जवानमानिसहरू हो, यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहोस्
१ जवानीको ताकत र जोसलाई उचित ढङ्गमा प्रयोग गर्दा जीवन साँच्चै नै आनन्दायी हुन सक्छ। बुद्धिमान राजा सुलेमानले यसप्रकार लेखे: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैस छउञ्जेल सुख-चैन गर्।” (उप० ११:९) तपाईं जवान मानिसहरू, आफूले गरेका कामकुराका लागि परमेश्वरको सामुन्ने जवाबदेही हुनुहुन्छ।
२ तपाईं आफ्नो जीवन कसरी बिताउनु हुन्छ, त्यसबाट तपाईंलाई मात्र होइन तपाईंका आमा-बाबुलाई पनि फरक पर्नेछ। हितोपदेश १०:१ यसो भन्छ: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।” तर त्योभन्दा अझ महत्त्वपूर्ण कुरा त तपाईंको जीवन बिताउने ढङ्गको असर तपाईंको सृष्टिकर्ता यहोवा परमेश्वरमाथि पनि पर्दछ। त्यसैकारण त हितोपदेश २७:११-मा यहोवाले जवान मानिसहरूलाई यो प्रोत्साहन दिनु हुन्छ: “हे मेरो छोरा, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” यहोवाको हृदयलाई आज जवान मानिसहरूले कसरी आनन्दित तुल्याउन सक्छन्? यो अनेक तरिकाहरूबाट गर्न सकिन्छ।
३ असल उदाहरणद्वारा: परमेश्वरको वचनमा अग्रिमवाणी गरिएको “कठिन समय” तपाईं जवान मानिसहरूले पनि अनुभव गर्नु हुँदैछ। (२ तिमोथी ३:१) स्कूलका अविश्वासी साथीहरू र बाइबलमा आधारित तपाईंको दृष्टिकोणलाई ठट्टामा उडाउने शिक्षकहरूबाट तपाईंमाथि दबाव आउन सक्छ। उदाहरणका लागि, एक जना शिक्षकले विकासवादलाई वास्तविकता र बाइबललाई चाहिं पौराणिक कथाको रूपमा प्रस्तुत गरे। तथापि, त्यस कक्षाको एउटा जवान प्रकाशकले वफादारीका साथ बाइबलको पक्षमा लडे। परिणामस्वरूप, थुप्रै बाइबल अध्ययनहरू सुरु भयो। चासो देखाउने केही व्यक्तिहरू सभाहरूमा आउन थाले। तपाईं जवान भाइ-बहिनीहरूको विश्वासले यो ईश्वरहीन संसारलाई दोषी ठहराउँछ र इमान्दार हृदय भएकाहरूलाई चाहिं सच्चाइप्रति आकर्षित गराउँछ।—हिब्रू ११:७ सित तुलना गर्नुहोस्।
४ मण्डलीमा भएका आफ्ना जवान साथीहरू खराब कुराहरूको दबाउमा न परून् भनेर तिनीहरूलाई के तपाईंले प्रोत्साहन दिन सक्नुहुन्छ? स्कूलमा, घरमा र मण्डलीमा एउटा राम्रो उदाहरण कायम राखेर तपाईंले अरू जवान प्रकाशकहरूको विश्वासलाई पनि बलियो पार्न सक्नुहुन्छ। (रो० १:१२) हो, अरूहरूका लागि राम्रो उदाहरण बनेर यहोवाको हृदयलाई आनन्दित तुल्याउनु होस्।
५ आफ्नो कोरीबाटी र पहिरनद्वारा: एउटी जवान बहिनीको भद्र पहिरनको कारण तिनलाई साथीहरूले खिसी गर्दै “सदा शुद्ध” भनेर सम्बोधन गर्थे। तर यी कुराहरूले तिनलाई संसारका ईश्वरहीन स्तरहरू अपनाउन बाध्य पार्न सकेन। बरु, तिनी यहोवाको एउटी साक्षी हुन् र साक्षीहरूको उच्च स्तरअनुसार तिनी हिंड्ने गर्छिन् भनेर तिनले साफसाफ बताइदिइन्। के तपाईंमा पनि यसप्रकारको आत्मबल छ? कि के तपाईंले आफूलाई शैतानको सोचविचार र आचरणको ढाँचामा आफूलाई ढालिन दिनु भएको छ? तपाईं जवान मानिसहरू मध्ये धेरै जनाले यहोवाका शिक्षाहरू स्वीकार्दै संसारको लापरवाह फैसन, लैलै, महान भनौदाहरू र शिक्षाहरूलाई तिरस्कार गरेको देख्न पाउनु ठूलो खुसीको कुरा हो। यहोवाको सङ्गठनले हामीलाई बताए झैं, संसारबाट सुरु हुने कुराहरू प्रेतहरू बाट प्रेरित हुन् भनेर हामीले साँच्चै नै मानी लिनु पर्छ!—१ तिमो० ४:१.
६ हामीले रोजेको मनोरञ्जनबाट: आमाबाबुहरूले बुद्धिमानीसाथ आफ्ना छोराछोरीलाई उचित प्रकारको मनोरञ्जन रोज्ने सहायता दिनु आवश्यक छ। आफूले बिस्तारै अति नै माया गर्न थालेको एउटा परिवारबारे एक जना भाइले निकै नै प्रशंसा गरे। परिवारका आमाबाबुको सोचाइ आध्यात्मिक भएको हुनाकारण तिनीहरूले दिएको निर्देशन त्यस परिवारले मनोरञ्जन रोज्दा पनि लागू हुन्थ्यो। ती भाइले भने: “यस परिवारले एकसाथ मिलेर कामकुरा गरेको मलाई साह्रै प्रशंसनीय लाग्छ। आमाबाबुले छोराछोरीलाई क्षेत्र-सेवाका लागि मात्र तयार पार्दैनन्। मनोरञ्जन गर्ने बेलामा पनि तिनीहरू ठाउँ-ठाउँ घुमफिर गर्न, म्युजियमहरू हेर्न अथवा घरैमा बसेर खेल्न वा सपरिवार मिलेर कुनै विशेष काम पूरा गर्न रमाइलो मान्छन्। एकअर्का र अरूहरूका लागि तिनीहरूको प्रेम देख्दा भविष्यमा जे परिआए तापनि तिनीहरू सच्चाइमै हिंड्नेछन् भनी विश्वस्त लाग्छ।”
७ हुन त हो, सपरिवार मिलेर रमाइलो गर्न वा कुनै मनोरञ्जनमा भाग लिन सधैं सम्भव नहोला। यसकारण आफ्नो फुर्सतको समय कसरी बिताउनु हुनेछ, सो फैसलाको गम्भीरताबारे तपाईं जवान मानिसहरू सजग हुनु पर्छ। सकेसम्म धेरैलाई भ्रममा पार्न शैतानले अठोट गरेको छ। त्यस्को धूर्त र कपटपूर्ण चालहरूको विशेष सिकार जवान र कम अनुभव भएका व्यक्तिहरू हुन्छन्। (२ कोरि० ११:३; एफि० ६:११) अतः, आज तपाईंलाई सही बाटोबाट तानेर एउटा अधर्मी र विलासी जीवन-शैली तर्फ लैजान शैतानले अनेक उपायहरू प्रयोग गर्छ।
८ भौतिकवादी र अनैतिक जीवन शैलीलाई विशेष बढावा दिने अति नै जाली माध्यम एउटा त टेलिभिजन पनि हो। चलचित्र र भिडिओहरूले नियमित तवरमा हिंसा र यौनलाई स्पष्टगरी चित्रित गर्छन्। लोकप्रिय सङ्गीत झन-झन भ्रष्ट र छाडा हुँदै गएको छ। शैतानका प्रलोभनहरू बाहिरबाट त अहानिकारक देखिएलान्। तर तिनको जालमा फसेर हजारन मसीही युवा-युवतीहरू गलत सोचाइ र आचरणको सिकार भएका छन्। यी दबावहरूको प्रतिरोध गर्न तपाईंले जोडतोडका साथ धार्मिकताको पिछा गर्नु पर्छ। (२ तिमो० २:२२) मनोरञ्जन र रमाइलो गर्ने सम्बन्धमा तपाईंको सोचविचार अथवा आचरणमा छाँटकाँट ल्याउनु आवश्यक छ भने ती कसरी गर्न सकिन्छ? यसको जवाफ भजनरचयिताले यसप्रकार दिन्छन्: “मैले आफ्नो पूरा मन तपाईंको खोजीमा लगाएको छु। तपाईंका आज्ञाहरूबाट मलाई तर्कन नदिनुहोस्।”—भजन० ११९:१०.
९ खेलकुद जगत र मनोरञ्जन क्षेत्रका कलाकारहरूलाई साधारणतया आवश्यकताभन्दा बढी श्रद्धा दिने गरिन्छ। तर तपाईंमा यहोवाको भय छ भने यी असिद्ध मानिसहरूलाई तपाईं यसरी पुज्नु हुनेछैन। आज केही मानिसहरूले यौनिक अनैतिकतालाई पनि मानो पूजा नै गर्छन्। यसो गर्ने झुकावबाट तपाईं बच्न चाहनु हुन्छ भने अश्लील र भ्रष्ट सङ्गीतबाट अलग्गै बस्नुहोस्। हालसालै हाम्रो मण्डली पुस्तक अध्ययनमा पढेका स्किप्ड् स्टडी आर्टिकल्स ब्रोश्यिर-मा सङ्गीतबारे यो टिप्पणी गरिएको थियो: “सङ्गीत एउटा ईश्वरीय वरदान हो। तथापि, धेरैजनाको निम्ति यो हानिकारक तल्लिनता बन्न पुग्छ। . . . सङ्गीतलाई त्यसको आफ्नै ठाउँमा राख्ने र यहोवाको क्रियाकलापलाई आफ्नो मुख्य चासोको विषय बनाउने लक्ष्य राख्नुहोस्। तपाईंले सुन्ने गरेको सङ्गीतप्रति होशियार हुनुहोस् र ध्यान पुऱ्याएर छान्ने गर्नुहोस्। यसप्रकार तपाईंले ईश्वरीय वरदानको दुरुपयोग नभई सदुपयोग गर्न सक्नुहुनेछ।”
१० खराब कुराहरूलाई घोर घृणा गर्ने बानी बसाल्नु होस्। (भजन० ९७:१०) खराब काम गर्ने परीक्षामा पर्दा यहोवाको दृष्टिकोणबारे सोच्नु होस् र त्यस खराब कामको परिणामलाई विचार गर्नु होस्: नचाहिएको गर्भधारण, यौन सम्बन्धद्वारा सर्ने रोग, भावनात्मक अशान्ति, आत्मसम्मान र मण्डलीमा विशेषाधिकारहरू गुमाउनु। दुष्टतालाई बढावा दिने टेलिभिजनका कार्यक्रमहरू, चलचित्रहरू, भिडिओ, गानाहरू अथवा कुराकानीबाट आफूलाई टाढै राख्नु होस्। बाइबलमा “मूर्ख” कहलिएका व्यक्तिहरूसित संगत नगर्नु होस्। (हितो० १३:१९) मण्डलीमा पनि यहोवा र उहाँका धार्मिक स्तरहरूलाई प्रेम गर्नेहरूलाई नै आफ्नो घनिष्ठ मित्र बनाउनु होस्।
११ हो, यहोवाको हृदयलाई साँच्चै नै आनन्दित तुल्याउन चाहने युवा-युवतीहरूले एफिसी ५:१५, १६-मा पाइने यो राम्रो सल्लाहलाई ध्यान दिनेछन्: “यसकारण कसरी हिंडछौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो। समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” यी अन्तिम दिनहरूमा आफ्नो प्रगतिलाई “विचार गरेर” हिंड्न तपाईंलाई के ले मदत दिनेछ?
१२ आध्यात्मिक आवश्यकताहरूलाई ध्यान दिन: मत्ती ५:३-मा येशूले यो टिप्पणी गर्नु भयो: “धन्य आत्मामा दरिद्र हुनेहरू। [धन्य आफ्नो आध्यात्मिक आवश्यकताबारे चेतनशील हुनेहरू। न्यु व०]” तपाईं पनि आफ्नो आध्यात्मिक आवश्यकताबारे चेतनशील हुनु भएर धन्य अथवा आनन्दित हुन सक्नुहुन्छ। त्यो आवश्यकतालाई पूरा गर्नुको अर्थ जाशिलो भएर राज्यको सुसमाचार प्रचार गर्नु पनि हो। यसो गर्दा हामीले सिकिरहेका कुराहरूमाथि आफ्नो विश्वास बढ्न सक्छ।—रो० १०:१७.
१३ सेवकाईमा नियमित तवरले भाग लिनु सधैं सजिलो हुँदैन र यो तपाईं स्वयंले अनुभव गरी सक्नु भएको होला। अकसर यसको कारण आत्मविश्वासको अभाव हुन सक्छ। अतः तपाईंले दृढ संकल्प गर्नु आवश्यक छ। नियमित तवरमा सेवकाईमा भाग लिनु भयो भने तपाईं साक्षी दिनमा अझ निपुण बन्न र प्रचार गर्ने आफ्नो योग्यतामा आत्मविश्वास बढाउन सक्नुहुन्छ।
१४ मण्डलीमा नियमित अग्रगामीहरू र प्राचीनहरू जस्ता बढी अनुभव प्राप्त प्रकाशकहरूसित काम गर्ने प्रबन्ध मिलाउनु होस्। ढोका-ढोकामा प्रचार गर्ने तिनीहरूको ढङ्ग र घरधनीले उठाएका आपत्तीहरूको सामना गर्ने तरिकाहरूलाई ध्यानपूर्वक सुन्नु होस्। रिजनिङ्ग पुस्तक र हाम्रो राज्य सेवकाई-मा दिएका सुझावहरूको पूरा प्रयोग गर्नु होस्। यसप्रकार यहोवालाई आफूले सक्दोभर सेवा तपाईंले चढाउनु भयो भने सेवकाईबाट तपाईंले चाँडै नै अझ बढी आनन्द उठाउन सक्नु हुनेछ।—प्रेरित २०:३५.
१५ केहीले चाहिं स्कूलमा साक्षी दिने मौकाहरूको फायदा उठाउन सकेका छन् र चेला बनाउनमा निकै सफल भएका छन्। (मत्ती २८:१९, २०) एक जना मसीही युवक यसो भन्छन्: “स्कूलमा फुर्सत हुँदा मैले साक्षी दिने थुप्रै मौका पाएँ। विशेषगरी सांसारिक चाडहरू मनाइने बेलामा। बाइबल सम्बन्धी पुस्तकहरू आफ्नो टेबलमाथि अरूले देख्नेगरी राख्दा चासो देखाउने थुप्रै विद्यार्थीहरू मसित कुरा गर्न आए।” अन्ततोगत्वा, निकै विद्यार्थीहरू र शिक्षिका समेत मसीही सभाहरूमा आउन थाले। वास्तवमा ती शिक्षिका त एक जना समर्पित साक्षी हुन लागेकी छिन्। तपाईं जस्ता जवान उपासकहरूले यहोवाको नाउँको प्रशंसा गर्नु हुँदा उहाँ अति नै आनन्दित हुनुहुन्छ।
१६ आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्ने अर्को तरिका हो व्यक्तिगत अध्ययन। यहोवाको हृदयलाई आनन्दित तुल्याउने हो भने हामीले उहाँ, उहाँका उद्देश्यहरू र हाम्रा निम्ति उहाँका आवश्यकताहरूबारे ज्ञान लिनु पर्दछ। के व्यक्तिगत अध्ययनका लागि तपाईं अलग्गै समय निकाल्नु हुन्छ? नियमित तवरमा खाने कुरा खानका लागि समय निकाल्नु भए झैं के तपाईं नियमित तवरमा अध्ययन गर्नु हुन्छ? (यूहन्ना १७:३) ईश्वरतान्त्रिक पाठशाला अन्तर्गत बाइबल पढ्ने तालिकाअनुसार बाइबल पढ्नुबाहेक के तपाईंले बाइबल पढ्ने आफ्नै तालिका पनि बनाउनु भएको छ? के तपाईं सबै सभाहरूका लागि राम्ररी तयारी गर्नु हुन्छ? के तपाईं प्रहरीधरहरा र अवेक! पत्रिकाहरू नियमित तवरले पढ्नु हुन्छ? विशेषगरी, के तपाईं “यङ्ग पिपल आस्क . . . ” शृङ्खलाका लेखहरू पढ्ने समय निकाल्नु हुन्छ? के तपाईं ती लेखहरूमा दिइएका शास्त्र पदहरूलाई बाइबल खोलेर होसियारीसाथ पढ्ने गर्नु हुन्छ? यसबाहेक, सोसाइटीले विशेषगरी तपाईंको आध्यात्मिक आवश्यकताहरूलाई ध्यानमा राखेर तयार गरेको पुस्तक अर्थात् यङ्ग पिपल आस्क, आन्सर्स द्याट वर्क पुस्तक नबिर्सनु होस्। यहोवाको अझ नजिक हुन यस पुस्तकले कसरी ठूलो मदत दिएको छ, सो संसारभरिका आमाबाबुहरू र जवानहरूले पत्रद्वारा व्यक्त गरेका छन्।
१७ तपाईं बाइबल र बाइबल अध्ययनमा मदत पुऱ्याउने अन्य ईश्वरतान्त्रिक सामग्रीहरू पढ्नु हुँदा तिनीहरूले तपाईंलाई यहोवा, उहाँको सोचाइ र उहाँका उद्देश्यहरूबारे बताउनेछन्। यी कुराहरूबाट तपाईंले के मदत पाउन सक्नुहुन्छ, सो विचार गर्नु होस्। हाल पढी रहनु भएको कुरालाई पहिले पढी सक्नु भएको कुरासित दाँजनु होस्। यसको निम्ति मनन गर्न आवश्यक हुन्छ। मनन गर्नु भयो भने ती कुराहरू तपाईंको हृदयसम्म पुगेर तपाईंलाई तिनले प्रेरणा दिन सक्छन्।—भजन० ७७:१२.
१८ आफ्नो आध्यात्मिक आवश्यकताबारे चेतनशील जवान मानिसहरूलाई सभाहरूमा उपस्थित भएको देख्दा हामी आनन्दित हुन्छौं। तपाईं जवान मसीहीहरूले सभाहरूमा नियमित तवरले अर्थपूर्ण टिप्पणीहरू दिएर अरूहरूलाई प्रोत्साहित पार्न सक्नुहुन्छ। प्रत्येक सभामा कमसेकम एउटा टिप्पणी दिने लक्ष्य राख्नु होस्। सभाहरूको दुवै अघि र पछि, हर उमेरका व्यक्तिहरूसित उत्साहप्रद सङ्गत गर्दै तिनीहरूसित आत्मीयतापूर्ण चिनजान बढाउनु होस्। (हिब्रू १०:२४, २५) एक जना जवान भाइको भनाइअनुसार उनका आमाबाबुले उनलाई प्रत्येक सभामा कमसेकम एउटा वृद्ध भाइ वा बहिनीसित कुराकानी गर्ने प्रोत्साहन दिए। यसप्रकार मण्डलीका पाका सदस्यरहरूसित सङ्गत गरेर प्राप्त गरेको अनुभवको यी भाइले आज ठूलो कदर गर्छन्।
१९ आध्यात्मिक लक्ष्यहरूको पिछा गर्नु होस्: बडो दुःख लाग्दो कुरा हो कि थुप्रै जवान मानिसहरूको जीवनमा उद्देश्य र निर्देशनको अभाव छ। तथापि, ईश्वरतान्त्रिक लक्ष्यहरू राखेर तिनलाई सफलतापूर्वक हासिल गर्नु के एउटा धेरै नै राम्रो अनुभव हुनेछैन र? ईश्वरीय शिक्षाको ज्योतिअनुसार पिछा गरिएका यी लक्ष्यहरूले अहिले व्यक्तिगत सन्तोष प्रदान गर्नेछ र अन्ततोगत्वा अनन्त मुक्ति तर्फ लैजानेछ।—उप० १२:१, १३.
२० लक्ष्यहरू बनाउनु हुँदा तिनलाई प्रार्थनामा राख्नु होस्। ती बारे आफ्ना आमाबाबु र प्राचीनहरूसित कुरा गर्नुहोस्। आफूलाई र आफ्ना योग्यताहरूलाई जाँचनु होस्। अरूको होइन, आफ्नै क्षमताअनुसारको व्यावहारिक लक्ष्यहरू राख्नु होस्। शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक बनोटमा सबैजना बेग्लै हुन्छन्। यसकारण, अरूले गर्न सक्यो भन्दैमा आफूले पनि गर्न सकिएला भनी नसोच्नु होस्।
२१ तपाईंले कुन कुन प्रकारका लक्ष्यहरू राख्न सक्नुहुन्छ? तपाईं हाल प्रकाशक हुनु भएको छैन अथवा बप्तिस्मा पनि लिनु भएको छैन भने यी कुराहरू गर्नु नै तपाईंले आफ्नो लक्ष्य किन नबनाउने? तपाईं प्रकाशक हुनुहुन्छ भने चाहिं, प्रत्येक हप्ता सेवकाईमा एउटा निश्चित समय बिताउने लक्ष्य राख्न सक्नुहुन्छ। पुनःभेटहरू गर्न जाँदा निपुण शिक्षक बन्ने प्रयास गर्नु होस् र बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राख्नु होस्। तपाईं स्कूल जानु हुने बप्तिस्मा प्राप्त विद्यार्थी हुनुहुन्छ भने बिदाको बेलामा सहायक अग्रगामी हुने लक्ष्य राख्न सक्नुहुन्छ। “प्रभुको काममा” गर्नु पर्ने “प्रशस्त कुराहरू” छन्।—१ कोरि० १५:५८.
२२ आमाबाबुबाट मदत अत्यावश्यक छ: जीवन प्राप्त गर्ने आफ्नो प्रयासमा मण्डलीका जवान मानिसहरूले कहिले पनि आफूलाई एकलो महसुस गर्नु हुँदैन। जवान मानिसहरूलाई दैनिक फैसलाहरू र जीवनमा परिआउने बाधाहरूको सामना गर्ने मदत दिन यहोवाले उहाँको सङ्गठनद्वारा चाहिंदो सरसल्लाह उपलब्ध गराइ दिनु भएको छ। तर आफ्ना छोराछोरीहरूलाई ठीक फैसला गर्ने मदत दिने प्रथम जिम्मेवारी समर्पित आमाबाबुहरूको हो। पहिलो कोरिन्थी ११:३-मा बाइबलले परिवारको सिर पतिलाई नियुक्त गर्दछ। अतः, मसीही परिवारमा छोराछोरीलाई परमेश्वरका आदेशहरू सिकाउने कामको अगुवाइ बाबुले लिन्छन् र यस काममा उनलाई उनकी पत्नीले हर सहयोग दिने गर्छिन्। (एफि० ६:४) यो काम बाल्याकालदेखि नै होसियारीसाथ प्रशिक्षण दिंदै सुरु गरिन्छ। बच्चाको दिमाग उसको प्रथम सालभरिमा तीनगुना बढ्दछ। यसकारण आमाबाबुले कहिले पनि आफ्नो बालकको सिक्ने क्षमतालाई हेप्नु हुँदैन। (२ तिमो० ३:१५) जसै छोराछोरीहरू बढदै जान्छन्, आमाबाबुले तिनीहरूलाई यहोवासँग प्रेम गर्न र उहाँसित राम्रो सम्बन्ध बढाउन सिकाउनु पर्छ।
२३ आफ्ना छोराछोरीहरूलाई मदत दिने व्यावहारिक उपायहरू आमबाबुहरूलाई धेरै पटक बताउँदै आइएको छ। सर्वप्रथम आमाबाबु नै राम्रो उदाहरण हुनु अत्यावश्क छ। छोराछोरीहरूले के गर्नु हुन्छ वा के गर्नु हुँदैन भनेर तिनीहरूसित घण्टौं कुरा गर्नुभन्दा आमाबाबुको असल उदाहरण छोराछोरीको आध्यात्मिकताका लागि धेरै नै प्रभावकारी हुन्छ। आमाबाबुले असल उदाहरण कायम गर्नुको अर्थ परिवारमा पति-पत्नीले एकअर्का र आफ्ना छोराछोरीप्रति आत्माको फल प्रदर्शित गर्नु पनि हो। (गला० ५:२२, २३) असल कामकुरा गर्न परमेश्वरको आत्माले ठूलो प्रेरणा दिन्छ भनेर धेरैले व्यक्तिगत अनुभवबाट सिकेका छन्। त्यसले तपाईंलाई पनि आफ्ना छोराछोरीको मन र हृदयलाई सही मार्गमा ढाल्ने मदत दिन सक्छ।
२४ आमा-बाबुहरूले व्यक्तिगत अध्ययन गर्ने, सभाहरू धाउने र क्षेत्र सेवकाईमा नियमित तवरले भाग लिने सम्बन्धमा पनि राम्रो उदाहरण कायम गर्नु पर्छ। तपाईं आफ्नो घरमा सच्चाइबारे उत्साह साथ कुरा गर्नु हुन्छ, सेवकाईमा जोशका साथ भाग लिनु हुन्छ र व्यक्तिगत अध्ययनबारे तपाईंले सकारात्मक दृष्टिकोण अपनाउनु भएको छ भने तपाईंका छोरा-छोरीहरू पनि आध्यत्मिक कुराहरूमा हार्दिक चासो लिन प्रोत्साहित हुनेछन्।
२५ विचार पुऱ्याएर तयार गरिएको नियमित र अर्थपूर्ण पारिवारिक बाइबल अध्ययन रुचिकर र रमाइलो दुवै हुन सक्छ। त्यसले परिवारमा आत्मीयताको भावलाई अझ बलियो पार्न सक्छ। आफ्ना छोराछोरीहरूको हृदयसम्म प्रभाव पार्न समय निकाल्नु होस्। (हितो० २३:१५) पारिवारिक बाइबल अध्ययनको समयलाई थुप्रै परिवारहरूले साप्ताहिक प्रहरीधरहरा अध्ययन तयार गर्न प्रयोग गर्दछन्। तर कहिलेकाहीं परिवारको कुनै खास आवश्यकतालाई विचार गर्न त्यो समय बिताउनु पनि बेस हुनेछ। व्यक्तिगत दृष्टिकोण पता लाउने प्रश्नहरू सोध्न र परिवारको प्रत्येक सदस्यको टिप्पणी सुन्न एउटा आनन्ददायी अनुभव हुन सक्छ जसबाट धेरै कुरा थाह पाउन सकिन्छ। परिवारको प्रत्येक सदस्यका लागि लाभदायक हुने अध्ययन सञ्चालन गर्नु परिवारको सिरको निम्ति एउटा चुनौती हो। तर यसबाट सबै जनाको आध्यात्मिक वृद्धि भएको देख्न पाउँदा कति ठूलो आनन्द अनुभव गर्न सकिन्छ! सबै जनाका लागि रुचिकर अध्ययन सञ्चालन गर्नु भयो भने सबै जना खुशी हुनेछन्।
२६ तपाईंका छोराछोरीको प्राण बचाउनका लागि तपाईंले अहिले नै तिनीहरूलाई प्रेमपूर्ण र विशेष प्रशिक्षण दिनु अत्यावश्यक छ। (हितो० २२:६) तपाईंले दिनु हुने यो सबैभन्दा महत्त्वपूर्ण शिक्षा हुन सक्छ। यस विशेष र महत्त्वपूर्ण काम गर्दा तपाईं एकलो हुनुहुन्छ भनी कहिले न सोच्नु होस्। आफ्नो पारिवारिक जिम्मेवारीहरूको हेरविचार गर्दा यहोवामाथि पूरा भरोसा राख्न सिक्नु होस्। तर यति मात्र होइन। तपाईंलाई थप मदत दिन सक्ने अरूहरू पनि छन्।
२७ अरूहरूले कसरी मदत दिन सक्छन्: प्राचीनहरू हो, राज्य भवन सफा गर्ने अभियानमा जवान केटाकेटीहरूलाई तिनीहरूका आमाबाबुसित भाग लिन दिन नबिर्सनु होस्। मण्डलीका सभाहरूमा केटाकेटीहरूलाई प्रोत्साहन दिनुहोस्। सेवकाई सभामा श्रोतागणले भाग लिने विषयसामग्रीको छल-फल हुँदा केटाकेटीहरूले उठाएको हातलाई प्राचीनहरू र सहायक सेवकहरूले ध्यान दिनु पर्छ। प्रदर्शनीहरूमा अनुकरणीय जवान मानिसहरूलाई तिनीहरूका आमाबाबुका साथमा प्रयोग गर्ने मौका खोज्नु होस्। तिनीहरूमध्ये कसैकसै सङ्ग अन्तर्वार्ता गर्न सकिन्छ र तिनीहरूले पनि छोटो छोटो टिप्पणी दिन सक्छन्।
२८ तिनीहरूले गरेको प्रयासको बेवास्ता नगर्नु होस्। जवान मानिसहरू मण्डलीका लागि अति नै उपयोगी साबित भएका छन्। आफ्नो असल चालचलनद्वारा तिनीहरूमध्ये धेरैले ‘हाम्रो उद्धारकर्ता, परमेश्वरको शिक्षाको शोभा बढाएका छन्।’ (तितस २:६-१०) सानो रूपमा भाग लिने जवानमानिसहरूको पनि प्रशंसा गर्न सजग रहनु होस्। यसो गर्नु भयो भने तिनीहरू भविष्यमा राम्रो तयारी गर्न र फेरि भाग लिन प्रोत्साहित हुनेछन्। ठूलाहरूले सानाहरूप्रति देखाएको सो चासोको ठूलो मोल हुन्छ। तपाईं एक जना प्राचीन वा सहायक सेवक हुनुहुन्छ भने मण्डलीका जवान सदस्यहरूकहाँ गएर के तपाईं तिनीहरूले प्रस्तुत गरेको भाषण वा सभाका कुनै भागको प्रशंसा गर्नु हुन्छ?
२९ अग्रगामीहरू हो, तपाईंहरूले कसरी मदत दिन सक्नुहुन्छ? स्कूल जाने केटाकेटीहरूलाई तपाईंले हप्तान्त र अपरान्हको आफ्नो कार्यक्रममा सम्मिलित गराउन सक्नुहुन्छ कि? आफूले पूर्ण-समय सेवकाई रोज्नु भएको विषयमा के तपाईं सकारात्मक भावसाथ कुरा गर्नु हुन्छ? आफ्नो सेवकाईको कारण तपाईं आनन्दित हुनुहुन्छ भनी के तपाईं आफ्नो कुराकानी र व्यवहारबाट व्यक्त गर्नु हुन्छ? के तपाईं अरूहरूलाई, विशेषगरी जवान मानिसहरूलाई पूर्ण-समय सेवा अपनाउने प्रोत्साहन दिन इच्छुक हुनुहुन्छ? घर-घरको सेवकाईमा जाँदा के तपाईं सधैं लाभदायक र सकारात्मक बोली बोल्नु हुन्छ? हो भने, एक जना अग्रगामीको हैसियतमा तपाईंले पनि यो अति महत्त्वपूर्ण प्रशिक्षण दिने कार्यक्रममा भाग लिनु हुँदैछ।
३० जवान मानिसहरूलाई प्रशिक्षण दिने यो महत्त्वपूर्ण काममा मण्डलीका सबै जनाले नै गहिरो चासो लिनु पर्छ। तिनीहरूसित क्षेत्र-सेवकाईमा भाग लिन के तपाईं विशेष कार्यक्रम मिलाउन सक्नुहुन्छ? घर-घरको सेवकाईमा जाँदा प्रस्तुत गर्ने विषयवस्तुको के तपाईंले तिनीहरूसित अग्रिम अभ्यास गर्न सक्नुहुन्छ? तिनीहरूसित घर-घर जाँदा भविष्यमा विभिन्न आत्मिक गतिविधिहरूमा भाग लिने प्रोत्साहन दिन के तपाईं हर समय सजग हुनुहुन्छ? एउटा सानो टिप्पणीले पनि आजीवन आध्यात्मिक लक्ष्यहरू पछ्याउने सकारात्मक विचार जगाउन सक्छ र यसको परिणाम ती जवान मानिसको अनन्तकालीन हित हुन सक्छ। यो तथ्य प्रत्येक प्रकाशकले सम्झिराख्नु पर्छ।
३१ जवान मानिसहरूले आफूलाई मदत दिन सक्छन्: जवान मानिसहरू हो, हामी तपाईं प्रत्येकलाई यहोवाका शिक्षाहरू तर्फ ध्यान दिइरहन र संसारका कुराहरू तिरस्कार गर्न प्रोत्साहन दिन्छौं। आफ्नो आचरण र हृदयका भावनाहरूलाई नियालेर हेर्दै आफ्नो जाँच गरिरहनु होस्। यहोवा तर्फ र उहाँले तपाईंबाट दिनदिनै के चाहनु हुन्छ सो कुराहरू प्रति तपाईंले कस्तो विचार अपनाउनु भएको छ? शैतानका विचारहरूको प्रभावसित के तपाईं जोरसित सङ्घर्ष गर्नु हुँदैछ? (१ तिमो० ६:१२) साधारणतया मानिसहरू, विशेष गरी जवान मानिसहरू, आफ्ना इष्टमित्रहरूको नजरमा स्वीकृत हुन चाहन्छन्। अतः के तपाईं पनि सबैको लैलैमा लागेर खराब काम गर्न अघि बढनु हुँदैछ? (प्रस्थान २३:२) हामीलाई संसारको गतिविधि अनुसार हिंडाउन खोज्ने ठूलो दबाव छ भनेर प्रेरित पावलले पनि बुझेका थिए।—रोमी ७:२१-२३.
३२ संसारको प्रभावको विरोध गर्न, सांसारिक इष्ट-मित्रहरूको भन्दा बेग्लै मार्ग अपनाउन र परमेश्वरका शिक्षाहरूलाई ध्यान दिन साहस चाहिन्छ। तर प्राचीन जमानाका मानिसहरूले सो सफलतापूर्वक गरे। नूहको साहसलाई विचार गर्नु होस्। उनले आफ्नो विश्वासद्वारा र त्यस बेलाका कुकर्मीहरूबाट अलग बसेर सारा संसारलाई दोषी ठहराए। (हिब्रू ११:७) तपाईंले पनि गर्नु भएको उत्कट सङ्घर्ष कदापि व्यर्थमा जाने छैन। शैतानको भीडलाई पछ्याउने कमजोर, फितलो र डरपोक जनहरूको अनुकरण नगर्नु होस्। बरु यहोवाको नजरमा अनुग्रह पाउनेहरूसित सङ्गत गर्ने कोशिश गर्नु होस्। (फिलि० ३:१७) तपाईंसित काँधमा काँध मिलाएर परमेश्वरले प्रतिज्ञा गर्नु भएको नयाँ संसारमा प्रवेश गर्ने साथीहरू बीच हिंड्ने गर्नु होस्। (फिलि० १:२७) अनन्त जीवन तर्फ लैजाने बाटो एक मात्र छ, सो कहिले नबिर्सनु होस्।—मत्ती ७:१३, १४.
३३ हाम्रा परमेश्वरको प्रशंसा र जयजयकार गर्ने जवान मानिसहरू देख्दा हामीलाई त खुशी लाग्छ भने परमेश्वर झन कति धेरै खुशी हुनुहुन्छ होला! उहाँका महान उद्देश्यहरू घोषणा गर्ने काममा पूरा भाग लिइरहेका जवान मानिसहरू देखेर यहोवा निःसन्देह आनन्दित हुनुहुन्छ। यी जवान मानिसहरू यहोवाले दिनु भएका “हक” हुन् र उहाँ तिनीहरूको सधैं भलो चाहनु हुन्छ। (भजन० १२७:३-५; १२८:३-६) आफ्नो पिताको जस्तै रुचि व्यक्त गर्नु हुँदै ख्रीष्ट येशू सानासाना केटाकेटीहरूसित सङ्गत गर्दा आनन्द मान्नु हुन्थ्यो। तिनीहरूलाई यहोवाको उपासनामा लागिरहने प्रोत्साहन दिन उहाँले समय निकाल्नु हुन्थ्यो। उहाँले तिनीहरूप्रति कोमल स्नेह प्रकट गर्नु हुन्थ्यो। (मर्कूस ९:३६, ३७; १०:१३-१६) हाम्रा जवान मानिसहरू प्रति यहोवा र ख्रीष्ट येशूले जुन दृष्टिकोण अपनाउनु भएको छ, के हामीले पनि त्यही दृष्टिकोण अपनाएका छौं? यहोवा र स्वर्गदूतहरूले हाम्रा जवान मानिसहरूको वफादारी र असल उदाहरणलाई कुन दृष्टिले हेर्ने गर्छन्, के हाम्रा जवान मानिसहरूलाई थाह छ? हामीले तिनीहरूलाई आध्यात्मिक लक्ष्यहरू तर्फ अघि लम्केर यहोवालाई खुशी तुल्याउन हर प्रोत्साहन दिनु र सहयोग पुऱ्याउनु पर्छ। जवान मानिसहरू हो, दुवै वर्तमान र भविष्यमा आशिष प्रदान गर्ने लक्ष्यहरू पछ्याउने गर्नु होस्।