के तपाईंले प्रशस्तसङ्ग छरिरहनु भएको छ?
१ एउटा भनाइ छ: “जसले बढी धाउँछ, उसले बढी पाउँछ।” विशेषगरि साँचो उपासनाको सन्दर्भमा यो सत्य साबित हुन्छ। सभाहरूको लागि तयारी गर्न, राज्य समाचार सुनाउन र हाम्रा भाइहरूप्रति प्रेम देखाउन हामी जति बढी समय र प्रयास खर्च गर्छौं, उतिनै बढी आध्यात्मिक वृद्धिको लाभ उठाउँछौं। यसो गरेनौं भने परिणाम पनि त्यसको विपरीत हुन्छ। हामी आफ्नो काममा यत्नशील हुन अनिच्छुक अथवा आधा मनका छौं भने के हामीले साँच्चै नै सन्तोषजनक परिणामहरूको आशा गर्न सक्छौं र?
२ प्रेरित पावलले २ कोरिन्थी ९:६ मा यस सिद्धान्तलाई राम्ररी उल्लेख गरे: “किफायतीसँग छर्नेले किफायतीसँग काट्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसङ्ग काट्छ।” के तपाईंले प्रशस्तसङ्ग छरिरहनुभएको छ?
३ व्यक्तिगत बाइबल अध्ययन: फलदायी प्रचारकहरू हुन हामीले सर्वप्रथम व्यक्तिगत अध्ययनमा प्रशस्तसङ्ग छर्नुपर्छ। हामीसित तीब्र आध्यात्मिक भोक हुनुपर्छ। (भजन. ११९:९७, १०५; मत्ती ५:३) हामीले दैनिक जीवनमा थुप्रै फिक्रीहरू खप्नु पर्ने हुँदा हाम्रो आध्यात्मिक आवश्यकताहरूप्रति साँचो सजगता विकास गर्न कडा मिहेनत गर्नुपर्छ। हामीमध्ये धेरैको निम्ति यसो गर्न “समयको अवसर विचार गर्नु” समावेश छ। (एफि. ५:१६) केही व्यक्तिहरू कुनै कुनै दिन बिहान सबैरै उठेर व्यक्तिगत अध्ययन गर्ने प्रबन्ध मिलाउँछन्। अरूले भने त्यसो गर्न साँझपख समय छुट्याउँछन्। हामी कसरी प्रशस्तसङ्ग कटनी गर्छौं? हामी बलियो विश्वास, उज्ज्वल आशा र आनन्दित तथा बढ्ता सकारात्मक मनस्थिति प्राप्त गर्छौं।—रोमी १०:१७; १५:४; १ पत्रु. १:१३.
४ मण्डलीका सभाहरू: भजनसंग्रह १२२:१ मा दाऊदले यसो भने: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।” के तपाईंलाई पनि त्यस्तै लाग्छ? प्रशस्तसङ्ग छर्नुको अर्थ हाम्रा पाँच साप्ताहिक सभाहरूमा नियमित उपस्थिति हुनु हो। खराब मौसमलाई सभामा अनुपस्थित हुने बहाना बनाउने छैन भनी आफ्नो मनमा दृढ निश्चय गर्नुहोस्। प्रायः, हामी जति बढी बाधाहरू पार गर्छौं, उति नै बढी आशिषहरू पनि पाउँछौं।
५ आफ्ना भाइहरूसित उत्थानदायी कुराकानी गर्न सभा सुरु हुनुभन्दा अगावै आउनुहोस् र सकिने बित्तिकै गइ नहाल्नुहोस्। आफ्नो सङ्गतिलाई सीमित नगरेर सकेसम्म बढी व्यक्तिहरूसित सङ्गत गर्नुहोस्। प्रहरीधरहरा अध्ययन र अरू सभाहरूको लागि राम्ररी तयारी गर्नुहोस्। यसो गर्नुभयो भने मौका पाउनासाथ टिप्पणीहरू दिएर प्रशस्तसित छर्न सक्नुहुन्छ। सभाहरूमा “अरूलाई प्रशस्त सिंच्नु” भयो भने तपाईंलाई पनि “प्रशस्त सिंचन” गरिनेछ।—हितो. ११:२५ न्यु व.
६ क्षेत्र सेवकाई: प्रशस्तसङ्ग छर्ने सिद्धान्त शायद क्षेत्र सेवकाईमा जत्ति अरू कुनै क्षेत्रमा सत्य साबित हुँदैन होला। हामी जति बढी समय क्षेत्र सेवकाईमा बिताउँछौं, सम्भवतः उति नै बढी चाखलाग्दा अनुभवहरू, फलदायी पुनःभेट तथा बाइबल अध्ययनहरूको कटनी गर्छौं।
७ क्षेत्र सेवकाईमा प्रशस्तसङ्ग छर्नुमा परिमाणको साथै गुणस्तर पनि समावेश छ। हाम्रो सेवकाईको गुणस्तर बढाउन मदत दिने अत्युत्तम सहायक रीजनिङ्ग पुस्तक हो। ढोका ढोकाको प्रचार कार्यमा मानिसहरूको चासो जगाउन मदत दिन पृष्ठ ९-१५ मा १८ विभिन्न विषयहरूमा ४० भन्दा बढी परिचयहरू सूचीबद्ध छन्। चासो भेट्टाउनुभयो भने, टिपोट गर्न नबिर्सनुहोस् जसले गर्दा पुनः फर्केर तपाईंले छर्नुभएको बीउ कटनी गर्न सकियोस्। आशा छ, तपाईंका प्रयासहरूले बाइबल अध्ययन गर्नतर्फ डोऱ्याउनेछ र तपाईंले प्रशस्तसङ्ग कसरी छर्ने भनी अरूलाई सिकाउन सक्नुहुन्छ।
८ हामीले प्रशस्तसङ्ग छऱ्यौं भने, यहोवाबाट अझ धेरै आशिषहरूको प्रत्याशा गर्न सक्छौं।—मला. ३:१०.