के यहोवाका सम्झौटाहरूले हामीलाई आध्यात्मिक रूपमा उत्प्रेरित गरिरहेको छ?
१ भजनरचयिताले यसो भन्दै यहोवाको प्रशंसा गरे: “मेरो ध्यान तपाईंका साक्षी वचनमा [सम्झौटाहरू, न्युव] छ।” (भज. ११९:९९) “सम्झौटाहरू” भन्ने हिब्रू शब्दले, हामीलाई यहोवाले उहाँका व्यवस्था, कानुन, नियम, आज्ञा र विधानहरूमा उल्लिखित कुराहरूद्वारा बारम्बार सम्झना दिलाउनुहुने विचारलाई व्यक्त गर्छ। हामीले त्यसलाई पालन गऱ्यौं भने हामी आध्यात्मिक रूपमा उत्प्रेरित र आनन्दित हुन्छौं।—भज. ११९:२.
२ यहोवाका जनहरूको हैसियतमा हामी नियमित रूपमा सल्लाहहरू पाउँछौं। तीमध्ये धेरै त पहिला पनि सुनिसकेका छौं। हामीले ती सल्लाहहरूको मूल्यांकन गरे तापनि हाम्रो बिर्सने प्रवृत्ति हुनसक्छ। (याकू. १:२५) यहोवाले हाम्रोलागि धैर्यतासाथ मायालु सम्झौटाहरूको प्रबन्ध गर्नुहुन्छ। प्रेरित पत्रुसले हाम्रो ‘निर्मल मनलाई प्रभुको आज्ञाबारे सम्झना दिलाउँदै जागृत गर्न’ केही सम्झौटाहरू लिपिबद्ध गरेका छन्।—२ पत्रु. ३:१, २.
३ हामीलाई व्यक्तिगत अध्ययन र सभामा उपस्थितिको महत्त्वबारे बारम्बार सम्झाइन्छ। हाम्रो आध्यात्मिक हितको निम्ति यी क्रियाकलापहरू अत्यावश्यक हुनाले यस्तो गरिन्छ।—१ तिमो. ४:१५; हिब्रू १०:२४, २५.
४ कसै कसैको लागि प्रचार गर्ने मसीही आज्ञा पूरा गर्नु सबैभन्दा ठूलो चुनौती हुनसक्छ। यसको लागि प्रयास, कटिबद्धता र परिश्रम आवश्यक हुन्छ। हामीबाट धेरै माग गरिए तापनि हामीलाई “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता” लगाएर ‘दृढतासाथ खडा’ हुन सहयोग दिइएको छ।—एफि. ६:१४, १५.
५ यहोवाका मागहरूबारे मानसिक सजगताले मात्र होइन तर यसलाई अन्य कुराहरूले पनि उत्प्रेरित गर्नुपर्छ। प्रेरित पावलले “जनसमक्ष उद्धारको निम्ति घोषणा गर्न” हामीलाई हृदयले उत्प्रेरित गर्छ भनी सम्झना दिलाउँछन्। (रोमी १०:१०, न्युव) यदि हामीसित बलियो विश्वासको साथसाथै हाम्रो हृदय यहोवाका सम्झौटाहरूप्रति प्रवृत्त छ भने उहाँको नाउँको प्रशंसा गर्न बाध्य हुनेछौं।—भज. ११९:३६; मत्ती १२:३४.
६ हामीले असल कामको लागि मेहनत गर्छौं भने त्यसबाट आनन्दको आशा गर्नु उचित हो। (उप. २:१०) आनन्द, परमेश्वरको आत्माको फल हो भनेर पावलले चिनारी दिएका छन्। त्यसलाई प्रदर्शन गर्न प्रशस्त हुने प्रयास गर्नुपर्छ। (गला. ५:२२) पत्रुसले अझै भने, हामीले “सबै किसिमका प्रयत्न” गर्दा नतिजा आनन्द ल्याउने फलदायी सेवकाई हुनेछ।—२ पत्रु १:५-८.
७ हामीले चुनौतीहरूको सामना गर्नुपर्दा प्रेरितहरूले दृढतासाथ “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं” भनेर घोषणा गरेका सम्झनसक्छौं। (प्रे. ४:२०) ‘यसो गर्नाले आफूलाई र सुन्नेलाई समेत उद्धार’ हुनेछ भनेर सम्झँदा त्यसमा लागिरहन ताजगी प्राप्त गर्छौं।—१ तिमो. ४:१६.
८ बारम्बार सम्झौटाहरू पाउँदा हामी रिसाउँदैनौ वा क्रोधित हुँदैनौं। बरु, त्यसका उच्च मूल्यहरूको गहिरो मूल्यांकन गर्छौं। (भज. ११९:१२९) यी कठिन समयमा हामीलाई आध्यात्मिक रूपमा उत्प्रेरित गर्न र असल कार्यहरूमा जोशिलो भईरहन सम्झौटाहरू प्रदान गर्नुभएकोमा यहोवाप्रति कृतज्ञ छौं!—२ पत्रु. १:१२, १३.