प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१५ pp. २७-३१
  • असल काम गर्न कहिल्यै नथाकौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल काम गर्न कहिल्यै नथाकौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रोत्साहन र उपासनाको लागि भेला हुनुहोस्‌
  • निष्कपट मानिसहरूलाई खोज्नुहोस्‌
  • प्रकाशनहरूबाट लाभ उठाउनुहोस्‌
  • सङ्‌गठनका प्रबन्धहरूलाई समर्थन गर्नुहोस्‌
  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌
  • ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवा आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के तपाईं यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१५ pp. २७-३१

असल काम गर्न कहिल्यै नथाकौं

“हरेस नखाई असल काम गरिरहौं।”—गला. ६:९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • बाइबल सत्यको लागि जोस देखाइरहन के-कस्ता प्रबन्धले मदत गर्छन्‌?

  • सभामा उपस्थित हुनुको मुख्य उद्देश्‍य विचार गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?

  • परमेश्‍वरको सेवामा जोसिलो भई लागिरहन चाहन्छौं भने हामीले के गर्न अथक प्रयास गर्नुपर्छ?

१, २. यहोवाको ब्रह्‍माण्डीय सङ्‌गठनबारे सोच्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?

हामी ब्रह्‍माण्डीय सङ्‌गठनको भाग हौं भनी सोच्नु साँच्चै आश्‍चर्यलाग्दो छ। इजकिएल अध्याय १ र दानियल अध्याय ७ मा उल्लेख गरिएको दर्शनमा यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न के गर्दै हुनुहुन्छ भनी व्याख्या गरिएको छ। येशूले यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागको नेतृत्व लिइरहनुभएको छ। उहाँले प्रचारकार्यलाई डोऱ्‍याइरहनुभएको छ, यस काममा भाग लिनेहरूलाई निर्देशन र प्रोत्साहन दिइरहनुभएको छ अनि थुप्रै मानिसलाई यहोवाको उपासक बन्‍न मदत गरिरहनुभएको छ। यसकारण हामी यहोवाको सङ्‌गठनमाथि भरोसा गर्न सक्छौं।—मत्ती २४:४५.

२ के तपाईं यहोवाको सङ्‌गठनको उदाहरण पछ्याउँदै हुनुहुन्छ? बाइबल सत्यप्रति तपाईंको जोस बढ्‌दै छ कि घट्‌दै छ? यी प्रश्‍नहरू विचार गर्दा तपाईंलाई आफ्नो जोस सेलाउन थालेको जस्तो लाग्न सक्छ। प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई पनि यस्तै भएको थियो। त्यसैले प्रेषित पावलले तिनीहरूलाई येशूको जोसिलो उदाहरण सम्झन सल्लाह दिए। यसले तिनीहरूलाई ‘थाकेर हरेस नखान’ मदत गर्ने थियो। (हिब्रू १२:३) यसअघिको लेखमा हामीले यहोवाको सङ्‌गठनले गरिरहेको कामहरूबारे छलफल गऱ्‍यौं। ख्रीष्टको उदाहरणले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई प्रोत्साहन दिएझैं यहोवाको सङ्‌गठनको उदाहरणले हामीलाई उहाँको सेवामा लागिरहन र जोसिलो भइरहन मदत गर्छ।

३. नथाक्न के गर्नुपर्छ? यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

३ नथाक्न परमेश्‍वरको सङ्‌गठनबारे सोचेर मात्र पुग्दैन। ‘असल काम गरिरहनुपर्छ’ भनी पावलले बताए। (गला. ६:९) यसको मतलब हामीले आफ्नोतर्फबाट कदम चाल्नुपर्छ। दृढ भइरहन र यहोवाको सङ्‌गठनसँगसँगै हिंडिरहन मदत गर्ने पाँचवटा क्षेत्र विचार गरौं। यसरी विचार गर्दा आफू वा आफ्नो परिवारले कुन क्षेत्रमा अझ ध्यान दिनुपर्छ भनेर निर्णय गर्न सक्नेछौं।

प्रोत्साहन र उपासनाको लागि भेला हुनुहोस्‌

४. एक ठाउँमा भेला हुनु साँचो उपासनाको अभिन्‍न भाग हो भनी हामी किन भन्‍न सक्छौं?

४ एक ठाउँमा भेला हुनु यहोवाका सेवकहरूको लागि सधैं महत्त्वपूर्ण हुँदै आएको छ। स्वर्गमा यहोवा स्वर्गदूतहरूसित भेट्‌नुहुन्छ। (१ राजा २२:१९; अय्यू. १:६; २:१; दानि. ७:१०) प्राचीन समयका इस्राएलीहरू ‘सुन्‍न र सिक्न’ एकसाथ भेला हुनुपर्थ्यो। (व्यव. ३१:१०-१२) प्रथम शताब्दीका यहूदीहरू धर्मशास्त्र पढ्‌न नियमित रूपमा सभाघरमा जान्थे। (लूका ४:१६; प्रेषि. १५:२१) ख्रीष्टियन मण्डली स्थापना भएपछि पनि सँगै भेला हुनुपर्ने महत्त्व कम भएन। आज पनि यो हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो। साँचो ख्रीष्टियनहरू ‘एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाउँछन्‌।’ हामीले ‘एकअर्कालाई प्रोत्साहन दिइरहनुपर्छ अनि यहोवाको दिन नजिक हुँदै गइरहेकोले झन्‌ बढी त्यसो गरिरहनुपर्छ।’—हिब्रू १०:२४, २५.

५. सभाहरूमा हामी कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौं?

५ एकअर्कालाई प्रोत्साहन दिने एउटा महत्त्वपूर्ण तरिका सभाहरूमा भाग लिनु हो। छापिएको प्रश्‍नको जवाफ दिएर, बाइबल पदबारे टिप्पणी गरेर, बाइबल सिद्धान्त पछ्याउँदा हुने फाइदाबारे छोटो अनुभव बताएर वा अरू तरिकामा जनसमक्ष आफ्नो विश्‍वास प्रकट गर्न सक्छौं। (भज. २२:२२; ४०:९) सभाहरूमा उपस्थित हुन थालेको जतिसुकै वर्ष भएको किन नहोस्‌, जवान तथा वृद्ध भाइबहिनीले मनैबाट दिएको टिप्पणी सुन्दा हामी प्रोत्साहित हुन्छौं।

यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागमा यी कुरा समावेश छन्‌:

  1. १. परिचालक निकाय

  2. २. शाखा समिति

  3. ३. परिभ्रमण निरीक्षक

  4. ४. एल्डरहरूको निकाय

  5. ५. मण्डली

  6. ६. प्रकाशक

६. सभाहरूले हामीलाई आध्यात्मिक रूपमा सक्रिय रहन कसरी मदत गर्छ?

६ नियमित रूपमा एक ठाउँमा भेला हुनुलाई परमेश्‍वर किन यत्ति धेरै महत्त्व दिनुहुन्छ? मानिसहरूले विरोध गरे तापनि वा सन्देश सुन्‍न नचाहे तापनि निडर भएर प्रचार गरिरहन हाम्रा सभा, सम्मेलन तथा अधिवेशनले मदत गर्छ। (प्रेषि. ४:२३, ३१) ती अवसरमा हुने बाइबलआधारित छलफलले हाम्रो विश्‍वास बलियो बनाउँछ। (प्रेषि. १५:३२; रोमी १:११, १२) उपासनाको लागि एक ठाउँमा भेला हुँदा पाइने शिक्षा र भाइबहिनीबाट मिल्ने प्रोत्साहनले हामीलाई साँचो आनन्द र “विपत्तिका दिनमा चैन” दिन्छ। (भज. ९४:१२, १३) परिचालक निकायको शिक्षण समितिले पृथ्वीभरिका यहोवाका सेवकहरूलाई शिक्षा दिने कामको सुपरिवेक्षण गर्छ। सभाहरूबाट हरेक हप्ता पाउने उत्तम शिक्षाको लागि हामी असाध्यै कृतज्ञ छौं!

७, ८. (क) सभाको मुख्य उद्देश्‍य के हो? (ख) सभाबाट तपाईं कस्तो मदत पाउनुहुन्छ?

७ सभाबाट लाभ उठाउन सक्ने भएकोले मात्र हामी सभा जाँदैनौं। एक ठाउँमा भेला हुनुको मुख्य उद्देश्‍य यहोवाको उपासना गर्नु हो। (भजन ९५:६ पढ्‌नुहोस्‌) परमेश्‍वरको प्रशंसा गर्न पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान! (कल. ३:१६) यसरी नियमित रूपमा एकसाथ भेला भएर अनि त्यसमा भाग लिएर हामी यहोवाको उपासना गर्छौं। उहाँ हाम्रो उपासनाको योग्य हुनुहुन्छ। (प्रका. ४:११) त्यसैले यस्तो सल्लाह दिइनुको कारण हामी बुझ्न सक्छौं: “कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं।”—हिब्रू १०:२५.

८ के हामी सभालाई यहोवाले यस दुष्ट युग नाश नगरेसम्म हामीलाई धीरजी भइरहन मदत गर्ने प्रबन्धको रूपमा हेर्छौं? हेर्छौं भने सभालाई “अझ महत्त्वपूर्ण कुराहरू”-मध्ये ठान्‍नेछौं र व्यस्त भए तापनि सबै सभामा उपस्थित हुन हर प्रयास गर्नेछौं। (फिलि. १:१०) गम्भीर अवस्थामा बाहेक अन्य अवस्थामा कहिल्यै सभा छुटाउनेछैनौं।

निष्कपट मानिसहरूलाई खोज्नुहोस्‌

९. प्रचारकार्य महत्त्वपूर्ण छ भनेर हामी कसरी थाह पाउँछौं?

९ प्रचारकार्यमा जोसिलो भई भाग लिएर पनि हामी यहोवाको सङ्‌गठनसँगसँगै हिंड्‌न सक्छौं। पृथ्वीमा छँदा येशूले प्रचारकार्य सुरु गर्नुभयो। (मत्ती २८:१९, २०) त्यसदेखि उसो राज्य-प्रचार र चेला बनाउने काम यहोवाको सङ्‌गठनको सबैभन्दा महत्त्वपूर्ण काम हुँदै आएको छ। स्वर्गदूतहरूले यस कामलाई सघाइरहेका छन्‌ र “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूतर्फ डोऱ्‍याइरहेका छन्‌। यो कुरा आधुनिक समयका थुप्रै अनुभवले प्रस्ट पार्छ। (प्रेषि. १३:४८; प्रका. १४:६, ७) यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागले सबैभन्दा महत्त्वपूर्ण यस कामलाई व्यवस्थित पार्नुका साथै समर्थन गरिरहेको छ। के तपाईंको लागि पनि प्रचारकार्य सबैभन्दा महत्त्वपूर्ण काम हो?

१०. (क) बाइबल सत्यप्रतिको प्रेमलाई हामी कसरी कायमै राख्न सक्छौं, उदाहरण दिनुहोस्‌। (ख) प्रचारकार्यले तपाईंलाई नथाक्न कसरी मदत गरेको छ?

१० प्रचारकार्यमा जोसिलो हुँदा बाइबल सत्यप्रतिको प्रेम कायमै राख्न सक्छौं। धेरै पहिलेदेखि एल्डर र नियमित अग्रगामीको रूपमा सेवा गरिरहेका मिशलको उदाहरण विचार गर्नुहोस्‌। तिनी भन्छन्‌: “मलाई बाइबल सत्यबारे मानिसहरूसित कुराकानी गर्न मन पर्छ। प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को नयाँ लेखबारे सोच्छु अनि ती लेखमा झल्किएको बुद्धि, अन्तरदृष्टि र व्यावहारिकता देख्दा अचम्म लाग्छ। मानिसहरूले कस्तो प्रतिक्रिया देखाउलान्‌ अनि तिनीहरूको चासो कसरी जगाउन सकिएला भनेर थाह पाउन प्रचारकार्यमा जान चाहन्छु। प्रचारकार्यले मलाई विश्‍वासमा ढलपल नहुन मदत गर्छ। अरू कामकुरा प्रचारकार्यको लागि छुट्ट्याइएको समयभन्दा अघि वा पछि गर्ने प्रयास गर्छु।” पवित्र सेवामा व्यस्त रहँदा हामी पनि यस अन्तको दिनमा अटल रहिरहन मदत पाउँछौं।—१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌।

प्रकाशनहरूबाट लाभ उठाउनुहोस्‌

११. हाम्रा प्रकाशनहरू पढ्‌नु र मनन गर्नु किन आवश्‍यक छ?

११ हामीलाई बल दिन यहोवाले प्रशस्त मात्रामा लिखित सामग्री प्रबन्ध गर्नुभएको छ। कुनै प्रकाशन पढ्‌दा तपाईंलाई यस्तो लागेको थियो होला, ‘ओहो! यो त मलाई चाहिएकै लेख हो! यहोवाले मेरै लागि तयार पार्नुभएको जस्तो छ!’ हो, यो संयोग मात्र होइन। यी प्रबन्धद्वारा यहोवा हामीलाई शिक्षा दिनुहुन्छ र डोऱ्‍याउनुहुन्छ। उहाँले यसो भन्‍नुभएको छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु।” (भज. ३२:८) के हामी सबै प्रकाशन पढ्‌न र मनन गर्न सक्दो प्रयास गर्छौं? यसो गऱ्‍यौं भने फल फलाइरहन र यस अन्तको दिनमा परमेश्‍वरको सेवामा जोसिलो भइरहन मदत पाउनेछौं।—भजन १:१-३; ३५:२८; ११९:९७ पढ्‌नुहोस्‌।

१२. कुन कुरा विचार गर्दा हाम्रा प्रकाशनहरूप्रतिको कृतज्ञता बढ्‌छ?

१२ यी प्रकाशनहरू हाम्रो हातसम्म कसरी आइपुग्छ भनेर विचार गर्दा त्यसप्रतिको हाम्रो कृतज्ञता अझ बढ्‌नेछ। प्रकाशनहरू छाप्नु अनि वेब साइटमा राख्नुअघि अनुसन्धान गर्नु, लेख्नु, शुद्ध-अशुद्ध हेर्नु, चित्रहरू राख्नु अनि अनुवाद गर्नु आवश्‍यक छ। यी सबै कामको सुपरिवेक्षण परिचालक निकायको लेखन समितिले गर्छ। छापाखाना भएका शाखा कार्यालयले विभिन्‍न मण्डलीमा प्रकाशनहरू ढुवानी गर्छ। यी सबै कामको उद्देश्‍य भनेको परमेश्‍वरका जनहरूलाई प्रशस्त आध्यात्मिक भोजनको प्रबन्ध गर्नु हो। (यशै. ६५:१३) यहोवाको सङ्‌गठनले प्रबन्ध गरेको सम्पूर्ण प्रकाशनबाट प्रशस्त लाभ उठाऔं।—भज. ११९:२७.

सङ्‌गठनका प्रबन्धहरूलाई समर्थन गर्नुहोस्‌

१३, १४. स्वर्गमा कसले यहोवाको सङ्‌गठनलाई समर्थन गरिरहेका छन्‌? हामी पनि कसरी यहोवाको सङ्‌गठनलाई समर्थन गर्न सक्छौं?

१३ यहोवाका विरोधीहरूमाथि विजय हासिल गर्न येशू सेतो घोडामा सवार भएर आइरहनुभएको यूहन्‍नाले दर्शनमा देखे। (प्रका. १९:११-१५) वफादार स्वर्गदूतहरू अनि स्वर्गीय इनाम पाइसकेका अभिषिक्‍त जनहरू येशूसँगै भएको पनि यूहन्‍नाले देखे। तिनीहरू येशूलाई आफ्नो नेताको रूपमा समर्थन गर्छन्‌ भनेर यसले देखाउँछ। (प्रका. २:२६, २७) यहोवाको सङ्‌गठनमा अगुवाइ लिइरहेकाहरूलाई समर्थन गर्नुपर्छ भनेर तिनीहरूको उदाहरणबाट सिक्न सक्छौं।

१४ त्यसैगरि ठूलो भीडले पनि पृथ्वीमा बाँकी रहेका र यहोवाको सङ्‌गठनमा अगुवाइ लिइरहेका ख्रीष्टका अभिषिक्‍त भाइहरूको कामलाई पूर्ण समर्थन गर्छ। (जकरिया ८:२३ पढ्‌नुहोस्‌) यहोवाको सङ्‌गठनलाई समर्थन गरेको कुरा तपाईं कसरी देखाउन सक्नुहुन्छ? एउटा तरिका हो, अगुवाइ लिइरहेकाहरूको अधीनमा बसेर। (हिब्रू १३:७, १७) यस्तो अधीनता देखाउने काम मण्डलीबाटै सुरु हुन्छ। के एल्डरहरूबारे हामीले गर्ने कुराकानीले तिनीहरू र तिनीहरूले गर्ने कामप्रति आदर देखाउन अरूलाई प्रोत्साहित गर्छ? के हामी छोराछोरीलाई यी वफादार पुरुषहरूको आदर गर्न र तिनीहरूको सल्लाह खोज्न प्रोत्साहन दिन्छौं? के हामी परिवारसित बसेर विश्‍वव्यापी कार्यको लागि के-कसरी अनुदान दिन सकिन्छ भनेर छलफल गर्छौं? (हितो. ३:९; १ कोरि. १६:२; २ कोरि. ८:१२) के हामी राज्यभवनको सरसफाइ र मर्मत-सम्भार गर्ने काममा भाग लिन्छौं? यसरी यहोवाको सङ्‌गठनलाई समर्थन गर्दा उहाँले हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ। अनि पवित्र शक्‍तिले हामीलाई यस अन्तको दिनमा थकित नहुन बल दिन्छ।—यशै. ४०:२९-३१.

परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌

१५. सही काम गर्न हामीले किन सङ्‌घर्ष गरिरहनुपर्छ?

१५ धीरजी भइरहन र यहोवाको सङ्‌गठनसँगसँगै हिंड्‌न यहोवालाई मन पर्ने तरिकामा जीवन बिताउनुपर्छ। (एफि. ५:१०, ११) हाम्रो त्रुटिपूर्ण शरीर अनि सैतान तथा त्यसको दुष्ट युगले गर्दा हामीलाई सही काम गर्न गाह्रो हुन सक्छ। प्यारा भाइबहिनीहरू हो, तपाईंहरूमध्ये केहीले यहोवासितको सम्बन्ध बलियो बनाउन हरेक दिन सङ्‌घर्ष गरिरहनुभएको छ। हरेस नखानुहोस्‌! यहोवा तपाईंलाई असाध्यै प्रिय ठान्‍नुहुन्छ। यहोवाको उद्देश्‍यअनुरूप जीवन बिताउँदा हामीले ठूलो सन्तुष्टि पाउनेछौं र हाम्रो उपासना व्यर्थ जानेछैन भनेर ढुक्क हुन सक्छौं।—१ कोरि. ९:२४-२७.

१६, १७. (क) गम्भीर पाप गऱ्‍यौं भने के गर्नुपर्छ? (ख) अनिसाको उदाहरणबाट के सिक्न सक्छौं?

१६ तर गम्भीर पाप गऱ्‍यौं भने के गर्नुपर्छ? जतिसक्दो चाँडो मदत खोज्नुहोस्‌। पाप लुकाउँदा अवस्था झनै बिग्रन्छ। पाप लुकाउन खोज्दा दाऊदलाई कस्तो महसुस भयो, सम्झनुहोस्‌। तिनले भने: “मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कलाशब्दले गर्दा मक्किए।” (भज. ३२:३) हो, पाप लुकाउँदा हाम्रो आनन्द गुम्छ र यहोवासितको सम्बन्ध कमजोर हुन्छ। तर पाप ‘स्वीकारेर ती छोडेमा कृपादृष्टि पाउँछौं।’—हितो. २८:१३.

१७ अनिसालाई विचार गर्नुहोस्‌।a सत्र-अठार वर्षको उमेरमा तिनी नियमित अग्रगामी सेवा गर्दै थिइन्‌। तर तिनले दोहोरो जीवन बिताउन थालिन्‌। यसले गर्दा तिनले दोषी महसुस गर्न थालिन्‌। तिनी भन्छिन्‌: “म सधैं दुःखी र निराश हुन्थें।” अवस्था सुधार्न तिनले के गरिन्‌? सभामा याकूब ५:१४, १५ छलफल गरिंदा अनिसाले आफूलाई मदत चाहिएको महसुस गरिन्‌ र एल्डरहरूसित मदत मागिन्‌। विगत सम्झँदै तिनी भन्छिन्‌: “ती शास्त्रपदहरू आध्यात्मिक रूपमा निको हुन यहोवाले लेख्नुभएको पुर्जीजस्तै भयो। औषधी निल्न सजिलो त थिएन तर यसले गर्दा म निको भएँ।” केही वर्ष बितिसक्यो र अहिले अनिसा सफा अन्तस्करणसहित जोसका साथ यहोवाको सेवा गर्दै छिन्‌।

१८. हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१८ यस अन्तको दिनमा यहोवाको सङ्‌गठनको भाग हुन पाउनु हाम्रो लागि ठूलो सम्मान हो। हामीले पाएको यस मौकालाई हल्कासित नलिन कटिबद्ध होऔं। बरु मण्डलीका सभाहरूमा परिवारसँगै नियमित रूपमा उपस्थित होऔं, निष्कपट मानिसहरूलाई लगनशील भई खोजौं अनि हाम्रा प्रकाशनहरूबाट लाभ उठाऔं। साथै अगुवाइ लिइरहेकाहरूलाई समर्थन गरौं र यहोवालाई मन पर्ने तरिकामा जीवन बिताऔं। यसो गऱ्‍यौं भने यहोवाको सङ्‌गठनसँगसँगै हिंडिरहेका हुनेछौं र असल काम गर्न कहिल्यै थाक्नेछैनौं।

a नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने