प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ pp. १७-२१
  • जवान हो—तपाईंको प्रगति सबैले देखून्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवान हो—तपाईंको प्रगति सबैले देखून्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रगति के हो?
  • “शुद्ध मन”-का साथ साह्रोगाह्रो परिस्थितिको सामना गर्नुहोस्‌
  • सफल वैवाहिक जीवनको लागि तयारी गर्नुहोस्‌
  • “तिम्रो सेवाको काम पूरा गर”
  • प्रगतिले साँचो सन्तुष्टि ल्याउँछ
  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • प्रगति गरिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • तपाईंको उन्‍नति जाहेर गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • तपाईंको प्रगति प्रकट होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ pp. १७-२१

जवान हो—तपाईंको प्रगति सबैले देखून्‌

“यी कर्तव्यहरू पालन गर [ “यी कुरामा चिन्तन गर,” NW ]। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌।”—१ तिमो. ४:१५, NRV.

१. परमेश्‍वर जवान व्यक्‍तिहरूका लागि के चाहनुहुन्छ?

“ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌।” (उप. ११:९) यी शब्दहरू प्राचीन इस्राएलका राजा सुलेमानका हुन्‌। यस सन्देशका मूल यहोवा परमेश्‍वर पक्कै पनि जवानहरू आनन्दित रहेको चाहनुहुन्छ। अझ, युवावस्थापछि पनि तपाईं आनन्दितै रहिरहोस्‌ भन्‍ने उहाँको चाहना छ। तर युवावस्थामा बारम्बार पीडादायी गल्तीहरू हुन पुग्छ जसले जिन्दगीभर पिरोल्न सक्छ। विश्‍वासी अय्यूबले पनि आफ्नो ‘युवावस्थाको दोष भोग्नु’ परेकोमा बिलौना गरे। (अय्यू. १३:२६) किशोरावस्था र त्यसपछिको दुई-चार वर्ष जवान ख्रीष्टियानहरूले अक्सर गम्भीर निर्णयहरू गर्नुपर्ने हुन्छ। खराब निर्णयले भावनात्मक रूपमा गहिरो चोट पुऱ्‍याउन र जिन्दगीभर असर गर्ने समस्याहरू खडा गर्न सक्छ।—उप. ११:१०.

२. कस्तो बाइबल सल्लाह पालन गर्दा जवानहरू गम्भीर गल्ती गर्नबाट जोगिन सक्छन्‌?

२ सही निर्णय गर्न सक्ने हुन जवानहरूलाई प्रयासको खाँचो पर्छ। प्रेरित पावलले कोरिन्थीका ख्रीष्टियानहरूलाई दिएको सल्लाह विचार गर्नुहोस्‌। तिनले लेखे: “समझमा केटाकेटी नहोओ, . . . तर समझमा मानिस होओ।” (१ कोरि. १४:२०) पूरा बढेको मानिसले जस्तो सोच्ने र तर्क गर्ने क्षमता हासिल गर्ने सल्लाह पालन गर्दा जवानहरू गम्भीर गल्ती गर्नबाट जोगिन सक्छन्‌।

३. परिपक्व हुन तपाईं के गर्न सक्नुहुन्छ?

३ तपाईं जवान हुनुहुन्छ भने एउटा कुरा मनमा राख्नुहोस्‌, परिपक्व हुन प्रयासको खाँचो पर्छ। पावलले तिमोथीलाई भने: “जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्‌, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षाको काममा ध्यान देऊ। . . . यी कर्तव्यहरू पालन गर [“यी कुरामा चिन्तन गर,” NW ]। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌।” (१ तिमो. ४:१२-१५ NRV ) ख्रीष्टियान जवानहरूले प्रगति गर्नुपर्छ र यो अरूले देख्नुपर्छ।

प्रगति के हो?

४. आध्यात्मिक प्रगति गर्नुमा के समावेश छ?

४ प्रगति भनेको “राम्रोको लागि परिवर्तन गर्नु, उन्‍नति गर्नु” हो। पावलले तिमोथीलाई बोली, चालचलन, प्रेम, विश्‍वास र नैतिक शुद्धतामा उन्‍नति ल्याउन अनि सेवाको काम पूरा गर्ने सन्दर्भमा लागिरहन अर्ती दिए। तिनले आफ्नो जीवनलाई उदाहरणीय बनाउन कोसिस गर्नुपर्ने थियो। त्यसैले तिनले निरन्तर आध्यात्मिक प्रगति गरिरहनु आवश्‍यक थियो।

५, ६. (क) तिमोथीको प्रगति कहिलेदेखि देखिन थाल्यो? (ख) प्रगति गर्ने सन्दर्भमा जवानहरूले कसरी तिमोथीको अनुकरण गर्न सक्छन्‌?

५ इस्वी संवत्‌ ६१ देखि ६४ को बीचतिर पावलले माथि उल्लेख गरेको सल्लाह लेख्दा तिमोथी अनुभवी प्राचीन भइसकेका थिए। तिनी भर्खरै आध्यात्मिक प्रगति गर्न थालेको अवस्थामा थिएनन्‌। इस्वी संवत्‌ ४९ वा ५० मा तिमोथी २० वर्ष जतिको मात्र हुँदा नै “लिस्त्रा र आइकोनियमका भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको थियो।” तिनको आध्यात्मिक प्रगति ती भाइहरूले याद गरेका थिए। (प्रेरि. १६:१-५) त्यतिबेला पावलले तिमोथीलाई मिसनरी यात्रामा सँगै लगे। अझ दुई-चार महिना तिमोथीमा थप प्रगति हेरेपछि पावलले तिनलाई थिस्सलोनिकीका ख्रीष्टियानहरूलाई सान्त्वना दिन र स्थिर गराउन पठाए। (१ थिस्सलोनिकी ३:१-३, ६ पढ्‌नुहोस्‌) स्पष्टतः जवान छँदा नै तिमोथीको आध्यात्मिक प्रगति अरूले देख्न थालिसकेको थियो।

६ मण्डलीका जवान हो, अहिले नै आवश्‍यक आध्यात्मिक गुणहरू विकास गर्ने कोसिस गर्नुहोस्‌ ताकि तपाईंको ख्रीष्टियान जीवनशैली र अरूलाई बाइबल सत्य सिकाउने क्षमतामा प्रगति भएको स्पष्टै देखियोस्‌। बाह्र वर्षको उमेरदेखि येशू “बुद्धि[मा], . . . बढ्‌दै जानुभयो।” (लूका २:५२) त्यसोभए आउनुहोस्‌, जीवनका तीन क्षेत्रमा तपाईं कसरी प्रगति प्रकट गर्न सक्नुहुन्छ, हेरौं: (१) साह्रोगाह्रो परिस्थिति आइपर्दा, (२) विवाह गर्ने तयारी गर्दा र (३) “असल सेवक” बन्‍ने प्रयास गर्दा।—१ तिमो. ४:६.

“शुद्ध मन”-का साथ साह्रोगाह्रो परिस्थितिको सामना गर्नुहोस्‌

७. गाह्रो परिस्थितिले जवानहरूलाई कसरी असर गर्न सक्छ?

७ क्यारल नाउँकी १७ वर्षीया बहिनी भन्छिन्‌: “कहिलेकाहीं म भावनात्मक, शारीरिक र मानसिक तवरमा यस्तो थकित हुन्छु कि मलाई बिहान उठ्‌नै मन लाग्दैन।”a उनी किन त्यस्तो निराश भएकी? दस वर्षकी हुँदा क्यारलको आमाबाबुको सम्बन्ध विच्छेद भएकोले परिवार भताभुंग भयो। उनीचाहिं आमासँग बस्नुपर्ने भयो। तर उनकी आमाले बाइबलका नैतिक स्तरहरूलाई तिरस्कार गरिन्‌। क्यारल जस्तै तपाईं पनि एकदमै गाह्रो परिस्थितिबाट गुज्रिरहनुभएको होला र सुधारको केही संकेत पनि नदेखिएला।

८. कस्ता असहज परिस्थितिसित तिमोथीले संघर्ष गर्नुपऱ्‍यो?

८ आध्यात्मिक प्रगति गरिरहँदा तिमोथीले पनि असहज परिस्थितिसित संघर्ष गर्नुपऱ्‍यो। उदाहरणको लागि, पेटको समस्याको कारण तिनी “घरिघरि बिरामी” पर्थे। (१ तिमो. ५:२३) प्रेरितहरूको अधिकारलाई चुनौती दिने व्यक्‍तिहरूले खडा गरेको समस्या सँभाल्न पावलले तिनलाई कोरिन्थ पठाउँदा तिनीहरूका साथ “निर्भयसँग” रहन सकून्‌ भनेर पावलले कोरिन्थ मण्डलीलाई तिनको सहयोग गर्नू भने। (१ कोरि. ४:१७; १६:१०, ११) यसबाट स्पष्ट हुन्छ, तिमोथी लजालु स्वभावका वा संकोच मान्‍ने व्यक्‍ति थिए।

९. शुद्ध मनको हुनु भनेको के हो र यो भनेको लाछी हुनु होइन, किन?

९ तिमोथीकै मदतको लागि पावलले तिनलाई पछि यसो भनेर सम्झाए: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा [“शुद्ध मन,” NW ] दिनुभएको छ।” (२ तिमो. १:७) “शुद्ध मन”-को हुनुमा तार्किक ढंगले सोच्न र तर्क गर्न सक्षम हुनु समावेश छ। यसमा आफूले चाहेजस्तो परिस्थिति नहुँदा त्यससित जुझ्नु पनि समावेश छ। केही आलोकाँचो जवानहरूले आफू लाछी भएको देखाउँछन्‌। अचाक्ली सुतेर वा टिभी हेरेर, रक्सी वा लागू औषधको दुर्व्यसनमा फसेर, पार्टीहरू मात्र गएर वा यौन अनैतिकतामा लागेर आफूमाथि आइपरेको गाह्रो परिस्थितिबाट तिनीहरू भाग्न खोज्छन्‌। ख्रीष्टियानहरूलाई “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर . . . यस वर्तमान युगमा आत्मसंयम [“शुद्ध मन,” NW ], धार्मिक र भक्‍तिको जीवनमा” रहन अर्ती दिइएको छ।—ती. २:१२.

१०, ११. शुद्ध मनले कसरी आध्यात्मिक बल विकास गर्न मदत गर्छ?

१० बाइबलले “जवान मानिसहरूलाई . . . आत्मसंयमी [“शुद्ध मनको,” NW ]” हुनू भन्छ। (ती. २:६) यो सल्लाह पालन गर्नुको मतलब हो, तपाईंले प्रार्थना गरेर र परमेश्‍वरले दिने बलमा भर परेर समस्याको सामना गर्नु। (१ पत्रुस ४:७ पढ्‌नुहोस्‌) यसरी तपाईंले ‘परमेश्‍वरले दिने बलमा’ भित्रैदेखि विश्‍वास विकास गर्नुहुनेछ।—१ पत्रु. ४:११.

११ क्यारलले शुद्ध मन र प्रार्थनाबाट मदत पाइन्‌। तिनी भन्छिन्‌, “मेरी आमाको अनैतिक जीवनशैली विरुद्ध अडान लिन यत्ति गाह्रो भयो कि, कुरै नगरौं! तर प्रार्थनाले साँच्चै मदत गऱ्‍यो। मलाई थाह छ, यहोवा मेरो साथमा हुनुहुन्छ। त्यसैले म आजभोलि डराउदिनँ।” नबिर्सनुहोस्‌, दुःखदायी परिस्थितिले तपाईंको व्यक्‍तित्वलाई निखार्न र तपाईंलाई बलियो बनाउन सक्छ। (भज. १०५:१७-१९; विला. ३:२७) जस्तोसुकै परिस्थिति आइपरे तापनि परमेश्‍वर तपाईंलाई कहिल्यै त्याग्नुहुन्‍न। उहाँले अवश्‍यै “सहायता” गर्नुहुनेछ।—यशै. ४१:१०.

सफल वैवाहिक जीवनको लागि तयारी गर्नुहोस्‌

१२. विवाह गर्ने विचार गरिरहेका ख्रीष्टियानहरूले किन हितोपदेश २०:२५ मा पाइने सिद्धान्त लागू गर्नुपर्छ?

१२ केही जवानहरू बेखुसी, एक्लोपन, दिकदारी र घरका समस्याहरू बिहे गरेपछि ठीक हुन्छ भन्ठान्दै हतारमा विवाह गर्छन्‌। तर विवाह-वाचा चानचुने कुरा होइन। बाइबल समयमा कसै-कसैले भाकलमा के-कस्ता कुरा मुछिएका छन्‌ राम्ररी विचार नगरी परमेश्‍वरलाई भाकल गर्थे। (हितोपदेश २०:२५ पढ्‌नुहोस्‌) बिहे गरेपछि के-कस्ता जिम्मेवारी आइपर्छन्‌ त्यसबारे केही जवानहरूले राम्ररी विचार गरेका हुँदैनन्‌। पछि मात्र तिनीहरूको घैंटोमा घाम लाग्छ।

१३. विवाहपूर्वको भेटघाट सुरु गर्ने विचार गरिरहेकाहरूले कस्ता प्रश्‍नहरूमाथि विचार गर्नुपर्छ र तिनीहरूका लागि कस्ता मदतकारी सल्लाहहरू उपलब्ध छन्‌?

१३ विवाहपूर्वको भेटघाट सुरु गर्नुअघि आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘म किन विवाह गर्न चाहन्छु? मैले कस्ता आशाहरू राखेको छु? के तिनी मेरो लागि सही व्यक्‍ति हो? के म विवाहित व्यक्‍तिको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु?’ यसबारे गहिरिएर परीक्षण गर्नको लागि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले यसै विषयसित सम्बन्धित लेखहरू तयार पारिदिएका छन्‌।b (मत्ती २४:४५-४७) त्यस्ता लेखहरूलाई यहोवाबाट पाएको सल्लाहको रूपमा लिनुहोस्‌। त्यहाँ भनिएका कुराहरू राम्ररी बुझेर पढ्‌नुहोस्‌ र व्यवहारमा उतार्नुहोस्‌। “समझै नभएको घोडा अथवा खच्चरजस्ता” कहिल्यै नहुनुहोस्‌। (भज. ३२:८, ९) विवाह बन्धनमा बाँधिएपछि आइपर्ने जिम्मेवारीहरू वहन गर्न सक्छु कि सक्दिनँ, त्यो बुझ्न पूरा बढेको मानिस हुनुहोस्‌। विवाहपूर्वको भेटघाटको लागि आफू तयार छु जस्तो तपाईंलाई लाग्छ भने नैतिक ‘शुद्धतामा उदाहरणीय’ हुन नबिर्सनुहोस्‌।—१ तिमो. ४:१२.

१४. आध्यात्मिक प्रगतिले विवाहपछि पनि तपाईंलाई कसरी मदत पुऱ्‍याउन सक्छ?

१४ आध्यात्मिक परिपक्वताले विवाहपछि पनि सफल हुन मदत गर्छ। पूरा बढेको ख्रीष्टियानले “ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको” हुने कोसिस गर्छ। (एफि. ४:११-१४) ख्रीष्टको जस्तो व्यक्‍तित्व विकास गर्न तिनी मेहनत गर्छन्‌। हाम्रो नमुना “ख्रीष्टले . . . आफैलाई खुश तुल्याउनुभएन।” (रोमी १५:३) जब पति-पत्नी दुवैले आफ्नो फाइदा नहेरी आफ्नो जोडीको भलाइ खोज्छ तब पारिवारिक जीवन सुखमय हुन्छ। (१ कोरि. १०:२४) पति आत्म-त्यागी प्रेम देखाउँछन्‌ भने पत्नी चाहिं, पति आफ्नो शिर येशूको अधीनमा बसेझैं पतिको अधीनमा बस्न कटिबद्ध हुन्छिन्‌।—१ कोरि. ११:३; एफि. ५:२५.

“तिम्रो सेवाको काम पूरा गर”

१५, १६. सेवाको काममा तपाईं कसरी आफ्नो प्रगति देखाउन सक्नुहुन्छ?

१५ तिमोथीले सँभालिरहेको महत्त्वपूर्ण जिम्मेवारीमा ध्यान खिच्दै पावलले लेखे: “परमेश्‍वरको . . . र . . . ख्रीष्ट येशूको . . . सामने, म तिमीलाई कडा आज्ञा दिन्छु, वचन प्रचार गर, . . . तयार रह।” तिनले अझै भने: “प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” (२ तिमो. ४:१, २, ५) यो जिम्मेवारी पूरा गर्नका लागि तिमोथी “विश्‍वासका वचनहरूले पुष्टेइँ पाएका” हुनुपर्थ्यो। —१ तिमोथी ४:६ पढ्‌नुहोस्‌।

१६ तपाईं कसरी “विश्‍वासका वचनहरूले पुष्टेइँ” पाउन सक्नुहुन्छ? पावलले लेखे: “म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षाको काममा ध्यान देऊ। . . . यी कर्तव्यहरू पालन गर [“यी कुरामा चिन्तन गर,” NW ]। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌।” (१ तिमो. ४:१३, १५, NRV ) प्रगति गर्न लगनशील भई व्यक्‍तिगत अध्ययन गर्नुपर्छ। “लागिबस” भन्‍ने पदावलीले कुनै कामकुरोमा पूरै डुब्नु भन्‍ने अर्थ दिन्छ। तपाईंको अध्ययन गर्ने बानी कस्तो छ? के तपाईं “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू”-मा पूरै लाग्नुहुन्छ? (१ कोरि. २:१०) वा खासै मेहनत गर्नुहुन्‍न? पढेको कुरामा चिन्तन गर्दा तपाईंको हृदय उत्प्रेरित हुनेछ।—हितोपदेश २:१-५ पढ्‌नुहोस्‌।

१७, १८. (क) तपाईंले कस्ता योग्यताहरू विकास गर्न कोसिस गर्नुपर्छ? (ख) तिमोथीको जस्तो मनोभाव विकास गर्नु प्रचारकार्यमा तपाईंको लागि किन मदतकारी हुनेछ?

१७ मिशेल नाउँ गरेकी जवान अग्रगामीले भनिन्‌: “प्रचारकार्यमा साँच्चै प्रभावकारी हुन मैले व्यक्‍तिगत अध्ययनको राम्रो तालिका बनाएकी छु र सभा पनि छुटाउँदिनँ। यसले गर्दा म आध्यात्मिक रूपमा सधैं बढिरहेकी हुन्छु।” अग्रगामी गर्दा तपाईं बाइबल चलाउन पक्कै सिपालु हुन सक्नुहुन्छ र आध्यात्मिक प्रगति पनि गर्न सक्नुहुन्छ। पढ्‌ने तरिकामा उन्‍नति गर्न र ख्रीष्टियान सभामा अर्थपूर्व टिप्पणी दिन यत्न गर्नुहोस्‌। अनि तपाईंले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विद्यार्थी भाषण पाउँदा आध्यात्मिक तवरमा परिपक्व जवानको हैसियतमा, दिइएको विषयवस्तुभन्दा बाहिर नगई जानकारीमूलक भाषण दिने तयारी गर्नुहोस्‌।

१८ ‘प्रचारकको काम गर्नुको’ अर्थ प्रचारकार्यलाई अझै प्रभावकारी बनाएर अरूलाई उद्धार पाउन मदत गर्नु हो। यसको लागि “शिक्षण कला” विकास गर्नुपर्छ। (२ तिमो. ४:२, NW ) अनुभवीहरूसित प्रचारमा जाँदा तिनीहरूको सिकाउने तरिका सिक्न सक्नुहुन्छ। तिमोथीले पनि पावलबाट सिकेका थिए। (१ कोरि. ४:१७) आफूले मदत गरेकाहरूलाई संकेत गर्दै पावलले तिनीहरूलाई सुसमाचार मात्र होइन तर आफ्नो ‘प्राण’ अर्थात्‌ तिनीहरूलाई मदत गर्न आफ्नो जीवन नै अर्पण गरेको बताए। यो सबै गर्नुको कारण तिनीहरूप्रतिको माया थियो। (१ थिस्स. २:८) प्रचारकार्यमा पावलको देखासिकी गर्न तपाईंको मनोवृत्ति तिमोथीको जस्तो हुनु आवश्‍यक छ जसले अरूको साँच्चै ख्याल राखेका थिए र “सुसमाचारको काममा” दत्तचित्तका साथ लागेका थिए। (फिलिप्पी २:१९-२३, NRV पढ्‌नुहोस्‌) के तपाईं पनि प्रचारकार्यमा त्यस्तै आत्मत्यागी मनोभाव देखाउनुहुन्छ?

प्रगतिले साँचो सन्तुष्टि ल्याउँछ

१९, २०. आध्यात्मिक प्रगति गर्दा किन आनन्दित हुन सक्छौं?

१९ आध्यात्मिक प्रगतिको लागि प्रयासको खाँचो पर्छ। तर धैर्यता साथ शिक्षण कला विकास गर्दा समयको दौडान तपाईंले धेरैलाई आध्यात्मिक तवरमा “धनी तुल्याउने” सुअवसर पाउनुहुनेछ र तिनीहरू तपाईंको ‘आनन्दको मुकुट’ हुनेछन्‌। (२ कोरि. ६:१०; १ थिस्स. २:१९) पूर्ण-समय सेवक फ्रेड भन्छन्‌, “अरूलाई मदत गर्न मैले अहिले जत्ति समय पहिला कहिल्यै बिताएको थिइनँ। लिनुभन्दा दिनु असल हो भन्‍ने कुरा सोह्रै आना सही रहेछ।”

२० आध्यात्मिक तवरमा बढ्‌दै जाँदा अनुभव गरेको आनन्द र सन्तुष्टिबारे जवान अग्रगामी बहिनी डाफ्ने भन्छिन्‌: “यहोवाबारे सिक्दै जाँदा उहाँसँग झनै नजिक भएको महसुस गर्न थालें। उहाँलाई आफूले सकेजति प्रसन्‍न तुल्याउने कोसिस गर्दा साँच्चै सन्तुष्टि पाइन्छ!” आध्यात्मिक प्रगति मानिसहरूले सधैं याद नगर्लान्‌ तर यो यहोवाको नजरबाट लुक्न सक्दैन र यसको उहाँ मोल गर्नुहुन्छ। (हिब्रू ४:१३) तपाईं जवान ख्रीष्टियानहरूले निश्‍चय पनि हाम्रो स्वर्गमा हुनुहुने पिताको महिमा र प्रशंसा गर्न सक्नुहुन्छ। आफ्नो प्रगति निरन्तर देखाउँदै परमेश्‍वरको हृदयलाई प्रसन्‍न तुल्याइराख्नुहोस्‌।—हितो. २७:११. (w 09 5/15)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ किताब “के यो व्यक्‍ति मेरो लागि सही हो?”; प्रहरीधरहरा मे १५, २००१ “पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन”; र अवेक! सेप्टेम्बर २२, १९८३ “किशोर विवाह कत्तिको बुद्धिमानी?”

तपाईंले के सिक्नुभयो?

• आध्यात्मिक प्रगति गर्नुमा के समावेश छ?

• तपाईं आफ्नो आध्यात्मिक प्रगति कसरी देखाउन सक्नुहुन्छ:

साह्रोगाह्रो परिस्थितिमा?

विवाह गर्ने तयारी गर्दा?

प्रचारमा?

[पृष्ठ १९-मा भएको चित्र]

प्रार्थनाले तपाईंलाई साह्रोगाह्रो परिस्थितिको सामना गर्न मदत गर्न सक्छ

[पृष्ठ २०-मा भएको चित्र]

जवान प्रकाशकहरूले प्रभावकारी शिक्षण कला कसरी विकास गर्न सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने