प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. ६-७
  • येशूले कसरी जीवन बिताउनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले कसरी जीवन बिताउनुभयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. ६-७

येशूले कसरी जीवन बिताउनुभयो?

“मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।”—यूहन्‍ना ४:३४.

येशूले माथिका शब्दहरू जुन अवस्थामा बताउनुभयो, त्यसले उहाँको लागि जीवनमा मुख्य कुरा के थियो भनी प्रकट गर्छ। येशू र उहाँका चेलाहरूले बिहानभरी सामरियाको पहाडी इलाकामा यात्रा गर्नुभएको थियो। (यूहन्‍ना ४:६) येशूलाई भोक लागेको हुनुपर्छ भन्ठानेर चेलाहरूले उहाँलाई केही खानेकुरा दिए। (यूहन्‍ना ४:३१-३३) जवाफमा येशूले आफ्नो जीवनको उद्देश्‍य छोटकरीमा बताउनुभयो। परमेश्‍वरले अह्राउनुभएको काम गर्नु उहाँको लागि खानुभन्दा पनि महत्त्वपूर्ण थियो। परमेश्‍वरको इच्छाअनुसार गर्नकै लागि आफू बाँचेको हुँ भनी उहाँले आफ्नो बोली र व्यवहारबाट देखाउनुभयो। परमेश्‍वरको इच्छाअनुसार गर्नुमा के समावेश थियो?

▪ परमेश्‍वरको राज्यबारे प्रचार गर्नु र सिकाउनु। येशूको जीवनको सबैभन्दा महत्त्वपूर्ण कामबारे बाइबल यसरी बताउँछ: “सारा गालील घुम्दै उहाँले . . . सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो।” (मत्ती ४:२३) येशूले परमेश्‍वरको राज्यबारे केवल प्रचार वा घोषणा मात्र गर्नु भएन। उहाँले निर्देशन दिएर, व्याख्या गरेर अनि चित्तबुझ्दो तर्कद्वारा मनाएर मानिसहरूलाई सिकाउनु पनि भयो। येशूको सन्देशको मुख्य विषय परमेश्‍वरको राज्य थियो।

आफ्नो प्रचारकार्यको दौडान येशूले आफ्ना श्रोतालाई परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ भनेर सिकाउनुभयो। येशूले परमेश्‍वरको राज्यबारे बताउनुभएका तथ्य कुराहरू शास्त्रपदसहित तल उल्लेख गरिएका छन्‌।

▪ परमेश्‍वरको राज्य एउटा स्वर्गीय सरकार हो र यसको राजाको रूपमा यहोवाले येशूलाई नियुक्‍त गर्नुभएको छ।—मत्ती ४:१७; यूहन्‍ना १८:३६.

▪ त्यस राज्यले परमेश्‍वरको नाम पवित्र पार्नेछ र उहाँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा गर्नेछ।—मत्ती ६:९, १०.

▪ परमेश्‍वरको राज्यले सम्पूर्ण पृथ्वीलाई प्रमोदवन अर्थात्‌ एउटा सुन्दर बगैंचामा परिणत गर्नेछ।—लूका २३:४२, ४३.

▪ परमेश्‍वरको राज्य चाँडै पृथ्वीमा स्थापित हुनेछ र त्यस राज्यले पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य पूरा गर्नेछ।a— मत्ती २४:३, ७-१२.

▪ चमत्कारहरू गर्नु। येशू मुख्यतया “गुरु” भनेर चिनिनुहुन्थ्यो। (यूहन्‍ना १३:१३) तर उहाँले आफ्नो साढे तीन वर्षको सेवाको दौडान थुप्रै चमत्कार पनि गर्नुभयो। उहाँले गर्नुभएका चमत्कारहरूले कम्तीमा दुइटा उद्देश्‍य पूरा गऱ्‍यो। पहिलो, उहाँलाई परमेश्‍वरले नै पठाउनुभएको हो भन्‍ने कुरा प्रमाणित गर्न यसले मदत गऱ्‍यो। (मत्ती ११:२-६) दोस्रो, भविष्यमा परमेश्‍वरको राज्यको राजाको रूपमा उहाँले अझ कत्ति व्यापक रूपमा आफ्नो भूमिका पूरा गर्नुहुनेछ भन्‍ने कुराको पूर्वझलक यसले दियो। उहाँले गर्नुभएका केही चमत्कार विचार गर्नुहोस्‌।

▪ उहाँले आँधी आएको समुद्र र हुरीबतासलाई शान्त पार्नुभयो।—मर्कूस ४:३९-४१.

▪ उहाँले बिरामीलाई निको पार्नुभयो। तीमध्ये केही अन्धा, बहिरा र लङ्‌गडा थिए।—लूका ७:२१, २२.

▪ उहाँले थोरै खानेकुराबाट भोकाएका धेरै मानिसलाई खुवाउनुभयो।—मत्ती १४:१७-२१; १५:३४-३८.

▪ उहाँले कम्तीमा तीन पटक, मरेको मानिसलाई पुनर्जीवित पार्नुभयो।—लूका ७:११-१५; ८:४१-५५; यूहन्‍ना ११:३८-४४.

यति शक्‍तिशाली राजाले राज्य गर्दा पृथ्वीमा जीवन कस्तो हुनेछ होला, कल्पना गर्नुहोस्‌ त!

▪ यहोवा परमेश्‍वरको व्यक्‍तित्व प्रकट गर्नु। यहोवाबारे अरूलाई सिकाउने सन्दर्भमा येशू ख्रीष्ट भनेर चिनिनुभएको उहाँको आफ्नै छोरा जत्तिको योग्य व्यक्‍ति अरू कोही छैन। “सारा सृष्टिमध्ये जेठो सन्तान” भएकोले स्वर्गमा यहोवासँग येशूले जतिको लामो समय अरू कुनै पनि स्वर्गदूतले बिताएको छैन। (कलस्सी १:१५) येशूले आफ्नो बुबाका सोचाइ, इच्छा, स्तर तथा उहाँका मार्गहरू बुझ्ने कत्ति धेरै मौका पाउनुभयो, विचार गर्नुहोस्‌ त!

येशूले यसो भन्‍न सक्नुभयो: “छोरा को हो, बुबाले बाहेक अरू कसैले जान्दैन अनि बुबा को हो, छोराले र छोराले प्रकट गर्न चाहेको व्यक्‍तिले बाहेक अरू कसैले जान्दैन।” (लूका १०:२२) पृथ्वीमा मानिसको रूपमा हुँदा येशूले स्वेच्छाले र उत्सुकतासाथ आफ्नो बुबाको व्यक्‍तित्व प्रकट गर्नुभयो। उहाँको बोल्ने अनि सिकाउने तरिका बेजोड थियो। स्वर्गमा सबैभन्दा उच्च परमेश्‍वर यहोवाबाट प्रत्यक्ष रूपमा सिकेका कुराहरूको सम्झना गर्दै उहाँले सिकाउनुभयो।—यूहन्‍ना ८:२८.

आफ्नो बुबाको व्यक्‍तित्व प्रकट गर्न येशूले गर्नुभएको कामलाई एउटा ट्रान्सफर्मरको कामसँग तुलना गर्न सकिन्छ। ट्रान्सफर्मर एउटा यस्तो यन्त्र हो, जसले उच्च मात्रामा आएको बिजुलीको शक्‍तिलाई घटाएर मानिसहरूले प्रयोग गर्न सक्नेगरि ठिक्क मात्रामा विद्युतीय शक्‍ति प्रवाह गर्छ। आफूले स्वर्गमा यहोवाबारे सिकेका कुराहरू येशूले पृथ्वीमा हुँदा नम्र मानिसहरूले सजिलै बुझ्न र लागू गर्न सक्ने तरिकामा सिकाउनुभयो।

येशूले आफ्नो बुबाको व्यक्‍तित्व प्रकट गर्नुभएको दुइटा महत्त्वपूर्ण तरिका विचार गर्नुहोस्‌।

▪ येशूले यहोवाको नाम, उद्देश्‍य र मार्गबारे सत्य कुराहरू सिकाउनुभयो।—यूहन्‍ना ३:१६; १७:६, २६.

▪ येशूले आफ्नो व्यवहारबाट यहोवाको व्यक्‍तित्वका थुप्रै सुन्दर पक्ष प्रकट गर्नुभयो। येशूले आफ्नो बुबाको व्यक्‍तित्व यत्ति राम्ररी देखाउनुभयो कि उहाँले एक अर्थमा यसो भन्‍न सक्नुभयो: ‘यदि तिमीहरू मेरो बुबा कस्तो हुनुहुन्छ भनेर जान्‍न चाहन्छौ भने मलाई हेरे पुग्छ।’—यूहन्‍ना ५:१९; १४:९.

येशू जिउनुभएको तरिकाबाट हामी साँच्चै प्रभावित छौं। उहाँले आफ्नो जीवन किन दिनुभयो भनेर जाँच्यौं र आफूले सिकेअनुसार गऱ्‍यौं भने हामीले असीमित लाभ उठाउन सक्नेछौं। ( w11 -E 04/01)

[फुटनोट]

a परमेश्‍वरको राज्यबारे र यो राज्य चाँडै आउँदै छ भनेर कसरी पक्का हुन सकिन्छ भन्‍नेबारे अझ धेरै सिक्नको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८, “परमेश्‍वरको राज्य के हो?” र अध्याय ९, “के हामी ‘आखिरी दिनमा’ बाँचिरहेका छौं?,” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने