प्रशस्तसँग छर्दा प्रशस्तै इनाम पाइन्छ
१ हामी सबै परमेश्वरको वचनमा पाइने महान् प्रतिज्ञाहरू पूरा हुने दिनको बाटो हेर्छौं। अहिले पनि यहोवाले हाम्रो जीवनलाई अझ आनन्दमयी बनाउने थुप्रै इनामहरू दिनुहुन्छ। तथापि, व्यक्तिगत तवरमा हामीले कति लाभ उठाउँछौं भन्ने कुरा धेरै हदसम्म हामीले गर्ने प्रयत्नमा भर पर्छ। प्रेरित पावलले भनेझैं “प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ।” (२ कोरि. ९:६) यो सिद्धान्त लागू हुने दुईवटा क्षेत्रहरू विचार गर्नुहोस्।
२ हाम्रो व्यक्तिगत सेवकाई: मानिसहरूलाई साक्षी दिनको लागि आफ्नो औकातले भ्याएसम्म सुसमाचार सुनाउँदा थुप्रै इनामहरू प्राप्त हुन्छ। (हितो. ३:२७, २८) सराहनीय कुरा के हो भने, थुप्रैले सहायक अग्रगामी वा नियमित अग्रगामी गर्नुको साथै सेवकाईमा अझ बढी भाग लिएर प्रशस्तसँग छरिरहेका छन्। चासो देखाएका व्यक्तिहरूको चासो अझ बढाउन लगनशील भई पुनःभेट गरेर तथा मौका मिलेमा बाइबल अध्ययनको प्रस्ताव राखेर हामी सबैले प्रशस्तसँग छर्न सक्छौं। (रोमी १२:११) यी कुराहरूमा अझ प्रयत्न गर्दा उत्थानदायी अनुभवहरू बटुल्न सक्छौं र सेवकाईमा हाम्रो आनन्द बढ्छ।
३ राज्यसम्बन्धी कामकुरालाई समर्थन गर्ने: पावलले भौतिक सामग्रीको सन्दर्भमा ‘प्रशस्तसँग छर्ने’ कुरा गरे। (२ कोरि. ९:६, ७, ११, १३) आज राज्यसम्बन्धी कामकुरालाई समर्थन गर्नको लागि हामीले शारीरिक तथा भौतिक तवरमा गर्न सक्ने थुप्रै कामहरू छन्। हामी राज्यभवनको निर्माण कार्यमा सहयोग गर्न र साँचो उपासना गर्ने यस्ता ठाउँहरूको सरसफाइ तथा मर्मत-संभारको काममा भाग लिन सक्छौं। साथै स्थानीय मण्डलीको खर्च बेहोर्न र राज्य प्रचार तथा चेला बनाउने विश्वव्यापी कार्यका लागि आर्थिक अनुदान दिन सक्छौं। हामी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्दा, यहोवाले सुम्पनुभएको यस कार्यमा उहाँको प्रचुर आशिष् देख्न पाउँदा कत्ति आनन्दित हुन सक्छौं!—मला. ३:१०; लूका ६:३८.
४ परमेश्वरको वचनले हामीलाई “असल काममा उदारचित्त भएर धनवान् हुने र बाँडचुड गर्नामा तत्पर हुने” सल्लाह दिन्छ। हामीले यो चेताउनी सुनेको खण्डमा अहिले नै प्रशस्त इनामहरूको आनन्द उठाउन सक्छौं। साथै हामीले “आफैको निम्ति असल जग बनाएर त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखेका” हुनेछौं।—१ तिमो. ६:१८, १९.