प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १२/१५ pp. ६-१०
  • “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समय सुहाउँदो चेतावनी
  • सङ्‌गत छान्दा होसियार हुनुहोस्‌
  • “हामीबाट सिकेका कुराहरूलाई पक्रिराख”
  • सुद्धीबुद्धि नगुमाउन के गर्न सक्छौं?
  • थिस्सलोनिकीहरू र तिमोथीलाई लेखेको पत्रका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • “भलाइ गर्नलाई नथाक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “एकअर्काको उत्थान गरिरहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १२/१५ pp. ६-१०

“झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”

“हे भाइहरू हो, . . . हामी तिमीहरूलाई के अनुरोध गर्न चाहन्छौं भने, . . . झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल।”—२ थिस्स. २:१, २.

विचार गर्नुपर्ने बुँदाहरू

  • पावलले थिस्सलोनिकाको मण्डलीलाई पठाएका पत्रहरूमा कस्तो समय सुहाउँदो चेतावनी पनि थियो?

  • बहकिनदेखि जोगिन हामीलाई केले मदत गर्न सक्छ?

  • प्रचारको काममा नियमित रूपमा भाग लियौं भने कसरी सुरक्षा पाउँछौं?

१, २. अहिले छलकपट छ्यासछ्यासती हुनुको कारण के हो? मानिसहरू कसरी बहकिरहेका छन्‌? (शीर्षकसँगैको तस्बिर हेर्नुहोस्‌)

अहिलेको संसार जता हेरे पनि छलकपट अनि ठगीले भरिभराउ छ। तर हामी यसमा अचम्म मान्दैनौं। किनभने बाइबलमा सैतान मानिसहरूलाई बहकाउन एकदमै खप्पिस छ भनेर लेखिएको छ। अनि त्यही दुष्ट सैतानले अहिले यो संसारमा शासन गरिरहेको छ। (१ तिमो. २:१४; १ यूह. ५:१९) तर यो दुष्ट संसारको अन्त नजिकै भएकोले सैतानको “समय थोरै मात्र बाँकी” छ। ऊ पहिलाभन्दा झनै रिसाएको छ। (प्रका. १२:१२) त्यसैले सैतानको बहकाउमा पर्ने मानिसहरू ‘दिन दुई गुणा रात चौगुना हुनु’ कुनै छक्कलाग्दो कुरा होइन। झन्‌ यहोवाको सेवा गर्नेहरूलाई त उसले के बाँकी राख्ला र?

२ कहिलेकाहीं हामी सञ्चार माध्यमहरूले यहोवाका साक्षीहरूको विषयमा नानाथरी कुरा गरेको सुन्छौं। तिनीहरूले यहोवाका साक्षीहरूबारे कहिले अर्ध-सत्य त कहिले पूरै झूटो कुरा फैलाइदिन्छन्‌। पत्रपत्रिकामा, टेलिभिजन कार्यक्रमहरूमा अनि इन्टरनेटद्वारा साक्षीहरूबारे भए नभएको कुरा फैलाइएको छ। यस्ता कुराहरूलाई कोही-कोहीले आँखा चिम्लेर पत्याएका छन्‌ र तिनीहरू साक्षीहरूदेखि मुरमुरिएका छन्‌।

३. हामी शत्रुहरूको दाउपेचविरुद्ध कसरी लड्‌न सक्छौं?

३ शत्रुहरूको दाउपेचविरुद्ध लड्‌न हामीसित एउटा बलियो हतियार छ—त्यो हो परमेश्‍वरको वचन बाइबल। उहाँको वचन जुनसुकै कुरा “सच्याउन . . . उपयोगी छ।” (२ तिमो. ३:१६) प्रेषित पावलले लेखेको पत्र पढ्‌दा थिस्सलोनिकाका कोही-कोही ख्रीष्टियनहरू झूटा कुराहरूबाट बहकिएका थिए भन्‍ने छनक पाउँछौं। तिनले उनीहरूलाई यस्तो लेखे: “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल।” (२ थिस्स. २:१, २) पावलले दिएको यो मायालु अर्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौं? अनि हामी पनि तिनका अर्तीहरू कसरी लागू गर्न सक्छौ?

समय सुहाउँदो चेतावनी

४. थिस्सलोनिकाका ख्रीष्टियनहरूलाई “यहोवाको दिन”-बारे कसरी सजग गराइयो? अहिले हामी कसरी सजग रहन सक्छौं?

