्‌। तिनीहरू स्थानीय भाषा र रहनसहन सिक्न साँच्चै इच्छुक छन्‌ भनी नबिर्सनुहोस्‌।

२०. हामी कसरी पूर्ण-समय सेवकहरूको बोझ हल्का गर्न सक्छौं?

२० विदेशमा पूर्ण-समय सेवा गर्नेहरू चाहेको बेला घर जान सक्दैनन्‌। त्यसैले आमाबुबाको उमेर ढल्कँदै जाँदा उनीहरूलाई कसरी मदत गर्ने भनेर तिनीहरूलाई चिन्ता लाग्न सक्छ। आमाबुबाले पनि छोराछोरीले पूर्ण-समय सेवा गरिरहून्‌ भनेर चाहेका हुन सक्छन्‌। (३ यूह. ४) पूर्ण-समय सेवकहरू पक्कै पनि आमाबुबालाई भेट्‌न अनि उनीहरूको सक्दो हेरचाह गर्न चाहन्छन्‌। तर आमाबुबाको मण्डलीका सदस्यहरूले पूर्ण-समय सेवकहरूको बोझ हल्का गर्न सक्छन्‌। कसरी? तिनीहरूका आमाबुबालाई मदत गर्न अघि सरेर। पूर्ण-समय सेवकहरूले सबैभन्दा महत्त्वपूर्ण कामलाई सघाइरहेका छन्‌ भनेर नबिर्सनुहोस्‌। (मत्ती २८:१९, २०) तिनीहरूका आमाबुबालाई तपाईं मदत गर्न सक्नुहुन्छ कि?

२१. अरूको मदत अनि प्रोत्साहन पाउँदा पूर्ण-समय सेवकहरूलाई कस्तो लाग्छ?

२१ पूर्ण-समय सेवकहरू यहोवाको सेवा गर्न र अरूलाई मदत गर्न भएभरको समय अनि शक्‍ति खर्चन्छन्‌। त्यसैले अरूले मदत गर्दा तिनीहरू खुसी हुन्छन्‌। विदेशमा पूर्ण-समय सेवा गरिरहेकी अग्रगामी यसो भन्छिन्‌, “कसैले दुई-चार शब्द लेखेर दिंदा मात्र पनि मलाई धेरै खुसी लाग्छ। अरूले मलाई बिर्सेका रहेनछन्‌ र मेरो सेवाको कदर गर्दा रहेछन्‌ भनेर थाह पाउँदा म धेरै प्रोत्साहित हुन्छु।”

२२. तपाईंलाई पूर्ण-समय सेवा कस्तो लाग्छ?

२२ पूर्ण-समय सेवकहरू खुसी र सन्तुष्ट छन्‌। किनभने तिनीहरूले जीवन बिताउने सबैभन्दा राम्रो तरिका रोजेका छन्‌। तिनीहरूले सामना गर्नुपर्ने चुनौतीहरू धेरै छन्‌। तर ती चुनौतीहरूसँग जुझेर तिनीहरूले धेरै कुरा सिक्छन्‌। साथै तिनीहरूले अहिलेदेखि आफूलाई नयाँ संसारमा परमेश्‍वरको सेवाको लागि तयार पार्दै छन्‌। त्यतिबेला यहोवाका सेवकहरूले हरेक दिन आफ्नो कामबाट साँचो सन्तुष्टि पाउनेछन्‌। त्यतिन्जेल पूर्ण-समय सेवकहरूले “विश्‍वासको कारण गरेका कामहरू” र “प्रेमपूर्वक गरेको परिश्रम”-लाई सधैं सम्झिरहौं।—१ थिस्स. १:३.

पूर्ण-समय सेवाका विभिन्‍न पक्षहरू

  • दुई नियमित अग्रगामी एक पुरुषलाई प्रचार गर्दै

    नियमित अग्रगामीहरू महिनामा प्रायजसो ७० घण्टा प्रचार गर्छन्‌। तिनीहरू आफ्नै मण्डलीमा वा आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्छन्‌।

  • दुई जना विशेष अग्रगामीहरू प्रचारकार्यम

    विशेष अग्रगामीहरू महिनामा सामान्यतया १३० घण्टा प्रचार गर्छन्‌। तिनीहरूलाई अक्सर आवश्‍यकता बढी भएको ठाउँमा खटाइन्छ।

  • क्षेत्रीय निरीक्षक र तिनकी श्रीमती भ्रमणमा जाँदै

    क्षेत्रीय निरीक्षकहरू थुप्रै मण्डलीको भ्रमण गर्छन्‌। तिनीहरू प्रचारमा नेतृत्व लिन्छन्‌ अनि मण्डलीहरूलाई आवश्‍यक मदत गर्छन्‌।

  • बेथेल परिवारका सदस्य साहित्य मिलाउँदै

    बेथेल परिवारका सदस्यहरू शाखा कार्यालय वा अनुवाद कार्यालयमा सेवा गर्छन्‌। तिनीहरू शाखाको निरीक्षणमा पर्ने इलाकाको लागि साहित्यहरू तयार पार्ने र प्रचारको लागि आवश्‍यक निर्देशन दिने काममा मदत गर्छन्‌।

  • एक मिसनरी दम्पती मोटरसाइकल चढ्‌न लागेका

    मिसनरीहरूलाई अक्सर विदेशमा प्रचार गर्न खटाइन्छ। धेरैजसो मिसनरीहरूले महिनामा १३० घण्टा प्रचार गर्छन्‌।

  • एक अन्तरराष्ट्रिय सेवक निर्माणकार्यमा भाग लिंदै

    अन्तरराष्ट्रिय सेवकहरू र स्वयंसेवकहरू शाखा कार्यालय, स-साना अनुवाद कार्यालय, सम्मेलन भवन र राज्यभवन निर्माणकार्यमा मदत पुऱ्‍याउन विभिन्‍न देशमा जान्छन्‌।

  • राज्यभवन निर्माण सेवक गाडा ठेल्दै

    राज्यभवन निर्माण सेवकहरूलाई आफ्नो देश भित्र राज्यभवन निर्माणकार्यमा मदत पुऱ्‍याउन तालिम दिइन्छ। तिनीहरूले निर्माणसम्बन्धी अन्य कामहरूमा पनि मदत गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने