तपाईंको उन्नति जाहेर गर्नुहोस्
१ पहिलो पटक राज्य समाचार सुन्नुभएको समयलाई यसो सम्झनुहोस्। यी साधारण सच्चाइहरूले अझ धेरै ज्ञान र समझ प्राप्त गर्ने इच्छा तपाईंभित्र जागृत गरायो। यहोवाको स्तर तपाईंको स्तरभन्दा निकै उच्च भएकोले तपाईंले आफ्नो जीवनमा छाँटकाँट गर्नुपर्ने खाँचो पनि छिट्टै बुझिहाल्नुभयो। (यशै. ५५:८, ९) तपाईंले उन्नति गर्नुभयो, आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिनुभयो।
२ केही आध्यात्मिक प्रगति गरेपछि पनि हटाउनुपर्ने कमजोरीहरू त अझ बाँकी नै थिए। (रोमी १२:२) शायद तपाईं मानिसको डरले गर्दा क्षेत्र सेवकाईमा भाग लिन हिचकिचाउनु हुन्थ्यो। अथवा परमेश्वरको आत्माको फल प्रदर्शन गर्न नसक्नुभएको होला। पछि हट्नुको साटो तपाईंले ईश्वरतान्त्रिक लक्ष्यहरू निर्धारण गरेर उन्नति गर्न दृढ निश्चय गर्नुभयो।
३ तपाईंले समर्पण गर्नुभएको अहिले निकै वर्ष भइसक्यो होला। तपाईंले के कस्तो उन्नति गर्नुभयो यसो सम्झनुहोस्। के तपाईंले आफ्ना केही लक्ष्यहरू प्राप्त गर्नुभयो? के तपाईंसित “शुरूको” जस्तै जोश छ? (हिब्रू ३:१४) तिमोथी परिपक्व मसीही भएको निकै समय भइसकेको थियो, यद्यपि पावलले तिनलाई यसो भनेर आग्रह गरे: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।”—१ तिमो. ४:१५.
४ व्यक्तिगत परीक्षण आवश्यक: बितेका कुराहरू सम्झँदा सुरुमा हामीसित भएका केही कमजोरीहरू के हामीमा अझै पनि छन्? निर्धारित केही लक्ष्यहरू प्राप्त गर्न के हामी असफल भएका छौं? छौं भने किन? असलै मनोवृत्ति राखेको भए तापनि हामी कामचोर भएका हुनसक्छौं। शायद जीवनका फिक्रीहरू वा यस रीतिको दबाबले गर्दा पो पछि हटिरहेका छौं।—लूका १७:२८-३०.
५ बितेका कुरालाई त हामी बदल्न सक्दैनौं तर भविष्यमा भने अवश्य केही गर्नसक्छौं। हामी कहाँनिर चुकेका हौं, त्यो इमानपूर्वक आफैलाई जाँच्नसक्छौं र उन्नति गर्न अनवरत प्रयास गर्नसक्छौं। आत्मसंयम, नम्रता वा धीरजजस्ता परमेश्वरको आत्माको फल अझ धेरै प्रकट गर्नुपर्ने हुनसक्छ। (गला. ५:२२, २३) अरूसित व्यवहार गर्न वा प्राचीनहरूलाई सहयोग गर्न गाह्रो लाग्छ भने विनय र नम्रताजस्ता गुनहरू खेती गर्नु महत्त्वपूर्ण छ।—फिलि. २:२, ३.
६ अझ बढी सेवा गर्न अग्रसर भएर के हामीले आफ्नो उन्नति जाहेर गर्नसक्छौं? अलि थप प्रयत्न गरेको खण्डमा भाइहरू सहायक सेवक वा प्राचीन हुन योग्य हुनसक्छन्। हामीमध्ये कोही कोही त नियमित अग्रगामीमा भर्ती हुनसक्छौं। कतिपयले चाहिं सहायक अग्रगामी गर्नसक्लान्। अरू कतिले भने व्यक्तिगत अध्ययन गर्ने बानी सुधार्न, मण्डलीका सभाहरूमा सक्रिय भाग लिन वा फलदायी प्रकाशकहरू हुन अथक प्रयास गर्नसक्छन्।
७ हामीले कुन क्षेत्रमा उन्नति गर्नुपर्ने हो, त्यो निर्णय गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो। “सिद्धतातर्फ [परिपक्वता, न्युव] . . . बढ़दै” जान हामीले गरेको साँचो प्रयत्नले हाम्रो आनन्द बढ्नेछ र हामी मण्डलीको अझ फलदायी सदस्यहरू हुनेछौं।—हिब्रू ६:१.