ईश्वरतान्त्रिक सेवा स्कूल
उद्देश्य: सुसमाचारको प्रभावकारी प्रचारक र शिक्षक बनाउनको लागि प्रकाशकहरूलाई प्रशिक्षण दिन।
समयावधि: यो स्कूल नियमित रूपमा सञ्चालन हुने गर्छ।
स्थान: स्थानीय राज्यभवन।
योग्यता: मण्डलीमा नियमित सङ्गत गरिरहेका, बाइबल शिक्षासित सहमत भएका अनि ख्रीष्टियन सिद्धान्तअनुसार जीवन बिताइरहेकाहरू।
कसरी भाग लिने: ईश्वरतान्त्रिक सेवा स्कूल निरीक्षकसित कुरा गर्नुहोस्।
पक्षाघात भएकी स्यारोन यसो भन्छिन्: “ईश्वरतान्त्रिक सेवा स्कूलले अनुसन्धान गर्न अनि जानकारीलाई तार्किक ढङ्गमा प्रस्तुत गर्न सिकाएको छ। साथै आफू मात्र होइन, अरूलाई पनि परमेश्वरको नजिक हुन मदत गर्नुपर्छ भनेर पनि सिकेकी छु।”
लामो समयदेखि परिभ्रमण कार्य गरिरहेका आर्नी यस्तो टिप्पणी गर्छन्: “म सानैदेखि भकभके थिएँ अनि कसैसित आँखा जुधाएर बोल्न सक्दिनथें। तर यस स्कूलले मेरो आत्म-विश्वास र आत्म-सम्मान बढाएको छ। यस तालिमद्वारा यहोवाको मदत पाएकोले मैले श्वास-प्रश्वास नियन्त्रण गर्ने र ध्यान केन्द्रित गर्ने तरिकाहरू सिकेको छु। मण्डलीमा र प्रचारकार्यमा यहोवाको प्रशंसा गर्न सकेकोमा म असाध्यै आभारी छु।”
नयाँ बेथेल सेवकका लागि स्कूल
उद्देश्य: यो स्कूल नयाँ बेथेल सेवकलाई सफल बनाउनको लागि तयार पारिएको हो।
समयावधि: प्रत्येक हप्ता ४५ मिनेटको हिसाबले सोह्र हप्तासम्म।
स्थान: बेथेल।
योग्यता: बेथेल परिवारको स्थायी सदस्य वा एक वर्ष वा सोभन्दा बढी समयको लागि बेथेलमा सेवा गर्ने अनुमति पाएको अस्थायी स्वयंसेवक हुनुपर्छ।
कसरी भाग लिने: बेथेल परिवारको नयाँ सदस्य स्वतः त्यस स्कूलमा भाग लिन सक्छन्।
सन् १९८० को दशकमा यस स्कूलमा भाग लिएका डेमीट्रियस यसो भन्छन्: “यस स्कूलले अध्ययन गर्ने मेरो बानीमा सुधार ल्यायो अनि लामो समयसम्म बेथेलमा सेवा गर्न तयार बनायो। यस स्कूलका निरीक्षकहरू, पाठ्यक्रम अनि व्यावहारिक सर-सल्लाहबाट मैले यहोवाको मायालु चासो महसुस गरें र बेथेल सेवामा म सफल भएको यहोवा चाहनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन सकें।”
केटलिन यस्तो टिप्पणी गर्छिन्: “यस स्कूलले मलाई सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न मदत गऱ्यो। त्यो हो, यहोवाको इच्छाअनुरूप गर्ने। साथै यस स्कूलले यहोवा, उहाँको घर अनि उहाँको सङ्गठनप्रतिको मेरो कृतज्ञता अझ बढाएको छ।”
राज्य सेवा स्कूल
उद्देश्य: परिभ्रमण निरीक्षक, एल्डर अनि कहिलेकाहीं सहायक सेवकलाई मण्डलीका भाइबहिनीको निरीक्षण गर्न र सङ्गठनका जिम्मेवारीहरू राम्ररी पूरा गर्नको लागि प्रशिक्षण दिन। (प्रेषि. २०:२८) मण्डलीको अवस्था, लहड अनि आवश्यकताहरूबारे छलफल गरिन्छ। यो स्कूल परिचालक निकायको निर्णयअनुसार केही वर्षको फरकमा हुने गर्छ।
समयावधि: हालैका वर्षमा यो स्कूल परिभ्रमण निरीक्षकहरूको लागि दुई दिनदेखि लिएर साढे दुई दिनसम्म, एल्डरहरूको लागि साढे एक दिन अनि सहायक सेवकहरूको लागि एक दिन सञ्चालन भइरहेको छ।
स्थान: प्रायः राज्यभवन वा सम्मेलन भवन।
योग्यता: परिभ्रमण निरीक्षक, एल्डर अथवा सहायक सेवक हुनुपर्छ।
कसरी भाग लिने: योग्य एल्डर अथवा सहायक सेवकलाई क्षेत्रीय निरीक्षकले निम्तो दिन्छन्। परिभ्रमण निरीक्षकलाई शाखा कार्यालयले निम्तो दिन्छ।
“थोरै समयमा धेरै कुरा सिक्नुपर्ने भए तापनि यहोवाको सेवामा आनन्दित भइरहन अनि ‘पुरुषार्थ देखाइरहन’ एल्डरहरूले यस स्कूलबाट मदत पाउँछन्। साथै नयाँ तथा पुराना एल्डरहरूले गोठालो गर्ने काममा अझ प्रभावकारी हुन अनि ‘एउटै विचार’ राख्न सिक्छन्।”—क्वीन (तल)।
“आफ्नो विश्वास बलियो बनाउने, खतराहरूबारे सजग हुने अनि बगालको हेरचाह गर्नको लागि चाहिने व्यावहारिक सुझावलाई उत्तिकै महत्त्व दिइयो। यहोवा साँच्चै हाम्रो हेरचाह गर्नुहुन्छ।”—माइकल।
अग्रगामी सेवा स्कूल
उद्देश्य: ‘सेवाको काम राम्ररी पूरा गर्नको’ लागि अग्रगामीहरूलाई मदत गर्न।—२ तिमो. ४:५.
समयावधि: दुई हप्ता।
स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन।
योग्यता: कम्तीमा एक वर्ष नियमित अग्रगामी सेवा गरेको हुनुपर्छ।
कसरी भाग लिने: योग्य अग्रगामीले त्यस स्कूलमा स्वतः भाग लिन सक्छन्। क्षेत्रीय निरीक्षकले त्यसको खबर दिन्छन्।
“यस स्कूलले मलाई प्रचारकार्यमा र जीवनमा आउने चुनौतीहरूको सामना गर्न मदत गरेको छ। अध्ययन गर्ने, सिकाउने अनि बाइबल प्रयोग गर्ने मेरो तरिकामा उन्नति भएको छ। अरूलाई मदत गर्न, एल्डरहरूलाई साथ दिन अनि मण्डलीको वृद्धिमा योगदान दिनको लागि अझ सक्षम भएकी छु।”—लिली।
यस स्कूलमा दुई पटक भाग लिएकी ब्रिन्डा भन्छिन्: “यस स्कूलले मलाई यहोवाको सेवामा पूरा ध्यान दिन, अन्तस्करण बलियो बनाउन अनि अरूलाई मदत गर्नमा ध्यान केन्द्रित गर्न सिकायो। यहोवा हामीलाई कत्ति धेरै कुरा सिकाउनुहुन्छ!”
मण्डलीका एल्डरहरूका लागि स्कूल
उद्देश्य: मण्डलीका जिम्मेवारीहरू राम्ररी सम्हाल्न र परमेश्वरसितको सम्बन्ध प्रगाढ बनाउन एल्डरहरूलाई मदत गर्न।
समयावधि: पाँच दिन।
स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन वा सम्मेलन भवन।
योग्यता: एल्डर हुनुपर्छ।
कसरी भाग लिने: शाखा कार्यालयले एल्डरहरूलाई निम्तो दिन्छ।
अमेरिकामा भएको ९२ औं कक्षामा भाग लिनेमध्ये केहीको टिप्पणी सुनौं:
“आफूलाई जाँच्ने अनि यहोवाका भेडाहरूको कसरी हेरचाह गर्ने भन्नेबारे थुप्रै कुरा सिकें।”
“बाइबल प्रयोग गरेर अरूलाई प्रोत्साहन दिन म पहिलेभन्दा सक्षम भएको छु।”
“यस तालिमबाट सिकेको कुरा म जिन्दगीभर लागू गर्नेछु।”
परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीका लागि स्कूल
उद्देश्य: क्षेत्रीय तथा जिल्ला निरीक्षकलाई मण्डलीको रेखदेख गर्ने सन्दर्भमा अझ प्रभावकारी हुँदै ‘बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्नको’ लागि मदत गर्न।—१ तिमो. ५:१७; १ पत्रु. ५:२, ३.
समयावधि: दुई महिना।
स्थान: शाखा कार्यालयले तोकेको स्थान।
योग्यता: क्षेत्रीय अथवा जिल्ला निरीक्षक हुनुपर्छ।
कसरी भाग लिने: शाखा कार्यालयले परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीलाई निम्तो दिन्छ।
“सङ्गठनलाई डोऱ्याउन येशूले नेतृत्व लिइरहनुभएको छ भन्ने कुराप्रतिको हाम्रो कृतज्ञता अझै बढेको छ। भाइबहिनीहरूलाई प्रोत्साहन दिनुपर्ने र मण्डलीको एकतालाई बलियो पार्नुपर्ने आवश्यकताबारे बुझ्यौं। हुन त परिभ्रमण निरीक्षकले सल्लाह दिन्छन् अनि कहिलेकाहीं अनुशासनसमेत दिन्छन् तर तिनको मुख्य उद्देश्य यहोवा हामी प्रत्येकलाई असाध्यै प्रेम गर्नुहुन्छ भनेर बुझाउनु हो।”—जोएल, पहिलो कक्षा, १९९९.
अविवाहित भाइहरूका लागि बाइबल स्कूल
उद्देश्य: अविवाहित एल्डर अनि सहायक सेवकलाई यहोवाको सङ्गठनमा थप जिम्मेवारीको लागि तयार गर्न। थुप्रै स्नातकलाई आफ्नै देशको इलाकामा खटाइन्छ, जहाँ आवश्यकता धेरै छ। अरू देशमा गएर सेवा गर्न तयार अन्य केहीलाई भने अर्को देशमा खटाइन सक्छ। केही स्नातकलाई भने विकट अनि पृथक क्षेत्रमा गएर प्रचार गर्न अस्थायी विशेष अग्रगामीको रूपमा खटाइन सक्छ।
समयावधि: दुई महिना।
स्थान: शाखा कार्यालयले तोकेको स्थान; प्रायः राज्यभवन वा सम्मेलन भवन।
योग्यता: अविवाहित भाइहरू जसको उमेर २३ देखि ६२ वर्षबीचको छ। स्वास्थ्य राम्रो हुनुपर्छ र आवश्यकता धेरै भएको ठाउँमा जान इच्छुक हुनुपर्छ। (मर्कू. १०:२९, ३०) कम्तीमा पनि दुई वर्ष नियमित अग्रगामी सेवा गरेको हुनुपर्छ अनि सहायक सेवक वा एल्डरको रूपमा कम्तीमा दुई वर्ष लगातार सेवा गरेको हुनुपर्छ।
कसरी भाग लिने: इच्छुक भाइहरूको लागि क्षेत्रीय सम्मेलनमा त्यससम्बन्धी सभा हुन्छ।
अमेरिकामा भएको २३ औं कक्षामा भाग लिएका रिक भन्छन्: “पूरै मन लगाएर यस स्कूलमा भाग लिंदा यहोवाको शक्तिको मदतले मैले थुप्रै परिवर्तन गर्न सकें। जब यहोवा हामीलाई कुनै जिम्मेवारी दिनुहुन्छ, त्यो पूरा गर्नको लागि हामीलाई साथ पनि दिनुहुन्छ। मैले आफ्नो होइन, यहोवाको इच्छामा ध्यान केन्द्रित गर्दा उहाँले मलाई बलियो पार्नुहुन्छ भनेर बुझें।”
जर्मनीमा सेवा गरिरहेका आन्द्रियास भन्छन्: “यहोवाको सङ्गठनले अहिले गरिरहेको गतिविधि चमत्कारजस्तै लाग्छ। भावी कामको लागि तयार रहन यस तालिमले मदत गऱ्यो। साथै बाइबलका थुप्रै उदाहरणबाट मैले यो महत्त्वपूर्ण सत्य सिकें: यहोवा अनि भाइबहिनीको सेवाले साँचो आनन्द दिन्छ।”
ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कूल
उद्देश्य: यहोवा र उहाँको सङ्गठनले दिने जिम्मेवारीहरू अझ राम्ररी पूरा गर्न सकोस् भन्नको लागि विवाहित दम्पतीलाई विशेष प्रशिक्षण दिन। स्नातकहरूमध्ये प्रायजसोलाई आफ्नै देशको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न खटाइन्छ। अरू देशमा गएर सेवा गर्न तयार कसै-कसैलाई अर्को देशमा खटाइन सक्छ। कोही-कोही स्नातकहरूलाई भने विकट अनि पृथक क्षेत्रहरूमा गएर प्रचार गर्न अस्थायी विशेष अग्रगामीको रूपमा खटाइनेछ।
समयावधि: दुई महिना।
स्थान: यो स्कूल अमेरिकामा सञ्चालन गरिन्छ; साथै सेप्टेम्बर २०१२ देखि कुनै-कुनै शाखा कार्यालयको इलाकामा, प्रायः राज्यभवन वा सम्मेलन भवनमा गरिनेछ।
योग्यता: विवाहित जोडीहरू जसको उमेर २५ देखि ५० वर्षबीचको छ। स्वास्थ्य राम्रो हुनुपर्छ र आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सक्ने परिस्थितिमा हुनुपर्छ। तिनीहरूको मनोभाव यस्तो हुनुपर्छ: “म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै. ६:८) साथै तिनीहरूले विवाह गरेको कम्तीमा दुई वर्ष भएको अनि कम्तीमा दुई वर्ष लगातार पूर्ण-समय सेवा गरेको हुनुपर्छ। पतिले कम्तीमा लगातार दुई वर्षदेखि एल्डर वा सहायक सेवकको रूपमा सेवा गरिरहेको हुनुपर्छ।
कसरी भाग लिने: इच्छुक दम्पतीहरूको लागि जिल्ला अधिवेशनमा त्यससम्बन्धी सभा हुन्छ। यदि तपाईंको देशको अधिवेशनमा यो सभा हुँदैन तर त्यसमा भाग लिन चाहनुहुन्छ भने थप जानकारीका लागि शाखा कार्यालयलाई पत्र पठाउन सकिन्छ।
“यो आठ हप्ते तालिमले हाम्रो जीवनमा नयाँ परिवर्तन ल्यायो! यहोवाको सेवामा अझ धेरै गर्न चाहने दम्पतीहरूका लागि कस्तो ठूलो सुअवसर! समयको सदुपयोग गर्न हामीले सन्तुलित जीवन बिताउने सङ्कल्प गरेका छौं।”—एरिक र कोरिना (तल), पहिलो कक्षा, २०११.
गिलियड स्कूल
उद्देश्य: बाक्लो बस्ती भएको ठाउँमा गएर मिसनरीको रूपमा सेवा गर्न, परिभ्रमण निरीक्षक वा बेथेल सेवक बन्नको लागि प्रशिक्षण दिन। मुख्य उद्देश्य भनेको प्रचारकार्य अनि शाखा कार्यालयसम्बन्धी कामकुरालाई बलियो र सुदृढ पार्नु हो।
समयावधि: पाँच महिना।
स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु योर्क, अमेरिका।
योग्यता: पहिलेदेखि नै कुन न कुनै किसिमको विशेष पूर्ण-समय सेवामा लागिरहेका विवाहित दम्पती। जस्तै: गिलियड नगएका मिसनरी, विशेष अग्रगामी, परिभ्रमण निरीक्षक वा बेथेल सेवक। विवाहित जोडीको रूपमा दुवैले कम्तीमा तीन वर्ष लगातार यस्तो सेवा गरेको हुनुपर्छ। खरर्र अङ्ग्रेजी बोल्न, पढ्न अनि लेख्न सक्ने हुनुपर्छ।
कसरी भाग लिने: आफ्नै देशको शाखा समितिले विवाहित दम्पतीलाई आवेदन फाराम भर्न निम्तो दिनेछ।
अमेरिकाका लाडे र मोनिक हाल अफ्रिकामा सेवा गरिरहेका छन्। लाडे भन्छन्: “गिलियड स्कूलले हामीलाई संसारको जुनसुकै ठाउँमा गएर प्रिय भाइबहिनीहरूसित काम गर्न तम्तयार बनायो।”
मोनिक थप्छिन्: “परमेश्वरको वचनबाट सिकेको कुरालाई लागू गर्दा आफूलाई खटाइएको ठाउँमा आनन्दित हुन सकेकी छु। यसरी आनन्दित हुन सक्नु यहोवाको प्रेमको थप प्रमाण हो भनेर बुझेकी छु।”
शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कूल
उद्देश्य: शाखा समितिका सदस्यहरूलाई बेथेल गृहको सुपरिवेक्षण गर्न, मण्डलीको गतिविधिलाई असर गर्ने कामकुरामा ध्यान दिन, क्षेत्र र जिल्लाको निरीक्षण गर्न मदत दिन। साथै अनुवाद, छापाखाना, साहित्यको ढुवानीसम्बन्धी कामबारे सिकाउन।
समयावधि: दुई महिना।
स्थान: वाचटावर एजुकेशनल सेन्टर, प्याटर्सन, न्यु योर्क, अमेरिका।
योग्यता: शाखा समिति वा उपशाखा समितिको सदस्य। शाखा समिति वा उपशाखा समितिमा सेवा गर्न खटाइनेहरू।
कसरी भाग लिने: परिचालक निकायले यस्ता भाइ तथा तिनकी पत्नीलाई निम्तो दिन्छ।
यस स्कूलको २५ औं कक्षामा भाग लिएका लोवेल र क्यारा अहिले नाइजेरियामा सेवा गरिरहेका छन्। लोवेल भन्छन्: “जत्ति नै व्यस्त भए पनि, जुनसुकै काम अह्राइए तापनि यहोवाको इच्छाअनुसार गऱ्यौं भने मात्र उहाँ खुसी हुनुहुन्छ भनेर यस स्कूलबाट सिकें। साथै हामीले अरूसित व्यवहार गर्दा यहोवाले आफ्ना सेवकहरूलाई देखाउनुभएको प्रेम अनुकरण गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर जोड दिइयो।”
क्यारा थप्छिन्: “मैले गहिरिएर सोचेको एउटा कुरा हो, यदि म कुनै बुँदा अरूलाई सजिलो तरिकामा बुझाउन सक्दिनँ भने पहिला आफैले राम्ररी अध्ययन गर्नु जरुरी छ।”