प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जुलाई pp. १४-१९
  • प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कस्ता क्षेत्रहरूमा होसियार हुनुपर्छ?
  • पाप गर्ने प्रलोभनमा नफस्न हामी के गर्न सक्छौँ?
  • होसियार भइरहनुहोस्‌
  • होसियार रहिरहनुका फाइदाहरू
  • हामी कुइच्छाहरूलाई कसरी वशमा राख्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मानव कमजोरीमाथि विजयी हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रलोभन आइपर्दा कसरी जोगिने?
    ब्यूँझनुहोस्‌!—२०१५
  • बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जुलाई pp. १४-१९

अध्ययन लेख २९

गीत १२१ आत्मसंयम जरुरी

प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌

“प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।”—मत्ति २६:४१.

सिक्न सकिने कुरा

पाप गर्नदेखि र पाप गर्नसम्म पुऱ्‍याउने कदमहरू चाल्नदेखि जोगिन हामीले के गर्नुपर्छ?

१-२. (क) येसुले चेलाहरूलाई कस्तो चेतावनी दिनुभयो? (ख) चेलाहरू किन येसुलाई छोडेर भागे? (चित्रहरू पनि हेर्नुहोस्‌।)

“मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”a (मत्ति २६:४१ख) येसुका यी शब्दहरूबाट हामी त्रुटिपूर्ण छौँ र गल्ती गर्छौँ भन्‍ने कुरा उहाँले राम्ररी बुझ्नुभएको थियो भनेर थाह पाउँछौँ। तर उहाँका ती शब्दहरूमा एउटा चेतावनी पनि पाउँछौँ। हामी आफूमा बढ्‌तै भरोसा राख्नदेखि होसियार हुनुपर्छ। केही घण्टाअघि मात्र चेलाहरूले कुनै पनि हालतमा उहाँलाई छोड्‌नेछैनौँ भनेका थिए। (मत्ति २६:३५) हुनत तिनीहरूको मनसाय राम्रो थियो तर गाह्रो अवस्थामा पर्दा आफूले अठोट गरेअनुसार गर्न त्यत्ति सजिलो हुँदैन भनेर तिनीहरूले बुझेका थिएनन्‌। त्यसैले येसुले तिनीहरूलाई यस्तो चेतावनी दिनुभयो: “प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।”—मत्ति २६:४१क.

२ तर चेलाहरू जागा रहन सकेनन्‌। येसुलाई गिरफ्तार गरिँदा तिनीहरूले के गरे? उहाँसँगै रहिरहे कि डराएर भागे? तिनीहरूले केही समयअघि मात्र येसुलाई कुनै पनि हालतमा छोड्‌नेछैनौँ भनेका थिए तर वास्तवमा तिनीहरू उहाँलाई छोडेर भागे।–मत्ति २६:५६.

चित्रहरूको सँगालो: राती गेत्समनीको बगैँचामा येसु र उहाँका प्रेषितहरू। १. येसु प्रेषितहरूसित कुरा गर्दै हुनुहुन्छ। २. प्रेषितहरू सुतिरहेका छन्‌। ३. येसु पक्राउ पर्नुहुँदा प्रेषितहरू भाग्दै छन्‌।

येसुले चेलाहरूलाई जागा रहिरहन र प्रलोभनमा नफस्न सल्लाह दिनुभयो तर तिनीहरूले उहाँलाई छोडेर भागे (अनुच्छेद १-२ हेर्नुहोस्‌)


३. (क) हामीले आफूमा किन बढ्‌तै भरोसा राख्नु हुँदैन? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हामीले आफूमा बढ्‌तै भरोसा राख्नु हुँदैन। हो, हामी यहोवालाई अप्रसन्‍न तुल्याउने कुनै पनि कुरा गर्न चाहँदैनौँ। तर हामी त्रुटिपूर्ण छौँ र हामीमा गलत कुरा गर्ने झुकाव छ। अनि कहिलेकाहीँ गलत काम गर्ने प्रलोभन अचानक आइपर्न सक्छ। (रोमी ५:१२; ७:२१-२३) त्यस्तो बेला पनि हामी यहोवा र येसुप्रति वफादार रहन चाहन्छौँ। त्यसैले येसुले भन्‍नुभएझैँ हामी पाप गर्ने प्रलोभनमा फस्नदेखि होसियार हुनै पर्छ। यस लेखले हामीलाई होसियार रहन मदत गर्नेछ। सर्वप्रथम, हामी कस्ता क्षेत्रहरूमा होसियार हुनुपर्छ भनेर विचार गर्नेछौँ। त्यसपछि हामी कसरी होसियार रहन सक्छौँ, त्यो छलफल गर्नेछौँ। अनि अन्तमा हामी कसरी होसियार रहिरहन सक्छौँ, विचार गर्नेछौँ।

हामी कस्ता क्षेत्रहरूमा होसियार हुनुपर्छ?

४-५. सानोजस्तो देखिने पाप गर्नदेखि पनि हामी किन होसियार हुनुपर्छ?

४ सानोजस्तो देखिने पापले पनि यहोवासितको हाम्रो सम्बन्धलाई कमजोर बनाउन सक्छ। अनि त्यसले हामीलाई गम्भीर पाप गर्ने हदसम्म पुऱ्‍याउन सक्छ।

५ हामी सबैलाई पाप गर्ने प्रलोभन आइपर्छ। कसैलाई एउटा किसिमको प्रलोभन तिरस्कार गर्न गाह्रो हुन्छ भने अर्को व्यक्‍तिलाई अर्कै किसिमको। कुनै व्यक्‍तिलाई गम्भीर पाप गर्ने प्रलोभन आइपर्न सक्छ। जस्तै: अवैध यौनसम्बन्ध राख्ने। अरू कसैलाई भने अशुद्ध आचरणमा संलग्न हुने प्रलोभन आइपर्न सक्छ। जस्तै: हस्तमैथुन गर्ने वा अश्‍लील सामग्री हेर्ने। अरू कतिपयले भने मानिसको डरको पासोमा नफस्न, घमन्डी सोचाइ नराख्न र झनक्क नरिसाउन कडा सङ्‌घर्ष गरिरहेका हुन सक्छन्‌। याकुबले भनेझैँ “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ।”—याकु. १:१४.

६. हामीले कुन कुरा इमानदार भई स्विकार्नुपर्छ?

६ तपाईँलाई चाहिँ कस्ता प्रलोभनहरू तिरस्कार गर्न गाह्रो लाग्छ? आफ्ना कमजोरीहरू नस्विकार्नु अनि आध्यात्मिक रूपमा बलियो भएकोले आफूबाट कुनै गल्ती हुँदैन भन्‍ने सोचाइ राख्नु खतरनाक हुन्छ। (१ युह. १:८) त्यसैकारण त पावलले “आध्यात्मिक रूपमा परिपक्व” व्यक्‍तिहरूसमेत होसियार भएनन्‌ भने प्रलोभनमा फस्न सक्छन्‌ भने। (गला. ६:१) हामी आफूसित इमानदार हुनुपर्छ र आफ्ना कमजोरीहरू स्विकार्नै पर्छ।—२ कोरि. १३:५.

७. कुनै-कुनै क्षेत्रमा हामीले किन अझ धेरै प्रयास गर्नुपर्छ? एउटा उदाहरण बताउनुहोस्‌।

७ आफूलाई कस्ता प्रलोभनहरू तिरस्कार गर्न गाह्रो लाग्छ भनेर थाह पाइसकेपछि हामीले के गर्नुपर्छ? ती प्रलोभनहरूमा नफस्न हामीले अझ धेरै प्रयास गर्नुपर्छ। उदाहरणको लागि, बाइबलकालीन समयमा सहरहरू चारैतिर पर्खालले घेरिएका हुन्थे। तर शत्रुहरू ती पर्खालहरूमा भएका ढोकाहरूबाट सजिलै भित्र छिर्न सक्थे। त्यसैले ढोकाहरूमा थुप्रै पहरेदारले पहरा दिइरहेका हुन्थे। त्यसरी नै हामीले पनि आफूलाई तिरस्कार गर्न गाह्रो लाग्ने प्रलोभनहरूबारे थाह पाएपछि त्यसमा नफस्न अझ धेरै प्रयास गर्नुपर्छ।—१ कोरि. ९:२७.

पाप गर्ने प्रलोभनमा नफस्न हामी के गर्न सक्छौँ?

८-९. हितोपदेश अध्याय ७ मा बताएको केटा गम्भीर पापमा फस्नदेखि कसरी जोगिन सक्थ्यो? (हितोपदेश ७:८-१०, १३, १४, २१)

८ हितोपदेश अध्याय ७ मा बताइएको केटाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ, विचार गरौँ। उसले एउटी छाडा आइमाईसित अवैध यौनसम्बन्ध राख्यो। के ऊ “अचानक” त्यस्तो अवस्थामा परेको थियो? पद २२ भन्दा अघिका पदहरू हेर्ने हो भने उसले एकपछि अर्को गर्दै चालेको मूर्ख कदमले गर्दा ऊ त्यस्तो अवस्थामा पुगेको थियो।

९ ती कदमहरू के-के थिए? साँझ पर्दै जाँदा “त्यो केटा त्यस आइमाईको घरनजिकैको चोकमा पुग्यो अनि त्यहाँबाट ऊ सरासर त्यस आइमाईको घरतिर लाग्यो।” (हितोपदेश ७:८-१० पढ्‌नुहोस्‌।) त्यस आइमाईलाई देखेपछि ऊ फनक्क फर्केर आफ्नो घर जान सक्थ्यो तर उसले त्यसो गरेन। अनि त्यस आइमाईले म्वाइँ खान खोज्दा उसले केही नाइँ नास्ति गरेन। त्यसले मेलबलि चढाएको कुरा बताउँदा पनि ऊ सुनेर बसिरह्‍यो। सायद त्यस आइमाईले मेलबलिबारे कुरा गरेर आफू नराम्रो मान्छे होइन भन्‍ने भान पार्न खोज्दै थिई। (हितोपदेश ७:१३, १४, २१ पढ्‌नुहोस्‌।) यदि त्यस केटाले यस्ता मूर्ख कदमहरू नचालेको भए ऊ प्रलोभनमा फस्ने थिएन र पाप गर्ने हदसम्म पुग्ने थिएन।

१०. कुनै व्यक्‍ति कसरी हितोपदेशमा बताइएको केटाजस्तै गम्भीर पाप गर्न पुग्न सक्छन्‌?

१० हितोपदेशको यस विवरणले यहोवाको उपासना गर्ने जो-कोही पनि पाप गर्ने प्रलोभनमा फस्न सक्ने सम्भावना हुन्छ भनेर देखाउँछ। गम्भीर पाप गर्ने व्यक्‍तिलाई सबै कुरा “अचानक” भयो जस्तो लाग्न सक्छ। तिनले यसो भन्‍न सक्छन्‌: “सबै कुरा यत्ति छिटो भयो कि मैले सोच्ने मौकै पाइनँ।” तर वास्तवमा राम्ररी सोच्ने हो भने आफूले चालेका गलत कदमहरूले गर्दा त्यस्तो पाप गर्न पुगेको हुँ भनेर तिनले थाह पाउने थिए। जस्तै: तिनले खराब साथी-सङ्‌गत रोजेका हुन सक्छन्‌। हानिकारक मनोरञ्जन छानेका हुन सक्छन्‌। साक्षीहरूलाई नसुहाउने वेबसाइट हेरेका वा प्रलोभनमा फस्न सक्ने ठाउँहरूमा गएका हुन सक्छन्‌। सायद तिनले प्रार्थना गर्न, बाइबल पढ्‌न, सभा जान वा साक्षीकार्यमा भाग लिन छोडेका हुन सक्छन्‌। हितोपदेशमा बताइएको केटाजस्तै तिनी पनि एकपछि अर्को गर्दै मूर्ख कदम चालेकोले नै पापमा फसेका हुन सक्छन्‌।

११. हामी पापमा फस्नदेखि कसरी जोगिन सक्छौँ?

११ हाम्रो लागि पाठ? हामी पाप गर्नदेखि मात्र होइन, त्यस पापसम्म डोऱ्‍याउने कदमहरू चाल्नदेखि पनि जोगिनुपर्छ। सुलेमानले त्यो केटा र आइमाईबारे बताएपछि यसो भने: “बरालिएर त्यसको बाटोमा नजाऊ।” (हितो. ७:२५) तिनले “त्यस आइमाईबाट टाढै बस; त्यसको घरको छेउमा समेत नजाऊ” पनि भने। (हितो. ५:३, ८) हो, हामी पापमा फस्नदेखि जोगिन त्यस पापसम्म डोऱ्‍याउने परिस्थितिहरूदेखि टाढै बस्नुपर्छ।b कुनै-कुनै कुरा बाइबलमा निषेध गरिएको छैन होला तर त्यसले पाप गर्ने हदसम्म पुऱ्‍याउँछ भने हामी त्यस्तो कुरा गर्नदेखि पनि टाढै रहनुपर्छ।—मत्ति ५:२९, ३०.

१२. अय्युबले कस्तो सङ्‌कल्प गरेका थिए र त्यसले तिनलाई प्रलोभनमा फस्नदेखि कसरी जोगाउने थियो? (अय्युब ३१:१)

१२ पाप गर्नतर्फ डोऱ्‍याउने परिस्थितिहरूदेखि जोगिन हामीले दृढ सङ्‌कल्प गर्नुपर्छ। अय्युबले पनि त्यसै गरेका थिए। तिनले ‘आफ्नो आँखासित कुनै केटीलाई अनुचित नजरले नहेर्ने वाचा बाँधे।’ (अय्युब ३१:१ पढ्‌नुहोस्‌।) यस्तो सङ्‌कल्पले तिनलाई व्यभिचार गर्ने प्रलोभनमा फस्नदेखि जोगाउने थियो। हामीले पनि प्रलोभनमा पार्न सक्ने कुराहरूदेखि टाढै रहने सङ्‌कल्प गर्नुपर्छ।

१३. हामीले किन आफ्नो सोचाइलाई जोगाउनुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१३ हामीले आफ्नो सोचाइलाई पनि जोगाउनुपर्छ। (प्रस्थ. २०:१७) कसै-कसैको विचारमा कुइच्छाहरू मनमा खेलाउनुमा कुनै खराबी छैन। तिनीहरूलाई ‘हामीले गलत काम पो गर्नु हुँदैन’ जस्तो लाग्छ। तर यस्तो सोचाइ सरासर गलत हो। हामीले मनमा कुइच्छा खेलायौँ भने त्यस्तो इच्छा झनै प्रबल हुन्छ अनि त्यसको प्रतिरोध गर्न हामीलाई झनै गाह्रो हुन्छ। हुनत कहिलेकाहीँ हाम्रो दिमागमा गलत सोचाइहरू आउँछन्‌। तर हामीले त्यस्ता सोचाइहरू तुरुन्तै हटाउनुपर्छ र त्यसको ठाउँमा असल कुराहरू भर्नुपर्छ। यसो गऱ्‍यौँ भने हामी गम्भीर पापमा फस्नदेखि जोगिनेछौँ।—फिलि. ४:८; कल. ३:२; याकु. १:१३-१५.

चित्रहरूको सँगालो: १. एक भाइ राती टिभी हेर्दै छन्‌। २. तिनी महिला सहकर्मीलाई नराम्रो नजरले हेर्दै छन्‌। ३. तिनी र ती सहकर्मी बारमा रक्सी पिउँदै छन्‌।

प्रलोभनमा फस्न सक्ने जुनसुकै कुरादेखि हामी टाढै रहनुपर्छ (अनुच्छेद १३ हेर्नुहोस्‌)


१४. प्रलोभनमा नफस्न हामी अरू के गर्न सक्छौँ?

१४ प्रलोभनमा नफस्न हामी अरू के गर्न सक्छौँ? यहोवाको आज्ञा पालन गर्दा सधैँ हाम्रै हित हुन्छ भन्‍ने कुरामा हामी पूर्णतया विश्‍वस्त हुनुपर्छ। कहिलेकाहीँ आफ्नो सोचाइ र इच्छालाई यहोवाले चाहनुहुने किसिमको बनाउन असाध्यै गाह्रो हुन सक्छ। तर हामीले उहाँको इच्छाअनुसार गर्न सक्दो कोसिस गऱ्‍यौँ भने हाम्रो मनमा शान्ति छाउनेछ र हामी खुसी हुनेछौँ।

१५. उचित इच्छाहरू विकास गर्दा हामी प्रलोभनमा फस्नदेखि कसरी जोगिन सक्छौँ?

१५ हामीले उचित इच्छाहरू विकास गर्नुपर्छ। हामीले ‘खराब कुरालाई घृणा गर्न र असल कुरालाई प्रेम गर्न’ सिक्यौँ भने असल काम गर्ने हाम्रो सङ्‌कल्प बलियो हुन्छ। (आमो. ५:१५) साथै पापतर्फ डोऱ्‍याउन सक्ने अवस्थाहरूबाट हामी टाढै रहन सक्नेछौँ। उचित इच्छाहरू विकास गरेका छौँ भने अचानक हामीले सोच्दै नसोचेको प्रलोभन आइपर्दा पनि त्यसको प्रतिरोध गर्न सक्नेछौँ।

१६. आध्यात्मिक गतिविधिमा व्यस्त रहँदा हामीलाई कस्तो फाइदा हुन्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१६ हामी कसरी उचित इच्छाहरू विकास गर्न सक्छौँ? हामी आध्यात्मिक गतिविधिमा व्यस्त रहनुपर्छ। सभाहरूमा बसिरहेको बेला वा साक्षीकार्यमा भाग लिइरहेको बेला हामी यहोवालाई कसरी खुसी बनाउन सक्छौँ भन्‍ने कुरामा ध्यान दिइरहेका हुन्छौँ र त्यस्तो बेला गलत काम गर्ने प्रलोभनमा फस्ने सम्भावना कम हुन्छ। (मत्ति २८:१९, २०; हिब्रू १०:२४, २५) बाइबल पढ्यौँ अनि गहिरिएर अध्ययन र मनन गऱ्‍यौँ भने सही कुराप्रतिको प्रेम अझ बलियो हुनेछ र खराब कुरालाई अझ धेरै घृणा गर्न सक्नेछौँ। (यहो. १:८; भज. १:२, ३; ११९:९७, १०१) येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको कुरा पनि नबिर्सनुहोस्‌: “प्रलोभनमा नपर्न तिमीहरू . . . प्रार्थना गरिरहो।” (मत्ति २६:४१) हामीले यहोवा बुबासित प्रार्थनामा धेरै समय बितायौँ भने उहाँको मदत मागिरहेका हुन्छौँ र उहाँलाई खुसी बनाउने हाम्रो सङ्‌कल्पलाई पनि बलियो बनाइरहेका हुन्छौँ।—याकु. ४:८.

राम्रो आध्यात्मिक तालिकाले हामीलाई प्रलोभनहरू तिरस्कार गर्ने बल दिन्छ (अनुच्छेद १६ हेर्नुहोस्‌)c


होसियार भइरहनुहोस्‌

१७. पत्रुसले कुन कमजोरी हटाउन सङ्‌घर्ष गरिरहनुपऱ्‍यो?

१७ कुनै-कुनै कमीकमजोरीलाई हामी पूरै हटाउन सक्छौँ होला। तर कुनै-कुनै गलत झुकावविरुद्ध भने हामीले लामो समयसम्म सङ्‌घर्ष गरिरहनुपर्ने हुन सक्छ। प्रेषित पत्रुसलाई के भएको थियो, विचार गरौँ। मानिसहरूको डरको पासोमा परेर तिनले येसुलाई तीन-तीन चोटि इन्कार गरे। (मत्ति २६:६९-७५) हुनत पत्रुसले यहुदी न्यायपरिषद्‌सामु निडर भई साक्षी दिँदा मानिसको डर हटाइसकेका थिए जस्तो देखिन्छ। (प्रेषि. ५:२७-२९) तर केही वर्षपछि तिनी “खतना भएका मानिसहरूसित डराएर” अन्यजातिका ख्रिष्टियनहरूसँगै बसेर खान छोडे। (गला. २:११, १२) यस घटनाबाट पत्रुस फेरि मानिसहरूको डरको पासोमा परे भनेर देखिन्छ। त्यसैले हुन सक्छ, तिनको मनबाट मानिसहरूको डर पूर्ण रूपमा कहिल्यै हटेन।

१८. कुनै-कुनै गलत झुकावविरुद्ध हामीले किन सङ्‌घर्ष गरिरहनुपर्छ?

१८ कुनै-कुनै कमीकमजोरी हटाउन हामीले पनि त्यस्तै सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। किन? किनभने त्यस्ता कमीकमजोरी हामीले पूरै हटाइसक्यौँ जस्तो लागे तापनि बेलाबेलामा त्यही कमीकमजोरी फेरि देखा पर्न सक्छ। एक जना भाइ यसो भन्छन्‌: “मैले अश्‍लील सामग्री हेर्न छोडेको १० वर्ष भइसकेको थियो र त्यो प्रलोभनलाई सजिलै इन्कार गर्न सक्छु भनेर ढुक्क थिएँ। तर मेरो मनमा त्यो कुइच्छा अझै लुकेर बसेको रहेछ। त्यसैले कुनै-कुनै अवस्थामा अश्‍लील सामग्री हेर्न सकसक लागिरहन्थ्यो।” तर खुसीको कुरा, ती भाइले हार मानेनन्‌। त्यो प्रलोभनमा नफस्न आफूले हरेक दिन कडा सङ्‌घर्ष गर्नुपर्नेछ र सायद यस दुष्ट संसार रहुन्जेल जिन्दगीभर प्रयास गरिरहनुपर्छ भनेर तिनले बुझे। तिनले आफ्नी पत्नी र एल्डरहरूको मदत पाएर अश्‍लील सामग्री हेर्ने प्रलोभनमा नफस्न अझ ठोस कदम चाले।

१९. बेलाबेलामा देखा पर्ने कमीकमजोरीको वशमा नपर्न हामी के गर्न सक्छौँ?

१९ बेलाबेलामा देखा पर्ने कमीकमजोरीको वशमा नपर्न हामी के गर्न सक्छौँ? हामी येसुले भन्‍नुभएझैँ ‘जागा रहिरहनुपर्छ।’ आफ्नो कमीकमजोरीलाई वशमा राख्न सक्छु जस्तो लागेको बेला पनि पाप गर्नतर्फ डोऱ्‍याउन सक्ने अवस्थाहरूदेखि टाढै रहनुहोस्‌। (१ कोरि. १०:१२) आफ्ना कमीकमजोरीसित सङ्‌घर्ष गर्न तपाईँलाई जुन कुराहरूले मदत गरेको थियो, ती कुराहरू गरिरहनुहोस्‌। हितोपदेश २८:१४ भन्छ: “त्यो मानिस आनन्दित हो, जो सधैँ सचेत रहन्छ।”—२ पत्रु. ३:१४.

होसियार रहिरहनुका फाइदाहरू

२०-२१. (क) प्रलोभनमा फस्नदेखि होसियार भइरह्‍यौँ भने हामीलाई कस्तो फाइदा हुन्छ? (ख) हामीले आफ्नो तर्फबाट प्रयास गऱ्‍यौँ भने यहोवाले के गर्नुहुनेछ? (२ कोरिन्थी ४:७)

२० प्रलोभनको वशमा नपर्न हामीले गर्ने जस्तोसुकै प्रयास खेर जानेछैन। “पापको क्षणिक सुखभोग” गर्नुभन्दा यहोवाको स्तरअनुसार जीवन बिताउने छनौट गर्दा हामी कता हो कता आनन्दित हुन सक्छौँ। (हिब्रू ११:२५; भज. १९:८) किनभने हामी उहाँको स्तरअनुसार जीवन बिताउँदा आनन्दित हुन सक्ने किसिमले बनाइएका छौँ। (उत्प. १:२७) उहाँलाई खुसी बनाउने तरिकामा जीवन बितायौँ भने हाम्रो अन्तस्करण सफा हुनेछ र भविष्यमा अनन्त जीवनको इनाम पाउनेछौँ।—१ तिमो. ६:१२; २ तिमो. १:३; यहु. २०, २१.

२१ हो, हाम्रो ‘शरीर कमजोर छ।’ तर यसको मतलब प्रलोभनमा नफस्न हामी केही पनि गर्न सक्दैनौँ भन्‍ने होइन। यहोवा हामीलाई चाहिने शक्‍ति दिन सधैँ तयार हुनुहुन्छ। (२ कोरिन्थी ४:७ पढ्‌नुहोस्‌।) उहाँले हामीलाई दिनुहुने शक्‍ति भनेको असाधारण शक्‍ति हो। त्यसोभए साधारण शक्‍ति भनेको के हो? साधारण शक्‍ति भनेको हामीले प्रलोभनमा नफस्न दिनदिनै आफ्नो तर्फबाट गर्ने प्रयास हो। त्यसरी प्रयास गरेका छौँ भने मात्र प्रलोभनमा नफस्न अझ शक्‍ति दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्दा उहाँले हामीलाई असाधारण शक्‍ति दिनुहुनेछ। (१ कोरि. १०:१३) हो, यहोवाको मदत पाएर हामी प्रलोभनमा फस्नदेखि होसियार रहिरहन सक्छौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • प्रलोभनमा फस्नदेखि जोगिन हामी कस्ता क्षेत्रहरूमा होसियार हुनुपर्छ?

  • प्रलोभनमा फस्नदेखि हामी कसरी होसियार रहन सक्छौँ?

  • हामी किन होसियार रहिरहनुपर्छ?

गीत ४७ यहोवालाई हरदिन पुकारौँ!

a थप व्याख्या: मत्ति २६:४१ मा प्रयोग गरिएको “मन” शब्दले सही कुरा गर्ने हाम्रो इच्छुकतालाई बुझाउँछ। अनि “शरीर” शब्दले हाम्रो त्रुटिपूर्ण अवस्थालाई बुझाउँछ। त्यसैले होसियार भएनौँ भने कहिलेकाहीँ सही कुरा गर्न चाहँदा-चाहँदै पनि हामी प्रलोभनमा फस्न सक्छौँ।

b गम्भीर पाप गरेको व्यक्‍तिले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ५७, बुँदा १-३ र प्रहरीधरहरा, नोभेम्बर २०२०, पृ. २७-२९, अनु. १२-१७ को “‘सीधा अगाडि’ भविष्यतर्फ हेर्नुहोस्‌” भन्‍ने लेखबाट मदत पाउन सक्छन्‌।

c चित्रको व्याख्या: एक भाइ बिहान दैनिक पद पढ्‌छन्‌, खाना खाने ब्रेकमा बाइबल पढ्‌छन्‌ र साँझ मध्यहप्ताको सभामा जान्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने