प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 नोभेम्बर pp. ३-७
  • ‘सत्य किन्‍नुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सत्य किन्‍नुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सत्य ‘किन्‍नु’ भनेको के हो?
  • सत्य किन्‍न तपाईँले के त्याग्नुभएको छ?
  • “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ‘सत्यमा हिँडिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 नोभेम्बर pp. ३-७
एक दम्पती बाइबल पढ्‌छन्‌ अनि यहोवाको नाम, फिरौतीको बलिदान, मसीही राज्य र प्रमोदवनको जीवनबारे मनन गर्छन्‌

‘सत्य किन्‍नुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌’

“सत्य किन र त्यसलाई कहिल्यै नबेच बरु बुद्धि, अनुशासन र समझ पनि किन।”—हितो. २३:२३.

गीत: ९४, ९६

के तपाईँ बुझाउन सक्नुहुन्छ?

  • हामी कसरी यहोवाबाट सत्य किन्‍न सक्छौँ?

  • सत्य किन्‍नको लागि हामीले तिर्नुपर्ने मूल्यमा कुन पाँचवटा कुरा पर्न सक्छन्‌, व्याख्या गर्नुहोस्‌।

  • सत्यलाई हामीले कत्तिको मूल्यवान्‌ ठान्‍नुपर्छ?

१, २. (क) हाम्रो सबैभन्दा बहुमूल्य सम्पत्ति के हो? (ख) हामी कस्ता सत्यहरूको मोल गर्छौँ र किन? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

तपाईँसित भएको सबैभन्दा बहुमूल्य सम्पत्ति के हो? के तपाईँ त्यसलाई त्योभन्दा कम मूल्यको कुनै चिजसित साट्‌नुहुन्छ र? यहोवाका समर्पित उपासकहरूलाई यी प्रश्‍नहरूको जवाफ दिन गाह्रो छैन। हाम्रो सबैभन्दा बहुमूल्य सम्पत्ति यहोवासितको हाम्रो सम्बन्ध हो र हामी त्यसलाई कुनै चिजसित साट्‌दैनौँ। आफूले सिकेका बाइबल सत्यको पनि हामी मोल गर्छौँ किनकि त्यसले गर्दा नै हामीले स्वर्गमा बस्नुहुने बुबासित सम्बन्ध गाँस्न सक्यौँ।—कल. १:९, १०.

२ हाम्रो महान्‌ शिक्षक यहोवाले उहाँको वचनमा हामीलाई कति धेरै कुरा सिकाउनुभएको छ, सोच्नुहोस्‌ त! उहाँले आफ्नो नाममा लुकेको अर्थ खुलाउनुभएको छ र उहाँका मनमोहक गुणहरूबारे सत्य प्रकट गर्नुभएको छ। उहाँले फिरौतीको बलिदानको अनमोल प्रबन्धबारे बताउनुभएको छ, जुन उहाँले आफ्नो छोरा येसुमार्फत हाम्रो निम्ति प्रबन्ध गर्नुभयो। यहोवाले हामीलाई मसीही राज्यबारे पनि बताउनुभएको छ। अनि उहाँले अभिषिक्‍त ख्रिष्टियनहरूको लागि स्वर्गमा जीवन बिताउने आशा र “अरू भेडा”-को लागि यसै पृथ्वीमा प्रमोदवनमा जीवन बिताउने आशा राखिदिनुभएको छ। (युह. १०:१६) हाम्रो आचरण कस्तो हुनुपर्छ भनेर पनि उहाँले सिकाउनुभएको छ। हामी यी सबै सत्यको मोल गर्छौँ किनकि ती कुराहरूले हामीलाई हाम्रा सृष्टिकर्तासित नजिक हुन मदत गर्छ। साथै यसले हाम्रो जीवन अर्थपूर्ण बनाउँछ।

३. सत्य किन्‍नुको अर्थ के होइन?

३ यहोवा परमेश्‍वर उदार हुनुहुन्छ। उहाँले सत्य खोज्नेहरूलाई कुनै पनि असल कुराबाट वञ्चित गर्नुहुन्‍न। यहोवाले आफ्नो प्यारो छोराको जीवनसमेत हाम्रो लागि सित्तैँमा वरदानस्वरूप दिनुभयो। सत्य पाउन हामीले पैसा तिरेको परमेश्‍वर पक्कै चाहनुहुन्‍न। एक चोटि, सिमोन नाम गरेका मानिसले पवित्र शक्‍ति दिने अख्तियार किन्‍न प्रेषित पत्रुसलाई पैसा दिन खोजे। तर पत्रुसले तिनलाई यसरी हप्काए: “तिम्रो चाँदी तिमीसँगै नाश होस्‌ किनकि तिमीले परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान पैसा तिरेर किन्‍न सकिन्छ भन्ठान्यौ।” (प्रेषि. ८:१८-२०) अर्कोतर्फ, परमेश्‍वरले हामीलाई “सत्य किन” भन्‍ने निर्देशन दिनुभएको छ। यसको अर्थ के हो?

सत्य ‘किन्‍नु’ भनेको के हो?

४. यस लेखमा हामी सत्यबारे के सिक्नेछौँ?

४ हितोपदेश २३:२३ पढ्‌नुहोस्‌। हामीले कुनै प्रयास नगरी परमेश्‍वरको वचनमा भएको सत्य पाउन सक्दैनौँ। सत्य पाउन हामी जस्तोसुकै त्याग गर्न इच्छुक हुनुपर्छ। हितोपदेशका बुद्धिमान्‌ लेखकले भनेझैँ एक चोटि “सत्य” ‘किनिसकेका’ अर्थात्‌ हासिल गरिसकेका छौँ भने त्यो ‘नबेच्न’ अर्थात्‌ नगुमाउन होसियार हुनुपर्छ। त्यसोभए आउनुहोस्‌, सत्य ‘किन्‍नु’ भनेको के हो र त्यसको लागि हामीले कस्तो मूल्य तिर्नुपर्ने हुन सक्छ, त्यसबारे छलफल गरौँ। यो कुरा बुझ्यौँ भने सत्यप्रति हाम्रो कृतज्ञता अझ गहिरो हुनेछ र त्यसलाई कहिल्यै ‘नबेच्ने’ हाम्रो सङ्‌कल्प बलियो हुनेछ। छलफल गर्दै जाँदा, सत्य किन्‍न हामीले जस्तोसुकै मूल्य तिर्नुपरे पनि त्यो बेकार हुनेछैन भनेर बुझ्नेछौँ।

५, ६. (क) हामी पैसा नतिरी कसरी सत्य किन्‍न सक्छौँ? उदाहरणसहित बताउनुहोस्‌। (ख) सत्य किन्यौँ भने हामीलाई कस्तो फाइदा हुन्छ?

५ कुनै कुरा सित्तैँमा पाइन्छ भने पनि त्यो पाउन हामीले कुनै न कुनै मूल्य तिर्नुपर्ने हुन्छ। हितोपदेश २३:२३ मा “किन” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “हासिल गर” भन्‍ने अर्थ पनि दिन सक्छ। यी दुवै शब्दले कुनै मूल्य पर्ने चिज पाउनको लागि प्रयास गर्नु वा कुनै कुरा दिनु भन्‍ने अर्थ बुझाउँछ। सत्य किन्‍नुको अर्थ बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, बजारमा तपाईँले यस्तो विज्ञापन देख्नुभयो, “यहाँ केरा सित्तैँमा पाइन्छ।” तर के त्यो केरा कुनै चमत्कार भएर आफसेआफ तपाईँको टेबुलमा आइपुग्छ? अहँ, आउँदैन! केरा लिन हामी आफै बजारसम्म जानुपर्छ। त्यसोभए केरा सित्तैँमा पाइन्छ भन्‍न मिल्छ त? अवश्‍य, तर बजारसम्म गएर केरा लिन हामीले प्रयास गर्नुपर्छ र समय खर्च गर्नुपर्छ। त्यसरी नै, सत्य किन्‍न हामीले पैसा त तिर्नुपर्दैन। तर त्यो हासिल गर्न प्रयास भने अवश्‍य गर्नुपर्छ।

६ यसैया ५५:१-३ पढ्‌नुहोस्‌। यसैयाले लेखेका यहोवाका शब्दहरूले सत्य किन्‍नुको अर्थलाई अझ प्रस्ट पार्छ। यी पदहरूमा यहोवाले आफ्नो वचनलाई पानी, दूध र मद्यसित तुलना गर्नुभएको छ। चिसो र सफा पानी पिउँदा स्फूर्ति मिलेजस्तै परमेश्‍वरको सत्य वचनले पनि हामीलाई स्फूर्ति दिन्छ। साथै दूधले हामीलाई बल दिन्छ अनि केटाकेटीलाई हुर्कन मदत गर्छ। त्यसरी नै, यहोवाको पोसिलो वचनले हामीलाई बल दिन्छ र आध्यात्मिक रूपमा बढ्‌न मदत गर्छ। यहोवाको वचनलाई मद्यसित पनि तुलना गरिएको छ। किन? बाइबलमा बताइएअनुसार मद्यले हामीलाई प्रसन्‍न बनाउँछ। (भज. १०४:१५) त्यसैले उहाँले मानिसहरूलाई ‘मद्य लैजानू’ भन्‍नुभएको कुराबाट उहाँको वचनअनुसार जीवन बितायौँ भने हामी आनन्दित हुन्छौँ भन्‍ने आश्‍वासन पाउँछौँ। (भज. १९:८) परमेश्‍वरको सत्य वचन सिक्नु र लागू गर्नुको फाइदालाई चित्रण गर्ने कस्तो राम्रो उदाहरण! त्यसैले सत्य हासिल गर्ने हाम्रो प्रयासलाई हामीले तिर्ने मूल्यसित तुलना गर्न सक्छौँ। त्यसोभए सत्य किन्‍न हामीले कस्तो मूल्य तिर्नुपर्ने हुन सक्छ? आउनुहोस्‌, पाँच वटा कुराबारे छलफल गरौँ।

सत्य किन्‍न तपाईँले के त्याग्नुभएको छ?

७, ८. (क) सत्य किन्‍न हामीले किन समय खर्च गर्नुपर्छ? (ख) एक जना विद्यार्थी सत्य किन्‍न कति मूल्य तिर्न इच्छुक भइन्‌? नतिजा कस्तो भयो?

७ समय। सत्य किन्‍ने सबैले यो मूल्य तिर्नै पर्छ। परमेश्‍वरको राज्यको सन्देश सुन्‍न, बाइबल र बाइबलआधारित प्रकाशनहरू पढ्‌न, व्यक्‍तिगत बाइबल अध्ययन गर्न अनि मण्डलीका सभाहरूको लागि तयारी गर्न र उपस्थित हुन समय चाहिन्छ। हामीले अरू कम महत्त्वपूर्ण गतिविधिहरूबाट ‘समय किन्‍नुपर्छ’ अर्थात्‌ समय निकाल्नुपर्छ। (एफिसी ५:१५, १६ र फुटनोट पढ्‌नुहोस्‌) बाइबलका आधारभूत शिक्षाहरूको सही ज्ञान लिन हामीलाई कति समय चाहिन्छ? त्यो हाम्रो परिस्थितिमा निर्भर हुन्छ। हामीले यहोवाको बुद्धि, तौरतरिका र कामहरूबारे सिक्न सक्ने कुराको कुनै सीमा छैन। (रोमी ११:३३) वाच टावर-को पहिलो अङ्‌कमा सत्यलाई “एउटा सानो फूल”-सित तुलना गरिएको थियो र यसो भनिएको थियो: “सत्यको एउटा फूल पाएपछि त्यसैमा चित्त बुझाएर नबस्नुहोस्‌। एउटाले मात्र पुग्ने हो भने त अरू हुने नै थिएनन्‌। त्यसैले जम्मा गरिरहनुहोस्‌, खोजिरहनुहोस्‌।” हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, ‘मेरो सत्यको गुच्छा कति ठूलो छ?’ हामीसित भएको समय कहिल्यै टुङ्‌गिएन भने पनि हामीले यहोवाबारे सिक्ने कुरा कहिल्यै सिद्धिँदैन। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो परिस्थितिले दिउन्जेल बुद्धिमानी भई आफ्नो समयको सदुपयोग गरेर सकेजति धेरै सत्य किन्‍नु हो। सत्यको लागि भोको एक जना व्यक्‍तिको अनुभव विचार गरौँ।

८ मारिकोa नाम गरेकी एउटी जापानी युवती अमेरिकाको न्यु योर्क सहरमा कलेज पढ्‌न आइन्‌। त्यतिबेला उनी जापानमा सन्‌ १९५९ तिर सुरु भएको एउटा धार्मिक समूहमा संलग्न थिइन्‌। घर-घरको प्रचारकार्यको दौडान एउटी अग्रगामी बहिनीले मारिकोलाई भेटिन्‌। मारिकोले बाइबलको सत्य सिक्दै जाँदा उनी अत्यन्तै हर्षित भइन्‌ र ती अग्रगामी बहिनीलाई हप्ताको दुई चोटि अध्ययन गर्न अनुरोध गरिन्‌। कलेजको पढाइ र पार्ट-टाइम जागिरले गर्दा अत्यन्तै व्यस्त भए तापनि मारिकोले अध्ययन सुरु गर्नेबित्तिकै मण्डलीका सभाहरूमा उपस्थित हुन थालिन्‌। उनले सत्यको लागि समय किन्‍न अन्य केही सामाजिक गतिविधिहरूमा समय खर्च गर्न छोडिन्‌। यस्ता त्यागहरू गरेकी हुँदा उनले छिटोछिटो आध्यात्मिक प्रगति गरिन्‌। अध्ययन थालेको एक वर्षभित्र नै उनले बप्तिस्मा गरिन्‌। त्यसको छ महिनापछि सन्‌ २००६ मा उनले अग्रगामी सेवा सुरु गरिन्‌ र अहिले पनि अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌।

९, १०. (क) सत्य सिक्न थाल्दा भौतिक कुराहरूप्रतिको हाम्रो दृष्टिकोणमा कस्तो असर पर्छ? (ख) एउटी जवान युवतीले कस्ता मौकाहरू त्यागिन्‌? त्यसो गरेकोमा उनी कस्तो महसुस गर्छिन्‌?

९ भौतिक लाभ। सत्य किन्‍न हामीले निकै पैसा कमाउने जागिर वा पेसा त्याग्नुपर्ने हुन सक्छ। जलारी पत्रुस र अन्द्रियासलाई येसुले “मानिसहरूको जलारी” बन्‍न बोलाउनुहुँदा “आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” (मत्ति ४:१८-२०) हुनत अहिले सत्य सिक्ने धेरैजसो व्यक्‍तिले आफ्नो जागिर चटक्कै छोडेर जान सक्दैनन्‌। किनभने तिनीहरूले बाइबलमा दिइएका दायित्वहरू पूरा गर्नुपर्छ। (१ तिमो. ५:८) तर प्रायजसो अवस्थामा, सत्य सिक्ने व्यक्‍तिहरूले भौतिक कुराहरूप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ र आफ्ना प्राथमिकताहरू छाँटकाँट गर्नुपर्छ। यस कुरालाई येसुले स्पष्टसित यसो भन्‍नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, . . . बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार।” (मत्ति ६:१९, २०) एउटी युवतीको अनुभव विचार गर्नुहोस्‌।

१० मारियाले स्कुल भर्ना हुनुअघि सानो छँदा नै गल्फ खेल्न थालिसकेकी थिइन्‌। उनी हाई स्कुल पढ्‌दा गल्फमा झनै निपुण भइन्‌ र यसले गर्दा पछि विश्‍वविद्यालयको छात्रवृत्ति पाइन्‌। गल्फ खेल्नु नै उनको जीवनको मुख्य उद्देश्‍य थियो। उनी पेसेवर गल्फ खेलाडीको रूपमा नाम-दाम कमाउने करिअर बनाउन चाहन्थिन्‌। पछि मारियाले बाइबल अध्ययन गर्न थालिन्‌ अनि उनलाई आफूले सिकिरहेको सत्य कुरा मन पऱ्‍यो। सत्यले आफ्नो जीवनमा ल्याएका परिवर्तनहरू देखेर उनी खुसी थिइन्‌। उनले यसो भनिन्‌: “मैले बाइबलको स्तरअनुसार आफ्नो मनोवृत्ति र जीवनशैली जति-जति छाँटकाँट गर्दै गएँ, म उति नै आनन्दित हुन सकेँ।” मारियाले आध्यात्मिक र भौतिक लक्ष्य दुवैको पछि लाग्न गाह्रो हुने रहेछ भनेर बुझिन्‌। (मत्ति ६:२४) उनले पेसेवर गल्फ खेलाडी बन्‍ने र भविष्यमा नाम-दाम कमाउने आफ्नो लक्ष्यलाई त्यागिन्‌। उनले तिरेको मूल्य यही थियो। तर सत्य किनेकोले उनी अहिले अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌ र उनकै शब्दमा भन्‍नुपर्दा “सबैभन्दा आनन्दित र अर्थपूर्ण जीवन” बिताइरहेकी छिन्‌।

११. हामीले सत्य किन्दा परिवार र साथीभाइसितको सम्बन्धमा कस्तो असर पर्न सक्छ?

११ परिवार अनि साथीभाइ। बाइबलको सत्य ज्ञानअनुसार जीवन बिताउन थाल्दा साथीभाइ अनि नातागोतासितको हाम्रो सम्बन्धमा यसले असर गर्न सक्छ। किन? येसुले आफ्ना चेलाहरूको लागि यसरी प्रार्थना गर्नुभयो: “सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्‌; तपाईँको वचन सत्य हो।” (युह. १७:१७; फुटनोट) “तिनीहरूलाई पवित्र पार्नुहोस्‌” भन्‍ने वाक्यांशको अर्को अर्थ “तिनीहरूलाई अलग्गै छुट्ट्याउनुहोस्‌” पनि हुन्छ। सत्य स्विकार्दा हामी संसारबाट अलग्गै छुट्ट्याइन्छौँ किनकि हामी त्यसको चालढालअनुसार चल्न छोड्‌छौँ। हाम्रो मूल्यमान्यता परिवर्तन भएकोले मानिसहरूले हामीलाई बेग्लै नजरले हेर्न थाल्छन्‌। हामी बाइबल सत्यको स्तरअनुसार जीवन बिताउँछौँ। हुनत हामी फुट ल्याउन चाहँदैनौँ, तैपनि साथीभाइ र नजिकका आफन्तहरूमध्ये कोही-कोही हामीबाट टाढिन सक्छन्‌ वा हामीले विश्‍वास गर्न थालेका नयाँ कुराहरूको विरोधसमेत गर्न सक्छन्‌। यस्तो हुँदा हामी छक्क पर्दैनौँ। येसुले यसो भन्‍नुभयो: “वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।” (मत्ति १०:३६) तर सत्य किन्‍नको लागि हामीले तिरेको मूल्यको तुलनामा कता हो कता धेरै आशिष्‌ पाउनेछौँ भनेर पनि उहाँले आश्‍वासन दिनुभयो।—मर्कुस १०:२८-३० पढ्‌नुहोस्‌।

१२. एक जना यहुदी व्यापारीले सत्य किन्‍न कस्तो मूल्य तिरे?

१२ एरन नाम गरेका एक जना यहुदी व्यापारीलाई परमेश्‍वरको नाम उच्चारण गर्नु हुँदैन भनेर सानैदेखि सिकाइएको थियो। तर एरन सत्यको निम्ति तिर्खाएका थिए। हिब्रू भाषाको चार वटा व्यञ्जनवर्ण मिलेर बनेको परमेश्‍वरको नाममा स्वरवर्ण मिलाउँदा त्यसलाई “यहोवा” भनेर उच्चारण गर्न सकिन्छ भनेर एक जना साक्षीले तिनलाई बताए। त्यो सुनेर तिनी साह्रै खुसी भए। आफूले सिकेको कुरा आफ्ना धर्मगुरुहरूलाई पनि बताउन तिनी उत्साहित हुँदै सभाघर गए। तर धर्मगुरुहरूले एरनले सोचेभन्दा उल्टो प्रतिक्रिया देखाए। परमेश्‍वरको नामबारे सत्य कुरा सिकेकोमा तिनीसितै खुसी हुनुको साटो ती धर्मगुरुहरूले तिनलाई थुके अनि तिनलाई त्यहाँबाट निकालिदिए। तिनको परिवारमा पनि फाटो आयो। तैपनि तिनी पछि हटेनन्‌। तिनले सत्य किन्‍न छोडेनन्‌ र यहोवाको एक जना साहसी साक्षीको रूपमा आफ्नो बाँकी जीवन बिताए। सत्यको मार्गमा हिँड्‌नको लागि हामीले समाजमा आफ्नो प्रतिष्ठा गुमाउनुपऱ्‍यो अथवा परिवारसितको सम्बन्ध चिसो भयो भने पनि हामी एरनजस्तै त्यो मूल्य तिर्न तयार हुन्छौँ।

१३, १४. सत्य किन्‍न हामीले आफ्नो सोचाइ र आचरणमा कस्तो परिवर्तन गर्नुपर्ने हुन्छ? एउटा उदाहरण बताउनुहोस्‌।

१३ भ्रष्ट सोचाइ र आचरण। सत्य स्विकार्न अनि बाइबलको नैतिक स्तरअनुसार जिउन हामी आफ्नो सोचाइ अनि आचरणमा परिवर्तन ल्याउन इच्छुक हुनुपर्छ। यस्ता परिवर्तनबारे पत्रुसले लेखेको यो कुरा विचार गर्नुहोस्‌: “परमेश्‍वरको ज्ञान नपाउँदा तिमीहरू जुन इच्छाअनुसार चल्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न छोड। तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्‍वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ।” (१ पत्रु. १:१४, १५) कोरिन्थ सहरका धेरैजसो मानिसहरू नैतिक तवरमा भ्रष्ट जीवन बिताउँथे। त्यसैले सत्य किन्‍नको लागि तिनीहरूले आफ्नो जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्थ्यो। (१ कोरि. ६:९-११) त्यसैगरि सत्य किन्‍नको लागि आज पनि थुप्रैले भ्रष्ट आचरण त्यागेका छन्‌। पत्रुसले आफ्नो समयका ख्रिष्टियनहरूलाई यसो पनि भने: “निर्लज्ज आचरण, अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।”—१ पत्रु. ४:३.

१४ डेभिन र ज्यास्मिन पियक्कड भएको वर्षौँ भइसकेको थियो। डेभिन सिपालु अकाउन्टेन्ट थिए तैपनि रक्सी पिउने बानीले गर्दा तिनी कुनै पनि जागिरमा टिक्न सक्दैन थिए। ज्यास्मिनले पनि रिसाहा अनि हिंस्रक स्वभावकी आइमाई भन्‍ने नराम्रो नाम कमाएकी थिइन्‌। एक दिन बाटोमा मात्तिएर हिँडिरहेको बेला ज्यास्मिनले यहोवाका साक्षीहरूको दुई जना मिसनरीहरूलाई भेटिन्‌। ती मिसनरीहरूले बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाए। तर त्यसको अर्को हप्ता ती मिसनरीहरू डेभिनको घरमा पुग्दा ज्यास्मिन र डेभिन दुवै मात्तिएर बसेका थिए। ती मिसनरीहरूले तिनीहरूको वास्ता गर्लान्‌ र साँच्चै तिनीहरूको घरमा आउलान्‌ भनेर तिनीहरूले सोचेकै थिएनन्‌। अर्को पटकको भेटमा भने अवस्था बिलकुलै फरक थियो। तिनीहरू पहिलो अध्ययनदेखि नै बाइबलको लगनशील विद्यार्थी बने अनि आफूले सिकेको कुरा लागू पनि गर्न थाले। तीन महिनाभित्रै तिनीहरूले रक्सी छोड्‌ने निर्णय गरे अनि कानुनी रूपमा विवाह पनि गरे। तिनीहरूले गरेको यस्तो परिवर्तनबारे थुप्रैले थाह पाए। त्यसले गर्दा तिनीहरूको गाउँका अरूले पनि बाइबल अध्ययन गर्न थाले।

१५. सत्य किन्‍नको लागि कुन मूल्य तिर्न एकदमै गाह्रो हुन सक्छ र किन?

१५ बाइबलविपरीत रीतिथिति र चलनहरू। सत्य किन्‍न बाइबलविपरित रीतिथिति र चलनहरू त्याग्नुपर्ने हुन्छ अनि यो मूल्य तिर्न एकदमै गाह्रो हुन सक्छ। यस्ता चलन त्याग्नुपर्ने धर्मशास्त्रीय आधार बुझेपछि त्यो लागू गर्न कोही-कोही सजिलै तयार हुन्छन्‌ भने कोही-कोही चाहिँ परिवार, सहकर्मी वा साथीभाइबाट आउने दबाबले गर्दा सत्यको लागि मूल्य तिर्न हिचकिचाउँछन्‌। खासगरि मृतक आफन्तहरूको सम्झना गर्ने रीतिथितिहरूमा मानिसहरूको गहिरो भावना मुछिएको हुन्छ। (व्यव. १४:१) तर अरूले देखाएको साहसले हामीलाई आवश्‍यक परिवर्तन गर्न मदत गर्न सक्छ। प्रथम शताब्दीमा एफिसस सहरका केही बासिन्दाले साहसी हुँदै चालेको कदमबारे विचार गरौँ।

१६. सत्य किन्‍न एफिससमा भएका केही ख्रिष्टियनहरूले के गरे?

१६ एफिसस सहर जादुगरीको लागि चिरपरिचित थियो। पहिले जादुगरी गर्ने गरेका तर धर्म परिवर्तन गरेर भर्खरै ख्रिष्टियनहरू बनेकाहरूले बाइबलविपरीत ती कामहरू त्याग्न र सत्य किन्‍नको लागि के गरे? बाइबल यसो भन्छ: “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए। तिनीहरूले त्यसको मोल निकाल्दा ५० हजार चाँदीको टुक्राबराबर पाए। यसरी यहोवा परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै गयो।” (प्रेषि. १९:१९, २०) ती वफादार ख्रिष्टियनहरूले धेरै मूल्य पर्ने कुराहरू त्यागे र त्यसको बदलामा अनमोल आशिष्‌हरू पाए।

१७. (क) सत्य किन्‍नको लागि हामीले तिर्नुपर्ने मूल्यमा के-कस्ता कुराहरू पर्न सक्छन्‌? (ख) अर्को लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

१७ सत्य किन्‍न तपाईँले कस्तो मूल्य तिर्नुभयो? सत्यको फूल जम्मा गर्न हामी सबैले आफ्नो समय खर्च गऱ्‍यौँ। केहीले भौतिक लाभहरू त्यागेर अनि परिवार र साथीभाइसितको सम्बन्धमा परेको असर सहेर सत्य किनेका छन्‌। थुप्रैले आफ्नो सोचाइ र आचरण परिवर्तन गरेका छन्‌ अनि बाइबलविपरीत रीतिथिति र चलनहरू त्यागेका छन्‌। जस्तोसुकै मूल्य तिर्नुपरे तापनि आफूले पाएको बाइबल सत्यको तुलनामा त्यो केही पनि होइन भनेर हामी विश्‍वस्त छौँ। बाइबल सत्यले गर्दा नै हामीले आफूसित भएको सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात्‌ यहोवासित नजिकको सम्बन्ध गाँस्न पाएका छौँ। हामीले सत्य थाह पाएकोले के-कस्ता आशिष्‌ पाएका छौँ भनेर विचार गर्दा कसैले सत्यलाई बेच्ने कुरा हामी सोच्न पनि सक्दैनौँ। तर कोही-कोही सत्यलाई बेच्ने हदसम्म कसरी पुग्न सक्छन्‌? अनि यस्तो गम्भीर भूल गर्नदेखि हामी कसरी जोगिन सक्छौँ? अर्को लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ।

a यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने