प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ pp. ८-१०
  • भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले दुःखकष्ट भोगिरहेको देख्दा भगवान्‌लाई कस्तो लाग्छ?
  • को साँचो?
  • एउटा महत्त्वपूर्ण विवाद
  • यहोवाले तिमीलाई साहसी बनाउनुहुनेछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • किन यति धेरै दुःख अनि पीडा?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ pp. ८-१०
सोफियासित बन्दनाले तिनकै ढोकामा बाइबलबाट छलफल गरिरहेकी

छिमेकीसित कुराकानी

भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न?

एक जना यहोवाको साक्षी र छिमेकीबीच हुन सक्ने कुराकानी तल दिइएको छ। सोफिया भन्‍ने महिलासित बन्दना नाम गरेकी साक्षीले यो कुराकानी गरिरहेको कल्पना गरौं।

हामीले दुःखकष्ट भोगिरहेको देख्दा भगवान्‌लाई कस्तो लाग्छ?

बन्दना: नमस्ते सोफिया दिदी, तपाईंलाई घरमै भेट्‌न पाउँदा खुसी लाग्यो।

सोफिया: मलाई पनि तपाईंलाई भेट्‌न पाउँदा खुसी लाग्यो।

बन्दना: अघिल्लो भेटमा हामीले दुःखकष्ट भोगिरहेको देख्दा भगवान्‌लाई कस्तो लाग्छ भनी कुरा गरेका थियौं। तपाईंकी आमा दुर्घटनामा परेर घाइते हुनुभएदेखि यो प्रश्‍नले अझै पिरोलेको कुरा गएको हप्ता बताउनुभएको थियो। साँच्चै, तपाईंको आमालाई अहिले कस्तो छ?

सोफिया: त्यै त हो, कुनै दिन सन्चो हुन्छ अनि कुनै दिनचाहिं गाह्रो। आज त उहाँलाई अलि ठीकै छ।

बन्दना: ए, बेस भयो नि। तर यस्तो अवस्थामा सधैं सकारात्मक हुन त गाह्रो छ नि हगि?

सोफिया: हो नि। कहिलेकाहीं त उहाँले कतिन्जेल दुःख सहनुपर्ने होला जस्तो लाग्छ।

बन्दना: हो, त्यस्तो त लाग्छ। हामीले अस्ति भगवान्‌सित दुःखकष्ट अन्त गर्ने शक्‍ति छ भने उहाँले किन दुःखकष्ट हटाउनुहुन्‍न भन्‍नेबारे कुरा गर्ने भनेका थियौं, तपाईंलाई याद छ?

सोफिया: अँ, मलाई याद छ।

बन्दना: बाइबलबाट यसको जवाफ जान्‍नुअघि अस्तिको हप्ता छलफल गरेको केही कुरा यसो दोहोऱ्‍याऔं न है।

सोफिया: हुन्छ।

बन्दना: बाइबलमा उल्लेख गरिएको एक जना विश्‍वासी मानिसले पनि भगवान्‌ले किन दुःखकष्ट हटाउनुहुन्‍न भनी प्रश्‍न गरेका थिए भनी सिकेका थियौं। अनि भगवान्‌ले तिनलाई त्यस्तो प्रश्‍न गरेकोमा कहिल्यै गाली गर्नुभएन न त तिनलाई अझै विश्‍वासको खाँचो छ भन्‍नुभयो।

सोफिया: त्यस्तो कुरा त मैले पहिला कहिल्यै सुनेकी थिइनँ।

बन्दना: हामीले दुःखकष्ट भोगेको यहोवा भगवान्‌लाई पटक्कै मनपर्दैन भनेर पनि सिकेका थियौं। उदाहरणको लागि आफ्ना मानिसहरूले दुःख भोग्दा “उहाँ दु:खित हुनुभयो” भनी बाइबल बताउँछ।a हाम्रो पीडा उहाँले महसुस गर्नुहुन्छ भनी थाह पाउनु के सान्त्वनादायी छैन र?

सोफिया: छ. . .।

बन्दना: साथै भगवान्‌को अथाह शक्‍तिलाई विचार गर्दा उहाँसित कुनै पनि बेला दुःखकष्ट अन्त गर्न सक्ने क्षमता छ भन्‍ने कुरा पनि हामीले बुझेका थियौं।

सोफिया: मलाई चित्त नबुझेको कुरा त्यही त हो। दुःखकष्ट हटाउने शक्‍ति हुँदाहुँदै उहाँले किन खराब कुराहरू हुन दिइरहनुभएको?

को साँचो?

बन्दना: तपाईंको यो प्रश्‍नको जवाफ उत्पत्ति भनिने बाइबलको सुरुको किताबमा पाउन सक्छौं। तपाईंलाई आदम र हव्वा अनि तिनीहरूलाई नखाऊ भनिएको फलबारे थाह छ?

सोफिया: अँ मलाई त्यो कथा थाह छ। भगवान्‌ले तिनीहरूलाई एउटा रूखको फल नखानू भन्‍नुभएको थियो तर तिनीहरूले अटेर गरे र खाए।

बन्दना: हो, ठीक भन्‍नुभयो। अब, आदम र हव्वाले पाप गर्नुअघि के-के भएको थियो, विचार गरौं। हामी किन दुःखकष्ट भोग्छौं भन्‍ने प्रश्‍नसित ती कुराहरूको सीधै सम्बन्ध छ। उत्पत्ति अध्याय ३ को पद १-५ पढिदिनुहुन्छ कि?

सोफिया: हुन्छ। “परमप्रभु परमेश्‍वरले बनाउनुभएका वनपशुहरूमध्ये साँप धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, ‘के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?’ स्त्रीले साँपलाई भनिन्‌, ‘बगैंचाका रूखहरूका फल हामी खानसक्छौं, तर बगैंचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, “त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।”’ साँपले स्त्रीलाई भन्यो, ‘तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।’”

बन्दना: धन्यवाद। अब एकछिन भर्खरै पढेका यी पदहरू विचार गरौं। सबैभन्दा पहिला, याद गर्नुहोस्‌, साँपले हव्वा अर्थात्‌ स्त्रीसित कुरा गऱ्‍यो। साँपले कुरा गरेजस्तै देखिए तापनि वास्तवमा सैतान भनिने दियाबलले कुरा गरिरहेको थियो भनेर बाइबलको अर्को एउटा किताबमा बताइएको छ।b सैतानले हव्वालाई ‘के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भन्‍नुभएको छ?’ भनेर सोध्यो। आदम र हव्वाले त्यो फल खाएमा के हुन्छ भन्‍नुभएको थियो परमेश्‍वरले?

सोफिया: तिनीहरू मर्ने थिए।

बन्दना: हो, ठीक भन्‍नुभयो। सैतानले त्यसपछि भनेको कुरालाई विचार गर्ने हो भने त्यसले परमेश्‍वरलाई ठूलो आरोप लगायो। त्यसले के भन्यो याद गर्नुहोस्‌, “तिमीहरू कदापि मर्दैनौ।” सैतानले परमेश्‍वर फटाहा हुनुहुन्छ भन्दै थियो।

सोफिया: कथामा यस्तो कुरा पनि छ भनेर त मलाई थाहै थिएन।

बन्दना: परमेश्‍वरले झूट बोल्दै छ भनेर दोष लगाउँदा सैतानले एउटा विवाद उठायो। त्यो विवाद समाधान गर्न समय चाहिन्थ्यो। किन होला?

सोफिया: खै, थाह भएन।

बन्दना: यो कुरा बुझ्न म एउटा उदाहरण बताउँछु। मानिलिनुहोस्‌ मैले तपाईंभन्दा म बलियो छु भनी फूर्ति लगाएँ। म गलत छु भनी तपाईं कसरी देखाउन सक्नुहुन्छ?

सोफिया: सायद केही कुरा गर्न लगाएर।

बन्दना: हो, एकदमै ठीक। कुनै गह्रौं सामान हामीमध्ये कसले उठाउन सक्छ, हेर्न सक्छौं। त्यसैले को बलियो छ भनेर त सजिलै थाह पाउन सकिन्छ।

सोफिया: तपाईंले भन्‍न खोज्नुभएको कुरा मैले बुझें।

बन्दना: तर मानिलिनुहोस्‌ मैले तपाईं फटाहा हुनुहुन्छ भनें। यो कुरा प्रमाणित गर्नचाहिं गाह्रो छ नि हैन?

सोफिया: अँ मलाई पनि त्यस्तै लाग्छ।

बन्दना: इमानदारी भन्‍ने कुरा बल जस्तै एउटा साधारण जाँच गरेर प्रमाणित गर्न सकिंदैन नि, होइन र?

सोफिया: त्यो त हो।

बन्दना: यो कुरा प्रमाणित गर्ने सबैभन्दा राम्रो तरिका त हामी दुईमध्ये कोचाहिं साँच्चै इमानदार छौं भनेर जाँचेर हेर्न मानिसहरूलाई प्रशस्त समय दिनु हो।

सोफिया: हो, त्यसो गर्नु व्यावहारिक हुन्छ होला।

बन्दना: अब फेरि उत्पत्तिको त्यही विवरण विचार गरौं। के सैतानले आफू परमेश्‍वरभन्दा शक्‍तिशाली छु भन्यो?

सोफिया: त्यसो त भनेन।

बन्दना: परमेश्‍वरले सजिलै त्यसलाई गलत प्रमाणित गर्न सक्नुहुन्थ्यो। तर सैतानले परमेश्‍वर झूट बोल्दै हुनुहुन्छ भनेर दाबी गऱ्‍यो। अर्को शब्दमा भन्‍ने हो भने त्यसले हव्वालाई ‘परमेश्‍वर तिमीसित झूट बोल्दै हुनुहुन्छ र मचाहिं सत्य बोल्दैछु’ भन्यो।

सोफिया: कुरा त्यस्तो पो!

बन्दना: परमेश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ। त्यसैले यो विवाद सुल्झाउने सबैभन्दा राम्रो तरिका भनेको समय दिनु हो भनेर उहाँलाई थाह थियो। समय बित्दै जाँदा को साँचो अनि को झूटो भनेर स्पष्ट हुनेथियो।

एउटा महत्त्वपूर्ण विवाद

सोफिया: तर हव्वाको मृत्युपछि को झूटो भनेर प्रमाणित भइहाल्यो नि।

बन्दना: त्यो त हो। तर सैतानले अरू पनि प्रश्‍न उठाएको थियो। पद ५ लाई फेरि विचार गरौं न। सैतानले हव्वालाई अरू के भन्यो?

सोफिया: त्यसले हव्वालाई जुन दिन तिमी त्यो फल खान्छौ त्यही दिन तिम्रो आँखा खुल्नेछ भन्यो।

बन्दना: अनि “असल र खराबको ज्ञान पाएर . . . परमेश्‍वरजस्तै हुनेछौ” पनि भन्यो। परमेश्‍वर मानिसजातिले असल कुरा पाएको चाहनुहुन्‍न भनी सैतानले दाबी गऱ्‍यो।

सोफिया: ए. . .।

बन्दना: अनि यो आरोप पनि चानचुने त थिएन।

सोफिया: मैले कुरा बुझिनँ नि।

बन्दना: सैतानले हव्वा र भनौं भने सबै मानिसजाति नै परमेश्‍वरको शासनबाट अलग रहँदा नै खुसी हुनेछन्‌ भन्यो। यस सन्दर्भमा पनि सैतानलाई आफ्नो कुरा प्रमाणित गर्न समय दिनु सबैभन्दा राम्रो तरिका हो भनेर यहोवालाई थाह थियो। त्यसैले परमेश्‍वरले सैतानलाई केही समय यस संसारमा शासन गर्न दिनुभएको छ। यसबाट हाम्रो वरपर यत्ति धेरै दुःखकष्ट हुनुको कारण प्रस्ट हुन्छ। यस संसारको शासक परमेश्‍वर नभई सैतान हो।c तर राम्रो समाचार पनि छ।

सोफिया: कस्तो समाचार?

बन्दना: बाइबलले परमेश्‍वरबारे दुईवटा सत्य कुरा बताउँछ। पहिलो हो, हामीले दुःखकष्ट भोग्दा यहोवा हाम्रो चिन्ता गर्नुहुन्छ। उदाहरणको लागि राजा दाऊदले भजन ३१:७ मा के भने, विचार गरौं। दाऊदले आफ्नो जीवनकालमा धेरै दुःखकष्ट सहे तर तिनले भगवान्‌लाई प्रार्थनामा के भन्‍न सके, याद गर्नुहोस्‌। तपाईं यो पद पढिदिनुहुन्छ कि?

सोफिया भन्‍ने महिलासित बन्दना नाम गरेकी साक्षीले बाइबलको एउटा पदबाट छलफल गर्दै

सोफिया: हुन्छ। “तपाईंकै करुणामा म मग्न र आनन्दित हुनेछु। किनकि तपाईंले मेरो दुःख देख्नुभएको छ। दुःखका दिनमा मेरो आत्मालाई तपाईंले चिन्‍नुभएको छ।”

बन्दना: आफूले दुःख भोग्नुपरे तापनि यहोवाको नजरबाट त्यो लुकेको छैन भनेर थाह पाउँदा तिनले सान्त्वना पाए। यहोवालाई सबै कुरा थाह छ, यहाँसम्म कि अरू मानिसले राम्ररी बुझ्न नसक्ने हाम्रो भावनात्मक पीडा पनि उहाँ बुझ्नुहुन्छ। यो कुरा थाह पाउँदा हाम्रो मन कत्ति हल्का हुन्छ नि, होइन र?

सोफिया: हो नि!

बन्दना: दोस्रो सत्य हो, यहोवाले हामीलाई सधैंभरि दुःखकष्टमा रहिरहन दिनुहुने छैन। उहाँले सैतानको दुष्ट शासनको चाँडै अन्त गर्नुहुनेछ भनेर बाइबल सिकाउँछ। तपाईं र तपाईंको आमाले भोगिरहनुभएको दुःख अनि सबै खराब कुराहरू उहाँले हटाउनुहुनेछ। भगवान्‌ले सबै दुःखकष्ट हटाउनुहुनेछ भनी हामी किन पक्का हुन सक्छौं भन्‍नेबारे अर्को हप्ता कुराकानी गरौं न है!d

सोफिया: भइहाल्छ नि।

तपाईंलाई छलफल गर्न मन लागेको कुनै बाइबल विषय छ? यहोवाका साक्षीहरूको कुनै विश्‍वास वा गतिविधिबारे तपाईं जान्‍न चाहनुहुन्छ कि? यदि त्यसो हो भने कुनै एक जना यहोवाका साक्षीलाई सोध्न नहिचकिचाउनुहोस्‌। यस्ता विषयहरू तपाईंसित छलफल गर्न तिनीहरू खुसी हुनेछन्‌।

a यशैया ६३:९ हेर्नुहोस्‌।

b प्रकाश १२:९ हेर्नुहोस्‌।

c यूहन्‍ना १२:३१; १ यूहन्‍ना ५:१९ हेर्नुहोस्‌।

d थप कुरा बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने