प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 फेब्रुअरी pp. १३-१७
  • यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उनले वफादार प्रेम देखाइन्‌
  • हुर्केको वातावरण जस्तोसुकै भए पनि “तिनी परमप्रभुका भक्‍त भइरहे”
  • उनले भनिन्‌: “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ”
  • “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • रूथको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “तिमी गुणवती छौ”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 फेब्रुअरी pp. १३-१७
ओर्पा फर्के पनि रूथले चाहिं नाओमीलाई छोड्‌दिनन्‌

यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्‌

“उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठता रहन्छ।” —भज. २५:१४.

गीत: १०६, ११८

हामीले के सिक्यौं?

  • रूथले परमेश्‍वरसित गाँसेको मित्रताबाट हामी के सिक्न सक्छौं?

  • राजा हिजकियाह कसरी यहोवाको घनिष्ठ मित्र बन्‍न सके?

  • कस्ता गुणहरूले गर्दा येशूकी आमा मरियम यहोवाको मित्र बन्‍न सकिन्‌?

१-३. (क) हामी परमेश्‍वरको मित्र बन्‍न सक्छौं भनेर कसरी पक्का हुन सक्छौं? (ख) यस लेखमा हामी क-कसको बारेमा छलफल गर्नेछौं?

अब्राहामलाई परमेश्‍वरको मित्र भनेर बाइबलमा तीन पटक उल्लेख गरिएको छ। (२ इति. २०:७; यशै. ४१:८; याकू. २:२३) बाइबलमा त्यसरी सम्बोधन गरिएको एक मात्र वफादार पुरुष अब्राहाम हुन्‌। त्यसोभए, अब्राहामबाहेक अरू कोही पनि यहोवाको मित्र बन्‍न सक्दैन त? त्यसो होइन। वास्तवमा हामी सबै जना यहोवाको मित्र बन्‍न सक्छौं भन्‍ने कुरा बाइबलबाट स्पष्ट हुन्छ।

२ यहोवाको डर मानेका, उहाँलाई विश्‍वास गरेका र उहाँको घनिष्ठ मित्र बनेका थुप्रै वफादार पुरुष तथा स्त्रीबारे बाइबलमा उल्लेख गरिएको छ। (भजन २५:१४ पढ्‌नुहोस्‌) जस्तै: प्रेषित पावलले “साक्षीहरूको . . . बाक्लो बादल”-बारे लेखे। तिनले उल्लेख गरेका ती सबै मानिस वास्तवमा यहोवाका मित्र थिए। (हिब्रू १२:१) अनि तिनीहरू हरेकको आ-आफ्नै विशेषता थियो।

३ अब हामी बाइबलमा उल्लेख गरिएका यहोवाका तीन जना घनिष्ठ मित्रबारे छलफल गरौं। ती हुन्‌: (१) युवावस्थामै विधवा भएकी वफादार स्त्री रूथ; (२) परमेश्‍वरको स्तरअनुसार चलेका यहूदाका राजा हिजकियाह र (३) नम्रता देखाएकी येशूकी आमा मरियम। यहोवासित घनिष्ठ मित्रता गाँस्न ती पुरुष तथा स्त्रीले गरेको प्रयासबाट हामी के सिक्न सक्छौं?

उनले वफादार प्रेम देखाइन्‌

४, ५. रूथले कस्तो निर्णय गर्नुपर्ने थियो? त्यो निर्णय गर्न उनलाई किन सजिलो थिएन? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

४ तीन जना स्त्री मोआबको खुला मैदानमा हिंडिरहेका छन्‌। हावाको झोक्काले उनीहरूको लुगा फरफराइरहेको छ। इस्राएल पुग्न लामो दूरी पार गर्न बाँकी नै छ। ती स्त्रीहरू नाओमी अनि तिनकी दुई बुहारी रूथ र ओर्पा हुन्‌। केही पर पुगेपछि ओर्पा आफ्नै माइत फर्कन्छिन्‌। तर नाओमी भने आफ्नो जन्मभूमि इस्राएल फर्कन अडिग छिन्‌। यतिबेला रूथले जीवनकै सबैभन्दा ठूलो निर्णय गर्नुपरेको छ। त्यो हो, मोआबमा आफ्नै मानिसहरूसित बस्ने कि आफ्नी सासू नाओमीसँगै बेतलेहेम जाने।—रूथ १:१-८, १४.

५ आफ्नो माइती खलक मोआबमै भएकोले रूथले त्यहीं बस्ने निर्णय गर्न सक्थिन्‌। त्यहाँ उनले आमाको ममता र आफन्तहरूको साथ पाउने थिइन्‌। अनि अर्को कुरा, उनी हुर्केबढेको ठाउँ पनि मोआब नै थियो। त्यहाँको रहनसहन उनको आफ्नै रहनसहन थियो, त्यहाँको भाषा उनको आफ्नै भाषा थियो र त्यहाँका मानिसहरू उनका आफ्नै मानिसहरू थिए। तर बेतलेहेम गएपछि नाओमीले उनलाई यी सबै कुरा दिन सक्ने थिइनन्‌। त्यसैले तिनले रूथलाई मोआबमै बस्न सल्लाह दिइन्‌। वास्तवमा भन्‍ने हो भने, आफ्ना बुहारीहरूले जीवनभर साथ दिने श्रीमान्‌ र बस्ने घर नपाउने हुन्‌ कि भनेर नाओमीलाई चिन्ता लागेको थियो। तर रूथले के गरिन्‌? ओर्पाले “आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर” जाने निर्णय गरे पनि उनले भने त्यस्तो निर्णय गरिनन्‌।—रूथ १:९-१५.

६. (क) रूथले कस्तो बुद्धिमानी निर्णय गर्न सकिन्‌? (ख) रूथले यहोवाको छत्रछायामा शरण लिइन्‌ भनेर बोअजले के भन्‍न खोजिरहेका थिए?

६ सम्भवतः रूथले आफ्ना श्रीमान्‌ वा नाओमीबाट यहोवा परमेश्‍वरको विषयमा सुनेकी थिइन्‌। यहोवा मोआबी देवताहरूजस्तो होइन भनेर रूथलाई थाह थियो। आफूले उपासना गर्नुपर्ने र प्रेम गर्नुपर्ने परमेश्‍वर यहोवा मात्र हो भनेर उनले बुझेकी थिइन्‌। तर उनीसित यस्तो ज्ञान भएर मात्र पुग्दैनथ्यो; त्यसैअनुसार निर्णय पनि गर्नुपर्थ्यो। के उनले यहोवालाई नै आफ्नो परमेश्‍वरको रूपमा स्वीकार्ने थिइन्‌? उनले नाओमीलाई यसो भनिन्‌: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१६) हो, रूथले बुद्धिमानी निर्णय गरिन्‌। उनी आफ्नी सासू नाओमीलाई असाध्यै माया गर्थिन्‌ भन्‍ने कुरा विचार गर्दा हाम्रो मनै छुन्छ। तर त्योभन्दा पनि ठूलो कुरा, उनी यहोवालाई माया गर्थिन्‌। रूथले यहोवाको छत्रछायामा अर्थात्‌ उहाँको पखेटामा शरण लिएकोले पछि बोअजले उनको प्रशंसा गरे। (रूथ २:१२ पढ्‌नुहोस्‌) हो, बचेराहरू सुरक्षाको लागि माउ चराको पखेटामुनि लुक्न गएजस्तै रूथले पनि यहोवामा शरण लिइन्‌। (भज. ३६:७; ९१:१-४) यहोवाले पनि त्यसरी नै उनलाई सुरक्षा दिनुभयो र उनको विश्‍वासको लागि इनाम पनि दिनुभयो। आफूले गरेको निर्णयले गर्दा रूथले कहिल्यै पुर्पुरोमा हात राख्नु परेन।

७. यहोवालाई जीवन समर्पण गर्न हच्किरहेकाहरूलाई केले मदत गर्न सक्छ?

७ थुप्रैले यहोवाको विषयमा ज्ञान त लिन्छन्‌ तर उहाँमा शरण लिन भने हच्किन्छन्‌। उनीहरू बप्तिस्मा गरेर यहोवालाई जीवन समर्पण गर्नदेखि पछि हट्‌छन्‌। तपाईं पनि यहोवालाई जीवन समर्पण गर्न आनाकानी गर्दै हुनुहुन्छ भने त्यसको कारण बुझ्ने कोसिस गर्नुहोस्‌। सबै जनाले कुनै न कुनै ईश्‍वरको उपासना गर्छन्‌। (यहो. २४:१५) तर साँचो परमेश्‍वर यहोवाको सेवा गर्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हो। यहोवालाई आफ्नो जीवन समर्पण गरेर तपाईंले उहाँलाई विश्‍वास गरेको देखाउन सक्नुहुन्छ। अनि विभिन्‍न चुनौती पार गर्दै आफ्नो निर्णयअनुसार जीवन बिताउन उहाँ आफैले पनि तपाईंलाई मदत दिनुहुनेछ। यहोवाले रूथलाई पनि त्यसरी नै मदत गर्नुभयो।

