ग्रीष्मकालमा के गर्ने योजना छ?
१ समय तालिका राम्ररी मिलाएमा हाम्रो लक्ष्य सार्थक हुन्छ, होइन र? ग्रीष्मकालमा हामी ईश्वरतान्त्रिक गतिविधिलाई अगाडि बढाउन थुप्रै अवसरहरू पाउँछौं। (हितो. २१:५) तीमध्ये एक दुइटा के हुन्?
२ ग्रीष्मकालभरि क्षेत्र सेवामा अझ धेरै भाग लिन किन योजना नबनाउने र? लामो दिन र न्यानो मौसमले गर्दा हामी प्रचारकार्यमा धेरै समय बिताउनसक्छौं। स्कूलको बिदा हुने हुँदा स्कूल जाने जवानहरूले ग्रीष्मकालमा एक वा त्योभन्दा धेरै महिना सहायक अग्रगामी गर्ने मौका पाउँछन्। अगस्त महिनामा पाँचवटा सप्ताहन्त पर्ने भएकोले अरूले पनि यस महिना सहायक अग्रगामी गर्न पूर्वयोजना बनाउनसक्छन्। यो अगस्त महिनामा हाम्रो सेवा वर्ष सिद्धिन्छ। तसर्थ, प्रत्येकले सेवकाईमा यथासम्भव दिलोज्यानले भाग लिन तालमेल मिलाएर प्रयत्न गर्नेछ।
३ आफ्नो क्षेत्र ढाक्न मदत चाहिरहेको आसपासको मण्डलीलाई के तपाईं सहयोग गर्ने योजना बनाउनुहुन्छ? तपाईंको क्षेत्रको खाँचोबारे क्षेत्रीय निरीक्षकले प्राचीनहरूलाई जानकारी दिनसक्छन्। अथवा तपाईं योग्य हुनुहुन्छ र आक्कलझुक्कल प्रचार गरिएको वा नखटाइएको क्षेत्र ढाक्न सोसाइटीमा निवेदन पेश गर्न चाहनुहुन्छ भने प्राचीनहरूसित कुरा गर्नुहोस्। यदि बिदा मनाउन बाहिर कतै जानुहुँदैछ भने त्यहाँको मण्डलीमा सभाहरू धाउने र क्षेत्र सेवामा भाग लिने योजना बनाउनुहोस्। गैरसाक्षी आफन्तहरूसित भेटघाट गर्न जानुहुँदैछ भने चाहिं तिनीहरूलाई सत्यबारे बताउन पहिल्यै तम्तयार हुनुहोस्।
४ “जीवन बिताउने ईश्वरीय तरिका” अधिवेशन यस्तो अवसर हो जसलाई हामी प्रत्येकले आफ्नो योजनामा समावेश नगरी धरै पाउँदैनौं। जागिर वा स्कूलबाट छुट्टी लिन पहिल्यै चाँजो मिलाउनुहोस् ताकि अधिवेशनको तीनै दिन उपस्थित हुन सकियोस्। आवास र यात्राको लागि जतिसक्दो छिट्टै बुक गर्नु उचित हुन्छ।
५ ग्रीष्मकालमा के गर्ने योजना छ? पक्कै पनि, शारीरिक स्फूर्ति लिन चाहनुहुन्छ होला। तर, त्योभन्दा अझ महत्त्वपूर्ण अवसरहरूलाई पनि नभुल्नुहोस् जुन अवसरहरूमा तपाईं परमेश्वरको राज्यलाई आफ्नो जीवनमा प्रथम स्थान दिइरहनुभएर आध्यात्मिक बल पाउनुहुन्छ।—मत्ती ६:३३; एफि. ५:१५, १६.