पारिवारिक तालिका—पारिवारिक अध्ययन
१ मसीही आमाबाबुको हैसियतमा तपाईंले आफ्ना छोराछोरीलाई दिनसक्ने सबैभन्दा अनमोल उपहार भनेको यहोवाप्रतिको आफ्नो प्रेम उनीहरूको मनमा हालिदिनु हो। यसो गर्न सकिने एउटा उपयुक्त वातावरण साप्ताहिक पारिवारिक बाइबल अध्ययनको लागि “घरमा बस्ता” हो। (व्यव. ६:५-७) तपाईंको पति वा पत्नी सच्चाइमा भए पनि नभए पनि, तपाईं धार्मिक तवरमा विभाजित परिवारमा बस्नुपरे तापनि अथवा तपाईं एक्लो आमा वा बुबा हुनुभए तापनि नियमित रूपमा पारिवारिक अध्ययन गरेर तपाईं छोराछोरीलाई आफ्नो अनि यहोवाको नजिक हुन मदत गर्न सक्नुहुन्छ।
२ पारिवारिक अध्ययन सुरु गर्ने: सर्वप्रथम पारिवारिक रूपमा अध्ययन गर्ने बानी बसाल्नुपर्छ। कहिले अध्ययन गर्ने भन्ने विषयमा तपाईं पक्का हुनुहुन्न भने, परिवारका सबै जना मिलेर यसबारे छलछल गर्नुभए कसो होला? (हितो. १५:२२) साना छोराछोरी छन् भने हप्ताभरि तपाईंलाई अलि-अलि गरेर धेरै चोटि अध्ययन गर्न मनपर्ला। आफ्नो परिवारलाई उपयुक्त हुने तालिका बनाउनुहोस्। पारिवारिक तालिकामा अध्ययनको लागि निश्चित समय तोक्नुहोस् र त्यसैअनुसार चल्ने सङ्कल्प गर्नुहोस्।
३ तपाईं के अध्ययन गर्न सक्नुहुन्छ? कसै-कसैले आउँदो मण्डली पुस्तक अध्ययन अथवा प्रहरीधरहरा अध्ययनमा हुने पाठ तयारी गर्छन्। अरूले चाहिं विशेष गरी युवाजनहरूका लागि तयार पारिएको विषयवस्तु अध्ययन गर्छन्। सानो छोरा र छोरी भएका एक जना बुबाले यसो भने: “हाम्रा छोराछोरीलाई अध्ययन कार्यक्रम हप्ताको आकर्षण हुनुको एउटा कारण बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट दृश्यहरू अभिनय गर्ने भएकोले हो। हामीले ढाक्ने अनुच्छेदहरूको संख्याभन्दा पढेको कुरा बुझेर हृदयमा कत्तिको बसेको छ, त्यो महत्त्वपूर्ण छ।”
४ हरेक हप्ता अध्ययन गर्नुहोस्: पारिवारिक अध्ययन नियमित रूपमा गर्नुपर्छ र परिवारका सबै जनाले यसको उत्सुकतासाथ प्रतीक्षा गर्नुपर्छ। अप्रत्याशित परिस्थिति आइपर्दा अध्ययनको दिन अनि समयमा केही हेरफेर गर्न सकिन्छ। कहिलेकाहीं अध्ययन गरिने विषयवस्तु छाँटकाँट गर्नुपर्ने अवस्था पनि आइपर्न सक्छ। तर कुनै पनि आवश्यक छाँटकाँट गर्दा त्यसले पारिवारिक अध्ययनको तालिकामा लामो समयसम्म बाधा पुग्नु हुँदैन। एउटी छोरी यस्तो टिप्पणी गर्छिन्: “हाम्रो अध्ययन गर्ने समय सार्नुपरेको छ भने, अध्ययन कहिले गर्ने हो, टिपोट लेखेर बुबा सधैं फ्रिजको ढोकामा झुण्ड्याउनुहुन्छ र यसरी हामी सबैले नयाँ समयबारे थाह पाउँछौं।” नियमित रूपमा पारिवारिक अध्ययन गर्न यस्तो प्रयास गर्नु कत्ति सराहनीय छ! आफ्ना छोराछोरीलाई “प्रभुको [“यहोवाको,” NW] शिक्षा र चेताउनीमा” पालनपोषण गर्नुहुँदा तपाईंले उनीहरू लगायत स्वर्गमा हुनुहुने हाम्रो पिताप्रतिको आफ्नो प्रेम प्रदर्शित गर्नुहुन्छ।—एफि. ६:४.