४ थिस्सलोनिकाको मण्डलीलाई पहिलो पत्र लेख्दा पावलले “यहोवाको दिन” आउँदै छ भनेर सजग गराए। पावल आफ्ना सँगी भाइबहिनीहरू अलमलमा परेको अनि तयार नरहेको चाहँदैनथे। बरु तिनले उनीहरूलाई “उज्यालोका सन्तान”-जस्तै भएर “जागा बसौं अनि सचेत रहौं” भनेर आग्रह गरे। (१ थिस्सलोनिकी ५:१-६ पढ्‌नुहोस्‌) आज हामी पनि महान्‌ बेबिलोन अर्थात्‌ सबै झूटो धर्मको विश्‍व साम्राज्य विनाश हुने दिनको प्रतीक्षामा छौं। यो विनाशसँगसँगै यहोवाको महान्‌ दिन पनि सुरु हुनेछ। यहोवाले आफ्नो उद्देश्‍य कसरी पूरा गर्नुहुन्छ भनेर हामीले पहिलाभन्दा अहिले अझ राम्रोसँग बुझ्न सकेका छौं। साथै यहोवाको दिनको लागि तयार रहन हामीले मण्डलीद्वारा पनि समय सुहाउँदो सम्झौटाहरू पाइरहेका छौं। यी सम्झौटाहरूलाई बारम्बार मनन गऱ्‍यौं भने हामी पनि “आफ्नो सोचविचार गर्ने क्षमता चलाएर” यहोवालाई “पवित्र सेवा” चढाउन सक्छौं।—रोमी १२:१.

पावलले लेखेको पत्रमा सँगी ख्रीष्टियनहरूका लागि समय सुहाउँदो चेतावनी थियो (अनुच्छेद ४, ५ हेर्नुहोस्‌)

५, ६. (क) थिस्सलोनिकाको मण्डलीलाई लेखेको दोस्रो पत्रमा पावलले के भने? (ख) येशूले चाँडै नै के गर्नुहुनेछ? हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

५ थिस्सलोनिकाको मण्डलीलाई पहिलो पत्र पठाएको केही समयपछि नै पावलले दोस्रो पत्र पनि पठाए। ‘परमेश्‍वरलाई नचिन्‍ने र सुसमाचार नमान्‍नेहरूलाई’ येशूले न्याय गर्ने दिन अर्थात्‌ महासङ्‌कष्ट आउँदै छ भनेर पावलले त्यस पत्रमा लेखे। (२ थिस्स. १:६-८) यहोवाको दिन एकदमै नजिक छ भन्‍ने सोचेर मण्डलीका कोही-कोही एकदमै “विचलित” भएको अनि डराएको कुरा पनि पावलले पत्रमा उल्लेख गरे। (२ थिस्सलोनिकी २:१, २ पढ्‌नुहोस्‌) यहोवाको उद्देश्‍य कसरी पूरा हुनेछ भनेर त्यतिबेलाका ख्रीष्टियनहरूले राम्ररी बुझेका थिएनन्‌। पावलले पनि त्यो कुरा मानिलिएका थिए। किनभने भविष्यवाणी गर्ने सन्दर्भमा तिनले यसो भनेका थिए: “हामीसित अधुरो ज्ञान छ र हामी अधुरै भविष्यवाणी गर्छौं; तर जब हामीसित पूर्ण ज्ञान हुन्छ, तब अधुरो ज्ञान बिलाएर जानेछ।” (१ कोरि. १३:९, १०) तर पावल, पत्रुस अनि अरू विश्‍वासी अभिषिक्‍त भाइहरूले परमेश्‍वरको प्रेरणा पाएर जति कुरा लेखेका थिए, त्यतिले नै प्रथम शताब्दीका चेलाहरूलाई विश्‍वासी रहिरहन मदत गऱ्‍यो।

६ यहोवाको दिन आउनुअघि ठूलो धर्मत्याग हुनेछ र “कुकर्मी पुरुष” देखा पर्नेछन्‌ भनेर पनि पावलले बताए।a यसरी परमेश्‍वरले त्यतिबेलाका ख्रीष्टियनहरूको विचार सच्याउन पावललाई चलाउनुभयो। त्यस्तो धर्मत्यागपछि यहोवाले तोक्नुभएको दिनमा नै प्रभु येशूले बहकिनेजति सबैलाई “नामेट पार्नुहुनेछ।” तिनीहरूलाई किन त्यस्तो सजाय दिइनेछ, त्यसको कारण पनि पावलले खुलाए। तिनले यसो भने: “तिनीहरूले सत्यलाई स्वीकारेनन्‌ र त्यसलाई प्रेम गरेनन्‌।” (२ थिस्स. २:३, ८-१०) त्यसैले हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘म सत्यलाई कत्तिको प्रेम गर्छु? विश्‍वभरिका भाइबहिनीको लागि तयार पारिएको यो पत्रिका अनि अरू बाइबल प्रकाशनहरूमा प्रकाशित नयाँ-नयाँ समझ के मैले राम्ररी बुझेको छु?’

सङ्‌गत छान्दा होसियार हुनुहोस्‌

७, ८. (क) प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई के-कस्ता कुराको खतरा थियो? (ख) आज साँचो ख्रीष्टियनको लागि विशेषगरि कुन कुरा खतरनाक हुन सक्छ?

७ ख्रीष्टियनहरूलाई धर्मत्यागीहरूको शिक्षाबाट मात्र होइन, अरू कुराबाट पनि खतरा हुन सक्थ्यो। पावलले तिमोथीलाई यस्तो लेखे: “पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो।” तिनले यसो पनि भने: “यही प्रेमको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्‍याएका छन्‌।” (१ तिमो. ६:१०) “शरीरका कामहरू” पनि उत्तिकै खतरनाक हुन सक्थ्यो।—गला. ५:१९-२१.

८ “झूटा प्रेषित”-हरू देखि होसियार रहनु भनेर पावलले थिस्सलोनिकाका भाइबहिनीहरूलाई चेतावनी दिए। त्यस्ता प्रेषितहरूमध्ये कोही-कोहीले “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने” थिए। (२ कोरि. ११:४, १३; प्रेषि. २०:३०) एफिससको मण्डलीले ‘खराब मानिसहरूलाई नसहेको’ कारण येशूले तिनीहरूको प्रशंसा गर्नुभयो। एफिससका ख्रीष्टियनहरूले झूटा प्रेषितहरू वास्तवमै ठगाहाहरू हुन्‌ भनेर “जाँचेर” प्रमाणित गरे। (प्रका. २:२) रोचक कुरा, पावलले थिस्सलोनिकीहरूलाई लेखेको दोस्रो पत्रमा यस्तो अर्ती दिएका थिए: “अब हे भाइहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई के आदेश दिंदैछौं भने जो भाइ बेकाइदासित चल्छ . . . ऊदेखि अलग होओ।” त्यसपछि तिनले “काम गर्न नचाहने” मानिसहरूबारे कुरा गरे। (२ थिस्स. ३:६, १०) यदि अल्छी अनि काम नगर्ने मानिसहरूबाट त अलग रहनुपर्छ भने धर्मत्यागतिरै अघि बढिरहेका मानिसहरूदेखि झन्‌ कति होसियार रहनुपर्ला! त्यस्ता मानिसहरूसित सङ्‌गत गर्नु एकदमै खतरनाक हुन्थ्यो अनि तिनीहरूबाट साँचो ख्रीष्टियनहरू अलग रहनुपर्थ्यो। आज पनि यही कुरा लागू हुन्छ।—हितो. १३:२०.

९. कुनै व्यक्‍तिले बाइबलमा लेखिएको भन्दा फरक कुरा गरिरहेको छ वा अरूको कुरा काटिरहेको छ भने हामी किन होसियार हुनुपर्छ?

९ हामी महासङ्‌कष्टको नजिकै छौं र यस दुष्ट संसारको अन्त पनि नजिकै छ। त्यसैले यहोवाले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई दिनुभएको सल्लाह अहिले हाम्रो लागि पनि अर्थपूर्ण छ। हामी “परमेश्‍वरको असीम अनुग्रह स्वीकारेपछि यसको उद्देश्‍यलाई” बिर्सन चाहँदैनौं। बिर्स्यौं भने हामीले अनन्त जीवन गुमाउनेछौं। (२ कोरि. ६:१) हाम्रा सभाहरूमा उपस्थित भइरहेको कुनै व्यक्‍तिले बाइबलमा लेखिएको भन्दा फरक कुरा गरिरहेको छ वा यहोवाको सेवा गरिरहेका भाइबहिनीको कुरा काटिरहेको छ भने त्यस व्यक्‍तिदेखि हामी होसियार हुनै पर्छ।—२ थिस्स. ३:१३-१५.

“हामीबाट सिकेका कुराहरूलाई पक्रिराख”

१०. थिस्सलोनिकाको मण्डलीलाई “सिकेका कुराहरूलाई पक्रिराख” भन्दा पावलले केलाई सङ्‌केत गरिरहेका थिए?

१० पावलले थिस्सलोनिकी मण्डलीका भाइहरूलाई “दृढ होओ” र आफूले सिकेका कुराहरूलाई पक्रिराख भनेर सल्लाह दिए। (२ थिस्सलोनिकी २:१५ पढ्‌नुहोस्‌) “सिकेका कुराहरू” भनेर पावलले केलाई सङ्‌केत गरिरहेका थिए? येशूले सिकाएका कुराहरू र पावल अनि अरू प्रेषितहरूमार्फत यहोवाले लेख्न लगाउनुभएका कुराहरूबारे तिनी बताउँदै थिए। तिनले झूटा धर्मले सिकाएको कुराबारे बताइरहेका थिएनन्‌। पावलले कोरिन्थको मण्डलीका भाइबहिनीहरूको प्रशंसा गरे। यसको कारण तिनले यसरी बताए: “सबै कुरामा तिमीहरू मलाई सम्झन्छौ अनि मैले तिमीहरूलाई जे-जस्ता शिक्षाहरू दिएको थिएँ, त्यसमा तिमीहरू अटल छौ।” (१ कोरि. ११:२) वास्तवमा ती शिक्षाहरू भरपर्दो स्रोत यहोवा र येशूबाट आएका थिए र तिनीहरूले त्यसमा भरोसा गर्न सक्थे।

११. मानिसहरू कसरी बहकिन सक्छन्‌?

११ पावलले हिब्रूहरूलाई पत्र लेख्दा ख्रीष्टियनहरूले आफ्नो विश्‍वास गुमाउन सक्ने र यहोवाप्रति अवफादार हुन सक्ने दुईवटा कुरातर्फ ध्यान खिचे। (हिब्रू २:१; ३:१२ पढ्‌नुहोस्‌) तिनले यहोवाबाट ‘तर्केर जाने’ र ‘टाढा हुने’ विषयमा बताए। ‘तर्केर जाने’ कुरालाई नदीको किनारमा भएको डुङ्‌गा चालै नपाउने तरिकाले बिस्तारै-बिस्तारै पर-पर गएको उदाहरणसँग जोड्‌न सकिन्छ। अलिअलि गर्दै त्यो डुङ्‌गा किनाराबाट धेरै पर पुगिसकेको हुन्छ। अर्कोतर्फ ‘टाढा हुने’ कुरालाई किनारामा भएको आफ्नो डुङ्‌गालाई जानाजानी धकेलेर पर पुऱ्‍याउने उदाहरणसँग जोड्‌न सकिन्छ। कुनै व्यक्‍तिले आफैलाई बहकिन दियो र यहोवाप्रतिको आफ्नो विश्‍वास कमजोर बनायो भने नतिजा कस्तो हुन्छ भनेर हामी यी दुई उदाहरणबाट सिक्न सक्छौं।

१२. यहोवासितको हाम्रो सम्बन्धलाई अहिले के-कस्ता कुराहरूले बिगार्न सक्छ?

१२ थिस्सलोनिकाको मण्डलीका कसै-कसैले आफैलाई बहकिन दिए। अहिले पनि त्यस्तै हुन सक्छ। थुप्रै कुराहरूले हाम्रो समय खाइदिन्छ। एकछिन सोच्नुहोस्‌ त, आफ्नो सोख पूरा गर्न, फेसबुकजस्ता सामाजिक सञ्जाल चलाउन, इमेल पढ्‌न र जवाफ पठाउन अनि खेलकुदका ताजा समाचारहरू हेर्न तपाईं कति समय बिताउनुहुन्छ? यस्ता कामकुराले ख्रीष्टियनहरूलाई अलमल्याउन सक्छ र तिनीहरूको जोस सेलाउन सक्छ। नतिजा? कुनै ख्रीष्टियनले यस्ता कामकुरामा धेरै समय दिएको छ भने उसले हृदयदेखि प्रार्थना गर्न छोड्‌छ। बाइबल पढ्‌ने, सभा र प्रचार जाने समय थोरै मात्र हुन्छ। यस्तो बेला झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाउन हामी के गर्न सक्छौं?

सुद्धीबुद्धि नगुमाउन के गर्न सक्छौं?

१३. बाइबलमा भविष्यवाणी गरिएअनुसारै अहिले मानिसहरूको मनोवृत्ति कस्तो छ? हामी आफ्नो विश्‍वासलाई कसरी सुरक्षित राख्न सक्छौं?

१३ सैतानको संसार अन्त हुनै लागेको छ भनेर हामीले बिर्सनु हुँदैन। अनि हामी “अन्तको दिन”-मा बाँचिरहेका छौं भन्‍ने कुरा अस्वीकार गर्नेहरूसित हिमचिम बढाउनु पनि उत्तिकै खतरनाक छ। प्रेषित पत्रुसले हाम्रो समयबारे यस्तो लेखे: “अन्तको दिनमा, आफ्ना कुइच्छाहरू पूरा गर्न गिल्ला गर्नेहरू गिल्ला गर्दै देखा पर्नेछन्‌ र भन्‍नेछन्‌: ‘उहाँले प्रतिज्ञा गर्नुभएको उहाँको उपस्थिति खोइ? किनकि सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।’” (२ पत्रु. ३:३, ४) दिनदिनै परमेश्‍वरको वचन पढ्‌ने अनि गहिरो अध्ययन गर्ने गरेका छौं भने हामी कस्तो समयमा बाँचिरहेका छौं भन्‍ने कुरा नबिर्सन मदत पाउँछौं। अनि “अन्तको दिन”-मा बाँचिरहेका छौं भनेर सधैं सचेत रहन सक्छौं। धर्मत्याग धेरै पहिलादेखि नै देखा परेको थियो र अहिले हाम्रो समयसम्म पनि छँदै छ। अहिले पनि ‘कुकर्मी पुरुषहरू’ छन्‌ र तिनीहरूले परमेश्‍वरका सेवकहरूको विरोध गर्छन्‌। यी सबै कारणहरूले गर्दा यहोवाको दिन नजिकै छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन।—सप. १:७.

राम्रो तयारी गर्दा अनि प्रचारकार्यमा भाग लिंदा हामीले झट्टै सुद्धीबुद्धि गुमाउनेछैनौं (अनुच्छेद १४, १५ हेर्नुहोस्‌)

१४. प्रचारको काममा नियमित रूपमा भाग लियौं भने कसरी सुरक्षा पाउँछौं?

१४ राज्यको सुसमाचार प्रचार गर्ने काममा नियमित रूपमा भाग लियौं भने हामी जागा रहन सक्छौं अनि सुद्धीबुद्धि पनि गुमाउनेछैनौं। ख्रीष्टियन मण्डलीका शिर येशूले आफ्ना चेलाहरूलाई “सबै जातिका मानिसहरूलाई चेला बनाओ, . . . तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ” भन्‍नुभयो। यसो भन्दा वास्तवमा येशूले चेलाहरूलाई प्रचारकार्यले सुरक्षा दिन्छ भन्‍न खोज्दै हुनुहुन्थ्यो। (मत्ती २८:१९, २०) येशूको आज्ञा मान्‍ने हो भने हामी पनि प्रचारकार्यमा जोसिलो हुनुपर्छ। के तपाईं थिस्सलोनिकाका भाइबहिनीहरूले करबलले प्रचार गरेको अनि मन नलागी-नलागी अरूलाई सिकाएको कल्पना गर्न सक्नुहुन्छ? पावलले तिनीहरूलाई के भने याद गर्नुहोस्‌: “पवित्र शक्‍तिको काममा बाधा नपुऱ्‍याओ। भविष्यवाणीहरूलाई तुच्छ नसम्झ।” (१ थिस्स. ५:१९, २०) हामीले अध्ययन गर्ने अनि अरूलाई बताउने भविष्यवाणीहरू के साँच्चै नै अद्‌भुत छैनन्‌ र?

१५. पारिवारिक उपासनामा हामी के-के गर्न सक्छौं?

१५ परिवारका सदस्यहरूले पनि सुसमाचार सुनाउने क्षमता विकास गरून्‌ भन्‍ने हामी चाहन्छौं। धेरैजसो भाइबहिनीहरूले पारिवारिक उपासनाको बेला क्षेत्र सेवाका लागि तयारी गर्ने समय छुट्ट्याएर यस्तो लक्ष्य हासिल गरेका छन्‌। पारिवारिक उपासनाको बेला ‘चासो दिने व्यक्‍तिलाई कसरी पुनःभेट गर्न सकिन्छ’ भन्‍ने विषयमा छलफल गर्न सक्नुहुन्छ। तपाईंहरू यस्ता विषय पनि छलफल गर्न सक्नुहुन्छ: ‘पुनःभेट गर्दा कुन विषयमा कुरा गर्न सकिन्छ? घरधनीको चासो बढाउन के गर्न सकिन्छ? कुन समयमा पुनःभेट गर्नु राम्रो हुन्छ?’ अरू कतिपयले भने पारिवारिक उपासनाको बेला सभाको तयारी गर्ने गरेका छन्‌। यसो गर्दा तिनीहरूले सभामा छलफल हुने कुराहरूबाट झन्‌ धेरै लाभ उठाउन सक्छन्‌। के तपाईं पनि यसै गर्न सक्नुहुन्छ? सभामा भाग लिनुभयो भने तपाईंको विश्‍वास बलियो हुनेछ अनि तपाईंको सुद्धीबुद्धि पनि गुम्नेछैन। (भज. ३५:१८) पारिवारिक उपासना गरेका छौं भने हामीले बाइबलमा व्याख्या नगरिएका विषयहरूमा आफ्नै विचारधारा बनाउनेछैनौं अनि शङ्‌का-उपशङ्‌का पनि गर्नेछैनौं।

१६. कुन कुराले गर्दा अभिषिक्‍त जनहरूले आफ्नो सुद्धीबुद्धि नगुमाउने बल पाएका छन्‌?

१६ यहोवाले बाइबल भविष्यवाणीहरूको अर्थ अहिले झन्‌ बढी खोलिदिनुभएको छ। यसले गर्दा भविष्यमा पूरा हुने प्रतिज्ञाहरूप्रति अझै विश्‍वस्त हुन हामीले बल पाएका छौं। अभिषिक्‍त जनहरूले स्वर्गमा येशूसितै शासन गर्ने आशा पाएका छन्‌। यो आशाले गर्दा तिनीहरूले आफ्नो सुद्धीबुद्धि नगुमाउन कत्ति ठूलो बल पाएका छन्‌ नि, होइन र? पावलले थिस्सलोनिकीहरूलाई लेखेको यो कुरा तिनीहरूलाई पनि लागू हुन्छ: “तिमीहरूको निम्ति परमेश्‍वरलाई सधैं धन्यवाद चढाउन हामीलाई करै लागेको छ, किनभने . . . तिमीहरू पवित्र शक्‍तिद्वारा पवित्र पारिएको हुनाले अनि तिमीहरूले सत्यमा विश्‍वास गरेको हुनाले [परमेश्‍वरले] तिमीहरूलाई चुन्‍नुभएको हो।”—२ थिस्स. २:१३.

१७. दोस्रो थिस्सलोनिकी ३:१-५ बाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं?

१७ अभिषिक्‍त ख्रीष्टियनहरूले जस्तै यस पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका व्यक्‍तिहरूले पनि झट्टै आफ्नो सुद्धीबुद्धि गुमाउनु हुँदैन। यदि तपाईंको आशा यसै पृथ्वीमा सधैंभरि बाँच्ने हो भने पावलले थिस्सलोनिकामा भएका आफ्ना सँगी अभिषिक्‍त भाइहरूलाई दिएको न्यानो प्रोत्साहन मनमा राख्नुहोस्‌। (२ थिस्सलोनिकी ३:१-५ पढ्‌नुहोस्‌) तिनले थिस्सलोनिकाका भाइबहिनीहरूलाई बाइबलमा व्याख्या नगरिएका विषयहरूमा आफ्नै विचारधारा बनाउनदेखि अनि शङ्‌का-उपशङ्‌का गर्नदेखि होसियार रहन चेतावनी दिए। यो चेतावनी हामीलाई पनि लागू हुन्छ। त्यसैले अन्तको दिन झन्‌-झनै नजिकिंदै गएकोले हामी ती चेतावनीहरू पाएकोमा अझ धेरै कृतज्ञ हुनु पर्दैन र?

a प्रेषित २०:२९, ३० मा पावलले मण्डलीभित्रैबाट पनि “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू . . . उठ्‌नेछन्‌” भनेर बताए। समय बित्दै जाँदा मण्डलीमा अगुवाइ लिनेहरूमध्ये कोही-कोहीले बिस्तारै आफूलाई अरू सदस्यहरूभन्दा ठूलो ठान्‍न थाले। तेस्रो शताब्दीसम्ममा त चर्च जगत्‌का पादरीहरूको समूह नै “कुकर्मी पुरुष” हुन्‌ भन्‍ने कुरा स्पष्ट भयो।—प्रहरीधरहरा, सेप्टेम्बर १, २००३, पृष्ठ ३-७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने