के तपाईंले पारिवारिक अध्ययन गरिरहनुभएको छ?
१ हामीलाई साप्ताहिक पारिवारिक अध्ययनको तालिका सुरु गर्न प्रोत्साहन दिइएको छ। नियमित पारिवारिक अध्ययन किन असाध्यै महत्त्वपूर्ण छ र यसको उद्देश्य के हो? अध्ययन सञ्चालन गर्न कसले नेतृत्व लिनुपर्छ? अध्ययनलाई कसरी जीवन्त र रोचक बनाउन सकिन्छ? बाइबलले र ख्रीष्टियान अनुभवले हामीलाई यी प्रश्नको जवाफ दिन्छ।
२ आमाबाबुको जिम्मेवारी: छोराछोरीलाई सिकाउने काममा कसले नेतृत्व लिनुपर्छ, बाइबलले प्रस्टै बताएको छ। “ए बाबु हो, . . . तिमीहरूका बालकहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफि. ६:४) बुबाहरूले आफ्नो जिम्मेवारीलाई इच्छुकतासाथ स्वीकार्नुपर्छ। हो, छोराछोरीलाई ज्ञान र शिक्षा दिन उत्सुकसमेत हुनुपर्छ। तथापि, बुबा विश्वासमा छैनन् भने छोराछोरीलाई सिकाउने र पारिवारिक अध्ययन सञ्चालन गर्ने काम विश्वासमा भएकी पत्नीले गर्नुपर्छ। (२ तिमो. १:५) अथवा अन्य कारणले गर्दा एक जना बहिनीले नै छोराछोरीलाई सिकाउने सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। (हितो. १:८) अनि कहिलेकाहीं खास आवश्यकताअनुसार प्राचीन वा परिपक्व प्रकाशकले केही मदत दिन सक्छन्। तर यसो भन्दैमा आमाबाबुले अझ विशेषगरि बुबाले आफ्नो जिम्मेवारीबाटै छुटकारा पाउने प्रबन्ध भने यो होइन। किनभने छोराछोरीलाई सिकाउने, प्रशिक्षण दिने र हेरविचार गर्ने धर्मशास्त्रीय जिम्मेवारी उनीहरूकै हो।—व्यव. ६:६, ७; १ तिमो. ३:२, ४.
३ परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस् र औपचारिक नहुनुहोस्: पारिवारिक अध्ययन सञ्चालन भइरहेको बेला विचार गर्नुपर्ने कुरा के-के हुन्? पारिवारिक अध्ययन मण्डलीका सभाहरूजस्तो औपचारिक हुनु आवश्यक नभए तापनि शिक्षामूलक भने हुनुपर्छ। पारिवारिक अध्ययनलाई गाली गर्ने अवसर होइन रमाइलो बनाउनुहोस्। छोराछोरीलाई आफ्नै शब्दमा टिप्पणी गर्न प्रोत्साहन दिनुहोस्। यसो गर्दा छोराछोरीले छिटै सिक्न सक्छन्। छलफल भइरहेको विषयलाई साना छोराछोरीले राम्ररी बुझ्न सकेनन् भने पनि पारिवारिक अध्ययनमा बसेकोमा उनीहरूको सराहना गर्नुपर्छ र उनीहरूलाई अध्ययनमा भाग लिन मदत दिनुपर्छ। बुद्धिमान् आमाबाबुले हरेक छोराछोरीको आवश्यकता, बुझ्ने क्षमता, उनीहरूले ध्यान दिन सक्ने समय र आफ्नो कुरा व्यक्त गर्न सक्ने क्षमतालाई ध्यान दिन्छन्। तपाईंले नथाकीकन गरेको मायालु प्रयासले निश्चय नै परिवार एकताबद्ध हुनेछ र परिवारको आध्यात्मिकता बढ्नेछ।
४ साप्ताहिक सभाको तालिकामा हुने परिवर्तन विचार गर्दा, नियमित पारिवारिक अध्ययन सुरु गर्ने उपयुक्त समय अहिल्यै हो, होइन र? नियमित पारिवारिक बाइबल अध्ययनले छोराछोरीलाई जीवनमा आइपर्ने समस्यासँग डट्न प्रशिक्षण दिन्छ र तयार पार्छ। तपाईं आमाबाबुहरू परमेश्वरले सुम्पेको जिम्मेवारी स्वीकारेर छोराछोरीलाई मदत दिने राम्रो अवस्थामा हुनुहुन्छ। पारिवारिक बाइबल अध्ययनलाई निरन्तरता दिन हर प्रयास गर्नुभयो भने यहोवाले तपाईंलाई निश्चय नै आशिष् दिनुहुनेछ।