प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१ pp. ६-७
  • दुःखकष्ट अन्त हुने समय नजिकै!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखकष्ट अन्त हुने समय नजिकै!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले अरू के-के गर्नुहुनेछ?
  • सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!
    सबै दु:खकष्ट चाँडै अन्त हुनेछ!
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • समस्या संसारभरिकै, समाधान संसारभरि नै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको राज्यले के गर्नेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१ pp. ६-७

दुःखकष्ट अन्त हुने समय नजिकै!

अपराध, युद्ध, रोगबिमार र प्राकृतिक प्रकोपको नामोनिसान नभएको संसारमा जीवन बिताएको कल्पना गर्नुहोस्‌! आर्थिक अस्थिरता, भेदभाव, अन्याय-अत्याचारजस्ता विषयमा कुनै चिन्ता नलिई हरेक दिन ब्यूँझन पाउनु कस्तो होला, सोच्नुहोस्‌ त। तपाईंलाई लाग्ला, ‘यस्तो पनि कहीं होला र?’ कुनै पनि मानिस वा मानव सङ्‌गठनले संसारलाई दुःखकष्ट मुक्‍त बनाउन सक्दैन। तर अघिल्लो लेखमा उल्लिखितलगायत दुःखकष्टका सबै कारणलाई भगवान्‌ले अन्त गर्ने प्रतिज्ञा गर्नुभएको छ। भगवान्‌को वचन बाइबलमा पाइने निम्न प्रतिज्ञाहरूमा ध्यान दिनुहोस्‌:

असल शासन

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानियल २:४४.

परमेश्‍वरको राज्य एउटा स्वर्गीय सरकार हो। परमेश्‍वरले येशू ख्रीष्टलाई यस राज्यको शासक नियुक्‍त गर्नुभएको छ। यस राज्यले सम्पूर्ण मानव शासनलाई हटाउनेछ अनि स्वर्गमा मात्र होइन, पृथ्वीमा पनि परमेश्‍वरको इच्छा पूरा गर्नेछ। (मत्ती ६:९, १०) यस सरकारको ठाउँ अरू कुनै मानव सरकारले लिनेछैन किनभने यो राज्य “हाम्रा प्रभु अनि उद्धारक येशू ख्रीष्टको चिरस्थायी राज्य” हो। पृथ्वीमा सधैंभरि शान्ति छाउनेछ।—२ पत्रुस १:११.

झूटो धर्मको अस्तित्व रहनेछैन

“सैतानले पनि आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ। तसर्थ, त्यसका सेवकहरूले पनि आफूलाई परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने सेवकहरूको भेषमा परिवर्तन गर्नु कुनै ठूलो कुरा होइन। तर तिनीहरूले आफ्नो कामअनुसारको फल पाउनेछन्‌।”—२ कोरिन्थी ११:१४, १५.

झूटो धर्मको स्रोत सैतान हो भनेर प्रकट हुनेछ र झूटो धर्मको नामोनिसान मेटाइनेछ। धार्मिक असहिष्णुता हुनेछैन र धर्मको नाममा कुनै रक्‍तपात हुनेछैन। परिणामस्वरूप, “जीवित र साँचो परमेश्‍वर”-लाई प्रेम गर्नेहरू सबैले “एउटै विश्‍वास”-का साथ ‘पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्न’ सक्नेछन्‌। चारैतिर साँचो शान्ति र एकता छाउनेछ!—१ थिस्सलोनिकी १:९; एफिसी ४:५; यूहन्‍ना ४:२३.

मानिसहरू त्रुटिरहित अवस्थामा पुग्नेछन्‌

“परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

यहोवा परमेश्‍वरले यो प्रतिज्ञा आफ्नो छोरा येशूमार्फत पूरा गर्नुहुनेछ, जसले सम्पूर्ण मानिसजातिको लागि आफ्नो जीवन दिनुभयो। (यूहन्‍ना ३:१६) येशूको शासनमा मानिसहरू त्रुटिरहित अवस्थामा पुग्नेछन्‌। त्यतिबेला कुनै दुःखकष्ट हुनेछैन किनभने “परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ” र “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” मानिसहरू त्रुटिरहित हुनेछन्‌ र दुःखकष्ट हुनेछैन। “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

दुष्ट स्वर्गदूतहरू नामेट पारिनेछन्‌

“तिनले [येशूले] त्यस अजिङ्‌गर अर्थात्‌ पुरानो सर्प, जो दियाबल र सैतान हो, त्यसलाई पक्रे अनि एक हजार वर्षसम्मका लागि बाँधे, . . . राष्ट्रहरूलाई नबहकाओस्‌ भनेर त्यसलाई अगाध खाडलमा हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए।”—प्रकाश २०:२, ३.

सैतान र दुष्ट स्वर्गदूतहरूलाई पक्रेर “अगाध खाडलमा” हुर्ऱ्याइनेछ र निष्क्रिय पारिनेछ। त्यसपछि तिनीहरूले मानिसहरूलाई आफ्नो वशमा पार्न सक्नेछैनन्‌। सैतान र दुष्ट स्वर्गदूतहरूको प्रभावबाट मुक्‍त संसारमा जीवन बिताउन पाउँदा कत्ति हाइसन्चो हुनेछ!

“अन्तको दिन” समाप्त हुनेछ

“महासङ्‌कष्ट”-मा “अन्तको दिन” समाप्त हुनेछ। येशूले यसो भन्‍नुभयो: “त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ, जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:२१.

महासङ्‌कष्टको दौडान पहिला कहिल्यै नभएका विपत्तिहरू हुनेछन्‌। यस महासङ्‌कष्टको अन्तिम चरण भनेको “आरमागेडोन” हो अर्थात्‌ “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ।”—प्रकाश १६:१४, १६, फुटनोट।

सही कुरालाई प्रेम गर्ने मानिसहरू यस दुष्ट युगको अन्त हुने दिनको प्रतीक्षामा छन्‌। परमेश्‍वरको राज्यमा तिनीहरूले पाउने केही आशिष्‌बारे विचार गरौं।

परमेश्‍वरले अरू के-के गर्नुहुनेछ?

“ठूलो भीड” शान्तिमय नयाँ संसारमा प्रवेश गर्नेछ: बाइबलले बताएअनुसार गन्‍न नसकिने एउटा “ठूलो भीड”-ले ‘महासङ्‌कष्ट पार गर्नेछ’ र न्यायले बास गर्ने नयाँ संसारमा जीवन बिताउनेछ। (प्रकाश ७:९, १०, १४; २ पत्रुस ३:१३) तिनीहरूले आफ्नो उद्धारको श्रेय ‘संसारको पाप हटाउने परमेश्‍वरको थुमालाई’ अर्थात्‌ येशू ख्रीष्टलाई दिनेछन्‌।—यूहन्‍ना १:२९.

ईश्‍वरीय शिक्षाबाट ठूलो लाभ हुनेछ: नयाँ संसार “परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) यस्तो ज्ञानमा सबैसित कसरी शान्तिमा रहने र वातावरण कसरी जोगाउने भन्‍ने निर्देशन समावेश हुनेछ। परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”—यशैया ४८:१७.

मरिसकेका प्रियजनहरू ब्यूँताइनेछन्‌: पृथ्वीमा छँदा येशूले आफ्नो साथी लाजरसलाई जीवित पार्नुभयो। (यूहन्‍ना ११:१, ५, ३८-४४) यस घटनाद्वारा उहाँले परमेश्‍वरको राज्यमा अझ कत्तिको व्यापक तवरमा मानिसहरूलाई पुनर्जीवित पार्नुहुनेछ भनेर देखाउनुभयो।—यूहन्‍ना ५:२८, २९.

शान्ति र न्याय सदासर्वदा रहिरहनेछ: ख्रीष्टको शासनमा दुष्टता रहनेछैन। हामी यो कसरी भन्‍न सक्छौं? येशू मानिसको मन पढ्‌न सक्नुहुन्छ। त्यसकारण उहाँ असल र खराब मानिस छुट्ट्याउन सक्नुहुन्छ। आफ्नो दुष्ट मार्ग बदल्न नचाहने मानिसहरू परमेश्‍वरको नयाँ संसारमा बस्न पाउनेछैनन्‌।—भजन ३७:९, १०; यशैया ११:३, ४; ६५:२०; मत्ती ९:४.

उज्ज्वल भविष्यबारे बाइबलमा गरिएका भविष्यवाणीहरूमध्ये केही हामीले छलफल गऱ्‍यौं। परमेश्‍वरको राज्यले शासन गर्दा पृथ्वीमा सधैंभरि “प्रशस्त शान्ति” रहिरहनेछ। (भजन ३७:११, २९) कुनै पनि कारणले गर्दा मानिसजातिले दुःखकष्ट भोग्नुपर्नेछैन। यसमा हामी विश्‍वस्त हुन सक्छौं किनभने परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “हेर, म सबै थोक नयाँ बनाउँदैछु। . . . यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।”—प्रकाश २१:५. (w13-E 09/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने