हामीसित जे छ त्यसको लागि कृतज्ञ
१ “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रो. ५:८) हाम्रो खातिर यहोवा परमेश्वर र उहाँको पुत्रले गर्नुभएको सर्वश्रेष्ठ बलिदानको लागि हामी कति कृतज्ञ हुनुपर्ने हो! कुनै मानवले दिन नसक्ने अनन्त जीवनको सुअवसर हामीलाई ख्रीष्टले बगाउनुभएको रगतद्वारा प्रदान गरिएको छ।
२ हामी आफ्नो मूल्यांकन कसरी देखाउन सक्छौं? परमेश्वरको पवित्र वचनमा मात्र पाइने साँचो ज्ञानको लागि धेरै मानिसहरू तिर्खाइरहेका छन्। तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने यहोवाको इच्छा छ। (१ तिमो. २:४) ‘परमेश्वरको राज्यको सुसमाचार घोषणा’ गरेर हामी सत्यप्रति मूल्यांकन देखाउँछौं। (लूका ४:४३) ख्रीष्ट हाम्रो लागि मर्नु भएकोमा मूल्यांकन गर्छौं र विश्वासीपूर्वक उहाँको आज्ञा पालन गर्दै अरूलाई चेला बनाउन उहाँको अनुकरण गर्न चाहन्छौं भनेर यस कार्यमा सम्पूर्ण मनतनले भाग लिएर देखाउँछौं।—मत्ती २८:१९, २०.
३ प्रचार गर्न हामीसमक्ष कस्ता पक्षहरू खुला छन्? के हामी समय समयमा सहायक अग्रगामीको हैसियतले भर्ती हुनु सम्भव छ? आफ्नो परिस्थितिलाई राम्ररी विचार पुऱ्याएपछि केही नियमित अग्रगामी सेवामा प्रवेश गर्न सक्लान्। यी राम्रा अवसरहरूको सदुपयोग गरेर हामी राज्यको सुसमाचार फैलाउन बढी समय बिताउन सक्छौं। बिगतमा तपाईंले अग्रगामी सेवामा भर्ती हुनेबारे सोच्नु भएको होला तर केही अवरोधहरू थिए होलान्। शायद अहिले तपाईंको परिस्थिति परिवर्तन भएको होला। यदि छ भने, नियमित अग्रगामी सेवामा प्रवेश गरेर वा सहायक अग्रगामीको हैसियतमा सेवा बढाउन के तपाईंले गम्भीरतापूर्वक सोच्नुभएको छ?
४ हाम्रो वरपर भइरहेका घटनाहरूलाई हेऱ्यौं भने हाम्रो कृतज्ञता झन् बढ्छ। संसारभरि अपराध, घृणा र कलह बढिरहेको छ। पावलले हाम्रो समयलाई “डरलाग्दो समय” भनी सही ढंगमा वर्णन गरेका छन्। (२ तिमो. ३:१) यी दुःखदायी परिस्थितिको माझ अरूसित बाँड्न हाम्रो साथमा प्रशस्त सुसमाचार छ। यो महिना हामी प्रहरीधरहरा र अवेक! दुइ राम्रा पत्रिकाहरू अलग अलग प्रस्तुत गर्छौं वा त्यसको ग्राहक बन्ने प्रस्ताव राख्न सक्छौं। हामीसित बेग्लाबेग्लै विषयहरूमा ठूला पुस्तिकाहरू पनि छन्। यी प्रकाशनहरू पढ्नेहरूले यसबाट साँचो स्फूर्ति प्राप्त गर्नसक्छन्। हामीसित जे छ त्यसप्रति कृतज्ञताले हामीलाई उदारचित्त भई ती अरूसित बाँड्न बाध्य तुल्याउनु पर्ने हो।—हिब्रू १३:१६.
५ हुनसक्छ, तपाईंको इलाकाका मानिसहरूले आध्यात्मिक कुराहरूमा कम चासो देखाउलान्। त्यसको विपरीत फलदायी इलाकाहरू पनि छन्। यदि तपाईं आफ्नो मातृभाषाबाहेक अर्को भाषा बोल्न सक्नुहुन्छ भने तपाईंको मदत साँच्चै आवश्यक पर्ने यस देशको अर्को इलाकामा नियमित अग्रगामीको हैसियतमा सेवा गर्न के तपाईं स्वेच्छासाथ बसाइँ सर्न सक्नुहुन्छ? यस विषयमा तपाईंको क्षेत्रीय निरीक्षकले केही सुझावहरू दिनसक्छन्।
६ आफूसित भएका असल थोकहरूका लागि कृतज्ञ हुनुपर्ने हामीसित प्रशस्त कारणहरू छन्। उहाँको नाउँ र उद्देश्यबारे अरूलाई थाह दिएर हामी यहोवाप्रति आफ्नो कृतज्ञता उत्तम तरिकाले व्यक्त गर्नसक्छौं।—यशै. १२:४, ५.