प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१५ pp. २२-२६
  • पछुतो नमानी सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पछुतो नमानी सेवा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलको विगत
  • के तपाईंलाई कुनै कुरामा पछुतो छ?
  • भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌
  • परमेश्‍वरको सेवा गरेकोमा कहिल्यै नपछुताउनुहोस्‌
  • पछुतो नमानी कसरी सेवा गर्ने?
  • पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्‍नति गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • शावलले मसीहीहरूलाई किन सताउँथे?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१५ pp. २२-२६

पछुतो नमानी सेवा गर्नुहोस्‌

‘पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर लम्कनुहोस्‌।’—फिलि. ३:१३.

मुख्य बुँदाहरू छुट्ट्याउनुहोस्‌:

  • विगतका गल्तीहरू सम्झेर पछुतो मान्दै नबस्न पावललाई केले मदत गऱ्‍यो?

  • मनोशान्ति पाउन बाइबलमा कस्तो सल्लाह दिइएको छ?

  • पछुतो नमानी परमेश्‍वरको सेवा गर्न हामीले के गर्नुपर्छ?

१-३. (क) आफूले गरेको वा नगरेको कामप्रति केहीले कस्तो महसुस गर्छन्‌? विगतमा गरेको गल्तीले हामीलाई कस्तो असर गर्न सक्छ? (ख) पछुतो नमानी परमेश्‍वरको सेवा गर्ने सन्दर्भमा पावलबाट के सिक्न सक्छौं?

जे. जी. ह्विटिएर नाम गरेका कविले यस्तो लेखे: “जिब्रोले बोल्ने वा कलमले लेख्ने सबैभन्दा दुःखदायी अभिव्यक्‍ति यही होला: ‘यस्तो गर्नुपर्ने रहेछ!’” कुनै कुरा गरिसकेपछि त्यसलाई अर्कै तरिकाले गर्नुपर्ने रहेछ भनेर पछुतो मान्‍ने कुरालाई यी कविले सङ्‌केत गर्दै थिए। “पछुतो” भनेको कुनै कुरा गरेकोमा वा नगरेकोमा मनैदेखि दुःख मान्‍नु वा पीडा महसुस गर्नु हो। यसको अर्थ “फेरि रुनु” पनि हो। हामी सबैले पछुतो मान्‍ने काम गरेका छौं। तपाईं के-कस्ता कुराको लागि पछुतो मान्‍नुहुन्छ?

२ कोही-कोहीले जीवनमा ठूलो गल्ती गर्छन्‌, कहिलेकाहीं त गम्भीर पापसमेत गर्छन्‌। कतिपयले चाहिं त्यस्तो खराबी त केही गर्दैनन्‌ तर सही छनौट गरिनँ कि भनेर दुखेसो पोख्छन्‌। अरू कोहीचाहिं विगतलाई बिर्सेर अघि बढ्‌छन्‌। अनि अरू कतिपय भने विगत सम्झेर “यस्तो नगरेको भए हुन्थ्यो!” भन्दै आफूलाई पिरोलिरहन्छन्‌। (भज. ५१:३) तपाईंचाहिं कस्तो महसुस गर्नुहुन्छ? के तपाईं अब उप्रान्त कुनै पछुतो नमानी परमेश्‍वरको सेवा गर्न चाहनुहुन्छ? के पछुतो नमानी परमेश्‍वरको सेवा गर्ने मानिसको उदाहरण बाइबलमा पाइन्छ? अवश्‍य पाइन्छ। प्रेषित पावलको उदाहरण विचार गरौं।

३ आफ्नो जीवनकालमा पावलले जघन्य गल्ती गर्नुका साथै बुद्धिमानी छनौट पनि गरे। आफ्नो गल्तीप्रति तिनले गहिरो पछुतो माने। तर परमेश्‍वरको सेवा सकेसम्म राम्ररी गर्न पनि सिके। पछुतो नमानी सेवा गर्ने सन्दर्भमा तिनको उदाहरणबाट के सिक्न सक्छौं, आउनुहोस्‌ हेरौं।

पावलको विगत

४. पावलले पछुतो मान्‍नुपर्ने कस्तो काम गरे?

४ जवान छँदा पावल फरिसी मत मान्थे र शावल नामले चिनिन्थे। त्यतिबेला गरेका कामहरूको लागि तिनले पछि पछुतो माने। जस्तै, तिनी ख्रीष्टका चेलाहरूलाई सताउनुसम्म सताउने अभियानमा लागे। बाइबल विवरणअनुसार स्तिफनसको हत्या गरेलगत्तै “शावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घर-घर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।” (प्रेषि. ८:३) शास्त्रविद्‌ अल्बर्ट बार्न्जअनुसार “निर्मम व्यवहार” भनी अनुवाद गरिएको ग्रीक शब्द “एउटा कडा अभिव्यक्‍ति हो र यसले [शावल] खेदो गर्न हिंस्रक रूपमा जोसिएर अघि बढे भनी बुझाउँछ।” बार्न्जले यसो पनि भने, “चर्चविरुद्ध शावल जङ्‌गली जनावरझैं जाइलागे।” कट्टर यहूदी भएकोले ख्रीष्टियन धर्मलाई जरैसमेत उखेल्नुलाई शावल आफ्नो कर्तव्य ठान्थे। त्यसैले तिनले ख्रीष्टियनहरूलाई क्रूर व्यवहार गरे अनि “पुरुष र स्त्रीहरू, ज-जसलाई भेटिन्छ,” सबैलाई ‘धम्क्याउने र मार्ने धुनमा लागे।’—प्रेषि. ९:१, २; २२:४.a

५. येशूका चेलाहरूलाई सताउने शावल पछि कसरी उहाँबारे प्रचार गर्ने मानिस बन्‍न सके, व्याख्या गर्नुहोस्‌।

५ पछि शावल येशूका चेलाहरूलाई उनीहरूको घरबाट निकाल्ने र उनीहरूलाई यरूशलेममा रहेको यहूदी न्यायपरिषद्‌सम्म घिस्याउँदै लैजाने धुनमा दमीशकतिर लागे। तर मण्डलीको शिर येशूले तिनलाई रोक्नुभयो। (एफि. ५:२३) दमीशक पुग्नै लाग्दा येशू तिनीसामु देखा पर्नुभयो। अनि आकाशबाट चम्किएको ज्योतिले तिनी अन्धो भए। त्यसपछि येशूले तिनलाई थप निर्देशनको लागि दमीशक जान अह्राउनुभयो। त्यसपछि के भयो, हामीलाई थाहै छ।—प्रेषि. ९:३-२२.

६, ७. विगतमा गरेका गम्भीर गल्तीबारे पावल सजग थिए भनेर केले देखाउँछ?

६ ख्रीष्टियन भएपछि पावलको दृष्टिकोणमा आमूल परिवर्तन आयो। ख्रीष्टियन धर्मको शत्रु हुनुको सट्टा तिनी यसको जोसिलो प्रचारक भए। पछि तिनले आफूबारे यस्तो लेखे: “पहिला यहूदी धर्म मान्दा म कस्तो व्यवहार गर्थें तिमीहरूले पक्कै पनि सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्डलीको गर्नुसम्म खेदो गर्थें अनि तहसनहस पार्थें।” (गला. १:१३) कोरिन्थ र फिलिप्पीका ख्रीष्टियनहरू अनि तिमोथीलाई पत्र लेख्दा पावलले आफ्नो विगत फेरि उल्लेख गरे। (१ कोरिन्थी १५:९ पढ्‌नुहोस्‌; फिलि. ३:६; १ तिमो. १:१३) पहिला गरेका कुराहरूप्रति पावल लज्जित थिए तर ती कुरा गर्दै नगरेको जसरी लुकाउन खोजेनन्‌। आफूले गम्भीर गल्तीहरू गरेको कुरा तिनले मानिलिए।—प्रेषि. २६:९-११.

७ पावलले ख्रीष्टियनहरूलाई कत्तिको “विभत्स तरिकाले सताए,” त्यसबारे बाइबलविद्‌ फ्रेडरिक डब्ल्यू. फारारले उल्लेख गरे। पावलले ख्रीष्टियनहरूलाई विभत्स तरिकाले सताएको हुँदा तिनले कतिविघ्न पछुतो माने होलान्‌ र तिनले शत्रुहरूबाट कत्तिको आलोचना खप्नुपऱ्‍यो होला भनी बुझ्न सक्छौं भनेर पनि फारारले बताए। पावलले विभिन्‍न मण्डलीको भ्रमण गर्दा तिनलाई पहिलो चोटि भेट्‌ने भाइबहिनीहरूले यसो भने होलान्‌: ‘ए! . . . हामीलाई सताउने पावल तपाईं नै हो!’—प्रेषि. ९:२१.

८. यहोवा र येशूले देखाएको असीम अनुग्रह र प्रेमप्रति पावलले कस्तो महसुस गरे? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

८ परमेश्‍वरको असीम अनुग्रहले मात्र उहाँको सेवा गर्न सकेको हो भनेर पावलले मानिलिए। आफूले लेखेका १४ वटा पुस्तकमा लगभग ९० चोटि तिनले परमेश्‍वरको असीम अनुग्रहबारे उल्लेख गरेका छन्‌। यसबारे अरू कुनै पनि बाइबल लेखकले यति धेरै चोटि उल्लेख गरेका छैनन्‌। (१ कोरिन्थी १५:१० पढ्‌नुहोस्‌) आफूप्रति कृपालु व्यवहार गरिएकोमा पावल असाध्यै कृतज्ञ थिए। अनि तिनले त्यो कृतज्ञता व्यक्‍त गर्न चाहे। त्यसैले तिनले अन्य प्रेषितहरूले भन्दा ‘बढ्‌ता परिश्रम’ गरे। हामीले आफ्नो पाप स्वीकाऱ्‍यौं र आफ्नो पापी मार्ग त्याग्यौं भने येशूको फिरौतीको बलिदानको आधारमा यहोवा हाम्रा गम्भीर पापहरूलाई समेत क्षमा दिन इच्छुक हुनुहुन्छ। यो कुरा पावलको उदाहरणले छर्लङ्‌ग पार्छ। त्यसैले तपाईंको पापलाई ख्रीष्टको बलिदानले समेत क्षमा दिन सक्दैन जस्तो लाग्छ भने पावलको उदाहरण सम्झनुहोस्‌। (१ तिमोथी १:१५, १६ पढ्‌नुहोस्‌) आफूले येशूलाई त्यतिविघ्न खेदो गरे तापनि पावलले यस्तो लेख्न सके: ‘परमेश्‍वरको छोराले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ (गला. २:२०; प्रेषि. ९:५) पावलले पछुतोको बोझले नदबिकन परमेश्‍वरको सेवा गर्न सिके। तपाईंले नि?

पावलले पछुतो नमानी सेवा गर्न सिके

के तपाईंलाई कुनै कुरामा पछुतो छ?

९, १०. (क) यहोवाका केही सेवकले किन पछुतो मानेका छन्‌? (ख) विगत सम्झेर चिन्ता गरिरहनु किन राम्रो होइन?

९ के तपाईंले त्यस्तो कुनै काम गर्नुभएको थियो, जसले गर्दा अहिले पछुतो मान्दै हुनुहुन्छ? के तपाईंले गलत कुरामा आफ्नो बहुमूल्य समय र शक्‍ति खर्च गर्नुभएको थियो? के तपाईंले अरूलाई हानि पुग्ने व्यवहार गर्नुभएको थियो? अथवा अन्य कुनै कारणले पछुतो मानिरहनुभएको छ कि? यस्तो अवस्थामा तपाईं के गर्न सक्नुहुन्छ?

१० धेरैले चिन्ता गर्छन्‌। तर चिन्ता गरिरहनु भनेको आफैलाई दुःख दिनु, पीडा दिनु, सताउनु हो। यसले चिन्ता झनै बढाउँछ। के चिन्ता गर्दैमा समस्या सुल्झिन्छ? पटक्कै सुल्झिंदैन! भएभरको शक्‍ति खर्च गरेर घुम्ने मेचमा घन्टौंसम्म घुमे पनि कतै पुगिन्छ र? त्यसकारण चिन्ता गर्नुको सट्टा समस्या सुल्झाउन जे-जसो गर्न सकिन्छ, गर्नुहोस्‌। तपाईंले जसको विरुद्धमा गल्ती गर्नुभएको थियो, ऊसित माफी माग्नुहोस्‌ र शान्ति कायम गर्ने कोसिस गर्नुहोस्‌। त्यस्तो गल्ती किन गर्नुभयो, विचार गर्नुहोस्‌। यसो गर्दा फेरि त्यो गल्ती दोहोरिने छैन। तैपनि तपाईंले आफ्नो गल्तीको केही न केही परिणाम त भोग्नै पर्ने हुन सक्छ। तर चिन्ता गरेर केही फाइदा छैन, परमेश्‍वरको सेवामा बाधा मात्र पुग्छ।

११. (क) हामी कसरी यहोवाको कृपा र असीम अनुग्रह पाउन सक्छौं? (ख) विगतमा गल्ती गरे तापनि मनोशान्ति पाउन बाइबलले हामीलाई कस्तो सल्लाह दिन्छ?

११ कतिपय मानिस आफूले एकदमै ठूलो गल्ती गरेकोले आफू परमेश्‍वरको नजरमा केही कामको छैन भन्‍ने सोचाइ राख्छन्‌। आफ्नो गल्ती एकदमै गम्भीर खालको भएकोले वा बारम्बार गल्ती गरेकोले तिनीहरूलाई परमेश्‍वरको कृपा पाउन सम्भवै छैन जस्तो लाग्छ। तर वास्तविकता के हो भने, तिनीहरूले विगतमा जेसुकै गरेका होऊन्‌, पश्‍चात्ताप गर्न, फर्कन र क्षमा माग्न सक्छन्‌। (प्रेषि. ३:१९) यहोवाको कृपा र असीम अनुग्रहबाट अरू थुप्रैले लाभ उठाएझैं तिनीहरूले पनि उठाउन सक्छन्‌। नम्र, इमानदार र साँचो पश्‍चात्ताप गर्ने सबैलाई यहोवाले खुला मनले क्षमा दिनुहुन्छ। अय्यूबलाई पनि परमेश्‍वरले क्षमा दिनुभयो। तिनले यसो भने: “म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” (अय्यू. ४२:६) मनोशान्ति पाउन बाइबलमा बताइएको यो सल्लाह हामी सबैले मान्‍नै पर्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितो. २८:१३; याकू. ५:१४-१६) त्यसैले परमेश्‍वरसामु आफ्नो दोष स्वीकार्नुपर्छ, क्षमाको लागि प्रार्थना गर्नुपर्छ र गल्ती सच्याउनुपर्छ। (२ कोरि. ७:१०, ११) यसो गऱ्‍यौं भने “प्रशस्त गरी क्षमा गर्नुहुने” परमेश्‍वरले हामीलाई कृपा देखाउनुहुनेछ।—यशै. ५५:७.

१२. (क) दोषी अन्तस्करण शान्त पार्ने सन्दर्भमा दाऊदको उदाहरणबाट के सिक्न सक्छौं? (ख) कुन अर्थमा यहोवाले पछुतो मान्‍नुभयो? यो थाह पाउँदा हामीलाई के फाइदा हुन्छ? (पेटी हेर्नुहोस्‌।)

१२ प्रार्थनामा शक्‍ति छ। प्रार्थना गरेमा परमेश्‍वरले हामीलाई मदत गर्न सक्नुहुन्छ। दाऊदले भजनको पुस्तकमा यहोवालाई प्रार्थनामार्फत आफ्नो गहिरो भावना पोखे। (भजन ३२:१-५ पढ्‌नुहोस्‌) दोषी अन्तस्करणलाई दबाउन खोज्दा आफू झन्‌झनै मक्किएको कुरा दाऊदले स्वीकारे। आफ्नो गल्ती नस्वीकारेकोले तिनी मानसिक र शारीरिक रूपमा बिरामी परे अनि तिनले आफ्नो आनन्द गुमाए। तर दाऊदले कसरी क्षमा र छुटकारा पाउन सके? परमेश्‍वरसामु आफ्नो दोष स्वीकारेर। यहोवाले दाऊदको प्रार्थना सुन्‍नुभयो। तिनलाई अघि बढ्‌न मदत दिनुका साथै सही काम गर्ने बल पनि दिनुभयो। त्यसैगरि, मनैदेखि प्रार्थना गर्नुभयो भने उहाँले तपाईंको बिन्ती सुन्‍नुहुनेछ भनेर ढुक्क हुन सक्नुहुन्छ। विगतमा गरेको गल्तीले तपाईंलाई पिरोलिरहन्छ भने उक्‍त गल्ती सुधार्न सक्दो गर्नुहोस्‌ अनि यहोवाले तपाईंलाई क्षमा दिनुभयो भनेर विश्‍वास गर्नुहोस्‌!—भज. ८६:५.

भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌

१३, १४. (क) अहिले हामीले केमा ध्यान केन्द्रित गर्नुपर्छ? (ख) आफ्नो वर्तमान अवस्था केलाउन हामीलाई कस्ता प्रश्‍नहरूले मदत गर्न सक्छ?

१३ हुन त विगतबाट हामी धेरै कुरा सिक्न सक्छौं तर भविष्यमा ध्यान केन्द्रित गरेर जीवन बिताउनुपर्छ। त्यसैले विगत सम्झेर चिन्ता गर्दै बस्नुको सट्टा वर्तमान र भविष्यमा ध्यान केन्द्रित गर्नुपर्छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मेरो छनौटले गर्दा वर्षौंपछि के म पछुताउनेछु? त्यस्तो छनौट गर्न नहुने रहेछ भन्‍नेछु? के मैले भविष्यमा पछुतो मान्‍नु नपर्नेगरि वफादार भएर परमेश्‍वरको सेवा गरिरहेको छु?’

१४ महा-सङ्‌कष्ट नजिकिंदै जाँदा यस्ता सोचाइले पिरोलिन चाहँदैनौं: ‘परमेश्‍वरको सेवामा मैले अझ बढी गर्न सक्थें कि? मौका हुँदा मैले अग्रगामी सेवा किन गरिनँ? सहायक सेवकको रूपमा काम गर्न म किन अग्रसर भइनँ? नयाँ व्यक्‍तित्व धारण गर्न के मैले अथक प्रयास गरें? के म नयाँ संसारमा यहोवाले चाहनुहुने खालको व्यक्‍ति हुँ?’ आफूले नगरेका कुराहरूको लागि चिन्ता गर्नुको सट्टा अहिले के गरिरहनुभएको छ, त्यसबारे सोच्नुहोस्‌ अनि यहोवाको सेवामा सक्दो गरिरहनुभएको छ कि छैन, पक्का गर्नुहोस्‌। अन्यथा पछि गएर पछुताउनुपर्ने हुन सक्छ।—२ तिमो. २:१५.

परमेश्‍वरको सेवा गरेकोमा कहिल्यै नपछुताउनुहोस्‌

१५, १६. (क) परमेश्‍वरको सेवालाई पहिलो स्थान दिन थुप्रैले कस्ता त्याग गरेका छन्‌? (ख) राज्य गतिविधिलाई पहिलो स्थान दिन त्यागहरू गरेकोमा हामीले किन पछुतो मान्‍नु पर्दैन?

१५ पूर्ण-समय सेवा गर्न के तपाईंले त्यागहरू गर्नुभयो? जीवन सरल बनाउन र राज्य गतिविधिमा अझ धेरै भाग लिन सायद तपाईंले राम्रो जागिर वा धेरै कमाइ हुने व्यापार छोड्‌नुभयो होला। अथवा बेथेल सेवा गर्न, अन्तरराष्ट्रिय निर्माणकार्यमा भाग लिन, क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न वा मिसनरी सेवा गर्न सायद तपाईंले अविवाहित रहने वा विवाह गरे पनि बच्चाबच्ची नजन्माउने छनौट गर्नुभयो। अहिले उमेर ढल्कँदै जाँदा के तपाईंलाई आफूले गरेको निर्णयमा पछुतो लाग्छ? बेकारमा त्यस्तो निर्णय गरेछु वा गलत समयमा त्यस्तो निर्णय गरेछु भन्ठान्‍नुहुन्छ? त्यस्तो पटक्कै नसोच्नुहोस्‌!

१६ तपाईं यहोवालाई गहिरो प्रेम गर्नुहुन्छ र अरूलाई उहाँको सेवा गर्न मदत दिन चाहनुहुन्छ। त्यसैले तपाईंले ती निर्णयहरू गर्नुभयो। त्यस्तो निर्णय नगरेको भए अहिले अझ राम्रो जीवन बिताउन सकिन्थ्यो भनेर नसोच्नुहोस्‌। आफूले सही निर्णय गरेकोमा ढुक्क हुनुहोस्‌। यहोवाको सेवा गर्ने सर्वोत्तम छनौट गर्नुभएकोमा तपाईं रमाउन सक्नुहुन्छ। उहाँको सेवा गर्न तपाईंले गर्नुभएका त्यागहरूलाई उहाँ बिर्सनुहुन्‍न। भविष्यमा तपाईंले साँच्चैको जीवन पाउँदा कल्पनै नगरेको आशिष्‌ उहाँले वर्षाउनुहुनेछ!—भज. १४५:१६; १ तिमो. ६:१९.

पछुतो नमानी कसरी सेवा गर्ने?

१७, १८. (क) पछुतो नमानी परमेश्‍वरको सेवा गर्न पावलले के गरे? (ख) पावलको उदाहरण तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ?

१७ पछुतो नमानी परमेश्‍वरको सेवा गर्न पावलले के गरे? तिनले यस्तो लेखे: “म पछाडिका कुराहरूलाई बिर्सेर अनि अगाडिका कुराहरूतिर लम्केर . . . लक्ष्यसम्म पुग्न त्यसको पछि लागिरहेको छु।” (फिलिप्पी ३:१३, १४ पढ्‌नुहोस्‌) यहूदी धर्म मान्दा गरेका गलत कार्यहरूबारे पावलले सोचिरहेनन्‌। बरु अनन्त जीवनको इनाम पाउन योग्य हुन आफ्नो सारा शक्‍ति खर्च गरे।

१८ पावलका शब्दहरूबाट हामी के सिक्न सक्छौं? आफूले बदल्न नसक्ने विगत सम्झेर चिन्ता गर्दै बस्नुको सट्टा भविष्यमा आशिष्‌ पाउन अहिले गर्न सक्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। विगतका गल्तीहरू पूरै बिर्सन त सक्दैनौं होला तर सधैं दोषी महसुस गरिरहनु पर्दैन। विगतका कुराहरूलाई बिर्सेर अहिले सकेसम्म राम्ररी परमेश्‍वरको सेवा गर्ने अनि सुन्दर भविष्यको बाटो हेर्ने प्रयास गर्न सक्छौं।

a शावलले सताएका मानिसहरूमा स्त्रीहरू पनि थिए भनी बाइबलमा थुप्रै चोटि उल्लेख गरिएको छ। प्रथम शताब्दीमा, ख्रीष्टियन धर्म फैलाउन स्त्रीहरूले ठूलो भूमिका खेलेका थिए भनेर यसले देखाउँछ। आज पनि स्त्रीहरूको भूमिका ठूलो छ।—भज. ६८:११.

कुन अर्थमा यहोवाले पछुतो मान्‍नुभयो?

यहोवाले ‘पछुतो’ मान्‍नुभएको थुप्रै विवरण बाइबलमा उल्लेख गरिएको छ। (आमो. ७:३, ६; १ शमू. १५:११) यहोवा कहिल्यै गल्ती गर्नुहुन्‍न। त्यसैले उहाँले आफ्नो गल्तीको लागि पछुतो मान्‍नुभएको होइन। (गन्ती २३:१९; व्यव. ३२:४) हिब्रू भाषामा, पछुतो मान्‍नु भन्‍ने अभिव्यक्‍तिले मन बदल्नु भन्‍ने अर्थ बुझाउँछ। उदाहरणको लागि, विगतमा मानिसहरूले गल्ती गर्दा परमेश्‍वरले तिनीहरूलाई सजाय दिने निर्णय गर्नुभयो। तर पश्‍चात्ताप गरेर खराबी मार्ग त्याग्दा उहाँले तिनीहरूलाई कृपा देखाउनुभयो र क्षमा दिनुभयो।—यर्मि. १८:७-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने