प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 अगस्त pp. १-३२
  • नम्र हुनुहोस्‌ र आफ्नो मर्यादामा रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्र हुनुहोस्‌ र आफ्नो मर्यादामा रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
  • अरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
  • नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी कस्तो लाभ उठाउँछौँ?
  • नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विनम्रता शान्ति बढाउने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “विनयीसित बुद्धि हुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 अगस्त pp. १-३२

अध्ययन लेख ३२

नम्र हुनुहोस्‌ र आफ्नो मर्यादामा रहनुहोस्‌

“मर्यादामा रहेर आफ्ना परमेश्‍वरसित हिँड्‌नू।”—मिका ६:८.

गीत ३१ परमेश्‍वरसित हिँडौँ!

परिचयa

१. दाउदले यहोवाको नम्रताबारे के भने?

यहोवा नम्र हुनुहुन्छ भनेर के हामी साँच्चै भन्‍न सक्छौँ? हो, सक्छौँ। एकचोटि दाउदले यसो भने: “तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ; तपाईँको नम्रताले मेरो मान बढाएको छ।” (२ समु. २२:३६; भज. १८:३५) सायद त्यतिबेला दाउदले भविष्यवक्‍ता समुएल तिनको बुबाको घरमा इस्राएलको भावी राजालाई अभिषेक गर्न आएको दिनबारे सोचिरहेका थिए। दाउद आठ जना दाजुभाइमध्ये कान्छो थिए। तैपनि यहोवाले राजा साउलपछि राजा हुन दाउदलाई नै छान्‍नुभएको थियो।—१ समु. १६:१, १०-१३.

२. हामी यस लेखमा के छलफल गर्नेछौँ?

२ यहोवाबारे यी शब्दहरू लेख्ने भजनरचयितासित दाउद पक्कै पनि सहमत भए होलान्‌: “आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ। उहाँ दीनदुःखीलाई धुलोबाट अनि गरिबलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ ताकि ऊ . . . प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्‌।” (भज. ११३:६-८) यस लेखको सुरुमा यहोवाको उदाहरणबाट नम्र हुनेबारे हामीले सिक्न सक्ने महत्त्वपूर्ण पाठहरूबारे छलफल गर्नेछौँ। त्यसपछि राजा साउल, भविष्यवक्‍ता दानिएल र येसुबाट आफ्नो मर्यादामा रहनेबारे के सिक्न सक्छौँ भनेर केलाउनेछौँ।

यहोवाको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

३. यहोवा हामीसँग कस्तो व्यवहार गर्नुहुन्छ र त्यसबाट के देखिन्छ?

३ आफ्ना त्रुटिपूर्ण मानव उपासकहरूसँग व्यवहार गर्दा यहोवाले आफू नम्र छु भनेर देखाउनुभएको छ। उहाँ हामीले चढाएको उपासना स्विकार्नुका साथै हामीलाई आफ्नो मित्र ठान्‍नुहुन्छ। (भज. २५:१४) हामीले यहोवासँग मित्रता गाँस्न सकोस्‌ भनेर उहाँ आफ्नो छोरालाई हाम्रो पापको लागि बलिदानको रूपमा चढाउन अग्रसर हुनुभयो। यहोवा साँच्चै कृपालु र दयालु हुनुहुन्छ!

४. यहोवाले हामीलाई के दिनुभएको छ र किन?

४ यहोवाले आफू नम्र छु भनेर देखाउनुभएको अर्को उदाहरणबारे विचार गरौँ। यहोवा सृष्टिकर्ता हुनुभएकोले उहाँले हामीलाई के गर्ने र के नगर्ने भनेर छनौट गर्ने क्षमताविना सृष्टि गर्न सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। उहाँले हामीलाई आफ्नै स्वरूपमा र छनौट गर्ने स्वतन्त्रतासहित सृष्टि गर्नुभयो। हामी तुच्छ मानिसहरूले यहोवाप्रतिको प्रेमले गर्दा र उहाँप्रति आज्ञाकारी हुँदा हाम्रै भलाइ हुन्छ भन्‍ने कुरा बुझेर सारा हृदयले उहाँको उपासना गरेको यहोवा चाहनुहुन्छ। (व्यव. १०:१२; यसै. ४८:१७, १८) यहोवाले यसरी नम्रता देखाउनुभएकोमा हामी उहाँप्रति असाध्यै कृतज्ञ छौँ!

स्वर्गमा येसु। उहाँसँगै उहाँका केही सह-शासक पनि छन्‌। उहाँहरू स्वर्गदूतहरूको विशाल भीडलाई हेर्दै हुनुहुन्छ। केही स्वर्गदूत आफूलाई दिइएको काम पूरा गर्न पृथ्वीतिर ओर्लिरहेका छन्‌।

येसु स्वर्गमा हुनुभएको दृश्‍य देखाइएको छ। उहाँसँगै उहाँका केही सह-शासक पनि छन्‌। उहाँहरू स्वर्गदूतहरूको विशाल भीडलाई हेर्दै हुनुहुन्छ। केही स्वर्गदूत आफूलाई दिइएको काम पूरा गर्न पृथ्वीतिर ओर्लिरहेका छन्‌। यहोवाले यस चित्रमा भएका सबैलाई अख्तियार सुम्पनुभएको छ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. यहोवा हामीलाई नम्र हुन कसरी सिकाउनुहुन्छ? (आवरण चित्र हेर्नुहोस्‌)

५ यहोवाले हामीसित गर्ने व्यवहारद्वारा हामीलाई नम्र हुन सिकाउनुहुन्छ। उहाँ ब्रह्‍माण्डकै सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ। तैपनि उहाँ अरूको सुझाव स्विकार्न इच्छुक हुनुहुन्छ। उदाहरणको लागि, उहाँले सबै थोक सृष्टि गर्ने काममा आफ्नो छोरालाई पनि सँगै भाग लिने मौका दिनुभयो। (हितो. ८:२७-३०; कल. १:१५, १६) यहोवा सर्वशक्‍तिमान्‌ हुनुभए तापनि उहाँ अरूलाई पनि केही जिम्मेवारी सुम्पनुहुन्छ। उदाहरणको लागि, उहाँले आफ्नो राज्यको राजा हुन येसुलाई नियुक्‍त गर्नुभयो र भविष्यमा येसुका १ लाख ४४ हजार सह-शासकलाई केही अख्तियार दिनुहुनेछ। (लुका १२:३२) यहोवाले येसुलाई राजा र प्रधानपुजारीको रूपमा सेवा गर्न तालिम दिनुभयो। (हिब्रू ५:८, ९) उहाँले येसुका सह-शासकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न तालिम दिनुहुन्छ तर तिनीहरूलाई जिम्मेवारी सुम्पेपछि तिनीहरूले गर्ने एक-एक कामको चियोचर्चो गर्नुहुन्‍न। बरु तिनीहरूले उहाँको इच्छाअनुसार गर्नेछन्‌ भन्‍ने कुरामा भरोसा राख्नुहुन्छ।—प्रका. ५:१०.

चित्रहरूको सँगालो: एक एल्डर जवान भाइलाई जिम्मेवारी दिँदै छन्‌। १. उक्‍त एल्डर नक्सा देखाएर मण्डलीको इलाका कार्डहरू व्यवस्थित पार्न ती जवान भाइलाई तालिम दिँदै छन्‌। २. ती जवान भाइ मण्डलीको अर्को भाइलाई इलाका कार्ड प्रयोग गर्न सिकाउँदै छन्‌।

अरूलाई तालिम दिँदा र जिम्मेवारी सुम्पँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ (अनुच्छेद ६-७ हेर्नुहोस्‌)b

६-७. अरूलाई जिम्मेवारी सुम्पने विषयमा हाम्रा स्वर्गमा बस्नुहुने बुबाबाट के सिक्न सक्छौँ?

६ हाम्रा स्वर्गमा बस्नुहुने बुबा जसलाई कसैको मदतको आवश्‍यकता छैन, उहाँले त अरूलाई केही जिम्मेवारी सुम्पनुहुन्छ भने हामीले चाहिँ झन्‌ त्यसो गर्नु नपर्ला र? उदाहरणको लागि, के तपाईँ परिवारको शिर वा मण्डलीको एल्डर हुनुहुन्छ? यहोवाको उदाहरण अनुकरण गर्दै अरूलाई जिम्मेवारी सुम्पनुहोस्‌ अनि जिम्मेवारी सुम्पेपछि तिनले गर्ने एक-एक कामको चियोचर्चो नगर्नुहोस्‌। यसरी यहोवाको अनुकरण गर्दा काम पूरा हुने मात्र होइन, तपाईँले अरूलाई तालिम पनि दिइरहनुभएको हुनेछ र तिनको आत्मविश्‍वास पनि बढ्‌नेछ। (यसै. ४१:१०) आफूसित अख्तियार भएकाहरूले यहोवाबाट अरू के सिक्न सक्छन्‌?

७ यहोवा स्वर्गमा बस्ने आफ्ना अदृश्‍य छोराहरूको राय लिन सधैँ तयार हुनुहुन्छ भनी बाइबल सङ्‌केत गर्छ। (१ राजा २२:१९-२२) आमाबुबा हो, तपाईँ कसरी यहोवाको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ? मिल्छ भने कुनै काम कसरी गर्ने भनेर छोराछोरीको राय लिनुहोस्‌। अनि उपयुक्‍त छ भने उनीहरूको सुझावअनुसारै गर्नुहोस्‌।

८. यहोवा अब्राहाम र सारासित कसरी धीरजी हुनुभयो?

८ यहोवाले आफू नम्र छु भनेर देखाउनुभएको अर्को तरिका धीरजी भएर हो। उदाहरणको लागि, यहोवाको कुनै सेवकले उहाँको निर्णयमा आदरपूर्वक प्रश्‍न उठाउँदा उहाँ धीरज देखाउनुहुन्छ। जस्तै: अब्राहामले सदोम र गमोरालाई नाश गर्ने यहोवाको निर्णयबारे आफूलाई लागेको कुरा बताउँदा उहाँले तिनको कुरा सुन्‍नुभयो। (उत्प. १८:२२-३३) यहोवाले अब्राहामकी पत्नी सारासित कस्तो व्यवहार गर्नुभयो, त्यो पनि सम्झनुहोस्‌। यहोवाले वृद्ध भइसकेकी सारा गर्भवती हुनेछिन्‌ भनेर प्रतिज्ञा गर्नुहुँदा सारा हाँसिन्‌ तर त्यो देख्दा यहोवाले आफ्नो अपमान भएको ठान्‍नुभएन वा रिसाउनुभएन। (उत्प. १८:१०-१४) बरु उहाँले सारासित आदरपूर्वक व्यवहार गर्नुभयो।

९. आमाबुबा तथा एल्डरहरूले यहोवाको उदाहरणबाट के सिक्न सक्छन्‌?

९ आमाबुबा तथा एल्डरहरू हो, तपाईँ यहोवाको उदाहरणबाट के सिक्न सक्नुहुन्छ? तपाईँको अधीनमा भएको कसैले तपाईँको निर्णयमा प्रश्‍न उठाउँदा के गर्नुहुन्छ? तपाईँ तुरुन्तै आफ्नो सफाइ दिन खोज्नुहुन्छ कि तिनको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहुन्छ? अख्तियार पाएकाहरूले यहोवाको अनुकरण गर्दा परिवार र मण्डली दुवैले लाभ उठाउन सक्छन्‌। यहाँसम्म हामीले यहोवाको उदाहरणबाट नम्र हुनेबारे सिक्यौँ। अब आफ्नो मर्यादामा रहनेबारे परमेश्‍वरको वचनमा रेकर्ड गरिएका उदाहरणहरूबाट के सिक्न सक्छौँ भनेर छलफल गरौँ।

अरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१०. अरूको उदाहरण चलाएर यहोवा हामीलाई कसरी सिकाउनुहुन्छ?

१० हाम्रो “महान्‌ शिक्षक”-को हैसियतमा यहोवाले हाम्रो शिक्षाको लागि बाइबलमा थुप्रै उदाहरण रेकर्ड गर्न लगाउनुभएको छ। (यसै. ३०:२०, २१) मर्यादामा रहेका र अन्य असल गुणहरू देखाएका बाइबल पात्रहरूबारे मनन गर्दा हामी धेरै लाभ उठाउन सक्छौँ। यस्ता असल गुणहरू देखाउन चुकेका बाइबल पात्रहरूले कस्तो नतिजा भोग्नुपऱ्‍यो भन्‍ने कुरा केलाउँदा पनि हामी पाठ सिक्न सक्छौँ।—भज. ३७:३७; १ कोरि. १०:११.

११. हामी साउलको नराम्रो उदाहरणबाट के सिक्न सक्छौँ?

११ राजा साउललाई के भयो, विचार गर्नुहोस्‌। जवान छँदा तिनले आफ्नो सीमितता राम्ररी बुझेका थिए र तिनी थप जिम्मेवारी स्विकार्न हिचकिचाएका पनि थिए। (१ समु. ९:२१; १०:२०-२२) तर पछि साउल अहङ्‌कारी भए। राजा भएको केही समयमै तिनमा यस्तो अवगुण देखा पऱ्‍यो। एकचोटि भविष्यवक्‍ता समुएललाई पर्खनुपर्दा तिनले धैर्य गर्न सकेनन्‌। यहोवाले आफ्ना मानिसहरूको पक्षमा कदम चाल्नुहुनेछ भनेर भरोसा राख्नुको साटो तिनले आफ्नो अधिकारमै नभएको कामसमेत गरे; हो, तिनले अग्निभेटी चढाए। यसकारण तिनले यहोवाको अनुमोदन गुमाए र उहाँले तिनलाई राजाको रूपमा शासन गरिरहन दिनुभएन। (१ समु. १३:८-१४) हामीले यो चेतावनीमूलक उदाहरणबाट पाठ सिक्नुपर्छ र अहङ्‌कारी हुनु हुँदैन।

१२. दानिएलले आफ्नो सीमितता स्विकारेको कुरा कसरी देखाए?

१२ अब साउलको नराम्रो उदाहरण होइन, भविष्यवक्‍ता दानिएलको राम्रो उदाहरणलाई विचार गर्नुहोस्‌। आफ्नो जीवनभरि नै दानिएल नम्र भइरहे अनि आफ्नो सीमितता राम्ररी बुझेर सधैँ यहोवाको डोऱ्‍याइ खोजे। उदाहरणको लागि, यहोवाले नबुकद्‌नेजरको सपनाको अर्थ खोल्न तिनलाई चलाउनुहुँदा तिनले त्यसको श्रेय लिएनन्‌। बरु आफ्नो सीमितता स्विकार्दै यहोवालाई नै सारा महिमा र श्रेय दिए। (दानि. २:२६-२८) हामी यसबाट कस्तो पाठ सिक्न सक्छौँ? यदि भाइबहिनीलाई हाम्रो भाषण राम्रो लाग्छ वा हामीले क्षेत्र सेवामा राम्रा-राम्रा अनुभवहरू बटुलेका छौँ भने हामीले ती सबै कुराको श्रेय यहोवालाई दिन बिर्सनु हुँदैन। हामी यहोवाको मदतविना ती कुराहरू गर्न सक्दैनौँ भनेर नम्र भई स्विकार्नुपर्छ। (फिलि. ४:१३) हामीसँग यस्तो मनोभाव छ भने हामीले येसुको असल उदाहरण पनि अनुकरण गरिरहेका हुन्छौँ। कसरी?

१३. युहन्‍ना ५:१९, ३० मा पाइने येसुका शब्दहरूबाट आफ्नो सीमितता स्विकार्ने सन्दर्भमा हामी के सिक्न सक्छौँ?

१३ परमेश्‍वरको त्रुटिरहित छोरा हुनुभए तापनि येसु यहोवामा भर पर्नुभयो। (युहन्‍ना ५:१९, ३० पढ्‌नुहोस्‌) उहाँले कहिल्यै पनि स्वर्गमा बस्नुहुने आफ्नो बुबाबाट अख्तियार हडप्ने प्रयास गर्नुभएन। फिलिप्पी २:६ मा येसुले “अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन” भनेर बताइएको छ। आज्ञाकारी छोरा हुनुभएकोले येसुलाई आफ्नो सीमितता थाह थियो र उहाँले आफ्नो बुबाको अख्तियारको कदर गर्नुभयो।

येसु याकुब र युहन्‍नाकी आमासित कुरा गर्दै हुनुहुन्छ। याकुब र युहन्‍ना रूखपछाडि बसेर हेरिरहेका छन्‌।

येसुले आफूले पाएको अख्तियारको सीमा नाघ्न खोज्नुभएन (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. आफ्नो अधिकारमा नभएको कुराको लागि बिन्ती गरिँदा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१४ याकुब र युहन्‍ना आफ्नी आमासँगै येसुकहाँ आएर उहाँको अधिकारमा नभएको सुअवसरको लागि बिन्ती गर्दा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गर्नुहोस्‌। त्यतिबेला येसुले एकछिन पनि नसोचिकन परमेश्‍वरको राज्यमा आफ्नो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार स्वर्गमा बस्नुहुने बुबासँग मात्र छ भनेर बताउनुभयो। (मत्ति २०:२०-२३) यसरी येसुले आफ्नो सीमितता स्विकारेको कुरा देखाउनुभयो। उहाँ आफ्नो मर्यादामा बस्नुभयो। उहाँले कहिल्यै पनि यहोवाले दिनुभएको अधिकारको सीमा नाघ्न खोज्नुभएन। (युह. १२:४९) हामी येसुको असल उदाहरण कसरी अनुकरण गर्न सक्छौँ?

एक बहिनी राज्यभवनमा एल्डरसित कुरा गर्दै छिन्‌। तिनको हातमा विवाहको कार्ड छ। एल्डरले तिनलाई बाइबलै प्रयोग गरेर केही सिद्धान्त देखाउँदै छन्‌।

आफ्नो सीमितता स्विकार्ने सन्दर्भमा हामी येसुको उदाहरण कसरी अनुकरण गर्न सक्छौँ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)c

१५-१६. पहिलो कोरिन्थी ४:६ मा दिइएको बाइबलको सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?

१५ पहिलो कोरिन्थी ४:६ मा दिइएको सल्लाह लागू गरेर हामी आफ्नो सीमितता स्विकार्ने सन्दर्भमा येसुको उदाहरण अनुकरण गर्छौँ। त्यहाँ यसो भनिएको छ: “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू।” कसैले सल्लाह माग्दा हामीले कहिल्यै पनि आफ्नै धारणालाई अघि सार्नु हुँदैन वा सोचविचारै नगरी सल्लाह दिनु हुँदैन। बरु हामीले बाइबल र बाइबलआधारित प्रकाशनहरूमा दिइएको सल्लाहमा तिनीहरूको ध्यान खिच्नुपर्छ। यसरी हामी आफ्नो सीमितता स्विकारेको कुरा देखाउँछौँ। यसो गर्दा हामी नम्र भइरहेका हुन्छौँ किनभने हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरका “न्यायसङ्‌गत उर्दीहरू” हाम्रो तौरतरिकाभन्दा उच्च छन्‌ भनेर मानिलिन्छौँ।—प्रका. १५:३, ४.

१६ नम्र हुँदा हामीले यहोवाको आदर गरिरहेका हुन्छौँ तर नम्र हुनुपर्ने अरू कारणहरू पनि छन्‌। नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा कसरी आनन्दित हुन सक्छौँ र यसले अरूसँग मिलेर बस्न हामीलाई कसरी मदत गर्छ भनेर अब हामी छलफल गर्नेछौँ।

नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी कस्तो लाभ उठाउँछौँ?

१७. नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरू किन आनन्दित हुन्छन्‌?

१७ नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी आनन्दित हुने सम्भावना धेरै हुन्छ। किन? आफ्नो सीमितता बुझेका छौँ भने हामी खुसीसाथ अरूको मदत स्विकार्छौँ र त्यसको लागि कृतज्ञ हुन्छौँ। उदाहरणको लागि, येसुले दस जना कुष्ठरोगीलाई निको पार्नुभएको घटना विचार गर्नुहोस्‌। आफ्नो गम्भीर रोग निको पारिदिनुभएकोमा येसुलाई धन्यवाद दिन तीमध्ये एक जना मात्र फर्के, जुन रोग तिनी आफैले कहिल्यै निको पार्न सक्ने थिएनन्‌। नम्र र आफ्नो सीमितता बुझेका ती मानिस आफूले पाएको मदतको लागि कृतज्ञ भए र आफू निको भएकोमा परमेश्‍वरको महिमा गरे।—लुका १७:११-१९.

१८. नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी कसरी अरूसँग मिलेर बस्न सक्छौँ? (रोमी १२:१०)

१८ नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरूलाई अरूसँग मिलेर बस्न सजिलो हुन्छ र तिनीहरूले थुप्रै घनिष्ठ साथीहरू बनाउन सक्छन्‌। किन? किनभने तिनीहरू अरूसँग पनि असल गुणहरू छन्‌ भनेर खुसीसाथ स्विकार्छन्‌ र ती व्यक्‍तिहरूलाई भरोसा गर्छन्‌। नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरू अरूले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा खुसी हुन्छन्‌ अनि तिनीहरूको प्रशंसा र आदर गर्न अग्रसर हुन्छन्‌।—रोमी १२:१० पढ्‌नुहोस्‌।

१९. हामी किन घमन्डी हुनु हुँदैन?

१९ त्यसको ठीक विपरीत, घमन्डी मानिसहरूलाई अरूको प्रशंसा गर्न गाह्रो लाग्छ। तिनीहरू अरूले भन्दा आफैले प्रशंसा पाएको चाहन्छन्‌। तिनीहरूले आफूलाई अरूसँग तुलना गर्ने र प्रतिस्पर्धी भावना राख्ने सम्भावना धेरै हुन्छ। अरूलाई तालिम र अख्तियार दिनुको साटो तिनीहरू यसो भन्छन्‌ होला, “कुनै काम ठीकसँग गर्ने हो भने त्यो मैले नै गर्नुपर्छ।” मतलब, तिनीहरू आफ्नै तरिकाले काम गर्न चाहन्छन्‌। घमन्डी मानिस प्रायजसो महत्त्वाकाङ्‌क्षी र डाही हुन्छ। (गला. ५:२६) त्यस्तो मानिसको अरूसँगको मित्रता अक्सर टिक्दैन। हामीमा घमन्डी मनोभाव भएको चाल पायौँ भने त्यो दुर्गुणले हामीमा जरा नगाडोस्‌ भनेर हामीले निष्कपट भई यहोवालाई प्रार्थना गर्नुपर्छ र ‘आफ्नो सोचाइ नयाँ बनाउन’ उहाँको मदत माग्नुपर्छ।—रोमी १२:२.

२०. हामी किन नम्र हुनुपर्छ र आफ्नो सीमितता स्विकार्नुपर्छ?

२० यहोवाको उदाहरणबाट सिक्न पाएकोमा हामी कत्ति खुसी छौँ! आफ्ना जनहरूसँग व्यवहार गर्नुहुँदा उहाँले कसरी नम्रता देखाउनुभयो भनेर हामीले थाह पायौँ र हामी उहाँको अनुकरण गर्न चाहन्छौँ। साथै आफ्नो सीमितता स्विकारेका बाइबल पात्रहरूको उदाहरण पनि हामी अनुकरण गर्न चाहन्छौँ, जो मर्यादामा रहेर परमेश्‍वरसित हिँडे। यहोवालाई उहाँले पाउनुपर्ने महिमा र आदर सधैँ दिइरहौँ। (प्रका. ४:११) त्यसो गऱ्‍यौँ भने हामी पनि स्वर्गमा बस्नुहुने हाम्रो बुबासित हिँड्‌न योग्य हुनेछौँ, जो नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • अरूलाई जिम्मेवारी सुम्पने विषयमा यहोवाबाट हामी के सिक्न सक्छौँ?

  • येसु हाम्रो लागि किन उत्कृष्ट उदाहरण हुनुहुन्छ?

  • नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी कस्तो लाभ उठाउँछौँ?

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

a नम्र व्यक्‍ति कृपालु र दयालु हुन्छ। त्यसैले यहोवा नम्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ। यहोवाको उदाहरणबाट नम्र हुनेबारे हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर यस लेखबाट थाह पाउनेछौँ। साथै राजा साउल, भविष्यवक्‍ता दानिएल र येसुबाट आफ्नो मर्यादामा रहनेबारे कस्तो पाठ सिक्न सक्छौँ भनेर पनि थाह पाउनेछौँ।

b चित्रको व्याख्या: एक जना एल्डरले मण्डलीको इलाकासम्बन्धी जिम्मेवारी सम्हाल्न एक जना जवान भाइलाई तालिम दिन समय निकाल्छन्‌। पछि ती एल्डर जवान भाइले गर्ने एक-एक कामको चियोचर्चो गर्दैनन्‌ बरु तिनलाई नै जिम्मेवारी पूरा गर्न दिन्छन्‌।

c चित्रको व्याख्या: एक जना बहिनीले चर्चमा हुन लागेको विवाह समारोहको निम्तो स्विकार्नु उचित हुन्छ कि हुँदैन भनेर एक जना एल्डरलाई सोध्छिन्‌। ती एल्डरले आफ्नै धारणालाई अघि सार्नुको साटो तिनीसँग केही बाइबल सिद्धान्त छलफल गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने