दिनहुँ यहोवाको प्रशंसा गर्नुहोस्
१ हाम्रो परमेश्वर यहोवा अद्भुत र मायालु सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ सम्पूर्ण जीवित सृष्टिको जीवन र आनन्दको स्रोत हुनुहुन्छ। उहाँको महानतालाई विचार गर्ने हो भने उहाँ सम्पूर्ण सृष्टिबाट प्रशंसा पाउन योग्य हुनुहुन्छ। हामी पनि भजनरचयिताले जस्तै व्यक्तिगत तवरमा यसो भन्न चाहन्छौं: “म . . . अझै ज्यादा तपाईंको प्रशंसा गर्नेछु। मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा दिनभरि बोल्नेछ।” (भज. ७१:१४, १५) यसो गर्न हामीले दिनहुँ यहोवाको प्रशंसा गर्ने तरिकाहरू खोज्नुपर्छ र उहाँ, उहाँको धार्मिकता र उहाँले प्रबन्ध गर्नुभएको उद्धारको विषयमा बताउन उत्प्रेरित हुनुपर्छ।
२ यहोवाको प्रशंसा गर्ने सन्दर्भमा प्रारम्भिक मसीहीहरूले एउटा असल उदाहरण कायम गरे। पेन्तिकोसका दिन बप्तिस्मा प्राप्त गरेका ३,००० व्यक्तिहरूबारे हामी प्रेरित २:४६, ४७ मा यसो लेखिएको पाउँछौं: “दिनहुँ एकै मनका भई एकोहोरो मन्दिरमा धाएर . . . परमेश्वरको स्तुति गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूमा बढ़ती गराउनुहुन्थ्यो।” तिनीहरूले यहोवा र उहाँको मसीहबारे अद्भुत सच्चाइहरू सिक्दैथिए। तिनीहरूको आनन्दले अरूलाई पनि प्रभावित गऱ्यो। त्यसले अरूलाई यहोवाले भन्नुभएको कुरा सुन्न, उहाँबारे सिक्न र उहाँको प्रशंसा गर्न प्रोत्साहित गऱ्यो।
३ प्रत्येक दिन मौका उपलब्ध हुन्छ: आज अनौपचारिक साक्षीद्वारा दिनहुँ यहोवाको प्रशंसा गर्न सकिन्छ भन्ने कुरा धेरैलाई थाह छ। पूर्वयोजनाले तिनीहरूलाई अझै फलदायी बन्न मदत गर्छ। एउटी बहिनीले अनौपचारिक साक्षी दिने संकल्प गरेकी थिइन्। तर कसैले तिनको गाडीको दुइटा ऐना फुटालेर चोरी गरेको तिनले देखिन्। त्यसपछि तिनले कारखानामा फोन गरिन् र मिस्त्रीलाई साक्षी दिन तयार भइन्। तिनले तयारी गर्दा मार्गनिर्देशनको लागि यहोवालाई प्रार्थना पनि गरिन्। फलस्वरूप तिनले करिब एक घण्टाजति त्यस मिस्त्रीसित कुरा गरिन् र सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गरिन्।
४ आ-आफ्ना कुकुरहरू डुलाउन लैजाँदा एउटी बहिनीले नियमित रूपमा आफ्नी छिमेकीलाई भेट्थिन्। त्यस्तै भेटघाटमा एक पटक दुवैले जीवनका समस्याहरूबारे गम्भीर कुराकानी गरेछन् र त्यसपछि अझ थप छलफलहरू भए। पछि बाइबल अध्ययन पनि थालियो। तर चाखलाग्दो कुरा, परमेश्वर र बाइबलमा विश्वास नगर्ने भएकोले यहोवाका साक्षीहरू आफ्नो घरमा आएका भए तिनीहरूको कुरा सुन्ने थिइनँ होला भनेर तिनले पछि स्वीकारिन्।
५ बिक्रेता वा अरू कुनै मानिसले आफ्नो ढोका ढकढक्याउँदा केहीले साक्षी दिन सकेका छन्। आयरल्याण्डकी एउटी बहिनीलाई जीवन बिमा दर्ता गराउने मानिस भेट्न आएछन्। आफूले अनन्त जीवनको आनन्द उठाउन प्रतीक्षा गरिरहेकी त्यस बहिनीले बताइन्। यो जानकारी रोमन क्याथोलिक परिवारमा हुर्केका त्यस मानिसको लागि एकदमै नौलो थियो। तिनले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक लिए अनि त्यसको लगत्तै अर्को हप्ता सभा धाए र बाइबल अध्ययन गर्न राजी भए। अहिले यो बिक्रेता बप्तिस्माप्राप्त भाइ भएका छन्।
६ दिनहुँ यहोवाको प्रशंसा गर्ने मौका छोप्न हामी सबै सजग हुनुपर्छ। केही पत्रिकाहरू तथा पर्चाहरू झट्टै देखिने ठाउँहरूमा राख्नु मदतकारी साबित हुनुको साथै आगन्तुकहरूलाई ती सजिलै प्रस्तुत गर्न सकिन्छ। कतै कतै पार्कको बेन्चमा एकछिन बस्दा पनि केही क्षणका लागि त्यहाँ सुस्ताउन आएकाहरूलाई साक्षी दिने अवसर पाउन सकिन्छ। केही युवा साक्षीहरू स्कूलमा आफ्नो डेक्समाथि बाइबल साहित्य राख्छन्। यसो गर्दा अरूले त्यो देखेर प्रश्न सोध्छन् र तिनीहरूसित वार्तालाप सुरु गर्न सकिन्छ। तपाईंले चलाउन सक्नुहुने केही शास्त्रपदहरू पनि मनमा राख्नुहोस्। यहोवासित मदत माग्नुहोस्। यसो गर्नुभयो भने तपाईंले आशिष् पाउनुहुनेछ।—१ यूह. ५:१४.