प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. २ pp. ६-७
  • पूरा भएका भविष्यवाणीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूरा भएका भविष्यवाणीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अहिले पूरा भइरहेका भविष्यवाणीहरू
  • परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सही प्रकारका सन्देशवाहकहरूलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • यी सबै हुनुको अर्थ के हो?
    जागा रहो!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. २ pp. ६-७
बाइबलका भविष्यवाणीहरू अध्ययन गर्दै

पूरा भएका भविष्यवाणीहरू

क्रिसस डेल्फीमा बस्ने पुजारीको बहकाउमा परेकाले फारसी राजाबाट पराजित भए। यसबारे हामीले अघिल्लो लेखमा चर्चा गरेका थियौँ। त्यही फारसी राजाबारे बाइबलमा उल्लेखनीय भविष्यवाणी गरिएको छ, जुन विस्तृत रूपमा पूरा भयो।

फारसी राजा कोरेस जन्मनुभन्दा लगभग २०० वर्षअघि नै हिब्रू भविष्यवक्‍ता यशैयाले तिनको नामै तोकेर भविष्यवाणी गरे। तिनले कसरी शक्‍तिशाली बेबिलोन सहर कब्जा गर्नेछन्‌ भनी यशैयाले बताए।

यशैया ४४:२४, २७, २८: “परमप्रभु यसो भन्‍नुहुन्छ, . . . ‘जसले सागरलाई भन्छ, “सुकिजा, म तेरा नदीहरूलाई सुकाउनेछु।” जसले कोरेसका बारेमा भन्छ, “त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्छ।” यरूशलेमको बारेमा पनि यसो भन्छ, “त्यो फेरि बनाइनेछ।” औ मन्दिरको बारेमा चाहिँ, “तेरो जग बसालिनेछ।”’”

ग्रीक इतिहासकार हेरोडोटसअनुसार कोरेसको सेनाले बेबिलोन सहरको बीचबाट बग्ने यूफ्रेटिस नदीको पानीलाई अन्तै मोडिदिए। कोरेसको यो युक्‍तिले गर्दा तिनको सेनालाई नदीको किनारैकिनार भएर सहरभित्र पस्न सजिलो भयो। तिनले सहरलाई कब्जा गरेको केही समयपछि त्यहाँ भएका यहूदी कैदीहरूलाई मुक्‍त गरिदिए। सत्तरी वर्षअघि विनाश भएको यरूशलेम सहरको पुनर्निर्माण गर्न तिनले यहूदीहरूलाई यरूशलेम फर्कन अनुमति पनि दिए।

यशैया ४५:१: “परमप्रभु यसो भन्‍नुहुन्छ, ‘त्यसद्वारा जाति-जातिहरूलाई पराजित गर्नलाई, राजाहरूका कम्मरका पटुका फुकाल्नलाई ढोकाहरू खोल्नलाई, र मूल ढोकाहरू बन्द हुन नदिनलाई, मैले अभिषेक गरेको कोरेसको हात मैले समातेको छु।’”

फारसीहरू बेबिलोन सहरको पर्खालमा भएको ठूलो दुई खापे ढोकाबाट भित्र पसे। बेबिलोनीहरूले हेलचेक्राई गरेर ढोका खुल्लै छोडेका थिए। कोरेसको योजनाबारे पहिल्यै थाह पाएका भए के तिनीहरूले नदीका सबै ढोका खुल्लै राख्ने थिए होलान्‌ र? पक्कै राख्ने थिएनन्‌। ढोकाहरू बन्द नभएकाले त्यो सहर सजिलै पराजित भयो।

यो भविष्यवाणी बाइबलमा भएका दर्जनौँ भविष्यवाणीमध्ये एक हो, जसमा बताइएको एक-एक कुरा हुबहु पूरा भयो।a मानिसहरूले आफ्ना देवीदेवताको मदत पाएर भविष्यवाणी गरेको दाबी गर्छन्‌। तैपनि ती पूरा हुँदैनन्‌। अर्कोतर्फ, बाइबलमा भएका भविष्यवाणीहरूको स्रोत साँचो परमेश्‍वर हुनुहुन्छ, जसले आफूबारे यसो भन्‍नुभयो: “म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू यसो भनेर घोषणा गर्छु, ‘मेरो उद्देश्‍य ठहर्नेछ, र म आफ्नो सबै इच्छा पूरा गर्नेछु।’”—यशैया ४६:१०.

साँचो परमेश्‍वर यहोवालेb मात्र यस्तो दाबी गर्न सक्नुहुन्छ। उहाँको नामको अर्थ नै “उहाँले गराउनुहुन्छ” हो। मतलब, उहाँ भविष्यबारे थाह पाउन र घटनालाई आफ्नो उद्देश्‍यअनुरूप मोड्‌न सक्नुहुन्छ। यसबाट उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ।

अहिले पूरा भइरहेका भविष्यवाणीहरू

बाइबलको भविष्यवाणीले हाम्रो समयबारे के भन्छ, तपाईँ बुझ्न चाहनुहुन्छ? आजभन्दा लगभग २ हजार वर्षअघि बाइबलमा “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनेर भविष्यवाणी गरिएको थियो। केको अन्त? मानवजाति वा पृथ्वीको त होइन तर हजारौँ वर्षदेखि मानवजातिले भोग्दै आएका समस्याहरूको अन्त। जस्तै: लडाइँ, अत्याचार र पीडा। ‘अन्तको दिनका’ चिन्हहरूबारे बताइएका केही भविष्यवाणीहरू जाँचौँ।

२ तिमोथी ३:१-५: “अन्तको दिनमा . . .  मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसको शक्‍तिलाई भने इन्कार गर्ने हुनेछन्‌।”

के आजकल मानिसहरूको स्वभाव यस्तै छैन र? हाम्रो वरिपरि आफूबारे मात्र सोच्ने, पैसालाई प्रेम गर्ने र घमन्डले फुल्ने मानिसहरू भएको याद गर्नुभएको छ? अरूबाट धेरै माग गर्ने र अरूको कुरामा सहमत नहुने मानिसहरू जताततै छन्‌, होइन र? आफ्ना आमाबुबाको आज्ञा पालन नगर्ने केटाकेटीहरू र परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने मानिसहरू प्रशस्त छन्‌। संसारको अवस्था दिनानुदिन बिग्रँदै गइरहेको छ।

मत्ती २४:६, ७: “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ। . . . किनकि जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।”

कुनै-कुनै तथ्याङ्‌कअनुसार सन्‌ १९१४ देखि यता युद्ध र सशस्त्र द्वन्द्वले गर्दा करोडौँ मानिसले ज्यान गुमाए। यो सङ्‌ख्या थुप्रै राष्ट्रको कुल जनसङ्‌ख्याभन्दा कता हो कता धेरै हो। युद्धले गर्दा मानिसहरूले कति आँसु बगाउनुपऱ्‍यो अनि कति दुःख र पीडा भोग्नुपऱ्‍यो, यस तथ्याङ्‌कले स्पष्ट पार्छ। के राष्ट्रहरूले यसबाट पाठ सिकेर युद्ध गर्न बन्द गरेका छन्‌?

मत्ती २४:७: ‘अनिकाल हुनेछ।’

विश्‍व खाद्य कार्यक्रम भन्छ: “अहिले संसारका सबै मानिसलाई पुग्ने खानेकुरा उत्पादन हुन्छ। तैपनि हरेक रात ८१ करोड ५० लाख मानिस अर्थात्‌ नौ जनामा एक जना भोकै सुत्छन्‌। त्यसभन्दा पनि धेरै मानिस अर्थात्‌ तीन जनामा एक जना कुनै न कुनै किसिमको कुपोषणको सिकार भएका छन्‌।” हरेक वर्ष लगभग ३० लाख केटाकेटी खान नपाएर मर्छन्‌ भनी अनुमान गरिएको छ।

लूका २१:११: “ठूलठूला भूकम्प हुनेछ।”

हरेक वर्ष मानिसले अनुभव गर्न सक्ने खालको सालाखाला ५० हजार भूकम्प जान्छ। लगभग १०० वटाले भवनहरूलाई नराम्ररी ध्वस्त पार्छ र हरेक वर्ष एउटा एकदमै ठूलो भूकम्प जान्छ। एउटा अनुमानित तथ्याङ्‌कअनुसार सन्‌ १९७५ देखि २००० सम्ममा भूकम्पले ४ लाख ७१ हजार मानिसको ज्यान लियो।

मत्ती २४:१४: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”

असी लाखभन्दा धेरै यहोवाका साक्षीहरू संसारभरि लगभग २४० देश र टापुहरूमा परमेश्‍वरको राज्यबारे सुसमाचार प्रचार गर्दै छन्‌ र व्यापक रूपमा साक्षी दिँदै छन्‌। तिनीहरू ठूलठूला सहर र दुर्गम गाउँहरूमा अनि जङ्‌गल र पहाडहरूमा सुसमाचार घोषणा गर्छन्‌। परमेश्‍वरले यस कामको लागि तोक्नुभएको समय पूरा भएपछि के हुन्छ? भविष्यवाणी यसो भन्छ: “यस युगको अन्त हुनेछ।” यसको अर्थ के हो? यसको अर्थ मानव शासनको अन्त्य हुनेछ र परमेश्‍वरको राज्यले शासन गर्न थाल्नेछ। परमेश्‍वरको राज्यले कस्ता आशिष्‌हरू ल्याउनेछ? यसबारे थाह पाउन अर्को लेख पढ्‌नुहोस्‌।

a “भविष्यवाणी पूरा भएको प्रमाण” भन्‍ने लेख हेर्नुहोस्‌।

b यो “सारा पृथ्वीमा सर्वोच्च” परमेश्‍वरको नाम हो।—भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने