जीवनी
मैले महान् शिक्षक यहोवाबाट जिन्दगीभर सिक्न पाएँ
म र मेरी पत्नीले अग्रगामी अनि मिसनरी सेवामा निकै रमाइलो समय बितायौँ। तर हाम्रो जीवनमा विभिन्न चुनौतीहरू पनि आइपरे। जस्तै, हुलदङ्गा, गृहयुद्ध अनि कहिलेकाहीँ त घरै छोडेर पनि भाग्नुपऱ्यो। त्यति मात्र होइन, हामी प्राकृतिक प्रकोपको चपेटामा पनि पऱ्यौँ। तर आफूले गरेका छनौटहरूमा हामीलाई कुनै पछुतो छैन। यहोवाले सधैँ नै हामीलाई साथ दिनुभयो र आशिष् दिनुभयो। उहाँ हाम्रो महान् शिक्षक हुनुहुन्छ र उहाँबाट हामीले थुप्रै कुरा सिक्न पायौँ।—अय्यु. ३६:२२; यसै. ३०:२०.
आमाबुबाको उदाहरण
सन् १९५० दशकको अन्ततिर मेरो आमाबुबा इटालीबाट क्यानाडामा बसाइँ सर्नुभयो। त्यसको केही समयपछि नै उहाँहरूले सत्य सिक्नुभयो र हाम्रो परिवार आध्यात्मिक गतिविधिमा व्यस्त हुन थाल्यो। मलाई अझै याद छ, सानो छँदा म दिनभरि नै परिवारसित प्रचारकार्यमा बिताउँथेँ। त्यसैले म कहिलेकाहीँ ठट्टा गरेर भन्ने गर्छु, “मैले त आठ वर्षको उमेरमा नै सहायक अग्रगामी गरेको हो नि!”
परिवारसँग, १९६६ तिर
हाम्रो परिवारसित धेरै पैसा थिएन। तैपनि यहोवाको सेवा गर्न आमाबुबाले थुप्रै त्याग गर्नुभयो। जस्तै, १९६३ मा अमेरिकाको क्यालिफोर्नियामा भएको अन्तरराष्ट्रिय अधिवेशनमा जान उहाँहरूले थुप्रै सरसामान बेच्नुभयो। सन् १९७२ मा हामी लगभग १,००० किलोमिटर टाढा पर्ने क्यानाडाकै अर्को प्रान्त ब्रिटिस कोलम्बियामा बसाइँ सऱ्यौँ। हामी त्यहाँको इटालियन भाषाको इलाकामा सेवा गर्न सरेका थियौँ। मेरो बुबा एउटा ठूलो पसलमा सरसफाइ र मर्मतको काम गर्नुहुन्थ्यो। तर उहाँले आध्यात्मिक गतिविधिमा धेरै समय दिन सकियोस् भनेर प्रमोसन लिन मान्नुभएन।
आमाबुबाले हामी चारै जना छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुभयो। त्यसैले मैले सानैदेखि यहोवाको सेवालाई पहिलो स्थान दिन सिकेँ। उहाँहरूले सिकाउनुभएको एउटा कुरा म कहिल्यै बिर्सन्नँ। त्यो हो, यदि मैले यहोवाको राज्यलाई पहिलो स्थान दिएँ भने उहाँले मेरो हेरचाह गर्नुहुनेछ।—मत्ति ६:३३.
पूर्ण समय सेवाको सुरुवात
सन् १९८० मा मैले डेबीसित विवाह गरेँ। उनी राम्री थिइन् र आफ्नो जीवन यहोवाको सेवामा बिताउन चाहन्थिन्। त्यसैले आध्यात्मिक लक्ष्यहरू पनि राखेकी थिइन्। हामी दुवै पूर्ण-समय सेवा गर्न चाहन्थ्यौँ। त्यसैले विवाह गरेको तीन महिनापछि डेबीले अग्रगामी गर्न थालिन्। विवाह गरेको एक वर्षपछि हामी आवश्यकता धेरै भएको एउटा सानो मण्डलीमा सऱ्यौँ र मैले पनि अग्रगामी गर्न थालेँ।
हाम्रो विवाहको दिन, १९८०
तर हामी त्यहाँको सेवामा रमाइरहन सकेनौँ। त्यसैले हामी अन्तै सर्न चाहन्थ्यौँ। हामीले त्यसबारे सुरुमा क्षेत्रीय निरीक्षकसित कुरा गऱ्यौँ। उहाँले मायालु ढङ्गमा तर स्पष्टसित यसो भन्नुभयो, “तपाईँहरू रमाउन नसक्नुको एउटा कारण तपाईँहरू आफै हुनुहुन्छ। तपाईँहरू नकारात्मक कुराहरूमा बढ्तै ध्यान दिँदै हुनुहुन्छ। त्यसो गर्नुको साटो सकारात्मक कुराहरूमा ध्यान दिने प्रयास गर्नुहोस्।” यो हामीलाई चाहिएकै सल्लाह थियो। (भज. १४१:५) हामीले उहाँले भन्नुभएअनुसारै गऱ्यौँ र थुप्रै सकारात्मक कुराहरू पनि देख्न सक्यौँ। मण्डलीका कोही-कोही यहोवाको लागि अझ धेरै गर्न चाहन्थे। जस्तै, साना केटाकेटीहरू अनि केही बहिनीहरू जसका पति यहोवाका साक्षी थिएनन्। यो घटनाबाट हामीले महत्त्वपूर्ण पाठ सिक्यौँ। हामीले अरूका राम्रा गुणहरू हेर्न र गाह्रो अवस्थामा यहोवाको बाटो हेर्न सिक्यौँ। (मिका ७:७) त्यसपछि हामी फेरि रमाउन सक्यौँ र बिस्तारै सबै कुरा राम्रो हुँदै गयो।
हाम्रो पहिलो अग्रगामी स्कुलका प्रशिक्षकहरूले विदेशमा सेवा गर्नुभएको थियो। उहाँहरूले फोटोहरू देखाउनुभयो अनि विदेशमा सेवा गर्दाको चुनौती र आशिष्हरूबारे बताउनुभयो। त्यसले गर्दा हामीमा पनि मिसनरी सेवा गर्ने इच्छा जाग्यो र त्यसलाई आफ्नो लक्ष्य बनायौँ।
ब्रिटिस कोलम्बियाको एउटा सभाभवनमा, १९८३
त्यसैले १९८४ मा हामी क्यानाडाकै अर्को प्रान्त क्युबेकमा बसाइँ सऱ्यौँ। यो ठाउँ ब्रिटिस कोलम्बियाबाट ४,००० किलोमिटरभन्दा पनि टाढा थियो। त्यहाँका मानिसहरूले फ्रेन्च भाषा बोल्ने भएकोले हामीले त्यो भाषा सिक्नुपऱ्यो र त्यहाँको रहनसहनसित घुलमिल हुनुपऱ्यो। अर्को एउटा चुनौती भनेको हामीसित त्यति पैसा पनि हुँदैनथ्यो। केही समय त हामी आलु मात्रै खाएर बस्यौँ, त्यो पनि एक जना किसानले आफ्नो खेतमा बाँकी भएको आलु बटुल्न दिएकोले। तर डेबी आलुको थरीथरीको परिकार बनाउन सिपालु भइन्। विभिन्न चुनौतीहरूको बाबजुद हामीले यहोवाको सेवामा रमाउन प्रयास गरिरह्यौँ अनि उहाँले हाम्रो ख्याल राख्नुभएको पनि अनुभव गऱ्यौँ।—भज. ६४:१०.
एक दिन क्यानाडा बेथेलबाट अचानक फोन आयो र हामीलाई बेथेलमा सेवा गर्न बोलाइयो। त्यो सुन्दा हामीलाई खुसी लाग्यो तर कता-कता नमज्जा पनि लाग्यो। किनभने हामीले गिलियड स्कुलको आवेदन भरिसकेका थियौँ। जेहोस् हामीले निम्तो स्विकाऱ्यौँ। बेथेल पुगेपछि हामीले शाखा समितिका सदस्य भाइ केनेथ लिटललाई सोध्यौँ, “हामीलाई गिलियडमा बोलाइयो भने नि?” उहाँले भन्नुभयो, “त्यो कुरा निम्तो आएपछि सोचौँला!”
त्यो सोच्ने बेला एक हप्तापछि नै आयो किनभने हामीले गिलियडको निम्तो पायौँ। त्यतिबेला भाइ लिटलले हामीलाई यसो भन्नुभयो, “अहिले तपाईँहरूले जुनै असाइनमेन्ट रोज्नुभए पनि पछि गएर कहिलेकाहीँ तपाईँहरूलाई बरु अर्कैचाहिँ रोजेको भए हुन्थ्यो जस्तो लाग्न सक्छ। तर त्यसको मतलब एउटा राम्रो, अर्को नराम्रो भन्ने होइन। यहोवाले जुनै असाइनमेन्टमा आशिष् दिन सक्नुहुन्छ। त्यसपछि हामीले गिलियडको निम्तो स्विकाऱ्यौँ।” भाइ लिटलले भन्नुभएको कुरा कत्ति सही रहेछ भनेर हामी आफैले अनुभव गरेका छौँ। हाम्रो जस्तै अवस्थामा परेकाहरूलाई हामी उहाँले दिनुभएकै सल्लाह दिन्छौँ।
मिसनरी सेवा
(बायाँ) युलिसेज ग्लास
(दायाँ) ज्याक रेडफोर्ड
हामी गिलियड स्कुलमा बस्न पाउँदा एकदमै खुसी थियौँ। सन् १९८७ को अप्रिलमा सुरु भएको त्यो ८३ औँ कक्षामा २४ जना विद्यार्थी थिए। त्यतिबेला गिलियड स्कुल न्यु योर्कको ब्रुक्लिनमा हुन्थ्यो। हाम्रा मुख्य प्रशिक्षकहरू भाइ युलिसेज ग्लास र ज्याक रेडफोर्ड हुनुहुन्थ्यो। पाँच महिना बितेको पत्तै भएन! हामी सेप्टेम्बर ६, १९८७ मा स्नातक भयौँ। हामीलाई जोन र मेरी गुडसँगै हाइटी खटाइयो।
हाइटीमा, १९८८
हाइटीमा १९६२ यता कोही पनि गिलियड मिसनरीहरू थिएनन् किनभने त्यहाँबाट सबैलाई देशनिकाला गरिसकिएको थियो। स्नातक भएको तीन हप्तापछि हामी हाइटी पुग्यौँ। हामीले एउटा दुर्गम इलाकाको सानो मण्डलीमा सेवा गर्न थाल्यौँ। त्यहाँ जम्मा ३५ जना प्रकाशक थिए। हामीसित त्यति अनुभव थिएन र उमेरमा पनि सानै थियौँ। मिसनरी होममा हामी दुई जना मात्र बस्थ्यौँ। त्यहाँका मानिसहरू गरिब थिए र धेरैजसोले लेखपढ गर्न जान्दैनथे। त्यहाँ राजनैतिक उथलपुथल पनि भइरहन्थ्यो। सरकार उल्टाउन मानिसहरूले हुलदङ्गा गरिरहन्थे। त्यसमाथि त्यहाँ ठूलठूलो आँधीबेहरी पनि चल्थ्यो।
गाह्रो अवस्थामा पनि आनन्द नगुमाउने हाइटीका भाइबहिनीबाट हामीले धेरै कुरा सिक्यौँ। उहाँहरू यहोवालाई प्रेम गर्नुहुन्थ्यो र उहाँको सेवामा रमाउनुहुन्थ्यो। एक वृद्ध दिदीलाई पढ्न आउँदैनथ्यो। तैपनि उहाँले १५० वटा जति बाइबल पद कण्ठ पार्नुभएको थियो। त्यहाँको नराम्रो अवस्था देख्दा परमेश्वरको राज्यले मात्र सबै समस्या हटाउनेछ भनेर प्रचार गर्न हामी झनै उत्प्रेरित भयौँ। हाम्रा सुरु-सुरुका कतिपय बाइबल विद्यार्थी अहिले नियमित अग्रगामी, विशेष अग्रगामी र एल्डरको रूपमा सेवा गरिरहेको देख्दा असाध्यै खुसी लाग्छ।
हाइटीमा छँदा मैले ट्रेभरलाई भेटेँ। त्यतिबेला तिनी भर्खरै २० वर्ष पुगेका थिए र मर्मन चर्चका मिसनरी थिए। मैले तिनीसित थुप्रै चोटि बाइबलबाट कुरा गर्ने मौका पाएँ। धेरै वर्षपछि मैले तिनीबाट एउटा यस्तो चिठी पाएँ, “म आउँदो सम्मेलनमा बप्तिस्मा गर्दै छु। म हाइटी फर्केर पहिला जहाँ मर्मन चर्चको मिसनरी थिएँ, त्यहीँ विशेष अग्रगामीको रूपमा सेवा गर्न चाहन्छु।” हुन पनि तिनले आफ्नी पत्नीसित त्यहाँ धेरै वर्ष सेवा गरे।
युरोपमा, त्यसपछि अफ्रिकामा
स्लोभेनियामा, १९९४
युरोपको केही ठाउँमा प्रचारकार्य बिस्तारै सजिलो हुँदै थियो। अनि हामीलाई त्यतैतिर खटाइयो। हामी १९९२ मा स्लोभेनियाको लुब्याना गयौँ। मेरो आमाबुबा यो ठाउँनजिकै हुर्कनुभएको थियो। उहाँहरू पछि मात्र इटाली जानुभएको थियो। भूतपूर्व युगोस्लाभियामा अझै युद्ध चर्किरहेको थियो। यहाँको प्रचारकार्यलाई अस्ट्रियाको शाखा कार्यालय अनि क्रोएसिया र सर्बियाका कार्यालयहरूले हेरिरहेको थियो। तर अब ती ठाउँहरूमा आ-आफ्नै बेथेल बनाउनुपर्ने थियो।
त्यसैले हामीले फेरि नयाँ भाषा सिक्नुपर्ने भयो र नयाँ संस्कृतिमा घुलमिल हुनुपर्ने भयो। स्थानीयहरू यसो भन्ने गर्थे, “येजेक ये तेजेक,” जसको अर्थ हो, “यो भाषा गाह्रो छ।” यो भनाइ सोह्रै आना सही थियो! त्यहाँका भाइबहिनीले सङ्गठनले गरेको छाँटकाँटलाई राजीखुसीले स्विकारेको देख्दा हाम्रो मनै छोयो र यहोवाले उहाँहरूलाई आशिष् दिनुभएको पनि हामीले देख्यौँ। यहोवाले सबै कुरा कसरी सही समयमा र मायालु तरिकामा सुल्झाउनुहुन्छ भनेर हामीले फेरि एकचोटि आफ्नै आँखाले देख्न पायौँ। पहिला सिकेका कुराहरूले हामीलाई निकै मदत गऱ्यो र त्यहाँ पनि हामीले थुप्रै कुरा सिक्यौँ।
तर यसपछि पनि हाम्रो जीवनमा थुप्रै उतारचढाव आउनेवाला थियो। सन् २००० मा हामीलाई पश्चिम अफ्रिकाको कोट डे’भ्वामा खटाइयो। त्यसपछि गृहयुद्धले गर्दा हामी नोभेम्बर २००२ मा भागेर सियरा लियोन गयौँ। हुनत हामीलाई अचानक कोट डे’भ्वा छोड्न सजिलो भएन तर हामीले विगतमा सिकेका पाठहरूले हामीलाई आफ्नो आनन्द कायम राख्न मदत गऱ्यो। सियरा लियोनमा पनि ११ वर्षसम्म चलेको गृहयुद्ध भर्खरै अन्त भएको थियो।
हामीले त्यहाँको फलदायी इलाकामा अनि हाम्रा मायालु र सहनशील भाइबहिनीहरूमा ध्यान दियौँ। उहाँहरू वर्षौँसम्म युद्धको मारमा पर्नुभएको थियो र उहाँहरूलाई आर्थिक रूपमा पनि गाह्रो थियो। तर अरूसित बाँडचुँड गर्न उहाँहरू सधैँ तयार हुनुहुन्थ्यो। एक जना बहिनीले डेबीलाई केही लुगाफाटा दिनुभयो तर उनले त्यो लुगा लिन अप्ठ्यारो मानेको देखेर उहाँले यसो भन्नुभयो, “युद्धको बेला अरू देशका भाइबहिनीहरूले हामीलाई निकै मदत गर्नुभयो। अब हामी अरूलाई मदत गर्न चाहन्छौँ।” डेबी र मैले पनि उहाँहरूको अनुकरण गर्ने लक्ष्य राख्यौँ।
पछि हामी कोट डे’भ्वा फर्कन सक्यौँ। तर फेरि गृहयुद्ध चर्किएकोले तुरुन्तै भाग्नुपर्ने भयो। त्यो थियो नोभेम्बर २००४ को कुरा। हामी दुई जनाले एउटा-एउटा झोलामा जति सामान अट्छ, त्यति मात्र राखेर फ्रेन्च सेनाको ब्यारेकमा गयौँ। हामी राती भुईँमै सुत्यौँ र भोलिपल्ट हामीलाई हेलिकप्टरबाट स्वीट्जरल्याण्ड लगियो। बेथेल पुग्दा मध्यरात भइसकेको थियो। शाखा समितिका सदस्यहरू, मिनिस्टेरियल ट्रेनिङ स्कुलका प्रशिक्षकहरू र उहाँहरूका पत्नीहरू हामीलाई पर्खिरहनुभएको थियो। उहाँहरूले हामीलाई न्यानो अङ्गालो हाल्नुभयो अनि तात्तातो खाना र प्रशस्तै स्विस चकलेट दिनुभयो। यस्तो मायाले हाम्रो मनै छोयो!
कोट डे’भ्वामा शरणार्थीहरूलाई भाषण दिँदै, २००५
केही समयको लागि हामीलाई घाना खटाइयो। पछि कोट डे’भ्वाको गृहयुद्ध अलि साम्य भएपछि हामी त्यहाँ फर्क्यौँ। रातारात आफ्नो ठाउँ छोडेर भाग्नुपर्दा अनि थोरै समयको लागि नयाँ ठाउँमा गएर सेवा गर्नुपर्दा भाइबहिनीको न्यानो मायाले हामीलाई सम्हाल्यो। हुनत यहोवाका जनमाझ यस्तो माया र न्यानोपन हुन्छ नै तर हामी त्यसलाई कहिल्यै हल्कासित लिन चाहँदैनौँ। यस्तो गाह्रो अवस्थामा पनि हामीले थुप्रै महत्त्वपूर्ण कुराहरू सिक्न सक्यौँ।
मध्यपूर्वमा
मध्यपूर्वमा, २००७
सन् २००६ मा हामीले विश्व मुख्यालयबाट एउटा पत्र पायौँ। त्यसमा हामीलाई मध्यपूर्वमा खटाइएको कुरा लेखिएको थियो। फेरि नयाँ भाषा सिक्नुपर्ने अनि नयाँ रहनसहनमा घुलमिल हुनुपर्ने भयो। यो ठाउँका छुट्टै चुनौतीहरू थिए। यहाँको राजनैतिक अवस्था अनि धार्मिक आस्थाले गर्दा हामीलाई सजिलो हुने थिएन। मण्डलीमा विभिन्न भाषा बोल्ने भाइबहिनी हुनुहुन्थ्यो। तैपनि उहाँहरूले सङ्गठनको निर्देशन पालन गर्नुभएकोले एकता छाएको महसुस गर्न सक्यौँ। भाइबहिनीले परिवार, स्कुलका साथीहरू, सहकर्मीहरू अनि छरछिमेकबाट आएको विरोध साहसी भई सहिरहनुभएको थियो। यो देख्दा हामीले पनि हौसला पायौँ।
सन् २०१२ मा हामीले इजरायलको तेल अभिभमा भएको विशेष अधिवेशनमा उपस्थित हुने मौका पायौँ। इस्वी संवत् ३३ पेन्तिकोसपछि यो ठाउँमा यत्ति धेरै यहोवाका जनहरू भेला भएको पहिलो चोटि थियो। त्यो अधिवेशन हामी कहिल्यै बिर्सन सक्दैनौँ।
हाम्रो काममा कडिकडाउ गरिएको देशमा कहिलेकाहीँ हामीलाई पठाइन्थ्यो। हामी केही साहित्यहरू लिएर जान्थ्यौँ, प्रचारकार्यमा भाग लिन्थ्यौँ अनि स-साना सम्मेलनहरूमा उपस्थित हुन्थ्यौँ। बाटोमा जताततै हतियार भिरेका सैनिकहरू हुन्थे अनि कडा चेकिङ् हुन्थ्यो। तर हामी सधैँ चनाखो हुन्थ्यौँ। त्यसैले भाइबहिनीसित कतै जाँदा सधैँ सुरक्षित महसुस गर्थ्यौँ।
फेरि अफ्रिकामा
कङ्गोमा भाषणको तयारी गर्दै, २०१४
सन् २०१३ मा हामीले फरक किसिमको असाइनमेन्ट पायौँ। हामीलाई कङ्गोको शाखा कार्यालयमा सेवा गर्न खटाइयो। हुनत यो प्राकृतिक सौन्दर्यको धनी देश हो तर यहाँका मानिसहरू चरम गरिबी र सशस्त्र द्वन्द्वको चपेटामा परेका थिए। सुरुमा त हामीलाई यस्तो लाग्यो, “अफ्रिका त हामी पहिला बसेकै ठाउँ हो। त्यसैले सजिलै होला!” तर हामीलाई थाह नभएको कुरा पनि थुप्रै रहेछ। जस्तै, त्यहाँ बाटोघाटो राम्रो नभएकोले यात्रा गर्दाको चुनौती बेग्लै किसिमको थियो। तर हामीले त्यस्ता कुराहरूमा ध्यान दिनुको साटो भाइबहिनीका राम्रा कुराहरूमा ध्यान दियौँ। जस्तै, आर्थिक अवस्था गाह्रो भए पनि उहाँहरू धैर्य गर्दै हुनुहुन्थ्यो र खुसी हुनुहुन्थ्यो। उहाँहरू प्रचारकार्यमा जोसिलो हुनुहुन्थ्यो अनि सभा-सम्मेलनमा उपस्थित हुन निकै मेहनत गर्नुहुन्थ्यो। यहोवाको मदत र आशिष्ले गर्दा राज्य गतिविधि अघि बढिरहेको हामीले आफ्नै आँखाले देख्यौँ। कङ्गोमा सेवा गर्दा हामीले थुप्रै कुराहरू सिक्यौँ र असल साथीहरू पनि पायौँ।
दक्षिण अफ्रिकाको प्रचारकार्यमा भाग लिँदै, २०२३
सन् २०१७ को अन्ततिर हामीलाई दक्षिण अफ्रिकाको शाखा कार्यालयमा खटाइयो। हामीले यति ठूलो शाखामा पहिला कहिल्यै सेवा गरेका थिएनौँ। यहाँ पाएको बेथेल असाइनमेन्ट हाम्रो लागि बिलकुलै नयाँ थियो। फेरि हामीले नयाँ कुराहरू सिक्नुपऱ्यो तर पहिला सिकेका कुराहरूले हामीलाई मदत गऱ्यो। यहाँ लामो समयदेखि वफादार भई सेवा गरिरहेका थुप्रै भाइबहिनी हुनुहुन्छ। विभिन्न जाति अनि पृष्ठभूमिका भाइबहिनी मिलेर सेवा गर्दै हुनुहुन्छ। उहाँहरू नयाँ व्यक्तित्व धारण गर्न र बाइबलका सिद्धान्तहरू लागू गर्न सधैँ प्रयास गर्नुहुन्छ। यहाँ छाएको एकतामा यहोवाको आशिष् प्रस्टै देखिन्छ।
वर्षौँको दौडान हामीले विभिन्न असाइनमेन्ट पायौँ। हामी विभिन्न रहनसहनमा घुलमिल भयौँ र नयाँ भाषाहरू सिक्यौँ। सधैँ सजिलो त भएन तर यहोवाले आफ्नो सङ्गठन र भाइबहिनी चलाएर हामीलाई सधैँ अटल प्रेम देखाउनुभएको छ। (भज. १४४:२) पूर्ण-समय सेवामा लाग्दा हामीले थुप्रै कुरा सिक्यौँ। त्यसले गर्दा हामीले आफ्नो आध्यात्मिकतालाई अझ तिखार्दै लैजान सक्यौँ जस्तो लाग्छ।
आमाबुबाले दिनुभएको शिक्षा, मेरी प्यारी पत्नी डेबीको साथ अनि संसारभरिका भाइबहिनीले बसाल्नुभएको राम्रो उदाहरणको म सधैँ मोल गर्छु। आउँदा दिनहरूमा पनि हामी महान् शिक्षक यहोवाबाट सिकिरहन चाहन्छौँ।