अध्ययन लेख ३०
धर्ममा आस्था नराख्ने मानिसहरूको मनसम्म कसरी पुग्न सक्छौँ?
“सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु।”—१ कोरि. ९:२२.
गीत ८२ “तिमीहरूको ज्योति चम्कोस्”
परिचयa
१. हालैका दशकहरूमा केही ठाउँमा कस्तो परिवर्तन आएको छ?
हजारौँ वर्षदेखि अधिकांश मानिसहरूले कुनै न कुनै धर्ममा आस्था राख्दै आएका छन्। तर हालैका दशकहरूमा एउटा आमूल परिवर्तन आएको छ। अहिले धर्म नमान्ने मानिसहरूको सङ्ख्या बढ्दै छ। अझ भन्नुपर्दा, केही देशका अधिकांश मानिसहरू आफूले कुनै धर्म नमान्ने कुरा बताउँछन्।b—मत्ति २४:१२.
२. धर्ममा आस्था नराख्ने मानिसहरूको सङ्ख्या किन बढ्दै छ?
२ अहिले धर्ममा आस्था नराख्ने मानिसहरूको सङ्ख्या किन बढ्दै छ?c केही मानिसहरू मोजमज्जा गर्नमै लग्गू भएकोले वा जीवनको फिक्रीले अलमलिएका छन्। (लुका ८:१४) केही मानिसहरू भने नास्तिक भएका छन्। अरू केही भने भगवान्मा आस्था राख्छन् तर धर्म भनेको पुरानो जमानाको कुरा हो, यो अहिलेको समयमा पटक्कै व्यावहारिक छैन अनि यो विज्ञानसित बाझिन्छ र तर्कसङ्गत छैन भन्ने गर्छन्। तिनीहरूले आफ्ना साथीभाइ, शिक्षकहरू वा सञ्चारकर्मीहरूबाट जीवन क्रमविकासको उपज हो भनेर सुनेका हुन सक्छन् तर भगवान्माथि विश्वास गर्न सकिने चित्तबुझ्दो आधारहरूबारे चाहिँ त्यत्ति नसुनेका हुन सक्छन्। अरू कोही-कोही भने पैसा र शक्तिको लागि जे पनि गर्ने धर्मगुरुहरू देखेर दिक्क भएका हुन सक्छन्। अनि कुनै-कुनै ठाउँमा चाहिँ सरकारले नै धार्मिक क्रियाकलापमा केही रोक लगाएको छ।
३. यस लेखको उद्देश्य के हो?
३ येसु हामीले ‘सबै जातिका मानिसहरूलाई चेला बनाएको’ चाहनुहुन्छ। (मत्ति २८:१९) हामी धर्ममा आस्था नराख्ने मानिसहरूलाई परमेश्वरलाई प्रेम गर्न र ख्रिष्टको चेला बन्न कसरी मदत दिन सक्छौँ? तिनीहरूले हाम्रो सन्देशप्रति देखाउने प्रतिक्रिया तिनीहरू हुर्केको ठाउँमा भर पर्छ भन्ने कुरा मनमा राख्नुपर्छ। उदाहरणको लागि, युरोपेली मुलुकमा हुर्केका मानिसहरूले एसियाली मुलुकमा हुर्केका मानिसहरूले भन्दा बिलकुलै फरक प्रतिक्रिया देखाउन सक्छन्। किन? किनकि युरोपेली मुलुकका प्रायजसो मानिसहरूलाई बाइबलबारे केही न केही थाह छ र तिनीहरूले परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भन्ने कुरा पनि सुनेका छन्। तर एसियाली मुलुकका मानिसहरूलाई भने बाइबलबारे थोरै मात्र थाह छ अथवा कतिलाई त बाइबलबारे केही पनि थाह छैन र तिनीहरूले सृष्टिकर्तामा विश्वास नगर्न सक्छन्। यस लेखको उद्देश्य प्रचारमा भेटिने सबै मानिसको मनसम्म पुग्न हामीलाई मदत दिनु हो, चाहे उनीहरूको पृष्ठभूमि जस्तोसुकै किन नहोस्।
सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्
४. हामी किन सकारात्मक मनोवृत्ति कायम राख्न सक्छौँ?
४ सकारात्मक हुनुहोस्। हरेक वर्ष धर्ममा आस्था नराख्ने थुप्रै मानिस यहोवाको साक्षी बन्ने गर्छन्। तिनीहरूमध्ये थुप्रैको नैतिक स्तर पहिल्यैदेखि राम्रो थियो तर तिनीहरू धार्मिक कपट देखेर दिक्क भएका थिए। अरूको भने नैतिक स्तर खस्केको थियो र थुप्रैले आफ्नो नराम्रो आनीबानी त्याग्नुपरेको थियो। त्यसैले हामी यो कुरामा ढुक्क छौँ: “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरू भेट्टाउन यहोवा हामीलाई मदत गर्नुहुन्छ।—प्रेषि. १३:४८; १ तिमो. २:३, ४.
बाइबलमा विश्वास नगर्ने मानिसहरूलाई प्रचार गर्दा आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहोस् (अनुच्छेद ५-६ हेर्नुहोस्)d
५. मानिसहरूले अक्सर केले गर्दा हामीले सुनाउने सन्देशप्रति राम्रो प्रतिक्रिया देखाउँछन्?
५ दयालु हुनुहोस् र कुशलतापूर्वक व्यवहार गर्नुहोस्। हामी के भन्छौँ, त्यसले गर्दा नभई बरु कसरी भन्छौँ, त्यसले गर्दा मानिसहरूले बाइबलको सन्देशप्रति अक्सर राम्रो प्रतिक्रिया देखाउँछन्। हामी उनीहरूप्रति दयालु भयौँ, उनीहरूसित कुशलतापूर्वक व्यवहार गऱ्यौँ अनि साँचो चासो देखायौँ भने उनीहरूले त्यसको कदर गर्नेछन्। हामी उनीहरूलाई हाम्रो कुरा सुन्न जबरजस्ती गर्दैनौँ। बरु धर्मप्रति उनीहरूको दृष्टिकोण कस्तो छ र उनीहरूले त्यस्तो दृष्टिकोण राख्नुको कारण के हो भनेर पत्ता लगाउने कोसिस गर्छौँ। उदाहरणको लागि, कसै-कसैलाई अपरिचित व्यक्तिसित धर्मको विषयमा कुरा गर्न मन पर्दैन। कसै-कसैलाई चाहिँ भगवान्बारे अरूको धारणा सोध्नु राम्रो होइन जस्तो लाग्छ। कसै-कसैलाई भने आफूले बाइबल पढिरहेको अरूले देख्यो भने अप्ठ्यारो लाग्न सक्छ, खासगरि यहोवाका साक्षीहरूसित। जेहोस्, हामी अरूको भावना बुझ्ने कोसिस गर्छौँ।—२ तिमो. २:२४, फुटनोट।
६. प्रेषित पावलले कसरी परिस्थितिअनुसार आफ्नो प्रस्तुति छाँटकाँट गरे? हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ?
६ हामीले “बाइबल,” “सृष्टि,” “परमेश्वर” वा “धर्म”-जस्ता शब्दहरू चलाउँदा यदि कसैलाई अप्ठ्यारो लाग्छ भने हामी के गर्न सक्छौँ? हामी प्रेषित पावलको अनुकरण गर्दै आफ्नो प्रस्तुति छाँटकाँट गर्न सक्छौँ। यहुदीहरूसित कुरा गर्दा पावलले धर्मशास्त्रबाटै तर्क गरे। तर अरियोपागसमा ग्रीक दार्शनिकहरूसित कुरा गर्दा भने तिनले सीधै बाइबलबारे उल्लेख गरेनन्। (प्रेषि. १७:२, ३, २२-३१) हामी कसरी पावलको तरिका अपनाउन सक्छौँ? यदि कसैलाई बाइबलको कुरा सुन्न मन पर्दैन भने तिनीसित तर्क गर्दा सीधै बाइबलबारे उल्लेख नगर्नु नै बेस हो। तपाईँले तिनलाई बाइबलै खोलेर देखाउँदा अरूले देख्ने हो कि भनेर तिनलाई चिन्ता लाग्न सक्छ। यदि त्यसो हो भने तपाईँ अरूले याद नगर्ने तरिकामा बाइबलका पदहरू देखाउन सक्नुहुन्छ, जस्तै मोबाइल वा ट्याबलेटबाट।
७. पहिलो कोरिन्थी ९:२०-२३ अनुसार हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?
७ समझदार हुनुहोस् र सुन्नुहोस्। मानिसहरूको सोचाइ र भावनालाई कस्ता कुराहरूले असर गरेको हुन्छ भनेर हामीले बुझ्ने कोसिस गर्नुपर्छ। (हितो. २०:५) फेरि पावलको उदाहरण विचार गरौँ। तिनी यहुदी समाजमा हुर्केका थिए। त्यसैले अन्यजातिहरूलाई प्रचार गर्दा तिनले पक्कै आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्नुपरेको थियो किनकि तिनीहरूलाई यहोवा र धर्मशास्त्रबारे अलि-अलि मात्र थाह थियो वा केही पनि थाह थिएन। हामीले पनि केही अनुसन्धान गर्नुपर्ने वा मण्डलीका परिपक्व दाजुभाइ दिदीबहिनीसित सल्लाह लिनुपर्ने हुन सक्छ। यसो गर्दा हामी इलाकाका मानिसहरूको सोचाइ र भावना बुझ्न सक्छौँ।—१ कोरिन्थी ९:२०-२३ पढ्नुहोस्।
८. बाइबलबारे कुराकानी थाल्ने एउटा तरिका के हो?
८ हाम्रो लक्ष्य “योग्य” व्यक्तिहरू खोज्नु हो। (मत्ति १०:११) मानिसहरूको मनसम्म पुग्न हामीले उनीहरूलाई आफ्नो विचार व्यक्त गर्ने मौका दिनुपर्छ र उनीहरूको कुरा ध्यान दिएर सुन्नुपर्छ। बेलायतका एक भाइ वैवाहिक जीवन सुखी बनाउने, छोराछोरी हुर्काउने वा अन्यायको सामना गर्ने जस्ता विषयहरूमा मानिसहरूको विचार सोध्ने गर्छन्। अनि उनीहरूको कुरा सुनेपछि यसो भन्छन्: “करिब २,००० वर्षअघि लेखिएको यो सुझावचाहिँ तपाईँलाई कस्तो लाग्छ?” त्यसपछि तिनी “बाइबल” शब्द नचलाईकनै आफूले राम्ररी सोचविचार गरेर छानेका पदहरू मोबाइलबाट देखाउँछन्।
मानिसहरूको मनसम्म पुग्नुहोस्
९. भगवान्बारे अक्सर कुरा गर्न नचाहने मानिसहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?
९ भगवान्बारे त्यति कुरा गर्न नचाहने मानिसहरूको मनसम्म पुग्न हामी तिनीहरूलाई चासो लाग्ने विषयमा कुरा गर्न सक्छौँ। उदाहरणको लागि, थुप्रै मानिस प्रकृति देखेर दङ्ग पर्छन्। त्यसैले हामी यस्तै केही भन्न सक्छौँ: “वैज्ञानिकहरूले प्रकृतिमा पहिल्यैदेखि भएका कुराहरूको नक्कल गरेर थुप्रै आविष्कार गरेका छन् भन्ने कुरा तपाईँलाई थाह छ होला। जस्तै, माइक्रोफोन डिजाइन गर्नेहरूले मानव कानको र क्यामरा डिजाइन गर्नेहरूले मानव आँखाको अध्ययन गर्छन्। त्यसोभए प्रकृतिमा भएका कुराहरूबारे विचार गर्दा तपाईँलाई कस्तो लाग्छ? यी कुराहरू आफसेआफ आएका होलान् कि सृष्टि गर्ने कोही छ होला? अथवा तपाईँको अर्कै धारणा छ कि?” जवाफ ध्यान दिएर सुनेपछि तपाईँ यसो भन्न सक्नुहुन्छ: “इन्जिनियरहरूले मानव कान वा आँखाको बनौट हेरेर कुनै नयाँ कुरा बनाउन सिक्दा तिनीहरूले वास्तवमा कसबाट सिकिरहेका छन् भन्ने प्रश्न हाम्रो मनमा उठ्न सक्छ। पुरातन समयका एक कविले लेखेको यो कुरा पढ्दा मलाई अचम्म लाग्यो: ‘जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र? जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र? . . . मानिसहरूलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ!’ केही वैज्ञानिकहरू यस्तै निष्कर्षमा पुगेका छन्।” (भज. ९४:९, १०) त्यसपछि हामी jw.org® बाट “अन्तरवार्ता तथा अनुभव” अन्तर्गत “जीवनको सुरुवातसम्बन्धी धारणा” भन्ने शृङ्खलामा भएको भिडियो देखाउन सक्छौँ। (प्रकाशनहरू > भिडियो अन्तर्गत हेर्नुहोस्) अथवा हामी उनीहरूलाई जीवन सृष्टि कि संयोग? वा जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न भन्ने पुस्तिका दिन सक्छौँ।
१०. भगवान्बारे कुरा गर्न त्यति नरुचाउने मानिसहरूसित हामी कसरी कुराकानी थाल्न सक्छौँ?
१० प्रायजसो मानिसहरू भविष्य राम्रो होस् भन्ने आस गर्छन्। तर थुप्रै मानिस पृथ्वी विनाश हुनेछ र पृथ्वीमा मानिसहरू बाँच्न सम्भव हुनेछैन भनेर डराउँछन्। भगवान्बारे कुरा गर्न त्यति नरुचाउने मानिसहरू अक्सर संसारको अवस्थाबारे कुरा गर्न रुचाउँछन् भनी नर्वेका एक परिभ्रमण निरीक्षक बताउँछन्। मानिसहरूलाई अभिवादन गरेपछि तिनी यसो भन्छन्: “तपाईँको विचारमा हामीलाई कसले राम्रो भविष्य दिन सक्छ होला? राजनीतिज्ञहरूले, वैज्ञानिकहरूले वा अरू कसैले?” जवाफ राम्ररी सुनेपछि तिनी उज्ज्वल भविष्यबारे बताउने कुनै बाइबल पद पढ्छन् वा उद्धरण गर्छन्। पृथ्वी सधैँभरि रहनेछ र राम्रा मानिसहरू पृथ्वीमा सधैँभरि बस्नेछन् भन्ने बाइबलको प्रतिज्ञा सुनेर केही मानिसहरू दङ्ग पर्छन्।—भज. ३७:२९; उप. १:४.
११. मानिसहरूसित कुराकानी थाल्न हामीले किन विभिन्न तरिका अपनाउनुपर्छ? रोमी १:१४-१६ अनुसार हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?
११ मानिसहरूसित कुराकानी थाल्न हामीले विभिन्न तरिका अपनाउनुपर्छ। किन? किनकि मानिसहरू फरक-फरक हुन्छन्। एक जनालाई चासो लाग्ने कुरा अर्कोलाई मन नपर्न सक्छ। कोही भगवान् वा बाइबलबारे कुरा गर्न इच्छुक हुन्छन् तर कसैसित भने पहिला अरू नै विषयमा कुरा गर्नुपर्ने हुन्छ। जेहोस् हामीले सबै किसिमका मानिससित कुरा गर्ने मौकाको सदुपयोग गर्नुपर्छ। (रोमी १:१४-१६ पढ्नुहोस्) साथै सही कुरालाई प्रेम गर्ने मानिसहरूको मनमा सत्यको बिउ बढाउने यहोवा नै हुनुहुन्छ भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन।—१ कोरि. ३:६, ७.
एसियाली मुलुकका मानिसहरूलाई सत्य सुनाउनुहोस्
थुप्रै राज्य प्रचारकहरू गैर-ख्रिष्टियन देशहरूबाट आएकाहरूलाई व्यक्तिगत चासो देखाउँछन् र तिनीहरूलाई बाइबलमा पाइने व्यावहारिक सल्लाहहरू बताउँछन् (अनुच्छेद १२-१३ हेर्नुहोस्)
१२. सृष्टिकर्ताको अस्तित्वबारे विचार नगरेका एसियाली मुलुकका मानिसहरूलाई हामी कसरी सत्य सुनाउन सक्छौँ?
१२ संसारभरि नै थुप्रै प्रचारकहरूले एसियाली मुलुकबाट आएका मानिसहरूलाई भेटेका छन्; तिनीहरूमध्ये कोही-कोही त सरकारले धार्मिक क्रियाकलापमा केही रोक लगाएको ठाउँहरूबाट आएका छन्। कतिपय एसियाली मुलुकका मानिसहरूले सृष्टिकर्ताको अस्तित्व छ कि छैन भन्ने कुरा कहिल्यै गहिरिएर सोचेका हुँदैनन्। केही मानिसहरू अझ धेरै बुझ्न उत्सुक हुन्छन् अनि बाइबल अध्ययनको प्रस्ताव स्विकार्छन् तर कोही-कोही भने नौलो कुरा सुन्दा सुरुमा हिचकिचाउँछन्। त्यस्ता मानिसहरूको मनसम्म पुग्न हामी के गर्न सक्छौँ? केही अनुभवी प्रचारकहरू सुरुमा मानिसहरूसित साधारण कुराकानी गर्छन्, उनीहरूलाई व्यक्तिगत चासो देखाउँछन् अनि बाइबलको कुनै खास सिद्धान्त लागू गर्न थाल्दा आफ्नो जीवनमा कस्तो परिवर्तन आयो भनेर उपयुक्त मौकामा बताउँछन्। यसो गर्दा तिनीहरू सत्य सुनाउन सफल भएका छन्।
१३. मानिसहरू के कारणले बाइबलतर्फ आकर्षित हुन सक्छन्? (आवरण पृष्ठको तस्बिर हेर्नुहोस्)
१३ प्रायजसो मानिसहरू बाइबलमा पाइने व्यावहारिक सल्लाहप्रति सुरुमा आकर्षित हुन्छन्। (उप. ७:१२) न्यु योर्कमा चिनियाँ भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्ने एउटी बहिनी यसो भन्छिन्: “म मानिसहरूलाई व्यक्तिगत चासो देखाउने र उनीहरूको कुरा सुन्ने कोसिस गर्छु। उनीहरू भर्खरै बसाइँ सरेर आएका रहेछन् भने यसो भन्ने गर्छु: ‘यहाँको बसाइ कस्तो हुँदै छ? तपाईँले काम पाउनुभयो? यहाँका मानिसहरूले तपाईँलाई कस्तो व्यवहार गर्दै छन्?’” यसरी कुराकानी थाल्दा उक्त व्यक्तिलाई बाइबलको शिक्षा सुनाउने मौका खुल्छ। उपयुक्त छ भने ती बहिनी थप यसो भन्छिन्: “तपाईँको विचारमा अरूसित मिलेर बस्न नभई नहुने कुरा के होला? म तपाईँलाई बाइबलको एउटा भनाइ देखाऊँ? यहाँ हेर्नुहोस् त: ‘झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।’ तपाईँलाई कस्तो लाग्छ, के यो सल्लाहले हामीलाई अरूसित मिलेर बस्न मदत गर्छ?” (हितो. १७:१४) यसरी कुराकानी गर्दा कुनै व्यक्ति बाइबलबारे अझ धेरै बुझ्न इच्छुक छन् कि छैनन् भनेर ठम्याउन मदत पुग्नेछ।
१४. सुदूर पूर्वी मुलुकका एक भाइ ‘म भगवान्मा विश्वास गर्दिनँ’ भन्ने मानिसहरूलाई कसरी मदत गर्छन्?
१४ कसैले ‘म भगवान्मा विश्वास गर्दिनँ’ भन्छ भने हामी के भन्न सक्छौँ? धर्ममा आस्था नराख्ने मानिसहरूलाई सुदूर पूर्वी मुलुकमा लामो समयदेखि प्रचार गरिरहेका एक भाइ भन्छन्: “यहाँ कसैले ‘म भगवान्मा विश्वास गर्दिनँ’ भन्छ भने वास्तवमा उसले यहाँका मानिसहरूले पहिल्यैदेखि मानिआएका देवीदेवतालाई पुज्दिनँ भनिरहेको हुन्छ। त्यसैले धेरैजसो देवीदेवता मान्छेले नै बनाएका हुन् र तिनीहरू साँचो भगवान् होइनन् भन्ने कुरामा म सहमति जनाउँछु। म उनीहरूलाई अक्सर यर्मिया १६:२० पढेर सुनाउँछु: ‘के मानिसले आफ्नो निम्ति देवताहरू बनाउन सक्छ र? तिनीहरूले बनाएका देवताहरू साँच्चैका देवताहरू होइनन्।’ त्यसपछि सोध्छु: ‘कुन भगवान् साँचो हो अनि कुन भगवान् मान्छेले बनाएको हो, कसरी छुट्ट्याउन सकिन्छ होला?’ उनीहरूको कुरा ध्यान दिएर सुनेपछि म यसैया ४१:२३ पढेर सुनाउँछु: ‘भविष्यवाणी गरेर देखाओ अनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।’ त्यसपछि म यहोवाले भविष्यमा हुने कुराबारे गर्नुभएको कुनै एउटा भविष्यवाणी देखाउँछु।”
१५. पूर्वी एसियाका एक भाइको अनुभवबाट हामी के सिक्न सक्छौँ?
१५ पूर्वी एसियाका एक भाइ पुनःभेट गर्ने आफ्नो तरिकाबारे यसो भन्छन्: “म तिनीहरूलाई बाइबलका व्यावहारिक सल्लाहहरू, पूरा भइसकेका भविष्यवाणीहरू र पूरै ब्रह्माण्डलाई नियन्त्रण गर्ने प्राकृतिक नियमहरूबारे बताउँछु। त्यसपछि यी सबै कुराले एक जना जीवित र बुद्धिमान् सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा कसरी प्रमाणित गर्छ भनी बताउँछु। कसैलाई भगवान्को अस्तित्व छ जस्तो लाग्न थालेको सङ्केत पाएँ भने म तिनलाई बाइबलले यहोवाबारे के बताउँछ भनी देखाउँछु।”
१६. हिब्रू ११:६ अनुसार बाइबल विद्यार्थीहरूले परमेश्वरमा र बाइबलमा विश्वास गर्नु किन महत्त्वपूर्ण छ? हामी कसरी तिनीहरूलाई विश्वास खेती गर्न मदत दिन सक्छौँ?
१६ धर्ममा आस्था नराख्ने पृष्ठभूमिका मानिसहरूलाई बाइबल अध्ययन गराउँदै छौँ भने भगवान्को अस्तित्व छ भन्ने कुरामा हामीले तिनीहरूको विश्वासलाई अझै बलियो बनाउँदै लैजानुपर्छ। (हिब्रू ११:६ पढ्नुहोस्) त्यसको साथै तिनीहरूलाई बाइबलमा विश्वास गर्न पनि मदत दिनुपर्ने हुन्छ। यसको लागि हामीले केही कुराहरू दोहोऱ्याइ-तेहऱ्याइ सिकाउनुपर्ने हुन सक्छ। हरेक चोटि बाइबल अध्ययन गराउँदा बाइबल परमेश्वरको वचन हो भनेर देखाउने प्रमाणहरूबारे छलफल गर्नुपर्ने हुन सक्छ। यसो गर्न बाइबलका के-कस्ता भविष्यवाणीहरू पूरा भइसकेका छन्, बाइबल वैज्ञानिक र ऐतिहासिक रूपमा कसरी सही छ वा बाइबलले कस्ता व्यावहारिक सल्लाहहरू दिन्छ भनेर छोटकरीमा बताउन सकिन्छ।
१७. हामीले मानिसहरूलाई प्रेम देखाउँदा उनीहरूमा कस्तो प्रभाव पर्न सक्छ?
१७ हामी मानिसहरूलाई प्रेम देखाएर ख्रिष्टको चेला बन्न मदत दिन्छौँ, चाहे उनीहरूले धर्ममा आस्था राखून् या नराखून्! (१ कोरि. १३:१) उनीहरूलाई सिकाउँदा हाम्रो लक्ष्य भनेको परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ र हामीले पनि उहाँलाई प्रेम गरेको चाहनुहुन्छ भनेर बुझाउनु हो। हरेक वर्ष, धर्ममा थोरै मात्र चासो भएका वा पटक्कै चासो नभएका हजारौँले परमेश्वरलाई प्रेम गर्न सिकेर बप्तिस्मा गर्छन्। त्यसैले सकारात्मक हुनुहोस् र सबै किसिमका मानिसलाई मायालु चासो देखाउनुहोस्। उनीहरूको कुरा सुन्नुहोस्। उनीहरूको सोचाइ र भावना बुझ्ने प्रयास गर्नुहोस्। तपाईँको आफ्नै उदाहरणद्वारा उनीहरूलाई ख्रिष्टको चेला बन्न सिकाउनुहोस्।
गीत ७६ भन कस्तो लाग्छ?
a अहिले हामी क्षेत्रमा धर्ममा आस्था नराख्ने मानिसहरू पहिलेभन्दा धेरै भेट्छौँ। हामी त्यस्ता मानिसहरूलाई कसरी बाइबलको सत्य बताउन सक्छौँ अनि तिनीहरूलाई बाइबलमा विश्वास गर्न र यहोवा परमेश्वरमाथि भरोसा राख्न कसरी मदत दिन सक्छौँ भनेर यस लेखमा छलफल गरिएको छ।
b सर्वेक्षणहरूले देखाएअनुसार तीमध्ये केही मुलुकहरू यी हुन्: अजरबैजान, अल्बेनिया, अस्ट्रिया, अस्ट्रेलिया, आयरल्याण्ड, इजरायल, क्यानाडा, चीन, चेक गणतन्त्र, जर्मनी, जापान, डेनमार्क, दक्षिण कोरिया, नर्वे, नेदरल्याण्ड्स, फ्रान्स, बेलायत, भियतनाम, स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र हङकङ।
c थप व्याख्या: यस लेखमा धर्ममा आस्था नराख्ने मानिसहरू भन्ने अभिव्यक्तिले कुनै पनि धार्मिक सङ्गठनको सदस्य नबनेका वा भगवान्को अस्तित्वमा विश्वास नगर्ने मानिसहरूलाई बुझाउँछ।
d चित्रको व्याख्या: एक भाइ अस्पतालमा सहकर्मीलाई साक्षी दिन्छन्। पछि तिनले jw.org वेबसाइट खोलेर हेर्छन्।