हुर्केको वातावरण जस्तोसुकै भए पनि “तिनी परमप्रभुका भक्‍त भइरहे”

८. हिजकियाह कस्तो वातावरणमा हुर्केका थिए?

८ युवा हिजकियाहको अवस्था रूथको भन्दा फरक थियो। तिनी यहोवामा समर्पित राष्ट्र इस्राएलमा जन्मेका थिए। तर इस्राएलीहरूमध्ये धेरैजसोले समर्पणअनुसार जीवन बिताएनन्‌। तीमध्ये एक जना त हिजकियाहका आफ्नै बुबा राजा आहाज थिए। ती दुष्ट राजाले यहूदा राज्यका मानिसहरूलाई मूर्तिपूजा गर्न उक्साए। साथै, उनले यरूशलेममा भएको मन्दिर अपवित्र तुल्याए। सानो छँदा हिजकियाहका केही दाइहरूलाई झूटा देवताहरूको लागि जिउँदै आगोमा बलि चढाइएको थियो। सोच्नुहोस्‌ त, हिजकियाहको बाल्यकाल कसरी बित्यो होला!—२ राजा १६:२-४, १०-१७; २ इति. २८:१-३.

९, १०. (क) कुन कारणले गर्दा हिजकियाह रिसाहा वा विद्रोही स्वभावको हुन सक्थे? (ख) हामी किन यहोवासित रिसाउनु हुँदैन? (ग) हामी पछि कस्तो व्यक्‍ति बन्‍ने भन्‍ने कुरा पारिवारिक वातावरणले निर्धारण गर्दैन, किन?

९ हिजकियाह हुर्केको वातावरणलाई विचार गर्दा तिनी सजिलै रिसाहा र विद्रोही स्वभावको व्यक्‍ति बन्‍ने सम्भावना थियो। आज पनि जीवनमा विभिन्‍न उतारचढाव सामना गरेकाहरूले आफूले “परमप्रभुको विरुद्धमा असन्तोष प्रकट” गर्नु वा उहाँसँग रिसाउनु स्वाभाविकै हो भन्‍ने सोचाइ राख्छन्‌। (हितो. १९:३) अरू कसै-कसैले चाहिं परिवारको वातावरणले गर्दा खराब जीवनशैली बिताउन र आमाबुबाले गरेको गल्ती दोहोऱ्‍याउन बाध्य भएको कुरा बताउँछन्‌। (इज. १८:२, ३) के त्यस्तो धारणा सही हो?

१० त्यस्तो धारणा सही होइन भन्‍ने कुरा हामी हिजकियाहको विवरणबाट थाह पाउन सक्छौं। यहोवासित रिसाउनुपर्ने कुनै कारण हामीसित छैन किनकि यो दुष्ट संसारमा मानिसहरूले भोग्नुपरेको समस्याहरूको दोषी यहोवा पटक्कै हुनुहुन्‍न। (अय्यू. ३४:१०) हुन त केही हदसम्म आमाबुबाको कारण छोराछोरीमा राम्रो वा नराम्रो प्रभाव पर्छ। (हितो. २२:६; कल. ३:२१) तर यसको अर्थ कुनै व्यक्‍ति पछि गएर कस्तो बन्‍ने भन्‍ने कुरा पारिवारिक वातावरणले निर्धारण गर्छ भन्‍ने होइन। बरु यहोवाले हामी प्रत्येकलाई एउटा अनमोल उपहार दिनुभएको छ। त्यो हो, के सही र के गलत भनेर छुट्ट्याउन सक्ने क्षमता। (व्यव. ३०:१९) हिजकियाहले यहोवाबाट पाएको त्यस्तो उपहारको कसरी सदुपयोग गरे?

परिवार घरमै आराम गर्दै गर्दा जवान भाइचाहिं सभा जाने तयारी गर्छन्‌

पारिवारिक वातावरण जस्तोसुकै भए पनि थुप्रै युवायुवतीले बाइबलमा पाइने सत्य कुरा स्वीकारेका छन्‌ (अनुच्छेद ९, १० हेर्नुहोस्‌)

११. हिजकियाह यहूदाका राजाहरूमध्ये असल हुनुको कारण के थियो?

११ आफ्नो बुबा आहाज खराब राजाहरूमध्येका भए तापनि हिजकियाह चाहिं असल राजा बने। (२ राजा १८:५, ६ पढ्‌नुहोस्‌) तिनले आफ्नो बुबाको अनुकरण गरेको भए तिनी पनि खराबै हुन सक्थे। तर तिनले असल व्यक्‍तिहरूको अनुकरण गरे। त्यतिबेला यशैया, मीका र होशेजस्ता व्यक्‍तिहरूले भविष्यवक्‍ताको काम गरिरहेका थिए। राजा हिजकियाहले ती वफादार पुरुषहरूले गरेको भविष्यवाणी मनमा राखेको अनि यहोवाले सल्लाह दिंदा वा सुधार गर्नुपर्ने कुरा देखाउँदा त्यसैअनुसार गरेको हामी कल्पना गर्न सक्छौं। त्यसैले त तिनी आफ्नो बुबाले गरेको सबै खराब काम सुधार्न लागिपरे। तिनले मन्दिर सफा गरे, मानिसहरूले गरेको पापको लागि बलि चढाए र झूटा देवताहरूको नामोनिसान मेटाउने अभियान नै चलाए। (२ इति. २९:१-११, १८-२४; ३१:१) जीवनमा विभिन्‍न चुनौतीको सामना गर्नुपर्दा तिनले साहस र विश्‍वास देखाए। जस्तै: अश्‍शूरी राजा सनहेरीबले यरूशलेममाथि आक्रमण गर्ने धम्की दिंदा तिनले उद्धारको लागि यहोवाको बाटो हेरे। साथै, सान्त्वना मिल्ने तरिकामा बोलेर अनि राम्रो उदाहरण बसालेर तिनले मानिसहरूलाई बलियो पारे। (२ इति. ३२:७, ८) पछि तिनी अभिमानी हुँदा यहोवाले तिनलाई सुधार्नुभयो। त्यतिबेला तिनले नम्र हुँदै आफ्नो गल्तीको पश्‍चात्ताप गरे। (२ इति. ३२:२४-२६) हो, विगतका तीता अनुभवले गर्दा तिनले आफ्नो वर्तमान र भविष्य बिग्रन दिएनन्‌। बरु तिनी यहोवाको मित्र भइरहे र अरूले पनि अनुकरण गर्नुपर्ने राम्रो उदाहरण बसाले।

१२. हिजकियाहको जस्तै परिस्थितिमा भएका थुप्रैले कसरी यहोवासित मित्रता गाँसेका छन्‌?

१२ अहिले हामी बाँचिरहेको संसार क्रूर र निर्दयी छ। त्यसकारण थुप्रै बालबालिकाले आमाबुबाको माया र सुरक्षा पाएका छैनन्‌। (२ तिमो. ३:१-५) अहिले ख्रीष्टियन बनेका थुप्रै त्यस्तै वातावरणमा हुर्केका थिए तर अहिले तिनीहरूले यहोवासित बलियो मित्रता गाँसेका छन्‌। हिजकियाहले जस्तै तिनीहरूले पनि कुनै व्यक्‍तिको विगतले उसको भविष्य निर्धारण गर्दैन भन्‍ने कुरा प्रमाणित गरेका छन्‌। परमेश्‍वरले हामीलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। हिजकियाहजस्तै यहोवाको भक्‍त भइरहन अनि उहाँको आदर र महिमा गर्न यो उपहार चलाउन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो।

उनले भनिन्‌: “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ”

१३, १४. मरियमले पाएको जिम्मेवारी सजिलो थिएन भनेर किन भन्‍न सक्छौं? उनले गब्रिएललाई कस्तो जवाफ दिइन्‌?

१३ हिजकियाहको समयभन्दा सयौं वर्षपछि नासरतमा बस्ने यहूदी युवतीले यहोवासित विशेष मित्रता गाँसिन्‌। ती नम्र युवतीले पाएको जस्तो जिम्मेवारी अहिलेसम्म कसैले पनि पाएको छैन। तिनले परमेश्‍वरको एक मात्र छोरालाई नौ महिना गर्भमा राख्ने, जन्म दिने र उहाँको पालनपोषण गर्ने सुअवसर पाइन्‌। हेलीकी छोरी मरियमलाई यहोवाले माया गर्नुहुन्थ्यो र उनलाई भरोसा पनि गर्नुहुन्थ्यो। त्यसैले उनलाई त्यस्तो विशेष सम्मान दिनुभयो। तर आफूले पाएको त्यो जिम्मेवारीबारे पहिलो चोटि सुन्दा उनले कस्तो प्रतिक्रिया देखाइन्‌?

मरियमसामु देखा परेका गब्रिएल

“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ” (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

१४ मरियमले पाएको त्यस्तो सुअवसरबारे सोच्दा हामी यसो भन्छौं होला: ‘ओहो! मरियमले कत्ति ठूलो सुअवसर पाइन्‌।’ तर त्यो जिम्मेवारी पूरा गर्दा उनले के-कस्तो चुनौती सामना गर्नुपऱ्‍यो भनेर कहिल्यै विचार गरेका छौं? कुनै पुरुषसित सम्बन्ध नराखे तापनि मरियम चमत्कारपूर्ण तरिकामा गर्भवती हुनेछिन्‌ भन्‍ने सन्देश परमेश्‍वरका दूत गब्रिएलले उनलाई सुनाउँछन्‌। साथै, गब्रिएल आफै गएर मरियमको परिवार र छरछिमेकीलाई उनी गर्भवती हुनुको कारण बताउने पनि थिएनन्‌। मरियमको परिवार र छरछिमेकीले उनलाई कुन नजरले हेर्ने थिए होलान्‌, सोच्नुहोस्‌ त! त्यतिबेला मरियमको यूसुफसित मगनी भइसकेको थियो। त्यसैले आफू गर्भवती भए पनि तिनलाई धोका दिएको छैन भनेर कसरी बुझाउने होला भन्‍ने चिन्ता पनि मरियमलाई लागेको हुनुपर्छ। अर्कोतर्फ, सर्वशक्‍तिमान्‌ परमेश्‍वरको छोरालाई पालनपोषण गर्नु, रेखदेख गर्नु र तालिम दिनु पक्कै पनि सजिलो काम थिएन। गब्रिएलले मरियमसित कुराकानी गरिरहेको बेला उनको मनमा के-कस्ता कुरा खेलिरहेको थियो, सबै कुरा त हामीलाई थाह छैन। तर जेहोस्‌, उनले गब्रिएललाई यस्तो जवाफ दिइन्‌: “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ! तपाईंले घोषणा गर्नुभएअनुसारै मलाई होस्‌।”—लूका १:२६-३८.

१५. मरियमको विश्‍वास बलियो थियो भनेर किन भन्‍न सक्छौं?

१५ मरियमको विश्‍वास कत्ति बलियो! एक जना दासी आफ्नो मालिकले अह्राएको काम गर्न तयार भएझैं मरियम पनि आफ्नो मालिक यहोवाले अह्राउनुभएको काम गर्न तयार भइन्‌। उहाँले नै आफूलाई सुरक्षा दिनुहुनेछ र ख्याल राख्नुहुनेछ भनेर उनी ढुक्क थिइन्‌। यहोवाले चाहनुभएअनुसारै गर्न उनी तयार थिइन्‌। उनको विश्‍वास कसरी त्यत्ति बलियो भयो? विश्‍वास भनेको जन्मजातै पाउने कुरा होइन। यस्तो विश्‍वास आफ्नै प्रयास र यहोवाको आशिष्‌ले गर्दा मात्र पाइन्छ। (गला. ५:२२; एफि. २:८) मरियमले विश्‍वास बलियो बनाउन प्रयास गरेकी थिइन्‌ भन्‍न सकिने के कुनै आधार छ त? पक्कै पनि छ। त्यो कुरा बुझ्न उनले कसरी सुन्थिन्‌ र कस्तो कुरा बोल्थिन्‌, त्यसबारे विचार गरौं।

१६. मरियम चनाखो भई सुन्थिन्‌ भनेर किन भन्‍न सक्छौं?

१६ मरियम कसरी सुन्थिन्‌? बाइबलले हामीलाई “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन” भनेर सल्लाह दिएको छ। (याकू. १:१९) के मरियम चनाखो भई सुन्थिन्‌? लूकाको किताबमा भएको दुइटा विवरणलाई विचार गर्दा उनी आध्यात्मिक कुराहरूमा ध्यान दिन्थिन्‌ र आफूले सुनेका कुराहरूमा मनन गर्न समय निकाल्थिन्‌ जस्तो देखिन्छ। जस्तै: येशू जन्मँदा उहाँलाई भेट्‌न आएका गोठालाहरूले स्वर्गदूतले भनेको सबै कुरा मरियमलाई बताएका थिए। साथै, त्यसको लगभग १२ वर्षपछि बालक येशूले मरियमलाई एउटा छक्कलाग्दो कुरा बताउनुभएको थियो। यी दुइटै अवस्थामा मरियमले ध्यान दिएर सुनिन्‌, सुनेको कुरा मनमा राखिन्‌ र त्यसबारे गहिरिएर विचार गरिन्‌।—लूका २:१६-१९, ४९, ५१ पढ्‌नुहोस्‌।

१७. मरियमले बोलेको कुराबाट हामी उनीबारे के थाह पाउँछौं?

१७ मरियम कस्तो कुरा बोल्थिन्‌? मरियमले बोलेका कुराहरू बाइबलमा त्यत्ति रेकर्ड गरिएको छैन। उनले बोलेको सबैभन्दा लामो विवरण लूका १:४६-५५ मा पाइन्छ। परमेश्‍वरको वचनमा लेखिएका कुराहरू उनलाई राम्ररी थाह थियो भन्‍ने कुरा यस विवरणबाट स्पष्ट हुन्छ। भविष्यवक्‍ता शमूएलकी आमा हन्‍नाले आफ्नो प्रार्थनामा उल्लेख गरेका केही शब्दहरू मरियमले दोहोऱ्‍याएकी छिन्‌। (१ शमू. २:१-१०) मरियमले हिब्रू धर्मशास्त्रबाट २० पटकभन्दा धेरै उद्धरण गरेको जस्तो देखिन्छ। हो, उनी धक नमानी यहोवाको विषयमा कुरा गर्थिन्‌। आफ्नो सबैभन्दा असल मित्र यहोवाबाट सिकेका बहुमूल्य रत्नहरू उनले आफ्नो मनको भण्डारमा समेटेकी थिइन्‌ र ती सत्य कुराहरू अरूलाई दिल खोलेर बाँड्‌थिन्‌।

१८. हामी कसरी मरियमको विश्‍वास अनुकरण गर्न सक्छौं?

१८ मरियमलाई जस्तै हामीलाई पनि यहोवाले अह्राउनुभएको कुनै-कुनै जिम्मेवारी स्वीकार्न गाह्रो लाग्न सक्छ। उनीजस्तै हामी पनि नम्र हुँदै सबै कुरा यहोवाकै हातमा छोडौं र उहाँले सधैं हाम्रै भलो हुने काम गर्नुहुन्छ भनेर भरोसा गरौं। यहोवा र उहाँको उद्देश्‍यबारे सिकिरहेको कुरा ध्यानसित सुनेर, त्यसबारे मनन गरेर अनि आफूले सिकेका कुराहरू अरूलाई खुसीसाथ बताएर हामी मरियमको विश्‍वास अनुकरण गर्न सक्छौं।—भज. ७७:११, १२; लूका ८:१८; रोमी १०:१५.

१९. यहोवालाई विश्‍वास गरेका पुरुष तथा स्त्रीको अनुकरण गऱ्‍यौं भने हामीले इनामस्वरूप के पाउनेछौं?

१९ अब्राहामजस्तै रूथ, हिजकियाह र मरियम पनि यहोवाको मित्र थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तिनीहरू लगायत पावलले उल्लेख गरेका “साक्षीहरूको . . . बाक्लो बादल” अनि हामीभन्दा अघिका थुप्रै वफादार पुरुष तथा स्त्रीले यहोवासित मित्रता गाँस्ने विशेष सुअवसर पाएका थिए। हामी पनि तिनीहरूको विश्‍वास अनुकरण गरिरहन सकौं। (हिब्रू ६:११, १२) त्यसो गर्दा हामीले इनामस्वरूप सधैंभरिको लागि यहोवाको घनिष्ठ मित्र बन्‍ने सुअवसर पाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने