अन्त नजिकिंदै जाँदा यहोवामा भरोसा राख्नुहोस्
“सधैं परमप्रभुमा भरोसा राख।”—यशै. २६:४.
१. परमेश्वरका सेवकहरू र यस संसारका मानिसहरूबीच कस्तो भिन्नता छ?
आज हामी बाँचिरहेको संसारका लाखौं मानिसहरू कोमाथि वा कुन कुरामाथि भरोसा राख्ने भनेर अन्योलमा छन्। धेरैचोटि तिनीहरूको मनमा आघात पुगेकोले वा निराश हुनु परेकोले तिनीहरूलाई यस्तो भएको हुन सक्छ। यहोवाका सेवकहरूको अवस्था भने कत्ति भिन्न छ! ईश्वरीय बुद्धिको डोऱ्याइमा हिंडेकाले तिनीहरूलाई यस संसार वा यसका “राजाहरूमाथि” होइन तर कसमाथि भरोसा गर्नुपर्छ भनेर थाह छ। (भज. १४६:३) यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ र आफ्नो वचन सधैं पूरा गर्नुहुन्छ भनी बुझेकाले तिनीहरू आफ्नो जीवन र भविष्य उहाँकै हातमा छोडिदिन्छन्।—रोमी ३:४; ८:३८, ३९.
२. यहोशूले परमेश्वर भरोसायोग्य हुनुहुन्छ भन्ने कुराको पुष्टि कसरी दिए?
२ प्राचीन समयका यहोशूले परमेश्वर भरोसायोग्य हुनुहुन्छ भन्ने कुराको पुष्टि दिए। आफ्नो जीवनको अन्ततिर तिनले सँगी इस्राएलीहरूलाई यसो भने: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ . . . भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाहा पाएकै छौ।”—यहो. २३:१४.
३. परमेश्वरको नामले उहाँबारे के प्रकट गर्छ?
३ यहोवा आफ्ना सेवकहरूप्रतिको प्रेमको खातिर मात्र होइन तर खासगरि आफ्नै नामको खातिर प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ। (प्रस्थ. ३:१४; १ शमू. १२:२२) यस ईश्वरीय नामबारे जे.बी. रथरहामको दी एम्फसाइज्ड बाइबल-को परिचयमा यस्तो लेखिएको छ: “यो अत्यन्तै शालीन प्रतिज्ञा हो; यो आइपर्न सक्ने जुनसुकै अवस्था, कठिनाइ र आवश्यकताअनुसार छाँटकाँट गर्न सक्ने ईश्वरीय क्षमता हो . . . यो एउटा प्रतिज्ञा, . . . प्रकटीकरण, सम्झना, वाचा हो। यस नामप्रति परमेश्वर सधैं वफादार हुनुहुनेछ; यसप्रति उहाँ कहिल्यै सर्माउनुहुने छैन।”
४. (क) यशैया २६:४ ले हामीलाई के गर्ने सल्लाह दिन्छ? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?
४ आफैलाई सोध्नुहोस्: ‘यहोवामाथि पूरा भरोसा राख्न के मैले उहाँलाई राम्ररी चिनेको छु? सम्पूर्ण कुरा परमेश्वरको नियन्त्रणमा छ भनी थाह पाएकोले के म निर्धक्क भई भविष्यको सामना गर्छु?’ यशैया २६:४ भन्छ: “सधैं परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु परमेश्वर सनातनको चटान हुनुहुन्छ।” हुनत बाइबल समयका मानिसहरूको जीवनमाथि परमेश्वरले कहिलेकाहीं चमत्कारपूर्ण ढङ्गमा हस्तक्षेप गर्नुभयो तर अहिले भने उहाँ त्यसो गर्नुहुन्न। तैपनि “सनातनको चटान”-को रूपमा उहाँलाई “सधैं” भरोसा गर्न सकिन्छ। हाम्रो भरोसायोग्य परमेश्वरले अहिले आफ्ना विश्वासी उपासकहरूलाई कसरी मदत गर्नुहुन्छ? तीन वटा तरिका विचार गरौं: प्रलोभनहरूको प्रतिरोध गर्न उहाँको मदत खोज्दा उहाँ हामीलाई बलियो बनाउनुहुन्छ, प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाउँदा वा प्रत्यक्ष विरोधको सामना गर्नुपर्दा उहाँ हामीलाई आड दिनुहुन्छ र फिक्रीको बोझले लादिंदा उहाँ हामीलाई उचाल्नुहुन्छ। यी क्षेत्रहरू जाँच्दा, यहोवामाथि तपाईंको भरोसालाई कसरी बलियो बनाउन सक्नुहुन्छ विचार गर्न नबिर्सनुहोस्।
गलत काम गर्ने प्रलोभन आउँदा परमेश्वरमा भरोसा राख्नुहोस्
५. कस्तो अवस्थामा परमेश्वरमाथिको हाम्रो भरोसाको ठूलो जाँच हुन सक्छ?
५ यहोवाले प्रतिज्ञा गर्नुभएको प्रमोदवन वा पुनर्जीवनको प्रतीक्षा गरेर यहोवामाथि भरोसा राख्नु एउटा कुरा हो। तर नैतिक मामिलाहरूको सन्दर्भमा उहाँमाथि भरोसा राख्नु, उहाँको मार्ग र स्तर सही हो अनि त्यसबमोजिम चल्दा अपार आनन्द पाउन सकिन्छ भनी पूर्ण रूपमा विश्वस्त हुनु भने बिलकुलै फरक कुरा हुन सक्छ। राजा सुलेमानले यस्तो सल्लाह दिए: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितो. ३:५, ६) “चाल” र “बाटोहरू” भन्ने अभिव्यक्तिलाई ध्यान दिनुहोस्। हो, हामी परमेश्वरमाथि भरोसा राख्छौं भनी हाम्रो ख्रीष्टियन आशाले मात्र होइन, हाम्रो सम्पूर्ण जीवनशैलीले देखाउनुपर्छ। प्रलोभनहरू आउँदा हामी कसरी यस्तो भरोसा देखाउन सक्छौं?
६. खराब सोचाइलाई तिरस्कार गर्ने आफ्नो सङ्कल्पलाई हामी कसरी बलियो बनाउन सक्छौं?
६ खराबीलाई तिरस्कार गर्ने कुरा हाम्रो सोचाइबाट सुरु हुन्छ। ( रोमी ८:५; एफिसी २:३ पढ्नुहोस्) त्यसोभए खराब सोचाइलाई तिरस्कार गर्ने सङ्कल्पलाई तपाईं कसरी बलियो बनाउन सक्नुहुन्छ? यी पाँच तरिका विचार गर्नुहोस्: १. प्रार्थना गरेर परमेश्वरको मदत खोज्नुहोस्। (मत्ती ६:९, १३) २. यहोवाको कुरा सुन्न इन्कार गरेका र सुनेकाहरूबारे बाइबलमा दिइएको उदाहरण मनन गर्नुहोस्। त्यसपछि, तिनीहरूले कस्तो नतिजा भोगे याद गर्नुहोस्।a (१ कोरि. १०:८-११) ३. पाप गर्दा तपाईं र तपाईंको प्रिय जनलाई कस्तो मानसिक र भावनात्मक चोट पुग्न सक्छ, त्यसबारे विचार गर्नुहोस्। ४. परमेश्वरको कुनै सेवक गम्भीर पापमा फस्दा उहाँलाई कस्तो लाग्ला सोच्नुहोस्। ( भजन ७८:४०, ४१ पढ्नुहोस्) ५. मानिसहरूको अगाडि होस् वा एक्लै हुँदा, यहोवाका वफादार सेवकहरूले खराबीलाई तिरस्कार गरेर असल गरेको देख्दा उहाँलाई कत्ति खुसी लाग्ला कल्पना गर्नुहोस्। (भज. १५:१, २; हितो. २७:११) यहोवामाथि भरोसा राखेको तपाईं पनि देखाउन सक्नुहुन्छ।
प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाउँदा वा विरोधको सामना गर्दा परमेश्वरमा भरोसा राख्नुहोस्
७. यर्मियाले कस्तो परीक्षाको सामना गरे र तिनले कहिलेकाहीं कस्तो महसुस गरे?
७ हाम्रा थुप्रै भाइबहिनी असाध्यै कठिन इलाकामा सेवा गर्छन्। भविष्यवक्ता यर्मियाले पनि यहूदा राज्यमा गन्जागोल भइरहेको आखिरी समयतिर सेवा गरे। आज्ञाकारी भई परमेश्वरको न्यायको सन्देश घोषणा गरेकोले तिनले दिनहुँ विश्वासको परीक्षा सहनुपऱ्यो। एउटा समयमा आएर तिनको वफादार सचिव बारूकले समेत थाकिसकें भनेर गुनासो गरे। (यर्मि. ४५:२, ३) के यर्मिया निराशाको शिकार भए? हो, कहिलेकाहीं तिनी निराश भए। तिनले यस्तो उद्गार व्यक्त गरे: “म जन्मेको दिन श्रापित होस्! . . . परिश्रम र अफसोस भोग्नलाई र मेरो जीवनको दिन लाजमा बिताउनलाई, म किन गर्भबाट निस्केछु नि?”—यर्मि. २०:१४, १५, १८.
८, ९. यर्मिया १७:७, ८ र भजन १:१-३ अनुसार असल फल फलाइरहन हामीले के गर्नै पर्छ?
८ तैपनि यर्मियाले हरेस खाएनन्। तिनले यहोवामाथि भरोसा राखिरहे। परिणामस्वरूप यी विश्वासी भविष्यवक्ताले यर्मिया १७:७, ८ मा उल्लिखित यहोवा आफैले भन्नुभएको यो वचन पूरा भएको अनुभव गरे: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमाथि भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। त्यो पानीमा रोपेको रूखजस्तो छ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिंजाएको हुन्छ। घाम लाग्दा त्यो डराउँदैन, किनभने त्यसका पातहरू सधैं हरियै रहन्छन्, खडेरी पर्दा त्यसलाई केही चिन्ता हुँदैन, किनभने त्यसले फल फलाउन थाम्दैन।”
९ जसरी “पानीमा” वा सिंचाइ गरिएको बगानमा रोपेको हरियोभरियो फलफूलको रूखले फल फलाउन थाम्दैन, त्यसरी नै यर्मियाले पनि कहिल्यै ‘फल फलाउन थामेनन्।’ तिनले आफू वरपरका गिल्ला गर्ने दुष्ट व्यक्तिहरूको प्रभावमा पर्न इन्कार गरे। बरु तिनी जीवन धान्ने पानीको स्रोतमा निर्भर भए र यहोवाले भन्नुभएका सबै कुरालाई तिनले मनमा लिए। ( भजन १:१-३ पढ्नुहोस्; यर्मि. २०:९) यर्मिया हाम्रो लागि कत्ति राम्रो उदाहरण, अझ विशेषगरि कठिन इलाकामा परमेश्वरको सेवा गर्नेहरूका लागि! तपाईंको अवस्था पनि यस्तै छ भने यहोवामा झन् धेरै भर परिरहनुहोस् र तपाईंले “उहाँको नाम जनसमक्ष घोषणा” गर्दा उहाँले तपाईंलाई धैर्य गर्न मदत दिनुहुनेछ।—हिब्रू १३:१५.
१०. हामीले कस्ता आशिष् पाएका छौं र हामीले आफैलाई कस्तो प्रश्न सोध्नुपर्छ?
१० यी आखिरी दिनमा हामीले भोग्ने कठिनाइहरूको सामना गर्न यहोवाले हामीलाई थुप्रै कुरा दिनुभएको छ। परमेश्वरले हामीलाई आफ्नो सिङ्गो वचन दिनुभएको छ, जुन थुप्रै भाषामा सही तरिकाले अनुवाद हुँदैछन्। उहाँले विश्वासी र बुद्धिमान् दास वर्गमार्फत समयसुहाउँदो भोजन प्रचुर मात्रामा उपलब्ध गराउनुभएको छ। अनि उहाँले सभा र सम्मेलनहरूमा सँगी ख्रीष्टियनहरूको विशाल भीडको न्यानो साथ दिनुभएको छ। के तपाईं यी प्रबन्धहरूको पूरापूर लाभ उठाउनुहुन्छ? लाभ उठाउने सबै “हृदयमा आनन्द भएकाले गाउनेछन्।” तर परमेश्वरलाई नसुन्नेहरू ‘हृदयमा दुःख भएकोले रुनेछन् र आत्मामा खिन्न भएकोले चिच्च्याइ-चिच्च्याइ रुनेछन्।’—यशै. ६५:१३, १४.
फिक्रीहरूको सामना गर्दा परमेश्वरमा भरोसा राख्नुहोस्
११, १२. संसारका समस्याहरूलाई विचार गर्दा साँच्चै बुद्धिमानी मार्ग के हो?
११ भविष्यवाणी गरिएझैं मानिसजातिमाथि दुःखकष्टको बाढी नै आएको छ। (मत्ती २४:६-८; प्रका. १२:१२) बाढी आउँदा मानिसहरू अक्सर अग्लो ठाउँतिर भाग्छन्, जस्तै: उच्च स्थानमा वा भवनको छतमा। त्यसैगरि संसारमा समस्या झन्झन् बढ्दै जाँदा लाखौंले उच्चजस्तो देखिने वित्तीय, राजनैतिक वा धार्मिक सङ्घ-संस्था अनि विज्ञान तथा प्रविधिमा शरण खोज्छन्। तर यीमध्ये कुनैले पनि साँचो सुरक्षा दिंदैन। (यर्मि. १७:५, ६) अर्कोतर्फ यहोवाका सेवकहरूसित भने भरपर्दो शरणस्थान अर्थात् “सनातनको चटान” छ। (यशै. २६:४) भजनरचयिताले भने: “[यहोवा] मात्र मेरो चटान र उद्धार गर्ने र मेरो अल्गो धरहरा हुनुहुन्छ।” ( भजन ६२:६-९ पढ्नुहोस्) यस चटानलाई हामी कसरी आफ्नो शरणस्थान बनाउन सक्छौं?
१२ यहोवाको वचन पालन गर्दा हामी उहाँमा लीन भइरहेका हुन्छौं अनि उहाँको वचन मानव बुद्धिसित अक्सर मेल खाँदैन। (भज. ७३:२३, २४) उदाहरणको लागि, मानव बुद्धिबाट प्रभावित मानिसहरूले यसो भन्न सक्छन्: ‘एक चोटिको जीवन हो; मोज गर।’ ‘राम्रो जागिर खाऊ।’ ‘टन्न पैसा कमाऊ।’ ‘यो चिज किन, त्यो चिज किन।’ ‘घुमफिर गर; संसार डुल।’ अर्कोतर्फ, ईश्वरीय बुद्धि झल्किने सल्लाह यस्तो हुन्छ: “संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्, किनकि यस संसारको दृश्य परिवर्तन हुँदैछ।” (१ कोरि. ७:३१) त्यसैगरि येशू हामीलाई सधैं राज्य गतिविधिलाई पहिलो स्थान दिएर “स्वर्गमा धनसम्पत्ति” थुपार्न सल्लाह दिनुहुन्छ, जहाँ थुपारेको धनसम्पत्ति पूर्णतया सुरक्षित रहनेछ।—मत्ती ६:१९, २०.
१३. पहिलो यूहन्ना २:१५-१७ लाई मनमा राख्दै हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१३ “संसार” र “संसारमा भएका थोकहरू”-प्रति तपाईंको दृष्टिकोणमा के परमेश्वरप्रतिको पूर्ण भरोसा झल्किन्छ? (१ यूह. २:१५-१७) परमेश्वरको सेवा गरेर जम्मा गर्ने धन र उहाँको सेवा विस्तार गर्ने कुरा के तपाईंलाई संसारले दिने थोकहरूभन्दा मनमोहक र महत्त्वपूर्ण लाग्छ? (फिलि. ३:८) के तपाईं आफ्नो “आँखा निर्मल” राखिरहन प्रयास गर्नुहुन्छ? (मत्ती ६:२२) विशेषगरि तपाईंले परिवारको हेरविचार गर्नुपर्छ भने तपाईं लापरवाह वा अनुत्तरदायी भएको परमेश्वर पटक्कै चाहनुहुन्न। (१ तिमो. ५:८) तर उहाँ आफ्ना सेवकहरूले सैतानको खतम हुनै लागेको संसारमा होइन, आफूमा पूरा भरोसा राखेको आशा गर्नुहुन्छ।—हिब्रू १३:५.
१४-१६. ‘आँखा निर्मल’ राख्दा अनि राज्य गतिविधिलाई पहिलो स्थानमा राख्दा कोही-कोहीले कस्तो लाभ उठाएका छन्?
१४ तीन केटाकेटीका आमाबाबु रिचार्ड र रूथलाई विचार गर्नुहोस्। रिचार्ड भन्छन्, “यहोवाको लागि मैले गर्न सक्ने काम अझ धेरै छ भनेर मेरो मनले भनिरहेको थियो। मैले आरामदायी जीवन बिताइरहेको थिएँ तर परमेश्वरलाई भने आफ्नो बचेखुचेको मात्र दिइरहेको जस्तो लाग्थ्यो। यस विषयमा हामीले प्रार्थना गर्नुका साथै विभिन्न कुरा विचार गऱ्यौं। अनि अबदेखि हप्तामा चार दिन मात्र काम गर्न मेरो सुपरभाइजरसित अनुमति माग्ने कुरामा रूथ र म सहमत भयौं। हुनत त्यतिबेला हाम्रो देशमा आर्थिक सङ्कट भइरहेको थियो। तर मेरो निवेदन स्वीकृत भयो अनि मैले एक महिनाभित्रै नयाँ तालिकाअनुसार काम गर्न थालें।” अहिले रिचार्डलाई कस्तो लाग्छ?
१५ तिनी भन्छन्: “मेरो तलब पहिलाभन्दा २० प्रतिशत कम छ तर परिवारसित समय बिताउन अनि छोराछोरीलाई प्रशिक्षण दिन मैले वर्षमा थप ५० दिन पाएको छु। मैले क्षेत्र सेवामा आफ्नो सहभागिता दोब्बर गर्न, बाइबल अध्ययनको सङ्ख्या तीन गुणाले बढाउन अनि मण्डलीमा अझ बढी नेतृत्व लिन सकेको छु। अनि मैले छोराछोरीसित पहिलेभन्दा धेरै समय बिताउन सकेकोले रूथले बेलाबेलामा सहायक अग्रगामी सेवा गर्न सकेकी छिन्। सकेसम्म लामो समयसम्म यो तालिका कायम राख्न म कटिबद्ध छु।”
१६ एउटी छोरी घरमै भएको दम्पती, रोए र पेटिनाले पनि पूर्ण-समय प्रचारकार्यमा लाग्न जागिरमा बिताउने समय कटौती गर्न सके। रोए भन्छन्: “म हप्ताको तीन दिन काम गर्छु अनि पेटिना भने दुई दिन। साथै हामी पहिले सिङ्गै घरमा बस्थ्यौं तर पछि स्याहारसम्भार गर्न त्यति समय नलाग्ने अपार्टमेन्टमा सऱ्यौं। हामीले छोरा र छोरी जन्मिनुअघि अग्रगामी सेवा गरेका थियौं र अग्रगामी सेवा गर्ने इच्छा कहिल्यै बिर्सेका थिएनौं। त्यसैले छोराछोरी हुर्किसकेपछि हामी फेरि पूर्ण-समय सेवामा लाग्यौं। पैसाले किन्न नसकिने आशिष् हामीले पाएका छौं।”
“परमेश्वरको शान्ति”-ले तपाईंको मनको रक्षा गरून्
१७. जीवनको अनिश्चितताको बाबजुद धर्मशास्त्रबाट तपाईंले कस्तो सान्त्वना पाउनुभएको छ?
१७ भोलि के हुन्छ, हामी कसैलाई थाह छैन किनभने “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।” (उप. ९:११) परमेश्वरसितको न्यानो सम्बन्धको सुरक्षा नपाएका मानिसहरूले भोलि के होला भनी चिन्ता गरेर आज आफ्नो मनोशान्ति गुमाउँछन् तर हामीले त्यसो गर्नु पर्दैन। (मत्ती ६:३४) प्रेषित पावलले लेखे: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर। अनि परमेश्वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।”—फिलि. ४:६, ७.
१८, १९. परमेश्वरले हामीलाई कुन-कुन तरिकामा सान्त्वना दिनुहुन्छ? उदाहरणसहित बताउनुहोस्।
१८ कठिन अवस्थाबाट गुज्रिरहेका थुप्रै भाइबहिनीले यहोवाले दिनुहुने मनोशान्ति पाएका छन् र तिनीहरू विचलित भएका छैनन्। एउटी बहिनी भन्छिन्: “एक शल्यचिकित्सकले पटक-पटक धम्क्याएर मलाई रगत लिन जबरजस्ती गर्न खोजे। तिनी मलाई भेट्नेबित्तिकै यसो भन्थे: ‘रगत नलिने कस्तो वाहियात कुरा।’ त्यस्तो बेला र अरू समयमा पनि मैले मनमनै यहोवालाई प्रार्थना गरें अनि उहाँले दिने मनोशान्ति पाएँ। मैले आफू चटानजस्तो बलियो महसुस गरें। रगत एकदमै कम भएकोले कमजोर महसुस गरे तापनि रगत नस्वीकार्ने अडान लिनुको धर्मशास्त्रीय कारण स्पष्टसित बताउन सकें।”
१९ सान्त्वनादायी सँगी ख्रीष्टियन वा परमेश्वरले ठीक समयमा दिने भोजनद्वारा पनि उहाँले कहिलेकाहीं आवश्यक मदत दिनुहुन्छ। कुनै भाइ वा बहिनीले यसो भनेको सुन्नुभएको होला: “ओहो! मलाई ठ्याक्कै चाहिएको लेख। यो त मेरै लागि लेखिएको हो!” हाम्रो परिस्थिति वा आवश्यकता फरक भए तापनि यहोवामा भरोसा राख्यौं भने उहाँले हामीप्रतिको प्रेम प्रस्ट पार्नुहुनेछ। आखिर हामी उहाँकै “भेडा” हौं र उहाँले आफ्नो नामको लागि हामीलाई छान्नुभएको छ।—भज. १००:३; यूह. १०:१६; प्रेषि. १५:१४, १७.
२०. सैतानको संसारको अन्त हुँदा यहोवाका सेवकहरू किन बेफिक्री रहनेछन्?
२० तीव्र गतिमा नजिकिंदै गइरहेको “परमेश्वरको क्रोधको दिन”-मा सैतानको संसारले भरोसा राख्ने सबै थोक गर्ल्यामगुर्लुम ढल्नेछ। सुन, चाँदी वा अन्य बहुमूल्य थोकले कुनै प्रकारको सुरक्षा दिनेछैन। (सप. १:१८; हितो. ११:४) एक मात्र शरणस्थान हाम्रो “सनातनको चटान” हुनुहुनेछ। (यशै. २६:४) त्यसैले यहोवामा पूर्ण भरोसा राखेको अहिल्यै देखाऔं। कसरी? यहोवाको सही स्तरअनुसार आज्ञाकारी भई हिंडेर, प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाउँदा वा विरोधको सामना गर्दा पनि राज्यको सन्देश घोषणा गरेर अनि आफ्नो सम्पूर्ण फिक्री उहाँमा बिसाएर। यसो गऱ्यौं भने हामी साँच्चै ‘बेफिक्री रहनेछौं। दुर्दिनमा डरैविना ढुक्क रहनेछौं।’—हितो. १:३३.
[फुटनोट]
a “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” (अङ्ग्रेजी) पुस्तकको पृष्ठ १०२-१०६ हेर्नुहोस्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
हामी निम्न अवस्थामा कसरी परमेश्वरमा भरोसा राख्न सक्छौं:
• गलत काम गर्ने प्रलोभन आउँदा?
• प्रचारकार्यप्रति मानिसहरूले चासो नदेखाउँदा वा विरोधको सामना गर्दा?
• फिक्रीहरूको सामना गर्दा?
[पृष्ठ १३-मा भएको चित्र]
परमेश्वरको स्तरअनुसार हिंड्दा आनन्दित हुन्छौं
[पृष्ठ १५-मा भएको चित्र]
यहोवा “सनातनको चटान हुनुहुन्छ”