प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१ pp. १०-१२
  • प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हार नमान्‍नुहोस्‌।
  • प्रलोभन आइपर्दा कसरी जोगिने?
    ब्यूँझनुहोस्‌!—२०१५
  • मानव कमजोरीमाथि विजयी हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • लोभमा फस्नु
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१ pp. १०-१२
अँध्यारो कोठामा एक्लै हुँदा कम्प्युटरमा कामुक दृश्‍य हेर्ने प्रलोभनमा परेका युवक

प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ

“मैले इन्टरनेट मात्र के खोलेथें, अश्‍लील कुरा झ्वाट्टै आइहाल्यो। त्यसपछि त हेरूँ-हेरूँ लाग्यो अनि क्लिक गरें।”—सुरेशa

“अफिसमा एक जना राम्री केटी थिई। मसित खुबै जिस्किन्थी। एक दिन उसले मलाई ‘होटल जाऔं, रमाइलो गरौं’ भनी। मैले उसको कुरा बुझिहालें।”—सुमन

“मसबै कुरा सामना गर्न सक्छु। तर प्रलोभन आयो भने त खै, के हुन्छ, हुन्छ।” धेरै मानिसहरू यसो भन्‍ने गर्छन्‌। यसबाट मानिसहरू मनमनै प्रलोभनलाई मन पराउँछन्‌ भन्‍ने देखिन्छ। अरू कतिले भने प्रलोभनलाई शत्रुजस्तै ठान्छन्‌। अनि त्यसको वशमा नपर्न निकै सङ्‌घर्ष गर्छन्‌। तपाईं नि? प्रलोभन आइपर्दा त्यसविरुद्ध सङ्‌घर्ष गर्नुहुन्छ कि त्यसको वशमा पर्नुहुन्छ?

हुन त सबै प्रकारको प्रलोभनले ठूलो समस्या निम्त्याउँदैन। डाइटिङ गरिरहेको बेला यसो भन्‍नुहुन्छ होला ‘एक गाँस बढी भात खाएर के भो त? केही बिग्रिने होइन क्यारे!’ तर प्रलोभन भन्‍ने कुरा त्यस्तो होइन। प्रलोभनमा पऱ्‍यो भने ठूलो हानि हुन सक्छ। अझ विशेषगरि यौन अनैतिकतातर्फ धकेल्ने प्रलोभनमा पर्दा नतिजा कहिल्यै राम्रो हुँदैन। त्यसैले त बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ, “व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो, त्यसले . . . आफूमाथि बर्बादी ल्याउँछ।”—हितोपदेश ६:३२, ३३.

मानिलिनुहोस्‌, तपाईंले नचिताएको समयमा अनैतिक कुराले तपाईंको ढोका ढकढक्यायो। तपाईं के गर्नुहुन्छ? बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ “परमेश्‍वरको इच्छा यही छ, कि तिमीहरू पवित्र रहो अर्थात्‌ अवैध यौनसम्बन्धबाट अलग रहो, अनि तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता र आदरसाथ वशमा राख्न जान।” (१ थिस्सलोनिकी ४:३, ४) तपाईं कसरी त्यस्तो इच्छाशक्‍तिलाई विकास गर्न सक्नुहुन्छ? तीनवटा तरिका विचार गरौं।

तरिका १: आफ्नो आँखालाई जोगाउनुहोस्‌

अनैतिक कुराहरू हेर्छौं भने त्यसले अनुचित इच्छा मात्र जगाउँछ। हामीले हेर्ने कुरा र चाहने कुराबीच सम्बन्ध छ भन्दै येशूले यसो भन्‍नुभयो, “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” यसलाई उदाहरणसहित उहाँले यसरी स्पष्ट पार्नुभयो, “यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती ५:२८, २९) येशूले यहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? प्रलोभनको प्रतिरोध गर्न हामीले तुरुन्तै कदम चाल्नुपर्छ र कामुक दृश्‍यहरू नहेर्न दृढ हुनुपर्छ।

सीडी पसलमा भएका कामुक फोटोहरूबाट आँखा फर्काउँदै गरेका युवक

कामुक दृश्‍य देख्नुभयो भने तुरुन्तै अन्त हेर्नुहोस्‌

मानिलिनुहोस्‌, तपाईं फलाम वेल्डिङ्‌ गरिरहेको ठाउँ नजिकै हुनुहुन्छ। आँखै खाने झिल्का निस्किरहेका छन्‌। अब के तपाईं त्यतातिर हेरिरहनुहुन्छ? हुन्‍न नि होइन? तपाईं तुरुन्तै अन्तै हेर्नुहुन्छ वा आँखा चिम्लिहाल्नुहुन्छ। कामुक दृश्‍य देख्दा पनि तपाईं यसै गर्न सक्नुहुन्छ। पत्र-पत्रिकामा, टिभीमा कामुक दृश्‍य देख्नुभयो वा बाटोमा कोही उत्ताउलो वा भड्‌किलो पहिरन लगाएर हिंडिरहेको देख्नुभयो भने तुरुन्तै आँखा फर्काउनुहोस्‌ र दिमागबाट त्यस्ता कुराहरू हटाइहाल्नुहोस्‌। अश्‍लील सामाग्री हेर्ने लत छोडेका रमन भन्छन्‌, “राम्री केटी देखेपछि फर्की-फर्की हेर्न मन लाग्थ्यो। तर मनलाई बाँध्थें अनि आफैलाई यसो भन्थें, ‘यहोवालाई प्रार्थना गरिहाल्नुपर्छ। अहिल्यै गरिहाल्नुपर्छ।’ प्रार्थना गरेपछि त्यस्तो विचार हटाउन मदत पाउँथें।”—मत्ती ६:९, १३; १ कोरिन्थी १०:१३.

बाइबलका एक विश्‍वासी पात्र अय्यूबलाई पनि विचार गर्नुहोस्‌। तिनले यसो भने, “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ सङ्‌कल्प गरें।” (अय्यूब ३१:१) हामीले पनि यस्तै सङ्‌कल्प गर्नु राम्रो हुन्छ, होइन र?

यसो गरे कसो होला? तपाईंले कामुक दृश्‍य झलक्क देख्नुभयो भने तुरुन्तै अन्तै हेर्ने प्रयास गर्नुहोस्‌। बाइबलका लेखकले यसरी प्रार्थना गरे, “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” (भजन ११९:३७) हामी पनि तिनको अनुकरण गर्ने प्रयास गरौं।

तरिका २: आफ्नो सोचाइलाई जोगाउनुहोस्‌

हामी सबैमा खोट छ। त्यसैले गलत चाहनाविरुद्ध कहिलेकाहीं सङ्‌घर्ष नै गर्नुपर्ने पनि हुन सक्छ। बाइबलमा यसो भनिएको छ, “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ।” (याकूब १:१४, १५) यस्तो दलदलमा नफस्न तपाईं के गर्न सक्नुहुन्छ?

सपिङ्‌ग मल गएका युवक नराम्रो विचार आउनेबितिक्कै प्रार्थना गर्दै

गलत सोचाइ आउनेबित्तिकै प्रार्थना गरिहाल्नुहोस्‌

गलत चाहना आउँदा कुन बाटो रोज्ने, त्यो छान्‍ने जिम्मा त तपाईंकै हो। यो कुरा मनमा राख्दै त्यस्ता चाहनासित लड्‌नुहोस्‌; दिमागबाट त्यस्ता कुरा हटाइहाल्नुहोस्‌। अनि अनैतिक कुराहरू मनमा नखेलाउनुहोस्‌। पहिला इन्टरनेटमा अश्‍लील सामाग्री हेर्ने गरेका विकास भन्छन्‌, “सकारात्मक कुराहरूमा मात्रै ध्यान दिएर गलत सोचाइ हटाउन सकें। यसो गर्नु सजिलो त थिएन। पटक-पटक गलत सोचाइ आइहाल्थ्यो। तर आखिरमा गलत सोचाइलाई वशमा राख्न सिकें।” गोमा नाम गरेकी एक बहिनी पनि किशोरी छँदा अनैतिक प्रलोभनमा परेकी थिइन्‌। तिनी यसरी सम्झिन्छिन्‌, “काममा व्यस्त भएर अनि यहोवालाई प्रार्थना गरेर गलत सोचाइलाई काबूमा राख्न सकें।”

यसो गरे कसो होला? अनैतिक कुरा मनमा खेल्नेबित्तिकै प्रार्थना गरिहाल्नुहोस्‌। “जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू परमेश्‍वरको स्तरबमोजिम असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌,” ती कुराहरूबारे मनन गऱ्‍यौं भने गलत सोचाइ हटाउन सक्छौं।—फिलिप्पी ४:८.

तरिका ३: आफ्नो पाइलालाई जोगाउनुहोस्‌

चाहना, प्रलोभन र मौका सँगसँगै आउँदा समस्यामा फस्ने सम्भावना धेरै हुन्छ। (हितोपदेश ७:६-२३) यस्तो पासोमा नपर्न तपाईं के गर्न सक्नुहुन्छ?

खतराबाट जोगिन अरू मान्छे आउजाउ गर्ने ठाउँमा कम्प्युटर चलाउँदै गरेका युवक

“आफू वरपर मान्छे भएको बेला मात्र इन्टरनेट चलाउँछु”

बाइबलले हामीलाई यस्तो बुद्धिमानी सल्लाह दिन्छ, “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) त्यसैले आफ्नो पाइलालाई सुरक्षित राख्नुहोस्‌। समस्या ल्याउन सक्ने अवस्था कस्तो-कस्तो हुन्छ, बुझ्नुहोस्‌ र त्यस्ता अवस्थाहरू आउँदा जोगिनुहोस्‌। (हितोपदेश ७:२५) अश्‍लील सामग्री हेर्ने बानी त्यागेका राजु यसो भन्छन्‌, “सबैले देख्ने ठाउँमा कम्प्युटर राखेको छु अनि अश्‍लील कुरा नहेर्न कम्प्युटरमा फिल्टर गर्ने सफ्टवेयर राखेको छु। आफू वरपर मान्छे भएको बेला मात्र इन्टरनेट चलाउँछु।” विकास जसको बारेमा हामीले माथि चर्चा गरिसक्यौं, तिनी यसो भन्छन्‌, “अश्‍लील फिल्म हेर्ने अनि यौनबारे जथाभाबी कुरा गर्ने मानिसहरूसित नबस्ने सङ्‌कल्प गरेको छु। मलाई खतरामा पर्नुछैन।”

यसो गरे कसो होला? आफ्नो कमजोरी थाह पाउनुहोस्‌ र आफूलाई प्रलोभनमा पार्न सक्ने कुराहरूबाट उम्कन पहिल्यै योजना बनाउनुहोस्‌।—मत्ती ६:१३.

हार नमान्‍नुहोस्‌।

लाख कोसिस गर्दा गर्दै पनि तपाईं प्रलोभनको सिकार हुनुभयो भने के गर्ने? हार नमान्‍नुहोस्‌; कोसिस गरिरहनुहोस्‌। बाइबल यसो भन्छ, “धर्मी मानिस सातपल्ट लोट्‌यो भने पनि फेरि उठ्‌छ।” (हितोपदेश २४:१६) हो, स्वर्गमा बस्नुहुने हाम्रो बुबाले हामीलाई ‘उठ्‌न’ हौसला दिनुहुन्छ। के तपाईं यस्तो मायालु मदत स्वीकार्नुहुन्छ? त्यसोभए उहाँलाई प्रार्थना गरिरहनुहोस्‌। उहाँको वचन बाइबल पढेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌। यहोवाका साक्षीहरूको सभामा गएर आफ्नो सङ्‌कल्पलाई बलियो बनाउनुहोस्‌। यहोवाको यो प्रतिज्ञा मनमा राख्नुहोस्‌, “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।”—यशैया ४१:१०.

सुरुमा उल्लेख गरिएका सुरेश भन्छन्‌, “अश्‍लील सामग्री हेर्ने बानी छुटाउन हम्मे हम्मे पऱ्‍यो। थुप्रै पटक चुकें तर परमेश्‍वरको मदतले यो बानीलाई जितेरै छाडें।” एकचोटि फेरि सुमनलाई विचार गरौं। अफिसको केटीले होटेल जाऔं भन्दा तिनले के गरे? तिनी भन्छन्‌, “त्यो केटीसित जान पनि सक्थें। तर दृढ भएर मैले तिनलाई ‘नाइँ’ भनें। सफा अन्तस्करण राख्न सकेकोमा मलाई गर्व लाग्छ। तर त्योभन्दा पनि ठूलो कुरा मैले यहोवाको नाममा दाग लगाइनँ।”

तपाईं दृढ हुनुभयो र प्रलोभनको पासोमा पर्नुभएन भने परमेश्‍वरले गर्व गर्नुहुनेछ।—हितोपदेश २७:११.

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने