प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १/१ pp. ९-११
  • आफ्नो औकातअनुसार जिउने—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो औकातअनुसार जिउने—कसरी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मदतकारी बाइबल सिद्धान्तहरू
  • अरूबाट सिक्नुहोस्‌
  • आफ्नो औकातअनुसार तपाईं पक्कै जिउन सक्नुहुन्छ
  • पैसाको सदुपयोग
    ब्यूँझनुहोस्‌!—२०१९
  • आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १/१ pp. ९-११

आफ्नो औकातअनुसार जिउने—कसरी?

कल्पना गर्नुहोस्‌, तपाईंले हावा फुक्न लाग्नुभएको बेलुनमा प्वाल परेको छ। त्यो बेलुनबाट हावा फुस्कन नदिन तपाईंले के गरिरहनुपर्छ? हो, प्वालबाट जत्ति हावा बाहिर निस्कन्छ तपाईंले त्यति नै हावा बेलुनमा फुकेको फुक्यै गर्नुपर्छ।

यही हो, आफ्नो औकातअनुसार जिउनुको अर्थ। तपाईंको आयलाई बेलुनमा फुक्ने हावासित तुलना गर्न सकिन्छ। तपाईंको खर्च भनेको प्वालबाट फुस्कने हावा हो। त्यसकारण गाह्रो काम भनेको आफ्नो आयभन्दा खर्च बढ्‌न नदिनु हो।

यो धारणा सजिलो जस्तो सुनिए तापनि त्यसलाई व्यवहारमा उतार्नु र त्यसबाट लाभ उठाउनु चाहिं त्यति सजिलो कुरा होइन। यो आधारभूत सिद्धान्त पालन गर्न प्रयास गरेको भए मानिसहरू थुप्रै आर्थिक सङ्‌कटबाट बच्न सक्नेथिए। कसरी यसो गर्न सकिन्छ? साँच्चै काम लाग्ने निर्देशनहरू हामी कहाँ पाउन सक्छौं? यस सन्दर्भमा बाइबलले निकै मदतकारी जानकारी दिन्छ। आउनुहोस्‌, बाइबलले के भन्छ, छोटकरीमा विचार गरौं।

मदतकारी बाइबल सिद्धान्तहरू

आफ्नो खर्च हिसाब गर्न मदतकारी थुप्रै व्यावहारिक सिद्धान्त बाइबलमा पाइन्छ। यसमध्ये केही मात्र हामी विचार गर्नेछौं। तपाईंलाई कस्तो लाग्छ—यी सिद्धान्तहरूले आफ्नो औकातअनुसार जिउन मदत गर्छ कि गर्दैन?

योजना अर्थात्‌ बजेट बनाउनुहोस्‌। पैसाको सही सदुपयोग गर्न कति पैसा आउँछ र कति पैसा कहाँ खर्च हुन्छ भनी थाह हुनुपर्छ। बाइबल यसो भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” (हितोपदेश २१:५) कसै-कसैले खर्च हिसाब गर्न छुट्टाछुट्टै खाम राख्ने गर्छन्‌। प्रत्येक खाममा खर्चको किसिम छुट्ट्याउँछन्‌। जस्तै: “खानेकुरा,” “घरभाडा” वा “लुगाफाटा।” यही सरल तरिका वा योभन्दा जटिल जस्तोसुकै तरिका अपनाउनु भए तापनि महत्त्वपूर्ण कुरा हो: तपाईंको पैसा कहाँ जाँदैछ भनेर तपाईंलाई थाह हुनुपर्छ। सर्वप्रथम अत्यावश्‍यक कुराहरूको लागि खर्च गर्नुपर्छ, सुखविलास पूरा गर्न होइन।

ईर्ष्या नगर्नुहोस्‌। विकासोन्मुख मुलुकका धेरैजसो मानिस विकसित राष्ट्रका मानिसहरूसित भएका कुराको लोभ गर्छन्‌। एक-एक जना मान्छेको कुरा गर्ने हो भने, थुप्रैले छिमेकीको सरसम्पत्तिको ईर्ष्या गर्छन्‌। यो पासो हुन सक्छ। तपाईंलाई के थाह, त्यो छिमेकीसित पनि ती सबै हासिल गर्ने औकात छैन कि? अरू मूर्ख भयो भन्दैमा आफू पनि उसैको पछि लागेर किन आर्थिक समस्या निम्त्याउने? बाइबल यस्तो चेतावनी दिन्छ: “कञ्जूस मानिस धनी हुन आतुरी गर्छ, आफूमाथि पनि अभाव आइलाग्छ भनी त्यसले सपनामा पनि चिताउँदैन।”—हितोपदेश २८:२२.

आफ्नो आँखा निर्मल राख्नुहोस्‌। येशूले आफ्ना चेलाहरूलाई आँखा “निर्मल” राख्न सल्लाह दिनुभयो। (मत्ती ६:२२) घाँटी हेरेर हाड निलेन भने पक्कै पनि आर्थिक सङ्‌कटमा डुबिन्छ। एसियाली विकास बैंकको एउटा रिपोर्टअनुसार फिलिपिन्सका झन्डै एक तिहाइ मानिस र भारतका आधाभन्दा बढी मानिस एसियाको लागि तोकिएको गरिबीको रेखा अर्थात्‌ प्रतिदिन १.३५ अमेरिकी डलरभन्दा (लगभग १०० रुपैयाँ) कम आयमा गुजारा चलाउँछन्‌। यति थोरै आय भएका मानिसहरूले आधारभूत कुराहरूको लागि खर्च छुट्ट्याउनु बुद्धिमानी हो। तर धनी मुलुकहरूमा पनि यही सिद्धान्त लागू गर्ने हो भने थुप्रै मानिस आर्थिक सङ्‌कटमा डुब्नदेखि बच्न सक्नेथिए।

आफूलाई साँच्चै आवश्‍यक कुरामा सन्तुष्ट हुनुहोस्‌। आफ्नो जीवन सरल राख्नुहोस्‌ भन्‍ने सिद्धान्तसित यो सल्लाह मेल खान्छ। बाइबलले १ तिमोथी ६:८ मा यस्तो सल्लाह दिन्छ: “खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” संसारका कतिपय सुखी मानिसहरूसित थोरै मात्र पैसा छ। तैपनि तिनीहरू आफूसित भएको कुरामा सन्तुष्ट छन्‌। ती कुराहरूमा आफूसित भएका भौतिक कुराहरू मात्र होइन, आफ्ना परिवार र साथीभाइको माया पनि समावेश छ।—हितोपदेश १५:१७.

अनावश्‍यक ऋणमा नडुब्नुहोस्‌। यो बाइबल भनाइ कत्ति सत्य छ: “धनीले गरीबमाथि प्रभुत्व गर्छ, साहूको चाकरे असामी हुन्छ”! (हितोपदेश २२:७) कुनै-कुनै अवस्थामा ऋण लिनै पर्ने हुन सक्छ तर आफूले चाहेको कुरा किन्‍नकै लागि अनावश्‍यक ऋण लियो भने अक्सर भारी आर्थिक सङ्‌कटमा डुब्नुपर्ने हुन्छ। यो विशेषगरि क्रेडिट कार्ड प्रयोग गर्दा हुन्छ। टाइम पत्रिकाले एक चोटि यसो भन्यो: “क्रेडिट कार्ड आफ्नो हातमा परेपछि मानिसले पैसाको मामिलामा ठीकसित सोच्न सक्दैन र आफूलाई नचाहिएको सामान पनि देख्नेबित्तिकै किनिहाल्छ।” फिलिपिन्समा बसोबास गर्ने एरिक भन्छन्‌: “पैसा तिरेर किन्दाभन्दा क्रेडिट कार्ड प्रयोग गरेर किन्दा अक्सर धेरै सामान किनिरहेको हुन्छु। पछि सबै सामानको पैसा तिर्नुपर्दा आफ्नो बजेट गोलमाल हुन्छ।” क्रेडिट कार्ड प्रयोग गर्ने सन्दर्भमा असाध्यै होसियार हुनु बुद्धिमानी हो।—२ राजा ४:१; मत्ती १८:२५.

किन्‍नुअघि पैसा बचत गर्नुहोस्‌। हुनत यो पुरानो जमानाको सोचाइजस्तो देखिएला तर किन्‍नुअघि पैसा बचत गर्नु भनेको आर्थिक सङ्‌कटबाट बच्ने एउटा बुद्धिमानी तरिका हो। यसो गर्दा धेरै जना ऋणमा डुब्नदेखि र यसले निम्त्याउने समस्याबाट जोगिन सक्छन्‌ किनभने चर्को ब्याज तिरेर सामान किन्दा आखिरमा गएर त्यसको मोल सामानमै थपिन्छ। बाइबलमा कमिलालाई ‘बुद्धिमान्‌’ भनिएको छ किनभने यसले “कटनीको समयमा” नै भविष्यको लागि “खानेकुरो सञ्चय गर्छ।”—हितोपदेश ६:६-८; ३०:२४, २५.

अरूबाट सिक्नुहोस्‌

यहाँ छलफल गरिएका सबै बाइबल सिद्धान्त हामीलाई राम्रो लाग्ला तर के यसले मानिसहरूलाई साँच्चै आफ्नो औकातअनुसार जिउन मदत गरिरहेको छ? यी सल्लाह लागू गरेर सफलतापूर्वक आर्थिक कठिनाइको सामना गरेका केही व्यक्‍तिको अनुभव विचार गरौं।

डिओस्डाडोका चार जना छोराछोरी छन्‌। हालैको आर्थिक सङ्‌कटले गर्दा परिवारको आवश्‍यकता पूरा गर्न गाह्रो भएको कुरा तिनी बताउँछन्‌। तैपनि तिनले बजेटको महत्त्व बुझेका छन्‌। तिनी भन्छन्‌: “म आफ्नो कमाइको एक-एक पैसाको बजेट बनाउँछु। कुन कुराको लागि कति खर्च गर्ने भन्‍ने सूची मसित छ।” डानिलो पनि यही सिद्धान्त पालन गर्छन्‌। तिनी र तिनकी पत्नीले चलाइरहेको सानो व्यापार डुब्यो। तैपनि चनाखो भई बजेट बनाउँदा हातमुख जोर्न सम्भव भएको छ। तिनी भन्छन्‌: “हरेक महिना कति पैसा आउँछ र कति खर्च हुन्छ, हामीलाई थाह छ। त्यसैको आधारमा कति पैसा खर्च गर्ने भनी विस्तृत छलफल गर्छौं।”

आफूले बनाएको बजेटअनुसार गर्न कोही-कोहीले कुनै-कुनै क्षेत्रमा कटौती गर्नुपर्ने आवश्‍यकता देखेका छन्‌। तीन छोराछोरी हुर्काइरहेकी विधवा मर्ना भन्छिन्‌: “ख्रीष्टियन सभाहरूमा जान सार्वजनिक यातायात चढ्‌नुको सट्टा अहिले म र मेरा छोराछोरी हिंड्‌ने गर्छौं।” मर्नाले आफ्ना छोराछोरीलाई सरल जीवन बिताउनुको महत्त्व बुझाउन प्रयास गरेकी छिन्‌। उनी भन्छिन्‌: “मैले १ तिमोथी ६:८-१० मा बताइएअनुसार आफूसित भएका कुराहरूमा सन्तुष्ट हुनुको महत्त्वबारे असल उदाहरण बसाल्न प्रयास गरेकी छु।”

दुई सन्तानका बुबा, जेरल्डले पनि त्यसै गरेका छन्‌। तिनी भन्छन्‌: “हाम्रो पारिवारिक बाइबल अध्ययनको बेला साँच्चै महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवाको उपासनासित सम्बन्धित कुरामा ध्यान केन्द्रित गर्ने ख्रीष्टियनहरूको अनुभव हामी छलफल गर्छौं। यसको परिणाम राम्रो भएको छ किनभने हाम्रा छोराछोरीले नभए पनि काम चल्ने कुराको लागि रोइकराइ गर्दैनन्‌।”

फिलिपिन्सकी अविवाहित जानेट पूर्ण-समय स्वयम्‌सेवीको रूपमा अरूलाई बाइबल सिकाउने गर्छिन्‌। उनले हालै जागिर गुमाइन्‌ तैपनि उनी आफ्नो औकातअनुसार बाँचिरहेकी छिन्‌। कसरी? उनी भन्छिन्‌: “आफूलाई अनुशासनमा राखेर अनि मितव्ययी भएर। ठूलठूला महँगो पसलमा जानुको साटो सस्तो दाममा राम्रो सामान बेच्ने पसल खोज्छु। कम पैसामा किन्‍न सकिन्छ भने बेकारमा किन धेरै पैसा तिर्ने? सोचविचारै नगरी देख्नेबित्तिकै किन्‍ने पनि गर्दिनँ।” जानेटले पहिल्यैदेखि पैसाको बचत गर्नुको व्यावहारिक बुद्धिलाई बुझेकी छिन्‌। उनी भन्छिन्‌: “आफूसित थोरै मात्र भए पनि थप पैसा हुनेबित्तिकै पछि भइपरी आउन सक्ने घटनाको लागि जोगाइहाल्छु।”

क्रेडिट कार्डको सन्दर्भमा माथि उल्लिखित एरिक भन्छन्‌: “म अत्यन्त आकस्मिक अवस्थामा मात्र क्रेडिट कार्ड चलाउँछु।” डिओस्डाडो सहमति जनाउँदै भन्छन्‌: “आत्मसंयम देखाउन सकियोस्‌ भनेर म क्रेडिट कार्ड अफिसमै छोड्‌ने गर्छु।”

आफ्नो औकातअनुसार तपाईं पक्कै जिउन सक्नुहुन्छ

बाइबलले मुख्यतया परमेश्‍वरसितको सम्बन्ध घनिष्ठ बनाउने विषयमा बताउने भए तापनि यसले अन्य भौतिक कुरामा हामीलाई मदत गर्ने विषयमा पनि सल्लाह दिन्छ भनी थुप्रैले बुझेका छन्‌। (हितोपदेश २:६; मत्ती ६:२५-३४) यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्त लागू गरेर अनि ती सिद्धान्तअनुसार हिंड्‌दा लाभ उठाएका व्यक्‍तिहरूबाट सिकेर तपाईं पनि आफ्नो औकातअनुसार जिउन सक्नुहुन्छ। यसो गर्दा तपाईं पनि आज थुप्रैले भोगिरहेका चिन्ता र दुःखबाट बच्न सक्नुहुन्छ। (w11-E 06/01)

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘कति खर्च गर्ने भनी विस्तृत छलफल गर्छौं’

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘ख्रीष्टियन सभाहरूमा जान गाडी चढ्‌नुको सट्टा हिंड्‌ने गर्छौं’

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘सोचविचारै नगरी देख्नेबित्तिकै किन्दिनँ’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने