प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१ pp. २०-२३
  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भिन्‍नाभिन्‍नै मार्ग रोज्नु
  • यहोवाको सल्लाह अनि कयिनको प्रतिक्रिया
  • हाम्रोलागि शिक्षा
  • भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • रिसले गलत काम गर्न लगाउन सक्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • असल छोरा र खराब छोरा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१ pp. २०-२३

यहोवालाई ग्रहणयोग्य बलिदान चढाउने

एक समय अदनको बगैंचाको पूर्वतिरको मूलढोकामा गजबको दृश्‍य देख्न पाइन्थ्यो।a त्यहाँ अजंगको शक्‍तिशाली करूबहरूले पहरा दिन्थे जसलाई देख्ने बित्तिकै त्यहाँ भित्र कोही पनि पस्न हुँदैन भन्‍ने बुझिन्थ्यो। त्यस्तै भित्र पस्न हुँदैन भनेर बुझाउने चारैतिर घुमिरहने ज्वालामय तरवार पनि थियो। सायद, यसले अँध्यारो रातमा आङै सिरिंङ हुनेगरी त्यहाँ वरपरका रूखहरूमा प्रकाश फ्याँक्थ्यो। (उत्पत्ति ३:२४) यी सब देखेर कौतूहल लाग्नु स्वाभाविकै हो। तापनि, त्यस्तो दृश्‍य देख्ने कुनै पनि व्यक्‍ति त्यो ठाउँबाट परै बस्थ्यो होला।

कयिन र हाबिल थुप्रै पल्ट त्यहाँ हेर्न गएका हुनसक्छन्‌। प्रमोदवन बाहिर आदम अनि हव्वाबाट जन्मेका हुनाले राम्रो सिंचाइ गरिएको, चारैतिर हरियाली, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी पाइने अनि आफ्नो आमाबाबुले आनन्द उठाएको प्रमोदवनमा जीवन कत्तिको रमाइलो हुँदो हो भनेर तिनीहरू कल्पना मात्र गर्नसक्थे। किनभने तिनीहरूले अदनको जे-जति भू-भाग अहिले देख्थे त्यो पनि पक्कै उजाड अनि घाँसपातले ढाकिसकोको थियो होला।

आदम र हव्वाले आफ्ना छोराछोरीहरूलाई त्यो बगैंचाको हेरचाह गर्न छोड्‌नु र तिनीहरू त्यहाँबाट खेदिनुको कारण बताएको हुनुपर्छ। (उत्पत्ति २:१७; ३:६, २३) साँच्चै कयिन र हाबिल त्यो सुनेर कत्ति निराश हुन्थे होलान्‌! तिनीहरू बगैंचालाई देखेर पनि भित्र पस्न सक्दैनन्‌। प्रमोदवन त्यति नजिक भएर पनि कति टाढा थियो। तिनीहरू विवश थिए किनभने असिद्धताले तिनीहरूमाथि कब्जा जमाइसकेको थियो।

तिनीहरूका आमाबाबुबीचको सम्बन्धले पनि कुनै फाइदा पुऱ्‍याउन सकेन। हव्वालाई सजाय तोक्नुहुँदा परमेश्‍वरले यसो भन्‍नुभयो: “तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) यस भविष्यवाणी अनुसार आदमले, आफ्नो जीवनसाथी र सहयोगीको रूपमा व्यवहार नगरी हव्वामाथि प्रभुत्व जमाइसकेको हुनसक्छ। अनि हव्वाचाहिं आदममाथि अचाक्ली भर पर्न थालिन्‌। एउटा टिप्पणीले तिनको यो “इच्छा[लाई],” “रोग सरह” समेत भनेको छ।

आमाबाबुको वैवाहिक जीवनमा आएको यस्तो आमूल परिवर्तनले गर्दा कयिन अनि हाबिलले तिनीहरूलाई आदर गर्न सके वा सकेनन्‌, बाइबलले केही पनि बताउँदैन। तथापि, आदम अनि हव्वाले आफ्ना सन्तानहरूका लागि राम्रो उदाहरण बसाल्न सकेनन्‌ भन्‍ने चाहिं प्रस्ट छ।

भिन्‍नाभिन्‍नै मार्ग रोज्नु

अन्ततः हाबिल गोठालो भए भने कयिन किसान। (उत्पत्ति ४:२) हाबिलले बथानको हेरचाह गर्दा पक्कै पनि आफ्ना आमाबाबुलाई अदनबाट निकाल्नुअघि दुई भिन्‍नाभिन्‍नै सन्तानको बारेमा गरिएको यो भविष्यवाणीलाई घोरिएर सोच्ने प्रशस्त समय पाएको हुनुपर्छ: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) ‘त्यस साँपको शिर कुच्याउने सन्तानसम्बन्धी परमेश्‍वरको प्रतिज्ञा कसरी पूरा हुने होला अनि कसरी सर्पले यस सन्तानको कुर्कुच्चो डस्नेछ होला?’ भनी हाबिल छक्क परेको हुनुपर्छ।

केही समय पछि, सायद कयिन र हाबिल लक्का जवान भएपछि दुवैले यहोवालाई बलिदान चढाए। गोठाला हाबिलले “भेड़ाका बगालबाट पहिले जन्मेका पाठाहरू र तिनका उत्तम भाग” चढाउनु स्वाभाविकै हो। त्यसको विपरीत, कयिनले “भूमिको उब्जनीबाट केही” अर्पण गरे। यहोवाले हाबिलको भेटी ग्रहण गर्नुभयो तर “कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।” (उत्पत्ति ४:३-५) किन?

एउटा कारण हाबिलले “भेड़ाका बगालबाट पहिले जन्मेका पाठाहरू[को]” भेटी चढाएका थिए भने कयिनले “भूमिको उब्जनीबाट केही” अर्पण गरेका थिए भनेर कोही कोही औंल्याउँछन्‌। तर कुरो कयिनले कस्तो भेटी चढाए भन्‍ने थिएन किनभने यहाँ भनिएको छ यहोवाले “हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो” तर “कयिन र तिनको भेटी” ग्रहण गर्नुभएन। यहोवाले मुख्यतः उहाँका उपासकको हृदय हेर्दैहुनुहुन्थ्यो। उहाँले के पाउनुभयो? हाबिलले “विश्‍वासैबाट” बलिदान चढाए भनी हिब्रू ११:४ भन्छ। त्यसैले यसबाट स्पष्ट हुन्छ कि कयिनसित विश्‍वासको कमी भएकोले तिनको भेटी ग्रहणयोग्य भएन। तर हाबिलको बलिदान ग्रहणयोग्य भयो।

यस सन्दर्भमा हाबिलले बलिदान चढाउँदा रगत बगाएका थिए भनी हामीले बिर्सनु हुँदैन। परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा सन्तानको कुर्कुच्चो डस्नु भनेको नै जीवन बलिदान दिनु हो भन्‍ने सही निष्कर्ष तिनले निकालेका हुनुपर्छ। तसर्थ, हाबिलले चढाएको बलिदानले पापको प्रायश्‍चितका लागि बिन्ती र परमेश्‍वरले सबैको पापको प्रायश्‍चितको लागि आफ्नो समयमा बलिदानको प्रबन्ध गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वास हुनुको संकेत दिएको थियो।

अर्कोतिर सायद कयिनले आफूले चढाएको भेटीबारे त्यति गम्भीरतापूर्वक सोचेनन्‌। “तिनको भेटीले परमेश्‍वरले देखाउनुभएको उपकारलाई स्वीकारेको मात्र संकेत गर्थ्यो,” भनी १९ औं शताब्दीका एक बाइबल टिप्पणीकारले टिप्पणी गरे। “सृष्टिकर्त्ता अनि आफ्नो सम्बन्धबीचको खाडल अनि पापको लागि क्षमा माग्नु पर्छ भन्‍ने विषयमा वा प्रायश्‍चितको आवश्‍यकतामाथि तिनले विचारै गरेनन्‌ भनेर स्पष्ट देखिन्थ्यो।”

यसबाहेक जेठो छोरो भएकोले प्रतिज्ञा गरिएको सन्तान मै हुँ र मैले नै साँप अर्थात्‌ शैतानलाई नष्ट गर्नेछु भनेर पनि तिनले अहंकार गरिरहेका होलान्‌। हव्वाले पनि आफ्नो जेठो छोरोबारे त्यस्तै कुरा मनमा खेलाइरहेकी होलिन्‌। (उत्पत्ति ४:१) यदि कयिन र हव्वाले यसै कुराको आशा गरिरहेका भए तिनीहरूले साँच्चै असाध्यै गलत सोचिरहेका थिए।

यहोवाले हाबिलको बलिदानलाई कसरी ग्रहण गरेर देखाउनुभयो, बाइबलले बताएको छैन। स्वर्गबाट आएको आगोले भेटीलाई भस्म पारेको हुनुपर्छ भन्‍ने कसैकसैको विचार छ। त्यो भेटी जसरी स्वीकारिएको होस्‌, आफ्नो भेटी अस्वीकृत भएपछि, “कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो।” (उत्पत्ति ४:५) कयिनले आफैमाथि विपत्ति निम्त्याइरहेका थिए।

यहोवाको सल्लाह अनि कयिनको प्रतिक्रिया

यहोवाले कयिनसित तर्क गर्नुभयो। उहाँले सोध्नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ?” यसबाट कयिनले आफ्नो भावना अनि प्रवृत्ति जाँच्ने राम्रो मौका पाए। यहोवाले फेरि भन्‍नुभयो, “तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? यदि तैंले असल गरेनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नुपर्दैन र?”—उत्पत्ति ४:६, ७, NW. (२३ पृष्ठको पेटी हेर्नुहोस्‌।)

तर कयिनले सुनेन। बरु तिनले हाबिललाई बाहिर खेतमा लगे र मारे। पछि यहोवाले तिनलाई हाबिल कहाँ छ भनेर सोध्नुहुँदा आफ्नो पाप लुकाउन झूट बोले। तिनले कुरा लुकाउँदै यसो भने, “मलाई थाह छैन। के म मेरो भाइको गोठाला हुँ र?”—उत्पत्ति ४:८, ९.

हाबिलको हत्या गर्नुअघि र पछि दुवै पटक तिनले ‘असल गर्न’ इन्कार गरे। तिनी पापको अधीनमा पर्न रुचाए जसले गर्दा मानव परिवार बसोबास गर्ने भूमिबाट तिनी खेदिए। कसैले कयिनलाई मारेर हाबिलको हत्याको बदला नलेओस्‌ भनी “चिन्ह” लगाइयो जसको अर्थ सायद सबैले थाह पाउनेगरी जारी गरिएको आज्ञप्ति हुनसक्छ।—उत्पत्ति ४:१५.

कयिनले पछि आफ्नो छोरोको नाउँमा शहर बसाले। तिनको सम्पूर्ण सन्तति हिंसाका लागि कुख्यात हुनु नौलो कुरा थिएन। अन्ततः, जलप्रलयले पापी मानिसहरू सबैलाई डुबाउँदा कयिनको वंशको अन्त भयो।—उत्पत्ति ४:१७-२४; ७:२१-२४.

कयिन अनि हाबिलसम्बन्धी विवरण बाइबलमा लोककथाजस्तो समय बिताउन मात्र जोगाएर राखिएको होइन। बरु, ‘यो हाम्रै शिक्षाको निम्ति लेखिएको हो’ र त्यो “सिकाउनलाई, अर्ती दिनालाई उपयोगी” हुन्छ। (रोमी १५:४; २ तिमोथी ३:१६) यस विवरणबाट हामी के सिक्नसक्छौं?

हाम्रोलागि शिक्षा

कयिन र हाबिललाई जस्तै आज मसीहीहरूलाई पनि परमेश्‍वरको लागि भेटी चढाउन निम्त्याइएको छ, शाब्दिक होमबलि त होइन तर ‘स्तुतिको बलिदान, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।’ (हिब्रू १३:१५) यहोवाका साक्षीहरूले २३० भन्दा बढी मुलुकहरूमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै आज विश्‍वव्यापी रूपमा यो कार्य पूरा गरिरहेका छन्‌। (मत्ती २४:१४) के तपाईं यो काममा भाग लिंदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईंको ‘काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ देखाउनुभएको छ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न’ भनी निश्‍चिन्त हुनसक्नुहुन्छ।—हिब्रू ६:१०.

कयिन र हाबिलको बलिदानजस्तै तपाईंको बलिदान स्वीकृत हुने वा नहुने बाह्‍य रूपरंगमा निर्भर गर्दैन। जस्तै, क्षेत्र सेवकाईमा तपाईंले बिताउनुहुने घण्टा। यहोवाले त्यो भन्दा गहनकुरा हेर्नुहुन्छ। यर्मिया १७:१० अनुसार उहाँ ‘मानिसको मन तलाश गर्नुहुन्छ’ र साथै ‘हृदयको [“मृगौलाको,” NW] जाँच गर्नुहुन्छ’ अर्थात्‌ मानिसका सोचविचार, भावना र तिनको मनोवृत्ति। त्यसैले मुख्य कुरा मनोवृत्ति हो, परिमाण होइन। साँच्चै भन्‍ने हो भने धेरै होस्‌ वा थोरै हृदयबाटै प्रेमले उत्प्रेरित भएर चढाएको बलिदान परमेश्‍वरको अगाडि मूल्यवान हुन्छ।—मर्कूस १२:४१-४४ लाई १४:३-९ सित तुलना गर्नुहोस्‌।

यहोवाले लुलोलंगडो बलिदान स्वीकार्नु हुन्‍न, जस्तो कयिनले दिऊँ कि नदिऊँ गरेर आधा मनले चढाएको बलिदान यहोवाले स्वीकार्नुभएन। (मलाकी १:८, १३) यहोवा, हामीले आफ्नो सारा मन, प्राण, बुद्धि र शक्‍तिले उहाँलाई सर्वोत्तम भेटी चढाओस्‌ भन्‍ने चाहनुहुन्छ। (मर्कूस १२:३०) के तपाईं त्यसै गर्दै हुनुहुन्छ? उसोभए तपाईं आफ्नो बलिदान स्वीकृत हुनेछ भनी ढुक्क हुन सक्नुहुन्छ। पावलले लेखे: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”—गलाती ६:४.

कयिन र हाबिल एकै प्रकारको प्रशिक्षण पाएर हुर्केका थिए। तर समय र अवसरले तिनीहरूलाई आ-आफ्नै किसिमको विशिष्ट गुणहरू खेती गर्ने मौका दियो। डाह, निहुँ खोजाहा र रिसाहा जस्ता अवगुणहरूले कयिन ग्रसित भए।

त्यसको विपरीत परमेश्‍वरले हाबिललाई धर्मी मानिसको रूपमा सम्झनुहुन्छ। (मत्ती २३:३५) परमेश्‍वरलाई जसरी भएपनि खुसी तुल्याउने जोसले गर्दा आदम, हव्वा र कयिनजस्ता आफ्ना परिवारका कृतघ्न सदस्यहरूभन्दा हाबिल पूर्णतया भिन्‍न हुनसके। हाबिल मरिसके तापनि, “अझै बोल्दैछन्‌” भनी बाइबल हामीलाई बताउँछ। हाबिलले विश्‍वासी भई गरेको परमेश्‍वरको सेवा बाइबलमा लिपिबद्ध ऐतिहासिक लेखोटहरूको स्थायी भाग नै बनेको छ। हामी पनि हाबिलले जस्तै निरन्तर परमेश्‍वरलाई ग्रहणयोग्य बलिदान चढाइरहन सकौं।—हिब्रू ११:४.

[फुटनोट]

a अदनको बगैंचा वर्तमान टर्कीको पूर्वपट्टि पहाडी भेगमा थियो भन्‍ने कसैकसैको विचार छ।

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

मसीही सल्लाहकारहरूको लागि नमुना

“तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ?” यो प्रश्‍न सोधेर यहोवाले कयिनसित कोमलतासाथ तर्क गर्नुभयो। कयिनलाई आफ्नो मार्ग त्याग्न उहाँले कर गर्नुभएन किनभने कयिन आफै असल र खराब छुट्याउन सक्ने स्वतन्त्र व्यक्‍ति थिए। (व्यवस्था ३०:१९, तुलना गर्नुहोस्‌।) तथापि, यहोवा कयिनको मनपरी व्यवहारको परिणाम बताउन हिचकिचाउनु भएन। उहाँले कयिनलाई यसरी चेताउनी दिनुभयो: “यदि तैंले असल गरिनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ।”—उत्पत्ति ४:६, ७.

कयिनलाई यसरी हप्काउनु हुँदा समेत यहोवाले तिनलाई ‘सपार्नै नसकिने’ मानिसको रूपमा व्यवहार गर्नु भएन भन्‍नेकुरा हामीले बिर्सनुहुँदैन। त्यसको सट्टा आफ्नो मार्ग परिवर्तन गर्दा पाउन सकिने आशिष्‌हरूबारे उहाँले बताउनुभयो र तिनले चाहेको खण्डमा त्यस्तो गलत काम त्याग्न सक्छन्‌ भनी आश्‍वासन दिनुभयो। “तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र?” यहोवाले भन्‍नुभयो। अर्काको ज्यानै लिन सक्ने किसिमको तिनको रिसबारे पनि उहाँले सोध्नुभयो: “तैंले त्यसलाई अधीन गर्नुपर्दैन र?”—NW.

आज मसीही मण्डलीका प्राचीनहरूले यहोवाको नमुना लिनुपर्छ। खराब काम गर्नेहरूको परिणाम के हुनेछ भनी बताउँदै तिनीहरूले २ तिमोथी ४:२ ले बताए अनुसार ‘दोष देखाइदिनु’ र ‘हप्काउनु’ पर्छ। साथै प्राचीनहरूले “अर्ती” दिनुपर्छ। युनानी शब्द पाराकालेओ-को अर्थ “प्रोत्साहन दिनु” हो। थियोलोजीकल डिक्सनरी अफ द न्यू टेस्टामेन्ट भन्छ, “सल्लाह तीखो, एकोहोरो वा आलोचनात्मक हुनुहुँदैन। उपरोक्‍त युनानी शब्दको अर्को अर्थ सान्त्वना हुनसक्ने हुँदा यो कुरा ठीकै हो।”

स्पष्टतयाः त्यसैसित सम्बन्धित युनानी शब्द पाराक्लीटोस-ले सहयोगी वा कानुनी मुद्दा लड्‌ने अधिवक्‍ता भन्‍ने बुझाउँछ। तसर्थ, सही दोष देखाएर हप्काउँदा समेत प्राचीनहरू तिनका सहयोगी हुन्‌ विरोधी होइनन्‌ भनेर सम्झनुपर्छ। यहोवाले जस्तै प्राचीनहरूले पनि आफूले सल्लाह दिएको मानिसले आफ्नो गलत कामलाई अधीन गर्न सक्छन्‌ भन्‍ने सकारात्मक मनोवृत्ति राख्नुपर्छ।—गलाती ६:१, तुलना गर्नुहोस्‌।

अन्तमा सल्लाह पालन गर्ने वा नगर्ने त्यो पक्कै त्यसै व्यक्‍तिमाथि निर्भर गर्छ। (गलाती ६:५; फिलिप्पी २:१२) जसरी कयिनले सृष्टिकर्त्ताले दिनुभएको सल्लाह सुनेन, आफूले दिएको चेताउनीलाई पनि कसैकसैले पालन नगरेको सल्लाहकारहरूले याद गर्लान्‌। तथापि, मसीही सल्लाहकारहरूको सिद्ध नमुना, यहोवाको अनुकरण गरेको छ भने आफ्नो जिम्मेवारी पूरा गरेको छु भनी प्राचीनहरू निश्‍चित हुनसक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने